June 29, 2009
तिम्रो आगमन
झन् तिम्रो आगमन ले
उच्क्षृंखल अनि अनियन्त्रित बन्छन् ।
सुनसान यो साँझमा
कुन गर्भवाट निस्कन्छौ,
तिमी सन्नाटालाई चिर्दै ।
घाम डुब्न लाग्यो हेरन ,सायद
त्यसैको लाली चोरेर आयौ कि
गाढा ओठ टोक्दै ।
झ्याउँकिरीको साम्राज्य छाइसक्यो
नदीको सुस्केरा लिँदै भन्छौ
केही मिठो वात गर न ।
झकमक्क झकमकाए ताराहरु
त्यै चम्किलो तिम्रो भागमा
टिप्ने जिद्दी छाडिद्यौ न ।
कालोरात छिप्पीसकेछ हेरन
अंन्धकारमा हरायौ तिमी
मिठो सपना सँगै ।
दौंतरी यात्रा र एक हजारौं पोष्ट
यस पटक केहि कुरा दौंतरीकै बारेमा लेख्न मन लाग्यो ।
२००७ को अक्टोबर महिनाको कुरा हो, साझामा विविध विषयमा छलफल हुँदा-हुँदै, अचानक केहि दौंतरीहरुलाई, यो अरुले लेखेको कुरामा नकारात्मक कमेण्ट गरेर र यसो भएन वा त्यसो भएन भनेर दोष दिनु भन्दा आफैंले पनि सकारात्मक शुरुवात लिएर केहि गरौं भन्ने जोस आयो । हुन पनि हो, गलत कार्यको विरोध गर्नेमै सेलाउने उर्जालाई आफैं सहि कार्यमा खर्चनु भन्दा रचनात्मक कुरा अरु कुनै थिएन र छैन पनि ।
अनी त्यो सकारत्मक शुरुवातकोलागि जोस्याउने र जोस्सीनेमा आफू पनि परेकोले करिव करिव शुरु देखी नै दौंतरीमा जानी-नजानी आफ्नो कलम चलाउँदै आएको छु ।
रमाईलो कुरा के भने, ब्लग शुरु गरेपछि भने साझामा भेटीने साथीहरु को कता हुनुहुन्छ र के कस्तो क्षेत्रमा सामेल हुनुहुन्छ भन्ने एक-आपसमा पनि कसैलाई थाह नभएकोले शुरुका केहि समय सर-सल्लाह र विचार आदान-प्रदान गर्न अलिकता अलमल पनि भयो । त्यत्तिकैमा नेपालियनजीले अक्टोबर ७ मा Welcome शीर्षकको पहिलो टाँसो टाँसेर दौंतरीको शुरुवात गरिदिनु भयो र म लगाएत साझामा वहसमा सामेल हुने सबै साथिहरुलाई दौंतरीमा लेख्न निम्तो पनि पठाउनु भयो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने दौंतरी जन्मेको दोश्रो दिन अर्थात अक्टोबर ८ मा मेरो पहिलो पोष्ट स्वतन्त्रता र स्वछन्दता दौंतरीमा टाँसीएको थियो ।
गएको सप्ताहअन्तमा चाहिने भन्दा बढि फुर्सद भएकोले करिब २ बर्ष पहिला छापिएका शुरुवातका केहि पोष्टहरु पढें, पुराना यादहरु ताजा भए र निक्कै रमाईलो पनि लाग्यो। अचानक मेरो ध्यान पोष्टको संख्यामा गयो, त्यतिबेला दौंतरीमा छापीई सकेका पोष्टको संख्या ९५० भन्दा बढि भैसकेका थिए । हुन त संख्या मात्रै प्रगतीको सूचक हैन, तर यो विचार आदान- प्रदानको श्रृखंला, यो पोष्ट छापीदाँसम्मको हिसाब गर्ने हो भने ९६९ हुनेछ, जुन आशलाग्दो कुरा भने पक्कै पनि हो नै ।
संसारभरी छरिएर रहेका र देशलाई माया गर्ने नेपालीहरुको साझा अभिव्यक्तिको स्थल बनाउने सोचका साथ शुरु गरिएको यो ब्लगले गर्नु पर्ने धेरै बाँकि छ र यसका अगाडि चुनौतीहरु पनि छन। तर कुनै वाद विशेष वा गुटको लागि नलेख्ने र समष्टीमा नेपालीहरुको साझा अभिव्यक्तिको थलो बन्ने हिसाबमा प्रतेक दिन ५०० जना भन्दा बढि आगन्तुको आगमन हुनुलाई पनि मैले भने शुरुवाती शुभ सूचककै रुपमा लिएको छु ।
पोष्ट लेखीने र छापिने औसत दरलाई हेर्ने हो भने आजको करिव तीन हप्ताको अबधिमा दौंतरीले १००० पोष्ट नाघ्ने छ । सो को गन्ती गर्न आजैबाट मैले साईडबारमा एउटा सानो ‘दौंतरी कोसे ढुङगा’ भन्ने सूचकांङ्क राखेको छु, हेर्दै गर्नुहोला । अन्य दौतरी साथीहरु र कमेण्ट मात्रै लेख्ने वा पढ्ने मात्रै साथीहरुलाई पनि आफ्नो बिचार र रचना दौंतरीमा प्रेषीत गर्न म स्वागतका साथ आह्वान गर्छु । शुरुकै पोष्टमा नेपालियनजीले लेख्नु भए जस्तै दौंतरी लेख्ने र पढ्नेको समुह भएकोले कोहि पनि यसमा संलग्न हुन र बिचार राख्न सक्छन ।
दौंतरी १००० पोष्टको संघारमा पुगेको यस घडीमा, यसका सबै सहयात्री साथिहरु र विशेषगरी नेपालियनजीलाई वहाँको अथक परिश्रम र लगनकोलागि म हामी सबैको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।
सम्पूर्ण लेखकवर्ग, सल्लाह सुझाव र कमेण्ट मार्फत मार्ग दर्शन गर्नुहुने पाठकहरुलाई पून एक पटक धन्यवाद भन्दै १००० औं पोष्ट ‘आफ्नो पोष्ट’ बनाउने मौका छोप्न समेत समयमै सूचीत गर्दैछु :)। हेर्दै गर्नुहोस, कसको पोष्ट ‘एक हजारौं पोष्ट’ हुन्छ !!!।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अल्बर्ट आइनस्टाइन, नयाँ नेपालका जयस्थिति मल्ल र अनन्त मुर्ख्याईको सिद्धान्त
"Two things are infinite: the universe and human stupidity; and I'm not sure about the universe."- Albert Einstein
मलाई राम्ररी थाहा छ, अल्बर्ट आइनस्टाइन र नेपालको बिचमा गोरु बेचेको साईनो पनि छैन र आइनस्टाइन एक महान वैज्ञानिक भए पनि भविश्यवक्ता भने थिएनन् । तर जहिले जहिले माथिको उनको भनाईमा मेरो ध्यान जान्छ मलाई हाम्रा नेताहरुको याद आउँछ।
जनयुद्धको नाममा जनताकै घरजग्गा कब्जा गर्ने देखि लिएर जाती-पातीको भेद हुनु हुँदैन भन्दै आखिरमा जातियताकै आधारमा राज्यको पूनसंरचना गर्ने दिग्गजहरु, अनि देशको शासनमा जहानिया प्रथा रहनुहुन्न भन्दै लोकप्रिय वा योग्य नभए पनि आफ्नै सन्तान लाई मात्रै काखी च्यापेर हिंडने नेतालाई अरु कुन श्रेणीमा राख्ने हो, सोच्न सकिन्न।
एउटा भनाई छ, “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”। कुरा सोह्रै आना साँचो हो । त्यसको ज्वलन्त उदाहरण हेर्न हामीले धेरै टाढा वा धेरै पछाडि पनि जानु पर्दैन । केहि बर्ष अगाडि सम्म ‘प्रजावत्सल’, ‘जन नायक’ अनी ‘प्रतापी’ आदि अलंकारले पुराकीने नेपालको राजतन्त्र अहिले एउटै ‘निरंकुश’ विशेषणले मात्रै परिभाषीत हुन्छ, भने तात्कालीन समयमा ‘आतंककारी’ को बिल्ला पाएको गुट अहिले ‘क्रान्तिकारि दल’ भैसकेको छ ।
अलिक पछाडिको ईतिहासमा जाने हो भने तेह्रौं शताब्दीको अन्त्य तिर महान सुधारक र ‘धर्म रक्षक’ राजाका रुपमा ख्याती कमाएका जयस्थिति मल्ल हाल जातीप्रथाको जटिल व्यबस्थाका लागी सबैभन्दा बढी निन्दीत छन्।
तात्कालिन समाजको स्थिति, सोच र संरचनाको ख्याल गरेर बिचार्ने हो भने जयस्थिति मल्ल सायद सहि पनि थिए होलान। तर जयस्थीति मल्लको अवसानको सात सय बर्ष पछि फेरी जातियताकै आधारमा राज्य खडा गर्न खोज्नेलाई के भन्ने? । आइनस्टाइनकै सहारा लिनु बाहेक अर्को केहि देख्दिन म ।
यो अनन्त मुर्ख्याईको लहर अहिले गज्जब संग चलेको छ र हरेक दल र दलका नेताहरु आफूलाई नव नेपालका जयस्थिति मल्ल बनाउन लालायीत छन ।
ईतिहास मानिसले नै रच्छन, तर त्यो संगै अर्को कुरा के पनि साँचो छ भने, जसले ईतिहास रच्छ, त्यो पनि एक दिन ईतिहास बन्छ नै । माथि भनि सकिएको छ “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”, तर जित्ने मानिस सधैं टिक्छन भन्ने केहि जरुरी छैन । समयको कालखण्डमा उसलाई पनि जित्ने कोहि आएपछि त्यो ‘विजयी’ ले पनि पराजय भोग्नु पर्छ । अनी उसका ईतिहासको पून समिक्षा र पूनर्लेखन शुरु हुन्छ । त्यतिबेला फेरी आजको ‘हिरो’ भयानक ‘भिलेन’ को रुपमा परिभाषीत हुन्छ ।
यो एउटा चक्र हो, बुद्दिमान मानिसहरु यो चक्र वा दुष्ट चक्रलाई चिन्छन र ईतिहासका गल्ती दोहर्याउँदैनन् । जस्तैसुकै बेबकूफले पनि समयको प्रबाहलाई उल्टाउन मिल्छ भनेर चाहि मान्दैन।
पश्चिममा छुट्टा छुट्टै देश, आ-आफ्नै भौगोलीक सिमारेखा अनी भाषा-पद्दती भएकाहरु समेत एकल मुद्रा चलाउने र एउटै सामुहिक आर्थीक छातामा बस्ने प्रयोग सफलताका साथ चलाईरहेका बेलामा हामीहरुकहाँ क्रान्तिकारीहरु देशलाई जात र धर्मको नाममा भाग लगाउने खेलमा व्यस्त छन । यो भन्दा बिडम्बना अर्को के होला?, त्यसमा पनि देशलाई यसरी धर्म र जातको नाममा टुक्रा पार्न खोज्नेले आफूलाई आफुलाई ‘क्रान्तिकारी’ र ‘अग्रगामी’ को संज्ञा दिंदा, मलाई अल्बर्ट आइनस्टाइनको यो अनन्त मुर्खताको सुत्र झन झन हाम्रै नेताहरुलाई देखेर बोलिएको जस्तो लाग्छ ।
अंग्रेजीमा एउटा भनाई छ: “ईतिहास दोहोरिन्छ किनकि मानिसले ईतिहासबाट केहि सिक्दैन” । के हामी यो तेह्रौं शताब्दीको गलत ईतिहासलाई सात सय बर्षको अन्ताराल पछि पनि फेरि दोह्र्याएर त्यसलाई सहि साबित गर्नै लागेका हौं त? के त हाम्रो मुर्ख्याईको कुनै सिमा नै छैन त?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 28, 2009
मैले पोखेको आसुँ
(अमेरिका )
मैले पोखेको आसुँ समेटी अन्जुली तिमीले भर्यौ
दोधारको यो जीवन सम्हाल्न अनेकौ प्रयास गर्यौ ........,
किन हत्ते हाल्यौ यो रुखो जीवनमा
बसन्त फुलाउछु भन्दै ,
म पनि खुशीले पागल नै भएछु
तिम्रो साथ पाउने दिन गन्दै ........,
मैले भोगेको पीडा सँगाली,मुटुमा मलाई सजायौ
मरेको यो मन बचाउनलाई,मलाई आफ्नो बनायौ .........,
किन झुट बन्यौ,आफ्नै मनसँग
मलाई साँचो बचन दिइ,
म पनि हर्षले बिभोर नै भएछु
तिम्रो हातको अम्रित पिइ................,
मैले पोखेको .............
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अरुले झै --
अरुले झै आकाशको तारा गन्न सकिन
सँगै जिउछु भनेपनी सँगै मर्छु भन्न सकिन
तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी
एेया भन्दै नाटक गरी कन्न सकिन
सत्यताको पछी पछी यथार्थमा दौडिरहे
तिमीले जस्तै झुट बोल्न धन्न सकिन
रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे
त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन
सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी
बैगुनिलाई पुर्ने खाडल खन्न सकिन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
भो चाहिएन मलाई....मेरो खुशी खोस्ने कालो श्रावण!!
सफा मेरो मन
सिन्दुरे रहरले रंगिरहेकोबेला
मेरो आकाशमा
एक्कासी देखिएको ए! श्रावण
तेरो कालो बादलले छोपेका छन
सबै मेरा खुशीहरु
निराशाले न्यास्रिएकाछन सबैमेरा रहरहरु
मैले सिर्जेका मेरा विपना पनि
नमिठो सपना पछिको ब्यूझाई जस्तै
स्तब्ध र भावशुन्य भएकाछन दिनहरु
गल्ति थियो मेरो न्यानो स्वागतको
गल्ती थियो मेरो निमन्त्रणाको
गल्ति थियो मेरो निस्चल दृष्टिको
जस्ले सेतो पर्दा भित्रको कालो बादल ठम्याउन सकेन
बुझ्न सकेन
आखिर बादल बादल नै हो
जो बर्सिएर खहरे बाढी निम्त्याउछ!
पुग्यो चाहिएन अब मलाई
मेरो खुशी खोस्ने कालो श्रावन!
मलाई त संग मेरो आँशुको मूल्य माग्नु छ
छहराजस्तै चन्चल लाग्ने मेरा भावहरु
तेरो करतुतले आक्रोशित भएकाछन्
मेरो सृजनाको बाटोमा ह्वापल्याक्क चुक पोखेर
मध्यरातको अध्यारोमा निरन्तर
मेरो उज्यालो संसारको गला रेट्ने
तेरो कालो उपस्थिति
र बदनियतको छातिमाथि
च्वास्स च्वास्स घृणाको तीर रोप्नुछ
हरेक पलमा माया र स्नेहमा निर्लुप्त मेरा हातहरु
तेरो धृष्टताले कठोर र भावविहिन भएकाछन।
कति चोटी असह्य र वेदनाले
पोलेका स्वरहरु कराउन खोजे
किनारा रहित तेरो कालो दृष्टिले
भर्खरै फक्रिदै गरेका मेरा कोपिला अनि
मेरो सृजनाको मिठो आवाज खोस्ने प्रयास गर्यो!
ए कालो बादल!
प्रीतिको नाम मा तैले धोकाको पराकाष्टा नाघिस्
अब तेरो आडम्बरको चट्याटंग तैले नै सुन्नु पर्छ
हरेक धड्कनमा
प्रेमको संगित दिने मेरो मुटु
ढुंगा जस्तै अचेत भएको छ अचेल!
तडपिनु र पिल्सिनुको सिमा निकै तलपुगेको छ
जीवन न कसैको सहानुभूति हो
न त कसैको भिख,
तातो शरिरमा बग्ने हरेक थोपा रगतको
आफ्नै पहिचान छ
कसैको दयाले जिवित रहन चाहान्न यो
त्यसैले,ए कालो बादल !
त हटेर जानै पर्छ!
भो! अब चाहिएन मलाई
धुष्टताले भरिएका तेरा सुभेक्षाहरु
मेरो सानो संसार काफी छ
भो चाहिएन मलाई...
मेरो खुशी खोस्ने कालो श्रावन!!
आश्मा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest