October 27, 2008

कविता - मन

शेखर ढुङ्गेल
मन
इच्छा अनि अनिच्छाका
सागरमा
बादलमुनिको तुवाँलोले ढाकेका
रहरहरु ओछ्याउँदै
सुस्ताइरहेको छ विक्षिप्त यो मन
उकाली-ओरालीको गोरेटोमा
अनपेक्षित झरी खेप्दा
मनको धाँजा फाटेका छन्
नौलो विहानीको आशा बोकी
पि_िल्सएको घाउ सुकाउँदै
नंग्राहरु घिसार्दै छ यो मन
जँघार यो जिन्दगीको
खहरेहरुमा
असीमित लाप्पा खेल्दै
गति र अगतिको कसीमा
निचोिरंदै
कदम-कदममा रापको
खरानी बनी
आज कतै
भांैतारिएको छ यो मन

मेरो देश
मेरो देश मेरो आत्मा
जहाँ म जाउष सधैं हुन्छ साथमा
शीतलताको विशाल हिमाल मेरै देशमा
कोमलताको उर्वर तराई मेरै देशमा
सभ्यताको पहिलो किरण उदायो मेरै देशमा
कर्मयोगीको तपोभूमि मेरै देशमा
नदी र झरनाको मधुर संगम मेरै देशमा
शान्तिदूत र आतिथ्यशिल्पी जन्मे मेरै देशमा
देवकोटा र भानुभक्तले सृजना कोर्न
सिकाएको मेरो देश
सँस्कृति र मुस्कानको अति धनी मेरो देश
जति टाढा पुगे पनि त्यति नै जजिक मातृप्रेम
जहाँ म जाउष छायाँ बनी साथै हुन्छ मेरो देश
मेरो आत्मा मेरो देश
जहाँ म जाउष साथै हुन्छ मेरो देश


October 25, 2008

छापामारलाई राष्ट्रीय सेनामा नगाभ्दा राष्ट्रको हित हुन्छ

डेढ दशकदेखि रक्तरंजित हिंसाको पर्याय बनेको नेपाली राजनीतिले शान्तिको बाटोमा पदचाप बढाइसकेको छ । शान्तिको बाटोबाट विधिवत रूपमा भयानक र अपत्यारलाग्दो युगान्तकारी परिवर्तन देशले देखिसकेको छ । अढाइ सय वर्ष लामो नेपाली शाह राजाहरूको शासनले देशको राजनैतिक पटांगिनीबाट विधिवत समाप्तिको दिन देख्नु पर्‍यो भने नेपाली राजीतिको सत्ता केन्द्रमा, हिंसात्मक क्रान्तिलाई बाटो बनाएर कतिपयले आतंककारीको रूपमा समेत चिनेको माओवादी पार्टी विराजमान हुन आइपुग्यो । राजनिति यस्तै हो सँधै कुनै एउटै शक्तिको मात्र सिक्का जमिरहन सक्दैन; ढिलो चाँडो नया शक्तिको अविर्भाव र पुरानाहरूको बिदाइ अनि फेरि पुनरागमन वा सदाका लागि अन्त्य अवस्यम्भावी कुरा हुन ।

तर यहाँ उठाउन खोजिएको कुराले भने अहिले नेपाली राजीतिको बजारमा चर्चाको केन्द्रमा रहेको कुरासंग सरोकार राख्छ । त्यो हो माओवादी छापामारहरूको नेपाली सेनामा समायोजन गर्ने वा नगर्ने अथवा गर्ने हो भने कसरी गर्ने । खास गरी माओवादी इतरका राजनैतिक पार्टीहरूले यो विषयलाई निकै संवेदनशिल ढंगले लिएको पाइन्छ र यस्तो काम गर्नै हुन्न भन्ने मत राख्छन् भने माओवादीको सत्ता बाहिर रहेको समूहले विशेष ढंगले शत प्रतिसत माओवादी छापामारहरू सेनाका सबै पद र श्रेणीमा माओवादी कै ढाँचा र वर्गीकरण अनुसार समायोज हुनुपर्ने जिरह राख्ने गरेका छन् , यहाँ पनि माओवादीको सत्तामा रहेको समूहले भने अलिक नरम धारणा अँगालेको पाइन्छ । यो पार्टीको रणनीति पनि हुनसक्छ । कतिपय कट्टरपन्थी विचार राख्ने माओवादी नेताहरूको भनाइमा माओवादी छापामारहरू अहिलेको गणतन्त्रवादी परिवर्तनका वाहक हुन् , यिनीहरू जनसेना हुन र यिनीहरूले पपर्म्परागत नेपाली सेनालाई युद्दमा परास्त पारेर विजयी भएका हुन् त्यसैले यी छापामारहरू नेपाली सेना भन्दा बढी कार्यकुशल छन् । माओवादी छापामारका पक्षमा तरफदारी गर्ने यो समूहको अर्को दावा के छ भने माओवादी छापामारहरू आँफैमा विशिष्ट छन् र उनीहरू माथि नेपाली सेनामा प्रवेश गर्न चाहिने आधारभूत न्यूनतम् शारीरिक र अन्य योग्यताका मापदण्डहरू लागू गर्नु पनि हुन्न ।

सेना समायोजनसंग गाँसिएको यो प्रश्न माओवादीसंग दलहरूले गरेको १२ बूँदे दिल्ली सम्झौता र अमूर्त रहेको वृहद शान्ति सम्झौताको महत्वपूर्ण पक्ष हो । हिंस्रक युद्द लडेर आएको पार्टीको शक्तिको मेरूदण्ड रहेको ठानिएको छापामार समूह जुन संस्तागत रूपमा व्यारेकमा सरकारी कोषबाट पालिएर अनुत्पादक बसेको छ , त्यसको जति सक्दो उचित र द्रूत विसर्जनबाट मात्र शान्ति प्रकृयाले निष्कर्ष हासिल गर्छ । अत: यो मामिला संगीन छ ।

माओवादीका विचारमा उसको जनसेना वा छापामार वर्तमान परिवर्तनको एकल कारक हो । यो जिरह गलत छ किनभने परिवर्तनको पृष्ठभूमिका कारकको कुरा गर्दा माओवादी युद्द , विरेन्द्रको वंश विनास, ज्ञानेन्द्रको उरेण्ठेउलो महत्वाकांक्षा, मित्रराष्ट्र भारतको राजतन्त्र बिरुद्दको वितृष्णा र योजना, दल र माओवादीको सहकार्य अनि सर्वत्रबाट प्रताडित जनताको शान्ति र परिवर्तन प्रतिको उत्कट चाहना जुन निश्चित दल विशेषको दायरा भन्दा निकै माथि थियो जस्ता धेरै कुराहरू अहिलेको परिवर्तको गर्भमा रहेका कुराहरू हुन् भन्नेमा आशंका रहनु हुन्न । कुनै एउटा पक्ष वा कारकले मेरो कारण परिवर्तन भएको श्रेय नै लिन खोज्ने हो भने गणतन्त्रवादी परिवर्तनको जिम्मा स्वयं तत्कालीन राजा ज्ञानेन्द्रलाई दिँदा अनुपयुक्त हुन्न । तर पनि, यति भनेर माओवादीको आन्दोलनको अन्तस्तहमा रहेका कैयौँ विडम्बनाहरूका वावजूद , उसको योगदान एउटा कारक थियो भनेर भन्नै पर्छ । जुन सत्य पनि हो ।

हिजोको परिस्थितिमा पुनरुत्थानवादी र राजावादीहरूको फेरि फर्केर खतरनाक बन्न सक्ने महत्वाकांक्षा र नेपाली सेनामा समेत परम्परागत शक्ति दरवारप्रति वफादारी देखाउनेहरूबाट हुन सक्ने खतरालाई चेक दिन माओवादी छापामार केही हदसम्म काम लाग्न सक्थे भन्ने एउटा आँकलन रहिआएको परिस्थिति पनि अहिले विद्यमान छैन । माओवादी छापामारहरू केही माओवादीले भन्ने गरे जस्तो सर्वविजयी शक्ति पनि होइन र यदि त्यस्तो हुन्थ्यो भने पुरानो नेपाली सेनालाई खारेज गरेर उनीहरू नै देशको सेना भइसक्थे र आँफुले भने जस्तो जनवाद देशमा थोपरिसकिएको हुन्थ्यो । अझै संगीन कुरा के हो भने माओवादी छापामार माओवादी प्रशिक्षित हतियारधारी कार्यकर्ता नै हुन र यी सच्चा अर्थमा 'जनसेना' पनि हैनन् । हिजोको हिंस्रक युद्दकालमा , कांग्रेस वा एमालेका वा अन्य पार्टीका गाउँ र स्थानीय कार्यकर्ता र मतदातालई छानी छानी मार्ने वा कार्वाहिका नाममा दर्दनाक रूपले घाइते बनाउने कतिपय मिलिसियाहरूबाट नै माओवादीको सेना बनेको छ । यस्तोमा माओवादी छापामारमा सर्वग्राह्य र सर्वपक्षी जनसेना बन्न सक्ने कुनै चरित्र छ भनेर दावा गर्न कुनै माओवादी नै अघि सर्न सक्दैन । माओवादी छापामारहरू माओवादी दलका कट्टर कायर्कर्ता हुन जसलाई राजनैतिक र हात हतियारको प्रशिक्षणबाट सुसज्जित पारिएको छ । माओवादी पार्टी स्वयं सत्ताको हर्ताकर्ता बनेको अहिलको सन्दर्भमा , नेपाली सेनालाई पार्टीगत राजनीतिको क्रिडाभूमि बन्न नदिन सचेत रहनु सबैभन्दा बढी उसैको जिम्मेवारी हो । यदि आज उसले अहिलेको परिवर्तनमा आफ्नो अग्राधिकार रहेको कुराबाट फाइदा लिन खोज्छ र गैरराजनैतिक सेनालाई आँफु अनुकूल पार्न आफ्ना मिलिसियाको जबर्जस्त राष्ट्रिय सेनामा समायोजन खोज्छ भने , भोलि तराई र अन्य जातीगत सेनाहरूले शान्ति सम्झौताको टेबलमा आउन यही नजिरको कार्यान्वयन खोज्नु अन्यथा ठहर्दैन । यसले माओवादीको राजनैतिक एजेण्डा देशको राजनीतिलाई , हिंसा र डरको भरमा आफ्नो बाटोमा हिँडाउनु हो भन्नेको तर्कलाई मात्र बल दिन्छ । आफ्नो पार्टीगत राजनीतिको विचार र हिंसात्मक आग्रह लाद्नमा प्रशिक्षित कार्यकर्तालाई मुलुकको स्थायी सरकार मानिने सेनामा बलजफ्ति हुल्दा , अहिले आफ्नो राम्रो भएको ठानिए पनि कालान्तरमा यो विजय घुएँत्रो बन्न जाने सम्भावना उत्तिकै हुन्छ । सेनामा पार्टीगत कोटा छुट्याउने चलनमा पुगेर यो समायोजन प्रकृया टुंगिने स्थिति आउनबाट हामी जोगिनु पर्छ ।

देश राजनैतिक, सामाजिक, साँस्कृतिक र आर्थिक पक्षमा भयानक परिवर्तनको चौबाटोमा खडा छ । अहिले उठाइने विवेकपूर्ण पाइलाहरूले भोलिको दिशा तय गर्न मद्दत पुर्‍याउने छन् । अत: , स्वयं माओवादीले नै देशको भविष्यका लागि डरलाग्दो रूपमा प्रत्यूत्पादक बन्ने संभावनाको यो विषयलाई आफ्नो दावाका भरमा हाइज्याक हुनबाट बचाउने जिम्मेवारी आँफ्नो काँधमा लिन सक्नुपर्छ । जसले जे दावा गरे पनि देश सबैको हो , देशको सेना सबैको हो । मुलुकको रक्षा, शान्ति र समुन्नतिको चाहनालाई सुदृढ गर्ने अनि सेना र प्रशासनिक सेवाका अवसरमा सबै समूदायको सहभागिता अनि सेनाको व्यवसायिक अनुशासनलाई उच्च बनाउन जति जरूरी छ त्यति नै राष्ट्रिय सेनालाई राजनीतिको रंगमा रंगिनबाट जोगाउनु आवश्यक छ । मुलुकको हरेक तह, तप्का, पक्ष र व्यवसाय राजनीतिको आग्रह, पुर्वाग्रह र दूराग्रहमा रंगमगिएको यो वर्तमानमा एउटा मात्र गैरराजनैतिक अस्तित्वलाई यो सरूवा रोगबाट बचाउँदा कुने राजनैतिक दल विशेषले जित्ने वा हार्ने भन्दा पनि मुलुकको भने जीत हुन्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । अत: छापामार कार्यकर्तालाई राजनैतिक कार्यकर्तामा परिवर्तित पार्ने, रोजगारका अवसरमा पुनर्स्थापन गर्ने अनि वैदेशिक रोजगारका अवसरमा पठाउने वा स्वेच्छिक तरिकाले वैयक्तिक रूपमा सेना वा पुलिसका सर्वमान्य मापदण्डलाई स्वीकारेर प्रविष्टि दिने गरेमा नै राम्रो हुनेछ ।

- एकलव्य ( कार्तिक १० ,२०६५ / 26 October, 2008 )



October 23, 2008

किन दौडी रहेछौ ब्यर्थैमा

purushottam subedi
तिम्रो पेट भरिए पछी पनि शायद अरु सामल जम्मा गर्नु छ होला ।
राम्रै गुजारा हुँदा हुँदै पनि अग्लो तला चाहियको छ शायद तिमीलाई ।
चिन्ता तिमीलाई तिम्रै घरको मात्रै छ अरु जाउन सब भांडमा ।
बिपरित बिचार त बैरी नै ठान्छौ के तिम्रै बिचार सब ठीक हो त ?
तिम्रो गाडीका टायर बदल्न बिती सक्यो -नया घरको जग बसाउन बालुआ गिटी खसाउन बिती सक्यो । नेतालाई भन्सुन गरी छोरो अमेरिका युरोप पठाउन बिती सक्यो ।
पार्टिमा ध्यान नदिय पोस्ट धरापमा पर्ने डर पनि उत्तिकै छ तिमीलाई ।
आखिर मानवताको रुप पनि बिर्सेंउ तिमी धनको लालचमा ? तिमी धनी हुँदा
देश कता तिर जादै छ के थाहा छ तिमी लाई ? बिना शुत्रको राज्य हाँक्न
खोज्ने तिमी अब बल्ल चाल् पायौ आफ्नै घर भात्केको ? धेरै धन कमायर
मोज गर्छु भन्ने शोच हो तिम्रो आखिर तिम्रै छोरी बुहारी अपहरित हुन पुगे
कुनै जवाफ छ तिम्रो ? जुन बेला पनि ईर्स्यामा दिन गयको छ तिम्रो ।
अनुशासन को पाठ पढाउन छोडेका छेनौ अरुहरु लाई । आखिर तिमी
शान्ती को अनुभुती गरेकै छौ तैपनी । गिन्तिमा ९९ आँफै हुन खोज्छौ
अन्त्यमा आँफैलाई गिन्ती गर्न भुलेउ १०० पुग्न १ कम भयो ।मिठो त खुब चाहिने तिम्रो जिब्रो लाई तर सादा पानी उमाल्ने ढंग छैन तिम्रै । आखिर कसरी चलाऊछौ त तिम्रो यो घर ? घरमा धैंसो उत्पादन गर्ने आईडिया छैन काजल को उद्योग खोल्ने तिमी कती दक्क्ष छौ आफ्नो देशमा ? बरु दुनियाँ लाई केही दिन सिक । आखिर तिमी एक्लई आयका हौ र जादा पनि एक्लई हो । किन दौडी रहेछौ ब्यर्थैमा ?


October 21, 2008

भेटियो यतिको पईला !

Yeti ko Paila यति र यु. एफ. ओ. दुईवटा यस्ता रहश्यहरु हुन जुन बेला- बेलामा मिडियामा आईरहन्छन, अनि यीनिहरुको अस्तित्वको वारेमा पनि सकारात्म र नकारात्मक दुवै खाले विचारहरु रहेका छन। एकथरि मानिसहरु यिनको अस्तित्वलाई ठाडै नकार्छन भने अर्काथरी बेला बेलामा यस्को अस्तित्वको प्रमाण फेला परेको बताउँछन ।

यहि हप्ता संयोगबस यि दुबैको अस्तितवको वारेमा एकै चोटि ईण्टरनेट, कागजी छापा र बिद्युत्तीय समाचार माध्यमहरु भरिएका छन ।

यु. एफ. ओ. को बारमा आएको खबर यसपाला पनि 'ईतिहासको कथा' भएकोले यहा त्यसको चर्चा गरिने छैन । तर यति, जुन केवल नेपालको उच्च हिमाली भेगमा अझै रहेको विश्‍वास गरिन्छ, को वारेमा फेरि यौटा भर्खरै भएको अध्ययनले यतिको अस्तित्वको प्रमाण दिन कोशिस गरेको छ।

धौलागिरि-४ मा करिव ४२ दिनको अध्ययन, अनुशन्धान पछि भर्खरै यौटा जापानि टोलिले यतिको पद चिन्ह फेला पारेको कुरा बताएका छन।

त्यसो त हिमाली भेगका शेर्पा समुदायका विबिन्न व्यक्तिहरु र पर्वतारोहिहरुले बेला बेलामा टाढा बाट यतिलाई देखेको, जम्काभेट भएको र यदा कदा यतिसंग सम्पर्क गरीएको र उपचार गरेको किबंदन्तिहरु पनि सुन्नमा आएका छन र उनिहरु यतिको अस्तित्वलाई सहज स्विकार्छन । तर यसपाला भने बोलीचालिको भाषामा 'हिम मानव' पनि भनिने यतिको करिव २० ईन्च लामो पद चीन्हको फोटो पनि सो टोलीले सार्बजनिक गरेको छ।

स्मरण रहोस सिलौटेबाट करिव २०० मिटर परको स्थान, जहा सन २००३ मा सो टोली का टोली नेता Yoshiteru Takahashi ले टाढाबाट यौटा करिव १५० से . मि . को हिममानवको आकृति दुई खुट्टाले हिडंदै गरेको देखेका थिए, सोहि स्थानमा यस पटक नौ वटा अति संवेदनशील क्यामरा राखि खोज शुरु गरीएको थियो ।

हुन त टोलीको मुख्य लक्ष हिम मानवलाई फ्लिममा उतार्नु थियो, तर यस पटकको लागि त्यो भने सम्भव भएन । तर उनिहरु यस पटक प्राप्त यतिको पद चिन्हबाट निकै उत्साहित भएका छन । सो टोली का टोली नेता Yoshiteru Takahashi ले आफुहरुले कैयौं पटक हिमाली यात्रा गरिसकेकोले भालु, हरिण वा अन्य कुनै जनावरको पद चिन्हसंग झुक्किने कुनै संभावना नभएकोले बताउँदै, यो यति कै भएको कुरामा पुर्ण विश्‍वस्त रहेको जनाए।

टोली नेताले यतिको पद चिन्हले यो हिम मानव कुनै काल्पनिक कथा नभएकोले आफुहरु जत्ति सक्यो छिटो सो अनुशन्धानलाई निरन्तरता दिन आउने र यतिलाई क्यामेरामा नउतारेसम्म यो खोज जारि रहने पनि बताए ।

(स्रोत: विभिन्न पत्र-पत्रिका र वेवसाइटहरु)



October 20, 2008

कविताभित्र संसार अटेको हुन्छ

आचार्य प्रभा
(अमेरिका )
यौटा स्वछ पाना र कलमको
समागममा जन्मेको म कविता
म भित्र अक्षरहरुको खेती गरिन्छन
अनी ---समग्रमा म
भावनात्मक लहर बन्छु
त्यस लहर भित्र
ह्रृदय छुने भावना हुन्छ ,
कसैको चित्कार हुन्छ ,
पीडा हुन्छ ,बिश्व शान्तिको नारा हुन्छ /
प्रक्रीतिको सौन्द्रय बर्णन हुन्छ ,
आमाको ममत्व हुन्छ
नारीको बेदना हुन्छ
यथार्थमा ,
संसार अटेको हुन्छ /
म कवि हृदयको क्रन्दन हुन्छु
अनी हुन्छु, मनुष्यत्वको प्रतीक
राजनितीको पर्खालले पनि
मलाई छेक्न सक्दैन /
शत्रुताको भयले पनि मलाई
पलायन गर्न सक्दैन /
त्यसैले ---कबिता
गाइनेको गीत हुन सक्दछ ,
मैच्याङको डम्फु हुन सक्दछ ,
सोरठिको भाका हुन सक्दछ ,
धाननाचको ''पालाम ''हुन सक्दछ ,
दोहरिको ''लय''हुन सक्दछ
आखिर ---जे नै भए पनि
कबिता सहिद्को गाथा हुन सक्दछ ,
अस्मिता बेचिएकी चेलीको
चित्कार हुन सक्दछ ,
कबिता हर मर्मको आव्हान हुन सक्दछ ,
स्वच्छ भावनाको प्रस्फुटन हुन सक्दछ,
खाली पाना र कलमको अप्नत्वको
चिन्ह हुन सक्दछ ,
श्रीजनाको अमीट उदगार हुन सक्दछ ,
निस्वार्थ आत्माको देश प्रेमको
सकारात्मक् भावना हुन सक्दछ /


बोस्टनमा महाकवि देवकोटाको शतवार्षिकी

अक्टोबर १८ बोस्टन अमेरिका ।
बोस्टनवासी नेपालीहरुले आज यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाका शतवार्षिकी मनाए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा वोस्टन वरपर रहेका साहित्यप्रेमी नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हार्डभार्ड विश्वविद्यालयका प्राध्यापक डा‌. शिव गौतम, च्याप्टरका महासचिव शिव प्रकाश र कोषाध्यक्ष डा. उषा शर्माले महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वका वारेका प्रकाश पार्नु भएको थियो । च्याप्टरका अध्यक्ष तथा अनेसासका केन्द्रीय उपाध्यक्ष भारती गौतमको सभापतित्वमा भएको सो कार्यक्रममा रमेश शर्मा अच्युत अधिकाएरी पेमानिमा शेर्पा गोकुल ढकाल महेश्वर पन्त सुश्री सृष्टिसुमन पन्त सावित्री नेपाल लगायतले आफ्ना रचना वाचन गर्नु भएको थियो भने ध्रुव धिमिरेले स्वर्गीय देवकोटाको यात्री कविता वाचन गर्नु भएको थियो ।


त्यसैगरि कार्यक्रममा सूर्यप्रसाद नेपाल अच्यतमणी पौडल र मुकुन्द अधिकारीले स्वर्गीय देवकोटा सम्बन्धी आफ्ना अनुभवहरु बताउनु भएको थियो ।
विगत केही वर्षदेखि बोस्टन क्षेत्रमा नेपाली साहित्यिक कार्यक्रको आयोजना गर्दै आएको अनेसास बोस्टन च्याप्टरले हाल नियमित रुपमा द्वैमासिक साहित्यिक कार्यक्रम पनि आयोजना गर्न थालेको छ ।

तस्वीर धन श्रेष्ठ बोस्टन ।