September 15, 2009

अथ: द्रूतरथ ऊर्ध्व उदरासन

क्रान्तिकारी तरिकाले गाडी यसरी चढ्न सकिन्छ ! परम्परामा क्रमभंगताको अनुपम नमूना !


नयाँ नेपालको नारा धेरै सुने पनि यथार्थमा नयाँ नेपालमा के कुरा नयाँ हुनेछ त भन्ने बारेमा यथेष्ट जानकारी प्राप्त नभैरहेको बेला, नयाँ नेपालको एउटा दृश्यकथा देखापरेको छ हिजो बिराटनगरमा । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा मुख्य अतिथि बन्न पाल्नुभएका प्रधानमन्त्री माधव नेपालको विराटनगर आगमनलाई, माओवादी कार्यकर्ताहरूले देशव्यापी रूपमा गर्ने गरेको पाषाणवृष्टिपूर्ण स्वागत गरिसकेपछि, आफ्नो बाहुबली सामर्थ्यको प्रमाण समेत देखाउन यो गाडीहरूको उर्ध्व उदरासनमय अनौठो नजारा देखाएका रहेछन् ।


September 14, 2009

हिमालमुनि

  • हस्त गौतम मृदु
हिमालमुनि हरिया पहाड फैलेका टाँकुरा
मगमग बास्ना छरेका सधैँ  पालुवा आँकुरा ।

आकाशमुनि उडेका चील पखेटा फिजाई
सौन्दर्यशील सुन्दरता औधी प्रकृति रिझाई ।

सुनौला बादल रुपौला खेत धान छ मुलेको
बगेको नदी झरेको झर्ना सौन्दर्य खुलेको ।


September 13, 2009

गजल

दह्रो छैन भन्छन् चिप्लेला पाउ हजुरको
हार्दा'नि जित हुने हुन त दाउ हजुरको ।

वहाबको धार बुझी खियाउनु आफैँ अब
अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको ।


अकथा

दुई वर्षअघि:
ऊ नेपालमै थियो। सहरको कुनै साइबर क्याफेबाट दिनको समयमा विदेशिएको साथीसँगै कुरा गर्दै थियो:
ऊ:         के छ, मस्ती होला नि तेरो त ?
उताबाट: मस्ती कि सास्ती ?
ऊ:         विदेश गएपछि के को सास्ती ?, सास्ती त हामी यहाँ बस्नेलाई पो हुन्छ !
उताबाट: हैन त्यस्तो हैन..., यहाँ पनि समस्या उही हो… ।
ऊ:         अनि कमाइ कति हुन्छ त ?
उताबाट:  ......., …
ऊ:          ...ओहो !..... त्यसो भए त मलाई पनि बोलाऊ न हो !...
उताबाट:  ...हैन कुरा त्यस्तो हैन ..., .... ....
नेपालमा अचानक बत्ती निभ्छ र  इन्टरनेट डिस्कनेक्ट हुन्छ । उताबाट लेखिएको सबै मेसेज उसले पढ्न सक्दैन ।


खुल्ला आकाश

  • यात्री शेखर
खुल्ला आकाश जूनतारा, गीतको लागि भाका होला ।
लाली गुराँस फुलिरहने, नवै रंगका पाखा होला ।

प्रकृतिको सिर्जनामा, सबै दङ्ग मख्ख पर्छन् ,
प्रकृतिकै उपहार हाम्ले साथ पा'का होला ।


September 11, 2009

हैन हौ, शपथ किन खान पर्छ ?

कुरा ढिलो बुझ्ने र तीन पल्ट हाँस्ने उपबुज्रुगको कोटीमा मेरो नाम दरे हुन्छ । डेढ दुई महिनादेखि नेपाली समाचार हेरेको छु, जता पनि परमानन्द र हिन्दी शपथको मात्र चर्चा छ । त्यो पनि एक वर्ष अघि खा’को शपथको कुरा अहिले किन गर्दैछन् , मरिजाऊँ बुझ्याभए । अब ऊ बेला शपथ हो कि के जाती हो खाने बेलामा , मन्त्री -उन्त्रीलाई टि भि’आँ देखेकै हो ।

कसैले धोती कुर्ता, कसैले आईमाई भएर नि जिनका पाइण्टाँ , कसैले खरानी रंगका पाइन्ट कमेजमा रातो टाइ र टोपी लगार, कोहीले पाण्डा , डिंगो अनि गोल्डस्टार जुता लाएर शपथ खा’थे । भाषा पनि अनेक थरिका थे , यिनले शपथ खाए कि कुपथ खाए खासै कसैले मतलब राखेको देखिएन । अब मन्त्री बन्ने , फिर्ता हुने र नया आउने कुरा हुन कुनै आइतबार कुर्न नपर्ने मुलुकाँ , के कपडा लाएर के भाषामा के जाति कुरा कतिले खाए भन्ने कुराको हिसाब किताब औँला भाँचेर राख्न पर्ने दरकार पो हाम्लाई किन परेको छ र ? त्यसैले राखिएन ।

पहिला पहिलाको जमानामा मन्त्री, रापंस , सांसद बन्ने हरूले दौरा शुरवाल लाएर अगडि उभिएको एक जनाले पढेको कुरा अरू पनि त्यस्तै पहिरन लगा’काले समूहमै दोहोराउँथे र पढ्थे । किन होला यति ठूला जस्ता देखिने मान्छेलाई पनि केटाकेटीलाई पढाए झैँ , दोहोराउन लगाएको भनेर सोचिन्थ्यो । त्यहाँ कहिले काहीँ राजा पनि हुन्थे । पछि कुरा बुझियो यही कामलाई शपथ खाने बनेर भनिँदो रहेछ । हामी चानचुने मान्छेले ‘विद्यानास, गाईखाने, म मरि जाउँ, जनैको धर्म , म प्वाक्क हुन परोस्, भने जस्तै ठूला मान्छेले राम्रो तरिकाले किरिया खाएको कुरालाई नै राजनीतिमा शपथ खाने भनेर भनिँदो रहेछ । यति त बुझेकै हो अल्लि पछि बुद्दि छिप्पिन थालेसि । चानचुने मान्छेले कसम वा किरिया खा’को छ भने उसले झूटो भनेको, गरेको वा भन्ने गर्ने छैन कि भनेर भरोसा गर्न सकिने अलिकति ठाउँ रहन्छ । तर पनि , पच्पच्ति किरिया खाएर , मान्छेको विश्वासलाई पनि गाजर मूला खाएझैँ कर्‍याम कुरूम पार्ने नभएका पनि हैनन् ।

तर यी पहिला न्यायधीश पनि भएर नेपाली भाषाँ अदालतका निर्णयका ठेलीका ठली लेख्ने तिरहूते बाहुन परमानन्द झालाई देशको उपराष्ट्रपति भएसि के रोग लागेछ बिचरा नेपाली खर्लप्पै भुलेछन् । नेपाली भुलेपछि नेपालीसंग लिपी उपी मिल्ने दाइ भाषा हिन्दीमा शपथ खाएछन् । यो कुरा अदालतले एक वर्ष पुग्दा, नपुग्दा थाहा पाएर भन्दिएछ ‘ हैन, नेपालको उप हुने हो भने , नेपालीमा नै शपथ खान पर्छ ‘ । यही कुरोमा हलो अड्केर मुलुक ठप्पै भैसक्दा पनि मेरो मगजमा कुरा घुसेन । मलाई भने यो शपथ खाने नियम हटाइदिएर टण्टै खलाँस पार्दा हुन्न र भन्ने लागेको छ ।

शपथ जुन भाषाँ खाए नि , शपथले बाँधेर राख्ने कुरो पनि हैन । शपथ खा’काले इमान्दार र नैतिकवान भएर कुरा वा काम गर्छन् भन्ने पनि कहिँ देखिएको वा लेखिएको छैन । गतिला शपथ खाएकाले नै देश लुटेर, ध्वंश पारेर यो हालत बना’र हाम्रो कन्तबिजोग भएकै छ । शपथ खाएर , शपथलाई अगस्ति मुनिले झैँ पचाएर, देश नै खान मिलेकै छ भने शपथ को इज्जत बचाउन पनि अब शपथ खान नपर्ने बनाउने बेला भएन र ?

मलाई शपथ खाँदामा यो राम्रो कुरो हुन्छ है भनेर कसैले बता’को पनि छैन । शपथ काण्डले देशलाई नै कुपथमा पारेको हो कि जस्तो मेरो मोटो बुद्दिले ठानिरा’छ । त्यसैले मेरो कुरो कसैले सुन्छ र मान्छ भने मेरो फिराद यही छ कि ‘ मिल्छ भने यो शपथ कुपथ केही खान नपर्ने बनाऊँ , हुँदैन र खाने नै हो भनेर जिद्दी गर्ने हो भने जसलाई जे मन पर्छ त्यै त्यै तरिकाले, रूचि अनुसार खान मिल्ने पारौँ’ । नया नेपालमा खाने कुरा र पकवानमा पनि कसैलाई ‘यही खान पर्छ र खा’ भन्न पाइन्छ र ? त्यसैले शपथ खान र ख्वाउन कर नलगाऊँ , खानै पर्नेले रूचि अनुसार अझ मिल्छ भने घर घराँ गएर खाऊँ । यसो गर्दा गणतान्त्रिक लोकतन्न्त्रको कायाकल्प हुन्छ ! हैन र ?