October 30, 2009

हिड्ने कुर्ची माथी जड्या मान्छे

घूम्ने मेच माथी अन्धो मान्छे त सुन्नुभएकै छ। उती बेला भूपी शेर्चनले लेखेको नेपालमा अहिले सम्म पनि सान्दर्भिक छ। सायद घुम्ने मेच माथी बस्ने अन्धा मात्र होइनन बहिरा पनि छन होला। त्यसैले नेपालको दिन दिनानु दिन खस्कदैं छ। तर मैले कुरो गर्न लागेको चांही हिड्ने मेच माथीको जड्या मान्छेको हो।

मिनीसोटाको अलि दुर्गम क्षेत्र (Proctor,MN) तिर एकजनालाइ के सनक चलेछ कु्न्नी उसले सोफा इस्टाइलको कुर्चीमा घांस काट्ने मेसिनको इन्जिन जोडेछ। पांग्रा त जोड्यो जोड्यो,कुर्चीमा क्यासेट


October 29, 2009

देवताका बाद

तिथिमिति ठ्याक्कै याद भएन, २,३ वर्ष अघिको हिमाल खबरपत्रिकामा ख्याति प्राप्त व्यंग्यकार चट्याङमाष्टरले चट्याङगीता मार्फत चोटिला झटाराहरू हान्ने गर्नु हुन्थ्यो । मलाई असाध्यै मन परेको प्रस्तुत कविता पाठकहरूलाई एउटा छुट्टै स्वाद पस्कन सफल होला भनेर यहाँ प्रस्तुत गरेको छु । कविसंग कुनै अनुमति नलिई यहाँ टास्ने धृष्टता गरे पनि, यो चोरी भने हैन किनभने यसका सिर्जनाकार चट्याङमाष्टर नै हुनुहुन्छ भन्ने कुरा म चिच्चाएरै भन्न चाहन्छु । यो केवल पाठकीय स्वादका लागि यहाँ पुन: पोष्ट गरिएको मात्र हो । लौ पढौँ त हाम्रा देउताहरू कस्ता कस्ता विचार बोकेका '-वादी' हरू थिए:

- चट्याङ् मास्टर

बहुदलबादी थिए राम, बाँदरलाई मात्र साथी लिए
निर्दलबादी थियो रावण, दैंत्यले मात्र साथ दिए
जनवादी भए शंकर, ताण्डव नृत्य गरि गरि
साँढे, र्सप, पिचास,भुत,भोका, नाङ्गा वरीपरि

पानी मरुवा थिए पाण्डव लुके वनमा लडेपनि
पुँजीबादी धृतराष्ट,अन्धो पापी अनि धनी
आतंकबादी दुर्योधन हार्नैलाई लडी रह्यो
भएकोमा थपौं भन्दा ,भएको नै पनि गयो

सामन्तबादी सबै देउता , आफुमाथी अरु तल
साम्यबादी ति राक्षसलाई , देब दानब बराबर
अधिनायकबादी ति इन्द्र, अरुलाई दबाउने
सक्षम कोही अघि आए, जालमा पारी लडाउने

प्रातिकृयाबादी हो राहु , अरुमा खोट लगाउने
उग्रबादी भइ सुर्य सबैलाई तताउनेर्
माक्सबादी हेर चन्द्र रुप फेर्छन् हरेक दिन
पुणिर्मा भए पर्ण औशीमा नै खत्तम हुन

संसदबादी थिए नारद, जता फाइदा उत्तै मिले
सत्यबादी भइ कृष्ण गोपिनिबिच सधैं झुले
यथास्थितिबादी थिए ब्रम्हा, एउटै फुलमा सधैं बसी
एउटा श्रृष्टि गरे उहिले, हेर्छन्, बस्छन् त्यही अझै

तेतिसकोटी त देवतै थिए, अरु प्राणी कति कति
त्यत्रो बिभिन्नताबाद, अटाउने धर्म सँस्कृति
खुम्चिएर अब अहिले, दुइकोटी हुँदा पनि
अटाएनन् र उठेकाछन्, महाभारत गरौं भनी ।।



October 28, 2009

गाऊँखाने कथा - ३१ (Nepali Gau Khane Katha)

अपडेट: गाउंखाने उत्तर मिलाउने, मिलाउन प्रयास गर्ने सबै दौंतरीहरुलाई धेरै धेरै धन्यबाद।
गाउं खाने कथा ३१ को सही उत्तर हो कसार। सब भन्दा पहिला उत्तर मिलाउने पोस्तक जी ले गाउं पाउनु भयो। ल पोस्तक जी मन पर्ने गाउं माग्नुहोला।
------------------------------------------------------------------------
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छु।

चुलबुले टारमा बुरबुरे माटो, हातमा लुटुपुटु मुखमा गांठो, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला।
नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


October 27, 2009

ईन्टरनेट चलाऔं, दिमाग बढाऔं !!!

netmania केही समय अगाडि दौँतरीमै शुन्य समयजीले इन्टरनेट एडिक्टेडहरुलाई बिजुलिको झट्का दिएर उपचार गरिने कुरा लेख्‍नु भएको थियो । त्यसको केही समय पछि, सुरुमा रहर अनि आदत हुँदै नशाको रुप लिने ईन्टरनेट प्रयोगी (रोगी?) कालागि अमेरिकाको सिएटल र चिनका केही स्थानमा इन्टरनेटको लत छुटाउने पुनर्वास केद्रको समेत शुरूआत भैसकेको कुरा यस्तै पत्र-पत्रिकामा पढेको थिएँ।

अनलाईन च्याट, सोशियल नेटवर्किंग र यस्तै अन्य अनलाईन गतिविधिको नशा चुरोट, सुर्ती र रक्सी जस्तै बन्न थालेपछि यस्तै र अन्य यस्तै खालका समाचारका आधारमा, यो पुरै अन्तरजालोलाई तपाई पनि खराब मान्ने सुरमा हुनुहुन्छ भने एकैछिन पर्खनुस !।

भर्खरै सार्वजनिक गरिएका एउटा सोधका तथ्याङ्कले ईन्टरनेटका केही अपत्यारिला गुणहरु प्रकाशमा ल्याएको छ ।

युनिभर्सिटी अफ क्यालीफोर्नीयामा प्रोफेसर गेरि स्मलको टिमले गरेको अनुसन्धान अनुसार इन्टरनेटले शिथिल दिमागको लागि ‘टनिक’ को काम गर्छ । उनले ५५ देखि ७८ बर्ष उमेर समुहका महीला तथा पुरुषमा गरेको अध्ययनले सो कुराको पुष्टी भएको छ ।

अध्ययनमा सहभागी गराईएका व्यक्तिहरु मध्य आधालाई सामान्य दैनिक कार्य जे जस्तो गर्दै आएका थिए त्यत्तिकै छाडेको र आधालाई भने १५ दिनसम्म हरेक दिन एक घन्टा इन्टरनेट चलाउन लगाईयो । यो प्रयोग सुरु गर्नु भन्दा अगाडि सबै सहभागीको ब्रेन स्क्यान (functional magnetic resonance imaging) गरीएको थियो र पन्ध्र दिनपछि पून: सबैको ब्रेन स्क्यान गरेर हेर्दा, ईन्टरनेट चलाउनेहरुको दिमागको त्यो भाग जसले स्मरण गर्ने, सूचना संग्रह गर्ने र भाषाको ज्ञान राख्‍ने गर्छ, त्यो पहिला भन्दा बढि सक्रिय भएको पाईयो ।

ईन्टरनेटको प्रयोगले स्मरण शक्तिमा सुधार आउने र भुलने रोगबाट समेत छुटकारा दिलाउने बताईएको छ । जे होस जवानीमा नशा नै भएपनि उमेर ढल्केपछि भने दिनमा १ घन्टा इन्टरनेट चलाउनु लाभदायकै रहेछ कसो ?

(समाचार स्रोत: पत्र-पत्रिका र ईन्टरनेट)



October 26, 2009

बसन्त जीलाइ भूंडी उत्तर

चाइन्जोकालाइ ह्यां भुडीको रमिता भइराको बेलां म के नरमिते कुरा गरौं। ए म त दौंतरीमा पो रहेछु। खास त बसन्त जी कै ब्लगमा उत्तर दिन लाग्या हो। तर प्रश्न भन्दा उत्तरै लामो हुने हो कि भनेर फेरी यै दौंतरीमा आइपुगें। बल्ल बल्ल हिजो बांदर कथा लेख्ने भ्याको थिएं। अब एक हप्तालाइ ब्लग लेख्ने कोटा पुग्यो भनेको यो भूंडीको उत्तर भने नलेखि रहन सकिन।एक मन त बसन्त जी को भुंडी ले गती छाडेछ म पनि त्यी भूंडी पूराणमा रंगियु कि जस्तो लाग्यो। तर भन्छन नि असल साथिले नाका फोहोरलाको तुरुन्त भनिहाल्छ रे। अरु भने मुसुमुसु हांसेर मात्र बस्छन् रे। यसो भुमिका बांधेको आफ्नै कुथुरो पोख्न हो के। खै कुरा बुज्या?

स्कुल पढ्दा दिनमै २-३ घण्टा पढिन्थ्यो। खै धेरै हिंडेर हो कि के हो स्कुल क्यामपस पढ्दा सम्म हात खुट्टा सधै खिरीला भए। मोटा साथी देख्यो कि खुब डाहा लागेर आउने। कक्षा १० मा एक जना मोटी साथी थिइन। ज्यान मात्रै आलू जस्तो थिएन पढाइ पनि करिब करिब आलु नै थियो। सारै दिक्क लागेर होला तिनकी आमा स्कुलमै आएर माडसाब सं गुनासो गरिछिन - खाना खाए पछी सुत्छे,स्कुल जाने बेलामा बल्ल उठ्छे। बल्ल मोटोपनको रहस्य खुल्यो। मोटाउने फर्मुला थाहा पाएर म त्यसै दंग थिएं। मलाइ पनि लाग्यो एस.एल.सी त सकियोस अनि मैले जान्या छु। दिन,महिना गर्दै एस.एल.सी पनि सकियो। अब भने म मोटाउनको लागी एकाग्र भएको थिए। कम्तिमा पनि म १३-१४ घण्टा सुत्न थालें। मोटाउने भइयो भनेर म त्यसै फुलेल थिएं। हिउंद मासा,गाउं घरमा काम पनि नहुने,एस.एल.सी पनि सकयो पढ्ने त कुरै भएन। कि खाने कि सुत्ने मेरो दिनचर्या त्यही हुन थाल्यो। खै के कुरा मिलेनछ म त २ हप्ताको लामो सुताइ पछि बिरामी पो भएं। अलि अलि ज्वरो आउने र ज्यान दुखेर चलाउनै नहुने भयो। मलाइ यकिन भयो यो मोटाउने फर्मुला गलत पर्यो भनेर। त्यस पछी भने मोटाउने रहर कहिल्यै लागेन।

अमेरीका आएपछि भने यै खिरीलो शिरर आकर्षक भयो। ह्यां त कुरो उल्टो पो रहेछ - जती दुब्लो उती राम्रो। मन मनै सोचें धन्न त्यती बेला बिरामी भइएछ नत्र भने त यो अमेरीमा बिजोग नै हुनेरहेछ। पहिलो त कालो कपाल देख्ने बितिक्कै मान्छेहरु मुन्टो उता फर्काइहाल्छन। झन मोटो भए त कुरै नगरौं। एक दुइ जना मोटे साथीहरु गुनासो पोख्थे जे खाए पनि घटिंदैन। मन मनै सोच्थे आफु त दुब्लै छु के रे तिमीहरु जे सुकै खाऔ। तर जब जागिर खान लागियो त्यस पछी भने आफुलाइ पनि त्यही दशा सुरु भयो। २-३ महिना भयो म मोटोपन घटाउने अध्ययन तिर लागेको छु। तर आफ्नो तौल भने घट्ने तरखर देखिदैन। तौल भन्दा पनि ठुलो समस्या त्यही भूंडीमा गएर अड्किएको छ। फेरी बसन्तजीको ब्लगमा पनि त्यही भूडीको महात्मा जांदै रहेछ। अब भने बसन्त गुरुको गणेश बनेर महात्मामा भाग लिने निधो गरें।

मुल मन्त्र त अल्छीको कुरो जैसीले जान्दैन। त्यो मन्त्र यी हड्डी मात्रै भएका हातमा मासु थपिए पछी खुलस्त भयो। जब लाउने गरेका पाइन्टहरु पेटी नगाउनु पर्ने भयो त्यती बेला सम्म त हाइसन्चो भएको थियो। पेटी लगाउन भुले पनि खासै फरक नपर्ने भो। जब पाइन्टका टाक नै लगाउन नमिल्ने भो त्यस पछी भने केही गडबढ भहेको महशुस भयो। आफ्नै शरिरको जांच आफैंले गरें। एउटा साथीले प्वाक्क बोलीहाल्यो - जिउ त ठिकै छ भुंडी भने अलि घटा है। अब जांचबुझ गर्नै नपर्ने भो। कुरो आएर अड्कियो यही भूंडिमा। कहिल्यै जिउ घटाउन नपर्ने सोच भएको मान्छेलाइ परेन अब समस्या? यही भुडी घटाउने धुनमा भोगेका अनुभव एकै हरफमा लेख्दै छु है।

ब्याम गर्दैमा भूंडी घट्दैन। नपत्ताए यो नक्शा हेरौं एउटा पाउरोटी पचाउन कती उफ्रनु पर्नेरहेछ। जिउ मात्र होइन भूंडी घटाउन खानाको मात्रा घटाउनै पर्दछ। त्यसमा पनि चिल्लो,गुलियो निमीट्यान्न नै पार्नुपर्दछ, मासू पनि कम गरेकै बेस। एकै पटक भन्दा एक दिन दुइ दिन गरेर खाना घटाउंदा सघाउ पूग्दछ। सुत्नु भन्दा ३,४ घण्टा पहिलै खाएको निकै उत्तम। खाजामा सलाद खांदा भुंडीलाइ मात्र असर पर्ने होइन की जिउ नै चंगा हुन्छ। ब्याम गर्दा तौल तथा भूडी घटाउन सहयोग गर्दछ र जिउ फूर्तीलोको साथै तनाब मुक्त बनाउंछ। भुडींमा जोड पर्ने खालको ब्याम गरेर अझ सुनमा सुगन्ध। छोटो तर मलाइ प्रभावकारी भएको अनुभव थाहा भए पनि नभए पनि भुडीं घटाउने कार्ययोजनामा समाबेश गर्नुहोला,यस्ले कस्तो ल्याउंछ परिणाम अर्को पटक ब्लगमा भलाकुसारी गरौंला।
फोटो स्रोत: टाइम पत्रीका


October 25, 2009

आज बांदरको कुरा गरौं


मान्छे चकचक गरे कस्तो बांदर जस्तो रैछ भन्नेगर्छौं। बांदरको करामत सर्बसाधरणले त रमाइलो मानेर हेर्छन नै, पत्रकारले पनि भेटे भने क्यामरा सोजाइहाल्छन। अनि पुग्छ बांदरको करामत राष्ट्रिय पत्रिकामा। हिजो मात्रै यो छेउको फोटो दैनिकी पत्रिकामा आएको थियो। मान्छे मात्रै कोक कती खाने, समाबेशी नेपालमा बांदरले पनि त मौका पाउनु पर्यो नि। आखिर यि बांदर जाती पनि मानिसकै नजिकका पुस्ता पर्छन क्यार। त्यसैले होला यो बांदरले पनि लोकतन्त्रको उपभोग गरेको।

मेरो गाउंमा प्रसस्तै बांदर पाइने हुंदा बांदरको कार्यतालिकसित म निकै परिचित छु। हरेक दिनमा बांदरसंग कतै न कतै जम्काभेट भइरहन्थ्यो। कहिले कांहि त बाटोमा होइन घरमै आउंथे। घरमा भेटघाट गर्न त के हुन्थ्यो र उही कांक्रा,घिरौंला के के छन तिनै खान आउथे। कांक्रो ठुलो भएपछि खाउंला भन्दै हेर्दै बस्यो मान्छे नभएको बेला पारेर बांदरले लगिसक्थे। कांक्रो मात्रै खाए पनि हुन्थ्यो नि कांक्राको झ्यालनै चुडालेर जान्थे। एक पटक हाम्रोमा मादले कांक्रो रोपेका थियौं। हुन पनि मादले कांक्रो पाक्ने बेलासम्म मादल जत्रै ठुलो हुन्छ। दशैंलाइ भनेर राखेको मादले कांक्रोमा बांदरको आंखा लागेछ। बोट बाट त झार्यो उसलाइ बोक्न गार्हो भएछ। यसो कान्लो मुनी हेरको त बांदरले ठेला ठेले जस्तै गरी त्यो कांक्रो ठेलेर जंगल तिर लांदै पो रहेछ।

