January 16, 2009

हिन्दूराष्ट्र कायम गर कि गुठी खारेज गर

शेखर ढुंगेल
अमेरीका

नेपालमा क्रमभङ्गताको खेती मौलाउँदै छ । यसकै अर्को कडीभएको छः हिन्दुधर्माबलम्बीहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा किराँतकालदेखि पुजारीको रुपमा रहेका दक्षिण भारतका भट्टहरुलाई चट्ट पारेको घटना । अबदेखि नेपाली नागरिकलाई नै मूल पुजारी राख्ने नयाँ नेपालको नयाँ सरकारको निर्णयलाई कसैले ठिक कसैले बेठिक भन्दै आ-आफ्ना पक्षलाई बल पुग्ने तर्क प्रसतुत गर्दै बिरोध एवं अदालतकासमेत ढोका ढक्ढक्याउने काम भयो र अदालतले सरकारको निर्णयलाई हाल स्थगित गर्ने आदेश समेत दिइसकेको । यही आदेशबाट बाध्य भएर गत बिहीवारदेखि पहिलेकै मूल भट्टले पशुपतिनाथको नित्य पूजा गर्न थालेका छन् । तर यसबारे चर्किएको बिबाद साम्य भएको छैन ।

बस्तुतः पशुपति हापिठका मूलपुजारीलाई भारतीय हटाउनु पर्ने माग बेला बेलामा दशक अगाडिदेखि नै उठेको हो । हटाउनु पर्ने मूलकारणमा भारतीय हुनुभन्दा पनि आर्थिक हिनामिनालाई मानिएको छ । हालको निर्णयलाई प्रकृयागत भयो वा भएन भनी बिरोध गर्नुको साटो हटाउने वा नहटाउने भन्ने प्रश्नमा बहस केन्द्रित गर्नु पर्दछ । हटाउने नै हो भने जसले जसरी हटाए पनि बिरोध गर्नु तर्क संगत हुँदैन । बायाँ हातले दायाँ कानमा छुनुपर्दा सिधै छोए पनि घुमाएर हात लगी छोए पनि छुनु नै हो । किन बिबाद गर्नु आर्थिक हिनामिनाकै कारण हटाउनु पर्ने भन्ने कारणमा पनि कुनै तूक छैन । किनकि एउटा सबल संयन्त्र बनाएर हिनामिनालाई रोक्न सकिन्छ । नेपाली मूल पुजारी हुँदैमा भेटी हिनामिना रोकिने भन्ने विश्वास गर्ने कुनै आधार पनि छैन । बरु उल्टो एउटा सामान्य पिउन नियुक्तिमा समेत नजराना लिने प्रवृत्ति भएको हामीमा यस्तो प्रतिष्ठित एवम् आकर्षक पदमा नियुक्ति पाउन लेनदेनको खेल राजनैतिक प्भावमा नियुक्ति र बर्खास्तगी अनि थमौतीका बिबाद नहुने भन्ने आधार पनि छैन । यत्रतत्र सर्वत्र बिबादै बिबादको खेती गरिरहने मन्दिरमा पनि राजनीतिक बगार्ने र राजनीतिक मुद्दा बनाएर राजनीतिक दलहरु एक दोस्रालाई कमजोर र गलत देखाउने प्रवृत्ति नेकपा माओवादीले सत्तामा बसेर जसरी सुरु गरेको छ त्यसलाई कुनै पनि हालतमा स्वागत गर्न सकिदैन । साथै संविधानसभाका २५ दलले सत्तालाई सुझाव दिने र सही मार्ग देखाउने काम गर्न सकेनन् त्यो पनि दुःखद घटना हो । आइन्दा यसप्रकारका धार्मिक धारणा उव्देलित पार्ने घटना राजनीतिक बृत्त र सरकारबाट नहोस् भन्ने संचेत जरुरी छ ।

२६१ वर्षदेखि राजाकै कारणले भारतबाट ल्याई मूल पुजारी राख्ने चलन चलाइएको भन्ने इतिहासबिदहरुको भनाई बाहेक अरु कारण प्रष्ट पार्न नसकेको अवस्थामा नेपाली पुजारी राख्नु अस्वाभाविक हुँदैन । तर आदिकालदेखि भारत नेपालबीच रहँदै माएको धार्मिक सामाजिक समानता अनि त्यसकै आधारमा जनस्तरमा रहेको सौहार्द्रता सम्पूर्ण हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ पीठप्रति भारतबासीको श्रध्दा अनि विश्वका दुई महान धर्म हिन्दू र बौध्दको उग्गमस्थल पवित्र भूमि नेपालको गरिमामा नकारात्मक प्रभाव नपरोस् । भारतीय धार्मिक पर्यटक बिच्के भने त्यसले अन्य क्षेत्रमा समेत पार्ने असरको बारेमा पनि सोच्नु जरुरी छ ।

क्रमभङ्गताको लहड होइन र भेटी हिनामिनाको चिन्तामात्र हो भने भारतका बिभिन्न प्रसिध्द मठमन्दिरमा अपनाइएको व्यवस्था झैं मूल पुजारी वासंलग्न अरुहरुको तलब एवम् सुविधा निश्चित गरी बाँकी हिसावकितावको व्यवस्थापन गर्ने एउटा संयन्त्र बनाई अगाडि बढ्न सकिन्छ ।

सरकार वा संबन्धित पक्षले बुझ्नु पर्ने कुरो के भने समस्या मूल पुजारी भारतीय हुनुमात्र हो वा हाम्रो व्यवस्थापनको कमीकमजोरी र राजनीतिक अहंकारको हो त्यसैले हाम्रो सनातनदेखिको दुई देशका जनताबीच रहदै आएको धार्मिक सामाजिक सहिष्णुता र सौहाद्रता नबिगि्रयोस् धार्मिक हिंसा नफैलियोस् भन्नेतर्फ ध्यान दिनु पर्छ । किनभने धार्मिक आस्था भनेको अत्यन्त संवेदनशील बिषय हो भन्ने राजनीतिकर्मी र सत्तामा बस्नेले बुझ्नु नितान्त आवश्यक छ । सरकारले यो निर्णय जायज गर् यो कि नाजायज यो अहं सवाल हो ।

देश धर्मनिरपेक्ष भैसकेको छ । कुनै पनि धार्मिक अनुष्ठानमा सरकारको संलग्नता लगानी र हस्तक्षेप असंवैधानिक ठहर्छ । धर्म निरपेक्ष राष्ट्रका प्रधानमन्त्री पशुपति विकास कोषका संरक्षक रहेका छन् । यो जायज हो कि होइन बुध्द मुस्लिम कि्रश्चियन धर्मको संरक्षक प्रधानमन्त्री बन्ने हो कि होइन संरक्षकले मूल पुजारी फेर्न आदेश दिने कार्यान्वयन गर भनेर निर्णय गर्ने अधिकार हुन्छ कि हुन्न परापूर्वकालदेखिको पशुपतिनाथको पुजारी बदल्दा धार्मिक भेला गराएर गरेको भए हुने थियो कि थिएन यी प्रश्नको जवाफ समयले खोज्ला । देशको मठमन्दिरको जिम्मेदारी स्थानीय जनताको जिम्मा दिनु बेश हुनेथियो । धर्म निरपेक्ष राष्ट्रमा कुनै पनि अमूक धर्मको संचालन र संरक्षणको जिम्मा लिएको नेपाल गुठी संस्थान खारेज गरी वार्षिक अरवौंको प्रशासनिक खर्च रोक्नुपर्छ । धार्मिक अनुष्ठान पीठहरुका नाममा पुस्तौंदेखि कमाई राजस्व तिरीरहेका जग्गाका जोताहा जनतालाई ती जग्गाको मालिक बनाउनु पर्छ । गुठीका नाममा जग्गा जोती सरकारलाई राजश्व तिर्ने सरकारी कमैयाहरुको मुक्तिहुनुपर्छ । धार्मिक अनुष्ठानका नाममा रहेका लाखौं गुठी जग्गा जोताहा सरकारी कमैयालाई नै दिनु उचित हुनेछ ।

