शेखर ढुङेल
०५-०९-२००९
बिगत केही बर्ष देखी नेपालको साना ठुला जूनसुकै घटनामा पनि बिदेशी कुटनितिज्ञहरुको अधिक सक्रियता बढेको देखिन्छ । जुन एक स्वतन्त्र सार्बभौमसत्ता सम्पन राष्ट्र को आन्तरिक मामलामा अस्वाभाबिक हस्तक्षेप हो । बिदेशी दुतहरुको एक निस्चित कार्य क्षेत्र, मर्यादा र प्रकृया हुन्छन । सार्बभौम राष्ट्रको सरकार वा राष्ट्र प्रमुख लाई भेट्न बिदेश मन्त्रालय मार्फत प्रोटोकल पुरा गरे पछी मात्र समय लिएर भेट्ने विश्वब्यापी प्रचलन छ । तर नेपाल मा बिदेशी राजदुत ले हफ्तामा १० पटक सम्म प्रधान मन्त्रीलाई भेट्दछन मानौ कुनै मालिकले आफ्नो कम्पनी को प्रबन्धक लाई भेटदै छन । यस्तो प्रबृतिले के सोच्न पर्ने अवस्था आइसक्यो भने कतै नेपालमा स्वदेशी र बिदेशी को द्वैध शासन चलिराखेको त छैन ? देश को आन्तरिक मामिला मा यत्रोबिधी चलखेल र भूमिकालाई किन स्वागत गरी राखेका छौ हामी ?
देशको पछील्लो राजनैतिक घटना क्रम संगै एकै पटक अमेरिका, बेलायत, फ्रान्स, फिनल्यान्ड, जर्मन, डेनमार्क, र युरोपियन युनियनका राजदुतहरुले एमालेको केन्द्रिय कार्यालयमा पुगी अध्यक्ष खनाल सित भेटेको समाचार लगायत अन्य गतिबिधीले यो लेखक नेपालमा एक स्वदेशी, दुई बिदेशी कुटनितिज्ञ र तीन एन जि ओ, आइ एन जि ओ गरी त्रिकोणीय सरकार छ भन्ने निस्कर्षमा पुगेको छ । हो, आज को ग्लोबल भिलेज अबधारणाको विश्वमा कुनै देशमा प्रजातन्त्र, मानबाधिकार, दन्डहिनता, प्रेस स्वतन्त्रता जस्ता सम्बेदनशील अन्तरराष्ट्रिय बिषयमा सम्बन्धित सरकारलाई सुझाब, खबर्दारी गर्नु, कुटनितिज्ञहरुको धर्म हुन सक्ला, तर सरकार बनाउने गिराउने, राष्ट्रले आवश्यक्ता अनुसार निती नियम बनाउने, प्रशासनिक हेरफेर गर्ने जस्ता नितान्त आन्तरिक बिषयमा समेत बिदेशीको चासो र हस्तक्षेप स्वाभिमानी नेपालीलाई पाच्य हुने कुरो हो जस्तो लाग्दैन । ६० बर्ष् प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त भै सकेका नेपाली जनता र सरकारले गरेको निर्णयको बिरुद्ध बिदेशी कुटनितिज्ञले गर्ने हस्तक्षेप एक स्वतन्त्र राष्ट्रको अस्तित्व माथि नै प्रहार हो जस्तो मलाई लाग्दछ । सरकारले गर्ने गलत निर्णय को प्रतिकार गर्न सक्ने क्षमता नेपालीमा छैन जस्तो मलाई लाग्दैन । ०३६ -०४६ र ६२-६३ को आन्दोलन प्रत्यक्ष प्रमाण हुन ।
यस्ता बिदेशी चलखेललाई राजनैतिक बिस्लेषकहरुले तीन क्षेत्रमा बिभाजन गरी अध्ययन गरेको पाईन्छ । एक - भारतीय साउथ ब्लक वा '' र'' को नेपालमा भारतीय निती मुताबिक नेपालको पररास्ट्र, आर्थिक र राजनीति निती माथि प्रभाब र हस्तक्षेप कारी भूमिका खोज्ने । दुई - अमेरिका र युरोपियन राष्ट्र को तिब्बत को चासो र नेपाल को भुमी को उपयोग निती र तेस्रो - नेपाललाई इशाइ राष्ट्र बनाउने अन्तरराष्ट्रिय क्रिस्चियन मिसिनरी को रणनिती ( बिभिन्न आइ. एन. जि. ओ. मार्फत ) ।
सर्सर्ती हेर्दा प्रजातन्त्र र मानबाधिकार माथिको चासो जस्तो देखिए पनि बिदेशी कुटनितिज्ञहरुको बढ्दो चलखेल र सरकार माथिको दबाब देख्दा भित्री मनसाय भने माथि उल्लेखित बिषयमा नै केन्द्रित छ भन्दा अत्युक्ती नहोला । बिगत दशक देखी सरकार बनाउने र गिराउने खेल लगायत १२ बुंदे सम्झौता, संबिधान सभा को निर्वाचन, राजसस्था को अन्त, धर्म निरपेक्षता को घोषणा गराउने खेल मा प्रत्यक्ष बिदेशी को हस्तक्षेप भएको छ । बिदेशी को अशिर्बाद थाप्ने होडमा माओवादी लगायत सबै दल को प्रतिस्पर्धा छ र नेता तिन्का एक इमान्दार कार्यकर्ता जस्ता देखिनाले नेपाली को स्वाभिमान मा धक्का पुगेको छ भनी बिज्ञ हरु बताउन थालेका छन ।
सत्तामा पुग्न बिदेशी को आसीर्बाद माग्ने र सत्ताबाट हट्नु पर्दा गाली गर्ने एउटा बिडम्बना युक्त प्रबृति पनि हाम्रो सामु छ । गणतान्त्रिक नेपालका निर्बाचित प्रथम प्रधानमन्त्रीले आफ्नो राजिनामा सम्बोधनमा राजिनामा गर्नु पर्दाको कारणमा पनि बिदेशी दबाब लाई इङित गरेका छन । यद्यपी यो नयाँ कुरो होइन, पछील्लो कडि मात्र हो । यो अवस्था सम्म आइ पुग्दा प्रचन्ड कै भनाइलाई आधार मान्ने हो भने पनि एउटा जन निर्बाचित सरकार बिदेशी को कारण ढल्दछ भने ''नागरिक सर्बोच्चता'' को प्रश्न मा शेना लाई जोड्नु को कुनै तुक नदेखिदने मात्र होइन बन्द र राष्ट्रपती को बिरोध पनि तर्क संगत मान्न सकिदैन । बिदेशी हस्तक्षेपको शिकार हिजो कोइ भए आज प्रचन्ड र भोली अर्को हुने नै छ । राजिनामा पछी सुदले फेरी प्रचन्डलाई भेटे, अमेरिकि राजदुत पौलिनले गिरिजा लाई भेटिन । जुनसुकै बहानामा एक स्वतन्त्र सार्बभौम सत्ता सम्पन्न राष्ट्र नेपालको आन्तरिक मामिलामा दल र नेताहरुलाई बिदेशीले खेलाउने र खेल्ने घातक प्रबृतिले राष्ट्रको स्वतन्त्र अस्तित्व माथि हस्तक्षेप भै राखेको छ ।