December 22, 2008

अतितको पानाबाट (चौथो भाग)

(अतीतको पानाको पहिलो भाग यांहा छ। अतीतको पानाको दोस्रो भाग यांहा छ।) तेस्रो भाग भाग यांहा छ।

पत्र उनैको थियो। ब्यग्रताका साथ पढ्नथालें। पत्रको पहिलो अंशमा उनले मेरो पत्रको प्रतिक्षा गरीरहेकी र किन पत्र नलेखेको भन्ने गुनासो ब्यक्त थियो। पहिलो पत्रमा केही चित्त दुख्ने कुरा भए माफी मागिएको थियो र बांकि भागमा उनले मलाई मन् पराएको कुरा स्वीकार गरेकी थिईन् र जीवन् संगै बिताउने सपना देखेको कुरा उल्लेख गरेकी थिईन् । अनि धेरै कुराहरु-एउटा प्रेममा परेकी किशोरीले लेख्ने चलन् चल्तीका सबै कुराहरु थियो त्यसमा। मैले साथीहरुको प्रेमपत्र लेख्ने र अरुको पनि पढ्नेगरेकोले ती सबैका भाषाहरु करीब् करीब् उस्तैनै लाग्यो। कुनै नवीनता थिएन। तर त्यो कसैले मेरै लागि लेखेकोले असाधारण थियो। हिन्दी सायरीबाट प्रभावित् ती वाक्यांशहरु मेरो मनमा आंधि-तूफान् मचाउन सफल् थियो। पत्र बारंबार पढें र हरेक् पटक् मिठो लाग्यो। जीवनको पहिलो अनुभूति-एउटा मिठो अनुभूति-जुन् फेरि कहिले अनुभव हुन सक्दैन। भएन। त्यो दिनको मेरो पढाइमा बिस्राम् लाग्यो। पढाइमा एकाग्र हुन सकिन र घुम्न निस्किएं। घर नजिक नदी थियो। नदीको किनार किनार धेरै तलसम्म पुगें। हिउंदको महीना, तराईको समथर मैदान। नदीमा, कुनै ठूलो छाल् थिएन-तरंग थिएन। तर मेरा मनका ज्वार्-भाटाहरु उच्च थिए। केही पाउंदाको खुशी थियो। रोमान्च थियो। नदी बही रहेको थियो। पानी जस्तै मेरा सोचाइहरु पनि बगीरहेका थिए-एउटा अनन्त यात्रामा।

त्यस पछि पत्राचारको क्रम् चल्न थाल्यो। हरेक हप्ता-दश दिनमा पत्रको आदानप्रदान् हुन्थ्यो। अकास भन्दा फराकिलो-समुद्रभन्दा गहिरो मायाप्रीतिका कुराहरु लेखिन्थ्यो। अर्को जन्म हुन्छ कि हुन्न थाहा थिएन तर हरेक जन्ममा साथ दिने कसमहरु खाइन्थ्यो। कुनै कुनै पत्रमा त उनले रगतका थोपाहरुलेसमेत केही शब्द लेख्थिन्। सायद मैले पनि त्यसै गरें हुंला। मेरो एस् एल् सी परीक्षा सिद्धियो। परीक्षा समग्रमा राम्रै भयो। परीक्षा पछि म त्यसै हल्लिरहेको थिएं। एक् दिन स्कूल तिर गएको बेलामा मेरो गणित शिक्षकले-त्यसै किन समय खेर फाल्छस्, स्कूल आएर पढाउने गर। क्याम्पसको लागि अलि खर्च जुट्छ भन्नु भयो र स्कूलको निजीस्रोत बाट तलब भुक्तान् हुनेगरी ठाडो अश्थायी नियुक्ति दिलाइ दिनु भयो। वहांले भनेको कुरा अकाट्य हुन्थ्यो। कतैबाट बिरोध् आएन र म शिक्षक भएं। म तासको जोकर जस्तो थिएं-जता पनि फिट हुने। वहांले अरु शिक्षकको बढी भएको पिरिएडहरु झिकेर मलाई दिनु भयो-कुनै कक्षामा गणित पढाएँ, कतै सामाजिक शिक्षा,कतै नैतिक् शिक्षा आदि-आदि।

एउटा असहज परिस्थिति आयो। मलाई उनको कक्षामा पनि पढाउन पर्ने भयो। बिषय चाहि के थियो कुनि, मैले भूलें। अब म उनको शिक्षक बनेको थिएँ। शिक्षकको मर्यादामा बस्नु पर्ने र आफ्नो प्रेम पनि जोगाइराख्न पर्ने। सके सम्म सामान्य हुने कोशीस् गर्थें। उनलाई गर्ने ब्यबहार अरुलाई गर्ने ब्यबहारसंग फरक् वा बिशेष नहोस् भन्ने कुरामा सजग थिएं। मलाई याद छ, स्कूलका केही शिक्षकहरुको केही छात्राहरु प्रति बिशेष लगाव रहेको कुरा चर्चामा आइरहन्थ्यो र म त्यस्तो चर्चाको बिषय बन्न नपरोस् भन्ने चाहन्थें। कक्षामा सोधिएको कुराहरुको उत्तर् दिन नसक्दा छडी खाने पंक्तिमा तिनी पनि पर्दथिन्। तर भेटमा वा पत्रमा माफी मागिहाल्थें र उनले पनि मेरो स्थिति बुझेको र कुनै गुनासो नरहेको कुरा ब्यक्त गर्थिन्। मेरो प्रेम रथ आफ्नै गतिमा चलिरह्यो। कुनै जात्रा, मेलामा भेटने गरिएन न भागेर फिल्म हेर्न गइयो-जुन त्यतिखेर प्रेमीहरुको चलनचल्तीको कुरो थियो। यस्तैमा मेरो एस् एल् सी को रिजल्ट पनि आयो। प्रथम् श्रेणीमा राम्रै अंक ल्याएको थिएं। अब के पढ्ने कुन कलेज् पढ्ने आदि कुराहरुमा बढी ब्यस्त हुनथालें। तर यस् बिचमा उनका केही पत्रहरु अलि अनौठा आउनथाले।

क्रमश्:



गजल - सबको मनमा बसिदिने रैछौ तिमी दौतरी

आचार्य प्रभा

सबको मनमा बसिदिने रैछौ तिमी दौतरी
आकाश,धर्ती जोडीदिने भैछौ तिमी दौतरी।

भावनालाई बल्छी थापी सबलाई खुराक पुर्‍याउने
एकमात्र छरितो हल्कारा रहेछौ तिमी दौतरी।

संसारभरी फैलिएर सबलाई खुशी बनाउने
मनोरन्जनको प्रतिक झैछौ तिमी दौतरी।

जब खोल्छु तिम्रो पन्ना मनै प्रफुल्ल हुन्छ
पुर्णिमाको चन्द्र जस्तै हँसिली नैछौ तिमी दौतरी।

(अमेरिका)
(दौतरीको उत्त्रोत्तर कामना साहित उसैमा समर्पित गजल)



December 21, 2008

हबल्दार !, मास्टर !, र हुट्टीट्याउँहरु !

हवल्दार!, तिमि हवल्दार थियौ
हवल्दारै रहेको भए ठीकै हुन्थ्यो
देशै चलाउँछु भनेर तम्सियौ
पटक पटक मौका पायौ, तर
न त देश नै चलाउन जान्यौ
न आफूलाई नै अयोग्य ठान्यौ

शकुनिका पासा फ्याक्यौं
छिमेकका झाँक्रि डाक्यौ
भष्माशुरको बुई चढी
तिम्ले ईन्द्रासन ताक्यौ

अब तिमि मात्रै हैन देशै डुबाएर छाड्यौ
हबल्दार!
तिमि हवल्दारै भएको भए
कमदेकम देश त डुब्दैन थियो

***         ***          ***
मास्टर!, तिमि मास्टर थियौ ।
मास्टरै रहेको भए राम्रो हुन्थ्यो
कुण्ठाको आवेगमा
दुई-चार लट्ठी हान्न पाएकै थियौ
देशै युद्धभुमी बनायौ

पाठशाला र कक्षा चलाउन नसक्ने
मुलुकै हाँक्न निस्कियौ
सय जना पढने स्कुल र
अढाई करोड जनातको मुलुक
कसरी यौटै हुन्थ्यो?

यो जान्नै सकेनौ!
त्यो धान्नै सकेनौ!
उधारो नीति, सापटीको ज्ञान!
तिमि मात्रै बगेको भए
कुनै रुनु थिएन
तिमिले त लहडमै देशै बगाएर छाड्यौ ।

हबल्दार! मास्टर! र हुट्टीट्याउँहरु

देश तिम्रा बुताले चल्दैनन।
हबल्दार हबल्दारी मै,
मास्टर, पाठशाला मै
र, हुट्टीट्याउँ बाँसको टोडकामै
ठिक थिए, छन र रहने छन।



पूर्वराजा ज्ञानेन्द्र र हामी

शेखर ढुंगेल
क्यालिफोर्निया

नेपालको दशक लामो जनयुध्दले ल्याएको राजनीतिक उतारचढाव परिवर्तनको अभ्यास गर्दै आजको अवस्थासम्म आइपग्दा हामी नेपाली एकदमै स्वार्थी, हतारमा निर्णय गरी फुर्सदमा पछुताउने अनि जता पात हल्लियो त्यसै कुदीहाल्ने प्रवृत्तिमा पर्दछौं । जुन समाजशास्त्री एवं मनोविदहरुको बिश्लेषणमा अपरिपक्व मानसिकताको चरम लक्ष्यण हो । यस्तो प्रवृत्तिलाई मानवशास्त्रीहरु अध्ययनको कमी अशिक्षा एवं अभावको उपज पनि भन्दछन् ।

यो पंक्तिकार यस्तै प्रवृत्तिको शिकार भई १२ वर्ष अगाडि निक्कै लज्जित अनुभव गर्न पुगेको थियो । भएको के थियो भने १९९५-९६ तिर जापानको टोकियोमा एकजना नेपाली व्दारा जापानी नागरिकको बिभत्स हत्या भनी पत्रपत्रिका टीभीमा समाचार प्रचारमा आएको थियो । गैह्रकानुनी रुपमा बसेका नेपालीहरुको बीचमा एक स्वरले अभियुक्तको बिरोधमा कुरा काट्दै थिए अपराधीले नेपालीको बदनाम गरायो । उसलाई खोज्ने क्रममा सबै नेपालीले दुःख पाउने भए आदि आदि । यसै आशयको कुरो मैले जापानिज मित्र सामु राखें उनले भने- तिमीहरु त्यसो नभन घटना घट्यो पत्रिकाले लेख्यो त्यो असत्य पनि त हुनसक्छ । प्रहरीको अनुसन्धान र अदालतको निर्णय नआउन्जेल कुनै धारणा बनाउनु बुध्दिमानी हुन्न ।

यही प्रसङ्गमा पूर्व राजा श्री ५ ज्ञानेन्द्रले शान्तिपूर्वक बहिर्गमन रोजेपछि उनकै आफन्त, उनका भजन मण्डली बनी सडकबाट करोडपति बनेकाहरु नै पूर्वराजालाई लान्छना आरोपका विषबमन गर्न थालेका छन् । उनी शक्तिमा हुँदा हुण्डी खाने, भजन गाउने दर्शन पाउन चप्पल छाडेर दौडने, उनको नाम बेचेर ठगी खानेहरु आज उनलाई बदनाम गर्न अग्रपंक्तिमा देखिएका छन् । असफलताको दोष एक्लो पूर्वराजा ज्ञानेन्द्रको काँधमा थोपर्ने दुस्साहस तिनै व्यक्तिहरु गरिरहेका छन् । जुन कटु यथार्थ पचाउन गाह्रो विषय बनेको छ ।
पूर्वराजाको असफलता सँगसँगै उनको नाममा लुटेर खानेहरु कोही विदेश भागे त कोही पानीमाथि ओभानो बन्न उनकै गल्ती देख्न थालेका छन् । १९ हजार निर्दोष नागरिकको हत्याका योजनाकारलाई आफ्ना भाग्यबिधाता देख्न थालेका छन् । स्वार्थी मानसिकताका यस्ता व्यक्तिहरु आफुलाई समय चिन्नसक्ने र आफ्ना पूर्व अन्नदाता राजालाई समय चिन्न नसक्ने भनी आरोप लगाउन हिच्किचाउँदैनन् ।

यस्तै बतासे लांछनाको भारी बोकी बसेका पूर्वराजा ज्ञानेन्द्रको कदमको पृष्ठभूमितर्फ फर्केर हेरौं । सानाठूला, गरीव-धनी कसैको ज्यानको सुरक्षा थिएन । सरकार शान्तिसुरक्षा दिन असफल थियो । सरकार चारैतिरबाट असफलताको चक्रव्यूहमा फसेको थियो । जताततै आतंकको साम्राज्य फैलिएको थियो । त्यति नै बेला सरकार प्रमुख तत्कालीन प्रम शेरवहादुर देउवालाई हटाउने सिफारिस गर्न पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दरबार जानु भयो । वहाँकै सल्लाहमा पूर्व राजा ज्ञानेन्द्रबाट देउवालाई हटाउने काम भएको हो । तत्कालीन संविधानतः संसद सदस्यहरुको बैधानिकता समाप्त भैसकेको थियो । त्यसैले दलहरुको समर्थन लिई सरकारको नेतृत्व गर्न आव्हान गर्दा दलहरुले सरकार प्रमुखको नाम सिफारिस गर्न नसकी दुईहप्तासम्म देश सरकारबिहीन हुनपुग्यो । यो दलहरुकै जिम्मेवारी थियो । अन्तमाः बाध्य भएर कदम चाल्नुको बिकल्प थिएन । पूर्व प्रम चन्दको राजनीमापछि परिस्थिति संकटपूर्ण बन्यो ।

प्रतिगामी नन्दीभृङ्गीहरुको चंगूलमा परी पूर्व राजा ज्ञानेन्द्र कस्सिए । तत्कालीन अवस्थाको मुख्य शत्रु राजाबाहेक अरुसित कुरा नगर्ने भन्ने माओवादीको रणनीतिले पनि उनलाई उक्सायो । साँच्चिकै वार्तामा आई समस्या समाधानमा साथ देलान् माओवादीले देशको शान्तिसुरक्षा जनताको सुखदुःखमा साथ दिई जस पाउने उनको लालच अनि विश्वासमा तुषारापात भयो- जसरी कोइराला गलत पात्रहरुका कारण असफल भए त्यसै गरी पूर्व राजा श्री ५ ज्ञानेन्द्र पनि असफल भएका हुन् ।

तर पूर्व राजा ज्ञानेन्द्रलई जे जति आरोप-लांछनाको भारी बोकाए पनि वास्तवमा त्यो सबै मिथ्या रहेछ भन्ने साबित गरेर देखाई दियो समयले । मानिसहरु भन्दथे यी साह्रै घमण्डी छन् जिद्दी छन् यिनले सजिलै सत्ता किन छाड्लान् माओवादीले सत्ता पाउन जनयुध्द र रक्तपात मच्चाउनु पर्‍यो। गिरिजाले सत्ता टिकाउन रुकुम रोल्पाका सैयौं घरभित्र सैयौं निर्दोष नागरिकलाई जिउँदै जलाए तर तत्कालीन सेनाका परमाधिपति भएका राजाले १९ दिने जनआन्दोलनकै भरमा सत्ता छाडिदिए सुम्पिदिए । के प्रचण्ड र गिरिजाले त्यसरी त्याग गर्न सके ?।

पूर्व राजाले आफैव्दारा पुर्नस्थापित गरिएको संसदले जबर्जस्ती गणतन्त्रमा जाने भनी गरेको निर्णयमा एक शव्द बोलेनन् । आफुप्रति भइरहेको एकतर्फी अन्यायलाई चुपचाप सहेर बसे । कतै कुनै गुनासो गरेनन् । नेपालीहरुको एकता शान्ति र स्थायित्वको कामना गरिरहेका छन् अद्यापि । जनताको आदेश शिरोपर गर्दै मर्नै परे पनि नेपाली भएरै यही भूमिमा मर्ने प्रण गरेर एक सच्चा देशभक्त इमान्दार नागरिकको स्थान लिन सफल भएका छन् पूर्वराजा । समयलाई चिन्ने उनी बाहेक अर्को व्यक्ति को देखियो आज।

संविधानसभा निर्वाचन अगाडि नै टिके सांसदहरुले संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्ने असंवैधानिक निर्णय गरिसकेको थियो । तर पनि पूर्वराजा ज्ञानेन्द्रले कुनै त्यस्तो हरकत गरेनन् जसले संविधानसभा निर्वाचन बिथोलियोस् । उल्टो उनले सबैको धारणा बिपरित यस्तो महान प्रजातान्त्रिक अभ्यासमा शान्तिपूर्वक सहभागी बनी संविधानसभाको निर्वाचन सफल पार्न जनतालाई आह्वान गरे ।

नेपालका अरु नेताहरुले नबुझे पनि पूर्वराजा ज्ञानेन्द्रले बुझेको एउटै सत्य के देखियो भने हाम्रो देशको राजनीति नेपालीको हातमा रहेन उनको सबैभन्दा ठूलो चिन्ता नै सार्वभौम नेपालको अधिकार अस्तित्वमाथि कसैले धावा बोल्न नपाओस् नेपालको स्वतन्त्र बर्चस्व समाप्त नहोस् नेपाली बिभक्त नहुन् राष्ट्रिय एकता र अस्मिताको रक्षा होस् भन्ने देखिन्छ । बास्तवमा यी कुराको परिपूर्ति बिना न त हाम्रो देश रहन्छ न त प्रजातन्त्र नै ।

इमान्दारिताका साथ भन्ने हो भने हज्जारौं गलत नियतका नन्दीभृङ्गीहरुका उक्साहट बिलौना यातनाकाबीचबाट सरक्क माथि उठी जसरी पूर्वराजाबाट दरवार त्यागेर जंगलतिर उकालो लाग्ने काम भयो उनलाई आधुनिक बुध्द भन्दा फरक पर्दैन । जसरी तत्कालीन राजकुमार शिध्दार्थ शाक्य विश्व मानवजातिको शान्तिको खोजीमा राजकाज त्यागी तपस्यामा लीन भएका थिए त्यसैगरी जनतामा अशान्ति अराजकता अस्थिरताको बीउ म भन्ने भ्रम नपरोस् मेरो बिना देशमा सुखशान्ति छाउँछ भने म बाधक बन्दिन भनी हाँसी हाँसी कुनै गुनासो नपोखी दरवार त्याग्ने पूर्व राजा ज्ञानेन्द्रलाई नेपालको आधुनिक बुध्द भन्दा फरक पर्दैन । तर पूर्वाग्रहीहरुमा यति उदारता कहाँ पाउनु।

बास्तवमा उनले समय नचिनेको बुध्दि नपुर् याएको भए जे पनि हुनसक्थ्यो । शैनिक विद्रोह रक्तपात शैनिक शासन माओवादी जनगणतन्त्र वा विदेशी हस्तक्षेप जे पनि । तर पूर्वराजाकै बुध्दिमत्तापूर्ण सुझबुझमा नेपाली जनताले आज प्रजातान्त्रिक अभ्यासको अभिलाषा पुरा गर्ने मौका पाएका छन् । नेपालको २४० वर्षे इतिहास एवं नेपाली संस्कृतिको एउटा पाटो बनिसकेको राजसंस्था यति सजिलै र शान्तिपूर्वक हट्ने कसैले सोचेका थिएनन् । पूर्व राजाले एक्लै गरेको यो बुध्दिमानी कामले नेपाली जनतामात्रै होइन नेपाल र नेपालीको भलो चाहने सबै राजाप्रति कृतज्ञ भएका छन् । समय र जनमतको कदर गर्ने नेपाली राजाहरुको परम्परामा यो अर्को कडी परिनिर्माण थियो पूर्वराजाको शान्तिपूर्ण तरिकाले राजकाज परित्याग ।

आफु अमुक राजावादी भनाउनेहरु कथित बरिष्ठ पत्रकारहरु पूर्व राजाले हाम्रो सल्लाह बुझें बुझें मात्र भने तर सुनेनन् भनी राजालाई धारेहात लगाई हिडेको सन्दर्भमा पूर्व राजाले धेरै अगाडिको सम्भाव्य परिस्थिति बुझिसकेका रहेछन् भन्ने कुरो हाल आएर प्रमाणित भएको छ । सबैको एउटै भनाई थियो : राजा प्रजातान्त्रिक शक्ति अर्थात् तत्कालीन दलसित मिलेर जानुपथ्र्यो । तर पूर्व राजालाई थाहा थियो: दलहरु कै कारण प्रजातन्त्र राष्ट्रियता र राजसंस्था दाउमा गइसकेको थियो । उनीहरुबाट हत्यािहंसाको अन्त गराई शान्तिसुव्यवस्था कायम हुनसक्ने थिएन । आफ्नो नामको जुवा अरुलाई खेल्न दिनुभन्दा स्वयम् किन नखेल्ने हार्नु जित्नु त आज या भोली पक्कै छ उनलाई स्पष्ट थियो कि दलहरुले उनको रक्षा गर्न सक्दैनन् । उनीहरुको मार्फत राजसंस्था सिकंदा धेरै ढिला र अपि्रय स्थिति आउनेमा शंका थिएन ।

गद्दीहीन बनी शान्तिपूर्वक अध्ययनमा तल्लीन पूर्व राजाले देश र जनताको हित बाहेक केही सोचेका रहेनछन् । उनलाई लगाइएको महत्वकांक्षी भन्ने आरोप पनि मिथ्या साबित भएको छ आज । पूर्व अधिराजकुमार हुँदा कम बोल्ने र कमै जनसम्पर्कमा हुँदा बुध्दिमानी छन् रे भन्ने सुनिन्थ्यो । दरवार काण्डपछि असहज परिस्थितिमा राजा बन्न पुगेका पूर्व राजा ज्ञानेन्द्र लांछना र आरोपका थुप्रै पीडादायी भारी बोक्न बिबश भए । उनीमा साँच्चिकै त्यस्तो महत्वाकांक्षा र गलत नियत थियो भने बोकीसकेको त्यत्रो राजकाजको भारी सजिलै बिसाएर किन हिंड्थै सहजै अनुमान गर्नसकिन्छ कि पीडित पूर्व राजाले जीवनमा ठूलै उतारचढावको अनुभवबाट खारिएरै होला अन्तिम समयमा जुन साहसिक स्वयम् धैर्यतापूर्वक निर्णय गरी एक्लै अगाडि बढी दल र जनताको लागि राजनीतिक मार्ग खुला गरिदिए त्यसको लागि पूर्व राजा ज्ञानेन्द्रको हामी नेपालीले प्रशंसा एवम् आभार व्यक्त गर्न कन्जुस्याईं गर्नु हुन्न । संभवतः विवेक र उदारता भनेको यही हुनेछ ।



December 20, 2008

आफु र आफनोलाई चिनाऔ

बिजय कुमार श्रेष्ठ हाल ईराक

समयको पहिचानलाई कसैले नभुलौ
भोली भन्ने बानी कहिले कसैले नराखौ
नयाँ खोज र सृर्जनालाई प्रोत्साहन दिन नभुलौ
कसैलाई झुटो प्रलोभनको आशामा नझुलाऔ ॥
उतार चडाबको परिवेशमा रम्ने बानि नलिऔ
जीवनको अर्थ बुजेर राम्रोसँग गोटि चाल्ने गरौ
केही सिक्ने र सिकाउने रचनाकारी बन्न सिकौ
सन्सारीक यात्रिको परिचय दिनलाई ज्ञान सिकौ ॥ ॥
मायाले जेलिएको सन्सारमा माया बाढ्न सिकौ
सस्कार र सस्कृतिलाई जगेर्ना गर्ने बानि लिऔ
आफनो पुर्खाले रचेको रचनालाई सजाउने मन्त्र लिऔ
सुन्दर शान्त देशको नाम सधै उच्च राख्ने बाचा दिऔ ॥ ॥ ॥
निडर र पौरखि हातलाई सृर्जनाको बाटोमा अघि बडाऔ
चार जात छत्तिस वर्ण हामी सबै एउटै हौ भन्ने बानी बसाऔ
चन्द्र सुर्य ध्वजा हामीले विश्वमा फहराउने अठोट राखौ
नेपाली हौ भनेर विश्वमा चिनाउने छु भन्ने अठोट सधै लिऔ ॥ ॥ ॥ ॥



एक छिन हासौंन - ७

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
कुकुरको इमान्दारिताको कुरा त शायद मान्छेले पनि उनिहरुलाई त्यही प्रकारको माया,अनुशासन दिएर,सिकाएर हुन सक्ला त्यसरी नै हामीले पनि गर्न सके त हाम्रा देशका भुस्याहा कुकुरहरु पनि त्यस्तै हुने थिए होलान। तर समय र परिस्थितीले गर्दा हामी नै त्यस्तै भुस्याहा कुकुरमा नै झन्डै परिणत भै सकेका छौ अनी बिचरा त्यो निरिह पशुहरुको त के कुरा? आफ्नो देशमा मान्छेको नै गाँस,बास हराइसकेकोबेला कुकुरलाइ कहाँ बाट मान्छेको जस्तै सहुलियत र आराम? । हुन त हाम्रो देशमा पनि त्यसरी सधाएका र त्यसरी पालेका कुकुरहरु होलान जुन हामीजस्ता सर्व साधारणले देख्न असमर्थ पनि छौ।

अहो म त कुकुरको कुरा गर्दा गर्दै यसैमा हराउन थालिछु। जे होस् यहाँ कुकुरहरु इमान्दार भए जत्तिकै हामी पनि आफ्नो देशमा इमान्दार बन्ने कोशीश सबैले गरेमा शायद हाम्रो देश पनि अलिकती सुध्रिनेथियो होला। यस्को अर्थ हाम्रो देश नराम्रो छ भन्नु खोजेको चाँही होइन। हाम्रो देश को कला सस्कृती र सभ्यता सँग अरु देश दाँज्ने हो भने हाम्रो देश अत्ती नै धनी छ, तर हाम्रो मानसिक्ता मात्र अलिकती कम्जोर र स्वार्थी भएकोले हामी अरु देश भन्दा अलिकती पछाडि छौ कि भन्ने महसुश भएको हो। हुनत हामीबिचमा पनि सोचाइ को गरीबी छ, मान्छेलाई हेर्ने दृष्‍टिमा फरक छ अनी कहाबाट अरु देशको तुलनामा हाम्रो देश आओस त? । अब मेरो आफ्नो नै म उदाहरण दिउ न ,यहा मरी मरी १० घण्टा काम गर्दा पनि भएकै छ। यही काम नेपालमा गर्न मलाई लाज हुन्थ्यो। मेरै नजरमा शायद मान्छेमा भेद थियो होला। त र यहाँ आएर सोचाइ, कर्तब्य, मेहेनत, काममा भिन्नता आएको छ। यही आँखाले सबैलाई बराबराएर देख्न थालेको छ शायद यही सोचाइ र मेहेनत आफ्नो देशमा पनि भएको भए म जस्ता हज्जारौ मिलेर आफ्नो देशलाई पनि उन्नतिको मार्गमा लमकाउन सकेको भए हाम्रो देश पनि उन्नतिको मार्गमा लम्कनेथियो होला। त्यसैले त हामी अरु देश भन्दा पछाडि पर्न गएको हो। हुन त मैले कुकुरको कुरा सँग हामीलाई दाँजे यस्को अर्थ यो होइन कि हामी मान्छे कुकुर समान छौ तर यस्लाई सकारात्मक् अर्थमा हेर्ने हो भने अरु देशका पशु त यत्ती इमान्दार र होसियार छन भने हामी मान्छे भएर पनि किन यत्ती कमजोर र बेइमान ?। भन्न खोजेको मात्र हो। यदी कसैलाई अपाच्य हुन पनि सक्छ। यस्को निम्ती म यहाँहरुलाई मलाई सहि सल्ल्हा र सुजाव दिएर मेरो सोंच र लेखनमा अरु उर्जा थपिदिनु हुन बिन्ती चडाउदछु। ल त आजको मेरो अनुभव/अनुभुती पशुको कुरा देखी देश र हामी जनता सम्म पुगेर टुग्याउदैछु। अर्को अंकमा ।
क्रमश: