July 19, 2008

राजनैतिक बेइमानीहरूको श्रृङ्खला: नेपालको दूर्दशा

नेपालमा विचित्र हुँदैछ । राजनीतिको बजारमा यति धेरै अस्थिरताका घटनाहरू एकपछि अर्को पटाक्षेप हुँदैछन् कि कतिबेला के हुन जाँदैछ खुट्याउन लगभग असम्भव छ ।


केही साता लामो रमिता पछि अस्ति समाचार आयो, माओवादी एमालेले समीकरण गरेर राष्ट्रपति र सरकार गठन कार्य अघि बढाउने भए । त्यो कुराको चर्चा निमेष भरमा फेरियो , अनि माओवादीले एमालेलाई धोकाको खाल्डोमा खसाएर तराईवादी पार्टीहरू संग माखेसाङ्लो जोडेको चर्चाले लगभग डेढ दिन बजार छायो । फेरि अकस्मात रातारात समीकरण परिवर्तन बन्यो र अब पछिल्लो समयमा आएर कुरा सुनिँदैछ कांग्रेस, एमाले र तराईवादी पार्टीले फेरि नया समीकरण बनाए रे ! यो कुरा पनि राष्ट्रपति र उपराष्ट्रपति चुनाबको अन्तिम परिणाम ननिस्किए सम्म भर वा विश्वास गरिहाल्न पर्ने खालको नहुन सक्छ । किनभने , अब मत खसाउने प्रतेक मतदाताको अन्तर्मनको निर्णय पनि थाहा पाउन पर्ने हुन्छ । गोप्य मतदान भए त कस्ले कता मत हाल्लान भन्न सकिन्न , चुनाबको परिणाम जता जान वा आउन पनि सक्छ । यो खासमा भन्ने हो भने एउटा महान प्रहसनको गाइजात्रा नै हो ।


यी अस्थिर घटनाक्रमहरूले एउटा कुराको दिशा प्रष्ट्याएको छ त्यो के भने , अब यही गाइजात्रे काइदाबाट संविधानसभाको मुख्य काम : नया संविधान लेखाउने र अनुमोदन गराउने हुन लगभग असंभव नै हुन गएको छ । यो स्थिति सिर्जना हुनुका पछाडि रहेका कारणहरूका बारे खोजी गर्दा , वर्तमान नेपाली राजनीतिका तीनवटा मुख्य पार्टीहरूको एकार्का प्रतिको चरम अविश्वास नै हो भन्ने कुरामा अत्युक्ति रहन सक्दैन । तर पनि केही महिना अघि सम्पन्न संविधानसभाको निर्वाचनमा सर्वाधिक स्थानमा जीत हासिल गर्न सफल नेकपा माओवादीले आँफूलाई जनताले सुम्पेको जिम्मेवारीलाई राम्ररी अपनाएर काम गर्न नसकेको कुरालाई नै अहिलेको घटनाक्रम हरूको कारक मान्नै पर्ने हुन्छ ।


माओवादी अहिले सबैभन्दा ठूलो दल बनेको छ र हिजो ऊ भन्दा ठूला रहेका र सत्ता सञ्चालनको अुभव पनि लिइसकेका एवं शान्ति प्रकृयामा उसका सहयोगी रहेका दलहरूलाई समेत पराजित गरेर बन्न पुगेको यो ठूल्याँइलाई उसले चिन्न सकेन । उसले हिजोको धाकधम्कि र ठुस्सिएर कुराहरू माग गर्ने खालको बिद्रोही दलको संक्रमणकालीन भूमिकाबाट बद्लिएको सन्दर्भमा पाएको जिम्मेवारीलाई या त बुझेन चाहेन वा बुझेन ।अत: आँफैले माग गरेको भनिएको संविधानसभा र त्यस्ले लेख्ने संविधानको महान अपेक्षालाई माओवादी स्वयं सम्मिलित बन्दै सत्ता भागबण्डाको झगडामा घटुवा गर्दिएको छ । ऊ जिम्मेवार छ र थियो भने , पदीय बाँडफाँडमा अलिकति ठूलो ह्रदय देखाउँदै कांग्रेस, एमाले र सकेसम्म अरू पनि ठुला साना दलहरूसंग सहकार्य गरेर राष्ट्रपति , सभामुख र सरकार गठनको प्रकृयामा परिपक्वता देखाउन सक्नु पर्थ्यो । यदि यो कुनै हालतमा सम्भव नबनेको स्थितिमा कमसेकम बामपन्थी एकताको दुहाइ दिएर भएपनि एमाले र अरू बामपन्थी दलहरूसंग संगै बढ्न सकेको भए जाती हुन्थ्यो । तर एमालेलाई अन्तिम समयमा धोका दिएर , उसले अत्यन्त अस्थिर र अविश्वासिलो राजनैतिक दलको रूपमा आँफूलाई स्थापित गर्‍यो ।


यी सबै घटनाक्रमहरूका बीच पनि , यो कुरा बुझ्नै पर्छ कि नेपाली राजनितिमा माओवादी, कांग्रेस, एमाले र तराईवादी पार्टीहरू मध्ये कुनै एकलाई पनि बाहिर राखेर सरकारको स्थिरता र नया संविधानको लेखन एवं अनुमोदन सम्भव नै छैन । यस्तोमा राष्ट्रपति उपराष्ट्रपतिको जीतहार क्षणिक रोमाञ्च र दीर्घकालीन अस्थिरताको कारक मात्र बन्न सक्छ किनभने नया संविधानको लेखन यो सभाको मुख्य एजेण्डा हो, जुन यी घटनाक्रम बीच तयति सम्भव देखिन्न ।जिम्मेवारीको कुरा गर्दा माओवादीले आँफू ठूलो दल बनेको चाल नै पाएन कि जस्तो देखिन्छ , तर अरू दलहरू पनि यसका हिस्सेदार भने पक्कै हुन नै । तैपनि ठूलो हुँदाका जिम्मेवारी चिन्नै नसक्नुमा माओवादीको बिद्रोह रोमाञ्च र कोरा क्रान्तिकारिता एवं राजनैतिक अपरिपक्वता अनि अनुभव शून्यता नै जिम्मेवार कारक रहेकोमा आशंका गर्नु पर्दैन ।

यस्तोमा , हेर्‍यो भने नेपाली राजनीतिलाई बाहिरियाहरूले ' राम राम भन्ने तर काँध थाप्न नसकिने' खालको मात्र देख्न सक्छन् ।



July 18, 2008

रामराज्यको बधाई!!

“अब भने नेपालमा रामराज्य आउने भयो !”, एकजना साथिले फोन गरेर यो ठरकिलाई खबर गर्‍यो । २, ४ दिन यता काममा निक्कै व्यस्त थिएँ र नेपालको खबर पनि हेर्न, पढन केहि भ्याएको थिईन । मैले सोचें, सायद नेपालमा अब पेट्रोल पैसा तिरेपछि किन्न पाईने भएछ क्यार (गजब छ हाम्रो देश पनि पैसा तिनेर सामान किन्न पाए पनि त्यसलाई जनताले ठुलो सुबिधाको रुपमा लिनु पर्छ) ।

कम्प्युटर खोलेर यसो अनलाईन खबर हेर्न थाले:- बि बि सि को मुखपृष्ठ मै पेट्रोल अभाव चर्केपछि शिक्षा पनि प्रभावित भन्ने समाचार देखें पछि म जिल्लीएँ, अँह ! होईन रहेछ । १०० रुपैयाको पेट्रोल कालो बजारमा हाल १५० मा बिक्रि हुदैंछ रे भन्ने समाचार पनि पढेपछि मेरो अडकल गलत निक्ल्यो । अनि कसरि आउन लाग्यो त राम राज्य नेपालाँ ? म सोच्न थालें । शायद अब देखि वाई सि एल ले मान्छे नकुट्ने र पैसा नधुत्ने निर्णय गरेछन कि कसो ? । यस्तै हो भने त नेपालमा राम राज्य नआए पनि केहि शान्ति त अवश्‍यनै आँउछ … म हतार हतार नेपालको खवर छापिने अन्तर्जालाका अन्य पृष्ठ चाहर्न थालें ।

कान्तिपुरको अनलाईन संस्करणमा वाईसीएलद्वारा युवतीलाई कुटपिट, अनि अर्को पत्रिकामा ठेक्कापट्टामा भाग लिन आउनेलाई वाइसिएलले कुटे, जस्ता नेपालको कानून नलाग्ने वाई सि एलका नया नया बहादुरिपूर्ण कारनामा पढेपछि त्यो अडकल पनि मिलेन । “हैन अब कसरी आउने भो त देशाँ राम राज्य ?”। एक हप्ता व्यस्त हुँदा देशको काया पलट भएको पनि थाहा पाईएन हो ! म फेरि अन्य सम्भाबनाहरुको बारेमा घोत्लिन थालें । नेपालका दलहरु बिच एकता भएछ की क्या हो ? देशको समस्याको निराकरणको लागि सबैले पार्टिगत बिचार भन्दा माथि उठने निर्णय गरेछन होला! । आहा त्यसो भए त ज्यादै राम्रो हुने भो ! मेरो औलाहरु कम्प्युटर किबोर्डमा द्रुतगतिमा चल्न थाले र मेरो मोनिटरमा नया नाया पृष्टहरु खुल्न थाले।

तर यो के हो? हिमाल खबरमा एमाले अब माओवादीबिरुद्ध भन्ने समाचार छ भने कतै दलहरुबिच सहमतिको सम्भाबना अन्त भन्ने शिर्षक भंगेराको टाउको जत्रो अक्षरमा लेखीएका छन। समाचार पत्रमा सातदलीय सहकार्य भंग भएको खबर पहिलो हरफमा छ भने अन्त कतै दलहरुबिच चरम मतभेद भन्ने मुख्य समाचार बनेको छ ।

हैन कतै यि शब्दहरु पढन त गल्ती गरिंन मैले पून: नेपालको खबर गुगल सर्च गरेर हेरें तर रामराज्यको समाचार कते भेटीएन । त्यसै पनि देशमा गणतन्त्र र सार्बभौमता समेत केबल शब्द-जाल मात्रै रहेको अबस्था छ र नेपालीहरुको नीयति शाब्दिक गणतन्त्र, शाब्दिक स्वतन्त्रताशाब्दिक सार्बभौमिकतामा परिभाषित हुँदै गईरहेको छ । सोच्दा सोच्दै मेरो नजर यौटा पत्रिकाको अनलाईन संस्करणमा पुग्यो त्यहा नेपालमा राष्ट्रपतिको निर्बाचनको खबर छापीएको थियो । झट्ट भावि उमेदवारको नाम हेरें । रामराजा प्रसाद सिह रामपृत पाशवान र रामबरण यादव, अब भने मेरो ज्ञान खुल्यो ! हो त नी राष्ट्रपति भनेको देशको अविभावक वा संरक्षक हुन अब तिनजनामा जो राष्ट्रपति भएपनि देशमा त रामराज्य आउने भैहाल्यो नी!

वाइसिएलले मान्छे कुटे नि रामराज्य, विदेशिले देश लुटे नि रामराज्य! हत्या, हिंसा जे भए नि रामराज्य मधेश भन्दै तराई नै ‘गए’ नी रामराज्य !!

जे होस हामि केवल शब्दमा बाँच्छौ र केवल शब्दमै रमाउछौं । स्मरण रहोस केहि समय अघी “राष्ट्रपति “ भन्ने शब्दले पुरुषलाई मात्रै जनाउने भएकोले त्यो शब्द समेत परिवर्तन गर्न नेपालाँ आन्दोलन नै चलेको थियो नारिवादि बिदुषिहरुको । मतलब, हामि कहिल्यै शब्द भन्दा माथि उठन सकेनौं ।

देश कसले चलाईरहेको छ थाहा छैन तर हामिकहा शब्दको गणतन्त्र छ । घर बाहिर निक्लेको मान्छे कुन बेला फर्कन्छ वा फर्कन्न थाहा छैन तर गृह मन्त्रालयको बिज्ञप्तिमा शान्ति-स्थिति सुदृण भएको छ । एकातिर सामाजिक भेदभाव हटाउने नारा चल्दैछ भने त्यहिं आर्कोतर्फ जातिय राजनीतिमा नेताहरु मस्त छन । मैले त चार कक्षा पढ्दा बुझेको कुरा हो एकतामा बल हुन्छ भन्ने तर हामिकहाँ जत्ति बढी प्रान्तमा देश बाँडियो राष्ट्र उत्ती बलियो हुने गजबको ‘बाद’ बनेको छ । किनकि यथार्थमा जे भए पनि होस हामिलाई केवल शब्दको आड भए पुग्छ, शब्दको एकता, शब्दको बिकास, शब्दको उचाई र शब्दको नया नेपाल ।

जे होस बास्तबिकतामा जे भए पनि शब्दमा रमाउने हामिलाई यौटा नया खुशिको खबर यो पनि बनेको छ: राष्ट्रपतिको निर्बाचनमा चाहे जो सुकैले जितुन त्यहा रामकै विजय हुनेछ र राम नै नेपालका राष्ट्रपति हुनेछन् । त्यसैले अब बस १-२ दिन धैर्य गर्नुस नेपालमा अवश्य नै रामराज्य आउँदै छ । बधाई छ हामि सबैलाई !!!



July 17, 2008

माओबादीले रोजे आफ्नो अल्पायुको बाटो

सर्बप्रथम त यो संबिधान सभाको मूख्य काम भनेको देशलाई दुई बर्ष भित्र एउटा गतिलो संबिधान दिनु हो।गणतंत्रलाई संस्थागत गर्नु हो।जसको लागि एउटा स्थीर वातवरण चाहिन्छ, टिकाउ सरकार चाहिन्छ, दलहरुबिच् सहमती र बिश्वास चाहिन्छ। संबिधान निर्माणजस्तो कुरो कुनै एक दलले निर्माण गर्न सक्ने कुरो होइन। संबिधान सभामा सबैभन्दा ठूलो दलको रुपमा आएको माओबादीले सरकारको नेत्रीत्व गर्न पाउनु निश्चयनै उसको अधिकारको कुरो हो र यसमा अन्य दलले आंखा लगाउन सुहाउने कुरो होइन। शुरुमा नेकाले अलि अलमल गरे पनि पछि सबैले माओबादीले सरकार बनाउने कुरा मानेकै थिए। माओबादीलाइ तिरस्कारनै गर्ने भए, माओबादीको एकल् बहुमत नभएको अवस्थामा माओबादी इत्तरका अन्यदलहरु मिलेर माओबादीलाई सरकार बनाउनबाट रोक्न नसक्ने त होइन नि। आखिर् राजनीति पदकै लडाइ रहेछ-जसबाट माओबादी समेत अछुतो रहन सकेन।


जनआन्दोलनको सफलता पस्चात तुरुन्तै गणतन्त्र घोषणा गर्न माने तेतिखेरै गिरिजाबाबुलाई देशको पहिलो राष्ट्रपति बनाउन तयार् माओबादी संबिधान सभाको चुनाव पस्चात गिरिजाबाबुको नामै सुन्न नचाहने भयो। एमालेसंग राष्ट्रपति पदको लागि सहकार्य गर्ने तर पूर्व महासचिव माधव कुमार् नेपाललाई स्वीकार् गर्न नसक्ने दम्भ देखायो। अर्थात माओबादी एउटा कमजोर्, कम् प्रभावशाली राष्ट्रपति चाहन्थ्यो।सरकार निर्माणको पुर्व संध्यामा एउटा पुर्ण बहुमत नभएको पार्टीले आफ्नो सरकारको लामो आयूको लागि,सकेसम्म सबैसंग, नभए एउटा बलियो दलसंग सहकार्य गर्नु पर्ने हो। तर पहिला कांग्रेस, त्यसपछि एमालेसंग सहकार्य तोडेर एउटा कुनै राजनैतीक् आधार र सामर्थ्य नभएका रामराजालाई राष्ट्रपतिको उम्मेद्द्वार प्रस्तुत गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो।


हुन त माओबादीहरुले सोचेका होलान्, रामराजालाई राष्ट्रपति बनाए मधेशी दलहरुको एक मधेश् एक् प्रदेश् आन्दोलन अलि मत्थर हुनेछ, तर यो मधेशी नेताहरुले कांधमा टेकेर टाउकामा प्रहार गर्ने रणनीति मात्र हो।


