July 4, 2009
राष्ट्रको कान्ति
एताउता घुम्न पनि लाग्छ मलाइ डर
आँतमा राख्ने मान्छे भै सकेछन पर
झुठा सपना देखाएर द्धन्दमा फसाए
तहस नहस पारी देश दुनियाँ हसाए
म त झनै बल्झिए सकुनीको जालमा
कसरी जिउनु म यस्तो कुटिल चालमा
कुराकानी गर्न पनी लाग्छ मलाइ डर
शुभचिन्तक भन्ने पनि भैसकेछन पर
कहिलै मुक्ती पाउला आफनो राष्ट भित्र
भताभुंग पारी सके आफनै देशको चित्र
न त मैले सुख पाएँ न त पाए सान्ती
ओझेलमा पार्दै गए यो राष्टको कान्ती
भेटघाट गर्न पनि लाग्छ मलाइ डर
मानवीय सम्वेदना पनी भैसके छ पर
July 3, 2009
कस्तो हुनुपर्छ त राज्यको शासकीय स्वरूप ? (बहसका लागि)
नेपालमा नया संविधान बन्दै छ र नया संविधानले देशको शासन व्यवस्था कस्तो हुने हो भनेर तय गर्नेछ र यसकै तपशिलमा राज्य पुनर्संरचना वा संघियता , समावेशीकरण, आदि अनेकौँ परिशिष्टको क्रम तोकिनेछ । एकीकृत माओवादी पार्टीले संशोधित रूपमा राज्यको शासकीय व्यवस्थाको कुरालाई चर्चामा ल्याएको छ । आफ्नो नाम अनुसार नै एउटा कट्टर कम्युनिष्ट शासन प्रणाली अपनाएको राज्यले अपनाउँदै आएको शासन व्यवस्थासंग मिल्दा जुल्दा विशेषतायुक्त राज्य व्यवस्थाको प्रस्तावना गरेर माओवादीले आफ्नो उद्देश्य दर्शाएको छ । हिजो सत्तामा हुँदा उसको प्रस्ताव अलग खालको थियो र आज सत्ता छोड्नु परेर आक्रोशित बन्दा यो अलग देखापरेको छ । फेरि सत्तामा आएर खुशी हुँदै गर्दा उसको विचार फेरिएन भने माओवादीले मोही माग्दा , ढुङ्ग्रो लुकाएको छैन । उसले कम्युनिष्ट पार्टीको विचार अनुसार जनवादी केन्द्रियतामा राज्ययन्त्रका सम्पूर्ण पक्षलाई नियन्त्रणमा लिने खालको, देख्दा लोकतान्त्रिक देखिने तर सारमा कम्युनिष्ट पार्टी नियन्त्रित राज्यतन्त्रको प्रस्तावना गरेको प्रष्ट छ । परम्परागत कम्युनिष्ट शासन रहेका मुलुकहरू रूस , चीन , क्यूवा र कोरियाका धेरै विशेषता बोकेको साथै केही अलग कुराहरू पनि अँगालेको यो संवैधानिक प्रस्तावनासंगै शासकीय व्यवस्था सम्बन्धी बहस अग्रतामा आएको छ ।
‘माओ’ वाद भन्ने विचार एउटा कट्टर कम्युनिष्ट शासकीय संयन्त्रयुक्त राज्यतन्त्रमा विश्वास गर्ने वाद हो । चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङ्ले तत्कालीन चीनमा कम्युनिष्ट क्रान्तिका लागि अबलम्बन गरेका रणनीतिक तथा राजनैतिक विचार र व्यवहारहरूको प्रयोग मार्फत त्यस्तै राज्यव्यवस्था कायम गर्ने सोच राख्ने विचार र दलका रुपमा यसलाई बुझ्नु पर्छ । माओत्सेतुङबाट शुरू भएको कम्युनिष्ट विचार निर्देशित राज्यतन्त्रमा माओको मृत्यूपछि, देङ सियाओ पिङले सुधार गरे पनि यो मूलत: नया आर्थिक मोडेलको स्थापनार्थ थियो । देङलाई थाहा थियो , १ अरब भन्दा विशाल जनसंख्या बोकेको विशाल चीनलाई नियन्त्रणमा राखेर एकोहोरो विकासको बाटोमा हिँडाउन कम्युनिष्ट एकाधिकार र १ करोडको ( २५ देखि ५० लाखको पिएलए नामक सेना, पुलिस , र अन्य गार्डहरू ) संख्यामा रहेका लालसेना ( रेड गार्ड वा पिएलए , नेपालमा माओवादीले पनि यही नाम दिएको छ आफ्नो लाडाकूलाई ) नामको सैन्य नियन्त्रणमा सुरक्षित शान्तिमा मात्र सम्भव छ। फलत: ,विकासका लागि शान्ति र शान्तिकालागि राजनैतिक तानाशाहीको मार्ग मात्र सही ठहर्याइयो। स्मरण गर्नु पर्ने कुरा के हो भने , देङ सियाओ पिङको मार्गचित्रमा अघि बढेको वर्तमान चीनले अबलम्बन गरेको राज्यव्यवस्था सम्बन्धी राजनीतिक अभ्यास त्यही कम्युनिष्ट विचारको मातहत पूर्ण नियन्त्रित र निर्देशित छ भने, उसले आर्थिक प्रगति गर्नका लागि पूँजीवादी शैलिलाई अपनाएको छ । अर्को शब्दमा , अहिलेको चीनको राजनीति कम्युनिज्म र अर्थनीति पूँजिवादको सम्मीश्रित रूप हो । यस्तो मोडेलको राजनीतिमा, मुलुकको राजनीतिको एकाधिकार कम्युनिष्ट पार्टीको एकल छत्रछायामा मौलाउँछ । सेना, प्रहरी, अदालत, प्रशासन ,कानून , सरकार र समग्र मुलुक नै कम्युनिष्ट पार्टीको निर्देशनमा काम गर्नु पर्ने यस्तो राजनैतिक प्रणालीलाई पश्चिमा उदारवादी शासनप्रणालीका मुलुकहरूले अक्सर एकाधिकारवादी तानाशाही राज्यतन्त्र भएकाहरू को सूचिमा राख्ने गरेको पाइन्छ ।
यहाँनेर एउटा उदाहरण उल्लेख ग्रनु उपयुक्त लाग्यो । गत महिना चीनिया सेना प्रमुख फू क्वानयुले दिएको एउटा वक्तव्यलाई आधार मान्न सकिन्छ । तियानेनमेन चोकमा २० वर्ष अघि भएको बिद्रोह दमनको वार्षिकी मनाउन हुनसक्ने गडबडीलाई इङ्गित गर्दै सेना चिफले आफ्नो प्रतिवद्दता सार्वजनिक गरेर भने “ हाम्रो विशाल सेना , चिनिया कम्युनिष्ट पार्टीकालागि जुनसुकै मूल्य चुकाउन तयार छ” । पश्चिमी उदारवादी राजनैतिक दर्शन र अभ्यास अनुसार, पार्टी वा दलहरू मुलुकका पर्यायवाची हुनै सक्दैनन् । मुलुकको सेनाले कुनै पार्टीका लागि जुसुकै मूल्य चुकाउने वाचा गर्नु त्यहाँ उदेक लाग्दो मानिन्छ। पार्टी त हराएर जान सक्छन्, सरकार पतन हुन सक्छन् र नया विचारले नया निर्माण हुन पनि सक्छन् , तर मुलुकको अस्तित्व पार्टी र सरकारभन्दा भिन्दै विशिष्ट हुने ठानिन्छ । सेना, अदालत, पुलिस, र प्रशासनको वफादारी मुलुक जनताप्रति हुनुपर्छ कुनै दल विशेषप्रति हैन भन्ने विचार यो उदारवादी राज्यतन्त्रका हिमायतीहरूको सामान्य बुझाइ हुने गर्छ ।
