"मौका सबको मिलता है" भन्ने झण्डै एक दशक पहिले हेरेको सत्या भन्ने हिन्दी फिल्मको डायलग धेरै पटक सान्दर्भिक भएको देखेको छु । अहिले पनि एउटा दर्हो मौका आएको छ नेपाललाई सांकेतिक रुपमा भए पनि भारतलाई घच्घच्याउने मेशिन रिडेबल पासपोर्ट छपाउन नदिएर, र यसमा अहिलेसम्म उत्कृष्ट खेलेको छ लेखा समितिले । नेपालको राजनीतिमा गन्हाउन हतारिएकी र देशलाई बाबुको लाली पप ठान्ने महा महिम सुजाताको मुखलाई नसके पनि हातलाई सम्म अहिलेसम्म कन्ट्रोल गरेको छ लेखा ले ।
अहिलेको दुनियामा अधिकांश देशहरु बिचको सम्बन्ध, सामिप्यता या अन्तर्देशिय मित्रता आर्थिक कुटनीति र नाफा नोक्सानसंग जोडिएका हुन्छन । यसो भनेर सांस्कृतिक र अन्य किसमका सम्बन्धहरुको अर्थै छैन भन्न खोजेको हैन । अमेरिका र युरोप एकदम घनिष्ठ मित्रहरु भए पनि यिनिहरुको मित्रताको चुरो बेला बेलामा माइक्रोसफ्टलाई ठेगान लगाउने युरोपको कारवाही र एअरबसले पाएको अमेरिकी सेनाको इन्धन भर्ने ठेक्का खोसिदिने अमेरिकी चलाखी जस्ता कुराहरुले देखाइरहन्छन । यसको बदला केहि वर्ष भित्रै युरोपले चुकाउने छ किनकि "मौका सबको मिलता है"। अझ भाषा र भुगोल जोडिएको जर्मनीले स्विस ब्यांकमा रहेका आफ्ना नागरिकहरुको गोप्य खाता विवरण चोर्न एउटा इटालियन ह्याकरलाई मिलियन डलर दिन्छ , यतिबेला कानुन वा छिमेक भन्दा आफ्नो स्वार्थ हेरिन्छ । किनकी "पैसा बोलता है" !
हो अहिले नेपालले यदि भारतले आफुलाई थिचो मिचो गरेको छ र आंफुलाई समान व्यवहार गरेको छैन भन्ने लाग्छ भने मौका यहि हो । नेपाली जनताले भारतलाई हामीले विश्वास गर्दैनौं भन्ने संदेश दिन चाहन्छन भने हो, मौका यहि हो । भारतले जहिले पनि नेपालले जे भने पनि मान्छ भन्ने ठान्छ भने त्यसको जवाफ दिने मौका यहि हो, सांकेतिक रुपमा भए पनि । अझै पनि हैन टाइम छैन छिटो चाहियो, अब छिमेकि त हो उधारो भए पनि उसैले दिन्छ भनेर अर्को पटक पुन आंगनमा „सुसु“ गर्ने ठाउं दिने हो भने भन्नु केहि छैन नत्र अहिले नेपालले यो काम भारतलाई नदिएर अन्य प्रतिस्पर्धीलाई दिएको खण्डमा भारतले एक पटक पक्कै सोच्नेछ , किनकि "पैसा बोलता है" । र यो भन्दा अर्को दर्हो र सुरक्षित आर्थिक-कुटनितिक मौका झ्याप्प नआउन सक्छ । नबिर्सौं एउटा कोडाक जस्तो एउटा फोटो सम्बन्धी सामाग्री बनाउन नेपाल आएको कम्पनीलाई भारतले "भ्रुण" समेत नष्ट हुने गरी मिल्काइदिएको । जब भारतले हामीलाई उंभो लाग्न नदिन यस्ता तिकडम गर्छ भने हामीले मौकामा जवाफ दिन पर्दैन ?
तर अचम्म सिमानामा झण्डा गाड्ने र एस एस बीको सिपाहीको लाठि खाएर "राष्ट्रको इज्जत राख्ने" नेताहरु हुन वा खुकुरी नचाउंदै कालापानी पुग्नेहरु हुन यस विषयमा मौन छन । अरु त अरु भारतीयहरुको हुण्डी नखाने पत्रकारहरु पनि मौन छन । किन क्वारेन्टाइनमा थन्किनु परेका ट्रक, कोडाक आदिका आफ्नै हातले लेखेका कहानी पनि विर्सन्छन नेपालि पत्रकारहरु ? के नेपाली पत्रकारहरुको स्मरण शक्ति ९० वर्ष नाघेका गिरीजा प्रसादको भन्दा क्षीण छ ? सबैले बुझ्नु पर्ने हो कुरा हो एक पटक नेपालले भारतलाई जवाफ दिनै पर्छ । र जवाफ रेलिङ भांचेर, झण्डा गाडेर, खुकुरी हल्लाएर वा उपनामहरु दिएर हैन शिष्ट पाराले दिनु पर्छ किनकी "पैसा बोलता है" र सानो पैसाको ठुलो बोलीले पनि दर्हो संदेश दिन सक्छ । हैन भने यस्तो बेलामा पनि त्वं शरणं जाने हो भने त्वं शरणंबाट माथि आउन धेरै समय लाग्न सक्छ या असंभव पनि हुन सक्छ ।