जनताको रगतले भिजेका आफ्ना हातहरू ओभानो पनि बन्न पाएका थिएनन् , माओवादीहरू सत्तासीन बन्ने परिस्थिति जुट्यो । फलत कामरेड पुष्पकमल दाहाल उर्फ कामरेड प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्न पुग्नुभयो । वहाँले यो अकस्मात प्राप्त बोझ उठाउनु पर्दा स्वाभाविक असहजपन महशूस गरेको हुनुपर्छ , त्यसैले शपथ ग्रहण गर्दाका दिनमा पत्रकारहरूको जिज्ञासामा भन्नु भएको थियो ' म अति एक्साइटेड भएको छु, र मसंग अहिले बोल्ने शव्द पनि छैनन्' । तर पदारोहणको २ हप्ता बितिसक्दा, कामरेड दाहालको 'एक्साइटमेण्ट' सब्साइड भइसकेको भान भएको छ । यो किनभने , गएको हप्ता प्रधानमन्त्री दाहालले बिबिसी नेपाली सेवाका रविन्द्र मिश्रलाई एउटा लामो अन्तर्वार्ता दिनुभयो । यसो त अन्तर्वार्तामा कामरेड दाहालको भावुक व्यक्तित्वको धरातलमा बनेको जिम्मेवारीपन झल्किन्थ्यो भने , वहाँको 'एक्साइटमेण्ट' मा ' क्यारिड अवे' हुने कम्यनिष्ट धङधङी बोकेको उद्देश्य पनि छताछुल्ल बन्यो यो वार्ता मार्फत ।
कामरेड दाहाल-भट्टराईको माओवादी पार्टी भित्रको प्रभावसाली सिण्डिकेटले पछिल्ला दिनहरूमा रट लगाउने गरेको चामत्कारिक आर्थिक विकासको नेपाली-मोडेलको पुनर्खुलासा कामरेड दाहालले आफ्नो लफ्पाजि भरिएको वार्ताका दौरान पनि दोहोर्याउनु भयो । तर सदैव जस्तो, यो चामत्कारिक विकास रूपी कल्पनाको घैँटो फुटाल्ने आख्यान बाहेक यस्तो विकासको प्रामाणिक आधार, यसका लागि लगानीकर्ताहरूको खोजी, वातावरणको निर्माणदेखि अरू आवश्यक पर्ने यावत जरूरतहरूको तथ्य र आँकडागत उदाहरण पनि कतै दिन किचकिच गर्नु भएन । यस्तो लाग्छ, माओवादी मोडेलको यो भ्यागुतो जस्तो उफ्रने विकास , नेपालमा एकाएक माओवादी नेताहरुको मुखराविन्दबाट प्रकट हुने बित्तिकै छलाङ मार्दै अवतरण हुन पुग्ने हो । यो विकासे नेपालको कथा बिगत केही महिनादेखि नेपालमा सुनिँदै आएपनि, माओवादीका कुनै पनि नेताले , यो कसरी कारगर हुन पुग्ने हो भन्ने कुरामा माथापच्ची गर्न आवश्यक नै ठानेका छैनन् , कामरेड दाहालको पछिल्लो बिबिसी अन्तर्लापले पनि यसको निरन्तरता बाहेक नया कुरा केही दिएन । विकास र माओवादीले भन्ने गरेको 'चमत्कार' का लागि सोच र भावुकताको भन्दा ,व्यवहारिक योजना र प्रतिवद्दता अनि तिनको क्रियान्वयनको खावचो टड्कारो रहनेछ । हिजो द्वन्दका दिनहरूमा, नेपालमा खोलिएका बहुराष्ट्रिय र विदेशी कम्पनिहरूको अस्तित्व समाप्त पार्न अनि बनेका पूर्वाधारहरूको विध्वंश गर्न खर्चेको माओवादी ऊर्जा र माओवादीले अङ्गिकार गरेको राजनैतिक सिद्दान्तले बोकेको निजि पूँजी र पूँजीको परिचालन , बजारमुखी उदरवादी अर्थनीति बिरोधी एजेण्डा नै यो चमत्त्कारिक विकासको मार्गमा नम्बर १ अवरोधक हो ।
कामरेड प्रचण्डको यो अन्तर्वार्तामा देखिएको अर्को बिसंगत पक्ष भनेको उनको राजनैतिक मुद्दा सम्बन्धी स्वीकारोक्ति हो । विश्वमान्य उदारवादी लोकतन्त्रका पक्षमा खुलेर वितृष्णा जाहेर गर्न नसके पनि आफ्नो पार्टीको आशक्ति र अनुरक्ति एकाधिकारवादी कम्युनिष्ट शासन पद्दति नै हो भन्ने कुरा उनले प्रष्ट बताएका छन् , यो वार्तामा । तर वर्तमान लोकतान्त्रिक संसारको भाका र लयलाई समातेर उनीह बिगतमा आफ्नो पार्टी र अरू कम्युनिष्टहरूले भन्ने गरेको हिंसात्मक रूपले सत्ता कब्जा गर्ने कुरालाई नपक्रेर , लोकतान्त्रिक पद्दतिबाट कम्युनिष्ट राज्य व्यवस्थाको स्थापनातर्फ अघि बढ्ने चलाख तर्क प्रस्तुत गर्छन । यसका लागि उनको जिरह छ आगामी चुनाबमा उनको पार्टीले दुई तिहाइ मत ल्याउने छ र अन्त्यमा उनको लक्ष्य ९०% जनमत हासिल गर्ने हुनेछ । यसरी जनमत प्राप्त भएपछि जनवादी गणतन्त्र स्वत: अनुमोदित हुनेछ भन्ने प्रम दाहालको तर्क छ । सर्सर्ति हे्र्दा यो कुरामा बिमति राख्न पर्ने कुरा देखिन्न । ९०% बन्दा बढी जनताले चाहे भने त मुलुकमा जे कुरा लागू गर्दा पनि लोकतान्त्रिक पद्द्ति सम्मत भएको मान्न सकिन्छ । तर , के आधुनिक विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकहरूमा दलगत प्रतिस्पर्धाको वातावरणमा एउटा दलले ९०% जनमत ल्याउन सम्भव छ ? के कतै यो भएको छ ? संसारका समुन्नत देशहरू र आदर्श लोकतान्त्रिक मानिएका मुलुकमा पनि यति विघ्न जनमत कुनै एउटा दल विशेष वा उसका नीति नियमका पक्षमा एकोहोरिएको छ भन्ने उदाहरण पाइँदैन । यस्तो विघ्न मत कसैले ल्याएको थियो भने केवल फलिपिन्सका पुर्व तानाशाह मार्कोस, बांग्लादेसका तानाशाह हुसेन एर्शाद र रोमानियाका निकोलाइ चाउचेस्कूले मात्र ल्याउन सकेको उदाहरण आधुनिक विश्वमा हामीले देखेका हौँ । सेना , मिलिसिया र बलको भरमा ९९% सम्म जन- मत हासिल गर्ने यी तानाशाहहरूको नियति तिनको त्यो अगाध जनअनुमोदनको भरमा पनि टिकेन , हामीले देखेका हौँ । यस्तो जनमत हासिल केवल देखावटी नौटमकी निर्वाचनहरूमा समा, दाम, दण्ड, भेदहरूको समष्टि शक्ति प्रयोग गरी प्राप्त भएको मात्र देखिन्छ । तर आधुनिक लोकतन्त्रहरूमा बहुमतले शासन दिने र अल्पमतको पनि समावेशी सशक्तिकरणमा विश्वास गरिने हुनाले साथै आवधिक जननिर्वाचनको माध्यमबाट मुलुकको शासन प्रशासन सञ्चालन गरिने हुनाले अनावश्यक प्रचण्ड बहुमतको दरकार नै त्यहाँ ठानिन्न । फेरि जनताको विचार पनि समय समयमा अनि नेता तथा दलहरूको कार्यव्यवहार अनुसार परिवर्तनीय हुने भएकाले एक पटक बहुमत प्राप्त हँदैमा सँधैका लागि अकाट्य हुनेछ भन्नु पनि मुर्खता हो ।
यदि कामरेड प्रचण्डको भनाइ र निहितार्थ बुझ्ने हो भने , अहिले हासिल राज्यको शासन र प्रशासनको भरपुर उपयोग गर्दै माओवादी दलको नियन्त्रणमा रहेको जनवादी गणतन्त्रतर्फ नेपाललाई बलात् लैजाने कुरामा वहाँको पार्टी र नेताहरूमा बिमति छैन, यो छ भने केवल हाम्रो बुझाइमा ।