माओबादीले खोला तर्‍यो लौरो बिर्सियो गरीरहेका छन्। उनीहरुलाई सफलरुपमा राजनीतिको मूलधारमा अवतरण गराउन एमाले र कांग्रेसले खेलेको भूमिकालाई आज कसरी बिर्सन सकेको?अहिले सम्मको तौरतरिका हेर्दा लाग्छ, माओबादी एक्लै सरकार बनाउन कस्सिएको छ।यदि त्यसो हो भने यो आफू छिट्टो सकिने बाटोमा अग्रसर भैरहेको छ।राजनीति पद र शक्तिकै लागि गरिन्छ। पुर्ण बहुमत नभएकोले राम्रो काम् गर्दा गर्दै पनि नौ महिनामै एमाले सरकार बाट हट्न बाध्य भएको माओबादीले बुझ्नु पर्ने हो र संबिधान सभामा कांग्रेस वा एमाले जस्तो बलियो दलको सहयोग नलिकनै अघि बढ्छु भन्ने सोचेको भए माओबादी आफ्नो अल्पायूको मार्गमा छ भनेर बुझे हुन्छ।आफ्नो पुर्ण बहुमत नभएको अवस्थामा नेका वा एमालेजस्तो बलियो दलसंग सहकार्य गरेर पो आफ्नो सरकारको आयू लामो राख्न सकिन्छ। निस्चित रुपमा गिरिजा वा माधव संग मिलेको हात रामराजा संग मिलेको हात कयौंगुणा बढी शक्तीशाली हुन्छ-माओबादीहरु यंहा निर चुकिरहेका छन्।





Check it out

- Prajwol
I found humorous video about presidental race 2008. It is very funny and quite relative with the Obama-Mc Cain Race.
Please check this out.


July 15, 2008

गुहार! भानु बाजे

समयको बेस्तताले भानुको सम्झनालाई अली पछी भए पनि टासेको छु आशा छ ,पढिदिनु हुने छ

गुहार !भानु बाजे,गुहार
!गुहार ! गुहार!
म लुटिए ,मेरो स्वाभिमान लुटियो
मेरा बोली अतिक्रमणमा चुटियो
आफ्ना जस्ता लाग्ने आफ्नै अनुहार टासेका
आफ्नै मान्छेबाट थिचिएर म
निरह प्राणी झै आँफै सँग हारी रहेछु
प्रदुषणमा निसास्सिएको अजिबको ओठ खारी रहेछु
जिउदा मान्छेको भर छैन
आर्काको जिब्रोको स्वाद छैन
तेसैले
तिमीले स्रिजिएको मिठो बोली बोल्न
तिमीको बिर्खे टोपी नेपाली शिरमा उन्न
गुहार ! भानु बाजे , गुहार!
किनकी
आजभोली जिउदा मान्छेहरु आँफै सँग डराएका छन
बेमौशमको जात्रामा भुली
आफ्नै घर गाउको माटो हराएका छन
हुट्टिट्याउले झै आँफै आकाश थामेको कथा बरबराएका छन
तेसैले ,निया माग्न जाने बाटो बन्द छन
निया दिने ठाम आँफै द्वोन्दमा छन
तिम्रा पाठशाला र पुस्तकहरु सन्सोधन भई
च्याउ खेती झै स्कुल भएका छन
तिम्रा रमायाण र बधु शिक्षा परिवर्तन भई
खोइ के जाती र्याप ,हिपहप भएका छन
तेसैले
गुहार भनु बाजे गुहार
तिम्रा चपलाहरु निर्जल भएका छन
तिम्रा आदर्श घासीहरु स्वार्थले थिचिएका छन
मलाई फेरी कान्तिपुरी नगरि चाहिएको छ
गुनकेसरी शिरमा बोक्ने चपला चाहिएको छ
टुटेफुटे अङ्रेजी मिसावट भाषा भन्दा
लय हालेर गाईने शिलोक चाहिएको छ
कोलाहल र भिड भित्र रङमङिएको आयतित सभ्यता भन्दा
बासुरी र मादलको ताल चाहिएको छ
अब त अती भो
स्वाभिमानलाई बन्धकी राखी हास्ने लाज भयो
आत्मासम्मानलाई बेची उधारो बाँच्न लाज भो
भानु बाजे ,गुहार !गुहार! गुहार!


संविधानसभाको गरिमा र सभासद्

-शेखर ढुङ्गेल
हजारौं जनताको बलिदान अनेकौं विध्वंश लाखौं स्वर्णिम आश्वासनपछि जनता संविधान संविधानसभाले सारा विकृतिको अन्त्य गर्नेछ भनेर नथाक्ने देशका नेताहरुको ढाँट प्रवृत्ति छताछुल्ल भएको छ । संविधानसभा निर्वाचनपछि आफ्नै हातमा डाडु-पन्यौं लिई सातदलीय तानाशाहीले शासन चलिरहेको छ । उनीहरुको दुईवर्षे शासन हेर्ने जो कोही राष्ट्र राष्ट्रिय अखण्डता राष्ट्रिय अस्मिता एवं सार्वभौमसत्तामाथि कालो बादल छाएकोमा चिन्तित देखिन्छन्।

सात दल भनिए पनि खासमा तीन दलको तानाशाही चलेको छ । तीन दलको अधिनायकवादका पृष्टपोषकहरुले बर्षौंदेखिको शोषित पीडित विकृतिको लोकतन्त्रमा मुखरित स्वच्छन्द आवाज अनि संक्रमणकालको चरित्र भनी जनतालाई बताउने र आफ्नो कमजोरीको बचाउ पक्ष खोज्ने प्रयास गरेता पनि हुने विरुवाको चिल्लो पात नहुने विरुवाको खस्रो पात …भनेझैं विगत साँढे दुई वर्षको सरकार साचालनको प्रवृत्ति देख्दा उही सोच उही संस्कार- खै लोकतानित्रक चरित्र र व्यवहार जनतामा नैराश्यता बढ्दै गएको छ । जनताको राजस्व हजम गर्ने तर संविधानसभा चल्न नदिने सभा र सभासद्को नीति-नियम-सिद्धान्त एवं आदर्शबाट बिमुख क्रियाकलाप लोकतान्त्रिक मर्म अनुरुप छैन।

निश्चित समयभित्रमा नयाँ संविधान बनाउनु पर्ने जनतालाई संयमित आस्वस्त एवं विश्वासमा डोर्‍याउनु पर्ने दैनिक प्रशासानलाई नियमित चुस्त आसामुखी बनाउन नीति एवं निर्देशन जारी गरी जनतालाई सहज सरल र इमान्दार राज्यको प्रत्याभूति दिनुपर्ने प्रमुख मुद्दाहरु ओझेलमा परेका छन् । सरकारलाई निर्देशकको भूमिका खेल्नुपर्ने निर्वाचित एवं मनोनीत सभासद्हरु एक प्रकारका दास हुन् कि निर्जीव वस्तु वा रबर-स्ट्याम्प देखिएका छन् । जीवनमा एक पटक बनिने संविधानसभाका सदस्यहरुले त्यसको महत्वलाई आत्मसात् गर्न नसकी बुद्धि र विवेकलाई आबद्ध दलका कमाण्डरकहाँ बन्धकी राखेको देखिन्छ । लोकतानित्रक संविधान बनाउन छनौट भएका सभासद् स्वयं स्वतन्त्र छैनन् भने कसरी लोकतान्त्रिक परिपाटीको विकासप्रति विश्वास गर्ने ?
देश निर्माणको वाधक राजसंस्था एक र एकमात्र कारक तत्व अनि एकमात्र अचुक औषधि संविधानसभाको निर्वाचन भन्ने नेता र तिनको अशीर्वादमा टिकट पाएर वा मनोनीत भएर आएका सभासद्हरुले बुझेको देखिएन कि संविधानसभा सम्पूर्ण नेपालीको सम्मानित गरिमामय थलो हो र देशको भविष्य निर्माण गर्न नीति नियम संविधान बनाउने जसमार्फत जनचाहनाअनुरुप एकता सद्भाव सहयोग एक-अर्काका मूल्य र मान्यताको कदर गर्ने वातावरण तयार पार्नु पर्दथ्यो तर यहाँ त कतै मेला भर्न आएका स्वस्फुर्त रंगी-बिरङ्गी चटके ब्यापारी नौटंकीहरुको जमघटजस्तो यो देखिएको छ । हवाई चप्पल कोलहापुरे चप्पल विहारी पोशाक जिन सर्ट गोठालोले लगाउने ह्याट टोपी लगाएर सभामा उपस्थित हुनु या त सभासद् स्वयंले आफ्नौर संविधानसभाको महत्व र मर्यादालाई बुझेकै छैनन । या त यो संविधानसभालाई पुरानो सदनझैं विकि्रतिको चलो नै ठानी अवमूल्यन गर्दैछन् । सभासद्का नौटङ्की पोशाक र ब्यवहारले यो ए्ेतिहासिक संविधानसभाको उपहास र दुरुपयोग गर्दैछन् । यहाँ कुनै उपबुर्जुगले लोकतन्त्रको अभ्यास पनि भन्न सक्तछन् । तर अमेरिका बेलायत जापानलगायत कयौं युरोपेली राष्ट्रमा सदनमा त के सानोभन्दा सानो सरकारी कार्यालय एवं प्राइभेट कार्यालयमा समेत चप्पल जिन सर्ट पाइण्ट लगाउने अनुमति छैन । सदन सभाजस्ता गरिमामय थलोको इज्जत मर्यादा स्वयम् सांसद सभासद गर्न सक्तैनन् भने उनीहरुप्रति जनताको आस्था कसरी बढ्दछ बरु पूर्व राजाका पालामा असंवरधानिक तरिकाले पुनःस्थापित सदनमा माओवादीले युनिर्फम लगाई प्रवेश गरेका थिए । कम से कम राष्ट्रिय पोशाक लत्याए पनि हिसिला यमीको सस्तो र विवादास्पद जिनपाइण्ट बाहेक पहाडिया पक्षबाट खासै चिन्ता प्रकट भएको छैन । तर बुभ्ाुन नसकिएको आपत्तिजनक रहस्यमय पक्ष केभने सम्मानित सभासद्मा किन यस्तो विकृति सभासद्हरुलाई नेपाली बोल्न नेपाली पोशाक लगाउन र आफूलाई नेपाली भन्न गर्व गर्ने अवस्था देखाउनु छैनभने यो सभा दुभाग्यपूर्ण बन्नेछ र राष्ट्रिय एकता होइन विखण्डनको बिउ रोपिने छ । हाम्रा नेता सभासद् आन्दोलनबाहेक सिर्जनात्मक कल्पना ईच्छाशक्ति प्रतिब्द्धता एवं जिम्मेवारीबोधको अभाव प्रष्ट देखिन्छ ।

देश संविधानसभाको निर्वाचनपछि पनि सात दलभित्रका विशेष तीन दलकै कोठे निर्णय र रणनीतिको तानाशाहीमै चलिराखेको छ । जब कि एक दुई नम्बरका दल दुई र तीन नम्वरमा पुगिसके । सभामा २५ दलको सहभागितालाई छायामा पार्ने काम हुँदैछ । अहम् भूमिका खेल्नुपर्ने सभासद्हरु नतमस्तक भै अप्राकृतिक र अस्वाभागी नाटक माचन गर्छन् वा मुकदर्शन बनेर बस्छन् भने गम्भीर हुनैपर्छ । संविधानसभाको मान मर्दन भैराखेको छ ।

आन्तरिम सरकारले थाति राखेका सम्पूर्ण समस्याको समाधान संविधानसभामार्फत गर्ने भनी समानुपातिक एवं समावेशी रुपमा सभासद्को चयन भैसकेको अवस्थामा विषयवस्तुलाई सम्मान्नित सभामार्फत पारदर्शी तरिकाले जनतामा पुर् याउनुको बदला तीन दलको स्वविवेकमा छोडी सभालाई ुवाइपासु गर्नु अधिनायकवादी सोचको परिणामा हो । देशको सेवा गर्ने यस्तो अबसर जीवनमा दोहोर् याएर आउँदैन । राष्ट्र र जनताको सुदूर भविष्यसम्मको रेखा कोर्ने पवित्र महाआस्थाको केन्द्र संविधानसभाको गरिमा र मर्यादा उच्च राखी काँधमा आएको जिम्मेवरीलाई कुनै जातीय क्षेत्रीयताको सङ्कुचित सीमामा नखुम्च्याई गर्बसाथ हामी र हाम्रो नेापल भन्ने भावना राखी विवेक प्रयोग नगरेमा ऐतिहासिक भूल हुन गै स्वर्णिम अक्षरले इतिहास लेखिनुको बदला कलंङ्कित बन्नेछ । अन्त्यमा नयाँ नेपालको सपनाको भकारीको संविधानसभा जनताको लागि सेतो हात्तीमा परिणत नहोस् । विगत तीन महिनामा देखिएको लज्जास्पद एवं लाचार छायामात्र यो संविधानसभा नबनोस् बिरामी कुरुवालाई भने ।
सभाले जनतालाई देखाएको अपेक्षित उद्देश्य पूरा गर्नेतर्फ जिम्मेवारी पूर्वक सफलता हासिल नगरेमा राष्ट्रको लागि श्राप बन्नेछ ।