January 3, 2009

सडक सुनसान् छ ।

पोस्तक श्रेष्ठ
मिनीसोटाको जाडो। धेरै दिन भयो घाम नलागेको। आज त झन् एकतमास संग हिंउ पनि परिरहेको छ। घरका छानाहरु हिंउको बाक्लो पत्रले ढाकिएका छन्। नांगा मेपलका रुखहरु पनि हिंउले ढाकेर सेत्ताम्मै फुलेका जस्ता देखिन्छन्। उनी झ्यालबाट बाहिर हेरिरहन्छिन्-हिंउले ढाकेका छानाहरुलाई, रुखहरुलाई। सडक पनि सुनसान् छ-उनको जीन्दगी जस्तै। पर पर सम्म कोही देखिदैन। हिंउ अविरल् परिरहन्छ। उनी अतितको गर्भमा बिलिन हुदै जान्छिन्। हराउंदै जान्छिन्।उसले उनीलाई स्कूलदेखि नै मनपराएको रहेछ। कलेज पुगे पछि भने औपचारीक प्रस्ताव आयो। तर त्यो प्रेम प्रस्तावलाई उनले त्यति गम्भिररुपमा लिईनन्। उनी आफैंलाई थाहा छैन, उनी कुन पदार्थले बनेकी थिईन् तर उनीलाई यो प्रेम भन्ने चिज बिल्कुलै महसुस् भैरहेको थिएन। प्रेममा केही दर्द हुन्छ, भावुकता हुन्छ, केही तडप, केही रोमान्च हुन्छ। उनलाई यो सब केही पनि त भैराखेको थिएन ।मानौं उनमा कुनै संवेदना नै थिएन। उनको ध्यान कहि कतै थियो त पढाइमा, व्यक्तिगत बिकासमा। तर उसंग घुमफिर्, भेटघाट, पार्टी भने मज्जैसंग हुन्थ्यो। धुलिखेल्, नगरकोट, थानकोट, गोदावरी, ककनी कुनै घुम्ने ठाउँ बाकिराखेनन् । उसले बेला बेलामा मौका छोपेर प्रेम प्रसंग ल्याउथ्यो। "ठिकै छ नि, म यहिं छदै छु नि, अहिले नै बिहे गर्ने हो र" उनले टारिदिन्थिन्। उ त्यसपछि चुप लाग्थ्यो।

आईएस्सी पछि उ पढ्न भारत गयो केही बर्षको लागि । तर उसले हरेक महिना जस्तो पत्र लेखिरहन्थ्यो। इन्टर्नेट, इमेल् आइसकेको थिएन। उसको दुई-तीन पत्र पछि उनी एउटा पत्र लेख्थिन्। उसको पत्रमा मायाको कुरा हुन्थ्यो, हरेक सुख-दु:ख् बांड्ने कुरा हुन्थ्यो। जीवन भरको साथको कुरा हुन्थ्यो। तर उनी पढाइको कुरा लेख्थिन्, भविष्य निर्माणको कुरा लेख्थिन् । उसले सिविल इन्जिनीयरिंगको डिग्री लिएर नेपाल फर्कियो र एउटा जलबिद्युत परियोजनामा काम पनि गर्न थाल्यो। यता उनीले पनि स्नातक सकिन् र एउटा गैर सरकारी संस्थामा जागीर खान थालिन्। अब उसले बिहेको लागि जोड गर्न लागेको थियो। तर उनी अझै बिहेको लागि तयार थिइनन्। उनको लक्ष अझ पर पर सर्दै थियो। अब उनी जीम्याट परीक्षाको तयारी गर्न लागिरहेकी थिइन। उनी एम् बि ए पढ्न अमेरीका जान चाहन्थिन्। उनी डीभी फर्म पनि भरिरहन्थिन् र उसलाई पनि डीभी फर्म भर्न उक्साइरहन्थिन्। तर उ विदेश जान त्यति लालायित देखिन्थेन। उ त्यति धेरै महत्वाकांक्षी थिएन। उसको पारिवारीक आर्थिक स्थिति ठिकै थियो। उसले हासिल गरेको शिक्षा र उसको नोकरीमा उ संतुष्ट देखिन्थ्यो। उसले उनलाई संझाउने हर कोशीस् गर्‍यो।

हेर- हामीले एक् तहको शिक्षा हासिल गरिसक्यौं। हामी दुबैको जागीर र आम्दानी पनि राम्रो छ। नेपालमा हाम्रो जीवन आरामदायी नै हुनेछ। हामीलाई किन विदेश जान पर्‍यो र। आफ्नै देशमा बसौं। उमेर ढल्किन लागेका बाबु-आमालाई छोडेर जानु राम्रो होइन। उनको जवाफ हुन्थ्यो -हेर, तिमी जे सुकै भन, म कुवाको भ्यागुता बन्न चाहन्न। मेरो गन्तब्य अझै टाढा छ। मेरो लक्ष अझै प्राप्त भैसकेको छैन। म औसत नेपाली भन्दा माथि पुग्न चाहन्छु। तिमी पनि जी आर इ तयारी गर। हामी दुबैजना संगै अमेरीका जानु पर्छ।

अन्तत: उ अमेरीका जान राजी भएको थियो। उसलाई मन त थिएन, तर उनको चाहनाको अगाडी उसले आत्मसमर्पण गरेको थियो । त्यसपछि उसले पनि जी आर ई को तयारी गर्न थालेको थियो। दुबैले अमेरीकाका विश्वविध्यालयहरुमा पत्राचार पनि थालेका थिए। दुबै जना खुशी नै थिए। सबै कुरा सहजरुपमा अघि बढिरहेको थियो। अकस्मात, एउटा अनपेक्षित कुरा भयो। । उनलाई एउटा नातेदार मार्फत् अमेरीका बाट बिहेको प्रस्ताव आयो। युवक अमेरीकी पासपोर्टवाला रहेछ। त्यसपछि उनी अब उ बाट तर्केर हिंड्न थालेकि थिईन्। अमेरीकी राहदानीवाला संग बिहे गरेर जान पाउनु भन्दा अरु सजिलो उपाय अरु के हुन सक्छ र। उनले प्रस्ताव सहर्ष स्वीकार गरिन्। युवकको बारेमा धेरै सोधिखोजी गर्न जरुरी पनि ठानिनन्।

यता उसलाई भनिन्, माफ गर, घर परिवारले मेरो बिहे अन्तै छिनिदिएछन्। तिम्रो मेरो साथ यहाँसम्म मात्र हुने भयो। तिमीसंग बिताएका क्षणहरु मेरो लागि सम्झना रहने भयो। यो सुनेर उ स्तब्ध भएको थियो।

उनको अमेरिकी राहदानीवाला युवकसंग टिकाटाला भयो। त्यसपछि फियान्से भिजामा अमेरीका प्रस्थान् अनि अमेरीकामा बिवाह। तर उनीलाई यी सबै बिकासक्रम् एउटा यान्त्रिक घटना लागिरहेको थियो। पति साधारण युवक् थिए। अमेरीकी पासपोर्ट बाहेक आहा भन्नु पर्ने खास केहि थिएन। शिक्षा अन्डर् ग्र्याड मात्र। सेप्टेम्बर ११, २००१ पछिको आर्थिक मन्दीमा परेर जागीरबाट बर्खास्तगीमा परेपछि एउटा भारतीयको रेस्तुरेन्टमा कार्यरत। उनका संगतहरु पनि आम मानिसहरुसंग। जो संग पनि बोल्ने, हल्का-फुल्का कुरा गर्ने। यथार्थ कल्पना भन्दा नितान्त फरक। उनी खिस्रिक्क परिन्। तर यी सबै कुराबाट ध्यान् हटाएर पढाइ जारी राख्ने निधो गर्छिन्। श्रीमानबाट कुनै आपत्ती हुंदैन।

उनी पुर्णकालिन बिध्यार्थी भएको कारण श्रीमानले दुई-दुई ठाउंमा काम गर्न थाल्छन्। कोठाको भाडा, रासन पानी, स्वास्थ्य बीमा, कारको इन्स्टल्मेन्ट, फोनको बील, बत्तीको बील र उनको कलेजको शुल्क समेतको भार सबै श्रीमानको थाप्लोमा पर्छ। उनको एम बी ए सकिन्छ। एउटा राम्रो कम्पनीमा जागीर पनि मिल्छ। छिट्टै ब्यबस्थापकीय तहमा पदोन्नती पनि हुन्छ। तर श्रीमानसंग खटपट पनि बढ्दै जान्छ। शिक्षा कम् भएको, तल्लो स्तरको जागीर र संगत पनि तल्लो स्तरकै मानिसहरु । भित्र भित्र दबिएका यी बिषयहरु सतहमा निस्कन्छन्। उनको संगत भने उच्च तहमा, धेरै पढेका, राम्रो जागीर भएका, एलिट वर्गमा हुन्छ। भिन्नता बढ्दै जान्छ। दूरी बढ्दै जान्छ र अन्तत: पार पाचुके हुन्छ। आफुले डीग्री हासिल गरुन्जेल् श्रीमानले भोग्न परेको दुंखको यहाँ सम्झना हुँदैन।

त्यसपछि, उनको हिमचिम एउटा गोरा सहकर्मीसंग हुन्छ। लन्च डेट, डिनर् डेट हुदै सम्बन्ध बेडरूम सम्मै पुग्छ। उनीहरु अब एउटै अपार्ट्मेन्टमा बस्छन्। पश्चिमा संस्क्रिती-ब्वाइ फ्रेन्ड-गर्लफ्रेन्ड । बेला बेलामा उनी बिवाहाको कुरा ल्याउछिन्। हनी, बिवाह पछि त प्रेमको अन्त्य भैहाल्छ नि। हाम्रो प्रेमको अन्त्य होस भन्ने म चाहन्न। गोरेले कुरा टारीदिन्छ। समय बित्दै जान्छ। उनका आँखा वरीपरि अब उमेरका रेखाहरु देखा पर्न थालेका छन्। हाँस्दा गालामा चाउरी पनि पर्न थालेछ। फुलेका एक्-दुई केश राशी पनि देखिन्छन्। गोरे केटा साथी पनि अब पहिले जस्तो रमाईलो छैन। घर पनि ढिलो आउने, केही भन्दा झनक्क रिसाउने, कहिले आउदै नआउने गर्न थाल्छ। उसको इमान्दारीतामा शंका लाग्छ। केही दिनको चियो- चर्चा पछि गरे पछि पत्ता लाग्छ-उ अर्कै तरुनीसंग लहसीसकेछ। उनी अकासबाट खसेजस्तो हुन्छिन्। पत्ताल् धसिए जस्तो हुन्छिन्। तर उनी के गर्न सक्थिन् र? अब गोरे साथी संग बसिरहनुको कुनै अर्थ छैन। उनी अब एक्लै बस्छिन्। उनी नितान्त एक्लै हुन्छिन्। साथ छ त उनको एकाँकीपन। साथ छ त उनको अतित । महत्वाकांक्षाको उडान अब सकिएको छ। उनी अब अवतरण भैसकेकीछन्, यथार्थको धरातलमा।


पर चर्चमा घन्टा बज्छ। उनी अतितको घुम्टोबाट बाहिर निस्किन्छिन्। यतिबेलासम्म हिँउ थामिईसकेको हुन्छ। सडक अझै सुनसान छ-उनको जीन्दगीजस्तै।



January 1, 2009

गजल - अधर्मी पापी भन्दै

प्रबिण थापा
धादिङ, हाल इटली
आपत पर्दा जीवनमा, हतास नठाने है
काँडामाथी हिंड्नु पर्दा, खुट्टा नताने है

जन्मी हुर्की बढेको, यही सस्कारले गर्दा
चिढिएर बोल्न सक्छु, दु:ख नमाने है

प्रश्नहरु गरौला, तिमीलाई बुझ्न भनी
अबिश्वासी भनी मलाई, अर्को नछाने है

मेरै कारण कहिलेकाही, अप्ठ्यरो परे पनि
रिसाएर आँखा चिम्ली, तीर नहाने है

भबितब्य पर्न गई, एक्लै छाडे भने कतै
अधर्मी पापी भन्दै, तेलमा नझाने है



नेपालको बिद्युत

अनुप गुरुङ्ग
घरान - ६ सुनसरी

नेपाल विश्वमा जलस्रोतको दोश्रो धनी देश हो । हामी गर्व गर्छौ । नेपालमा धेरै नदी नालाहरु छन् । यहाँ कहिलेपनि नसुक्ने हिमनदीहरु पनि धेरै छन् । नेपालमा करिब ८४,००० मेगावट बिधुत उत्पादन गर्ने क्षमता छ । तर हाम्रो र्दुभाग्य भनौ या के भनौ तैपनि नेपालमा बिजुलीको हाहाकार छ, जहिले पनि बिद्युत नभएर दैनिक १२ घण्टा लोडसेडिङ गर्न परेको छ । नेपालमा बिद्युत नै नभएको त होइन तर यसको सही तरीकाले उत्पादन गर्न सकिएको छैन । अहिले सरकारले बिद्युत संकटकालको गर्दै २०० मेगावटको डिजेल र्थमल प्लान्टको विकल्प नभएको तर्क अगाडि सारेको छ । तर विकल्प नै केही नभएको त होइन। सरकारले के के अरु बिकल्प खोज्यो र यसलाई नै उपयुक्त ठान्यो ?। के सरकारले यसको फाइदा बेफइदा बारे सोचेको छ त!, आयल निगमले जनताहरुको माग बमोजिम आयल पूर्ति गर्न सकेको छैन । काहाबाट ल्याउछ २०० मेगावटलाई चलाउने डिजेल । बिद्युत प्राधिकरणले आफु सँग भएको ५५ मेगावटको डिजेल प्लान्ट आधा पनि उपयोग गरेको छैन । पुरनालाइ सदुपयोग नगर्ने तर कमिशनको लागि नयाँ नयाँ मेसिन किन्न जुर्मुराउने केवल कमिशनको लागि अहिलेको परिबेशमा ठिक होला तर डिजेलको भाउ बढ्यो भने कसरी बाल्ने के कमिशनको लागि मात्रै किन्ने हो हुन पनि नेपाल बिद्युत प्राधिकरणले अहिले सम्म केही गरेको छैन केवल कमिशनको पछाडि लागेको छ ।

आफुसँग भएको मेसिनको सामान्य मर्मत नगर्ने । जुन बनिसकेका पनि सरकारको लाचाराताले मर्मत गर्नु नसक्नु, उदाहरणको लागी आबु खैरेनी तनहुँ स्थित मस्र्याङदी जल बिद्युतलाइ लिन सकिन्छ । सरकारी कर्मचारीहरु कहिले विग्रीएला र नयाँ सामान मगाउदाँ कमिसन खान पाइन्छ भनेर ढुकि बसेका छन् । नेपालको दोस्रो ठुलो मध्य मस्र्याङदी जल विधुत प्राधिकरणमा पनि कमिसनको लेनदेन नमिल्नाले अझैपनि क्षमता भए अनुरुप बिद्युत निकाल्ने काम पुरा गरिदिएका छैनन् । प्रधानमन्त्री पुष्प कमल दाहालले उदघाटन गरको भोलीपल्ट देखी नै ८ घन्टा लोडसेंडीङ थपियो । हामी नेपालीहरुले सोचेका थियौ । नयाँ आयोजना उद्घाटन भएपटिछ केही भएपनि लोडसेडिङ्ग घट्छ भनेर तर उल्टो भयो । अहिले विद्युतिय संकट टार्नको लागी नयाँ बनाउनु भन्दापनि पुरानालाई नै राम्रो मर्मत सम्भार गरेर परिपुर्ति गर्नु आवश्यक देखिन्छ ।

नयाँ आयोजनाहरुमा के हाम्रो नेपाली इन्जिनियरहरुले डिजाइन गर्न सक्दैनन् र?, नयाँ आयोजनाहरुमा नेपालीले लगानी गर्न सक्दैनन् र ?, देशले राम्रो अबसर दिन नसक्नाले नेपालीहरु बिदेशिनु परेको छ । नेपाल सरकार भने के जहिले पनि विदेशीको साहायता लागि कुरी बस्ने कमिशनको लागि । सायद विदेशी लागानी नाम मात्र होला उनीहरुले लागानी गरे पनि सबै उनीहरुको इन्जिनियर र सामानहरुनै उनीहरुको नेपाललाई केही फाईदा नै भएन । नेपालको बिद्युत नै विदेशीहरुसँग डलरमा किनेर के काम । प्राधिकरणले सस्तो विद्युतलाई पनि कमिशन खाएर महंगोमा किन्छन अनि कसरी बन्छ नयाँ नेपाल ।

नेपाली इन्जिनियरहरुलाई पनि त केही गर्ने मौका दिनु पर्‍यो । अनि नेपालीलाई पनि विद्युतमा लागानी गर्न प्रोत्साहन गर्न पर्यो । नेपालीहरुले पनि बनाउन सक्छन नयाँ आयोजनाहरु। उनीहरुलाई पनि त मौका दिनु पर्यो । केवल १० बर्षमा १०००० मेगावट बिजुली उत्पादन गर्ने भन्ने काम केही नगर्ने हो भने कसरी यो सम्भव हुन्छ?,  अब त केही नयाँ काम गर्न पर्‍यो । हामी आफै नै सोचौ न किन बिद्युत प्राधिकरणले बिद्युत उत्पादनमा लगानी गर्न सकेको छैन । अहिलेको एक्काइसौ शताब्दीमा पनि हामी अध्यारोमा बस्न परेको छ किन यो सबै भ्रष्टचारी बिद्युत प्राधिकणको हाकिम भनाउदाँहरुले गर्दा भएको हो । अहिले सम्मको हामी ग्राहकहरुले तिरेको महसुलले के गरेको छ । कता लगानी गरेको छ । त्यो पैसा सबै कर्मचारीहरुलाई मात्र तलबमा खर्च गरेको छ र त्यो पैसाले सबै चिल्लो गाडी किन्ने मन्त्रीहरुलाई चिल्लो गाडी उपहार दिने मात्र गरेको छ भ्रष्टचारी हाकिमहरुले आपुनो भ्रष्टचारीताको करतुत लुकाउन । अनि सस्तो बिद्युतलाई कमिशन खाएर मह्ङगोमा किनेर । प्राधिकरणले अहिले पनि बिद्युतमा लगानी गरी धेरै बिद्युत उत्पादन गरेको खण्डमा बिद्युत बेच्न सकिन्छ ।

नेपाली जनताहरुमा विद्युतमा लगानीको लागि जनचेतना जगाउन नसक्नु पनि प्राधिकरणको एक गहन गल्ती देखिन्छ । नेपाली जनताहरु गरीब छैनन, देश गरिव भएपनि । किनकी नेपाली जनताले सरकारलाइ भनेर कहिल्यै केसैको लागी कर तिरेको छैन । जसरी कमाएपनि आफै भुडीमा भरेको भरै, अनि कसरी देश धनी हुन्छ अनि काठमाण्डौमा उपत्यकामा मात्र बिद्युतीय चुलोमा खाना पकाए मात्र कति फाइदा हुन्छ । करिब ६० प्रतिशत ग्यास आयात गर्नु पदैन थियो होला । अनि कलकाराखानाबाट पनि धेरै सामान उत्पादन हून्थ्यो र अनि केही भएपनि मुल्यमा पनि कमी आउथ्यो । काठमाण्डौको रिङ रोडमा बिद्युतीय बसहरु चलाउन सकिन्थ्यो । बिद्युतीय बस पनि अबको जामाना राम्रो रंग रोगन अनि राम्रो सिट र क्षमता भन्दा बढी मान्छे नहाल्ने र समय समयमा जाचँ गर्ने ब्यावस्था हुनुपर्छ । उही पुरानो थोत्रो बसहरु चलाएर फाईदा छैन । नेपाललाइ हाल स्थितिमा विकास निर्माण अगाडी बढाउने हो भने जल विद्युत नै एक सुगम माध्यम हो । सबैले जानेकै कुरा हो कुनैपनि कल कारखाना चल्नको लागी विद्यतको आवश्यकता पर्छ । त्यहि विद्युतको कमीले चालु अवस्थाको कलकाराखानापनि दिनहु बन्द हुदै गएका छन् र नेपाली जनताहरु पनि बेरोजगार हुदै गएका छनु ।

अन्तमा नेपाल एक विकासन्मुख देश हो यदि नेपाली जनताले नेपाली भएर देशको लागि केहि सोचेका छन भने नेपाललाई विकसीत बनाउने हो भने सबै जनताले मिलेर विद्युतमा आफनै लगानी आफनै शिप र आफनै परिश्रमबाट विद्युत निकाल्न देशलाइ सहायता गरियो भने उत्पादित विद्युत पनि सहुलियत मुल्यमा उपभोग गर्न पाइन्छ कि त हामी आशा गरौ । नेपाल सरकारले यो वातवरण बनाउन सक्छ कि त र बनाउन हामी जनताले पनि सहयोग गर्न सकियो भने एक दिन नेपालपनि मुहार फेर्ने छ । अब हामी सबै नेपाली एक जुट भइ बिद्युत उत्पादनमा लगानी गर्ने हो कि?, धन्यबाद !



लघु कथा - ''ब्यक्तित्व परिचय

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

गाउँको एक चौतारीमा एउटा सानो कार्यक्रमको आयोजना भैरहेको थियो, जस्मा त्यही गाउँका गिनेचुनेका मै हुं भन्ने नेताहरु र समाजसेवी भनाउँदाहरु नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा ठाट्टिएर उपस्थित भएका थिए। उनिहरुका गफहरु पनि त्यस्तै ठुला ठुला थिए। सबैले नै एकअर्कामा आ-आफ्नै छोरा,छोरिहरु र आ-आफ्नै बढाइ चडाइका कुराहरु गरिरहेका थिए। त्यहि बिचमा एउटा भद्र भलाद्मी हुँ भन्नेले पोशाकको बारेमा केही कुरा भनी रहेको थियो। जुन कुरा यस् प्रकार थियो। ''साचै भन्ने हो भने मान्छेलाई पोशाकले पनि उस्को ब्यक्तित्वको परिचय दिन्छ। जस्तै भनुँ न, एउटा राष्ट्रभक्त नेताको चिनारी नै दौरा सुरुवाल हो। आजकलको फेशन छ नि ठुला ठुला लुगा लगाउने,च्यातिएको जस्तो लुगा लगाउने,टोपी फर्काएर लगाउने यी यस्ता फेशन गर्नेहरु पडाइमा पनि असफल हुन्छन,बानि ब्यहोरा पनि ठीक हुँदैनन। यस्ताहरुबाट समाज, देशले के आशा गर्ने ? त्यसैले मैले त मेरा छोरा,छोरिहरुलाई यस्ता लुगाहरु लगाउन बाट बन्चित गरेको छु। भरसक कुनै कार्यक्रममा जादा अझ नेपाली दौरा,सुरुवाल लगाएर जानु भन्छु। आज मैले मेरो छोरालाई यो कार्यक्रममा दौरा,सुरुवाल नै लगाएर आइज भनेको छु । त्यो आज दौरा,सुरुवाल लगाएर नै यहाँ आउछ। आज्ञाकारी छ, मेरो बचन काट्दैन। आशा छ त्यो पनि म जस्तै देश,समाज सेवक नै हुन्छ भन्ने...”। 

उक्त ब्यक्तिले आफ्नो भनाइ पूरा गर्न नपाई अर्को एकजनाले आफ्नो भनाइ शुरु गर्‍यो। "...खै! म पनि त मेरो छोरालाई कत्ती भन्छु यस्तो लुगा नलगा भनेर तर मान्दैन। त्यस्ले त त्यस्तै,त्यस्तै लुगा लगाउछ र मलाई उल्टै जवाफ दिन्छ। '' बुवा मान्छेको भित्री मन सफा हुनुपर्छ, सोचाइ फराकिलो हुनु पर्छ, देशप्रतिको भावना स्वछ हुनुपर्छ। त्यही हो देशप्रतिको आस्था। दौरा,सुरुवाल लगाएर मात्र देशको जयगान गाएर मात्र उन्नती हुँदैन। खै त !देशको उन्नती हुने भए यहाँ जत्ती पनि दौरा,सुरुवाल लगाउने नेताहरु छन अथवा थिए के ती सबै देशभक्त नै हुन त ?, यदी त्यसो हो भने आज देश किन यो स्थितिमा पूग्थ्यो त ? किन ती नेताहरु आज भ्रष्ट र घूसखोरीको नामले चर्चित छन त?, तपाइ आँफै सोंच्नुहोस् त ?, तपाइहरु जस्तै दौरा,सुरुवाल लगाउनेहरु नै होइनन देशका नेताहरु ? कि हामीजस्ता लुगालगाउनेहरु हुन त ? खै त ! मैले पनि त यस्तै लुगा लगाएर नै पनि कक्षामा पहिलो भएकै छु। म आफु इमान्दार छु। घर समाज,देशको बोझ भएको छुइन जस्तो लाग्छ। बरु हजुरहरुलाई पो अनेक अनेकका आरोप,प्रत्यारोप हरु खप्न परेको मैले देख्दैछु। बरु हामी त भविश्यमा केही गरौ भनेर लागि परेका छौ... ''

उस्ले आफ्ना छोराका भनाइहरु पूरा गर्न के लागेको मात्र थियो। यत्तिकैमा दुइजना पुलिसहरुले एउटा जवान दौरा,सुरुवाल लगाएको केटोलाई घिसार्दै नानाथरी भन्दै त्यही सभा स्थलतिर ल्याइरहेको थियो, जुन केटोको बुवाले अलिक अगाडिमात्र आफ्नो छोरा,छोरिको प्रसङ्मा पोशाक र ब्यक्तित्वको बर्णन गरिसकेको थियो। उसैको छोरालाई नै दौरा,सुरुवालमा ठाट्टिएकै अवस्थामा पुलिसहरुले त्यो अव्स्थामा ल्याएको देखेर सबै अवाक बनिरहेका थिए। पुलिसहरुले उस्लाई मनपरी भनी रहेकाथिए “तँ नै होइनस लुकिचोरी ड्रग्स खाने?, अनी अरु साथीहरुलाई पनि खान वाध्य गर्ने ?, ल भन अब यस्तो कार्य गर्छस कि गर्दैनस?, राष्ट्रिय पोशाकको बेइज्जत गर्छस?'' यसरी अनायस त्यहाको वातवरण बद्लिन गएकोमा सबै किंकर्तब्यबिमूढ भए। यत्तिकैमा अर्को यौटा जवान ठिटो त्यहा उपस्थित भयो जस्ले चाँही आफु कलेज फर्स्ट भएको खबर आफ्नो बुवालाई सुनाउन आएको थियो जुन केटोको पोशाक भने त्यस्तै थियो जुन पोशाकको अगाडि नै नकारात्मक कुरा त्यही दौरा,सुरुवाल लगाएर पुलिसको फन्दामा पर्ने केटोको बुवाले जनाइ सकेको थियो। यसरी त्यहा भएको घट्नाले सबै मौन बने अनी पोशाकले ब्यक्तित्व परिचय दिन्छ भन्ने कुरामा सोंच्न वाध्य बने।



Pics from the past..


More Pictures

>>PS: All the pictures over here are collected from various sources. This slide show is just for the educational purpose and is not being used for any monetary gain.


December 31, 2008

उदाङ थियो अंग हाबा....

उदाङ थियो अंग हाबा भई छिल्लिन मन लाग्यो
सिरिङ्ग भो यो तन तिमी सित गिल्लिन मन लाग्यो

मुजा मुजा गाला जिस्काउन थाले ऐनाले पनि
सोह्र बर्षे जोबन पैँचो मागी चिल्लिन मन लाग्यो

ईश्‍वरको  फुर्सदको सृजना हो कि कारीगरी हो
सुझ बुझ कहाँ? तिमी हेरी जिल्लिन मन लाग्यो

हर पल दुख्छु बरु मन्जुर भो टन्किने घाऊ नि
स्पर्शको लालचमा पिलो सरी पिल्लिन मन लाग्यो

धन दौलत शान शौकत सब छन नासवान
दाईजोमा केबल तिम्रो त्यो दिललिन मन लाग्यो