October 27, 2009

ईन्टरनेट चलाऔं, दिमाग बढाऔं !!!

netmania केही समय अगाडि दौँतरीमै शुन्य समयजीले इन्टरनेट एडिक्टेडहरुलाई बिजुलिको झट्का दिएर उपचार गरिने कुरा लेख्‍नु भएको थियो । त्यसको केही समय पछि, सुरुमा रहर अनि आदत हुँदै नशाको रुप लिने ईन्टरनेट प्रयोगी (रोगी?) कालागि अमेरिकाको सिएटल र चिनका केही स्थानमा इन्टरनेटको लत छुटाउने पुनर्वास केद्रको समेत शुरूआत भैसकेको कुरा यस्तै पत्र-पत्रिकामा पढेको थिएँ।

अनलाईन च्याट, सोशियल नेटवर्किंग र यस्तै अन्य अनलाईन गतिविधिको नशा चुरोट, सुर्ती र रक्सी जस्तै बन्न थालेपछि यस्तै र अन्य यस्तै खालका समाचारका आधारमा, यो पुरै अन्तरजालोलाई तपाई पनि खराब मान्ने सुरमा हुनुहुन्छ भने एकैछिन पर्खनुस !।

भर्खरै सार्वजनिक गरिएका एउटा सोधका तथ्याङ्कले ईन्टरनेटका केही अपत्यारिला गुणहरु प्रकाशमा ल्याएको छ ।

युनिभर्सिटी अफ क्यालीफोर्नीयामा प्रोफेसर गेरि स्मलको टिमले गरेको अनुसन्धान अनुसार इन्टरनेटले शिथिल दिमागको लागि ‘टनिक’ को काम गर्छ । उनले ५५ देखि ७८ बर्ष उमेर समुहका महीला तथा पुरुषमा गरेको अध्ययनले सो कुराको पुष्टी भएको छ ।

अध्ययनमा सहभागी गराईएका व्यक्तिहरु मध्य आधालाई सामान्य दैनिक कार्य जे जस्तो गर्दै आएका थिए त्यत्तिकै छाडेको र आधालाई भने १५ दिनसम्म हरेक दिन एक घन्टा इन्टरनेट चलाउन लगाईयो । यो प्रयोग सुरु गर्नु भन्दा अगाडि सबै सहभागीको ब्रेन स्क्यान (functional magnetic resonance imaging) गरीएको थियो र पन्ध्र दिनपछि पून: सबैको ब्रेन स्क्यान गरेर हेर्दा, ईन्टरनेट चलाउनेहरुको दिमागको त्यो भाग जसले स्मरण गर्ने, सूचना संग्रह गर्ने र भाषाको ज्ञान राख्‍ने गर्छ, त्यो पहिला भन्दा बढि सक्रिय भएको पाईयो ।

ईन्टरनेटको प्रयोगले स्मरण शक्तिमा सुधार आउने र भुलने रोगबाट समेत छुटकारा दिलाउने बताईएको छ । जे होस जवानीमा नशा नै भएपनि उमेर ढल्केपछि भने दिनमा १ घन्टा इन्टरनेट चलाउनु लाभदायकै रहेछ कसो ?

(समाचार स्रोत: पत्र-पत्रिका र ईन्टरनेट)



October 26, 2009

बसन्त जीलाइ भूंडी उत्तर

चाइन्जोकालाइ ह्यां भुडीको रमिता भइराको बेलां म के नरमिते कुरा गरौं। ए म त दौंतरीमा पो रहेछु। खास त बसन्त जी कै ब्लगमा उत्तर दिन लाग्या हो। तर प्रश्न भन्दा उत्तरै लामो हुने हो कि भनेर फेरी यै दौंतरीमा आइपुगें। बल्ल बल्ल हिजो बांदर कथा लेख्ने भ्याको थिएं। अब एक हप्तालाइ ब्लग लेख्ने कोटा पुग्यो भनेको यो भूंडीको उत्तर भने नलेखि रहन सकिन।एक मन त बसन्त जी को भुंडी ले गती छाडेछ म पनि त्यी भूंडी पूराणमा रंगियु कि जस्तो लाग्यो। तर भन्छन नि असल साथिले नाका फोहोरलाको तुरुन्त भनिहाल्छ रे। अरु भने मुसुमुसु हांसेर मात्र बस्छन् रे। यसो भुमिका बांधेको आफ्नै कुथुरो पोख्न हो के। खै कुरा बुज्या?

स्कुल पढ्दा दिनमै २-३ घण्टा पढिन्थ्यो। खै धेरै हिंडेर हो कि के हो स्कुल क्यामपस पढ्दा सम्म हात खुट्टा सधै खिरीला भए। मोटा साथी देख्यो कि खुब डाहा लागेर आउने। कक्षा १० मा एक जना मोटी साथी थिइन। ज्यान मात्रै आलू जस्तो थिएन पढाइ पनि करिब करिब आलु नै थियो। सारै दिक्क लागेर होला तिनकी आमा स्कुलमै आएर माडसाब सं गुनासो गरिछिन - खाना खाए पछी सुत्छे,स्कुल जाने बेलामा बल्ल उठ्छे। बल्ल मोटोपनको रहस्य खुल्यो। मोटाउने फर्मुला थाहा पाएर म त्यसै दंग थिएं। मलाइ पनि लाग्यो एस.एल.सी त सकियोस अनि मैले जान्या छु। दिन,महिना गर्दै एस.एल.सी पनि सकियो। अब भने म मोटाउनको लागी एकाग्र भएको थिए। कम्तिमा पनि म १३-१४ घण्टा सुत्न थालें। मोटाउने भइयो भनेर म त्यसै फुलेल थिएं। हिउंद मासा,गाउं घरमा काम पनि नहुने,एस.एल.सी पनि सकयो पढ्ने त कुरै भएन। कि खाने कि सुत्ने मेरो दिनचर्या त्यही हुन थाल्यो। खै के कुरा मिलेनछ म त २ हप्ताको लामो सुताइ पछि बिरामी पो भएं। अलि अलि ज्वरो आउने र ज्यान दुखेर चलाउनै नहुने भयो। मलाइ यकिन भयो यो मोटाउने फर्मुला गलत पर्यो भनेर। त्यस पछी भने मोटाउने रहर कहिल्यै लागेन।

अमेरीका आएपछि भने यै खिरीलो शिरर आकर्षक भयो। ह्यां त कुरो उल्टो पो रहेछ - जती दुब्लो उती राम्रो। मन मनै सोचें धन्न त्यती बेला बिरामी भइएछ नत्र भने त यो अमेरीमा बिजोग नै हुनेरहेछ। पहिलो त कालो कपाल देख्ने बितिक्कै मान्छेहरु मुन्टो उता फर्काइहाल्छन। झन मोटो भए त कुरै नगरौं। एक दुइ जना मोटे साथीहरु गुनासो पोख्थे जे खाए पनि घटिंदैन। मन मनै सोच्थे आफु त दुब्लै छु के रे तिमीहरु जे सुकै खाऔ। तर जब जागिर खान लागियो त्यस पछी भने आफुलाइ पनि त्यही दशा सुरु भयो। २-३ महिना भयो म मोटोपन घटाउने अध्ययन तिर लागेको छु। तर आफ्नो तौल भने घट्ने तरखर देखिदैन। तौल भन्दा पनि ठुलो समस्या त्यही भूंडीमा गएर अड्किएको छ। फेरी बसन्तजीको ब्लगमा पनि त्यही भूडीको महात्मा जांदै रहेछ। अब भने बसन्त गुरुको गणेश बनेर महात्मामा भाग लिने निधो गरें।

मुल मन्त्र त अल्छीको कुरो जैसीले जान्दैन। त्यो मन्त्र यी हड्डी मात्रै भएका हातमा मासु थपिए पछी खुलस्त भयो। जब लाउने गरेका पाइन्टहरु पेटी नगाउनु पर्ने भयो त्यती बेला सम्म त हाइसन्चो भएको थियो। पेटी लगाउन भुले पनि खासै फरक नपर्ने भो। जब पाइन्टका टाक नै लगाउन नमिल्ने भो त्यस पछी भने केही गडबढ भहेको महशुस भयो। आफ्नै शरिरको जांच आफैंले गरें। एउटा साथीले प्वाक्क बोलीहाल्यो - जिउ त ठिकै छ भुंडी भने अलि घटा है। अब जांचबुझ गर्नै नपर्ने भो। कुरो आएर अड्कियो यही भूंडिमा। कहिल्यै जिउ घटाउन नपर्ने सोच भएको मान्छेलाइ परेन अब समस्या? यही भुडी घटाउने धुनमा भोगेका अनुभव एकै हरफमा लेख्दै छु है।

ब्याम गर्दैमा भूंडी घट्दैन। नपत्ताए यो नक्शा हेरौं एउटा पाउरोटी पचाउन कती उफ्रनु पर्नेरहेछ। जिउ मात्र होइन भूंडी घटाउन खानाको मात्रा घटाउनै पर्दछ। त्यसमा पनि चिल्लो,गुलियो निमीट्यान्न नै पार्नुपर्दछ, मासू पनि कम गरेकै बेस। एकै पटक भन्दा एक दिन दुइ दिन गरेर खाना घटाउंदा सघाउ पूग्दछ। सुत्नु भन्दा ३,४ घण्टा पहिलै खाएको निकै उत्तम। खाजामा सलाद खांदा भुंडीलाइ मात्र असर पर्ने होइन की जिउ नै चंगा हुन्छ। ब्याम गर्दा तौल तथा भूडी घटाउन सहयोग गर्दछ र जिउ फूर्तीलोको साथै तनाब मुक्त बनाउंछ। भुडींमा जोड पर्ने खालको ब्याम गरेर अझ सुनमा सुगन्ध। छोटो तर मलाइ प्रभावकारी भएको अनुभव थाहा भए पनि नभए पनि भुडीं घटाउने कार्ययोजनामा समाबेश गर्नुहोला,यस्ले कस्तो ल्याउंछ परिणाम अर्को पटक ब्लगमा भलाकुसारी गरौंला।
फोटो स्रोत: टाइम पत्रीका


October 25, 2009

आज बांदरको कुरा गरौं


मान्छे चकचक गरे कस्तो बांदर जस्तो रैछ भन्नेगर्छौं। बांदरको करामत सर्बसाधरणले त रमाइलो मानेर हेर्छन नै, पत्रकारले पनि भेटे भने क्यामरा सोजाइहाल्छन। अनि पुग्छ बांदरको करामत राष्ट्रिय पत्रिकामा। हिजो मात्रै यो छेउको फोटो दैनिकी पत्रिकामा आएको थियो। मान्छे मात्रै कोक कती खाने, समाबेशी नेपालमा बांदरले पनि त मौका पाउनु पर्यो नि। आखिर यि बांदर जाती पनि मानिसकै नजिकका पुस्ता पर्छन क्यार। त्यसैले होला यो बांदरले पनि लोकतन्त्रको उपभोग गरेको।

मेरो गाउंमा प्रसस्तै बांदर पाइने हुंदा बांदरको कार्यतालिकसित म निकै परिचित छु। हरेक दिनमा बांदरसंग कतै न कतै जम्काभेट भइरहन्थ्यो। कहिले कांहि त बाटोमा होइन घरमै आउंथे। घरमा भेटघाट गर्न त के हुन्थ्यो र उही कांक्रा,घिरौंला के के छन तिनै खान आउथे। कांक्रो ठुलो भएपछि खाउंला भन्दै हेर्दै बस्यो मान्छे नभएको बेला पारेर बांदरले लगिसक्थे। कांक्रो मात्रै खाए पनि हुन्थ्यो नि कांक्राको झ्यालनै चुडालेर जान्थे। एक पटक हाम्रोमा मादले कांक्रो रोपेका थियौं। हुन पनि मादले कांक्रो पाक्ने बेलासम्म मादल जत्रै ठुलो हुन्छ। दशैंलाइ भनेर राखेको मादले कांक्रोमा बांदरको आंखा लागेछ। बोट बाट त झार्यो उसलाइ बोक्न गार्हो भएछ। यसो कान्लो मुनी हेरको त बांदरले ठेला ठेले जस्तै गरी त्यो कांक्रो ठेलेर जंगल तिर लांदै पो रहेछ।

यस्ता बांदरका कथा हजारौं त नभनौं २,४ सयवटा भन्ने पक्कैछन। कहिले कांही काममा दिक्क लाग्दा सहपाठीहरुलाइ यिनै बांदरका कथा भनेर रमाइलो गर्छु। जनावरको नाममा कुकुर र बिरालासित मात्रै परिचित अमिरीकीहरु बांदरको कथा निकै रमाइलो मानी मानी सुन्थे। नेपाल जांदा भिडियो खिचेर ले है भनेका थिए। पोहोर साल नेपाल जांदा क्यामरा बोकेर जंगल जंगल घुमे मरी गए भेटिएनन बांदर। चाहिने बेलामा त कांहा आउछन र यि बांदर पनि। सायद हिउंद लागेर होला खानाको खोजमा अन्तै लागेछन। हिउंद भने बांदरको लागी निकै कष्टपूर्ण हुन्छ। जाडोले होइन, खानाले। कपडा सपडा नलाउने बांदरलाइ जाडोको त कुरै भएन तर हिउंदमा खेती नगरिने हुंदा बांदरको आयस्रोत न्युन नै हुन्छ। केही बाठा बांदर भने मान्छेको घरमै छिर्छन। यिनीहरुको मुख्य निशाना भनेको मकै नै हो। धान मकै राखिने ठाउं अध्यारो हुंदा केही बांदर भने घर भित्र नै आफ्नो बास बनाउंछन। हाम्रो घरमा एक पटक एउटा बांदरले हप्तै बिताएको थियो।

झट्ट हेर्दा बांदर मान्छे जस्ता मात्र हुंदैनन सोच्ने क्षमता पनि करिब करिब मान्छे जत्तीकै हुन्छ। आइमाई केटा केटीलाइ भने पटक्कै टेर्दैनन। बुढा बुढीलाइ त के टेर्नु? चाइनिज ठुलो छाता पछाडी भिरेर एक पटक नाताले हजुरबा पर्ने बजार जांदै रहेछन। बाटोमा बांदरहरुसंग भेट भएछ। बन्दुक भने पछि बांदरको सातो जान्छ। उनले पनि बन्दुक जस्तै गरि छाता बांदरतिर तेर्ससाएछन। बन्दुक ठानेर बांदर भाग्लान भनेको तिनीहरु के को लाटा हुनु नी उल्टै जाइलागेछन। कता कता बाट स्कुले केटा केटी आइपुगेछन र ति हजुरबाको उद्दार गरेछन। त्यो दिन त टर्यो तर त्यो बर्षैभरी ति हजुरबालाइ देख्यो की बांदरहरु जाइलागिहाल्दा रहेछन। बांदरहरु करिब किरब हरेक गाउंलाइ हेक्का राख्दारहेछन।

बांदरको मेलमिलाप पनि गज्जबकै हुन्छ। एउटालाइ अप्ठ्यारो पर्यो कि अरु बांदरहरु साथ दिन आइहाल्छन। बगालको कुनै बांदर अप्ठ्यारोमा पर्यो भने जोडले कराउंछ त्यसपछी समस्याको प्रकार हेरेर बांदरहरु त्यो समस्या समाधान गर्नतिर लाग्छन। तर जब कुनै बांदरले बदमासी गर्छ त्यस पछी भने त्यसले बगालबाटै सजाय पाउंछ। बांदरले बगालबाट सजाएं पाउने भनेको एउटै कारण हो , त्यो हो अल्पबायु छोड्नु। जब बांदरले अल्पबायु छोड्छ त्यसपछी भने सबै बांदर त्यसै माथी खनिन्छ। खनिनु पनि जयाज नै हो तपाइ पनि त्यो बेला वरीपरी हुनुभयो भने बांदरको अल्पबायु कती घातक हुन्छ थाहापाउनुहुनेछ।

बांदरका कथा जम्मा गर्ने हो भने सानो तिनो उपन्यास नै तयार हुन्छ। फेरी समय मिले बांदरको कथा बाडौंला अहिलेलाइ भने बिट मारौं।


October 21, 2009

Glee Moments

Within the never ending process of formation and termination
Let’s enjoy some of the waves rolling towards the shore,
Luck has favored us; at least the tides kiss our feet in realism
Look sweetie, life resembles this process, uncertainty of less or more.


Have this moment rejoiced, who knows the future ahead?
The circumstances weaved within the womb of nature and fate,
Gratefully, let’s offer our gratitude to nature for having our wishes read
Let the child play with all its might, let it be glee and no more afraid.
You have an era to be me- a lot more to face gain you own experience
Yet, you have nothing to pretend, and just be yourself- a true kid
Let me be your friend, resemble your character and enjoy, at least for this moment
Hold my hands and let this flood sway me away from all my anxiety and anguish.

Not till distant horizon comes into sight- so vast is the source to learn and discover
Let’s face and count the waves, and learn the ways of survival from the sea-birds,
Let my never growing kid play at this instance, let it roll with the fizz and get wet all over
As forced maturity is my shadow, waiting to overtake me behind this beautiful Atlantic world.
(Once published in my blog, I have presented for dautari readers)


October 20, 2009

जलेको ह्रदयमा फुलेको प्रेम

लेखक-हस्त गौतम मृदुल

आदरणीय मित्र गिताजी

यहाँलाइ मेरो नमस्कार। तपाइको परम कूसलतालाइ म आफनो कूसलतालाइ ठान्दछु। तपाइलाइ पहिलो पल्ट पृथ्वीको पल्लो कुनाबाट यो पत्र लेख्दै छू। मलाइ थाहा छ अब तपाइले यो पत्र हेर्ने चासो गर्नु हुने छैन। किनकी तपाइको म प्रतिको चासोमा कमी आइ सकेको छ। मेरा जीवनका यी अक्षेरहरु निकै गरिव भैसकेका छन। यो पूंजीबादी समयमा यस्ता दरिद्र अक्षेरको केही अर्थ छैन। यि निरही र अभागी अक्षेर पढ्ने तपाइका कोमल नयनहरुमा परिवर्तनको मुलक आइसक्यो। तपाइका नजर खानदानी अक्षेरतिर आर्कषित भैसके। मात्र आजसम्म मेरो उत्सर्ग प्रेम र बिर्सन नसकिने बिगतका ति दिब्य यादहरुले गर्दा अन्तिम पत्र लेख्न बिवस छु। यसलाइ अन्यथा नलिनु होला।

स्वर्गहरुमा पनि स्वर्ग जस्तो आफनो सुन्दर मात्रीभूमिलाइ चटक्कै छोडेर यो बिरानो दुनियाँमा रुमली रहेको छु। यो बिरानो ठाउमा यादहरु नै सहयात्री बन्दारहेछन। सात समुन्द्र तरेर सबैलाइ माया मारेर एक्लै तड्पेर बस्दाका दिनहरुमा तिनै सुन्दर अतितहरुले बिगतलाइ कोट्याइ रहन्छन। मुटु दुखाइ रहन्छन।

सिस्ने हिमालको अनुपम सौन्दर्य र सौम्य मुस्कानको न्यानो आभाषबाट टाढा भएको पनि तिन दशक भैसकेछ। बाउन्न पोखरी त्रिपन्न ताल भनेर चिनिने मेरो प्यारो रुकुम छोडेको पनी धेरै भैसके छ। समयको गर्भभित्र जिवित ति हाम्रा यादहरुले बेला बेलामा स्मृतिको कोखमा जन्म लिंदा मन प्रशव पिंजडामा छटपटिन्छ। हामिले काठमान्डौमा भेटेको पनि एक दशक बितीसकेछ। समयको गतिले कहाँबाट कहाँ हुत्याइ दिन्छ कुनै सिमा छैन। आज तपाइ कहाँ कस्तो परिवेशमा पुग्नु भो र म कहाँ कस्तो परिवेशमा फसें। यो नै भाग्यले न छोएको समयको खेल हो।

त्यतिखेर तपाइका चन्चल आँखाले आखा मनले मनलाइ र बदनले बदनलाइ अपनाइ सकेका थिए। हामीले संगै स्वयम्भुमा बालेको आपसी प्रेम र सद्धभावको दियो अझै बल्दै होला तर सम्बन्धको लक्षमण रेखा नाघेर कुनै रावणको पछि गैसक्नु भएछ। दिल्लीको लोटस टेम्पल जस्तै मायाँको फुल ह्रदयमा फुल्न थालीसकेको थियो। मैले त्यो फुल साँच्चै यर्थाथको दृष्ट्रिकोणबाट सुन्दर र अमर छ भन्ने ठानेको थिएँ। म दंग थिएं। कछुवाले बालुवा भित्र छोपिएका आफना फुललाइ बाहिरबाट स्मरणशक्तिले कोरल्द छ त्यहि हिसाव मैले पनि हाम्रा सपनाहरुलाइ कोरल्दै गएँ।

आज कात्रिक १६ गते २०५० साल नेपाल छोडेर जीवनको एक लामो यात्रामा जुटि रहेको छु। यतिखेर मेरो मनभरी तपाइकै अनुपम प्रेम साथमा लिएर त्यो गन्तब्यहिन यात्रामा लाग्दै छु। जहाजमा बसेर तपाइकै अनगिन्ती स्मृतिहरु केलाउदै नागोया एरपोर्टमा उत्रिदै छु। जापान मेरो कल्पनाको देश थियो। एशियन हेल्थ इन्स्टीचुट को निमन्त्रणमा नागोया पुगेर झण्डै एक हप्ता बिताएँ। आहा कति आत्मीकि जापानीहरु। कस्तो सद्धभाव पाहुनाहरु प्रति कस्तो मेहेनत। नागोयाको टोयटा सिटीमा केही क्षेणको आनन्दमया त्यो बातावरणमा तपाइलाइलाइ सम्झीं रहें। सुन्दर ठाउमा सुन्दर मनहरु एक हुदाको अबस्था कस्तो हुदो हो भन्दै मन्को लड्डू घिउसंग खाइरहें। हारामाचिदा सहरको फुलै फुलले सजिएको त्यो शहरमा तपाइलाइ सम्झें। अनी त्यो बेला ति फुलहरु टिपेर मायाको निसानी दिने कल्पनामा एटलान्टीक महासागर बिचमा सुर्य डुबेको देखिए झै भावमा डुबी रहें। नागानो कति सुन्दर ठाउ रहेछ। भगवान बुद्धको बिशाल काठैकाठले बनेको मन्दिरको दर्शण गर्दा बहुतै सम्झें। मन्दिरमा दुइ जनाले संगै बसेर ध्यान गरेको एक्लो हुदा खल्लो लाग्यो। वोलम्पीक शहर बनेको त्यो नागानोको आतित्थ उच्चस्तरको थियो। आफुलाइ सगरमाथा ठान्दै माउन्ट फुजीलाइ अंकमाल गर्न पुगेको भान भो। त्यो हिउँ थिएन प्रेमको भावुक आभाष थियो। मैले फुजीलाइ तपाइकै अनुभुतिमा धेरै पटक चुमें। त्यसैको वरीपरी घुमे। टोकियो सहरको आगनमा फुलेका चेरीका "फुलहरुले मेरो मनलाइ छोइरहयो। पिरतिले मैलिएको मुटुलाइ पलपल धोइरहयो।"

यही गीत गुनगुनाउदै अनि फेरी ओसाका वकिनावा तिर लागें। एक्लो यात्रामा केवल बिगतका ति यादहरुमा रुमल्लिएको छु। करिव ३ महिनाको जापान यात्रामा मायाको अनुभुति अबिछिन्न भैरहयो मलाइ। अनी म फेरी काठमान्डौ फर्किए र त्यही बाहुपासमा बाँधिएं। हाम्रो बिस्वास फल्दै फुल्दै गै रहेकै थियो। बेला बेला भुकम्पका धक्काहरु महसुस गर्दा लाग्थ्यो मेरो पवित्र प्रेममा कहिलै धक्का नलागोस भनेर।

फागुण २१ गते २०५० सालमा फेरी दोस्रो यात्रा नर्वेको ओस्लोमा तय गरिरहेको छु। एरपोर्टबाट भर्खरै ओर्लिदै होटल तिर लागें। हिउँ नै हिउको सेतो खास्टो ओडेको नर्वे एक परम सुन्दरी गोरी झै लाग्यो। हिमालै हिमायलयको देश नेपालबाट आए पनि हिउँ आफनै हातले स्पर्श गरेको थिइन। तर यहाँ हिउँबाट यात्रा तय गरे। ओस्लो सहरभरी घुमेर लिलाहम्मर सम्म पुगें। आधारातमा सुर्य देखिने देश आफैमा एक कौतुहल बनेको छ। । बिकास र प्रबिधि अनि प्रजातान्त्रीक देश नर्वे आफैमा एक अटल मानताबादी राष्टको मिठो अनुभुति भैरहेको छ मलाइ। यतिबेला पनि म तपाइकै अनुपस्थीतिको कटु पिंजडा महसुस गर्दै छु। तपाइकै अनुपम प्रेमको मिठो कवाफ खाँदै यात्रा तया गर्दैछु। तपाइ बिनाको यात्रा केवल निरस लागी रहे छ मलाइ। नर्वेको ३ हप्ते लामो यात्रा पछि फेरी म याहाबाट अमेरिका घुम्ने, टेक्ने सोच बनाएँ र म डेनमार्क तिर लागें र केही दिन पछि कोपनहेगन भएर अमेरिकातिर लागें।

भर्खरै चैत्र १५ २०५० गते म फेरी मिठा भावहरुमा डुब्दै अमेरिका तिर उडि रहेको छु। कल्पनामा र सपनामा जस्तो देखिन्छ अमेरिका त्यो मैले पनि महसुस गर्दै छु। अभाव खट्किएको छ तपाइको। सच्चा दिलमा जुन अभावले भाव जन्माउछ त्यो नै सत्य साहित्य हुँदो रहेछ भन्ने लागी रहेको छ। आफनो दैनिकी लेखिरहेको छु। तलतिर हेर्छु आकास नै देखिन्छ माथीतिर हेर्छु आकास नै देखिन्छ।

एउटा कल्पनाको सुन्यतालाइ चिर्दै म यथार्थको परिवेशमा ओर्लिदै छु। पटक पटक तपाइको फोटो हेर्छु र स्पर्शदायी आखाले धीत नमरे सम्म एउटा अज्ञात दिशामा टोलाइ रहन्छु।

स्वर्गहरुमा स्वर्ग जस्तो छ अमेरिका भन्ने सुनेको थिएँ। त्यही भएर जिवित स्वर्ग हेर्नलाइ नर्वेबाट घुम्दै अमेरिकामै आइ रहेको छु। जीवनमा पहिलो पल्ट बाइस बर्षको उमेरमा कलिला सपनाहरु बुन्दै अमेरिकामा पाइला हाले। जन अफ केनेडी अन्तराष्ट्रीय बिमानस्थलमा ओर्लिए। बाहिर हिउ नै हिउले ढाकिएको छ। न्युवर्क सहर आफैमा अजिव लागे पनि गहिरीएर अनुभव गर्न खोजिरहेको छु। सहर बाटोघाटो र बिकासको चरम सिमामा पुगेको अमेरिकाले मेरो मनमा नयाँ आभाष छर्न थाल्यो। म संयुक्त राष्टसंघको बिशाल भवनमा पुगें र त्यहाँ नेपाली संग सम्पर्क भयो। अन्तमा मिसन टु नेपाल हाउसमा पसें। बैकुन्ठ आचार्य सर, बिनोद बिष्ट सर भेटें र अन्तमा महामयिम राजदुत डा.जयराज आचार्यज्युलाइ भेटें। बिरानो ठाउमा पुगेर अलमल परेको बेला यस्तो ठाउ र त्यस्मा पनि आथित्यपुर्ण ब्याबहार पाउदा म खुशीले गदगद भएँ। राजदुत ज्युले नजीकै एक होटलमा राखी दिनु भो। त्यसै बेला डा. कुलचन्द्र गौतम ज्युसंग पनि भेटघाट भो। आपसमा सद्धभावपुर्ण भेटघाट र आत्मिय आतित्थेले संधैव मनमा जरो गाडेको छ। यस्तो बेलामा प्रिय गिताजी एक्लो हुदाको पिंजडा महसुस् गर्ने क्षमता म संग कति छ भन्ने कुरा अनुभव गर्दै छु। संग संगै यस सुन्दर अमेरिकाको काखमा लुटुपुटु गर्ने सपना कहिल्ये पुरा भएन। एक महिनाको बसाइ पछि म बसैबसको लामो यात्रा तय गर्दै क्यालिर्फोनीयको गोलडेन व्रिजमा तपाइसंगै यात्रा गर्ने रहर जाग्यो। लसएन्जलस सहर भरी घुमे एक्लै डेनभर नदीको किनारामा बसी बिछोडका हरफहरु कोरें। सच्चा प्रेमी प्रेममा कति सम्म पागल हुदो रहे छ भन्ने कुरा जीवनमा पहिलो पल्ट अनुभव गरिरहेको छु।

बसको लामो यात्रामा कोलोराडो हुदै रक्की माउन्टेनको पहाडहरुमा बैशाखी तान्दै यात्रा गर्दै छु। यी काला चटटानहरुमा तपाइको छाँया खोजी रहेछु। मेरा हरेक यात्रामा तपाइको माया खोजि रहेछु। घुम्दा घुम्दै बाल्टीमोरमा पुगेर नेपालीको माहोल पाए। त्यसमा डा.गोपाल श्रेष्ट र अचुत श्रेष्टदाइको भात्रित्वले अल्झाइ दियो। बुढीआमा मलाइ असाध्यै माया गर्नु हुन्थ्यो। आमासैगै महाभारत हेरेर दिनहरु बिताएँ। जिबन कति खेर समयको उर्जा हो भन्ने लाग्दो रहेछ भने कतिखेर बेकार।

आमाको मायाले मलाइ केही दिन आफनो घर बिर्सिएँ। त्यस पछि म भर्जिनियामा साहित्याकार होमनाथ सुबेदीदाइलाइ भेट्न पुगें। उहासंगै साहित्य र सेवाको अग्रगामी कदम चाल्ने अबसर मिल्यो। भर्खरै अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएको थियो र कार्यक्रममा समेत सहभागी भएर सृजनात्मक काममा हात हालें। सन १९९४ तिर हो। भर्जिनियको लामो बसाइ पछि म मिचिगन तिर गएँ। त्यहा पनि नेपाली मित्रहरु संग भेटघाट भो। अनि फेरी इन्डियानापोलीस हुदै मायमीतिर लागें। मायामी विचमा केही दिन रमाउदै गए। तर प्रिय गिताजी म साँच्चै हरेक अभाव भित्र तपाइकै भाव खोज्दै समुन्द्री छालहरुमा रमाए। समुन्द्रका छालहरुले तपाइका भावहरु बटुलेर मनको किनारमा चुमी रहयो। केही दिन पछि बहामाको नासु टापुमा एक महिना बिताएँ।
क्रमश:

(दोस्रो भाग यहाँ छ)



October 17, 2009

ब्लग संबाद निर्मलमणि अधिकारीसंग


दौंतरीको ब्लग भित्र ब्लग स्तम्भमा नेपाली ब्लगरलाइ निम्ताउने गर्छौं। यसले ब्लगर बिच भाइचाराको कायम हुनुको साथै उदायमन ब्लगरलाइ थप परिचित गर्न मद्दत गर्छ। अत दौंतरी आफैमा ब्लग चौतारी भएकोले अन्य ब्लगरको सफलता नै दौंतरीको सफलता हो। यस पटक प्रध्यापन पेशमा संलग्न ब्लगर निर्मलमणि अधिकारीलाइ निम्ताएको छु। आउनुहोस वहाँसंगको कुराकानीमा लागौं ।

१ ब्लग लेख्ने रहर कसरी जाग्यो ?

सन् २००६ जनवरीदेखि ब्लगिङ् थालेको हुँ । त्यतिखेर म आमसंचार र पत्रकारिता प्राध्यापन गर्थेँ र अनलाइन न्यूजपोर्टलको सम्पादक थिएँ तर पत्रपत्रिकामा नियमित स्तम्भलेखनको काम भने बन्द गरिसकेको थिएँ । ब्लगका विशेषताबारे विद्यार्थीहरुलाई बताउँदा बताउँदै आफूलाई पनि यसले आकर्षित गरेको म सम्झन्छु ।

त्यतिबेला मैले मूलतः तीनवटा उद्देश्यहरु राखेर ब्लगिङ् सुरु गरेको थिएँ । एक विद्यार्थीहरुका लागि पाठ्यसामग्री तथा गृहकार्यहरु राखिदिन साइबरस्पेसलाई प्रयोग गरौँ भन्ने उद्देश्यले । दुई आफ्ना पूर्वप्रकाशित सामग्रीहरुलाई डिजिटल स्वरुपमा संरक्षण गर्न सकिने र नयाँ पाठकहरुसमक्ष पुर्याउनसमेत सकिने भएकाले । तीन केही समसामयिक टिप्पणी लेखियो भने त्यसलाई पनि पोस्ट गर्ने भनेर ।


२ तपाईँको ब्लग पूर्वतिर जाने भनिएको रहेछ पूर्वमा त्यस्तो के छ जो पश्चिममा छैन ?

यहाँ मैले पूर्व भनेर वैदिक हिन्दू विचारधारालाई जनाउन खोजेको हुँ । पूर्वमा धर्म अर्थ काम र मोक्ष यी चारैवटा पुरुषार्थलाई समान महत्व दिइने समष्टिकृत दार्शनिक संश्लेषण छ जुन पश्चिममा छैन ।

३ तपाईँको ब्लग धरातल कसरी फैलिएको छ ?

यतिखेर मेरा पाँचवटा ब्लगहरु साचालनमा छन् । मेरो पहिलो ब्लग http://nirmalamani.blogspot.com/ मा दार्शनिक धार्मिक सांस्कृति एवं सामाजिक सन्दर्भमा लेखिएका सामग्री छन् । अर्को एक ब्लग http://maharshidhaumya.blogspot.com/ मा मेरा साहित्यिक रचना समेटिएको छ । तेस्रो ब्लग http://nirmalam.blogsome.com/ मा नेपालमा जातीय भाषिक साम्प्रदायिक सवालबारे मेरा लेखहरु राखिएका छन् । चौथो ब्लग http://sadharanikarantheory.blogspot.com/ मा साचारसम्बन्धी मेरा मौलिक अनुसन्धानमूलक सामग्री राखिएका छन् । यसमा संख्यात्मक रुपमा सबै भन्दा थोरैवटा पोस्टहरु प्रकाशित छन् । पाँचौँ ब्लग http://adhikary.wordpress.com/ लाई मैले माथि उल्लेखित चारैवटा ब्लगहरुको समष्टिकृत साइटका रुपमा विकास गर्न खोजिरहेको छु ।

४ तपाईँको ब्लगको स्वरुप कसरी निर्धारण गर्नु भएको छ ?

यस प्रश्नको उत्तर माथि पनि केही मात्रामा आइसकेको छ । थप भन्नु पर्दा मेरो पहिलो ब्लग ज्योतिर्गमय- A Movement toward East मा धेरै समयसम्म विद्यार्थीहरुका लागि पाठ्यसामग्री तथा गृहकार्यहरु पूर्वप्रकाशित सामग्री तथा समसामयिक लेखोट यी सबैखाले सामग्री राखिन्थ्यो । पछि अन्य पोस्टहरु डिलिट् गरेर दार्शनिक धार्मिक सांस्कृति एवं सामाजिक सन्दर्भमा लेखिएका सामग्री मात्र राखिएको छ ।

५ धर्म अध्ययन अध्यापन लेखनमा के समानता असमानता भेट्नु भयो ?

मेरो दृष्टिबिन्दुबाट हेर्दा यी सबै मेरा कर्म हुन् त्यसैले उस्तै हुन् ।

६ धर्मलाई अफिम किन भनिएको होला ?

यो भनाइ अन्यत्रको सन्दर्भमा भनिएको हो भारतवर्षको सन्दर्भमा होइन । कार्ल माक्स्रले समाजको अध्ययन गर्ने क्रममा खासगरी पश्चिमा मुलुकमा धर्मका नाममा कतिपय अन्धविश्वासी कामहरु भएका र कट्टरता रहेका परिप्रेक्ष्यमा त्यसो भनेका थिए । भारतवर्षमा खासगरी वैदिक परम्परामा धर्म भन्नाले जीवनपद्धति बुझिन्छ ।

७ भगवानको अवतार साँच्चै हो कि यो रावणले रामलाई भनेजस्तो जादूगरी हो ?

दुवै कुरा हुन् । कतिपय अवतार साँच्चै हुन् भने कतिपयले जादूगरी वा अन्य शक्तिको आडमा अवतार भएको दाबी गरेर भ्रम फैलाउन सफलता पाएका पनि छन् ।

८ थुप्रै पुस्तक लेख्नुभएको छ सबैभन्दा सफल पुस्तक कुनलाई मान्नु हुन्छ ?

बजारको मापदण्डअनुसार भन्ने हो भने आमसाचार र पत्रकारिता नै सबैभन्दा सफल पुस्तक हो । यो पुस्तकको पहिलो संस्करण वि.सं. २०६० मा प्रकाशित भएको थियो र भर्खरै पाँचौँ संस्करण प्रकाशित भएको छ । पुनर्मुद्रणलाईसमेत हिसाब गर्दा यो धेरै नै बिक्री भएको पुस्तक हो । चर्चाका हिसाबले भन्ने हो भने आस्थाको शान्ति-युद्ध वि.सं. २०५७ ले राष्ट्रियसाथै अन्तर्राष्ट्रिय चर्चा पायो ।

९ पत्रिकामा लेख्दा र ब्लगमा लेख्दा कस्तो फरक अनुभव गर्नु हुन्छ ?

लेख्दाको अनुभूति उस्तै हो । सार्वजनिक भइसकेपछिको अवस्थामा पत्रिकाका सन्दर्भमा धेरै पाठकले पढेको पाइन्छ तर ती देशभित्रका मात्र हुन्छन् । ब्लगका सन्दर्भमा पाठक संख्या कम हुन्छ तर ती पाठकहरु संसारका विभिन्न ठाउँका हुन्छन् ।

१० विश्वको शक्तिशाली राष्ट्र अमेरिका अझै पनि In God We Trust भन्ने भनाइमा अडिग छ नेपालजस्तो अविकसित देश भने धर्मबाट टाढिँदै छ । यो गरिबी हो कि अज्ञानता ?

नेपालमा गरिबी अज्ञानता र हीनताभाष जस्ता आन्तरिक कारण र वैश्विक स्तरमा रचिएको व्यूहचक्र ग्राण्डडिजाइन का कारण धर्मद्रोही विचार र व्यवहारले मौलाउन पाएका हुन् । जसले आफ्नो धरातल मजबुतसँग टेक्छ उही शक्तिशाली हुन्छ । ढिलोचाँडो सबैले आफ्नो जरो नजगाई धरै छैन ।

११ नयाँ धर्मावलम्बीहरुको संख्या बढ्दै गइरहेको छ तर हिन्दूको संख्या जसका तस छ । यस्तो किन भएको ?

संख्या बढाउनुलाई नयाँ धर्मावलम्बीहरुले विशेष प्राथमिकतामा राख्ने गर्छन् । यसका लागि बाह्य सहयोग पनि जुटिरहेको हुन्छ । मूलबासीहरुले पत्तो नपाइन्जेल यस्तै हुन्छ ।

१२ धर्म र नैतिकतामा के फरक छ ?

धर्म बृहद् प्रणाली हो जसले समष्टि जीवनपद्धति बुझाउँछ । नैतिकता त्यसको अनिवार्य अंग हो । नैतिकताबिना धार्मिकता हुँदैन ।

१३ नेपालमा तन्त्रको बोक्रोमाथि बोक्रो थपिँदै जाँदा धर्म किन भने क्षीण हुँदै गइरहेको होला ?

धर्म त किन क्षीण हुन्थ्यो र त्यो तत्व त अक्षण्ण छ । मानिसहरु त्यसबाट टाढिने र त्यसको फलस्वरुप अधर्म अनैतिकता अशान्ति बढ्ने चाहिँ हुन्छ ।

१४ अन्य ब्लग कत्तिको सयर गर्नु हुन्छ कस्तो अनुभव छ तपाईँको ती ब्लगप्रति ?

गर्छु । कतिपय त नियमितजसो नै हेरिन्छ । तिनको सामान्यीकृत टिप्पणी गर्न सकिन्न । कतिपय आफ्ना उद्देश्यमा प्रष्ट छन् कतिपयले रहरै रहरमा गरिरहेका छन् ।

१५ तपाईँले दौँतरीलाई के सुझाव दिनु हुन्छ ?

मैले बेला बेलामा हेरिरहने साइटमध्ये यो पनि पर्छ । धेरै किसिमका पठनीय सामग्रीहरु समेटिएका छन् । यसलाई कायम राख्दै थप विविधता ल्याउन सकोस् ।

१६ तपाईँलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि ?

ब्लगको उपयोगिताअनुसारको प्रतिफल हामीले लिन सकिसकेको स्थिति होइन अहिले । त्यसैले यसको दोहनलाई मात्रात्मक र गुणात्मक दुवै आयाममा वृद्धि गर्न थप गहकिला प्रयत्नहरु गरौँ ।