- कृष्ण पौडेल
बिगत केही हप्ताहरूदेखि नेपाली छापा र मिडियाका माध्यमहरूमा भारतको पूर्वोत्तर राज्य मेघालयका नेपालीहरूको दु:ख र पीडाले चर्चा पाएको छ । मेघालयका रैथाने खासी जातिले त्यहाँ सदियौँ वा दशकौँदेखि श्रमिक र पशुपालन व्यवसायमा लागेर जीवनयापन गरिरहेका नेपाली भाषीहरूमाथि गरेका हिंसात्मक आक्रमण , २० औँ नेपालीको हत्या र त्यसकारण सिर्जित मानवीय उत्सर्जनका घटनाहरूले नेपाली मिडियामा प्रशस्त ठाउँ पाएको देखिएको छ ।
स्थानीय खासीहरूले मेघालयका पहाडी क्षेत्रहरूबाट सयौँ नेपाली परिवारहरूका घर गोठहरू जलाएका छन् वा बलजफ्ति विस्थापित गराएका छन् । यी परिवारहरु सहाराबिहीन बनेर छिमेकी राज्य आसाम र बंगाल हुँदै नेपाल फर्किन थालेका समाचार पनि आइरहेका छन् । हामी नेपालीहरू मध्ये कतिपयलाई लाग्न सक्छ , यी नेपालीहरू को हुन् र कहिलेदेखि त्यहाँ पुगेर बसोवास गर्न थाले त ?
यी मध्ये कतिपय परिवारहरू विगत केही सय वर्ष भन्दा बढी समयदेखि भारतमा छरिएर रहेका हुन् भने अरू कामको खोजीमा नेपालबाट अस्थायी समयका लागि त्यहाँ पुगेका छन् । भारतको आसाम लगायत पूर्वोत्तर राज्यहरूमा ३,४ सय वर्ष अघिदेखि बसोवास गरिआएका नेपालीहरूको जनसंख्या पनि उत्तिकै विशाल छ । संख्या निश्चित किटेर भन्न नसकिए पनि , भारतका बिभिन्न प्रान्तमा छरिएर रहेका नेपाली भाषीहरूको संख्या ६० लाख देखि १ करोड बीच रहेको अनुमान छ । यो संख्या मध्ये , सिक्कीम, दार्जिलिङ गोर्खा पार्वत्य परिषद, उत्तराञ्चलको देहरादून वरिपरि पुस्तौँदेखि बसोवास गरिरहेको मोटामोटी १०-१५ लाख नेपालीहरू मात्र तुलनात्मक रूपमा सुरक्षित छन् । नेपालीहरूको सघन बसोवास क्षेत्रमा रहेका हुनाले अपेक्षाकृत रूपमा सुरक्षित जनसंख्या हो यो । हुनत दार्जिलिङ क्षेत्रमा पनि नेपालीभाषीहरू बीच नै गोर्खाल्याण्ड आन्दोलनको विषयमा पक्ष विपक्ष बनेर संघर्ष जारि छ र त्यहाँ नेपाली समूहरू बीच नै हिंसाका घटनाहरू फाटफुट देखिने गर्छन । तर पनि , यी क्षेत्रहरूबाट यी छिटपूट संघर्षका कारण नेपाली भाषीले आफ्नो थातथलो छाडेर हिँड्नु पर्ने अवस्था नआउला भन्न सकिन्छ ।