यस्ता बांदरका कथा हजारौं त नभनौं २,४ सयवटा भन्ने पक्कैछन। कहिले कांही काममा दिक्क लाग्दा सहपाठीहरुलाइ यिनै बांदरका कथा भनेर रमाइलो गर्छु। जनावरको नाममा कुकुर र बिरालासित मात्रै परिचित अमिरीकीहरु बांदरको कथा निकै रमाइलो मानी मानी सुन्थे। नेपाल जांदा भिडियो खिचेर ले है भनेका थिए। पोहोर साल नेपाल जांदा क्यामरा बोकेर जंगल जंगल घुमे मरी गए भेटिएनन बांदर। चाहिने बेलामा त कांहा आउछन र यि बांदर पनि। सायद हिउंद लागेर होला खानाको खोजमा अन्तै लागेछन। हिउंद भने बांदरको लागी निकै कष्टपूर्ण हुन्छ। जाडोले होइन, खानाले। कपडा सपडा नलाउने बांदरलाइ जाडोको त कुरै भएन तर हिउंदमा खेती नगरिने हुंदा बांदरको आयस्रोत न्युन नै हुन्छ। केही बाठा बांदर भने मान्छेको घरमै छिर्छन। यिनीहरुको मुख्य निशाना भनेको मकै नै हो। धान मकै राखिने ठाउं अध्यारो हुंदा केही बांदर भने घर भित्र नै आफ्नो बास बनाउंछन। हाम्रो घरमा एक पटक एउटा बांदरले हप्तै बिताएको थियो।

झट्ट हेर्दा बांदर मान्छे जस्ता मात्र हुंदैनन सोच्ने क्षमता पनि करिब करिब मान्छे जत्तीकै हुन्छ। आइमाई केटा केटीलाइ भने पटक्कै टेर्दैनन। बुढा बुढीलाइ त के टेर्नु? चाइनिज ठुलो छाता पछाडी भिरेर एक पटक नाताले हजुरबा पर्ने बजार जांदै रहेछन। बाटोमा बांदरहरुसंग भेट भएछ। बन्दुक भने पछि बांदरको सातो जान्छ। उनले पनि बन्दुक जस्तै गरि छाता बांदरतिर तेर्ससाएछन। बन्दुक ठानेर बांदर भाग्लान भनेको तिनीहरु के को लाटा हुनु नी उल्टै जाइलागेछन। कता कता बाट स्कुले केटा केटी आइपुगेछन र ति हजुरबाको उद्दार गरेछन। त्यो दिन त टर्यो तर त्यो बर्षैभरी ति हजुरबालाइ देख्यो की बांदरहरु जाइलागिहाल्दा रहेछन। बांदरहरु करिब किरब हरेक गाउंलाइ हेक्का राख्दारहेछन।

बांदरको मेलमिलाप पनि गज्जबकै हुन्छ। एउटालाइ अप्ठ्यारो पर्यो कि अरु बांदरहरु साथ दिन आइहाल्छन। बगालको कुनै बांदर अप्ठ्यारोमा पर्यो भने जोडले कराउंछ त्यसपछी समस्याको प्रकार हेरेर बांदरहरु त्यो समस्या समाधान गर्नतिर लाग्छन। तर जब कुनै बांदरले बदमासी गर्छ त्यस पछी भने त्यसले बगालबाटै सजाय पाउंछ। बांदरले बगालबाट सजाएं पाउने भनेको एउटै कारण हो , त्यो हो अल्पबायु छोड्नु। जब बांदरले अल्पबायु छोड्छ त्यसपछी भने सबै बांदर त्यसै माथी खनिन्छ। खनिनु पनि जयाज नै हो तपाइ पनि त्यो बेला वरीपरी हुनुभयो भने बांदरको अल्पबायु कती घातक हुन्छ थाहापाउनुहुनेछ।

बांदरका कथा जम्मा गर्ने हो भने सानो तिनो उपन्यास नै तयार हुन्छ। फेरी समय मिले बांदरको कथा बाडौंला अहिलेलाइ भने बिट मारौं।