January 14, 2009
सरकार, कलम र दुई थोपा आशु
गोकुल बिबश ढकाल
ईतिहासको यो कालखन्ड सम्म शायद नेपाली जनताले हजारौ शासकहरु देखे र भोगे, चाहे ति शासक पृथ्वीनारायणको रुपमा हुन वा बहादुर शाहको भेशमा । जङ्बहादुर वा चन्द्रशमसेरको रुपमा होउन वा मनमोहन, गिरिजा वा नयाँ नेपालका नयाँ शासक प्रचन्ड कै घमन्डताको स्वरुपतामा नै किन नहोउन । ति सबैका रुप र भेशमा तातो खरानी भन्दा केही देखिएन । भनिन्छ नि, जुन जोगी आए पनि कानै चिरेका । शाहहरुले कान चिरेर दासता, सामन्ती सोच र पाखन्डिपनाको गहना लगाएका थिए भने ०४६ साल पछी आएका प्रजातन्त्रका हिमायाती भनाउदा हरुले भ्रस्टाचार, परिवारबाद र नोकारीपनाको मुन्द्रा लगाए - कानमा भने, पन्ध्र हजार नेपालीको ज्यान जाने गरी थालिएको "प्रजातान्त्रिक र गणतान्त्रिक अभ्यास" बाट आएका शासकहरुले आज महङ्गी, हत्या र आतंकका गहना लगाएका छन ।
हिजो यिनिहरु सबै काशिका जोगीले जसरी पहेलो बस्त्र पहिरिएर जनता सँग भिख माग्थे, आज जनतालाई नाङै बनाएर लुट्न सिकाएका छन । सिंह दरवार अगाडि महिलाले नाङै बिकासको भिख माग्दा पनि यिनका घैटामा घाम लागेनन । आज जनता सबै जोगी भएका छन । सबै जोगी भएपछी भिख दिने को ? को सँग माग्ने भिख ? त्यसैले परिवार पाल्न नसकेर राम कृष्णहरु बिख पीइ आत्महत्या गर्न वाध्य भएका छन । हामी जनता चाँही लाटो कोसेरो जसरी राम कृष्णको परिवार बिचल्ली भए जसरी भोको पेट र बढेका नङ्रा देखाएर बस्न वाध्य भएका छौ । अब यहाँ सम्झन मन लाग्छ, हाम्रा पुर्खाले स्वतन्त्रताको लागि लडेका लडाईंका के अर्थ ? सुक्रराजहरु फासिमा झुन्डिएर छातीमा गोली थापेको के अर्थ ? जीवनहरु लोकतन्त्रको लागि लडेर अपाङ्ग भएको के अर्थ ? पुर्खाको बलिदानिको नाममा बनेको ट्रस्ट पञ्चेहरुको मागी खाने भाडो भएको छ, सुक्रराजहरुका नाममा बनेका स्कुलहरुमा केबल समानती र शोषक-शासक हरुका बचेँरा खेल्ने पाठशाला भएको छ भने जीवनभर अपाङ्ग बनेका जीवनहरुको नाममा ति शासकका भाई भतिजाहरुले मोटरसाईकल र महङा मोबाईल सेटहरु बोक्ने माध्यम बनएका छन । अतएब: हामीले के पायौ त आखिर ? जनताको सहि बिचार छापिने कुनै पत्रीका छैन देशमा । सबैका आवाजहरु धम्किले पेलिएका छन, निमिट्यान्न भएका छन । स्वतन्त्रताको कसम खाइ खुलेका संचार माध्यामहरु कि त कांग्रेसी मुखपत्र भएका छन, कि त तिनिहरु एमालेको महाधिबेशनको घोषणापत्र बनेर बासिरहेका छन कि त भने वाइ. सि. एल . का आतंकको गुणगान गाउँ मै ब्यस्त छन । १३० सालको राणा शासनले नदेखाएको बर्बर आतंक आज हामी खेप्न वाध्य छौ । कोही बोल्यो कि भोलिपल्टै अपहरण अनी सदा भरी बनमारा घारिको बास - खुकुरिको छप्काइले । बल्ल बुझियो, यही रहेछ, प्रजातन्त्र । यती दिन आएको रहेछ लोकतन्त्र । धन्य शाहहरु, कोइराला र अधिकारीहरु अनी बर्तमान दाहालहरु ।
पञ्चायत बखत लेखिने कलमहरु मात्र भाचिदिन्थे रे - शासकहरु । तर आज यहाँ पत्रकारको कार्यालयसङै उनैको घाटी भाचिएका खबरहरु सेलाउन नपाउदै उमा सिंहहरु गिडिन पुग्छन । शासकहरुका गलामा पाच तोलाको सुनको सिक्री हुन्छ, दाईजो प्रथाको बिरोध गर्दा अनी सत्यतामा पत्रकारिताको आफ्नो जीवन देख्ने उमाहरुको घाटिमा पाच जना होइन पन्ध्र जना लफुङाहरु पाच किलोको खुकुरीले टाउको रगेट्छन । आतंकको यो भन्दा बढी सिमा अरु के हुन्छ ? हिजो खुकुरी र बन्दुकहरु प्रधान भए, आतंकको साधन । लोकतन्त्रको बहाली पश्चात कलमहरु टुक्राउने गतिलो सहारा भएर मौलाएको छ फेरी बन्दुकतन्त्र । कृष्ण सेनहरुका जीवन समाप्ती कसरी भए भन्ने कुरो पनि यहाँ उठ्नु स्वाभाबिक छ तर समाज कता गयो ? हामी कता जादैछौ अनी हाम्रा यि शासकहरुले हामीलाई सस्तो डलरको भाउमा कतै बेचिरहेका त छैनन, मोरियार्ती त पावेलहरुलाई ? बिजुली नभएको अन्धकारमा महाकालीको कसम सम्झेर यिनिहरुले मौका छोपी भारतीय मुद्रामा त बेचबिखन गरिरहेका छैनन भन्ने प्रसँग अब अनौठो नलाग्दो भएको जस्तो छ । मुलायम सिंहहरु आउनु अनी उमा सिंहहरु काटिनु, शिवशंकरहरु आउनु अनी नारायण वाग्लेहरु थुनिनु अनी मोरियार्टिहरु फर्कनु, "जनसेनाका" कमाण्डरहरु गर्जिनु के नेपालमा कलम बलियो भएरै हो त ? या त बिचार र कलमका प्रतिमुर्तिहरु तिनै उमाहरुले सत्यताको बखानमा पत्रकारिताको मान्यता निभाएर हो ?
धेरै दियोहरु निभिसके । त्यसै त अन्धकार देश दैनिक सोर्ह घण्टा सुत्छ । महाकालीहरु बगेको बेगले भारतीय दलालहरु ब्युझन्छन तर गण्डकीको आशु सुकेर सगरमाथाको न्याउरो अनुहारमा हाम्रो देश दिनदहाडै निदमा मस्त छ । यही अन्धकारको मौका छोपी दलालहरु चन्दन ओसार्न ब्यस्त छन भने बामदेवले सुकाएका बारहरु झनै मज्जाले नग्नतामा नाच्न मस्त छन । तर उता मैनबत्तिको सहारामा जनकपुर थर्काउने उमाहरु अन्धकारैमा निर्दोश जिन्दगी खुकुरी र भालाले गिडाउन तयार छन । सतिले सरापेर कहिल्यै आमाहरुको आँखा ओभानो न्भएको यो मुलुकमा हाम्री र उमाकी आमाहरु फेरी एकचोटी चिच्याउदै रोइरहेका छन नै अनकन्टारमा बिलौना गरिरहका छन, फर्कन्छन कि फेरी उमाहरु भनेर । सुन्देलान कि हाम्री र उमाकी आमाका चित्कारहरु भनेर । तर रगतको खोली बगेको मुलुकमा आमाहरुका दुई थोपा आशुको के महत्व ? कसले सुनुदिने बिलौना ? देख्ने, सुन्ने र भोग्ने हरुका आँखाबाट मात्रै चुहिदारहेछन, आमाहरुका आशु जस्तै दुई थोपा आशु त केबल दुई थोपा आशु हजुर ।
राष्ट्रिय गीत - नेपाल नेपाल
शेखर ढुंगेल -१-१०-०९
नेपाल नेपाल नेपाल
यो मेरो नेपाल हाम्रो नेपाल
हिम्चुली को आँगन मा
मादल को ताल मा
नाच्दै हिंड्ने फुल्बारी
हो यो मेरो नेपाल हाम्रो नेपाल
---------------
कस्ट जस्तै पाए पनि
दुस्मन सीत् डटी लड्ने
हाम्रो ऊच्च वीर गाथा
राखी छाती मा चन्द्र सुर्य
गर्छौ गर्ब आफ्नै ईतिहास मा
हो यो मेरो नेपाल हाम्रो नेपाल
-------------------
हामी कहिल्यै झुकेनौ
अब पनि झुक्दैनौ
हामी फस्दैनौ दुस्मन को जालमा
हिमाल पहाड तराइ गाउँछ
एकै सुर र तालमा
हो यो मेरो नेपाल hamro Nepal
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 13, 2009
आफ्नै भावना दौतरी प्रती
आफ्नो यात्राको झन्डै दुई दसक बित्न लाग्दा पनि यो यात्राको तीर्खा मेट्न सकिन। हुन पनि हो। जो कोहिमा प्रतिभा छ, प्रष्फूटन गर्ने ठाउँ छैन। कला छ, स्थान छैन, भावना र चाहना छ, हौशला छैन भने त्यस्ता प्रतिभाहरु त्यसै सेलाएर, मरेर जान्छन। तर अहिले हामीले त्यस्तो ब्यथा झेल्नु परेको छैन। यस्तै आफ्नो प्रतिभा पोख्ने बिसौनी पाएकाछौँ। हामीले सबै अनलाइन पत्रीकाहरु प्रती अनुग्रहित हुनै पर्छ। एक जमाना त्यस्तो पनि थियो। जतिबेला आफ्ना रचना हरु झोलामा बोकेर छपाइ माग्ने अनुनय बिनय गर्दै हिंड्नु पर्दथ्यो तर अहिले हामीलाई त्यस्तो परिस्थितीसँग सामना गर्नु परेको छैन। त्यो आफ्नो रचना छापिए वापत रु एकसय पाउदा पनि हामी कत्ती हर्षित हुन्थ्यौ। महिनामा यौटा रचना छापिए भने हामीमा खुशीको सिमाना रहदैनथ्यो। त्यही एकपटक छापिएको रचना पढेर नै मलाई त दिनको पच्चिस-तीस वटा मेरा शुभ चिन्तकहरुका पत्रहरु आउँदथे। हो त्यही पत्रहरु नै मेरा लेखनयात्राका प्रेरणाहरु हुन। म ती पाठक र मेरा प्रेरकहरुलाई कहिल्यै भूल्न सक्दिन। वहाँहरुका प्रेरणाले नै मलाइ यहाँ सम्म आज ल्याइपुर्याएको छ। म सबैप्रती हार्दिकता प्रकट गर्दछु। आज म बिदेशमा छु ता पनि आफ्ना मनका भावनाहरु बिसाउने चौतारी पाएर म आफ्नो भावनाहरुलाई सबै सामु पोख्न सक्षम भैरहेकिछु जसरी आज दौतरिको छात्तिमा मेरा भावना र चाहनाहरुलाई सबै सामु छरी रहेकी छु। आशा छ म आफ्नो देशमा नभए पनि मेरा श्रीजनाहरु मेरो देशमा जीवन्त हुनेछन। जसरी मैले ''परदेशबाट''भन्ने कबिता सङ्रह आफ्नो देशको सम्झनामा समर्पण गरें जस्लाई अलिक ढिलै भए पनि दौतरिले सार्वजनिक गरिदियो। दौतरी म तपाईं प्रती आभार प्रकट गर्दै त्यही सङ्रहभित्रका एउटा कबिता सुम्पदै छु। आज्ञा अवश्य दिनेछौ दौतरी जुन कबिता ले २०५४ मा राष्ट्रिय पुरस्कार ग्रहण गरेको थियो। म मेरा पूराना शुभचिन्तक हरुमा फेरी यो कबिता मार्फत झुल्किन चाहन्छु दौतरिको सहारा लिएर ।
''नासो''
जिजीबिषाको खोजिमा उस्ले
कयौ पटक सर्टिफिकेट्लाई
फोटो कपी गर्दा गर्दै
अब त ---उस्को प्रमाणपत्रको
असली रूप नै मेटिसकेको छ ।
अनी--- असंख्य पाषाण मुर्तिहरुसँग
बिन्ती चडाउदा चडाउदै
उस्को अभिष्ट माथि
बज्रपात हुँदै गैरहेछ।
नौलो,नौलो भलाद्मिका अनुहारहरु
पढ्दा पढ्दै अब त ---,
ऊभित्रका आकाक्षाका अक्षरहरु
क्रमश:मेटिदै गैरहेछन।
आज एउटालाई भेट्ने
भोली अर्कोलाई सिफारिस
चडाउने क्रममा
उस्को आयु पनि छोटिदै गैरहेछ।
दिनानुदिनको दौडाइमा
ऊ त्यही रह्यो,त्यस्तै रह्यो ,
बरु ---सर्टिफिकेटले बुढ्यौलिको रूप फेर्यो
उस्को टाउकोमा सेत्ताम्मे कपास फूले
त र ---उस्ले जिजीबिषाको
अडान पाउन नसकी
लाछी मन लिएर म्रीत्यु पर्खिन
वाध्य हुनु पर्यो,
प्रमाण पत्रलाई केवल
''नासो''सम्झेर
बाँच्न मन्जुर हुनु पर्यो ।
(२०५४ साल मा नव कविता राष्ट्रिय पुरस्कार प्राप्त भएको कबिता )
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
के भनु र खै?
आज नेपाली खबरमा त्यही छायो जस्ले सबैलाइ नरमाइलो बनायो। एउटा अबला नारी,वरीपरी दर्जनौं गुण्डा। कलम बोक्ने ती साहासी महिलाको खुकुरी बोकेका कायरहरुले जिबन खोसे। नेपालमा आजकाल मानब अधिकार त हराइसक्यो। आमाका कोख रित्तीने,पत्निका सिन्दुर पुछिने, दुधे बालक टुहुरिने दिनानु दिन भइरहन्छन, तर उमा सिंहको हत्याले हामीहरु पशु भन्दा पनि तल गयौं कि झस्काइरहेको छ। अब त शान्ती भयो कि भनेको हामी झुक्किएछौं। भोली कसैले अपराध गरेको आरोप लगाउला, कसैले कारबाही गर्ने बचन देला तर मर्ने मार्ने काम भुतपूर्व शान्ती क्षेत्र नेपालमा रोकिने भएन।
भोलीको नेपालका बाटा धेरै छन, सबैले भन्छन हामी झन अग्रगमन तिर लम्किदै छौं। कतै हामीले एकै फड्कोमा मानबताकै छलागं त पार गरेनौं? । देश बिकासको नाममा, नया नेपालको नाममा आज हामीलाइ बाच्न पनि मुश्किल भएको छ। घरबाट निस्के भरे फर्किने हो कि होइन पत्तो छैन,आज थाकेर सुतेको ज्यान भोली उठ्ने हो कि होइन ग्यारेन्टी छैन। हामी अनिस्चित नेपाल तिर लम्किदै छौं। जत्था जत्था झुन्ड झुन्डमा बाडिएको बर्तमान नेपाले त्यसै त हामीहरुलाइ हिनताबोध गराइरहेको छ, उमा सिहंको घटनाले त मुख नै बन्द गरायो। अनुहार नै कालो बनायो। के भनु र खै?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
माघी, कमैया र कम्लरी
बसन्त-
प्रत्यक बर्ष माघे संक्रान्ती लाई नेपालका आदिबासी थारु समुदायले माघी पर्बको रुपमा मनाउछन। घर्-घरमा जाड-रक्सी बनाईन्छ। सुङुर काटिंछ र ढिक्री पकाईन्छ अनि नांच गान गर्दै रमाइलो हुन्छ।आफ्नै परम्परागत किसिमका बिशेष खानेकुरा पाक्छन। अनि कोसेली बोकेर नातेदारको घरमा गै शुभ-कामना आदान प्रदान गर्ने चलन छ। केहि बर्ष पहिले सम्म जाडले मात्तीएका र अतिहुदा बाटोमा लडीराखेका हुन्थे। र यो क्रम आजकल कम भएको हुनुपर्छ। यो महत्वपुर्ण सास्कृतिक पाटो सङै अरु दुईवटा पक्षहरु माघी सङ जोडीएर आउने गर्छन। पहिलो हो कमैया र कम्लरी प्रथा अनि दोश्रो हो अधीया प्रथा। माघी यो समुदायको नंया बर्ष पनि हो। धेरै बाचा-बन्धन र ब्यवहारीक कुराहरुको सुरुवात र अन्त्य यसै समयमा हुने गर्दछ। अन्य जात जातीले यो पर्ब आफ्नै तरिकाले मनाउछन्। थारु बस्तीमा हुर्केको, बढेको नाताले आफुले देखेका कुराहरुमात्रै यहा राख्ने जमर्को गरेको हुँ।
कमैया प्रथा अहिले त उन्मुलन् भैसकेको छ। उनिहरुको बिभिन्न मागहरु पुरा गराउन भलै अझै आन्दोलन् गर्न किन नपरोस। दश बर्ष अघि सम्म पनि यो नराम्रो प्रथा हो भनेर सायदै कमै मान्छेले लिन्थे होला। अझै पनि स्कुल जाने उमेरका केटीहरु कम्लरी बसेकै होलान-ठुला नेता देखी सहरियाहरुको मा। तर यो निकै कम् भैसकेको छ। मेरो बिचारमा कमैया र कम्लरी प्रथा दास प्रथाकै आधुनिक र अर्को रुप हो। श्रम शोषण त छदै छ। यो सङ सङै मानसिक, सामाजिक, कम्लरीहरुको यौन शोषण हुन्छ। न्युन पारिश्रमिकमा काम गर्ने, काम गर्ने समय निस्चीत नहुने-उठे देखी नसुते सम्म काम गर्नु पर्ने। बिरामी भयो भने उपचारको कुनै ब्यवस्था नहुने। लाउने खाने को त कुनै कुरै नहुने। कमैयाले बाहिरको काम गर्ने-खास गरि खेतिपाती सम्बन्धी काम। कम्लरीले घर भित्रको सबै काम-नानी बाबु हेर्ने देखी लिएर भान्साको काम गर्नु पर्ने।
मैले त्यति बेला देखे अनुसार हाम्रो गाउ तिरका थारुहरु तिन खालका थिए आर्थिक अनि सामाजिक हिसाबले पनि। सबै भन्दा तल त कमैयाहरु हुने नै भए । अनि त्यसपछि अरुको जग्गा अधिया जोत्ने र नम्बर एक आफ्नै जग्गा भएका अलि सम्पन्न। आफ्नै सम्पत्तीले खान लाउन पुग्ने। नम्बर एक समुहका अलि पढे लेखेका पनि। अनि केहि हल गोरु वा राङा भएकाहरुले अरुको जग्गा अधीया जोत्न पाउछन। गोरु भन्दा राङा नै जोत्ने। त्यसको फाईदा भनेको जोत्ने बेला सम्म जोत्यो अनि बुढो भयो भने मो:मो जिन्दाबाद। गोरुलाई त्यसो गर्न मिलेन। बिचरा एक हल राङा पनि नहुनेहरु कमैया बस्नु पर्ने। परिवार नै अरुको घरमा। बाउ कमैया, आमा ओर्गीनि, छोराहरु गोठालो, छोरिहरु कम्लरी। प्राय जसो लोग्ने मान्छे जुन घरमा कमैया बस्यो त्यही घरमा आइमाई ओर्गीनि हुने। छोरिहरु पोखरा, काठमान्डौ तिर। कतिपय त्यतै हराएर गए। मेरै छिमेकी परिवार आफ्नी हराएकी छोरि खोज्दै हिडेको देखेको छु। ओर्गेनी र कम्लरीको यौन शोषण पनि हुन्छ। त्यसको कुनै सुनुवाई नै नहुने। एकजना जमिन्दारको बिग्रेको छोराले बाबु आमाकै अगाडी छोरिलाई जबर्जस्ती बलात्कार गर्थे। त्यसको कसैले प्रतिकार गरेको मैले थाहा पाइन।
खुशीको खबर के छ भने यी प्रथा र बिकृतीहरू बिस्तारै कम हुदै छन। आशा गरौ यो माघीमा गत साल कमैया, कम्लरी र ओर्गिनि बसेकाहरुले पुन नयां सालमा नबिकरण गर्न नपरोस। बास्तवमा यो एककिसिमले दशकौ देखी चलि आएको हुदा जिबन पद्धति बनिसकेको थियो। अनि सामाजिक संरचनामा घुसेको थियो। अब आफ्नो काम आफैले गर्ने बानि बसाल्ने र आफ्नो जग्गा आफुले जोत्न सके मात्र राख्ने गर्यो भने यो प्रथा कम होला। अर्को तिर ति गरिबहरुको जीबन यापनको बैकल्पिक ब्यवस्था गर्नु पर्छ।
एकपटक फेरि: सखिए हो माघकी गुरि गुरि जांड
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 12, 2009
आकार पोष्टको ब्लग-यात्रा
यहाँहरु कतिजनालाई थाहा छ, ब्लग भन्ने कुरा प्राय: सबै सोसल नेटवर्किङ साइटमा राखिएको छ, भलै नाम जे राखिएको भएपनि । यति भुमिका बाँधिसकेपछि, भनौँ मेरो ब्लगिङ इतिहास जुलाई २००६ देखि सुरु भयो, याहु को ३६० डिग्री http://360.yahoo.com/aakar19 पेजबाट । पहिलोपटक ब्लग भनेर याहू को पेज मा देख्दा के गर्ने होला, भनेर केही समय त अलमल मा परीयो तर फेरी खै, कसरी आफैँ ब्लग भनेको त आफ्नो लेख्ने चिज पो हो त भनेर ज्ञान आयो । ब्लगमा केही कुरा त राखेँ तर कहिले पनि आफूले लेखिन, आफूले लेखिन भन्ना को मतलब कपि पेष्ट गर्दैबसेँ, भनौँ न मलाई मन पर्ने परिकारहरु को कलेक्सन थियो त्यो । अब ब्लगबारे चुरो कुरो नबुझी, यसको उपयोगिता नबुझि, ब्लग भन्दैमा लेख्ने कुरा त पक्कै आउँदैनथियो । हो, आएन, म कपी पेष्ट गर्दै रहेँ, याहू ३६० मा अनि साथीहरु बनाउँदै गए, कारण खासमा याहू को ३६० पेज, सोसल नेटवर्किङ पेज थियो ।
एकपटक कान्तिपुर दैनिक मा दिनेश वाग्लेको ब्लग बारे सानो जानकारी छापिएको रहेछ, अन्तिम पृष्ठमा, जसमा भनिएको थियो “ब्लग” भन्ने शब्द टाइप गरेर सर्च गर्नासाथ हजारौँ साइटहरु देखापर्छन्, अनि ब्लग का लागि हिजोआज स्पेश निशुल्क उपलब्ध छन् । त्यती भनेपछि के चाहियो र, सर्च गरे गुगलमा पहिले नै ब्लगर भन्ने साइटमा छिरियो, अनि यतै हराइयो । अनि त्यसबखत रजिस्टर गरिएका ब्लगहरु अस्तित्व मा पनि छैनन् । करिब डेढ वर्ष अगाडि जति, फेरी एउटा ब्लग बनाए आकारपोष्ट, अनि यसैलाई निरन्तरता दिइरहेकोछु । अनि मैले भन्न छुटाउन नहुने कुरा, ब्लगमा आफ्नै विचार लेख्न रुपेश सिलवाल http://nepal.mypodcast.com/ ले नहौस्याएका भए, सायद म अझै कपि पेष्ट गर्दैमा व्यस्त हुन्थेँ होला ।
कहिलेकाँहि गफ पनि, दिक्क लाग्दो हुन्छ । म बुझ्छु तपाईहरु यस्तै यस्तै सोच्दैहुनुहुन्छ होला ! तर अब हाम्रो नेपालियन जी ले फर्म्याट नै त्यस्तो दिनुभएको छ, आफ्नो ब्लगिङ इतिहास भनेर, भने म के गरौँ हैन र ?
आकार ले आफ्नो ब्लग “आकारपोष्ट” को चर्चा नगर्ने त कुरै भएन । खासमा भन्दा, म आकारपोष्टलाई सबैकुराको सम्मिश्रण भन्न रुचाउँछु । सायद घमन्ड गरेको पनि ठहर्ला तर ब्लगमा टेक्निकल विषय देखि लिएर राजनिति सम्म का कुरा गरिएकाछन् । अनि व्यङ्ग्य देखि लिएर खबर समेत अटाएका छन् ब्लगमा, त्यसमध्ये पनि प्राय: पोष्टहरु नेपाली मै लेखिएकाछन्, अत: आकारपोष्टलाई नेपाली ब्लग भन्दा पनि फरक नपर्ला । तर आकारपोष्ट मेरा दैनिक गतिविधि समेटिएका पर्सनल डायरी भने हैनन् ।
खासमा लेखाइ भनौँ या ब्लगिङ भनौँ यो पनि एक प्रकार को नशा नै रहेछ । यसो सोच्दा, लेख्ने कुरा के होला र जस्तो लाग्थ्यो ? स्तम्भकार ले पत्रिका मा कसरी लेख्न सकेका होलान् जस्तो लाग्ने गर्थ्यो ? तर अहिले थाहापाइसकेँ कि, लेख्न कोशिस मात्रै गर्ने हो भने, धेरै लेख्न सकिँदोरहेछ, आफ्ना मनलाई छताछुल्ल पारेर ब्लगमा राख्न सकिँदोरहेछ । मलाई पनि खासमा त्यस्तै लागिरहन्छ, हरपल अनि हरेक चिज आफ्ना लेखनीका विषयवस्तु बनाइहाल्छु तर मन मा आएका सबै भावना खै किन हो, लेख्न सकिरहेकोछैन । अनि मुटुमा हात राखेर भन्दा, भर्खरै लेखिएको पोष्ट “आक्रमण र विरोध” http://www.aakarpost.com/2008/12/blog-post_23.html भन्ने पोष्ट मलाई अहिलेसम्म चित्त बुझेको पोष्ट हो । भ्याएसम्म, ब्लगमा हाजिर भैरहेको हुन्छ, विभिन्न वाहाना मा । कहिले फोटो ब्लग को निहूँ गरेर त कहिले अडियो ब्लग को निहुँ गरेर । अनि अहिलेसम्म सन्तुष्ट छु, आफ्नो लेखाइबाट अनि अझै सुधार को प्रयास पनि गरिरहेको छु । अझ, ब्लगमा आउने कमेन्ट ले त जुरुक्कै उचाल्छ, अत: सम्पुर्ण ब्लगर मित्रहरुलाई यहीँ बाट नै हार्दिक धन्यवाद पनि दिन चाहन्छु यहाँहरुको ताली र गाली का लागि।
ब्लग मुख्यत: आफ्नै कुरा राख्ने ठाउँ हो । यस सिलसिला मा नेपाली ब्लगरहरु शिष्ट नै मानिन्छन् कारण प्राय: ब्लगरहरु मनपरी बोल्दैनन् । अनि कहिलेकाहीँ भाषिक ज्ञानको कमी या भनौँ टाइप मिस्टेक भएर, अर्थ को अनर्थ लागेका ब्लगहरु भने प्रशस्त नै भेटिएलान । साँच्चै, भन्दा, हामी व्याकरण मा चाँहि त्यति सारो चासो दिइरहेका छैनौँ । तर सकेसम्म म व्याकरण मा चाँहि ह्रस्व, दीर्घ को नियम भने पालना गर्ने कोशीस गर्छु, अरु कुरा त त्यस्तै हो, नेपालीमा अंग्रेजी भने सँगसँगै जोडिएर आइरहेकाहुन्छन्, प्रत्येक वाक्यमा ।
मलाई सँधै अचम्म लाग्ने कुरा के हो भने, कुनै ब्लगर ले केही कुरालाई आफ्नो तर्फबाट मात्रै विश्लेषण गरेको छ भने, हामी पनि हो मा हो नै मिलाइरहेका हुन्छौँ, प्राय: अधिकांश सन्दर्भमा । हामी विरलै मात्र हाम्रा ब्लगहरुमा अरुको फरक दृष्टिकोण पाइरहेका हुन्छौँ । सायद, ब्लगरहरु एकै किसिम ले सोच्न् कि जस्तो पनि लाग्ने गर्छ कहिलेकाँहि ।
अनि प्राय: म आफूले भ्याएका र जानेबुझेसम्मका सबै ब्लगहरु हेर्नेगर्छु । मलाई लाग्छ, लेखेर मात्र केही हुँदैन, अरुले लेखिएको पढिएन अरु को विचार बुझिएन भने, आफूले लेखेर मात्र पनि केही काम छैन । यहाँ नाम तोकेरै यही ब्लग हेर्छु भन्ने छैन, लिस्ट धेरै लामो छ । हुन त म पेशाले विद्यार्थी तर फुलटाइम ब्लगर जस्तो लाग्छ, आफुलाई किनभने म प्रत्येक पटक अनलाइन चहार्दा ब्लग मै डुलिरहेको हुन्छु ।
मैले सुनेको पहिले “ब्लगान” BLOGAN भन्ने एउटा समूह बनेको थियो रे, नेपाली ब्लगरहरु को । तर त्यसको बारेमा खासै थाहाछैन, अनि अहिले त्यो अस्तित्वमा पनि छैन । मैल जानेसम्म, त्यो समूह उही हाम्रा स्थापित ब्लगरहरुका इगोका कारण छिन्नभिन्न पुगेको हो । अनि अहिलेसम्म, ब्लगरहरुको कुनै पनि संगठित समुह गठन भएको छैन । बाहिर जति चर्चा अनि परिचर्चा हुन्छ, त्यती सहयोग गर्न ब्लगरहरु हिच्किचाइरहेकाछन्, यो मेरो अनुभव हो । जब मैले ब्लग सुरु गरेँ, तब मैले नाम चलेका केही ब्लगरहरुलाई ईमेल पनि गरेको थिँए, सहयोग को अपेक्षा राखेर तर अफसोच कतैबाट केही सल्लाह, सुझाव पाइएन । अनि अहिले, आकारपोष्ट जति साजसज्जा अनि तौर तरिका मा आएको छ, बिलकुल आफ्नै क्षमता का कारण हो । सायद यसैकारण ले होला, म भने नयाँ आउने या जोकोहीलाई पनि सहयोग गर्न हरदम तयार भएर बसेको छु । मैले जुन प्राविधिक कठिनाइ भोगेँ, त्यती अरुले भोग्नु नपरोस् भन्ने अपेक्षा मैल राखेको छु, अनि खुशी लाग्छ, महिना मा यस्तै १-२ वटा ब्लगसम्बन्धि जिज्ञासाहरु आइरहेका हुन्छन्, इमेलमा ।
फेरी पनि आफ्नै ब्लगको कुरा गरौँ, एउटा सुचना नै भनौँ न, साहित्य प्रेमी दौँतरीहरु अझ भनौँ गजल प्रेमीहरुलाई लक्षित गरेर, आकारपोष्टबाट “बुलबुल” नामक एउटा साहित्यिक रेडियो कार्यक्रम अनलाइन बज्नेगरेको छ । आशा छ, सुन्नुहुनेछ । धन्यवाद !!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest