January 2, 2010

नया वर्ष मुलुक र मुलुकवासीका लागि सुखदायी बनोस् ।

राजनीतिका कुरा गर्दा पक्ष -विपक्ष बनेर आग्रहहरू उपस्थित हुने गर्छन् । कहीँ समर्थन र कहीँ बिरोधहरूको श्वर हात लाग्छ हरेक हरफ र तर्कहरूको लेखनीसंगै । वाद , विचार र आग्रहको प्रस्तुतिसंगै सहमति र असहमतिको प्रस्फुरण स्वभाविक छ । हामी मनुष्यहरु स्वभावत: चाहन्छौँ आफ्नो आग्रह सर्वस्वीकार्य बनोस् तर त्यो सम्भाव्य छैन विचार बहुलताको प्राकृतिक संसारको बनावटभित्र ।विचार र दर्शनको यही अपरिमेय विविधतामा मानवताको अद्यावधिक विकास सम्बव भएको हो । पृथक वाद, विचार र जीवनदृष्टिका लागि स्थान र सम्मान दिएर बाँच्नुमा सभ्यता र लोकतान्त्रिक आचरणको सार निहित छ । तर , हामी लोकतन्त्र एवं विचार बहुलताको यो सभ्य चिन्तनको यति बिघ्न प्रशंसक हुँदाहुँदै पनि व्यवहारत यही कुरालाई आत्मसात गर्न नसक्दा थुप्रै बेथितिको जञ्जालमा अभिसप्त बाँच्न वाध्य बनेका छौँ ।

हाम्रो मुलुक विद्यमान छ विश्व इतिहासको त्यो अपरिचित अनिश्चयको संघारमा । बाँकि संसार प्रतिशतमा आर्थिक वृद्दिदर आँकलन गरेर मानवता र मानव विकासको स्तर मापन गरिरहँदा हामी गास , बास र कपासका कमण्डलु भित्र राजनीतिक स्वार्थका मुद्रा गनेर आफ्नो थैलीको मोटोपन मापनमा रमाइरहेका छौँ । विचित्र छ हाम्रो स्व-उन्नयनको परिभाषा ! आँफूलाई उम्दा साबित गर्नु अनि अरूलाई गरिने निषेधमा मात्र हाम्रो राजनीति र जीवन व्यवहारका गणितहरू सकृय रहनाले , हामी सदावहार घाटामा छौँ । हाम्रो बिचलन, बिघटन र विनिर्माणका श्रृंखलाहरूको अन्त्य हुन हो कि भन्ने हाम्रो अपेक्षा समयको व्यतिति संगै अर्को बिकराल संस्करण बनेर पुनर्जीवित बनेको छ र हामीलाई अर्को दु:स्वप्न बनेर खेदिरहेको देखिन्छ ।


नेपालको बारेमा सोच्दा ,विचार गर्दा अनि चर्चामा सहभागी हुँदा ग्लानि महशुश हुने स्थिति बनेको छ । हामी एशियामा युद्ध प्रताडित अफगानिस्तानभन्दा मात्र माथि छौँ , जीवनस्तर र विकासको मापदण्डमा । हाम्रो मुलुकको पहिचान अदक्ष कामदारलाई मलेशिया र खाडीका मुलुकमा पठाउने श्रमिकहरू र तिनै श्रमिकहरूको रगत र पसिनाले आर्जित रेमिटेन्समा अस्तित्वरत मुलुकको रूपमा रहिसक्यो । हाम्रो परिचय सांस्कृतिक क्रान्तिकालीन चीन र तत्कालीन कम्बोडियाका बर्बर मानवहत्याका इतिहासका पानाहरूसंग दाँजिने बनिसक्यो । यिनै दूर्नाम परिचयको छाप बोकेर हामी , संसारभर भड्किरहेका छौँ । यो आत्मग्लानिपूर्ण परिचयलाई बोकेर , सदावहार क्रान्ति, आन्दोलन, बन्द, हड्ताल, हिंसात्मक रोमाञ्चकतालाई सडकदेखि सरकारसम्म मञ्चन गरेर तमासा बनाउँदै हाम्रो जात्रा विश्व सामू प्रदर्शन गर्नुमा हामि लागिरहेछौँ । सर्वाङ्ग नाङ्गो मान्छे सडकमा दौडिँदा , तमाशेहरूले हेरेर ताली पड्काउँदा , हामी हाम्रो वीरोचित कृत्यमा मखलेल खुशी छौँ । जब हामी हाम्रो नाङ्गोपनमा अरूले लिएको मनोरञ्जनलाई उपलब्धी ठानेर रमाइरहेछौँ भने , हाम्रो वर्तमान कति निरिह छ बुझ्न सकिन्छ ।

के हुन्थ्यो होला हामीले पनि अरूलाई बाँच्न दिएर हामी बाँच्न पाउने अवसरको खोजी गर्ने प्रयास गरेमा ? के हुन्थ्यो होला बाँच र बचाऊको मन्त्रलाई पुज्य ठानेर मानवाताको उद्बोधनमा रमाउन हामीले जानेको भए ? के हुन्थ्यो होला हाम्रो मानसमा केवल अर्कोलाई दोष लगाएर अरूलाई गरिने घृणामा आफ्नो सफलताको राज खोज्ने प्रवृत्ति नभैदिएको भए ? किन हामी आफ्नै कर्तूतको आरोप अरूलाई लगाएर , हामी त्यहि गर्न उद्यत छौँ ?

आडम्बर अनि दुष्ट्याईँले पनि लाज मान्नु पर्ने हो । राम्रोको लागि झगडा र द्वेष , घृणा र प्रतिशोध नहनु पर्ने हो । सबैले चाहेको राम्रो नै हो भने त झन त्यहाँ मनमुटाव रहनु पर्ने परिस्थिति नै नहुनु पर्ने हो । तर किन यो सब भैरहेछ अनि हाम्रा सुन्दर र सुशान्त कल्पनाको पलपल हत्या हुँदैछ ?

कामनाहरूको पनि कुनै अर्थ छैन । मुलुकका लागि सोचेका छौँ भन्नेहरूको संख्या धेरै भएर हो कि , आज मुलुक यिनै सोच्नेहरूका कारण आक्रान्त बनेको ? अब व्यक्तिले , अरूलाई हानी नगरी आँफ्नै लागि सोच्ने हो कि ? भीडबाट व्यक्ति वा झुण्डकलागि स्वार्थको खेति खोज्न छाडेर , इमान्दार वैयक्तिक उपलव्धिका लागि हाम्रो समष्टिले अग्रता पाउँथ्यो कि ? तर कामना नगरी पनि सुखै छैन , सबै कमसल र नराम्रा कुराहरू अतित बनून र नया वर्ष मुलुक र मुलुकवासीका लागि सुखदायी बनोस् ।



January 1, 2010

नौलो यात्रा २०१०

यात्रा प्राय नोलौ नै हुन्छ। क्यालेन्डरका पानाहरु फेरीने क्रममा क्यालेन्डर नै फेरिने नया बर्षको यात्रा भने दिशा ठम्माउनै मुस्किल पर्ने पनि हुन सक्छ। वास्ता नगरे कागलाइ बेल पाके जस्तै हुन्छ वास्ता गरे नया बर्षमा युग नै जन्माउन सकिन्छ। हामी ब्लगमा प्राय अरुकै कुरा गर्र्छौं। भनौं न अरुको समाचार पढेर रमाइलो गर्छौं, अनि भन्छौं यस्ले यो गर्यो उस्ले उ गर्यो। यो चाहीं राम्रो भयो यो चांही खराब भयो। आफ्नो राम्रो र नराम्रो पक्ष केलाउंदै आफ्ना सुन्दर सपना साकार पार्ने बाटो पछ्छाउन नया बर्ष एउटा राम्रो अबसर हुनसक्छ। हुन त यात्रा छोटै या अनन्त सम्मै होला तर लक्ष सुनौलो लिए यात्रा अती नै छोटो होस या लामो त्यसमा खुब मिठास हुन्छ। भन्छन सफलताको सिमा त आकाश हो। तर सफलता सानै किन नहोस, अथक प्रयासबाट मिलेको त्यो सफलतामा ठुलो खुसी हुन्छ। झन यो होडबाजीको दुनियमा त सफल हुनु पनि एउटा ठुलै बिजय मान्नुपर्दछ। नौलो यात्रा कठिन होस या सरल, जित होस या हार प्रयास भने पक्कै गर्नुहोस र यस नया बर्षमा आफ्न सपनाहरु पछ्चाउंदै नया जिबन कोर्नुहोस।
अन्तमा सुनौलो लक्ष लिइ नया बर्ष २०१० को नौलो यात्रामा निस्कने स्वदेश या बिदेशमा रहेका मित्रहरु प्रती श्पर्स समूहको गित सम्पर्ण गर्न चाहान्छू।


December 31, 2009

Nepali Bloggers - Bundle up!

अंग्रेजीमा भन्ने गर्छन Bundle up. अर्थात सबै एक मुष्ठ पार्नुहोस,त्यसले निकै सहयोग र सजिलो बनाउंछ।सजिलो त हुन्छ हुन्छ यस्ले तगडा पनि बनाउंछ। साच्चै नेपाली ब्लगरहरु निकै तगडा भए कती रमाइलो हुन्थ्यो होला?कुनै ब्लग चर्चित होलान कुनै भर्खर बामे सर्दै होलान, कुनै ब्लग शसक्त होलान कुनै अलि कमजोर होलान तर सबै एकै मैदानमा रहे पक्कै पनि सबै ब्लग बलियो बन्न पुग्नेछन। यस्ले नेपाली ब्लगरलाइ त फाइदा हुन्छ नै ब्लग पाठकलाइ पनि गुणस्तरिय ब्लगमा रम्न सहयोग गर्दछ। शसक्त हुनुका साथै गुणस्तरिय हुनाले नेपालीपनमा ठुलै आयाम आउंदछ। नेपाली सिनेमा या टिभी गुणस्तरिय भए नेपालमा हिन्दी सिनेमा र च्यानलहरु फस्टाउने थिए त? नेपाली राजनिती आफैं सबल भए कुने बिदेशीलाइ गुहा्र्नुपर्थ्यो त? कतै नेपाली ब्लग भोली कमजोर भएर हामी हिन्दी या अंग्रेजी ब्लगमा रम्न पर्ने त होइन? नेपाली ब्लगको इतिहास देखी बर्तमान सम्म नेपाली ब्लगको क्रियाकलाप सन्तोषजनक छ। अर्थात हामी यस्लाइ उल्लासजनक बनाउन सक्छौं। कसरी त? पूराना ब्लगरले नया ब्लगरलाइ सिकाउने,कमजोर ब्लगले शसक्त ब्लगसंग राम्रा उपाय सिक्ने। तर यो दौरानमा इर्ष्या या गलत ब्यबहार भने त्याग्नुपर्छ।बलियो या उच्चस्तरको ब्लग जगत बनाउन सजिलो कांहा छ र? फेरी नेपाली बिच कलह हुने संस्कारले गर्दा बाटो पनि सजिलो छैन नि? तर नेपाली ब्लग सामुहिक संजालका संचालनकर्ता निकै सहयोगी र एउटै धागोमा बाधिनु पर्छ भन्ने मान्यता राखे्ने भएकाले नेपाली ब्लग समाज निकै भाग्यमानी हुनुपर्दछ। रोटी चिल्ला मिठा कुरा खस्रा मिठा। कुरो त मिठो भयो तर कसरी लागु गर्ने त? अर्थात कसरी हामी Bundle up हुने त? नेपाली ब्लगहरुलाइ समुहगत बनाउन बिभिन्न तरिका अपनाइएका छन। बिभिन्न तरिकाले बनेका सामूहिक समुहका आ-आफ्नै प्रभाबकारिता छन।

http://www.bloggers.com.np/: यो साइटले सबै नेपाली ब्लगहरु अल्फाबेटको आधारमा लिस्टिंग गरेर एउटै छातामा समेटेको छ।हुन त यसमा सबै ब्लग नहोलान तर आजको मितीसम्म यो साइटमा जम्मा ४५० ब्लग दर्ता भएका छन। तपाइ पनि आफ्नो ब्लग छ या साथीको ब्लग छ भने info@bloggers.com.np मा संपर्क गेरर ब्लग दर्ता गराउनुहोस। यस्ले तपाइको ब्लगको बारेमा सबैलाइ जानकारी दिन ठुलो मद्दत गर्नेछ।

nepali-bloggers: सम्पुर्ण नेपाली भाषी ब्लगरहरु बिच एउटा सामुहिक चौतारी गठन गर्ने हेतुले नेपाली ब्लगर्स(Nepali Bloggers) भन्ने गुगल समुह को स्थापना गरिएको हो। दौंतरीमा भएको नेपाली ब्लग भेला पछि यो समुह निकै सक्रिय रहेको छ। हाल सम्म यस समुहमा १६० जना सदस्य भइसकेका छन। http://groups.google.com/group/nepali-bloggers?hl=en यो समुहमा ब्लग सम्बन्धी आफ्ना भनाइ देखी ब्लगको लागी सहयोग लिने दिने आदी गरिन्छ। यस समुहमा नया ब्लगर मात्र नभै पूराना सक्रिय ब्लगर पनि रहेकाले धेरै ब्लगरहरु लाभान्दित भएका छन। यो फोरम पनि सबैका लागी खुला भएकाले मा गएर तपाइ यसका गितबिधीको जानकारी हासील गर्न सक्नुहुनेछ। तपाइ पनि यसमा सदस्य बन्नु परे यो समुहको साइटमा गएर देब्रपट्टी रहेको Join this group बटनमा थिचेर आफुलाइ सामेल गर्नसक्नुहुनेछ।

Face book group: यो फेसबुक समुह बर्णनमा भनिएको छ Nepali Bloggers around the Globe। यो समुहका सामाग्री सबै सामु खुला छन र यसमा अहिले सम्म ११३ जना ब्लगरहरु सदस्य बनेका छन। यो फेसग्रुप ले ब्लग लिस्ट http://hamrocircle.blogspot.com/ पनि संचालन गरेको छ जस्मा नेपाली ब्लगका आर.एस.एस फिड दिइन्छ। यस्ले तपाइको हरेक ब्लग लेखन सबै समक्ष पुर्याउंछ। तपाइ http://www.facebook.com/group.php?gid=24008787206मा गएर यस फेसबुक समुहको सदस्य बन्न सक्नुहुनेछ।

माथी भनिएका ३ वाट नेपाली ब्लग साइटमा तपाइ हुनुहुन्न भने छिटै आफ्नो ब्लग समिल्लीत गराउनुहोस। त्यसले तपाइलाइ अन्य ब्लगर र पाठक समक्ष पुर्याउंछ भने नेपाली ब्लग जगत अझ ठुलो बनाउंछ। सबै ब्लगर मित्रहरु तपाइले अरु नया केही कुरा भए यांहा थप्नुहोला, नया साल २०१० नेपाली ब्लगमा अझ केही नया र राम्रा कुरा ल्याउनुहोला। सहयोग लिने दिन गर्दा नै हाम्रो नेपाली ब्लग समुह सबल बन्दछ। साथै फेब्ररी १ मा हुने दोस्रो ब्लगर भेलाको लागी पनि तयारी गर्नुहोला।

नया बर्ष २०१० को ब्लगर तथा पाठकलाइ हार्दीक शुभकामना।
हेप्पी ब्लगिगं

December 29, 2009

नागरिक सर्वोच्चताले जन्माएको खेलाडी

लेखक:- विजयकुमार श्रेष्ठ

नेपाललाई सतिले सरापेको देश भनेर पाका नेपालीको मुखबाट सुन्न पाएका थियौ कुनै बेला त्यस्तो शब्दको पछि लाग्ने हो भनेर नकरात्मक कुरो गर्‍यो भनेर कुनै बेला गालि गर्नसम्म पछि परेका थिएनौ। कहिले मल्लहरुको पालो,कहिले पाण्डेहरुको पालो, कहिले निरङकुशताको त कहिले शाहहरुको पालो । यस्ता पालै पालोको शासन र शासकहरुको थिचो मिचोले गर्दा नेपालीहरुमा विकान्शोमुश भएर प्रफुल्ल रुपमा आफुमा भएको कला कौसलताको प्रदशन गर्न सकेका थिएनन् । सारा थिचोमिचोको बाबजुत असहिय भएर परिवर्तनको नारालाई बुलन्द पारेर हाते मालो गरेर शासकिए शासनबाट मुक्ति पाउनको लागि देशमा ठुलो क्रान्तिको सुरुवात भयो । सारा नेपालीमा सामन्ति शासनको आगो भित्र भित्रै दन्कि रहेको थियो र छिटै नै देशमा परिवर्तनको प्रत्याभुती नपाली जनताले पाउन सफल भए ।

सत्ता प्राप्तिको सफलतासँगै नेताहरुले पार्टिको विजारोपण गराउन थाले । ठुला दलको नामले चिनीन गयो नेपाली कांग्रेस र दोस्रो ठुलो दलको नामले चिनीन गयो नेपाल कम्युनिष्ट पार्टि माले । रात रहयो औराख पलायो भन्ने उखानलाई सावित गर्दै को भन्दा को कमको होडवाजि हुन थाल्यो र देशमा एकले अर्कालाई विभिन्न लान्छना लगाउदै आफनो शक्ति प्रदर्शन गरि आफनो आफनो पहुंचमा पार्टि खोल्ने फुटाउने कामको सृजना हुन गयो । हरेक पार्टिमा बैचारिक मतभेतको रोगले जरा गाड्न थाल्यो । आफनो घरमा धमिरा
लगाउन कम्मर कसेर अघि बढे । सिङ्गो एउटा कम्युनिष्ट पार्टि फुटेर सयौ चिरामा विभाजन भयो । हरेक पार्टिमा भिन्दा भिन्दै धारको गुटवन्दिको राणनिती हुन गयो । हिजो एक जोर चप्पल किनेर लगाउन नसक्ने नेता भनाउदाहरु राता रात अरवौ पति भएर सिंह गर्जे जसरि गजिर्न थाले । भोकाएर बसेको बाघ जसरि जस्ले सके उसैले आफनो थैलो भर्ने तिर लाग्यो । परिवर्तनको केहि महिना पछाडि नै व्याक्तिबाद लादेर नेताहरुको परिवर्तन आकसिदो तरिकाले हुन थाल्यो । बहुदलिय प्रजातन्त्रको रसस्वादन नेताहरुले मज्जाले लिए । केहि वर्षपश्चात बहुदलिय प्रजातन्त्र पनि नेपाली जनतालाई बोकालाई कुभिण्डो भने जस्तै हुन गयो । नाम मात्रको सत्ता परिवर्तन भयो । शासन र शासकमा परिवर्तन भने भएन । देशमा झन बिकराल परिस्थितीको जरा गाड्न थाल्यो । अन्याय र अत्याचारले सिमा नाग्न थाल्यो ।

जनतालाई फेरि पनि अर्को आन्दोलनको शुरुवातको जरुरी पर्नगयो । बहुदलवादिमा जनताको शासन हुन सकेन । लोकलाई असहिय भयो र लोकतन्त्रको प्राप्तिको लागी नारा घन्किन थाल्यो । नेपाल कम्युनिष्ट पार्टि माओवादि न्यायको खोजीमा जंगल पसे । जनताको नोकर भएको भनेर न्याय निसावको कसि बोकि जंगलबाट आफना बाहुल्यता देखाउन तिर लागे जता ततै र्सवहाराको नारा घन्काउन थाले । संघर्षको सिमा रहेन । कठोर भन्दा कठोर आन्दोलनको शुरुवात गरे । असोचनिय भयानक संघर्ष लडदै लड्दै परिवर्तनको खाका बोकेर हिड्न थाले । र्सवहारा वर्गको शासन हुनु पर्छ भनेर साम दाम दण्डभेद लगाएर आफनो क्रान्ति जारि राखे । दश वर्षो लामो कष्ट पछि माओवादि जनता सामु प्रत्यक्ष प्रस्तुत भए । केहि हदसम्म दिन दुखिहरुको सहारा भएर अघि बढे । संसद भवन भनेको बुर्जुवाहरुको ठगि खाने अखडा हो भनेर चर्का नारा लगाउने र्सवहाराका नेताहरु आफनो त्याग र बलिदानलाई चटक्क भुलेर बुर्जुवाहरुको खालमा हातेमालो गर्न सहमति भए । जनताको लागी चर्का नारा बोकेर हिडेका माओवादि बुर्जुवाहरुको खालमा पसेर सारा कुरालाई अहेस आराममा विलीन गराउन पछि परेन । सभा सम्मेलनमा आफनो बोलीको लगाम खुकुलो पार्ने र जब सभाबाट बाहिरिन्छ सहमतिको नारा लिएर एक अर्कामा तारे होटलको स्वाद चाख्नलाई चुस्त बनेर हिड्ने गर्न थाले ।

सारा नेपाली जनताको सहभागितामा नौलो क्रान्तिको आगो दन्किन थाल्यो र केहि दिनको सर्घषले देशमा लोकतन्त्रको बहाली हुन गयो । नयाँ नेपालको सुरुवात गर्ने तिर सबैदलहरु अगाडि बढे । नयाँ नेपाल बनाउनको लागी नयाँ सविधानको आवश्यकता पर्ने भएकोले सविधान सभाको घोषण गरेर सभासदको निर्वाचन गराउने प्रकृया अगाडि सारियो । देशमा भएका सबै दलले आफनो आफनो हिसावले चुनावि मैदानमा आफना र्समथकलाई खडा गराए । सारा नेपालीको एउटै कौतुहल थियो नयाँ पार्टि नयाँ व्याक्तिलाई चुनेर देश र जनताको भविष्य उज्वल हुन्छकि भन्ने अभिलाषाले गर्दा नेपाल कप्युनिष्ट पार्टि माओवादिलाई जनताले भारि मतले सविधानसभाको निर्वाचनमा विजय हासिल गराएर देशमा सबै भन्दा ठुलो दलको दर्जा भिराउन सफल भए । हामी त चुनावी खेल खेल्ने पार्टि होईन भनेर जनतालाई घुरक्याउने पार्टिले चुनावमा भाग लिएर आफनो बर्चस्सो जमाउन सफल भए । नेपाली जनताले अब त आन्नदको सास फेर्न पाउने भए भनेर आफनो कुटो कोदालो आन्नदसँग चलाउन थाले । चुनाव सकियो सरकारको गठन भयो । राष्ट्रपति नेपाली काग्रेसले पाउन सफल भयो,उपराष्ट्रपति मदेशि जनधिकार फोरमले चयन गर्न पायो । प्रधानमन्त्रि नेपाल कम्युनिष्ट पार्टि माओवादिले पायो । सरकार चलाउने जिम्मा सोहि पार्टिका अध्यक्ष पुष्प कमल दहालको कादमा पर्न गयो । देशमा नौलो विहानीको शासन सुरु भयो भनेर जनता रमाउन थाले । सुरुका दिनमा जनतालाई दिएको वाचा बन्धन देखाउन लागेका थिए । तर के गर्नु त्यो ठाउँ भनेको कस्तो हो कस्तो कुर्सीमा बसेर कुर्सी तताउन नपाउदै भोग विलासको भुतले गाज्न थाल्यो । नाताबाद र क्रिपावादको चर्को विरोध गर्नेले पहिलो प्राथमिकता त्यसैलाई दिन थाले र अहेस आरामी जिवनमा परिर्वतन हुन थाले । मिलीजुली सरकारमा आफनो मात्र निसाना वाजि लगाउन पछि परेन । हरेक कुरामा आफनो पार्टिको निर्णर्यलाई मान्यता दिन तिर लागे नयाँ नेपालका प्रथम प्रधानमन्त्रि । आफनो बोलीमा आङकुसे लगाउन सक्नु भएन ।

हिजो जनतालाई दिलाएको विश्वास माटोमा विलीन बनाउन सफल हुनु भयो । हरेक क्षेत्रमा परिवर्तनको नारा अगाडि सार्नु भयो । तर कुरा एकातिर काम अर्को तिर हुदै गयो । कहिले अनुभव नभएको भनेर झुक्ने गर्नु भयो कहिले परिक्षणकालमा कमि कम्जोरि त भै हाल्छ भनेर आफु पानि माथिको ओभानो हुनलाई चुक्नु भएन । शासकिय स्वारुप बदल्ने भनेर गएको व्याक्ति हिजोका दिनलाई चटक्क भुलेर नेपालमा कसैले नलिएको विलासितामा रमाउन सफल हुनु भयो । योग्यता विहिन व्याक्तिलाई पद बहालिमा प्रमुख कदम चाल्न सुरु गर्नु भयो । अव जनताले शान्तिको सास फेर्न पाउने छ भनेर नारा धन्काउन पनि पछि पर्नु भएन । सहकार्य सहमतिको विन्दुलाई लत्याएर एक तर्फि शासन गर्न थाल्नु भयो । हिजो जनता सामु गरेका वाचाहरु भुल्न पछि पर्नु भएन । जस्तै सिमा बिबाद,सन्धि हस्ताक्षेर जस्ता ठुला ठुला नारा लिएर गएका व्याक्तिले देशको प्रमुख भएर बस्दा ति कुरा उठाउनमा कम्जोरि हुनु भयो । कहिले के वोल्ने कहिले के बोल्ने गरेर आफनो शासन कालको आयु छोटयाउनु भयो । सरकारको १ वर्ष जती पुर्‍याउन नपाउदै रुख ढले जसरि हुरि वतासको चपेटमा परेर पछारिनु भयो । आफनो पदबाट राजिनामा दिएर पानि माथिको ओभानो हुन माहिर हुनु भयो क्रान्तिकारि नेता । सरकार ढलेको केहि दिन पश्चात फेरि अरु दल मिलेर नेपाली जनताले नपत्याएका व्याक्तिहरुलाई देशको ढुकुटीको चावि सुम्पिन वाध्य भयो । नेपाली जनताले नपत्याएर के भयो र देश चलाउने जिम्मेवारि पाउन सफल भयो रिमोटिए शासकहरुको साथ पाएर नेपाल कम्युनिष्ट पार्टि एमालेका नेता पुर्व महा सचिव माधवकुमार नेपाल । सतीले सरापेको देशमा के के हुन थाल्यो के के हुन थाल्यो । देशको ढुकुटी रित्याएर चुनाव गराउनुको उपलब्धी हास्सास्पद हुन गयो । माधवकुमार नेपालको सरकारमा सबै जसो मन्त्रिहरु जनताबाट पराजित भएका व्याक्तिहरुको बाहुल्यतामा जम्वो मन्त्रि मण्डल गठन हुन गयो । त्यसैले नेपाली उखान यो लोकतन्त्रमा सबका सब लागु भएर छाडेको छ । भाग्यमा भए डाकोमा दुध दोहे पनि बाहिर जादैन भन्ने उखानले माधवकुमार नेपाललाई साथ दियो । अनि त सुरु भयो रिमोटिए शासन सत्ता सन्चालन । शान्ति सम्झौताको चर्का नारा दिनेहरु एक अर्कामा दोष लगाएर शासन सत्ताको जुहारि खेल्न सुरु गरे । त भन्दा म के कम भन्ने बैमनस्यतालाई सिरोधार्य बनाएर देश सन्चालनमा बाधा व्याबधानहरु खडा गर्न तिर लागे । जब नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादि सत्ताबाट बाहिए अनि समाप्त भयो सहमतिको नारा । त्यस पछि सुरु गर्नु भयो नागरिक सर्वोच्चताको गतिलो नारा बोकेर रक्तपातको आन्दोलन चर्काउन शुरु गर्न तिर लाग्नु भयो । हामीलाई त जनताले चुनेर पठाएको पार्टि हो भनेर धमण्ड एकिकृत माओवादि भित्र भित्रै औडा र डाहाले छटपटाउन थाले । उता सत्ता त्याग्नु परेको रन्कोमा जंगली स्वाभावहरु दोहोर्‍याउन सुरु गरे । फेरि पनि जनतालाई शान्तिले बस्न नदिने परिस्थिती सृजना गर्न तिर लागे । कसैले उसको बारेमा बोलेमा लेखेमा त्यो व्यक्ती असुरक्षित हुन गयो भनेर जाने हुन्छ भन्ने सोच्नु पर्ने दिन फेरि आयो ।

नेपाली जनताले सविधान निर्माण गर्न भनेर पठाएका सभासदहरु आफना आफना भोग विलासितामा कम्मर कसेर लाग्न सुरु गरे । गरिव जनताको पसिनालाई माटोमा मिलाउन तिर लागे । आफुले पाउने अहेस आरामको पछाडि ढौडन थाले । आफनो परिवारमा मसलन्द खर्च देखि सारा कुराको भर्पाई मन्त्रालयमा प्रस्तुत गराउन पछि परेन । सहमति र सहकार्यमा अल्भिएको कुर्सी मोहको खेल नेपालमा आगो दन्के सरि बल्न थाल्यो । देश र जनताको सेवक हु भन्ने राष्ट्रवादिहरुको फुटवल सुरु भई नै रह्यो । तमासे र लहै लहैमा पछि लागेर हिड्ने बेरोजगारि नेपालीहरुलाई तमासे र दर्शकको पक्तिमा राखेर कुर्सी मोहको जालमा गोल गर्न भनि कम्मर कसेर लागेका छन् । जनतालाई भकुण्डो बनाएर सबै पार्टिले गोल गर्न तिर लागे । सडकमा रत्याउली खेल्न सुरु गरे । लुटपाट हिङसाको फोहरि खेल खेल्न थाले । एक अर्कालाई लडाएर नेता भनाउदाहरु तारे होटलको रस्वादनमा मोज लिन थाले । सरकार चलाउनेहरु सकेसम्म आफना आफना व्याक्तिलाई विश्वमा नै नभएको मन्त्रिमण्डल सृजना गराएर देशको ढुकुटीमा रमाउन व्यास्त भए । प्रतिपक्षले देशमा जनता भनेको त नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादिलाई र्समर्थक गर्नेहरु मात्र हुन् भन्ने एक लौटि मनसाय लिएर सडकमा हार गुहार गर्न तिर लागे । जातिको नाममा देशलाई टुक्रयाउने तिर लाग्न थाले । हिजो अरुलाई बिदेशिको नोकर भनेर भन्ने पार्टिले आज खुले आम देशमा भएको समस्या एक आपसमा छलफल गरेर साम्य पार्नु त कता हो कता सिधै निर्धक्कसँग हामी त बिदेशिसँग मात्र वार्ता गर्र्छौ भनेर फुक्न थाले । अनि के हो त यो हिजो अरु पार्टिका नेताहरु भारत गयो भनेर दलाल भन्नेले आज आफुले मालिक भनेर सम्बोधन गर्न कहाँबाट आट आएको अनि यो कुरालाई कुन बाद भनेर सम्मान गर्नु उपयुक्त होला त - सरकारमा बस्नेले मलाई त बिदेशिको सहयोग मिलेको छ भनेर फुक्ने आफनो सरकारको मन्त्रिले मनपरि गरि हिड्दा कुर्सिको खुट्टा लुलो हुन्छ भनेर दण्डहिनतालाई अङगाली जे मन लाग्यो त्यही फुक्दै हिड्ने अनि प्रतिपक्षमा बस्नेले आफनो जन्म भुमीलाई नोकरको दर्जामा परिभाषित गर्दै हिड्ने । के नेपाली जनताले बहादुरी देखाएर देशको नाम विश्वमा उच्च बनाएको यो नोकर हुनको लागी हो । कस्ले दियो एकिकृत माओबादिको नेतालाई देश र नेपाली जनतालाई नोकरको दर्जा दिनलाई अधिकार । त्यसैले पुखौलीले जस्तो सिकायो पछिका पुर्खाले त्यस्तै सिक्ने छ त्यो जति सुकै उच्च ओहदामा पुगे पनि भन्ने नेपाली उखान सावित हुन गएको छ । अब कस्लाई र कुन पार्टिलाई सच्चा पार्टि हो भनेर जनताले विश्वास लिने त - नयाँ नेपालमा लोकतान्त्रिक नेतालाई नागरिक सर्वोच्चताको खेलाडी बनाई दिएको छ । आफनो मनमा जे उब्ज्यो तेहि बोल्दै हिड्ने रण मैदान भएको छ ।

यो विचित्रको सन्जालबाट नेपाली जनताले कहिले मुक्ति पाउने छ । म फलानो पार्टिको त फलानो पार्टिको भनेर एक आपसमा लड्ने अनि आफनो बलि आफै चडाउने चलनले नेपाली जनतलाई कहिले सम्म सतिको सराप लाग्ने हो । देश सन्चालन जिम्मा लिएका पार्टिका नेताहरु एक आपसमा सहमतिको नारा लिएर देशलाई बर्बाद पार्न तिर लागेका छन् । कोहि क्रान्ति गरेर थाकेको छैन भन्ने त कोहि काग कराउदे गर्छ पिना सुक्दै गर्छ भने कानमा तेल हालेर बस्ने त कोहि रिमोट लिएर आफनो निसाना बाजि मार्न तिर लागेका छन् । त्यसैले हामी निमुखा जनताले एक छाक खान पाएर बन्द हड्ताल र जुलुसमा सामेल भएर पार्टिको झण्डा बोकेर हिड्नु भनेको आफनो खुट्टामा आफैले बन्चरो हान्नु सरह भई सक्यो । त्यसैले र्सवप्रथम अब बन्ने सविधानमा पहिला कानुन भनेको नेता भनाउदाहरुलाई लाग्ने कसि बनाउन तिर लागेमा नेपालीले नेपाल हाम्रो हो भनेर आङ फुकाएर हिड्न पाउने छ ।



December 28, 2009

हास्यमेव जयते !

यस पटक, हाँस्नु र हँसाउनु अगाडि हाँसोका बारेमा केही कुराहरु:

किन हाँस्ने ?

हाँस्नुलाई तपाइ केवल क्षणीक मनोरञ्जन वा एकैछिनको टाईमपास मात्र सम्झनुहुन्छ भने त्यो गलत हुनसक्छ ।

हाँस्नु मानिसको लागि शारिरीक र मानसिक दुबैकोणबाट एकदमै लाभदाएक छ । वैज्ञानिक सोधलाई आधार मान्ने हो भने एक पटक हाँस्दा मानिसको अनुहारको सबै मांशपेसीहरु सक्रिय हुन्छन र यदि त्यो हाँसो जोडदार छ भने मानिसको अनुहारका ५३ मांशपेसीहरु, पेट, छाती र अन्य अंगहरु गरी शरिरका करिब करिब पुरै भाग सक्रिय हुन्छन । मानसिक रुपमा यसले पार्ने प्रभाव झनै गहिरो हुन्छ ।

व्यस्त जीवन शैली र तनावपूर्ण दिन गुजार्नेहरुका लागि त हाँस्नु झनै अत्यावश्यक र महत्वपूर्ण मानिन थालेको छ । विशेष गरी यसले हृदय रोग , मधुमेह व उच्च रक्तचाप जस्ता रोगहरुलाई निकै हदसम्म नियन्त्रण गर्न सक्ने कुरा खोजहरुबाट साबित भैसकेको छ । त्यसैले आजकल धेरै शहरहरुमा हाँस्नेहरुको क्लव र समुह समेत बन्न थालेको छ ।

कसरी र कतिबेर हाँस्ने?

दिनमा आधाघण्टा जत्ती सम्म खुलेर हाँस्न सकेमा शरिरका हार्मोनहरु समेत सन्तुलनमा आउने र मानसिक तनावबाट मुक्त गर्ने कुराहरु धेरै पहिला नै प्रमाणित भैसकेका छन । मुख्य कुरा भनेको आजकलको तनावपूर्ण जीवनमा मानिसहरु हाँस्न समेत कन्जुस्याई गर्छन वा व्यबसायीक जीवनको सफलताको लागी गंभीर हुनुपर्छ भन्ने नकारात्मक धारणाका कारण पनि धेरैले खुलेर नहाँस्ने सम्मका रिपोर्टहरु कते पढेको थीएँ मैले ।

त्यसैले ‘मर्नै परेपछि खुट्टै तानेर” भने जस्तै हाँस्नु छ भने पुरै जिउलाई स्वतन्त्रता दिएर मस्त हाँस्नु शरीरको लागि लाभदायक हुन्छ ।

हाँस्ने तरिका

दिल खोलेर वा पुरै स्वतन्त्र भएर हाँस्नु भनेको यस्तो प्रक्रिया हो जसमा शरीरका प्रत्येक अंग मात्रै आनंदविभोर भएर कम्पन गर्दैन, केही समयको लागी दिमाग पनि विचार शून्य हुन्छ। त्यसैले त जान्नेहरु हाँसोलाई औषधि र ध्यान समेत भएको बताउँछन ।

केही खराबी पनि छ कि ?

हास्य योग वा Laughing therapy को बारेमा अहिले संसारभर नै प्रयोगहरु चलिरहेका छन र प्राय: सबैको सकारात्मक नतिजाहरु आएका छन । अहिले श्रोत त सम्झना भएन तर कतै ईन्टरनेटमै दम वा asthma को रोगीलाई भने धेरै हाँस्नु कहिलेकाही घातक पनि हुन सक्छ भन्ने बारेमा एउटा रिपोर्ट पढेको थिएँ (डिस्क्लेमरको यो लाईन पनि सुरुमै दिउँ कसो

खै त हाँस्ने सर्जाम ?

यत्तिका लामो कुरा गरेर हाँसने सर्जाम दिईएन भने त्यो पनि एउटा धोका हुने छ त्यसैले जाँदा जाँदै केही ताजा चुटकिलाहरु:

नयाँ लेखक पुरानो नाम

प्रकाशक: हेर्नुस, तपाईको किताब त एकदमै राम्रो छ, तर हामी केवल नाम चलेका लेखकका किताब मात्रै प्रकाशन गर्छौं ।

लेखक: त्यो त झनै राम्रो भयो नि !

प्रकाशक: कसरी ? ।

लेखक: मेरो नाम पनि भैरब अर्याल हो ।

बिरामी-नर्स सम्बाद

बिरामी (नर्ससंग): म तिम्रो प्रेममा यसरी फसेको छु कि मलाई सधैं तिमीसंगै बस्नको लागि मेरो यो रोग कहिल्यै निको नहोस जस्तो लाग्न थालेको छ ।

नर्स: .. तिम्रो यो रोग साँचै पनि कहिल्यै निको हुँदैन अब...

बिरामी: कसरी ?

नर्स: तिम्रो उपचार गर्ने डक्टर मलाई प्रेम गर्छन र तिमिले मलाई मन पराएको कुरा उनलाई पनि थाहा छ ।

कुखुरी र अण्डा

एउटा कुखुरी एउटा किराना पसलमा (जोकै त हो !):

कुखुरी: साउजी मलाई एउटा अण्डा दिनोस त ।

साउ: (छक्क पर्दै) तिमी आफैं अण्डा पार्न सकिहाल्छौ नि !

कुखुरी: त्यो त हो... तर मेरो भालेले भनेको ५ रुपैयाँको लागि फिगर विगार्नु मुर्ख्याई हो रे !

जँड्याहा लोग्ने

नशाले मस्त लोग्ने आफ्नै स्वास्निलाई चिन्न सक्दैन।

पत्नी- के भन्दैछौ तिमी ? जाँडले मात्तेर मलाई पनि चिन्दैनौ, म तिम्रो पत्नी हुँ पत्नी।
पति- सुन्दरी...! ... तिमीलाई त थाहै छ नि म रक्सी खाएपछि आफ्नो सबै समस्याहरु भुल्छु।

र जाँदा-जाँदै यो एउटा ‘आर्ट जोक’

एकजना पण्डीत नदी किनारमा हिँड्दै थिए । अचानक उसले कुनै मानिस आत्महत्याको लागि नदिमा हामफाल्न लागेको देखे । उनी त्यो मानिसको नजिक गए र भने:

“मर्नु कायरता हो... हेर जिउँदो रहने अनेक कारणहरु हुनसक्छन...”

“जस्तै ?”

“के तिमी धर्ममा विश्वास गर्छौ ?”

“गर्छु”

“ म पनि गर्छु, भन तिमी हिन्दू हौ कि मुश्लिम वा क्रिस्चिएन ?”

“हिन्दू !”

“ल हेर, म पनि हिन्दू हुँ.... तिमी द्वैतवादी कि अद्वैत वादी”

“द्वैत वादी !”

“ल ..हेर.. म पनि द्वैतवादी नै हुँ ...तिमी साकार ईश्वर मान्छौ कि निराकार?”

“साकार”

“कस्तो संयोग... म पनि साकार ईश्वर नै मान्छु..., अब भन तिमी शैव हो या वैष्णव?”

‘‘वैष्णव’’

‘‘ म पनि त वैष्णव नै हो, बरु तिमी वैदिक जप गर्छौ कि तान्त्रिक?’’
‘‘वैदिक !’’

‘‘म पनि वैदिक, वाह !, तिमी उपनिषदलाई बेदको साखा मान्छौ कि भिन्न धार?”

‘‘भिन्न धार”

‘‘ म पनि !, अब भन, गायत्री मन्त्र जप्छौ कि अन्य कुनै मन्त्र?’’
‘‘नम: शिवाय मन्त्र !’’ ‘

“ के रे? नम: शिवाय???, मुढ, मित्थ्याचारी, वैष्णव भएर ‘नम: शिवाय’???, तिमी जीवित रहेर पनि जिवनको के सार्थकता भयो त ?”

यती भनेर पण्डित सरासर आफ्नो बाटो लाग्छ ।



December 26, 2009

गजल

- यात्री शेखर

मन लाग्यो गुन्द्रुकसंग, ढिडो खा’को गजल लेख्न ।
गैरी खेतको पर्म तिर्न, मेला गा’को गजल लेख्न ।

ती बर्खामा छानो चुदाँ, थाल थापी हुत्याएको,
बर्षै पिच्छे घरको छानो, खरले छा’को गजल लेख्न ।

गोठालोका गट्टाकुट्टी, आइरहन्छ सम्झनामा,
चोरपुलिस लुकामारी, हैरान् भा’को गजल लेख्न ।

नेप्टी चेप्टी डल्लीलाई, झ्याङ्मा लुकी तर्साउदा,
रामे श्यामे हामीलाई, मज्जा आ’को गजल लेख्न ।

स्कुल छाडी सिनेमामा, रमाउँदा कस्तो मज्जा,
भोली पल्ट छडी खाँदा, दुःख पा’को गजल लेख्न ।

बालापन्का यादहरु, संगालिन्छन् हिजो आज,
स्मृतिमा ती दिनहरु, र्तिमिरा’को गजल लेख्न ।