April 24, 2009

क्रुर चक्रहरु

अमेरिका - गुरु केदार बराल

साच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहे
भावना भरि भरि स्मृतिका सुमनहरु सँगालेर,

मन भरि भरि सितलताक उद्वेगहरु भरेर,
मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर,

आँखा भरि भरि प्रफुल्लताका अनुबन्धित गरेर
अन्जुलि भरि भरि शुभकामनाका कोसेलीहरु बोकेर,

दिल भरि भरि टलपल् टलपल् बिक्षिप्तताहरु कुम्लो कसरे,
म विवस छु - मेरो मुटुको आधा टुक्रा कतै वाटोमै छाडेर

आफुलाई असह्य चोट र व्याथाको परिधि हुँदै
एकान्त तर्फ, अनकन्टार् तर्फ, आँधिवेहेरी तर्फ

छालहरु तर्फ धकेल्न। म बाँधिएको छु,
समयका जन्जिरहरु भित्र


April 23, 2009

जय होस

शेखर ढुङेल
क्यालिफोर्निया यु एस्
०४-२१-२००९
जय होस जय होस जय होस
मेरो जन्म भुमी नेपाल को
अमर रहोस वीर शाहीद का गाथा
नमेटिउन देश का सिमा रेखा
उठोस हात घर घर बाट
बनाउन नेपाल लाई संसार कै खास्सा
जय होस जय होस जय होस
फर्फराइ रहोस चन्द्र सुर्य अन्कित झन्डा
अनन्त सम्म सगरमाथा सिर मा
निधार मा लाली हात मा गुरास थालि
चम्की रहोस स्वाभिमान नेपाल को
युग युग सम्म संसार माझ
जय होस जय होस जय होस
घन्की रहोस घिन्ताङ मादल
नाची रहोस वीर गोर्खाली खुकुरी
तराइ सिचोस हिमाल ले
भकारी भरोस तराइ ले
तोड्न नसकोस हाम्रो बन्धुत्व
कोइ बैरी परदेशि ले
जय होस जय होस जय होस


ओखलढुंगा जिल्लाको विकासका लागि सरकारकै मुख ताक्नुपर्दैन

- गुरु केदार बराल

प्रमुख नदी नालाहरु ओखलढुङ्गांमा पाइने नदी नालाहरु प्राकृतिका वरदान नै हुन। किनकी त्यहाबाट जलबिद्युत उत्पादन गर्नेसकिन्छ, माछापालनदेखि याटिक्गं पनि गराउन सकिन्छ, दुधकोसी, सुनमकोसी, लिखु, मोलुगं, ठोटने, लिस्ने, सेर्ना, बागें खोला खानी खोला, ढाड खोला, पंखु खाला, एलुगं खोला, लिम्फु खोला, साल्पु खोला डुडे, जुगे चोक्टि मंगला, आधेरी, पाताले, सप्ली र खार्ने, ओखलढुङ्गांका चर्चित खोला तथा नदी हुन्। यहाका नदी खोलाबाट ठूलो मात्रामा नभएर पनि लघुजलविद्युत निकाल्न सक्ने प्रचुर संभावना छ। लिखु दुधकोसी र सुनकोसीबाट त सयौ मेगावटको विद्युत उत्पादन गर्न सकिन्छ। एउटा नदि वा खोलाबाट मात्र होइन दर्जनौ जलविद्युत सञ्चालन गरी विद्युत उत्पादन गरेको खण्डमा ओखलढुङ्गांबाट उत्पादित विद्युतले सिंगों नेपाललाई झलमल्ल पार्न सक्छ। त्यसबेला ओखलढुङ्गां जिल्लाको परिचय नै नेपालको लागि विश्वमा काफी हुन सक्छ।

पोकली झर्ना

नेपालकै दोश्रो अग्लो धार्मिक र पर्यटकीय महत्व बोकेको चर्चित पोकली झर्ना यही जिल्लामा पर्छ, १३१ मिटर अग्लो यो झर्ना बाहेक रातमाटे (१११ मि।) पनि यही जिल्लामा पर्छ। अन्य झर्नामा सेप्ली ढिकुरे सेर्ना, सेलेले र न्याउले जस्ता अन्य झर्नाहरु पनि पर्छन, तर पोकली झर्नाको आफ्नै विशेष खालको एतिहासिक महत्व छ। पोकली झर्नाको बारेमा धेरै कुराहरु सञ्चारमाध्यममा आएका छन्। तर, जति प्रचार गरिएको यो कदापी पुरा हुन सक्दैन। यसबारेमा तल उल्लेख गरिन्छ। नेपालका प्रमुख झर्नाहरु माथि उल्लेखित झरनाहरुमध्ये अहिलेसम्म सबै भन्दा बढी पत्र पत्रिकामा छाएको भनेको पोकली झरना हो। पोकली झरनासग मेरो वाल्यकालदेखिको सम्बन्ध छ। केही साथिहरुको पहलमा पोकली झर्ना सेवा समाज, आश्रम नेपाल, ओखलदुङा ड्ट ओरजी नामक सामाजिक संस्था दर्ता गरी काम गर्दैछौ। हुन त ओखलढुगां भित्र गाविसको भन्दा सामाजिक संस्था (एन्जिओको) संख्या बढी छ । अन्तराष्टिय गैर सरकारी संस्था (आइएनजीओ) १० वटा अन्य जिल्लामा दर्ता भई ओखलढुङ्गामा कार्यरत एनजिओ ९ वटा र जिल्ला प्रशासन कार्यालय ओखलङ्ढुगा दर्ता भई क्रियाशील संस्था ६८ वटा छन्। यो २०५९/६० को राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्क हो। कुल ५६ गाविस रहेको ओखलङ्ढुगाका ४० वटा गाविसमा आज पनि बाटो छैन पक्की त परै जाउँ कच्चि समेत पुगेको छैन। जिल्ला स्वास्थ्य कार्यालयमा एक जना डाक्टरको दरवन्दी छ। अनमी १५ र स्वस्थ्य सहायकको संख्या ४८ छ। तै पनि अधिकांश यिनिहरु सदरमुकाम वा सुविधा पाइने ठाउमा मात्र बसेका छन्। नेपाल स्वीस सामुदायिक वन परियोजना आइएनजिओले अहिलेसम्म के गर्‍यो भनेर कसैले भन्न सत्तै्कन। जबकी उसले चाहने र गर्न सक्ने हो भने वनजंगल आधारित विभिन्न परियोजनाहरु सञ्चालन गर्न सक्छ। दोलखा जिल्लामा गर्ने संस्थाले ओखलढुङ्गामा चै किन हात नहालेको ? ग्रामीण उर्जा विकास र नेपाल रेडक्रस सोसाइटी पनि त्यहा कार्यरत छन्। अहिले जनता सात दिनको बाटो लगाएर जुकाको औषधी किन्न सदरमुकाम धाउनु पर्ने अवस्था छ। उर्जाको कुरा गर्दा लेकाली भेगका जनता दियालोको भरमा र अन्य क्षत्रका टुकी युगकै अवस्थामा छन् ब्रिटेन नेपालमेडिकल टस्टले आजसम्म ५००–१००० जति सिटामोल र केहि सय ढाल बाडेको वाहेक अरु केहि नगरेको पिडितहरुको दुखेसो छ। यदि सामाजिक संस्था मिलेर, मनमा पवित्र भावना राखेर काम गर्ने हो भने प्रत्येक महिना नया नया विकास परियोजनाहरु सञ्चालन गर्न सकिन्छ। यसको लागि वैज्ञानिक र समाजिक सम्भावनाका तर्कहरु म यहा दिन चाहन्छु
पहिलो चरणका सम्भावनाहरु

क) प्रत्येक महिना प्रत्येक गा.वि.स.मा स्वास्थ्य चौकी निर्माण।
ख) प्रत्येक वर्ष कम्तिमा तीनवटा माध्यमिक विद्यालय निर्माण।
ग) सुविधा सम्पन्न जिल्ला अस्पतालको निर्माण।
घ) गा.वि.स.को सहयोगमा लघु जलविद्युत निर्माण
ङ) प्रत्येक इलाकामा प्राविधिक शिक्षालय निर्माण। )

दोस्रो चरणका सामुहिक कार्यहरु
क) लघु उद्योगहरु सञ्चालन। ग्रामीण छाला–जुत्ता कारखाना अचारदेखि सुकुटिसम्म कुटीर उद्योग सञ्चालन
ख) बास, वेतका घरायसी सामान उत्पादन
ग) उन्नत पशुपालन लेकाली क्षेत्रमा जडिवुटि व्यापार

माथि उल्लेखित बुदाहरुका बारेमा मेरो निचोड यस्तो छ, जसलाई व्यवहारमा उतारी कार्यान्वयन गर्न अति सरल र सहज छ
:
(क) प्रत्येक महिना प्रत्येक गाविसमा स्वास्थ्य चौकी निर्माण
सबै आइएनजीओ र एनजीओहरुलाई थाहा छ, जिल्लामा जनताले घर बनाउन आज पनि ढुङ्गा–माटो, गोबर छेउछाउका वनका खावा, दलिन प्रयोग गर्छन। खरको छानो र वासका डाडा–भाट्ना गाउँमै उपलब्ध हुन्छन्। हामीले नगदमा खरिद गर्नु पर्नेमा काटि, किला, डोरी र झ्याल, ढोकाका सामग्रीहरु पर्छन। सिकर्मी र डकर्मीहरु नभएको गाउ छैन। जन श्रमदान केही दिन गराएको खण्डमा कम्तिमा २ कोठाको स्वास्थ्य चौकी निर्माण गर्न सकिनेछ। प्रत्येक एनजीओ र आइएनजीओहरुले एक हजार रुपैया दिंदा पनि ८७ हजार रुपैया संकलन हुनेछ। यो रकमले फर्निचरलाई समेत यथेष्ट रकम पुग्नेछ।

(ख) प्रत्येक वर्ष जिल्लामा कम्तिमा तीनवटा मावि निर्माण

स्वास्थ्य चौकी झै गाउकै साधन–स्रोत र जनश्रमदानबाट यो पनि सम्भव छ। शिक्षा मन्त्रालयदेखि दातृ निकाय र विदेशी दुतावास गुहारेर चाहिने आर्थिक रकम सङ्कलन गर्न सकिनेछ। यसका फाइदाहरु:– जनताको आर्थिक भार कम घरेलु वातावरणमै शिक्षा आर्जन गर्ने विद्यार्थीलाई अवसर। प्रवेशिका तथा 2 तीर्णपछि गाउमै रोजगारीको व्यवस्था। ) युवापुस्ता कुलतमा फस्न नसक्ने सम्भावना।

(ग) सुविधा सम्पन्न जिल्ला अस्पताल निर्माण

सरकारले पहल नगरे पनि एनजीओ र आइएनजीओबाट सुविधा सम्पन्न अस्पताल निर्माण गर्न सकिन्छ। उपत्यकाकै ॐ अस्पताल र मेडिकेयर हेरौं अथवा बी एण्ड बी अस्पताल, उपत्यका बाहिर विराटनगर अवस्थित रामलाल गोल्छा अस्पताल हेरौं, यस्ता उदाहरण आज सयौं छन्। रेडक्रस सोसाइटीलाई सबै सामाजिक संस्था मिलेर राम्रो प्रस्ताव दिन सकेको खण्डमा यो काम शत प्रतिशत पुरा हुन्छ।

(घ) गाविसको सहयोगमा लघु जलविद्यूत केन्द्र निर्माण

एउट विडम्वना नै मान्नु पर्छ ओखलढुङाको सबैभन्दा ठूलो जलविद्युत आयोजनाबाट अहिलेसम्म १३५ किलोवाट मात्र विद्युत उत्पादन गरिएको छ। सुनकोशी नदी भोटेकोशी अस्थायी नदी अर्थात् खोला होइनन्। यिनीहरुको वहाव स्थीर रहनछ। वर्षायाममा बढ्नु स्वभाविकै हो। जबकी भोटेकोशी, लिखुबाट सयौं मेगावाट उत्पादन प्रतिवेदन सरकारले नै देखाएको छ। आइएनजीओ र एनजीओ स्थानीय निकाय सबैले मिलेर गरेको खण्डमा १ देखि ५ किलोवाट बिजुली त जहासुकैबाट निकाल्न सक्छौं। त्यसबाट हुन सक्ने फाइदाहरु:

(१) कुखुरापालन किनभने विकासे कुखुरालाई अनिवार्य बिजुली चाहिन्छ।
(२) गृहस्थ खपत यसबाट रेडियो, टेलिभिजन हेर्न सुन्न र मनोरञ्जनमा सहुलियत हन्छ।
(३) माछापालन कम्तिमा पनि बिजुलीको टर्वाइनसम्म पानी पुर्‍याउँदा दुइटा स्थायी बनाउनु पर्ने हुन्छ। माछाको जात हेरि पालन गराउन सकिन्छ।
(४) सिचाई ताल बन्ने भएपछि ठाउा अनुसार त्यही पानीबाट उत्पादित बिजुलीबाट मोटर वा पाइप मार्फत पानी लगाउन सकिन्छ।
(५) फलफूल ताल क्षेत्र रसिलो हुनाले जात अनुसारको फलफूल लगाउन सकिन्छ। अन्य अनुसन्धान र अध्ययनबाट पनि ओखलढुङ्गाका नदी–नालाहरुबाट धेरै विद्युत उत्पादन गर्न सकिने प्राविधिक अध्ययनमा देखाइएको छ।

एउटा गाविसले सरकारबाट मात्रै वार्षिक १० लाख रुपैयाँ पाउँछ । त्यो रकम के मा खर्च भई रहेको छ ? कुनै गाविसले यसको उत्तर दिन सक्ने हिम्मत राख्दैन। जिविसको त कुरै छोडौं। प्रत्येक इलाकामा प्राविधिक शिक्षालय सञ्चालन अहिलेसम्ममा ओखलढुङ्गा जिल्लामा एउटा मात्र प्राविधिक शिक्षालय सञ्चालित छ। बुझ्दा खेरी त्यो पनि पर्याप्त ज्ञान दिन नाम मात्रैको छ। धेरैलाई थाहा छ, प्राविधिक ज्ञानको मूल्य विश्वभरी छ। उदाहरणको लागि बिजुली वायरिङ गर्न जान्ने एक अनपढले खाडी मुलुकमा मासिक ३० हजार कमाउँछ। तर बी.ए.पास गरेको प्राविधिक ज्ञान दिन जो सुकैले १०–१२ हजार भन्दा बढी कमाउन सक्तैन। प्राविधिक शिक्षालय खोल्न नया घर नै चाहिदैन। १२–१५ जना बस्न मिल्ने स्कुलको कक्षा कोठा जस्तो ठाउँ भए पुग्छ क्रमश..



April 22, 2009

के नागरिक सर्वोच्चता भनेको माओवादीको तालमा नाच्नु हो ?

हिजोको बिद्रोही आतंकको धमास बोकेको शक्ति आज सत्तासीन छ , ऊ सत्तामा छ भन्ने उसलाई पत्तो छेन त्यो बेग्लै कुरा भयो । जब सत्तासीनलाई आँफू सरकार वा सत्ता भैसकेको कुरा ज्ञात रहन्न र ऊ बिद्रोहको हूंकारयुक्त भाषामा संवाद र व्यवहारको आदान प्रदान गरिरहन्छ, जो कोहीले पनि बुझ्नसक्छ यस्तो शक्ति वा समूहका लागि नागरिक शक्ति, नागरिक कानून, कानूनको शासन र नागरिक सर्वोच्चता जस्ता लाकतान्त्रिक मर्मलाई आत्मसात गर्ने ओजिला शव्दहरू केवल खेलौना मातर हुन । जब सत्तामा बसेका माओवादीका वरिष्ठतम नेताले आफ्ना छापामार ज्यूँका त्यूँ राखेर संविधानसभाको निर्वाचनमा जान पाएको अनि सबैभन्दा ठूलो दल पनि हुन सकेकोमा खुशीका अट्टाहसहरू सार्वजिनक गरेको सुनिराखिएकै छ त्यतिबेला बुझ्नै पर्छ , उसको यो अट्टाहासमा कुनै राक्षसी अभीष्टको अतिरेक झल्किराखेकको छ । आज मुलुकमा नागरिक सर्वोच्चता र नागरिक स्वतन्त्रताका हरेक पक्षमा माओवादी अतिक्रमणको डरलाग्दो भाइरस घुसेर मर्माहत बनाइरेहको अवस्थामा , भोलिको राजनीतिलाई सत्ता कब्जाको बलमा आफ्नो एकल पेवा बनाउने उसको कुत्सित मनसाय जतासुकै छर्लङ्गिइरहेको यो परिस्थतिमा , उसलले बडो चर्को श्वरमा नागरिक सर्वोच्चताको ढ्वाङ फुकेर गर्ने हरेक कार्यहरू भोलिको अनिष्टका संकेत हुन भन्ने कुरामा धैरै आशंका रहनु पर्ने कारण देखिन्न ।

सत्तामा बसेको माओवादीले आफ्नो एकाधिकारवादी विचारले प्रशिक्षित ३० औँ हजार छापामारहरूलाई एक हूल बाँधेर राज्यको सेनामा पसाल्ने योजना कायम राखेको कुरा जति जग जाहेर छ त्यत्तिकै उसको अर्को अर्धसैनिक जत्था वाइसिएलले मुलुक भरि आतंक र लडभीडको जोरजुलुम मच्चाएर नागरिक जीवनमा कुन हुण्डरी कायम गरिरहेको छ भनी साध्य छैन । आज मुलुकमा प्रशासन, प्रहरी , विश्वविद्यालय र हरेक संघसंस्था देखि उद्योग कलकारखाना र क्यासिनोसम्म सबैतिर माओवादी समर्थकहरूको एकाधिकार कायम गराइएको स्थिति छ र उनीहरूको ‘डिक्टम’ लाई नस्वीकार्नेहरूको स्थिति भौतिक र मानसिक रूपमा दयनीय बनाइएको अराजक स्थिति विद्यमान छ । राज्यमा कानूनको शासन अनाथ बनेको छ र दण्डहीनता माओवादी राज्यतन्त्रको मुख्य चरित्र बनेको छ ।

माओवादले प्रष्ट भन्ने गरेको छ ‘ हाम्रो गन्तव्य जनवादी गणतन्त्र हो’ । आफ्नो पार्टीले प्रस्ताव गरेको नया संविधानको मस्यौदामा समेत माओवादीहरूले कम्युनिष्ट मुलुकको एकदलीय संविधानलाई मात्र अनुवाद गरी हुबहु राखिदिएका छन्, उदारवादी लोकतन्त्रवादी पक्षधरहरूलाई तर्साउनकै लागि भएपनि । उनीहरूले चाहेको एकदलिय एकाधिकारवादी संविधानलाई अकाट्य लागू गराउने बाटोमा माओवादीका लागि २ वटा कुराहरू वाधक हुन सक्ने अवस्था देखिएकोले , उसले योजनावद्द ढंगले मुलुकको स्वतन्त्र न्यायलय र गैरराजनैतिक नेपाली सेना माथि धावा बोल्न खोजेको देखिन्छ । माओवादी सरकारका विविध राजनैतिक आग्रहपूर्ण निर्णयहरूको असंगति , बेथिति र कानूनी आधारबिहीनतालाई पक्रेर तिनका बिरूद्द निर्णय दिन सक्ने भएकाले तथा कानूनी शासनले ल्याउने अड्चन र आफ्नो निरंकूश अधिनायकवादी बाटोमा कायम गर्ने अंकूशको छनक पाएको माओवादी नेतृत्वदेखि कार्यकर्तासम्मले बेलाबखत अदालत बिरुद्द नारावाजी र विषवमन गरिरहेको देखिएको छ । उनीहरूको परिभाषा अनुसार बदलिएको परिवेशमा मुलुकको न्यालयले गणतन्त्रको कार्यशैलि अनुरूप काम गरेर सरकारलाई सघाएन रे ! के त्यसो माओवादीको असहिष्णु एवं हिंस्रक राजनीति र माओवादीका गलत कार्य व्यवहारको बिरूद्द बोल्नु वा निर्णय गर्नु नै गणतन्त्र बिरुद्द उभिएको हुनु हो त ? पछिल्लो समयमा नेपाली सेनाका प्रधानसेनापतिलाई स्पष्टीकरण सोधेर नेपाली सेनाको मनोबलाई छिन्नभिन्न पार्दै आफ्ना लडाकू सेनामा प्रवेश गराउने प्रपञ्चले माओवादीले जुन काम गर्दैछ के त्यो साँच्चै नागरिक सर्वोच्चता स्थापित गर्ने असल आशयले गरएको होला त ? हैन, यो त नागरिक सर्वोच्चतारूपी स्यालको छाला ओढेर, ब्वाँसोको आहार जुटाउने सूर मात्र हो जस्तो देखिन्छ । यसका बलिया कारणहरू पनि छन् । किनभने आज माओवादीले जुन नागरिक सर्वोच्चताको कुरा गरिरहेको छ ,यथार्थमा त्यो उसको साँचो मकसद कहिलै थिएन र हुन पनि सक्दैन । किनभने आज नागरिक स्वतन्त्रता र सर्वोच्ताको बाटोमा सबैभन्दा ठूलो खतरा कतैबाट छ भने त्यो माओवादीहरूको नीति र व्यवहारमा रहेको एकाधिकारवादी दम्भबाट छ । आज नेपाली जनताको नागरिक सर्वोच्चता सम्बन्धी माओवादीको दावी, विरेन्द्र शाह ,रामहरि श्रेष्ठ, प्रचण्ड थैव का दिनदहाडै भएका हत्याहरू र हत्याराहरू लुक्न प्रयोग भएको भनिएको छापामार ब्यारेकका कारण थिलोथिलो भएको छ, वाइसिएल र जमरकट्टेलको मजदूर संगठन र क्यासिनो राजनीतिको बन्दी बनेको छ ।

वास्तवमा भन्ने हो भने , जुन पार्टीले आफ्नो राजनैतिक उद्देश्य जनगणतन्त्र वा कम्युनिष्ट पार्टीको अधिनायकवादमा विश्वास गर्छ त्यसले नागरिक सर्वोच्चताको कुरा गर्नु नै हास्यास्पद दावा हो । नागरिकहरूको सर्वोच्चताको नाममा उसको मनसाय आफ्नो पार्टीको अधिनायकवाद लादेर त्यही अधिनायकवादलाई नागरिक शासनको जामा पहिराउनु हो जुन अधिकांस अधिनायकवादी कम्युनिष्ट शासकहरूले हिजो विश्वव्यापी रूपमा गरेका थिए र आज पर्यन्त गरिरहेका छन् वा गर्ने चेष्टा गर्दै छन्।

साँचै नै माओवादीहरू नागरिक सर्वोच्चताको कुराका लागि अगाडि आएका हुन भने , उनीहरूले माओवादी मात्र जनता र उनीहरू मात्रै नागरिक हुन भन्ने भ्रमपूर्ण बुझाइबाट मुक्त भएर , साँचो नागरिक अधिकारको सम्मान र नागरिकको स्वतन्त्र भएर आफ्ना विचारसहित बाँच्न पाउने कुरालाई मन, वचन र व्यवहारले सम्मान गर्नसक्ने हुनुपर्छ । सेनापति बिरुद्द कारवाहीको नाटक मञ्चन गर्दा वा अदालतको स्वतन्त्र निर्णय बिरुद्द धावा बोल्दा नागरिक सर्वोच्चता र सम्मानको कुरा गरेर सडक तताउने र मुलुकमा आगो बाल्ने माओवादीले हिजो आँफ्नो कारणले जीवन गुमाउन पुगेका १५,००० नेपाली लाखौँ घाइते र अपाङ्ग र खरबौँ रुपैयाँको सर्वनासको बारेमा नागरिकहरूसंग आफ्ना राम्रा नराम्रा कार्य र व्यवहारहरूका लागि स्पष्ट हुनसक्नु पर्छ र परेको ठाउँमा माफी मागेर निहुरिन सक्नु पर्छ । तर उनीहरूबाट यस्तो कुराको आशा राख्नु नै हास्यास्पद हुन्छ । नागरिक सर्वोच्चताको दुहाइ दिनेले नागरिक जीवनमा आँफूले पारेको क्षतिको , असीम पीडाको अनि प्रताडित नागरिकलाई माओवादी र गैरमाओवादी चिन्तनबाट माथि उठेर विशुद्द नागरिकको रूपमा व्यवहारिक रूपमा अपनाउने सामर्थ्य निर्माण गर्न सक्नु पर्छ ।

माओवादीहरू आफ्नो पार्टीले उचित मानेर पार्टी हितमा लिने हरेक निर्णयहरू ‘जनता’को बनाएर प्रस्तुत गर्ने काममा माहीर छन् । उनीहरूको पार्टीले गरेको निर्णयहरू बिरुद्द जब कुनै आवाज उठ्छ वा अदालतले त्यस खालको निर्णय दिने गरेको देखियो, उनीहरूले भन्ने गरेको पाइएको छ ‘ जनताले यो कुरालाई कदापि स्वीकार गर्ने छैनन्’ आदि । पछिल्लो समयमा जब उनीहरूको पार्टीले सर्वोच्च अदालतको एउटा निर्णय बिरूद्द सडक प्रदर्शनीको एउटा नौटंकीको प्रायोजन गर्योर , उसले बतायो ‘ यो त जनताको स्वतस्फूर्त बिरोध हो’ । माओवादीका अक्सर दावाहरूको औचित्यलाई नजिकबाट हेर्दा यस्तै वच्कनापन र हास्यास्पद विशेषताहरूको पुलिन्दाको रूपमा भेट्टाइने गरेको छ । त्यसैले नेपाली सेनाका प्रधानसेनापति हटाउने भन्ने माओवादी पार्टीको निर्णयलाई समेत नागरिक सर्वोच्चताको जामाले सिंगार्ने प्रयत्नकासाथ कथा कथ्ने काम भएको छ र भनिँदै छ ‘ नागरिक सर्वोच्चताका नाममा सरकारको निर्णय नमान्ने सेनापतिलाई हटाउन पर्छ’ । तर के माओवादी पार्टी स्वयं, उसका भ्रातृ संगठनहरू , छापामार र वाइसिएलसहितले नागरिक सर्वोच्चताका नाममा कुन किसिमको आधार निर्माण गर्न सहयोग गरे ? हो कटुवालले सरकारको निर्णय मान्नु पर्छ , तर पहिला सरकार नागरिक सरकार बन्न सक्नु पर्छ कि पर्दैन ? यो अहम् प्रश्न हो । हिजो ‘त्यो कटुवाल को हो’ भनेर कुर्लने नेता प्रचण्ड मुलुकको प्रधानमन्त्री भैसके पछि आफ्नो मातहतको मुलुकको सेनालाई विश्वासमा लिन अनि त्यो विश्वासलाई नागरिक सर्वोच्चताका लागि प्रयोग गर्न कुन र के प्रयत्न गरे हामीले किन थाहा पाउन सकेनौँ ? आजको यो असहज परिस्थितिको निर्माणमा उनको योगदान कति छ र यसका लागि उनी स्वयं र सेना र सेनापतिसंग सँधै दूरीमा रहेर अनाप सनाप बोल्न मन पराउने रक्षामन्त्रीले पनि नागरिक सर्वोच्चताका नाममा जनतालाई स्पष्टीकरण दिने हो कि ?

अन्तमा , राष्ट्रपतिले अहिलेको संवेदनशिल माहौलमा सेना समायोजन नहुँदासम्म सेनापतिलाई नचलाउन प्रधानमन्त्रीलाई लेखेको पत्रका बारेमा माओवादी सचिवालयले बिरोध दर्शाएको सुनियो तर , यही मामिलामा भारतीय राजदूतले प्रधानमन्त्रीलाई पटकौँसम्म भेटी ज्वरो आउने गरी हकारेको कुरामा भने सचिवालय चूईँ नबोलेको देख्दा , हाम्रो राष्ट्रवादी दावामा मलाई रून मन लाग्यो ! कठै, मेरो महान नेपाल र यसका क्रान्तिकारी हामी नेपाली !



April 21, 2009

बिस्थापित हामी

आचार्य प्रभा
(अमेरिका )
प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर
कहिले कमजोर बनेर ढल्न खोज्छ
कहिले अस्थिर बनेर रम्न खोज्छ
किन हो कुन्नी ?आमाको मोहले
मोहित भएर होला शायद ...
आफ्नै आमाको काखको सिरानी रोज्छ ।
रहर हो कि बाधयता ?
रणभुल्लमा छौं हामी ,
आफ्नो अङेना र चुल्हो बिर्सी
पराइेको गांस टिप्न वाध्य छौं हामी ।
ह्रीदयभरी छट्पटिका सासहरु गुम्साएर
तरै पनि हाँस्न पोख्त छौं हामी
स्वदेशको माटो पराइ बन्यो
गाउँको बाटो बिरानो भयो
मारुनी ,दोहरी र सोरठी भाका
केवल सम्झना मै सिमित रह्यो
लिङे पिङ र रोटेपिङ्को रमाइलो
आँखाभरी भरी छाइे रह्यो
कस्तो बिवस्ताको खेल हो यो
पराइ भुमी नै रोज्नु पर्‍यो
कस्तो धर्म संकट हो यो
आँफैलाई बिस्थापित गर्नुपर्यो ।


April 20, 2009

कस्ता कस्ता छन्


राकेश कार्की
लस् एन्जेलस्

मन्दिर भित्र बाहिर प्रभु नाम जप्नेहरु छन्
आईलागेको दु:ख आँशु झारी खप्नेहरु छन्

कोही मुसा बनि पसेर सिँह बनि गर्जेर
आफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन्

फसाएर तर्सनेलाई कठघरामा उभ्याएर
आफ्ना सबै कालाकरतुत छोप्नेहरु छन्

पवित्र नदि नालामा ढल खनाईदिएर
डिष्टील वाटरमा आफूलाई चोप्नेहरू छन्

के आफ्नो भन्नु आन्द्रा डढाउने रक्सी
भो भो भन्दा भन्दै पनि थप्नेहरु छन् ।