नेपाली माओवादीले भने आफ्नो राजनीतिक मोडेल यही चिनीया वा कम्युनिष्ट शैलिको हुनेछ भन्ने कुराको खुलासा हालै आफ्नो दलको विस्तारित केन्द्रीय समितिले जारी गरेका निर्णयहरू मार्फत उजागर गरेकाछन् । यो भन्दा पहिला पनि उनीहरूको प्रस्तावित संविधानको खाकाले त्यताप्रतिको आसक्ति देखाएको भएपनि अलिक अवसरवादी बनेर यता कि उता हुने भन्ने कुरामा द्विविधा नदेखाएको हैन । तर , माओवादीले खोजेको जस्तो राज्यको व्यवस्थापकीय स्वरूपका बारेमा जारी गरिएको यो नया अवधारणा, कम्युनिष्ट राज्यतन्त्रको जनवादी केन्द्रीयताको सिद्दान्त अनुरूप भएको पाइएको छ , जुन विशेष गरी पश्चिमी देशहरुमा अपनाइएको विश्वमान्य लोकतन्त्रका सिद्दान्तसंग धेरै मात्रामा बिमति राख्छ । प्रचारमा आए अनुसार राज्यको शासकीय स्वरूपका बारेमा माओवादीले गरेको प्रस्तावमा निम्नलिखित मुख्य विशेषता हुनेछन् ।
१) देशमा एक जनप्रतिनिधिसभा ( चीनको पिपल्स कंग्रेसको अनुवाद) रहनेछ र यसले एउटा सर्वधिकार प्राप्त राष्ट्रपति मण्डलको ( इरानको गार्जियन काउञ्सिल कि कम्युनिष्ट पार्टीको पोलिट व्यूरो वा त्यस्तै मुलुकको प्रेसिडियम ? ) छनोट गर्नेछ । साथै कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति पनि व्यवस्थापिकाले छनोट गर्नेछ । ( कम्युनिष्ट मुलुकमा बाहेक अन्य मुलुकको कार्यकारी राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था छ । साथै अमेरिका र फ्रान्स जस्ता विकसित पश्चिमा मुलुक बाहेक कार्यकारी अधिकार सम्पन्न राष्ट्रपतीय प्रणाली भएका मुलुकहरू अपवादबाहेक तानाशाही बाटोमा लागेका उदाहरण प्रसस्त भेटिन्छन् । यही व्यवस्था बोकेका क्यूवा र उत्तर कोरियाले त आजीवन राष्ट्रपतिले नपुगेर , भाइ , छोरा र नातीमा राषट्रपतीय प्रणालीलाई हस्तारण गराउँदै नवकम्युनिष्ट राजतन्त्र कायम गरेको पनि देखिएकै छ क्यारे ! )
२) अदालत र सेना सबै व्यवस्थापिका कै मातहतमा हुनेछन् ( शक्ति पृथकीकरको सिद्दान्तलाई पूर्णत हटाइनेछ र कम्युनिष्ट मुलुकको व्यवहार अपनाइनेछ ) ।
३) सामन्तवाद र साम्राज्यवादविरोधी पार्टीको बहुदलीयतालाई मात्र स्वीकार गरिनेछ ( मतलब, कम्युनिष्ट पार्टी मातहतको अदालतले आवश्यक ठानेका दललाई सामन्तवाद वा साम्राज्यवादका पक्षपोषक ठानी प्रतिवन्धित गर्नेछ , जस्तो कि कम्युनिष्ट मुलुकको बहुदलियता हुने गर्छ)।
४) जनप्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको सरकारमा प्रतिनिधित्व हुनेछ र व्यवस्थापिका विपक्षीबिहीन हुनेछ ।
( यस्तो व्यवस्था अन्त पनि छ जस्तो कि दक्षिण अफ्रिका जहाँ १०% भन्दा बढी मत ल्याउने दलबाट उपराष्ट्रपति र मत प्रतिशत अनुसार अरू दलहरूलाई मन्त्री बनाइने चलन छ । मेलमिलापको राजनितिका लागि यो राम्रो हुन पनि सक्छ तर आँफूले इच्छाएकाले मात्र दल खोजेर राजनीति गर्न पाउने र तिनै दलहरू मात्र दूधको सांक्षी बिरालो जस्तो सरकारमा सर्वसम्मत सहभागितामा रमाउने हो भने यो पनि वर्ग संगठनको निर्दलीय पञ्चायति व्यवस्था जस्तै नेपाली माटो सुहाउँदो व्यवस्थातर्फको यात्रा त हुने हैन ? कि चीनमा जस्तो उही कम्युनिष्ट पार्टीका बिभिन्न भ्रातृसंगठनहरू लाई राजनीतिक दलको रूपमा मान्यता दिएर तिनको प्रतिनिधित्वलाई बहुदलीयताको नाम दिन खोजिएको पो हो कि ! )
राज्यको शासकीय स्वरूप कस्तो हुने वा हुनुपर्ने हो त्यस सम्बन्धी बहस र मन्थन हुनुपर्ने भन्दा एकदमै थोरै भैरहेको जस्तो लागेको छ । यो त्यति हल्का फुल्का विषय पनि हैन र यही कुरामा मुलुकका कम्तिमा पनि आगामी केही दशकहरू र केही पुस्ताको भविष्य र भाग्य कैद बन्नेछ । हाम्रै निकट भविष्य नियन्त्रणमा लिन सक्ने यस्तो गम्भीर विषयमा राजनैतिक दलहरू नै नदारद रहेको यो घडीमा जनताले व्यक्तिगत रूपमा चिन्ता लिएर पनि केही फरक पर्ने हैन । तर विज्ञहरूले यो विषयमा बहस चलाउने जमर्को सम्म नगरेको देख्दा , यस्तो गम्भीर मुद्दाको छिनोफानो पनि लहड कै भरमा हुने हो कि भन्ने छाँट देखिन्छ । हुनत, अहिलेको संविधानसभाको संरचना हेर्दा र त्यहाँ पुगेका मानव आकृतिहरू मध्ये कतिले यस्तो महत्वको कुरा बुझ्ने सामर्थ्य राख्लान् त्यो नै सोचनीय कुरा छ । माओवादीले त आफ्नो राज्य मोडेल प्रस्तुत गरेर , आँफ्नो परिचय र उद्देश्य दर्शाउन हिचकिचाहट देखाएन। अरूको यस मामिलामा गृहकार्य के भैरहेको छ थाहा पाइएको पनि छैन । हामी नेपालीले वि. सं. १९९७ सालको शहीद काण्डदेखि हरेक दश वर्षमा लड्ने गरेका आन्दोलन र क्रान्तिको शृङखलामा यो पछिल्लो कडीको क्रान्ति , आन्दोलन , संविधानसभाको निर्वाचन अनि राजतन्त्रको उन्मूलन पश्चातको परिदृश्यमा खोज्दै गरेको शासकीय स्वरूप कस्तो हो त ? हामी प्रष्ट छौँ ? सही जवाफ कसले खोज्ने ? कस्तो हो त मुलुकलाई चाहिएको शासन व्यवस्था जसले तय गरेको बाटोमा हिँडेर हाम्रा असंख्य आकांक्षाहरू सम्बोधन होलान् ? देश त हामी सबैको हो नि ! त्यसैले आउनूस् हामीलाई कस्तो शासन व्यवस्था चाहिएको हो त्यसमा बहस गरौँ, नत्र बेला घर्किएला !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 2, 2009
इच्चाहरुसंगै कैदी भएँ
इच्छाहरुसंगै कैदी भएँ पिंजडाको सुगा झैँ
पखेटाबिहीन भएँ म पिंजडाको सुगा झैँ ।
बोल्न त बोल्छु त र बोलीको औचित्य छैन
मनोरन्जनको बस्तु भएँ पिंजडाको सुगा झैँ ।
पंक्षि हुँ म खुल्ला आकाशमा उडिरहने सधैं
बन्धनभित्र थुनिइरहेँ,पिंजडाको सुगा झैँ ।
आवरण सुन्दर छ,बोली पनि मधुर नै छ
भाग्यको दासी भएँ कठै! पिंजडाको सुगा झैँ ।
(गजल ग्रुपमा समर्पित आज मात्र रचेको यो गजल )
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
खल्ति कि प्रवृत्ति ? कि लँगौटी ?
