August 19, 2008

बिरोध र भर्त्सना

अहिले नेपालको माहोल निकै भिन्नै छ। महिनौं लगाए र प्रधान मन्त्री त बने तर अझै सरकार बनेको छैन। मनमोहन पछिका दोस्रा कम्नियुष्ट प्रधानमन्त्री बन्न सफल प्रचण्ड जनयुद्द छेडेर आएका हुन। उनि नेपाली सेनाका पदेन कमान्डर तर उनको मातहतमा अझै पनि जन मिलिसियाहरु छन। वाइ सि एल बिघटन गरे पनि वाइ सि एलका क्रियाकलाप जारी छन। यस्तै यस्तै छन उनका बिरोधाभास क्रियाकलाप। अझ उनले सपथ ग्रहण गर्दा देखाएको क्रियाकलाप त निकै आलोचना खेप्ने खालको छ। यसै प्रसंगमा प्राप्त भएको बिरोध र भर्तसना यस प्रकार छ।
बिरोध र भर्त्सना
नयां नेपालको नाममा नेता भनाउदाहरु एक पछि अर्कोले जनताको संवेदनशील भावनामाथि चोट पुर्‍याउन थालेका छन् यो नेपाल र नेपाली को लागि दुर्भाग्य हुंदै जांदैछ । राष्ट्रियता र राष्ट्रवादिका लागि आफुलाई अव्वल ठान्ने माओवादी नेता प्रचण्डले देशको प्रधानमन्त्री जस्तो पद ग्रहण गर्दा समेत पदीय आचरण स्थापित गर्न नसकेको देख्दा हामीलाई दुःख लागेको छ । शपथ ग्रहणजस्तो राष्ट्रिय समारोहमा राष्ट्रिय पोषाक नै नलगाउने प्रधानमन्त्रीलाई कुन कोटिको नेता मान्ने र यस्ताले देशलाई कुन दिशातिर धकेल्न खोजिरहेका छन् सहजै अनुमान गर्न गाह्रो छ ।


दौरा सुरुवाल कुनै जात विशेषको नभै नेपाली परिचयको द्योतक हो राष्ट्रको उच्च पदाधिकारीले त्यो अस्वीकार गर्नु राष्ट्रिय मर्ममा चोट पुर्‍याउनु हो । प्रधानमन्त्री जस्तो उच्च ओहदामा आशिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पोशाक नलगाउनु रातो टिका लगाएर पनि ईश्वरको नाममा शपथ नलिनु राष्ट्रिय सुरक्षा निकायप्रति अनविस्वास गर्दै आफ्नै जनसेनाको घेरा विस्तार गर्नु आदिले उनको यो पद थाम्न सक्ने क्षमताको विकास भैनसकेको हाम्रो निष्कर्ष छ । नेपाली जनता प्रतिको यो हेपाहा प्रवृत्ति प्रति हामी क्षोभ प्रकट गर्दछौं । हाम्रो राष्ट्रियता र राष्ट्रवादमा किरा लाग्दै गएकोमा दुःख समेत व्यक्त गर्दछौं ।

भवदीय
शेखर ढुंगेल क्यालिफोर्निया
अनिल पाण्डे क्यालिफोर्निया
ज्ञानेन्द्र गदाल कोलोराडो
वासु ढकाल क्यालिफोर्निया
गोविन्द गिरी भर्जिनिया
कमला प्रसाईं न्यूयोर्क
कमल पाण्डे न्यूजर्जी
दिलनाथ गिरी भर्जिनिया
अनुप श्रीवास्तव क्यालिफोर्निया
मणी नेपाली क्यालिफोर्निया
तथा अमेरिकावासी राष्ट्रवादी नेपालीहरु ।



August 16, 2008

रंगहिन गाईजात्रा

मलाई याद छ सानो छँदा गाईजात्रा ताका नेपालका पत्र-पत्रिकाहरु रंगी-चंगी रुपमा निस्कन्थे । नागरिक अधिकारको कुनै प्रत्याभूति नभएको अबस्थामा जनताहरु डराई-डराई केहि व्यङ्य, र घोचपेचमा रमाउथें ।

अहिले समय परिवर्तन भएको छ, तर अब गाईजात्राको कुनै रौनक भने बाँकि रहेन । अब हामिकहा बर्षैभरि गाईजात्रा चल्छ र त्यो पनि उल्टो तरिकाले,। पहिला जनाताले नेतालाई जिस्क्याउँथे भने अहिले बर्षैभरि जनमत र नागरिक अधिकारको उपहास गरेर नेताहरुले जनतालाई जिस्क्याउँछन ।

भर्खरै नेपालको राजनैतिक रंगमञ्चमा केहि ठुला ठुला गाईजात्रे ठट्टा प्रस्तुत भए । राष्ट्रपतिको चुनावमा देखीएको दलिय स्वार्थको नौटंकी, उपराष्ट्रपतिले आफ्नै राष्ट्रभाषा प्रति गरेका घटिया व्यङ्य अनि प्रधानमन्त्रीको चयन गर्न समेत छल-कपट, धोखा, अविश्‍वास र खुट्टा तान्ने खेलको अभुतपूर्व प्रद्रर्शन गरेर नेताहरुले यो कुरा प्रष्ट पारिसकेका छन कि जनमतको उपहास गरेर ३६५ दिनलाई नै गाईजात्रा बनाउन र मनाउन उनिहरुलाई कसैले जित्न सक्दैन ।

साँच्चै भन्ने हो भने, संविधान सभा नै पनि नेताहरुको गाईजात्रे कार्यक्रमको यौटा प्रमुख ‘आईटम’ को रुपमा प्रस्तुत भैरहेको छ । चुनाव सक्किएर देशको भाविश्य निर्धारण गर्ने र देशकोलागी यौटा निश्चित मार्ग चीत्र कोर्ने जनमत पाएर संबिधान सभामा पुगेका सभासदहरु केवल राजनैतिक समिकरण, सत्ताको भागवण्डा र शक्तिको बाँडफाडमा आ-आफ्नो दललाई कसरी बलियो पार्ने र अर्को दलको खुट्टा तान्ने भन्नेमा व्यस्त छन । नेपालको नया संबिधानको खाका कोर्न कसैलाई फुर्सद नै छैन । संबिधान सभाको चुनाव भएको दिनबाट नगनी संबिधान सभाको पहिलो बैठक बसेको दिन देखि गन्दा पनि करिब ३ महिना हुन लागि सकेको । तर नया संबिधानको खेस्रा तयार गर्ने कामको कुनै शुरुवात हुन सकेको छैन ।

लाग्छ हाम्रा सभासदहरुले नया संबिधानको बारेमा बुदांगत बहस गर्न अझै ३-४ बर्षै कुर्नु पर्छ ।

एल. डि. ओ. लाई शौचालयमा थुन्ने मात्रै होईन अब त हामिकहा आफुले भनेको नमाने कुनै संस्थान वा निकायका उच्च तहका अधिकारिलाई ठाडै अपहरण गर्ने धम्कि समेत दिन थालिसके हाम्रा मन्त्रीहरुले। यो भन्दा ठुलो गाईजात्रा के हुनु अरु??।

आज गाईजात्रा हो तर अब नेपालमा आजकल नेताहरु बर्षैभरि जनअधिकारको खिल्ली उडाएर गाईजात्रा मनाउन व्यस्त हुने हुनाले जनताले मनाउने गाईजात्रा ओझेलमा परेको छ । पेट्रोलको लाईन, बन्द, चक्काजाम अनी देशका उपल्लो कुर्शिमा बस्नेहरुनै नेपाली भाषा र राष्ट्रीयतामा व्यङ्य गरेर बसेको बेलामा यो गाईजात्रा रंगहिन भएर देखीएको छ ।



काकाकुललाइ पानी

चैत मासको गर्मिमा पानिको पहुंच निकै कम हुन पुग्दछ। मानिसहरुले पानि जम्मा गर्ने भए पनि चरा चुरुगींलाइ भने यो मौसममा निकै आपत पर्दछ। पखेटा भएका चरा भुरुरु उडेर खोलामा पुग्न सक्ने हुंदा खासै प्यासमा अत्तालिनु पर्दैन। तर यस्ता चराहरु पनि छन जुन वरीपरीको पानी नदेखेर पानीको निम्ती कराउदै हिड्छन। किम्दन्तिमा भनाइ छ चराहरु मध्य काकाकुलले पानीलाइ रगत देख्ने हुंदा पानीको निम्ती सधै भौतारीनु पर्दछ।


बिकास र अर्थतन्त्रमा निकै पछाडी परेको नेपालका राजनेताको हालत पनि त्यस्तै छ। प्राय जनता आधारभुत आब्श्यक्ताबाट बन्चित भएका छन। त्यस्ता जनतालाइ आफ्नो प्रभावमा पार्न निकै सजिलो हुन्छ। तर पनि जनतालाइ रिजाएर देश चलाउनको सट्टा अरुनै तिक्डम लगाएर देश हाक्न प्रयास गर्दछन। केही जत्था भने बन्दुक लिएर देशनै कब्जा गर्न तिर लाग्दछन। जनताबाट भोट लिएर देश राज गर्ने अबसरलाइ लात मार्दै बन्दुको कुन्दा समातेका माओबादी फेरी मतपेटीकाको राफलमा आइपुगे। भाग्यबस संबिधान सभा राफल चिठ्ठा उनिहरुलाइ नै पर्यो। सिंगै उपाहार हात नपरे पनि ठुलो हिस्सा माओबादीकै हातमा पुग्यो। तुरुन्तै माओबादीले कुरा फेरे संबिधान सभा जित्नेले सरकार बनाउने।बोलि र बन्दुकको शक्ती बोकेका माओबादीको अगाडी सबैले घुंडा टेके। तर राष्ट्रपती चुनाबमा भने उनिहरुको हिसाब फेल खायो। युद्दमा हारेको सिपाइ जस्तै घाइते भएका माओबादी साम दाम दन्डभेद गरेर प्रधानमन्त्री भने भेट्टाइ छाडे। एमाले र फोरमको झुन्ड माओबादीमा समाहित हुंदा कांग्रेस एक्लिएर प्रतिपक्षमा बस्न पुग्यो। यदी यो गुटमा फुट नभए नया नेपालसंगै कांग्रेसको राजनितीपनि राजतन्त्र जस्तै हुनेछ। शक्तीको तिर्खामा अत्तालिएका माओबादी रुकुम देखी दिल्लिसम्म भौतारीएका थिए। अब भने पुलिस,सैनिक र मिलिसिया संपुर्ण बागडोर माओबादीमा आइपुगेको छ। यतीखेर शक्तीको लागी फन्को मारेको काकाकुल शक्तीकुण्डमै पुगेको छ। स्विजरलेन्डको सपना बाडेका प्रचण्डले नेपाललाइ कुन चांही ल्यान्डमा पुर्याउने हुन त्यो त समयले नै बताउला?



Olympic Humor




August 15, 2008

पवित्र गठबन्धन र माओवादी 'नया सत्ता' को आयू

कम्युनिष्टहरू धर्म मान्दैनन् र भौतिकवादी हुन्छन भन्ने कुरा राजनीतिको कखग जान्ने मान्छेलाई पनि थाहा भएकै कुरा हो । धर्म मान्नेहरूका लागि भने 'पवित्र' वा 'अपवित्र' ( sacred, holy or unholy ,sacrilige) भन्ने जस्ता कुराहरूको महत्व हुन्छ । तर। केही कुराहरू 'अपवित्र' भैहाल्यो भने पवित्र बनाउन पण्डित वा धर्मगुरूले पवित्र जल अभिषेक गर्न सक्छन् । नेपाली गाउँघरमा अशुद्दलाई शुद्द पारेर काम चलाउने बनाउन सुन पानी छर्केर पवित्र पार्ने पनि चलन छ । तर राजनीतिमा भने कुनै ग्रन्थ छैन जसले कुन कुरा पवित्र वा अपवित्र हो खुट्याउन सकोस् । केही हप्ता अघि कांग्रेस, एमाले र फोरम मिलेर राष्ट्रपतिपदको निर्वाचनमा माओवादीलाई लोप्पा ख्वाएका थिए र यो तीन दलीय मेलमिलापलाई माओवादीले 'अपवित्र' गठबन्धनको संज्ञा दिएर सरकारको नेतृत्व गर्ने नैतिकता आँफूसंग नरहेको स्वीकारोक्ति प्रकट गरेको थियो । राष्ट्रपति पदमा हारेको आवेशमा जे कुरा भनेको भए पनि त्यसपछिका दिनहरूमा भने माओवादीले सरकार गठनको आफ्नो अभिलाषलाई कहिलै लुकाएन । तैपनि नया बन्ने सरकारमा कांग्रेसको सहभागितालाई सकेसम्म पञ्छाएर बाँकि रहेका एमाले र फोरमको मोर्चा आफ्नो नेतृत्वमा बनाएर यो समीकरणलाई 'पवित्र' पार्ने कोशिशमा भने लागि रह्यो । यसरी पाक्दै गरेको खिचडीमा 'पवित्र'ताको 'घ्यू' थपेर स्वादिष्ट पार्ने काम भने हिजो प्रचण्ड प्रधानमन्त्री बनेपछि सम्पन्न भयो । कामरेड प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री निर्वाचित भएको घटना संगै, आधुनिक नेपालका राजनैतिक घटनाक्रमहरूले एउटा वृत्त पूरा गरेका छन् । डेढ दशक लामो हिंसात्मक संघर्ष वा बिद्रोहलाई परिचालन गरी परिवर्तनका नाराहरूका आधारमा राजनीतिमा फर्केको क्रान्तिकारी शक्तिलाई सत्ता राजनीतिको जिम्मेवारी सुम्पेर, मौका पाउँदा उसले के गर्दो रहेछ त भनेर हेर्ने अभिलाषा माओवादीका समर्थक र बिरोधी दुवैलाई रहेको थियो , तर पनि अबको राजनीतिलाई माओवादीले कत्तिको जिम्मेवारीपूर्ण तरिकाले सञ्चालन गर्नेछ भन्ने कुराहरूले नै यो सरकारको आयू तय गर्नेछ । माओवादीले सत्ता आरोहणको यो मौकालाई आफ्ना पार्टीगत राजनैतिक अभिष्ट र एजेण्डा पूरा गर्ने उद्देश्यले प्रयोग गर्न खोजेका खण्डमा माओवादी नेत्रत्वको यो सरकारले १०० दिन पुरा गर्न पनि नसक्ने अनि विकल्पमा अर्को नया समीकरण निर्माण भई सत्ता परिवर्तनका अस्थिर अध्यायहरू पुन: खोलिन सक्छन् । यो दूर्भाग्यपूर्ण नहोला भन्न सकिन्न ।

संविधानसभाको निर्वाचन सम्पन्न भएको ४ महिना पछिमात्र नया सरकार जन्मिन सक्नुमा कांग्रेस माओवादी वीचको खिचातनी ने जिम्मेवार भएको कुरमा बिमति हुन सक्दैन । यसो हुनुमा कसैले कांग्रेस र विशेषत: गिरिजा कोईरालाको सत्ता लिप्सालाई दोष दिएको देखिए पनि , यो मुख्य रुपमा माओवादीको छापामार चिन्तन, वाइसिएल व्यवहार र सैन्य दम्भमा आउन नसकेको परिवर्तनका कारण पनि थियो । सरकारको एउटा घटक दलका रूपमा माओवादी र विशेषत: उसका विविध नामधारी जनवर्गीय संगठनहरूको हरेक जोरजुलुमपूर्ण व्यवहार सहेपनि अरू दलहरूले उसले गर्ने भनिएको सत्ता नेतृत्वसंगै कथित जनयुद्दकालीन व्यवहारमा सुधारको अपेक्षा राख्नु अस्वाभाविक थिएन । त्यसो हुँदा हुँदै पनि माओवादीलाई ऊ संविदानसभामाको सबैभन्दा ठूलो दल हुँदा हुँदै फेरि पनि, सत्ता भन्दा बाहिर राखेर गैर-माओवादी समीकरण बनाउन यदाकदा प्रकट हुने कांग्रेसी चाहना अहिले सम्म उसकै नेतृत्वमा अघि बढिरहेको समग्र शान्ति प्रकृयाका लागि प्रत्युत्पादक हुन सक्थ्यो । यस्तो घडीमा , माओवादी नेतृत्वलाई सत्तामा पुर्‌याएर एमाले र फोरमले जिम्मेवारपूर्ण काम गरेका छन् भने आफ्ना असहमति साथ प्रतिपक्षमा बस्दै संविधान बनाउने जिम्मेवारी पूरा गर्न सक्यो भने कांग्रेसले पनि ठिकै गरेको छ । तर पनि , अबको यो नया परिस्थितिमा नेपाली सेनाको अराजनीतिक चरित्र भित्र माओवादीले कुन किसिमको धावा बोल्न खोज्नेछ भन्ने कुराले यो सरकारको आयू निर्दिष्ट गर्नेछ भन्ने कुरामा द्विविधा नरहँदा हुन्छ ।
माओवादीले नेपाली सेनामा आफ्ना छापामारहरूलाई समूहगत प्रवेश गराउने आफ्नो नितिलाई कार्यान्वयन गराउने अड्डि लियो भने अनि अरूपनि राजनैतिक एवं दलगत एजेण्डा सहित आफ्नो हात बलियो पार्ने योजना अनुरूप काम गर्न चाह्यो भने , यही कारणले यो नया समिकरण धरापमा पर्ने कुरा ठोकुवा गर्न सकिन्छ ।

तर पनि नय बनेको 'पवित्र' गठबन्धनले ' अरूलाई देख्यौँ पटकपटक, हामीलाई हेर्नुस् एकपटक' भन्ने माओवादी उद्घोषलाई साकार पारेको छ । यो घडी , एकतन्त्रात्मक कम्युनिष्ट राज्य निर्माणका लागि कोषे ढुङ्गा नभएर बहुलवादी समतामूलक समाज व्यवस्था निर्माणका लागि भैदियो भने कसैले चिन्ता लिनु पर्ने हुने छैन , हैन र माओवादीको युद्दकालीन हत्या हिंसा र असहिष्णुपूर्ण व्यवहारको सरकारीकरण गर्नलाई यो 'पवित्र'ताको लाहाछाप लाग्यो भने हामि अभागी नेपालीले सन् १९१७ को रसिया वा आजको उत्तर कोरियाको आधारशिला मुलुकका लागि राखेका हुनेछौँ । आशा छ २१ औँ शताव्दिको उत्तर-आधुनिक संसारमा , मानवताले फेरि पिंजडाको सुगा बन्नु पर्ने छैन ।

-एकलव्य



August 12, 2008

ग्रेटर नेपाल नया नेपाल की समृद्ध नेपाल

केही समय पहिला एन आर एन युरोपियन भेलामा मिडिया पार्टनरको रुपमा सहभागी भएको थिए । तेस वेलामा डा उपेन्द्र महतोको एउटा सव्द मेरो मनमा परिरहेको थियो ।आज फेरि समाचारमा ग्रेटर नेपालको व्यानर लिएका केहि मानिस हरु देखे पछि पुन: म त्यस विषयमा सोच्न वाध्य भएको छु । ग्रेटर नेपाल नया नेपाल की समृद्धी नेपाल


पछिल्लो समयमा देशमा राजनैतिक परिवर्तन त धेरै भए तर नेपाली राजनैतिक मनस्थिती कहिले माथी उठन भने सकेन । जुन जोगी आए पनि कानै चिरेको प्रजातान्त्रिक राजनैकित दल त के कुरा र्सवहारा र जनताको सरकार नारा दिइ नेपालको ठुलो दलको रुपमा आएको माउवादी पनि राजनैतिक दाउपेजमा अग्र स्थानमा छ ।नेपालीहरु राजनैतिक रुपमा यति पोख्त भइ सकेका छन कि अव त नेपालको राष्टिय खेल नै राजनिती लाई राखे भइ सक्यो ।


इन्टरनेट जालो भित्र पस्दै गर्दा नेपाल पत्रिकामा एउटा लेख पढन पाए ‘जि’ फर गन रे त्यो पनि १ क्लासमा पढने वाल मनस्थितीमा अनि व्यवहारिक सिक्षा दिन्छन रे ४ क्लासमा त आधुनिक हतियार वारे जानकारी दिने रे। उमेर पुगे पछि नेताले दिएको सपनावाट विउँझिएर विपनाको दुनियामा कदम राख्दा त्यो वालकवाट हामीले के आसा राख्न सक्छौ । मैले मेरो ४ वर्षो छोरा लाई हेर्छु, स्कुलमा खेल्ने वाहेक काम छैन । ए देखि जेड सम्म राम्ररी भन्न सिकाएको त स्कुलको उसको प्रिसिपलले मलाई वोलाइर सोध्छ यस्तो किन सिकाउनु हुन्छ ?।मैले भने त्यो त नर्मल कुरा हो पढन सिकाउनु उ भन्छ वच्चाको उमेर भएको छैन त्यो सिक्न लाई ।उसलाई अहिले देखि मेन्टल प्रेसर दिएर सिकाउनु हुदैंन रे । जवकी मैले उसको उमेरमा त एउटा पुरा वाक्य लेख्न सक्थै ।


मैले यो किन भनि रहेको छु भने डा महतोले नया नेपाल हैन समुद्ध नेपाल भन्नुस भन्नु भएको थियो । जवकी गणतन्त्रमा हामी नया नेपाल भन्दै हिड्दैछौं । उता अव ग्रेटर नेपालको पनि चर्को स्वर आउन थालेको छ । सानो दिमागमा हतियारको सिक्षा दिएर भविष्यको नेपाल के होला र ।