December 26, 2008

गजल:- कस्ले लायो साँद

कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ
कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ

खरिद बिक्रिको पसलमा के के मिलथ्यो कुन्नी
सपना बेच्नेको उधोग धन्दा पनि पुरा भएछ

माया हो कि दया, सदभाब भनेर जताउथे
आर्का मुटु के भर थ्यो र,फेरी टुहुरा भएछ

बल्ल बल्ल लाँको बाली हात मुख जोर्न पनि
खडेरिमै चर्को घाम,आशा जती झुरा भएछ

ढोगी जोगी कस्ले चिन्यो,गेरु बस्त्र अस्त्र थियो
दर्शन बाँडे भनी सुन्थेँ, बुद्ध पुर्ने कुरा भएछ

December 25, 2008

गलगाँडतन्त्र आएछ

शेखर ढुंगेल

गणतन्त्र आएपछि गणहरु गणपति हुनेछन् भन्ने जुन भावना जनतामा उर्लिएको थियो माओवादीको असफलता र अन्य राजनीतिक दलहरुको सत्तालिप्सा देखेर गणरुपी जनतामा नैरास्यता छाएको छ । गणपति त गण होइन नेता पो बनेका छन् । यो कस्तो गणतन्त्र हो जसको मालिक नेता बनेका छन् र जनता फेरि दासभन्दा खराब जीवनयापन गर्न बाध्य बनिरहेका छन् । यो त गणतन्त्र होइन गलगाँड पो हुनथाल्यो । जस्ले जे जस्तो तर्क दिए पनि तीतो सत्य के हो भने बोकाले दाईं गरेर हुन्न भन्ने बुढापाकाको कथन नेपालमा सावित भएको छ । ०४६ सालमा पनि महेन्द्रको सालिकअगाडि एमाले कांग्रेस माओवादीभन्दा उग्र भएका थिए । तत्पश्चात भयो के त भने कांग्रेस र एमालको अधिनायकवाद चल्यो । गिरिजा त्यसबेला जंगेजस्तै बनेका थिए । राष्ट्र र जनतालाई ढाँटेर महाकाली सन्धिमात्र गरेनन् चित्त नबुझेका छत्तीसेलाई सत्ताच्युत गर्न जनताको सदन भंग गरिदिए ।

संसदीय ब्यवस्था र प्रजातन्त्रको धज्जी उडाउनेमा माओवादीभन्दा कांग्रेस र एमाले नै अगाडि छन् । समय फेरियो माओवादीको रणनीति सफल भयो । संसदीय प्रजातान्त्रिक पक्षधर अर्थात २०४७ को संविधानले स्थापना गरेको संरचनाको पत्तन भयो । त्यससँगसँगै पुराना सयौं परंपरागत संरचनाहरु कतै जोसमा कतै सडकको दवावमा कतै सत्ताको लालचमा भत्काईंदै गए । यहाँसम्म कि शून्य राजनैतिक संरचनाको अवस्थामा झर् यो । माओवादीको सत्ता आयो शासन आयो नयाँ नेपालको कुरो आएको छ तर प्रस्थान र गन्तब्यको विन्दूको चुरोसम्म पहिल्याउन सत्तासिन र विपक्षी दलहरु असफल भएका छन् ।

संविधानसभाको माध्यमबाट जनताको प्रतिनिधिमार्फत संविधान बनाई नयाँ नेपालको निर्माण गर्ने भन्ने माओवादीको माग र अन्य दलको अभिष्ठ स्वयं उसकै लागि घाँडो किन भयो बुझ्न कठिन हुँदैछ । अनुमान केसम्म गर्न थालिएको छ भने कि त माओवादीलाई ब्यालेट मार्फत सत्तामा पुगिएको नसा उत्रिएको छैन कि त लोकतन्त्रप्रति विश्वास नै छैन । या कहिले काहीं नेता डा. बाबुराम भट्टराईले भन्नुभएकै विहारी शैलीको लोकतन्त्रु नै हो त ।

