हामी हाइस्कुल पढ्दा हाम्रो स्कुलमा एकजना सर थिए, गुन्द्रुके । उनको कपाल गुन्द्रुक जस्तै घुमेको कारणले उनलाई सबैले गुन्द्रुके भन्थे । कपाल मात्रै हैन उनको व्यवहार पनि गुन्द्रुके थियो । मान्छे हट्टा कट्टा, खुबै फुर्तिलो, र नजीकबाट हिडे भने सिधा एक गालामा पर्ला भन्ने डर । राजनीति जान्नेहरुले उनलाई मण्डले भन्ने गर्थे भने नजान्ने विद्यार्थीहरुले कडा टिचरको रुपमा लिन्थे । उनको क्लासमा कसैले चुइक्क बोल्ने हिम्मत गर्न सक्दैनथ्यो, अर्थात “मोडर्न“ भाषामा क्लासमा “पिन ड्रप साइलेन्स“ हुन्थ्यो । अब त्यस्तो टिचरसंग कसले निहूँ खोजोस वा कसले क्लासमा हल्ला गर्न सकोस । त्यहि पनि उनलाई बहानाको कमी के हुन्थ्यो र शाही आयोग वा वाइ सि एल जस्तो आंफै बहाना भेटाउंथे राम धुलाई गर्न ।
तर गुन्द्रुके सरको कुरै अर्को । गुन्द्रुके सरले मेरो बालाई इज्जत गर्ने भएर मलाईसम्म कहिले पनि धुलाएका थिएनन तर सातो खाने गरी बोल्थे बेला बेलामा । मेरो नियमित बसाइ अगाडिको बेन्चको वायाँपट्टिको कुनामा हुन्थ्यो, अर्को साइड अर्थात दायाँ पट्टी केटिहरुको बेन्च थियो । र अगाडिको बेन्चको कुनामा बस्थिन इनु । उनका बाबु ब्रिटिश आर्मीमा थिए, त्यति थाहा छ अनि घरमा साना भाइहरु मात्र थिए शायद, त्यसैले त्यतापट्टिबाट धुलाईको डर हुन्थेन । एउटै क्लासमा भए पनि हाम्रो त्यति राम्रो बोलचाल थिएन । अब गाउंको (नगरोन्मुख गाउँ) स्कुल भए पनि नौ क्लासमा ५ वटा सेक्सन, एउटा सेक्सनमा ५०-६० जना विद्यार्थी, बोर्डिङ स्कुल नखुल्दासम्म लिटल एन्जेल्सलाई मात दिन सक्ने गरी विद्यार्थीको भिड, त्यत्रो भीडमा कसरी राम्रो बोलचाल हुनु सबैसंग ! तर हामी दुइ जनाको कुना कुनाबाट हेरा हेर हुन्थ्यो, कुरो जे भए पनि दुवैको आकर्षण थियो बोलचाल थिएन । अब झन आफ्नो त हेराहेर भए पछि बोलचाल गर्ने त हिम्मत नै फु-मन्तर !
मेरो दायाँ पट्टि बिनोद बस्थ्यो, बस्नलाई बेन्चमै बसे पनि उसको आधा जिउ डेस्कमा हुन्थ्यो । बेन्चमा आड लगाएर मजाले एउटा कुनाबाट अर्को कुनामा दृष्टि गोचर गर्ने मेरो आंखा र उता कुनातिरको आंखाको बिचमा बेला बेलामा उसले छेक्ने गर्थ्यो । कहिले काहीं त कुरामा तानेर उसलाई हटाउंथे, कहिले काहीं अन्यत्रबाट हेर्ने “व्यवस्था“ मिलाउंथे । जे होस बजियाले सार्है डिस्टर्व गरेको थियो, त्यो नआएको दिन आँफुलाई आनन्द लाग्थ्यो ।
एक दिन गुन्द्रुके सरले पढाइरहेका थिए । पढाउँदा पढाउँदै के सनक चलेछ उनले बिनोदलाई हेरे, शायद मैले अर्को कुनाको नजरानुभुति गर्न बाधा परेर बिनोदलाई अलि पछि सरेर बस् भनेको थिएँ उ मलाई गाली गर्दै एक्लै भुत्भुताउन थाल्यो त्यहि बेला गुन्द्रुके सरले उसलाई देखेहोलान । गुन्द्रुके सरको स्टाइल शुरु भयो: बिनोदलाई हेरेर गुन्द्रुके सरले मन्द मुस्कान दिए, सर आँफुसंग मुस्कुराएको देखेर बिनोद पनि मुस्कुरायो । तुरुन्त मुस्कान रोक्दै गुन्द्रुके सर शुरु भए “किन हाँसिस ?“ अनि धडाधड बिनोदलाई झापड लगाउन थाले । पिट्नु भन्दा पहिले कसैलाई हेरेर मुसुक्क हास्ने अनि किन हाँसिस भनेर पिट्ने, यो उनको “स्टाइल“ थियो । अनि बिनोदले कुरो बुझ्यो, अघि उसले खुसु खुसु हल्ला गरेको नतीजा हो यो भन्ने । “मलाई मात्रै पिट्ने, यसले हो मसंग झगडा गरेको“ भन्दै मतिर देखाउँदै कराउन थाल्यो बिनोद । अनि गुन्द्रुके सर जाइलागे म माथि । पहिलो झापड जसोतसो छलें त्यहि पनि टाउकोतिर लाग्यो । दोस्रो झापड “टार्गेट“ अर्थात गालामा बज्र्यो, यति दर्हो थियो कि त्यो झापड, पिटाइ खाएको ठाउंबाट उछिट्टिएर केहि महिना पहिले महेन्द्रपुलको आंखा क्लिनिकबाट डाक्टरसापले लाउनै पर्छ भनेर “सिफारिश“ गरेको जम्मा जम्मी ०.२५ (माइनस) पावरको चश्मा अर्को कुनामा इनुको अगाडि पुग्यो । त्यति भए पछि गुन्द्रुके मलाई छाडेर फेरि बिनोदतिर जाइलागे । म लुरु लुरु चश्मा उठाएर लगाएं फुटेको रहेनछ । त्यस दिन पछि २-३ महिनासम्म लाजले अर्कोपट्टिको कुनातिर हेर्ने हिम्मत पनि भएन । त्यत्तिकैमा मेरो गाउँकै अर्को साथि उनको पछि लागिसकेको थियो, उ अर्कै सेक्सनमा थियो र मेरो “नजरनीति“ उसलाई थाहा थिएन । “मेरो मामाको छोरी पर्ने रहेछ (मामाको छोरी मगर संस्कृतिमा हक लाग्छ, नचिनेको घरमा बिहे गरे पनि श्रिमतिको बाबु मामा बन्छन्) घरबाट पनि कुरा गराउंछु“ भन्दै रन्किरहेको थियो । म पनि त्यसको गफ चुपचाप सुन्दै गएँ । केहि महिना पछि परिक्षा आयो, शैक्षिक सत्र परिवर्तन भयो अनि सेक्सन पनि अलग अलग भयो अर्थात त्यो स्टोरी त्यहि "इन्ड" भयो। गुन्द्रुकेको झापडले "के एल पी डी" गरायो !