Nepal bans airline staff pockets
Staff at Nepal's main international airport are to be issued with trousers without pockets, in an attempt to wipe out rampant bribe-taking. Officials said there were growing reports of bribe-taking at the airport The country's anti-corruption body said there had been growing complaints about staff at Kathmandu's Tribhuvan airport. A spokesman said trousers without pockets would help the authorities "curb the irregularities".
स्रोत: http://news.bbc.co.uk/2/hi/south_asia/8126110.stm
ओरालो लागेका मृगलाई बाच्छाले पनि लखेट्छ भन्छन् । मुलुक हत्या, अपहरण, फिरौति असुली, दण्डहीनता, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले घाँटीसम्म डुबिसक्यो । राजनीतिको जोड घटाउमा माहिर हाम्रा देशका भक्षक खेलाडीलाई अरू केही कुराको चासो हुने कुरै भएन ।
देशमा कानून छ , कानूनका मठाधीशहरू कसरी पैसा र प्रभावका बलमा कानूनलाई फूटबल झैँ प्रहार गर्न सकिन्छ , कलाबाजी सिकाउँछन् । देशमा पुलिस छ , कसरी अपराधलाई लुकाउने र अपराधीलाई उम्काउने सूत्रहरूको लिलाम बढाबढ गर्छन् । देशमा जनताको करले पालिएको ठूलो संख्यामा कथित राष्ट्रसेवी कर्मचारी छन् , जसले अड्डा र अफिसमा बल्छि थापेर हात र मुखको जोहो गर्न उपाय खोजी गरिरहेका निरिह जनताको बाटो ढुकेर ढडिया भर्छन् । देशमा राजनीतिक दल छन् , जसले जनतालाई ‘बाँच्ने होस् भने भोट दे’ भनेरै लोकतन्त्रको श्राद्द गर्छन् । देशमा प्रसासन र सरकार छ , जसले त्यहाँ पुग्न पाएको नै जनतालाई झिरले रोपेर तिनको शरीरबाट रगतका थोपा निचोरेर असूल्नु हो भन्ने रावण बुझाइ राख्छ। यस्तो मुलुकको अख्तियार दुरूपयोग नामको नियोगबाट कता न राम्रो गर्नलाई भएको हो कि झैँ गरी एउटा उट्पट्याङ् आदेश आयो “ एयरपोर्टमा हुने भ्रष्टाचार रोक्न त्यहाँका कर्मचारीलाई खल्ति भएका लुगा लगाउन नदिने” ।
कस्तो निम्न बुद्दि ब्रष्टाचार रोक्न बसेको सेतो हात्ति अख्तियारको ? यो कस्तो बुद्दि हो ? कस्तो उपाय फुरेको हो मान्छेका मगजमा, तो पनि यति बिघ्न उच्च तहमा बस्नेहरूको ? भ्रष्टाचार खल्तिले गर्ने हो ? त्यसो हो भने त सर्वाङ्ग नंग्याएर राख्दा राम्रो होला नि !
अख्तियार नामको यो पाखण्डी आयोगका जमातहरूले यस्तो हास्यास्पद निर्णय गर्नु पूर्व , यस्तो समाचार अन्तर्राष्ट्रिय मिडियामा पुग्दा देशको बद्नाम कुन ढंगले होला भनेर सोच्न पनि नसक्नु आँफैमा उदेक लाग्दो छ । कानून , व्यवस्थाको ह्रास र दण्डहीनताको तो कुरै छोडौँ , मुलुकमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हुने भ्रष्टाचारको समाचारलाई खल्तिबिनाको पहिरन मार्फत रोक्न खोजेर अख्क्तियारले, कर्मचारीलाई खल्तिबिहीन बनायो बनाएन थाहा भएन ,तर नेपाललाई पहिरनबिहीन निर्लज्ज भने पार्यो नै । हैन यो देशमा सन्तुलित दिमागधारी मान्छे नै बाँकि रहेन्न कि कसो हो ? किन हामिले गर्ने हरेक काम र कुरा हरूका लागि परिहासका कथा बन्न पुग्छन् ?
भ्रष्टाचार र घूषखोरी हाम्रो जीवनको अभिन्न प्राण बनिसक्यो । यसलाई हटाउने हो भने हाम्रो प्रवृत्ति सुध्रिनु पर्ने हो । हैनभने विमानस्थलमा लगौँटी मात्र लगाएका कर्मचारी पठाएरै पनि , स्थति सुध्रिन्छ भन्ने कामना कसैले गरेको छैन। खल्ति नभएका कपडा लगाएर भ्रष्टाचार रोकिन्छ भने मुलुकभर पाकेट र झोलामा प्रतिवन्ध लगाउने कानून बनाउँदा पनि हुन्थ्यो ! तर कस्तो बुद्दि दिमागमा बोकेको जिमराजले यसो गर्दा भ्रष्टाचार हुन्न भन्ने सोचेर यस्तो निर्णय गराएको होला ? यसो गर्दा विमानस्थलमा हुने भ्रष्टाचारको कुरामा एक थोपो सुधार त पक्कै आएन होला तर , यो समाचार अष्ट्रेलियादेखि बेलायत र संसारभरिका मिडियमा , एउटा मजाकिया खबरको रुपमा छरिँदा हाम्रो एक मात्र अन्तर्रष्ट्रिय विमनास्थलको बिजोग कहानी छताछुल्ल भने अख्तियारले बनाएरै छोड्यो । घूसखोरीको कारक खल्तिमा भेट्टाएर, अख्तियारवालाले आफ्नो पंगूपनको परिचय बाहेक केही देखाएनन् बरू वास्तविक समस्यामा कुनै असर नै नहुने यस्तो स्थितिमा, ‘हगाइ भन्दा पदाइ’ ठूलो हुने झै गरी , भ्रष्टाचार कम गराउन यस्तो २ पैसे बुद्दिको उपाय सुझाएर , अन्तराष्ट्रिय रुपमै नेपालको बेइज्जतीको यो तमाशा गराउने अख्तियारवाला हरूलाई उनीहरूको लाज छोप्न लगौँटी उपहार दिने हो कि !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 1, 2009
देश बेच्ने पार्टि रित रैछ
गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ ।
लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ ।
भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्
पुलीस प्रशासन र नेता यिनकै मित रैछ ।
आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुसु्रदापनि नमेटिने कस्तो धित रैछ ।
सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टि रित रैछ ॥
सुमन बगाले आबुँ खैरेनी तनहुँ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 30, 2009
साझा, माइसन्सार र दौतरी
(लौ कोही आउनुभएन, हजारौं पाइलाको लागि । त्यसैले एउटा मनकुन्तर टासेको छु, फेरी आँफै । अब पुरस्कार मलाई नै त होलानी । कि, चाहिने भन्दा बढी भयो भनेर गाली हो ? लौ, आखिर जे होस् । )
आज भन्दा कारीब पाच साल अगाडिको कुरा हो । म भर्खरै स्वदेश छाडि यो "परदेश" पसेको थिए । बिदेशिएको छोरोको पीर पर्यो होला भनी बाबा-महातारिलाई पत्र पठाम् भने यो सात समुन्द्र पारीबाट कुन चरिले लगिदेला ? श्रीमती त काठमान्डौमा थीइन । फोनको सुबिधा थियो, यसो गरियो । हाजातमा राम्रै सँग परदेश आइपुगेको बताइयो । तर गाउमा हुनुभएका बिचरा आमा-बुवाले आफु आइपुगेको खबर कसरी पाउनुहोला भन्ने कुराले मन पिरोलिरन्थ्यो । अचानक, जिल्ला सदरमुकाममा रहेका आफ्ना मित्रलाई इमेल लेखी पठाइ सुचित गराउने उपाय मनमा पलायो र त्यसै गरियो पनि । परदेशमा छोएको त्यो कम्प्युटरलाई माउसले स्क्रीन बन्द गर्दै जादा साथीले बन्द नगर्नुभएको साझा डट कम मा मेरो नजर पुग्यो । यसो हेरियो, नयाँ-नया बिषयहरुका सटिक सम्प्रेशणहरु अनी केही जानकारी, झट्ट हेर्दा रमाइलो नै लाग्यो - साझा ।
साझामा त्यतिबेला ठरकी दादा, बसन्त गौतम, नेपालीयन, राहुलभाइ, शिरीष, शिवप्रकाश, गोतामे लगायत सयै नेपाली मित्र तथा दाजुहरुको गजल र नौलो अनी रमाइलो "चौतारी' खुबै रमाइला रहेछन । जानी नजानी साझाभित्र केही कोरिन थालियो । अनोक समाएका हातहरु कबि बन्ने ध्याउन्नमा बोस्टनको जाडोमा प्यलाको साथमा अरुको गजल पढ्दा खुबै मजा आएको थियो । अत: बिस्तारै गजल पढ्ने बानिले साहित्यको बिद्यार्थी बनायो । साझाकै थ्रेडमा बोस्टनमा हुने साहित्यिक कार्यक्रमको प्रचारको जालोले राहुलभाइ दाजु सँग फोनमा बार्ता गर्ने अबसर जुरायो । त्यसताका ब्लगको हावा भर्खरै लागेको थियो मलाई । साझामा नै बिज्ञापन गरेर अहिले स्वघोशित "बादशाह" बनेका माइसन्सारका संचालकको बारेमा पनि जानियो, साझामा बिज्ञापन हेरेर । मनमा पलायो एउटा बिचार कि, किन साझा-चौतारीमा मात्रै लेख्ने ? माइसन्सार तिर पनि कलम चलाऔ भनेर दुई चार वटा लेखिएका खेस्राहरु "उमेश"को नाममा पठाइयो । तर आएन । लेख प्रकाशित नभएर रिसाएर ब्यथा पोखेको होइन, मित्रजन । त्यो संसारमा लेख्ने पनि मेरै र म जस्तै नेपाली दाजु भाई थिए । तर त्यों संसारले राजनीतिको बिल्लाको भरमा उसका पक्ष-पोसकहरुको "पूजा" मात्रै सुन्न थाल्यो र हाम्रा कसरतहरु उमेशले कहिल्यै राम्रो ठानेनन । अझ भक्तिभाबमा लेखिएका सामाग्रीहरु प्रतिका हाम्रा कमेंटहरु पनी डिलीट भए । मलाई यो ध्रुबसत्य भन्न बडो चित्त दुख्छ र पनि भन्नु पर्छ, हाम्रा पैसाले न्यूयोर्कमा राष्ट्रियताको बखान गाउन आएका "प्रचन्ड" ले पादेको सरी छपाउने त्यो माइसन्सारले परिवारको ममता गुमाएको कुनै परदेशिको ब्यथा छपाउन ठीक ठानेन ।
कतारको खाडीमा बगेको पसिनाको कथालाई सहि ठानेन । जर्मनमा पासपोर्ट हराएका साथीको बेदना सहि ठानेन । अमेरिकामा शरणार्थी भएका बा-आमाको कहानी लेखाउनु उचित ठानेन । आज कम्प्युटर केही जानेको छु र म यो अर्को ध्रुबसत्य कुरा भन्छु, कम्प्युटरमा डिग्री हासिल गर्ने कयौ ब्लगर आदरणिय दाजुहरु चिनेको छु आज र पनि भन्नै पर्छ, यो सत्य कि, एउटा ब्लग चलाऊन कती पैसा लाग्छ ? म त भन्छु, एक सुका पनि लाग्दैन । तर, बेचिएकी चेलीको कथा लेख्न भुलेर, माइसन्सार "ब्लग चलाऊन सहयोग माग्दै, पे-पाल अकाउन्टको शिर्शक" राख्न सम्म पछी पर्दैन । हो, पत्रकार कोही हो भने खर्च लाग्छ नेपालमा तर जनताको लागि कुनै ब्लग खुलेको छ भने भिक्षा माग्नु उचित होइन ।
राहुलभाइ एक जना जानकार र सिद्धहस्त लेखक हुनुहुन्छ । उहाको "चिलिम" एक जमनामा बहुतै चर्चित थेगो थियो, साझा चौतारीमा । एक दिन फोनमा दाजुलाई मैले भने - "दाइ, एउटा साझा ब्लग चलाऊनु पर्यो, चौतारीका सारा सहकर्मि मिलेर ।" तर यो कुरा पुरानो भैसकेको रहेछ । दाइले भन्नुभयो -"भाइ, "दौतरी" सुरु भएको छ नि त । " यो कुरा भनिरहदा यो लेख हजारौ पोस्ट होला र मैले ताली पाउला भनेर गमक्क भएको कदापी होइन, म । तर, दाजुको त्यो उत्तरले खुशीको सीमा रहेन । "दौतरी डट ओआरजी" हानियो, अनी देखियो, पढियो, खुशी भइयो । र आज दौतरिमा कतारका भाईहरुको पनि लेख पढ्न पाइएको छ । जापानबाट दाजुले लेख्नु भएको गजल पनि पढ्न पाइएको छ । बम्बैमा बेचिएकी बहिनिको बेदना पनि पढ्न पाइएको छ । त, यसरी कसैको द्वेश हटाउन होइन कसैका कथित "सन्सार" लाई पर-पर घचेड्दै दौतरी अघी बढेको छ, बढेको छ ।
माइसन्सारको भाउ यो मध्यरातमा लेखियो भनेर म मित्रहरुलाई गर्धन नफुलआउन अनुरोध गर्दछु । भनिन्छ नि, जब मान्छेले मान्छेलाई मान्छे भनेर गन्दैन तब मान्छेले मान्छे हुन मान्छेकै साहारा लिनु पर्ने रहेछ । यसकारण, यो एउटा तितो सत्य मात्र हो । दौतरिको यो सफलताको हजारौ पाइलाहरुमा साथ दिने सयौ साथीहरुको माझमा सान्दर्भिक ठानेर मात्र राखेको हुँ, मात्र एउटा सत्य । तर यो हिनताबोध होइन । कपुरि क सिकेर पनि आज हाम्रा भाईहरु हामीले पुज्ने चंद्रमामा बस्ती बसाउदै छन भने माइसन्सारको त्यो हेपाइ एउटा मामुली उदाहरण र झसका हो भन्दा अनुपयुक्त नहोला । उनले हेपे पनी उनी हाम्रा साख्खे भाई हुन । हामीमा त्यति ममता छ, जून ममता दौतरी मार्फ़त हामी सबैले दर्शाउदै आएका छौ ।
आजकाल फुर्शदले खुबै ब्लग पढिन्छ । ब्लगका ति लेखहरु पढ्दा लाग्छ, मान्छे आफ्नो आवाज धसार्न अब कसैको पिछलग्गु भएर पक्कै लाग्दैन, केबल एउटा बेदनाको बिसर्जनका खातिर । सामाजिक आवाज बुलंद गर्न हजारौ ब्लगरहरू "आफ्नै संसार" लिएर /भएर मुखरित भएका छन ।
पाच बर्ष ठ्याक्कै भएछ, बिदेश आएको । साथीलाई आफु आइपुगेको खबर दिलाउन इमेल लेख धर्मराउने हाम्रा हातहरु आज तिरस्कारलाई सहन नसकेर गज्जबको लेखायती झाप्पड हान्न लालायित भएका छन । त्यसैले, देश रुदा हामी परदेशिको मन रुदो रहेछ । त्यही रुने मनलाई बिसाउने एउटा साझा चौतारी बाट शुरु भएर, दुनियाँका रैतिका संसारहरुलाई पार गर्दै दौतरी जनताको आवाज बोल्ने ब्लग (माध्यम) भएको छ । चाहे, साहित्यको रुपमा चुहाइएको आशु होस् या चेतनामा जलजलेको बिचार । सबैका हातबाट लेखिएका ति भावनाहरू, बेदनाहरु अनि परदेशिका आवाजहरू एकिकृत रुपमा एउटै आगनमा सर्लक्क पाउदा म जस्तै अरुका मनहरु पनि अबश्य फुरुङित होलान । दौतरिलाई धेरै धेरै शुभकामना, यि हजारौ पाइलाहरुका लागि ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest