February 27, 2009
मुख बुझो लाउनु कस्को
काम नहुनेको के कुरा दिउसै तारा गन्छन
बुद्धी कहाँ चर्न जान्छ गोठालो लागेर भएन
नत्र किन भडार पूर्न आफ्नै आगन खन्छन
हाँसी हाँसी नासी दिने अबोध चेहरा पनि
अचेल माकुरैलाई माथ दिने जाल बन्छन
बिपना धितो राखी सपना उधारोमा टाँगेर
नथेगिने ऋनको भारी बोकी ठसठस कन्छन
निशब्द भई निर्दोष हेराइ बटुली बिचरा
निमुखा मन थिचोमिचो प्रसाद सरी सन्छन
बधाइ र शुभकामना नेकपा एमालेलाई !!!
पार्टी भित्र आन्तरिक लोकतन्त्र फलिभूत पार्ने कुरा नेपालमा मात्र हैन, सबै जसो दक्षीण एशियाली मुलुकहरूमा गाह्रो देखिएको छ । भारत, बांग्लादेश, श्रीलंका र पाकिस्तानका पुरानो इतिहास बोकेका लोकतान्त्रिक पार्टीहरूमा समेत निश्चित परिवारको नेतृत्व नरहेमा उक्त दल टुहुरो बन्ने त्रास छ । नेपालमा नेपाली कांग्रेसको अस्तित्वलाई कोईराला परिवारको संरक्षण र कोईराला परिवारले आँफ्नो अस्तित्वको पर्यायको रूपमा कांग्रेसलाई हेरिने कुरा हामीले देके जानेको कुरा हो । यस्तोमा , एउटा अधिनायकवादी विचारको पक्षपोषी मानिन सक्ने ,नामको कम्युनिष्ट पार्टी एमालेले आँफ्नो निति र नेतृत्वमा लोकतान्त्रिक विधिको लाहाछाप लगाएर अपनाउने जुन बहादुरी देखाएको छ यो कुराले नेपालभित्र राजनिति गरेर लोकतान्त्रिकताको दुहाइ दिन नथाक्ने अन्य राजनैतिक दल र शक्तिहरूलाई दलको आन्तरिक चरित्र र व्यवहारदेखि बाह्य शासन पद्दतिसम्ममा लोकतान्त्रिक चरित्र र संस्कारको अवलम्बन र अनुपालनमा लाग्न पाठ पढाएको छ ।
वर्तमान नेकपा एमालेका सबैभन्दा वरिष्ठ नेता माधव नेपालले एमालेको वरिष्ठ नेतृत्वमा सहमति निर्माण हुन नसकेर चुनाबमा जाँदा, पार्टी पूर्ण विभाजित हुन सक्ने सम्भावना देखाएर अध्यक्ष पदमा लड्न चाहनु भएन । अध्यक्ष पदको लडाईँमा झलनाथ खनाल र खड्ग ओली बीच हिन्दीमा भनिने ' काँटेकि टक्कर' को स्थिति रह्यो । गणितीय हिसाबले ओलीले ११७ मतले हार्नु भयो तर पनि संस्थापक नेतृत्वसंग खुल्ला र एक्लै लडेर ओलीले जुन मत प्राप्त गर्नु भयो त्यसले वहाँको विचार पनि पार्टीभित्र निर्धो र दूर्बल छैन भन्ने निष्कर्ष हव्शय दिएको छ । आफ्नो 'होम ग्राउण्डमामा खेल्ने मौका पाएका 'आँफै महासचिव रहेर आफ्नै नेतृत्वका कार्यकाल अवधिमा देशव्यापि पार्टी प्रतिनिधि चयन गराई, झिनो बहुमतले विजय हासिल गर्न पुग्नु भएका झलनाथ खनालले प्राविधिक र गणितिय रूपमा निर्वाचन जित्नु भएको छ तर पार्टी कार्यकर्ताले वहाँलाई नेतृत्व दिँदै ओलीको राजनैतिक प्रतिवेदन र नीति कार्यक्रमको जिम्मा लगाउँदै भारी बोकाएका छन् । सम्पन्न एामले अधिवेशनले दिएको सन्देशलाई बुझ्ने हो भने कुरा प्रष्ट छ , नेतृत्व विभाजित बन्न खोजे पनि कार्यकर्ताले भने नमिली काम गर्न सक्दैनौ भनी एमाले नेतृत्वलाई ठिंगुर्याएका छन् । यसर्थ, एमाले कार्यकर्ताको निर्णय र नेतृत्व चयनको तरिका जति प्रशंसा गरे पनि नसकिने खालको छ । यो नै एमालेको वर्तमान सामर्थ्य हो भन्नुमा अत्युक्ति हुँदैन ।
नेतृत्वका पराजित प्रतिस्पर्धी ओलीको स्पष्ट उद्घोष थियो , माओवादी अतिवादी व्यवहारको बिरुद्दमा पर्यो भने कडा रूपमा उत्रिनु पर्छ । यहि कडा र खरो कुराले उनलाई पपुलर र पराजित दुवै बनायो । ओलीको विचार एमालेमा हारेको छैन किनभने वहाँको पराजयका बावजुद वहाँसंगको लबीमा लडेका ६०% सदस्यहरू केन्द्रिय नेतृत्वमा आएका छन् । यो ढाँचाको केन्द्रिय समिति बनाइदिएर कार्यकर्ताले भने कुनै एउटा समूहको हालिमुहाली हुनसक्ने परिस्थितिमा पनि अंकूश लगाइदिएका छन् । तर, झलनाथ र बामदेव लबीको एमालेले , एमाले स्वयमलाई माओवादिहरूको एउटा लाचार छायाँको रूपमा घटुवा नगरिदियोस् भन्ने एमाले कार्यकर्ता वृत्तमा रहेको डरलाई झलनाथ खनालले गतिलो ढंगले सम्बोधन गर्नु पर्नेछ । झलनाथले ' गह्रूंगो भारी बोक्छू' भनेर नेतृत्व लिनु भएको छ तर यो भारी कतै अर्को नारायणकाजी बनेर रुपान्तरण नहोवस् भन्ने कामना गर्नु यति बेला श्रेयस्कर हुन्छ होला । लामो धरोहर र इतिहास बोकेको एमाले यो भयानक लोकतान्त्रिक 'स्टण्ट' खेलेर कतै एउटा अधिनायकवादी सत्ताको सांक्षी बन्न नपुगोस् । यो अवसर र चुनौतिको झलनाथ नेतृत्वको एमालेले राम्रो बहन गरोस् । बधाइ र शुभकामना !!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हिजो आफ्नै सोच्ने मन
हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ
पराइको जाली माया गाढा भइदिएछ
जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन
अनायसै मुटु घोच्ने काडा भइदिएछ
खै के भनु के गरौ आफुसँग केही छैन
आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ
केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ
तर आज मेरो माया थोत्रा भाडा भइदिएछ
वालापनै नभोगी जवानी बने जस्तै
आफन्तको संसार बिर्सी छाडा भइदिएछ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
समान शिक्षा, अर्थमन्त्रीको सोच र ‘विष्फोट’ ।
नेपाललाई १० बर्षमा १० हजार किलोवाट बिजुली निकालेर उज्यालो र समृद्ध देश बानाउने नाराका साथ अगी बढेका माओबादी सरकारका एकजना प्रभावशाली नेता र हालका अर्थमन्त्रीले हिजो ‘अबका दिनमा सरकारी तलब खानेका छोराछोरीले “बोर्डिङ स्कुल”मा पढन नपाउने’ भन्ने यौटा गज्जबको नीति निर्माण हुन लागेको जानाकारी गराउनु भएको छ ।
कुरोको चुरो शुरु गर्नु अगाडि पहिला त मलाई यो नेपालको परिप्रेक्षमा यो “बोर्डिङ स्कुल” भन्ने शब्दको अर्थ नै अहिले सम्म प्रष्ट छैन
शब्दकोषहरु पल्टाएर हेर्दा boarding school भन्नाले “A private school where students are lodged and fed as well as taught” भन्ने बुझिन्छ। विकिपेडियामा हेर्ने हो भने त अझ “...the word 'boarding' in this sense means providing food and lodging.” भनेर बोर्डिङ स्कुल भन्नाले ‘आवासीय स्कुल’ वा अझ प्रष्ट गर्दा ‘पढने-बस्ने-खाने’ स्कुल भन्ने बुझिन्छ। तर हाम्रो नेपालमा भने २-३ वटा अंग्रेजीका किताब पढाउने निजि बिद्यालय सबैलाई (आबासीय सुबिधा भए वा नभए पनि) ‘होलसेल’ मै “बोर्डीङ स्कुल” भनिन्छ ।
बोर्डीङ स्कुलको अबधारणालाई हेर्ने हो भने हामीकहाँ रहेका कतिपय “बोर्डीङ स्कुल” बास्तबमा बोर्डीङ स्कुल नै होईनन्। त्यसैले हाम्रा अर्थमन्त्रीले कस्ता खाले स्कुलमा सरकारी तलब खानेले छोराछोरी पढाउन नपाउने गर्न लाग्नु भएको हो बुझ्नै पनि गाह्रो छ । तर कुरा जे भए पनि अब ‘सरकारी तलब खानेका छोराछोरीले सरकारी स्कुलमै पढनु पर्ने भो’ भन्दा चाहि मन्त्रीज्युको भाव बुझ्न सकिन्छ ।
अब लागौं यस्तो व्यबस्था गर्नु पर्ने कारणतर्फ, मन्त्रीजूको विचारमा सार्वजनिक पद धारण गरेका व्यक्तिले निजी शिक्षण संस्था खोल्ने र तिनमा आफ्ना छोराछोरी पढाउने गरेको र त्यसले गर्दा सरकारी शिक्षण संस्थाको शैक्षकस्तर खस्कने गरेको छ’ रे! । गज्जबको सोच छ !! अनी गज्जबको छ आँकडा पनि!!, देसमा कतिजना त्यस्ता व्यक्ति होलान जो आफ्ना बच्चाबच्चीकोलागि आफैं स्कुल खोल्न सक्षम होलान । फेरी कसैले निजी स्कुल खोल्दैमा कसरी सरकारी स्कुलको स्तर कसरी खस्कन्छ ?, सोचिनसक्नु छ ।
शिक्षामा एकरुपता ल्याउने माओबादिका गफहरु १० बर्ष अगाडि देखि नै सुनिदैं आएको हो र अझै पनि ´फेरि पनि गरीब र धनीले पढ्ने शिक्षा फरक रह्यो भने यहाँ ज्वालामुखी विष्फोट हुन्छ´ भन्ने अभीव्यक्ति दिन मन्त्रीज्यू पछाडी पर्नु भएको छैन । अब के त ? यो ‘विष्फोट’ बाट जोगाउन सबै निजी स्कुल बन्द गर्ने त?, कि निजि स्कुलाई पनि स्तरीय शिक्षा दिन बन्द गर्न आदेश दिने?। उहाँकै बिचार अनुसार सबैलाई एकै किसिमका शिक्षा दिने हो भने यो दुई बाहेक अर्को तेस्रो विकल्प छँदा पनि छैन ।
सरकारी स्कुलको स्तर खस्कनुमा निजीस्कुलको कुनै हात छैन, यसकालागी हालसम्मका हाम्रा शिक्षा नीति नै जिम्मेबार छन । कुनै यौटा निकायमा समस्या देखा परेपछि, समस्या निराकारण गर्ने कि त्यो समस्याले अछुतो रहेको निकायहरुलाई बन्द गर्ने ?।, यो कुनै पनि विचारवान व्यक्तिलाई सोध्नु पर्ने प्रश्न पक्कै होईन होला। त्यसैले सरकारले सरकारी स्कुलको गुणस्तर सुधार्नेतर्फ ध्यान दिनु जरुरी छ, जसको लागि:
शिक्षकरुलाई तालिम आदिको व्यबस्था गर्ने
पाठ्यक्रममा क्रमिक सुधार गर्दै लाने
सरकारी स्कुललाई सकेसम्म सुबिधासम्पन्न बनाउने
सरकारी स्कुलका शिक्षक र कर्मचारीलाई सकेसम्म बढि सुबिधा उपलब्ध गराएर योग्य व्यक्तिहरुलाई सो सेवामा आकर्षित गर्ने आदी धेरै कार्य गर्न सकिन्छ ।
सरकारी कर्मचारी वा सरकारी लाभको पद धारण गरेकालाई आफ्ना बालबच्चा सरकारी स्कुलमै पढाउनु पर्ने हावादारी नीयम बनाएर न त सरकारी स्कुलको स्तर उठछ, न त हाम्रो देसमा यो नीयमको कार्यान्वयन नै प्रभावकारी हुन सक्छ ।
सरकारी र निजी स्कुलमा गुणस्तरीय भिन्नता छन, तर यस अबस्थामा सरकारी स्कुलको स्तर उठाएर तिनलाई निजि बिद्यालयसंग प्रतिस्पर्धा गर्न लाएक बनाउने कि, निजि बिद्यालयलाई पनि सरकारी स्तरमा झार्ने ? यो प्रश्न पनि विवेकशील व्यक्तिलाई सोध्नै नहुने प्रश्न हो । खाली ‘केहि गर्दैछौं’ भन्ने देखाउनलाई मात्रै वा समानता को ढ्याङ्रो ठोक्नलाई यो नीति ल्याउन लागिएको हो त्यो त मन्त्रीज्यू र यसका नीति निर्मातालाई मात्रै थाहा होला तर सोचको क्षणीक ‘उठान’ को प्रभावमा आएर गर्न लागीएको यो निर्णयले सहमति भन्दा बिबाद र सुधार भन्दा बिगार नै बढि गर्नेमा भने कुनै सन्देह छैन ।
अन्तमा सरकारी स्कुल र निजि स्कुलमा स्तरीय भिन्नता छँदा ‘विष्फोट’ हुने देशमा भोलीको दिनमा सरकारी अस्पताल र निजी चीकित्सालयको सेवा र गुणस्तरको भिन्नताले पनि ‘विष्फोट’ होलान । सरकारी बैंक र निजि बैंकको सेवा र सुबिधामा फरक आँउदा पनि ‘विष्फोट’ होलान । सरकारी उद्योग र निजि उद्योगको आर्थीक असमानताले पनि ‘विष्फोट’ होलान। अनी त्यस्तो बेलामा के गर्ने?, सरकारी कर्मचारीले कमाएको पैसा सरकारी बैंकमा मात्रै राख्न पाउने , बिरामी भएमा सरकारी अस्पतालमा मात्रै उपचार गर्न पाउने, कुनै पनि सामान वा सेवा चाहिएमा पनि सरकारी उत्पादन वा सेवामुखी निकायमा मात्रै भर पर्नु पर्ने?। साझाकै बस बाहेक अरुमा सबारी गर्न नपाउने, नेपाल एयरलाईन्स बाहेकका अरु बिमानमा चढन नपाउने ?।
मन्त्रीज्यू निजी संरचनालाई हल्लाउने हैन, सरकारी निकायलाई मजबुत गर्ने तर्फ लाग्नुहोस, बोर्डिङ स्कुलको स्तरमा अंकुश लगाउने हैन सरकारी स्कुलको गुणस्तर सुधार्न लाग्नुहोस। जनताले पक्कै साथ दिनेछन । समानता र स्वतन्त्रता संगै जान मुश्किल हुन्छ । त्यसैले समानताको नाममा आफनो योग्यता र आर्थिक क्षमताले भ्याउने स्कुल छान्ने स्वतन्त्रतामा ठाडो अंकुश नलागाउनुहोस । हैन महंगा निजि बिद्यालय ( ओहो ! ‘बोर्डिङ स्कुल’ भन्नु पर्छ क्यार ! ) मा आफ्ना छोराछोरीलाई पढाउन सरकारी कर्मचारीले भ्रष्टाचार वा आर्थिक हिनामिना गर्छन र यसरी उनिहरुलाई सरकारी स्कुलमै पढन बाध्य गरेपछी भ्रष्टाचार रोकिन्छ भन्ने विचार हो भने यो मैले आजसम्ममै सुनेको सबैभन्दा हाँस उठने ठट्टा हो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 26, 2009
गीत --मर्नु पार्यौ --
शेखर ढुँगेल्
०२-२४-२००९
मर्नु पार्यौ कान्छी तिमी ले
माया गरेर
दिन भरी कुरायौ
आएर सपना मा कुतकुती लगायौ
उज्यालो नहुँदै कता हरायौ
मर्नु पार्यौ कान्छी तिमीले --
दिन भरी कुद्छ्यौ एता र उती
आँखा झिम्काउदै
जब पर्छ्यौ एक्लै साझ मा
एस एम गरेर हैरान बनायौ
भोक र निन्द्रा भगाई मेरो
दुनियाँ हसायौ
मर्नु पार्यौ कान्छी ----
चुल बुले तिम्रो बानी
कोइली जस्तो बोली
हरिण जस्तो जिउ डाल तिम्रो
सब लाई लोभ्याउदै हिंड्ने बानी
तिम्रै याद मा बिहानै
भट्टि पुग्ने मलाई बनायौ
मर्नु पार्यौ कान्छी तिमी ले ---
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 25, 2009
मेरो पहिलो परिचयः नेपाली
म को हूँ? मेरो नाउँ के हो? मेरो थर के हो? मेरो जात के हो?
मेरो नाउँ शिव, राम, श्याम, हरि, कृष्ण, बहादुर, प्रसाद, नाथ, लाल, कुमार जे होस्!
मेरो नाउँ पछि आउने मेरो जात ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र तथा मेरो थर पौड्याल, पोख्रेल, कटुवाल, दराई, राई, लिम्बु, मगर महर्जन, नापित, माली, कामी, दमाई, श्रेष्ठ, सार्की, चमार, मुसहर, बाँतर, सतार, धिमाल, थारु, चौधरी, तेली, बनिया, मण्डल, महतो, हजाम, पण्डित आदि इत्यादि जे होस्!
म कसको छोरो हुँ? कसको दाजु, कसको भाइ, कसको बाबु, कसको भतिजो, कसको काका, कसको मामा, कसको ज्वाइ, कसको सालो, कसको भिनाजु अथवा कसको लोग्ने वा कसको प्रेमी? आदि इत्यादि जे होस्!
म जेसुकै नाम-नामेसी, जात-जाति अथवा भाषा-भाषी, थर-थरान र सम्प्रदायको मान्छे किन नहुँ? कसैसँग कुनै साइनो बाँधिएर संसारको कुनै स्थानमा किन नरहुँ? तर मैले सधैं मेरो परिचय खोजिरहेको, चहारिरहेको हुन्छु, चाहिरहेको हुन्छु। चाहँदै, खोज्दै, चाहर्दै, पच्छ्याउँदै जाँदा मैले मेरो परिचयको परिचय एउटामात्र पाउँछु!
यावत् प्रश्नको एउटामात्र उत्तर अर्थात यावत् एवं विविध खोजीको एउटैमात्र प्राप्ति! सम्पूर्ण प्रश्नको एउटै उत्तर! तर पूर्ण अर्थात सम्पूर्ण उत्तर!
र, त्यो एउटा अर्थात एक्लो तर पूर्ण र सम्पूर्ण उत्तर हो - नेपाली! म नेपाली! मेरो परिचय नेपाली अर्थात् मेरो पहिलो परिचय नेपाली!
हो, सबैभन्दा पहिला म नेपाली हूँ र मेरो पहिलो परिचय नेपाली हो।
यो एउटा र एक्लो उत्तर नै मेरो परिचयको सामूहिक र सम्पूर्ण उत्तर हो। मेरो सम्पूर्ण परिचयको पूर्ण परिचय हो - नेपाली! मभित्रका अनेकताभित्रको एकता हो - नेपाली! मभित्रका अथाह अन्तर्भिन्नताभित्रको एकरूपता र आस्था हो - नेपाली! मेरा वरिपरिका अपूर्णताभित्रको पूर्णता हो - नेपाली! कहिल्यै मरेर नजाने कसैले हरेर लान नसक्ने मेरो परिचय हो - नेपाली! मेरो मन - नेपाली! मेरो तन - नेपाली! मेरो पन - नेपाली! मेरो अस्मिता हो - नेपाली, मेरो अस्तित्व हो - नेपाली! नेपाली, नेपाली र नेपाली!
म नेपाली! नेपालको छोरो नेपाली अथवा नेपालको छोरी नेपाली! अर्थात मेरो पहिलो परिचय नेपाली, नेपाली र नेपाली! मात्र नेपाली!
नेपाली हुँ, त्यसैले म भन्छु -
नेपाली हूँ म नेपालको माटो यो छातीमा सजाउँछु
पूर्खाले पूजेको माटोको टीका निधारमा लगाउँछु।
म स्वदेशमा हुँ वा दशदेश दूर परदेशमा हुँ सधैं म भन्छु -
म नेपाली हुँ।
मेरो नाउँ नेपाली हो।
मेरो जात नेपाली हो।
मेरो थर नेपाली हो।
मेरो भाषा नेपाली हो।
मेरो भावना नेपाली हो।
मेरो आस्था नेपाली हो।
मेरो विश्वास नेपाली हो र मेरो बिचार नेपाली हो।
मात्र नाउँका लागि मलाई दिइएको मेरो नाउँ शिवप्रकाश भएता पनि जन्मले पाएको मेरो जन्मसिद्ध नाउँ नेपाली हो। जुन अकाट्य छ। अमेट्य छ। हृदयको शिलापाटीमा लेखिएको छ।
मलाई यो नाउँ मेरो जन्मपछि कसैले दिएको हैन, कसैबाट उपहार, उपाधि र उपमाका रुपमा पएको हैन। कसैले गुताइदिएको पगरी हैन। मैले जन्मदै लिएर आएको नाउँ हो - नेपाली! अर्थात नेपाली शिवप्रकाश र शिवप्रकाश नेपाली!