त्यसो गर्न सकिदैन भने विश्वको एकमात्र सनातनको पनि सनातन हिन्दूधर्मको उद्गम स्थल करोडौं हिन्दूहरुका आस्थाका केन्द्र आराध्यदेव पशुपतिनाथको पवित्र मन्दिर भएको नेपाललाई हिन्दूराष्ट्रको नाममा कायम नै गर्नुपर्छ । दुर्य बिशाल इस्लामिक देश पाकिस्तनन र बंगलादेशमा हजारौं हिन्दू मन्दिरहरुको अस्थित्व कायम भए झैं हिन्दू राष्ट्र नेपालमा पनि अरु धर्माबलम्बीको अस्तित्व एवम् संरक्षणमा फरक पार्दैन । जनताले आवाज उठाउने बेला आयो । या त हिन्दू राष्ट्रको नामले नेपालले संविधानमा निरन्तरता पाओस् या त गुठी संस्थान खारेज गरोस् र गुठीको जग्गा जोति सरकारी कमैया बनेका लाखौंलाई मुक्त गरी उनीहरुलाई जोती आएको जग्गाको एकमात्र मालिक बनाओस् । प्रकृया र हिनामिनाका अर्थहीन बिबादले समस्याको मूल मुध्दा छायाँमा नपारियोस् ।



देशको नागरिक बन्नुस

प्रबिण थापा
धादिङ, हाल इटली
यहाँ नेताहरुलाई मनपरी बोल्न, उनीहरुका कार्यकर्तालाई मान्छे पिट्न, मार्न, कर्मचारीलाई खुलेआम घुस खान, प्रहरी प्रशासनलाई जनता पिट्न, गेष्टहाउसमा यौन व्यवाशाय चलाउन, बिद्यार्थीलाई बन्द हड्ताल गर्न, व्यपारीलाई भन्सार छल्न, मजदुरलाई सधैंभरी आन्दोलन गर्न, पत्रकारलाई राजनीति गर्न, बिद्युत प्राधिकरणलाई जति मन लाग्छ त्यती बिजुली आपुर्ती कटान गर्न, पेट्रोल पम्पलाई मिसावट गर्न, यातायात व्यवशायीलाई मनपरी भाडा असुल्न, मानवअधिकारवादीलाई नेताहरुको चाकरी गर्न, डाक्टरहरुलाई अस्पाताल नर्शसँग जिस्केर बस्न, प्रध्यापकहरुलाई ठट्टा गरी समय कटाउन, डाँकाहरुलाई जतिबेला मन लाग्छ त्यती बेला चोर्न, अपहरण गर्न, बैंकहरुलाई धेरै कमिशन खान, एन. जि. ओ., आइ. एन. जि. ओ. लाई बिकास को नाममा नाफा कमाउने व्यवशाय गर्न, तस्करीहरुलाई सुरक्षीत रुपमा लागु पदार्थ, अबैध वस्तुहरुको तस्कर गर्न, दुई चार जना मिलेर एउटा पार्टी खोल्न। समग्रमा भन्दा यो देशमा सब कुरामा छुट अमेरिकामा भन्दा बढी प्रजातन्त्र छ तर तपाईं इमान्दार हुनुहुन्छ, तपाईं सँग अन्याय नसहने व्यवहार छ, तपाईंसँग देश को लागि केही राम्रो गर्ने सोच छ ख्याल गर्नुहोस् तपाईंको हालत पनि उमा सिंह, कृष्ण सेन,बिरेन्द्र शाह, निर्मल पन्त, पुस्कर श्रेष्ठ, रामहरी श्रेष्ठ यस्तै हजारौं कर्मठ नागरिकहरुको जस्तो होला। भन्नु को मतलब यस देश तपाईंको लागि सुरक्षित छैन जुनकुनै बेला तपाईंलाई ज्यान मार्ने धम्की आउन सक्छ, अपहरणमा पर्न सक्नु हुन्छ,तपाईंको गर्धन निमोठिन सक्छ। यहाँ दंडहिनताले प्रशय पाएको छ,यहाका जनता डरको त्राही,त्राहीमा बाँच्न बिबश छन। यो श्रीखंला जारी छ, रहिरहनेछ त्यसैले तपाईं पनि हाम्रो नेताहरु जस्तै तस्करी, भष्टचार र कसैको हत्या गर्न समयमै सिक्नुस र यो देशको नागरिक बन्नुस।



कबिता -मनहरु पनि जेरोक्स कपी भै सकेकाछन

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
भ्रमपूर्ण वास्तविक्ता अङालेर
स्वार्थी जिजीबिषाको लडाईंमा
आफुलाई अग्रणी बनाउने होड्बाजिमा
बाचिरहेछन मान्छे ।
फुर्सद नै कहाँ छ र कसैलाई
एकत्वको गगनचुम्बी पीडामिढ खडा गर्ने ?
लालायित छन सबै यहाँ
आफ्नै तर्कको लाहाछाप गर्न
निमेषभरमै,अभिभाज्य हुन्छन
बिचार हरु।
समय छैन कसैलाई
धर्तिबाट धूलोका कणहरु निफन्न
आमा असुरक्षित छिन्
आपाहिज झै छ अवस्था
गामी,प्रतिगामीका परेडका
निशानाहरुबाट ।
सधैं हल्लै हला छ
परमेश्वोरहरुको आगमन,प्रतिगमनको
अनी दाईजो छ
त्यही अभिषप्त जीवन
सर्वसाधारणलाई सधैं सधैं
त्यसैले ---मनहरु पनि
जेरोक्स कपी भैसकेकछन
सबै,सबैका --- --।



January 15, 2009

गित - सृष्‍टि


नरेश माङपाहाङ राई
फोक्‍स्‍टोन वेलायत
हाल :अफ्‍गानिस्‍तान

सृष्‍टि गरि ईश्‍वर किन दिन्‍छौ दुःखी कर्म
कहा निर वुझी दिन्‍छौ दुःखीहरूको मर्म

त्‍यही दुःखी मान्‍छेहरू तिम्रो पूजा गर्छन
ईश्‍वर नाम जपि जपि तिम्रो शरण पर्छन
सुखी भन्‍दा दुःखीहरूकै मनमा हुन्‍छ धर्म
कहा निर वुझी दिन्‍छौ दुःखीहरूको मर्म

सु ख चैन सवै कुरा सुखीहरूलाई
जीउन पनि कति गाह्रो दुःखीहरूलाई
कून जूनीको स्राप हो कि भोग्‍नु पर्ने कर्म
कहा निर वुझी दिन्‍छौ दुःखीहरूको मर्म


के फरक छ राजतन्त्र, प्रजातन्त्र र जनबादी गणतन्त्रमा !

म आँफु आफैलाई छुचो मान्छे जस्तो लाग्छ । भन्नेले यसलाई जसरी पनि परिभाषित गर्न सक्छन । देशको बारेमा बढी गन्थन गर्दा "हो बाहिर बसेर खोक्न सजिलो छ, यहा बसेर हेर अनि थाहा पाउँछौ“ भन्ने जायज ताना सुन्न पाइन्छ , हुन त नबसेको होइन त्यो ठाउँमा, धित मरुन्जेल बसेको हो । त्यसैले पनि नबोलिकन चुपचाप बसिन्छ, त्यहि भएरै होला दौतरीबाट धेरै समय गायब भएको पनि ।

तर जति जे भए पनि मनले मान्दैन, एउटा नेपाली गित जस्तै "यो मन त मेर नेपालि नै हो .........!"
विदेशमा हुर्के बढेको भए त याद आउँदैनथ्यो होला तर त्यहि कै धुलो माटोमा हुर्केको हो । त्यसैले बेला बेलामा कन्सिरि तातिरहन्छ । तर नगर्नेले गरेन भनेर होइन गर्छु भन्नेले नगर्दा र सुधार्छु भन्नेले बिगार्दा भित्री मनलाई नै चोट पुग्दो रहेछ ।

अझ नेपालमा बसेर गर्ने, नगर्ने र विगार्नेहरुको कुराले पनि होइन। विदेशमा वसेर आंफुलाई नेपाल भन्दा सय गुणा अगाडि देख्नेहरुलाई वर्सौंसम्म नआएको देशको याद जब उमेर ढल्किन थाले पछि र गोजी पनि भरिन थाले पछि आऊंछ र विदेशमा जति नै चिल्ला कार चढे पनि र जति नै कमाए पनि चिन्ने कोहि हुदैन अनि पुन बाल्यकालमा खेलेको धुलोमा फेरि "सिंचाइ गर्छु" भन्ने झ्याली पिटेर "पिशाब फेर्न" पुग्छन तब मनले मान्दैन नबोलिकन बस्नलाई ।

आज भर्खर एउटा समाचार पढेको थिएँ, प्रधानमन्त्रिको नर्वे र फिनल्याण्ड भ्रमण (जुन स्थगित भइसक्यो) को लागि नेपालका तर्फबाट त्यस देशका राजदुतलाई सामेल गराइएको रहेनछ । राजदुत भनेको विदेशमा कुनै पनि देशको प्रतिनिधि सरकार हो । जसरि देशमा सरकारको महत्व हुन्छ त्यसरी नै विदेशमा राजदुतको महत्व हुन्छ, विदेशिहरुले स्थायी सरकारको रुपमा राजदुतलाई लिन्छन । मेरो भनाइ राजदुत को हो संग सरोकार छैन, चोर र बदमाश नै भए पनि कुनै पनि देशको राजदुत उसको पद नखोसिदासम्म सम्बन्धित देशमा त्यो देशको आधिकारिक व्यक्ति हो । प्रधानमन्त्री पत्नि समेत सामेल भ्रमणमा सम्वन्धित देशका राजदुतलाई "मितव्ययिता" का कारण समावेश नगरिएको रे ! प्रधानमन्त्री पत्नीको भ्रमणलाई मैले अस्वाभाविक मान्दिन, ठिक छ, राष्ट्र प्रमुखले आफ्नो पत्निलाई लिएर जानु कुटनीतिक र भावनात्मक दुवै कुराले जायज मान्न सकिन्छ ।

अचम्म लागेको कुरा त के हो भने नेपाल सरकारको भ्रमण टोलीमा गैर आवासिय नेपाली संघका अध्यक्ष नेपाली मुलका रसियन (Belarus) व्यापारि (?) उपेन्द्र महतोको नाम । सरकार प्रमुखको भ्रमण संगै देशका प्रतिष्ठित व्यापारीहरु पनि सामेल हुनु राष्ट्रकै लागि फाइदाजनक हो । त्यसमा उद्योग वाणिज्य महासंघका कुस कुमार जोशी छन, जुन जायज हो । तर के विदेशमा बसेर व्यापार गर्ने र यदा कदा मौकामा चौका हान्न देश आउने हरु मितव्ययी बनाउन राजदुत हटाएर जान लागेको त्यस टोलीमा सामेल हुन योग्य छन? के विषयमा व्यापार हुदैछ नर्वे संग ? जलविद्युतको सहयोग लागि हो भने विद्युत प्राधिकरणमा मान्छे छैनन र सानिमा हाइड्रोको "विदेशी" मालिकलाई लिएर जानु पर्यो ? माओबादीलाई पनि के महतोले राजालाई र पार्टीहरुलाई जस्तै खल्तिमा हालिसके ?

उनले नेपालका लागि कति गुन लगाएका छन त जापानले बनाइदिएको काठमाडौको नया वसपार्क हेरे पुग्छ, युरोपियन स्तरको बनाउंछु भनेर काठमाडौ महानगरसंग लिएको गोंगबु बसपार्कबाट कति कुम्ल्याइसके तर हविगत के छ हेर्दा थाहा हुन्छ ।

त्यसैले म अचम्ममा छु , १५ वर्ष अगाडिको देश र अहिलेको देशको चाल देखेर । जहां परिवर्तनको नाममा च्यात्ने, भत्काउने, बिगार्ने, खाने काम मात्र चालु छ अगाडि जाने सबै बाटाहरु बन्द छन ।

पर्दा पछाडिबाट देश "खेलाउनेहरु" उहि छन, देश हाक्छु भन्नेहरु फरक भए पनि । केलाई मान्ने हो परिवर्तन ? कुर्सीमा बस्ने परिवर्तित व्यक्तिको अनुहारहरुलाई ? के अझै पनि आश गरिरहनुहुन्छ देश परिवर्तन हुन्छ भनेर ?

हो मैले बुझेको पुरानो र नया नेपाल यहि हो , जहाँ देशलाई लुट्न देश भित्रका मात्र हैनन विदेश देखि नै "एन आर एन" को खोल भिरेर होस वा सुजाता जस्तो पासपोर्ट फ्याँकेर गइरहन्छन । अनि राजा देखि क्रमभंग गर्छु भन्नेहरु सम्म उनिहरुको पंजामा फसिरहन्छन । जहां परिवर्तन कुर्चि माथि बस्ने अनुहारको र तौलको हुन्छ देश उहि नै रहन्छ परिपाटि उहि नै रहन्छ अझ झन खस्केला । त्यसैले तन्त्र मन्त्र परिवर्तन हुदैमा केहि हुन्छ भनेर सोच्ने हाम्रो सोचाइलाई धिक्कार छ ।

मेरो बुझाइ यहि हो , गलत रहेछ भने कृपया सुधारिदिनुहोला, होइन भने देश बनाउन बन्दुक उठाउनै पर्छ भन्ने छैन , आवाज नै काफी छ, आउनुहोस विकृति र विसंगतिको विरुद्द खुलेर लडौं , देशकोलागि अरु नगरे पनि यति त गर्न सकिन्छ !


January 14, 2009

लुना द न्यु ब्लगरको - मथिङ्गल खलबल

- लुना

प्रकाश एअरपोर्टमा (काठमान्डौ एअरपोर्ट) ओर्ल्यो। उस्लाई एक धड्कन सासले पनि आज मुटुमा भयन्करसँग छोए झै महशुस भएको छ । यस्तो छुवाइले यती पीडा देला भन्ने उस्ले महशुस गरेको थिएन । जब " पृथ्वी " ब्लगमा उस्को एक पाठक (मायालु साथी नै भनु) बहुलाएकी खबर पढ्यो तब उस्को आत्माले निर्क्योल गर्‍यो उ नेपाल जानेछ र चन्द्रालाई भेट्नेछ । यसै पनि उसलाई अक्टोबरमा पारिवारिक भेटघाटकोलागि नेपाल जानु थियो । जसो तसो उ जुलाईमा मिलाएर गयो । आज जुलाई ९ तारिखको दिन उ काठमान्डौ एअरपोर्टमा पाइला राख्दै चन्द्राको ठेगानामा पुर्याइदिन ट्याक्सी ड्राइभरलाई अनुरोध गर्छ ।

ट्याक्सी एअरपोर्टबाट हिंड्यो । गेट बाहिर पुगेपछिको भिषण ट्राफिक जामले उसलाई गोगबु प्रहरी चोकसम्म पछ्याइरह्यो । यसै त चिसो मुलुकबाट फर्किएको उ झन काठमान्डौको जुलाइको गर्मीले असिन पसिन भयो । झन चन्द्राको अत्यासले उ निस्सासियो । ट्राफिक जाममा परेका सवारी साधनका धुँवाले उसको नाकलाई पोल्दै फोक्सो र मुटुसम्म पुगेर कुस्ती खेलिरहेको थियो । उ ती कुस्ती खेली रहेको धुबालाई बेवास्ता गर्दै आफ्नै मथिङ्गलसँग कुस्ती खेलिरहेको थियो त्यो ट्राफिक जामको पट्यार लाग्दो पर्खाइ भित्र ।

उस्ले चन्द्रालाई कम्प्युटरमा "ज्ञ" टाइप गर्न सिकाएको थियो । कस्तो क्षण थियो त्यो ! "प्रकाश सर ! ज्ञ लेख्न आएन मलाई !" चन्द्रा भन्थि, अनि प्रकाशले यसो गर उसो गर भन्दा चन्द्रा यताउता टाइप हान्दै दिक्क भएकी थिई । त्यही बेला प्रकाशले चन्द्राको औंला समातेर "यि यसरी टाइप गर" भन्दा कस्तरी दुबैको जिउ सिरिङ्गग भएको थियो ! प्रकाशको छातीले चन्द्रालाई घप्लक्कै छोपेर टाइप सिकाउदा चन्द्रा फत्रक्कै गलेकी थिई । एक छिन् त तातै भएर संसार नै आगो बले जस्तो देखेकी थिई , त्यस्तै महशुस प्रकाशले पनि गरेको थियो । त्यसपश्चात दुबै झस्किएर अलग भएका थिए । यिनै मिल्तीका दिनहरुमा चन्द्रा र प्रकाशको बिचमा देशको परिस्थितीको बारेमा गम्भिर छलफल हुन्थ्यो । दुबै अत्यन्तै चिन्तीत थिए आफ्नो मुलुकको लागि । दुबै बिदेशमा तर आत्मा दुबैको नेपालमा थियो । अन्य कुरामा छेड् छाड् भएर झगडा परे जस्तो भए पनि जब नेपालको विषयमा कुरा निस्कन्थ्यो तब दुबै एकै भावले गम्भिर हुन्थे । कुरा गर्दै जादा दुबैको आँखामा आशु भरिन्थ्यो । कहिले काही प्रकाशले भन्ने गर्थ्यो "चन्द्रा ! तिमी सार्है भाबुक छ्यौ , पागल हुन्छ्यौ है यसरी सोच्न थाल्यौ भने !" चन्द्राले जिस्किएर भन्थी - "पागल भए तिमीले सम्हाली देउला नि त मलाई ! बरु त्यो दिन छिट्टै आओस ! म तिमीलाई यही बहानामा निस्फिक्रीसँग अगालोमा बाध्ने थिए ।" चन्दाले यसोभन्दा प्रकाश बेसरी तर्सिएको थियो ! साच्चैको कल्पना गरेर ! त्यो देखेर चन्द्रालाई दया माया लाग्यो । उसले त्यतिबेला "धत ! जोक पो गरेको त !" भनेर प्रकाशलाई फुल्याएकी थिइ ।

प्रकाशको जिन्दगी नै साहित्यक क्षेत्र थियो । यसैमा उ आफूलाई जिउदो पाउथ्यो । त्यो चन्दाले पनि बुझेकी थिइ । उ जतीखेर प्रकाशको लेख प्रकाशित हुन्थ्यो उत्ती नै बेला पढेर त्यसमा प्रतिकृया जनाइहाल्थी । खान-निदाउन यतीसम्म कि ट्वाइलेट जाँदा पनि प्रकाशको लेख पढेर उ सोच्थी कहाँ के प्रतिकृया दिनु पर्छ भनेर । चन्द्राको यो झक्झक्याउने उर्जाले प्रकाशलाई सधैं लेख्न प्रेरित गरिरहन्थ्यो । यस्तै यस्तै नाताबाट आज चन्द्रा प्रकाशको हृदयमा बसेकी थिइ । जब प्रकाशले उसको प्रिय मित्र बहुलाएको खबर "पृथ्वी" ब्लगमा पढेको थियो तब देखि प्रकाशको शान्ति हराएको थियो ।

उ यस्तैकुराहरु सोच्दै थियो, परबाट एक हुल आन्दोलनकारी 'जिन्दाबाद ' ! 'मुर्दाबाद ' ! नारा लगाउंदै अगाडि बढिरहेका थिए , उ अतितबाट झस्कियो । "ओहो......!" पर मान्छेको हुल देखेर उ दौडिएरै चन्द्राको घरसम्म पुग्ने बिचार गर्‍यो । उस्ले ट्याक्सी ड्राइभरलाई भन्यो, "दाई ! पैसा लिनुस् ! म दौडिएर जान्छु ।" ड्राइभरले भने, "भो, ओहो ! हजुर ! कसरी त्यति टाढा पुग्नसक्नु हुन्छ ! एकछिन् पर्खनुस् !" प्रकाशले भन्यो, "दाई ! सक्तिन म पर्खन ! यहाँ एक छिन् पनि पर्खिन सक्तिन म ! मेरो यो छ्ट्पटिएको मनले बरु दौडिएर नै शान्ती प्राप्त गर्ला ! म एक मिनेट पनि यो समयसँग रोकिन सक्तिन !" उ आँफै नै बहुला झै दौडियो ! करीब साँझतिर उ चन्द्राको बासस्थान भएको गाउमा पुग्यो । चन्द्राको तस्बिर देखाउंदै घर सोध्यो । अलि पर पुगे पछि चन्द्राको घर आयो । जसै जसै चन्द्राको घर नजिक आएको थियो उसको मुटुको धडकन निस्सासिएर बढी रहेको थियो .......... उसले गेटको प्वालबाट चियाएर हेर्यो ! चन्द्रा बरन्डामा बसेर एक्लै फत्फताइ रहेकी थिइ .... "प्रकाश ! प्रकाश ! उमालाई बचाउ ! !! प्रकाश त्यो मलाई पनि मार्न आउँदै छ !" अनी एकै छिनमा उ फेरी हास्न थाली !

"मथिङ्गल खलबल "