माओवादीको सत्ता चलेको पनि ४ महिना भइसक्यो । केही उज्यालो सत्ता हात पारेको माओवादीले अन्धकार बनाईदिएको छ । यो अन्धकारशैली नयाँ नेपाल निर्माण गर्ने कुन मोडल हो जनताले बुझ्न सकेका छैनन् । मस्र्याङ्दी उद्घाटन गरेकै भोलीपल्टदेखि ६ घण्टाबाट १० घण्टा पुगेको लोडसेडिङ् अव १८ घण्टा हुन्छ भनेर विद्युत प्राधिकरणकै कर्मचारीहरु भन्न थालेको छन् । यस्ता कालो अँध्यारोमो विद्यार्थीले कसरी पढ्ने उद्योगधन्दा कसरी चलाउने नयाँ नेपाल कसरी बनाउने स्थिति भयावह बन्दै गएको छ ।

हिजो डा.बाबुराम भट्टराईको लेखअनुसार निलम्बित राजालाई सम्झौताको नाममा पुनस्थापना पनि गर्न सकिन्छ भन्ने थियो । त्यो पार्टीका नेता तथा प्रधानमन्त्री प्रचण्ड राष्ट्रवादी र गणतन्त्रवादीको दह्रो मोर्चा बनाउने कुरा गर्न थाल्नु भएको छ । कतै राजालाई पनि त्यही मोर्चामा आउन दरखास्त हालिएको त होइन यता गिरिजाप्रसाद कोइरालाले पूर्वपाचहरुको तीनवटै पार्टी र अन्य प्रजातन्त्रवादीलाई मिलाएर अधिनायकवादलाई परास्त गर्न बृहद प्रजातान्त्रिक मोर्चा गठन गर्ने सुरसार कस्नासाथ प्रचण्डको मोर्चाको कुरा उठ्नुले राजनीतिक क्षेत्रमा तापक्रम एक्कासी बढ्दै गएको छ । दलीय राजनीति तातेको छ ।

यही बेलामा भारतीय राजदूत राकेश सुदले राजालाई सोल्टी होटलको गोप्य कोठामा गोप्य भेटघाट गरेको समाचारले राजनीतिमा ज्वारभाटा ल्याइदिएको छ । किन भेटे सुदले के भने सुदले राजाको प्रतिकृया के थियो अन्दाजका अनेक रिङ्गटालाग्दा कथाको पटाक्षेप हुनेक्रम जारी छ । त्यो पनि एकसेएक लोकतान्त्रिक दलका मुखपत्रहरुबाट । कसै कसैले त यतिसम्म लेखे कि राजाले भारत भ्रमणको व्यवस्था मिलाइदिन आग्रह गरेरे । कसैले सग्लो देश हेरेर मर्ने इच्छा व्यक्त गरेको विषयलाई बढी महत्व दिएर प्रकाशित गरिरहेका छन् ।

आखिर पूर्वराजा पनि यही देशका नागरिक हुन् । हिजो पनि उनले देशको माया गरे आज पनि देशको माया गरिरहेका छन् । यो देश छोडेर कतै जान्न भन्ने पूर्वराजाको अभिव्यक्तिले र यही देशमा चुपचाप बसेका राजाको व्यवहारले पूर्वराजाको लोकपि्रयता र जनताको सहानुभूतिलाई ह्वात्तै बढाइदिएको छ ।

खासगरी प्रचण्ड सरकारको असक्षमता र नालायकीपनका कारणले पूर्वराजातिर फर्केर हेर्न जनता बाध्य भएका छन् । जतिपनि कूसंस्कार र कूलक्ष्यणहरु देखिएका छन् ती सबै राजतन्त्र हटाउनाले हो भन्ने छाप जनताको मनमा परिसकेको छ । हो राजतन्त्रबाट अनेक गल्तीहरु भएका होलान् तिनलाई सच्याएर अखण्ड नेपालको जगेर्ना गर्न सकिन्थ्यो । राजतन्त्र फाल्नेले आफु पनि सच्चिन सकेनन् पवित्र भएनन् राजतन्त्र पनि फालेर देशलाई बर्बादीको भूमरीमा होमिदिएका छन् । यसैका कारणले विदेशीको खेल मैदान बनिसकेको छ नेपाल । राजतन्त्र फालेपछि चमत्कार गर्छु भन्ने प्रचण्डले देशलाई अँध्यारो युगमा धकेलिदिए । यही हो चमत्कार जनता आहत भइरहेका छन् जनताले राहत पाइरहेका छैनन् यही हो चमत्कार असमानता र बिखण्डनका आवाजहरु उठिरहेका छन् यही हो चमत्कार ज्वाला सिंहले टोपी जलाउन थाले मधेसबाट पहाडीया नभागे भौतिक कारवाही गर्ने हुकुम जारी गरिसक्यो अव नेपालको झण्डा जलाउने कार्यक्रम पनि ल्याइसक्यो । हुँदा हुँदा तमलोपाले एक मधेस एक प्रदेश हुँदैन भने एक नेपाल पनि रहँदैन भनिसके । यही हो चमत्कार यदि यस्तै अराजकतालाई चमत्कार भन्ने हो भने नेपालीका लागि प्रचण्ड चमत्कार दुर्भाग्य बाहेक केही हुने लक्ष्यण देखिदैन ।

पूर्वी र पश्चिमी पहाड र तराईतिर अनेक जातजातिहरु स्वशासनका माग गरेर सेना संगठित गर्न थालेका छन् । खासगरी पूर्वी पहाडको लिम्बु र पश्चिम तराईको थरुहठ सेना डरलाग्दो सशस्त्र समूहका रुपमा अगाडि आएको छ । यिनलाई व्यवस्थापन गर्नु चानचुने चुनौति हुनसक्दैन । चुनौति अनेक छन् दलहरुमा मतभेद चुलिदो छ । गणतन्त्र गलगाँड भयो देश र जनताका लागि ।



एक छिन हासौंन - ९

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
मैल्र अगाडि अन्धोहरुको कुकुरले उनिहरुलाई रखवारि गेरेको सम्बन्धमा कुरा निकालेकी थिएँ।कस्तो अचम्म!, उनिहरुले त्यत्ती मीठो मीठो खाइरहँदा पनि त्यो कुकुरले आक्रमण नगरेको! चुपो लागेर कुर्सीमुनी बसिरहेको देख्दा मलाई त अचम्म नै लाग्दथ्यो अनी म पूरानो घट्ना सम्झन्थे।

एक पटक कुकुर तिहारको दिन मेरी सासु आमाले घरमा पालेको हाम्रो पनि ज्यादै प्यारो कुकुर ''जिनो'' त्यस्लाई पूजा गर्न भनेर माला गासेर, मीठो मीठो मासुको परिकार पकाएर 'जिनो' लाई काखमा राखेर सुम्सुम्याउदै पूजा गर्न लाग्नु भएको मात्र के थियो त्यस्लाई त मासु खान हत्तार भएछ त्यस्तो प्यारो गरेको कुकुर र अरु बेला त्यस्तो इमान्दार मानेको कुकुरले आमाको हात नै ख्याप्पै पारेर टोकीदियो अब परेन फसाद !। कताको कुकुर तिहार ?, त्यस्तो रमाइलो वातवरण पनि भताभुङ भयो। अब दुई देशको कुकुरमा नै तुलना गरौ न, अनी हामी मान्छेको त के कुरा रह्यो र ।

धत!म त खाली कुकुरको पछी नै लागिछु। अब छाडिदिउ यस्ता कुकुर,बिरालाका कुरा। अब के गर्नु त? अरुलाई कुकुर,बिरालो नै मन पर्छ भने र उनिहरुको पशु नै इमान्दार छन भने के खाचो त ?हाम्रो देशमा हामी नै इमान्दार बनौ न त ?। किन कुकुर बिरालोको बाटो हेर्ने ? उनिहरुलाई पनि त वाक्क लाग्दो हो नि त?सधै बन्धनमा बस्दा बस्दा कत्ती दिन को रिस पनि त मौका पाएको बेलामा फेरेको होला नि त ? मान्छेले त मौका को फाइदा उठाइहाल्छन भने पशु त पशु नै भै हाल्यो नि। हामीले पो उनिहरुको भाषा,पीर,मार्का बुझ्नु पर्दछ त !त्यसै त उनिहरु रिसाउदैनन नि। हामी यस्तै अबुझ भएर त एक-आर्कामा दुश्मनी मोल्ने,असमानताको नजरले हेर्ने भएर पनि हामी सबै कुरामा पछी परिरहेछौ त्यसैले एकार्काको पीरमार्का बुझौ। समानताको पाठ सिकौ,सही र इमान्दार कुरा भए पशुको पनि अनुयायी बनौ। झुठो र असत्य,खराब कुरा भए त्यस्ता मान्छेको निती नियमलाई पनि बहिष्कार गरौ। यस्तै अनुभव र भावना लिएर मैले आजको अनुभुतिलाई यहाँहरु समक्ष अनुभुत गर्ने मौका छोपें। मैले अगाडि देखि बिन्ती भाव गरिरहेकी छु। मेरो बिचार सँग सहमत् हुनैपर्छ भन्ने छैन। यदी कमिकम्जोरी भए यस्मा छुटेका कुराहरुको सहि निर्णय दिने अभिभारा यहाँहरुलाई सुम्पेकी छु। अहो मेरो काममा जाने बेला भएछ। जागिर नै गयो भने त कसरी बाचेर यस्ता अनुभुती पोख्ने । लौ त जागिर बचाउन गए है! अर्को अनुभुती पोख्न नपाएसम्मलाई बिदा।

क्रमश:



गजल - ढाट्यो छोराले

सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )

बेलैमा मृत्यु सित जिन्दगी साट्यो छोराले
गर्दिन भन्थ्यो रण्डी बाजी ढाट्यो छोराले ।

कलेजको निहुँ पारी घरबाट निस्कीएर
डान्सबारमा हुस्की तानी वेश्या नचायो छोराले ।

होटलपार्क बार क्याफे कुनै बाकी नराखी
दुखगरी कमाएको सम्पत्ति सकायो छोराले ।

यौवनको मातले एड्सको शिकार बनी
चढदो जवानी मै ज्यान गुमायो छोराले ।

धेरै पढी लेखी नाम राख्छ होला भन्थेँ
भाएको इज्जतपनि माटोमा मिलायो छोराले ।

मरेर गएपनि बाउको नाक काट्यो छोराले
गर्दिन भन्थ्यो रण्डी बाजी ढाट्यो छोराले ।



अतीत सम्झदा

हिजो आज दौंतरीमा अतित तथा आफ्नो दैनीकी लेखन निकै चलेको छ। हप्तामा एउटा भने पनि केही लेखुं भनेर लागेको नेपालमा डिजेल पावर हावसको अध्यन गर्दा गर्दै ड्राफ्ट पोस्ट अझै पुरा हुन सकेन। दौंतरीलाइ सजाउदा सजाउदै तथा लेखहरु पोस्ट गर्दा गर्दै बिदामा केही लेखु भन्यो दिमागमा केही फुरेन। हुन त दौंतरीमा रहेका फुलबुट्टा मेरो दिमागका उपज मात्र होइनन्। बिभिन्न सरसल्लाह दिनुहुने मित्र बाहेक महेश जि, म्याभरिक र ठरकी दादाले दौंतरीका फुलबुट्टा भर्नमा निकै काम खर्चिनु भएको छ। दौंतरी लेखकमा रहुनु भएका मित्र तथा फुटकर रुपमा लेख्ने मित्रहरुको सुचि त झन लामो छ।

लामो समय पछि आज खेमनाथ जि को लेख आउदा दौंतरीका पुराना दिन सम्झन मन लाग्यो। यसरी नया पुराना साथीहरु सक्रिय रहे पुराना दिन सम्झदा पनि निकै भावुक भइदोरहेछ। नेपाल र नेपालीको भाषा तथा संचारमा बिदेशमा रहेर सेबक बनी काम गर्नु पनि निकै आनन्द आउदो रहेछ। आशा छ सबै बिचार राख्ने मित्रहरु दौंतरीमा अटेर यो यात्रा नटुटाइ क्षितजसम्म पुग्ने छौं।

मेरो वेलकम पोस्टबाट सुरु भएको दौंतरी आज करिब ५०० पोस्टमा पुगिसकेछ। यस बिचमा थुप्रै खाले लेखहरु प्रकाशित भए राम्रा नराम्रा प्रतीक्रिया दिने मित्रहरु धन्यबादका पात्र हुनुहुन्छ। यो क्रमलाइ जारी नै राख्नुहोला। लेख्न मिले लेख्नुहोला नभए ब्लग पढेर कमेन्ट बक्समा आफ्ना बिचार भए पनि लेख्नुहोला। दौंतरी सामुहिक ब्लग रहेको हुंदा यांहा प्रशस्त ब्लगरको उपस्थीती हुन्छ। तर पनि दौंतरीको आसमान बाट अर्को आसमान सेतु जोड्न ब्लग भित्र ब्लग स्तम्भ ल्याएका छौं जहां अन्य ब्लगर साथीहरुको भलाकुसारी दौंतरीमा प्रस्तुत गर्ने छौं।

यस स्तम्भमा गत साता दिपक जडित हुनुहुन्थ्यो भने यस पटक सपना संसार रहुनु भएको छ।

साथीहरु माझ संचारको महत्ब र दुरुपयोगको बारेमा गफकै क्रममा सामुहिक ब्लगको मान्यता राख्दै दौंतरी खोल्ने प्रेरणा मिलेको थियो। साधारण ब्लगस्पटको ब्यानरबाट सुरु भएको दौंतरी अहिले थुप्रै अलंकार सहित तयार छ। कम्पियुटर सज्जा देखी लेख लेख्ने प्रेसित गर्ने तथा पढ्ने मित्रहरुले दौंतरीलाइ यांहा सम्म पुर्‍याउनु  भएको छ। ब्यबसायिकता भन्दा पनि उत्कृष्टता तिर उन्मुख दौंतरीमा समुहका सदस्यका तर्फबाट उत्तम रचना तथा लगाबले दौंतरी सधै अब्बल रहिरहनुका साथै सामुहिक अमुल्य सम्पती रहन गयो। हामी अझै धेरै माथी पुग्नु छ तर हामी जांहा पुग्ने छौं, जस्तो अबस्थामा रहने छौं, दौंतरीको मुलमन्त्रलाइ कहिले भुल्नुहुदैन। हामीले सिधा तथा स्पष्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ । दौंतरीमा प्रकाशित सामाग्रीलाइ प्रतिक्रिया दिए लेख्नेलाइ पनि हौसला बढ्ने छ तथा लेखको अर्को पक्ष पाठकबाट दर्शिने छ। तपाइहरु पनि दौंतरीमा फाट्ट फुट्ट रुपमा लेख लेख्ने भए या दौंतरी लेखक भएर रेगुलर लेख लेख्नको निम्ती dautari@gmail.com मा लेख या इमेल पठाएर जनताको ब्लग दौंतरीलाइ अझ बलियो र लोकप्रिय बनाउं।

- नेपालियन
मिनीसोटा, संयुक्त राज्य अमेरीका



नेपाली समाज यूएईको चुनावमा देखिएका केही दृश्यहरु

गत डिसेम्वर १२, २००८ का दिन दुबईको एभरेष्ट ईन्टरनेश्नल होटेलमा बिहानै देखी नेपालीहरुको चहल पहल थियो । होटल बाहिर झुम्म झुम्म नेपालीहरु देखिन्थे । विगत १९९० साल देखि यूएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली समाजको आज चुनाव हुँदै थियो ।

लामो समयदेखी यहाँ रहदै आउनु भएका र उच्च पदमा कार्यरत बुद्धिजिवी नेपालीहरुको उपस्थिति रहेको थियो । यूएईको अबुधावी सारजाह अलेन र अन्य प्रान्तबाट नेपालीहरु उक्त चुनावमा भाग लिन आएका थिए । साच्चैनै त्यहाँको माहोल अति रमाईलो थियो । उक्त होटलमा नेपालीहरुले प्रत्येक हप्ता कार्यक्रमहरु गरीरहन्छन् तर उक्त दिनको कार्यक्रम बेग्लै थियो । साच्चै नेपालकै चुनावको झल्को दिन्थ्यो । प्रवासमा कार्यरत भएको करिव ६ बर्षको अवधिमा पहिलो पटक चुनावमा उपस्थित भएको थिए । यूएईमा स्थापना भएका विभिन्न नेपाली संघसंस्थाहरुका प्रतिनिधीहरु र उक्त संस्थाले नेपाली समाजका उम्मेदवारहरुलाई भोट हाल्नको लागि चुनेका पार्षदहरुको बाक्लै उपस्थिति देखिन्थ्यो । पार्षदहरुले परिचयपत्र झुण्डाएको देख्दा नेपालकै याद दिलाउथ्यो । करिव मध्यान्ह १२ बजेदेखि सुरु हुने भनिएता पनि दिनको १ बजेसम्म पार्षदहरु हलभित्र छिरेका थिएनन् । नेपालीहरु एक आपसमा प्रवासमा पनि भोट खसाल्न पाईने भयो भनेर हर्षित देखिन्थे । सबैले आफुले मन पराएका उम्मेदवारहरुलाई जिताउने कुराहरु गरेको सुनिन्थ्यो ।

चुनावी हलभीत्र म पनि छिर्न खोजे मसँग चुनावी परिचय पत्र थिएन तर मलाई भित्र छिर्न दिईएन । यूएई छिरेदेखी म नेपाली समाजका विभिन्न कार्यक्रमहरुमा उपस्थित हुँदै आएको थिए र विभिन्न कार्यक्रमका समाचारहरु पनि संकलन गर्दै आएको थिए । उक्त दिन पनि म चुनावको चहलपहलको समाचार टिपोट गर्न उपस्थित भएको थिए तर चिन्दै नचिनिएको ब्यक्ति जस्तो भए एक क्षण, कारण मसँग पार्षदको परिचय पत्र थिएन ।

चुनावी कार्यक्रम दिनको २ बजे देखि सुरु भयो । हलमा म पनि सोस्र फोस्र लगाएर छिर्ने मौका पाए । भित्र सबै पार्षदहरु उपस्थित भईसकेका थिएनन् । बिस्तारै पार्षदहरुको उपस्थित हुँदै गयो । उक्त चुनावी कार्यक्रममा नेपाली राजदूतावासको प्रतिनिधित्वको रुपमा तृतिय सचिव जितेन्द्र लाभको उपस्थिती रहेको थियो ।

अध्यक्ष पदमा ३ जना समाजसेवीहरुको उम्मेदवारी परेको थियो । पूर्व नेपाली समाजका अध्यक्ष तथा समाजसेवी कृष्ण ढकाल, निवर्तमान नेपाली समाजका उपाध्यक्ष तथा समाजसेवी राजेन्द्र देवकोटा जनजाती महासँघका अध्यक्ष तथा समाजसेवी यम प्रसाद तमु । तिन जनाको बिचमा चुनावनै हुने भएको भए पार्षदहरुले एक पटक सोच्नै पर्दथ्र्यो कस्लाई भोट दिने भनेर तिनै जना ब्यक्ति नेपाली समाजलाई आवश्यक पर्ने ब्यक्ति थिए । तर अहिले सबै प्रवासी नेपालीहरुले नेपाली समाजमा नयाँ अनुहार चाहेका थिए र समझदारीमा कृष्ण ढकाल र राजेन्द्र देवकोटाले यम प्रसाद तमुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए यो अति सह्रानिय कार्य हो । यदि चुनाव भएको भए पछि एक दुई भोटको अन्तरालमा विजयी हुँदा नकारात्मक हल्ला फिजिन्थ्यो ।

उपाध्यक्षको लागि दुई जनाको आवश्यकता थियो उक्त पदमा ३ जनाको उम्मेदवारी परेको थियो । नेपाली समाजका पूर्व महासचिव तथा निवर्तमान सदस्य लक्ष्मण सापकोटा नेपाल पत्रकार महासँघ यूएईका उपसभापति मान बहादुर थापा तथा आसिफ अलि सिद्धिकी अन्त्यमा नेपाल पत्रकार महासँघका उपाध्यक्ष मान बहादुर थापाले अन्य दुई जनालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए । महासचिव पदमा भने ३ जनाको भिडन्त हुने निश्चित भईसकेको थियो । नेपाल दुबई जनकल्याण राहतकोषका अध्यक्ष तथा पत्रकार महासँघ यूएई सम्पर्क शाखाका सदस्य धर्मेन्द्र यादव नेपाल पत्रकार महासँघका सदस्य तथा लुम्बिनी वेलफयर सोसाईटीका नारायण अधिकारी तथा जनप्रगतिशिल माच यूएईका उक्तम अधिकारी तिन जनाको अन्तिम समय सम्म पनि समझदारी भएको थिएन ।

विभिन्न बुद्धिजिवी तथा समाजसेवी नेपालीहरुले अन्तिम समय सम्म पनि समझदारी गराउने प्रयास गरिएको थियो । तिनै जना नेपाली समाजमा आउन आतुर देखिन्थे । अन्त्यमा नारायण अधिकारीलाई महासचिव उक्तम अधिकारीलाई सचिव र धर्मेन्द्र यादवलाई प्रवक्ता उक्त हलबाटनै घोषणा गर्ने भनि समझदारी भएपछि मात्र चुनाव हुनवाट रोकियो ।

अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन भएको घोषणा गरिसकेपछि महासचिव पदको घोषणा गर्न निर्वाचन समन्वय समितिलाई निकै कसरत गर्नु पर्यो । निर्वाचन समन्वय समिति लगायत अन्य बुद्धिजिवी तथा समाजसेवी नेपालीहरु सकेसम्म समझदारीमा जाने पक्षमा थिए भने उपस्थित पार्षदहरु भने भोट हाल्न आतुर देखिन्थे । निर्वाचन समन्वय समितिका प्रवक्ता डि।आर। गुरुङ्गले मत पत्र सम्बन्धि मतदाताहरुलाई जानकारी दिदै थिए भने बाहिर ३ जना बिच समझदारी हुँदै थियो । बिचैमा महासचिव पदका दावेदार धर्मेन्द्र यादवले उम्मेदवार फिर्ता लिए पछि अब दुईजनाबिच मात्र चुनाव हुने देखिन्थ्यो । अन्तिम समय सम्म पनि समझदारी भएको देखिन्थेन । तिनै जनाको समझदारी भएतापनि उक्त हलबाटनै घोषणा हुनुपर्नेमा ढिप्पी थिए भने निर्वाचन समन्वय समितिको आचारसंहितामा प्रष्ट खुलाईएको थियो निर्वाचन समन्वय समितिले ५ वटा पदमा मात्र निर्वाचन गर्ने र बाँकी रहेको पदमा अध्यक्षको रोहवरमा पहिलो बैठकमा चयन गर्ने भनेर तर त्यही हलबाट घोषणा गर्ने भनेर ढिप्पी गरेपछि सचिव र प्रवक्ताको पनि त्यहिहलबाट घोषणा गरियो ।

एकैक्षणमा हलमा चुनावी परिणाम आउन थाल्यो । नेपाली दूतावासका प्रतिनिधी तृतिय सचिव जितेन्द्र लाभले विजयी नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई अविर लगाई स्वागत गर्नु भएको थियो ।

चुनावी कार्यक्रम सकिसकेपछिको माहोल झनै हेर्न लायकको थियो । नवनिर्वाचित अध्यक्ष यम प्रसाद तमूलाई उहाँका शुभचिन्तकहरुले फूलमाला र अविरले स्वागत गर्दाको क्षण नेपालकै चुनावी मैदानमा चुनाव लडेर विजयी भएको क्षण जस्तो देखिन्थ्यो । प्रवासमा त्यो दृश्य अति हेर्न लायकको थियो ।

कोषाध्यक्षको पदमा निवर्तमान कोषाध्यक्ष रविन्द्र पौडेलको मात्र उम्मेदवारी परेको हुँदा निर्विरोध निर्वाचित भएका थिए । लक्ष्मण सापकोटा र रविनद्र पौडेल बाहेक अन्य महत्वपूर्ण पदमा सबै नयाँ अनुहार आएका छन् । नयाँ जोस र जाँगर लिएर नेपाली समाजमा आएका नयाँ पदाधिकारीहरुको काँधमा करिव २ लाख प्रवासी नेपालीहरुको भार पर्ने छ । २ बर्षको लागि चुनिएको उक्त कार्यसमितिले नेपालीहरुको समस्याहरुदेखि लिएर अन्य धेरै कार्यहरु गर्नुपर्ने देखिन्छ । यूएईमा छरिएर रहेका सम्पूर्ण नेपालीहरु र सम्पूर्ण नेपाली संघसंस्थाहरुलाई एउटै छातामुनी ल्याउनुपर्ने देखिन्छ ।

अब भावी नेपाली समाजले कस्तो कार्य गर्दछ त्यो त हेर्ननै बाँकी छ ।