नेपाल आमाको कोखबाट जन्मिए। नेपाली भएरै नेपाल आमाको काखमा हुर्किएँ। अहिले म जहाँ रहे पनि सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र कथित नामले, जातले, भाषाले, सम्प्रदायले, धर्मले चिनिने फलानो चिलानो अरु कोही हुन सक्छु!
मेरा बाबुको जात र थरभन्दा अघि म त्यो नेपाली माटोको जात हूँ। त्यो नेपाली धरतीको थर हूँ। जुन मेरा बाबु बराजेले पूजेको माटो र धरतीको जात र थर हो - नेपाली! त्यसैले मेरो जात नेपाली हो, मेरो थर नेपाली हो अर्थात मेरो पहिलो परिचय नेपाली हो। र, मेरो जन्मसिद्ध परिचय नेपाली हो।
म जसको छोरो भए पनि नेपालीको छोरो हुँ। म जसको बाबु भए पनि नेपालीको बाबु हुँ। नाम नामेसीमा म सबैभन्दा पहिला नेपाली हूँ। जातपातमा म सबैभन्दा पहिला नेपाली हुँ। छत्तीस वर्णमा मेरो सबैभन्दा पहिलो वर्ण नेपाली हो! सयौं जातजातीमा मेरो पहिलो जात पनि नेपाली हो। नातासम्बन्धमा सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र म कसैको दाजु, भाइ, काका, भतिजो, मामा, ज्वाइँ, सालो, भिनाजु, लोग्ने वा प्रेमी हुँ वा हुनसक्छु। तर यी सबैभन्दा पहिला म नेपाली हुँ!
तराइदेखि हिमालसम्म, मेचीको वल्लो किनारदेखि महाकालीको पल्लो किनारसम्म अनि देशदेशावरमा छरिएर रहेका नेपाल आमाका सन्तान दरसन्तानसँग मेरो एउटै साइनो छ, एउटै नाता छ - ती सबै मेरा नेपाली बन्धुबान्धव हुन्। त्यसपछि मात्र नाता वा साइनो जोडेर चिनिने अरुको म कोही हुँ वा मेरा अरु कोही हुन्। यी सबैका म सबैभन्दा पहिला नेपाली हुँ र सबैका लागि मेरो पहिलो परिचय पनि नेपाली हो।
त्यसैले म भन्छु -
तराइमा धोतीकुर्ता लगाए पनि म सबैभन्दा पहिला नेपाली हुँ
पहाडमा डोको नाम्लो बोके पनि म सबैभन्दा पहिला नेपाली हुँ
हिमालमा चौरी चराएर हिँडे पनि म सबैभन्दा पहिला नेपाली हुँ
चारजात छत्तीस वर्णमा मेरो सबैभन्दा पहिला वर्ण नेपाली हो।
त्यसैले म गर्वकासाथ भन्छु -
म नेपाली हुँ
म ईश्वरसँग प्रार्थना गर्छु -
आफूलाई सधैं नेपाली भनिरहूँ,
सधैं मेरो पहिलो परिचय नेपाली बनाइरहूँ।
शिरमा सगरमाथा बोकीरहूँ
मुटुमा मेची र महाकाली बगाइरहूँ।
नेपाली हुनुको अर्थ आफूलाई यसरी नै सधैं म नेपाली बनाइरहूँ, नेपाली भनाइरहूँ। नेपाली देखाइरहूँ। म जस्तै सबै नेपाली "म" हरू, मनहरू, मस्तिष्कहरू, मतहरू, मननहरू, मनपेटहरू, मनसाहरू, मनोभावहरू, मन्थनहरू सबैभन्दा पहिला नेपाली "म" हुन् र सधैं नेपाली "म" नै भइरहुन्। सबै नेपाली "म" हरूले सधैं आफ्नो परिचय नेपाली बनाइरहुन्!
हाल - बोष्टन, अमेरिका।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest