April 4, 2008

संबिधान सभाको सेरोफेरोका "राष्ट्रिय मजाकहरु"

विभिन्न समाचार माध्यमहरु: विभिन्न पार्टीबाट समानुपातिक उम्मेद्वार बनाइएका २२७ जना द्वारा नागरिकता पेश नभएको

प्राबिधिक शिक्षा, CMA पढ्न आवेदन दिन नागरिकता चाहिन्छ, पियनको दर्खास्त दिन नागरिकता चाहिन्छ, तर संविधान सभाको लागि भने विना नागरिकता आवेदन गर्न पाइने !!

के संविधान सभा भनेको पियन पद वा CMA को पढाई भन्दा महत्वहिन हो ? २५ वर्ष नाघेका तर नागरिकताको आवश्यकता वा उपयोगीता नजानेकाले भोली संविधानमा कस्तो नागरिक हक, दायित्व, प्रणालीको कुरा समावेश गराउने प्रकृयामा बहस गर्ने होलान् !!

यो त सन्ता सिंहको जोक भन्दा पनि गजबको जोक भएन र!

आफ्ना कार्यकर्ताहरुलाई संयमित हुन प्रचन्डको निर्देशन , माओवादीले कसैलाई आक्रमण नगर्ने

पत्र पत्रीकाका समाचार (अझ फोटो सहित): रसुवामा काङ्रेस उम्मेद्वार माओवादी बाट कुटिये
माओवादी जवाफ: लाखौं नगदको बिटो बोकेर मतदाता किन्दै हिंडेको बेला स्थानिय जनता एवं कार्यकर्ताले बिरोध गरे पछी उल्टै गुण्डा लगाएर जाइ लाग्दै हाम्रा कार्यकर्ताहरुलाई घाइते तुल्याको, त्यही भएर स्थानिय बासिन्दाले चुनाव प्रभाव पार्न खोज्ने लाई कार्वही गरेका हुन।
"क्या जवाफ !!, आँफै छानविन, आँफै सजाय, ठ्याक्कै भ्रष्टचार निवारण शाही आयोग जस्तो !"

संविधानसभाको निर्वाचनको पूर्व सन्ध्यामा देशवासीका नाममा भनेर एक दुई दिनभित्रै राजा ज्ञानेन्द्रको सम्बोधन आउने samudrapari.com

“राजा ज्ञानेन्द्रको संविधानसभालाई शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष ढंगबाट भाग लिन देशवासीलाई आह्वान गर्दै एक दुइ दिन भित्रै सम्बोधन आउने बताईएको छ ”

राजतन्त्रात्मक गणतन्त्र भएको देशमा सम्बोधनमा राजाले पनि गणतन्त्रको पक्षमा वकालत गरे भने पनि अनौठो मान्नु पर्दैन, पशुपती शम्शेर देखी सुर्य बहादुर थापासम्म गणतान्त्रिक पथमा छन भने ज्ञानेन्द्र पनि के कम !

गान्धी बन्न प्रचन्डको निर्देशन
(Kantipur, April 3)

यो निर्देशन आफ्ना कार्यकर्तालाई होइन अरु पार्टीका उम्मेद्वार र कार्यकर्तालाई हो !
भन्न खोजेको के भने, चुनाव सफल बनाउनलाई अब एक हप्ता YCL ले जती पिटे पनि विपक्षीहरु गांधी जस्तै सहंशिल् भएर बस, दुई चार गोली, खुकुरी सहनु पर्छ माओवादीको प्रतिकार नगरि गांधिवादी भएर बस , नत्र ………………भयंकर हुन्छ !!


प्रचन्डको हत्या प्रयास
(Kantipur, April 3)

सिरहाको लहान सभामा आफूलाई हत्या गर्न एक मिनेटमात्र बाकी रहदा षड्यन्त्रकारीलाई वाईसीएलले समाएको प्रचन्डले दाबी गरे ।

एक मिनेट पछी हत्या हुँदैछ भन्ने कुरो काम्रेडले कसरी थाहा पाए ! यो कुरो यमराजले नै भनेको हुनु पर्छ । १५-१६ हजार मान्छे मार्दा पक्कै पनि यिनको यम राजसँग चिन जान वा अझ "अघोषित सहकार्य" भएको हुनु पर्छ र नै उनलाई कसैले मार्न लागेको कुरो एक मिनेट पहिले यमराजले त्यही आएर भनेको हुनु पर्छ ! नत्र त मनुवामा एस्तो खुबी कहाँबाट आउथ्यो होला र!


दुइ कन्टेनर

"बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। "
माओबादीको बिकाससंगै नेपाली शब्दकोशको पनि राम्रै बिकास भो। कती त प्रयोगै नहुने शब्द मुखैमा झुन्डिन पुगे भने कति नया शब्दको बिकास भयो। लौ भन्नुस त छापामार कहिल्यै प्रयोग भएको थियो होला? चक्रपथ सुनेको देखेकै हो, प्रचण्डपथ होला त शब्दकोशमा?
खुशीको कुरो केही गरे पनि तह लगाउन नसकिने भालुको कम्पट माओबादी चुनाबमा आए। यस्तै रमितै रमितामा संबिधान सभाको चुनाव पनि हुने भयो।तर के चुनाबको भोली पल्ट के हुन्छ कसैले सोचेको छ? बास्तबमा भन्ने हो भने नेपाल अहिले २ कन्टामेन्टको बिचमा छ। जंगलका मोओबादी बन्दुक थन्काए जस्तो गरेर गाउंमा किल्ला गाडेर बसेका छन भने शहरका खाओबादी राजदरबारमा टाउको लुकाएर बसेका छन। यो कुरो निश्चिच छ, ४-५ सिट काट्न माओबादीलाइ कठिन हुनेछ भने ४-५ सांसद राजाले पाउन झनै कठिन छ। आफुलाइ बाघ ठान्नेहरु आफ्नो जुघां उखेलीदा के टुलुटुलु हेरेर बस्छन? संबिधान कागजको खोस्टो हो, कानुन पालना गरे संबिधान नै चाहिदैन, पालना नगेर जत्रो ठुलो ढड्डा बनाए नि बिहारको चाल। दुइ दशक पहिले संबिधान बन्दा दिपावली भएको थियो,यस पटक बन्दुक पडकाउलान तर केही दशक पछि अर्को संबिधान सभाको रमिता नहोला भन्न सकिन्न किनकी दुइ दशक पहिला संबिधान यिनै कांग्रेस, कम्निष्टले बनाएका थिए जुन अहिले लाजै पचाएर अर्को संबिधान सभामा उठ्दै छन।
अनुमानीत परीणाम आउने हो भने संबिधान सभाको रिजल्ट पछि माओबादी सर्कसको जोकर र राजा कर्लब्रेकको जोकरमा सिमित हुनेछन। ल भन्नुहोस त जंगलको राजा र शहरको राजा फाल्तु जोकर भएपछी आरामसंग बस्लान त? मैले संबिधान सभाको मुखैमा अशुभ कुरा गरेको होइन न त म संबिधान सभा नहोस भन्न नै चाहान्छु। बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। फेरी पनि संबिधान भन्ने कागजको खोस्टोमा देश बन्दक बनाएर जनताको रगतको होली खेलेको देख्न नपरोस,यही छ पशुपतीनाथसंग मेरो प्राथना।


छापामार

-पुरुषोत्तम सुबेदी

क्रान्तिको चर्का कुराले ,
तरकारिमा नुनै चाहिएन मलाइ ।
जनबादका चिप्ला मलमले ढिडो निल्न ,
गुन्द्धुक चाहिएन मलाइ ।।
हंसिया हतौडाले सज्जित रातो झण्डा ,
मेरै आङको बस्त्र सम्झे ।
जर्ज बुशको अगाडि आफ्नै उपज ,
प्रचण्डपथलाई छेप्यास्त्र सम्झे ।।
भाई गुमायं दाइ गुमाएँ ,
गुमायंँ सबै श्री सम्पत्ति पनि ।
छोरा-छोरी पनि बिषिर् दिएं समाते बन्दुक ,
गर्छु केहि परिर्बतन भनि ।।
उधारो जनबादको लागि नगद ढिडो र गुन्द्धुक पनि दिएँ ।
मन गणन्ते क्रान्ति कथामा छारो भैरेको बलि चढायँ ।।
अब त के रह्यो र म संग ?
मै रिक्तिए पछि थन्किए हतियार ।
लोक तन्त्रको नयाँ थरले पोतिएको गणतन्त्र अगाडि आई भयो लम्पसार ।।
आशा थियो पेट भरि खाने अनि एक सरो आँङभरि लगाउने ।
अनि हरेक बर्षआउने परम्परागत दशै तिहार लोसार इद रमादानमा रमाउने ।।
खै के भनुँ अब म त लुटिय छैन मेरो कोही कतै पनि ।
परिर्बतन बलिदानीको घुमाउरो बाटो त रुम्जाटार पो रहीछ जाने ।।
मलाई के थाहा मेरो पर्खाइमा कोही पनि आउँदैन
भैरेको बलिदानी पनि आउँदैन
तर पर्खि बसे मेरो भाई मेरो दाई अनि मेरो भैरे समयले मलाइ बिर्षदैन ।।
प्रतिक्षा निकै गरे बषन्तको तर देखिन्छन रुखा फाँटहरु चारैतिर ।
कहिले होला हरियाली नयाँ बषन्तको आगमन हुन्छकि कि चाउरे मुहार रसिला आखिर ।।
लौन म त बिच बाटैमा परे गणतन्त्रलाई भाइ दाइ र भैरे सापट दिय ।
आखिर म घर पनि पुग्न सकिन मेरो जनबाद पनि आएन
लोकतन्त्र पनि आएन गणतन्त्र पनि आएन ।।
मेरो भाइपनि आएन मेरो दाइपनि आएन छोरो भैरे पनि फर्केन
आखिर बषन्त पनि आएन, कर्याङ कुरुङ पनि आएनन ,
काँक्रा फर्सि पनि रोप्न पाइएन


April 3, 2008

खुट्टा भाँचिदिने गान्धि र भेजिटेरिएन चिकेन म:म:

माओवादी कार्यकर्ताले सुतीरहेको बेलामा कांग्रेस कुटे , दलहरूबीच विभिन्न ठाउँमा झडप, उम्मेदवारमाथि आक्रमण, काभ्रेमा जनमोर्चाको प्रतिशोध, माओवादीद्वारा नेमकिपाका कार्यकर्ता कुटिए, दलका कार्यकर्ताहरूबीच हिंसा जारी ........

बिगतका केहि हप्ता देखी पत्रिकामा करिब करिब यस्तै समाचारहरुको भरमार छ , अनि पत्रीका पढ्दा लाग्छ हामी कुनै सभ्य समाजको स्वस्थ राजनैतीक प्रतिस्पर्धामा हैन कुनै आदीम ढुंगे युगको "सरदार" वा "मुखीया" बन्ने होडबाजिको मुकाबला र जसको शक्ती उसैको भक्ति भन्ने युक्तिमा विश्‍वास गर्छौं ।

तेस्रो विश्‍वमा हुने निर्वाचान, चुनाव आदिमा एक-अर्कालाई 'तथानाम' भन्ने अनी आफ्नो मार्ग चित्र देखाउने भन्दा प्रतिपक्षको खोईरो खन्ने काम करिव करिव सामान्य जस्तै बनेको छ, तर यसरी एक अर्कामा जाई लाग्ने, कुटने, पिटने र ज्यानै जाने आक्रमण गरेर बिपक्षीलाई परास्त गर्न खोज्ने काम सायद ढुंगे युगमा पनि कमै हुँदो हो ।

सुन्न र भन्न पनि लाज लाग्ने कुरो, देशको भविश्‍य किटान गर्न अग्रसर दलका स्थानिय नेता र कार्यकर्ताको यो व्यबहारले भोलीको नेपालो भविश्य वा संबिधान कुन खालको बन्ला भन्ने बारेमा गहिरिएर सोचने हो भने कहाली लाग्ने अबस्था छ । वरिपरि, कार्यकर्ता र 'सुरक्षा घेरा' सहित चुनाव प्रचारमा हिडेका उम्मेदवारलाई त ज्यान जोगाउन मुश्‍कील हुने यो अबस्थामा सामान्य मतदाताले कसरी भयरहित भएर भोट हाल्ने हुन?

यसै भीचमा फेरी १२ बुँदे, १७ बुँदे के हो कुनी फेरि अर्को यौटा 'झै-झगडा' नगर्ने सम्झ्यौता पनि भएछ .....तर यता झगडा नगर्ने कुरा हुदां हुदैं अर्को तिर ५-७ जनाको हड्डी पनि भाँच्चीसकेको रहेछ। अनि यस्तै कुरै कुरो र लहडको बिचमा भित्ते राष्ट्रपतिले आफ्ना कार्यकर्तालाई कमसेकम १ हप्ताको लागी गान्धी बनिदिन आग्रह गरेछन ।

सोचेँ एकजना कमजोर शरिरका दुब्ला पातला गान्धिको बिचारले पुरै भारतको ईतिहास अर्कै भयो भने हामीकहा त हजारौंको संख्यामा 'गान्धी' हुने भए .....अब भने देशमा केहि हुन्छ । तर मेरो आशा धेरै बेर टिक्न पाएन ..... आज बिहान 'अनलाईन' मा नेपाल एफ एम मा वाई सी एलका महा सचीव दिलिप प्रजापतिसंगको कुराकानी सुन्दै थीए। एउटा प्रश्‍नको जबाफमा उनले आफूहरु गान्धी बने पनि कसैले लात्ता हान्न आयो भने त्यसको लात्ता भाँचिदिने बताउँदै थिए । मैले सुनेको थीए गान्धि भन्ने गर्थे "कसैले दायाँ गालामा थप्पड हाने वाँया गाला पनि दिनु" । तर यहा त गान्धिको पनि क्रान्तिकारी अवतार रहेछ ।

अंहिशाका पुजारी गान्धि र यो खुट्टा भाँचिदिने गान्धि बिच म कुनै तालमेल देख्दिन न त मलाई भित्ते राष्ट्रपतिको उर्दी कार्यकर्ता सम्म लागु हुनेमा नै विश्‍वास छ । यसरी नेताले कसैलाई सुनाउन मात्रै बोल्ने र कार्यकर्ताले सिधै लात्ता भाँचिदिने कुरो गर्ने हो भने भोलीको नया नेपालमा "लात्ता भाँचिदिने गान्धि", 'बन्दुक समात्ने बुद्ध' वा 'खुकुरी भिर्ने' शान्तिदूत जे पनि हुनसक्छन अनि त्यसपछि नेपालको हालत के हुन्छ त्यस बारेमा न त भित्ते राष्ट्रपति न त यि क्रान्तिकारी गान्धि कसैलाई केहि थाहा हुने छैन । गान्धिबाद यौटा तपश्‍या हो जसलाई १ हप्ता लिने र त्यसपछि छोडने कुरा नै गलत छ भने गान्धि बादी हुदै खुट्टा पनि भाँच्दै हिडने कुरा त भेजिटेरिएन चिकेन म:म: जस्तै हो ।



April 2, 2008

पोखिएका खुशी

पोखिएका खुशी
पोखिएका खुशी बटुल्ने आस्थाहरु कुजो भएर हो कि
छिनेका आशा उन्ने धागो काँचो भएर हो कि
विश्वाशका आधारहरु चुडिदै गई रहेछन
सपनाका आकारहरु खुम्चिदै गई रहेछन
छल्लिएका चेतना जगाउने पूजाहरु खोटो भएर हो कि
दुखी रहेको माटो सजाउने हातहरु लुलो भएर हो कि
भरोसाका धारहरु बदलिदै बगिरहेछन
श्रदाका मुर्तिहरु भात्किदै गईरहेछन
तेसैले
निस्ठा र कर्तब्य बिर्सिएका बिदुरहरु
धाराबाहिक किम्बदन्ती भित्र
दर्शन भुली भाषाण छाटीरहेछन
निती छोडि नाता साटी रहेछन
जातिय भेदलाई सल्काएर
मानबताको अबशेश डडाईरहेछन
बुद्दको ढाडमा टेकेर
कुजो शान्तिको बिगुल फुकी रहेछन
रोइ रहेको आफ्नो माटोलाई
भागबन्डाको तरबारले रेटी रहेछन
अर्कातिर
अभिमानी दुर्योधनहरु
बुद्द फल्ने माटोमा आगो रोप्दैछन
शान्तिको छहारिमा बारुद सार्दैछन
अनी
गिदी नभएका दुर्योधनलाई हाक्ने सकुनिहरु
आफ्नै कुरुक्षेत्रको रचनामा
टनकपुर हारे सुस्ता हार्छन
कोशी हारे दशगजा हार्छन
हुनसक्छ हार्दाहार्दै अस्तित्व हार्छन
चेतनामा बिर्को लागेका बिदुरहरु
जती बरबराए पनि
दुर्योधनहरु जती कराए पनि
थेग्न नसकिने डुङुरका डुङुर योजनामा
गास, बास, कपास, अटला भन्ने छैन
शन्ती र सुरक्षा अटाउला भन्ने छैन
यसैले
निरह सगरमाथालाई धितो राख्दै
स्वाभिमानलाई लुटाउछौ हामी
आँफै सँग बिस्थापित भई
परदेशमा पसिना बेच्छौ हामी
सात समुन्द्र पारी झोक्रिएर
मन भरी रोएको नेपाल बोकी
दुई थोपा आशु खसाल्छौ हामी


April 1, 2008

चुनावको चर्चा र मेरो भोट

- चना -


होला होला, नहोला नहोला भन्दा भन्दै नेपालमा संविधान सभाको चुनावको दिन नजिकै आइसक्यो । अबको ९ दिन पछाडि त संविधान सभाको चुनाव - ९ दिन भन्या के हो र ? त्यसो त हाम्रो यो दौंतरी समुहमा केहि समयअगाडि सम्म पनि यो चुनाव यहि मितिमा किमार्थ हुन सक्तैन भन्ने कुरोमा झण्डै सबैको एकमत जस्तो थियो । अनुमान गर्न सकिएका वा नसकिएका कुनै कारण निस्कने छ र चुनाव भाँडिने छ भन्ने मतमा हामी बीच प्रचण्ड बहुमत थियो । तर त्यसको मतलव हामी मध्य कसैले पनि चुनाव नचाहेको भने हैन । कस्तो बिरोधाभाष ? हामी चुनाव होस भन्ने चाहन्छौ, तर चुनाव होला भन्ने विश्वास गर्न सक्तैनथ्यौं । अब एकैछिन किन चुनाव हुँदैन भन्ने पक्षमा उठ्ने गरेका तर्कहरुको समिक्षा गरौ ।

(१) मधेशको समस्या नै समाधान हुनै सक्तैन भन्ने सोचाइ थियो, त्यो समस्या पछाडि दरबार, भाजपा, हिन्दुबादी इत्यादि रहेको र कुनै हालतमा तिनले चुनाव हुन दिँदैन भन्ने थियो । झन महन्थ ठाकुर समेत फुटेर गएपछि त्यो मुद्दा जबरजस्त अगाडि बढेको थियो, तर भारतीय दुतावासले जसोतसो मिलाइदिए ।


(२) त्यसपछि माओबादीले बखेडा झिक्नेछ भन्ने सोचाइ थियो, जनस्तरमा माओबादीले कुनै सम्मानजनक उपस्थीति जनाउन नसक्ने तथा हार्ने चुनाव नलड्ने माओबादि योजनाको संकेत मनग्य थियो । तर अनुमान बिपरीत अहिलेसम्म माओबादी यो चुनावमा प्रतिबद्धता ब्यक्त गर्न चुकाएको छैन ।


(३) मधेशबादि दलले तराइको भोट काट्ने सम्भावना बढ्यो भने काँग्रेसले नै कुनै बहानामा चुनाव हुन दिँदैन भन्ने सोचाइ पनि बलियो तर्क थियो । तर सुजातालगायत कोइराला खलककै सदस्यहरुले समेत दह्रो प्रतिस्पर्धात्मक चुनौतीको सामना गर्नु पर्दा पनि काँग्रेस पछि हटेको छैन । उम्मेदवारहरु गाँउमा छिर्न नसक्दा पनि चुनाव भने गराउनै पर्ने नीतिमा काँग्रेस अडिग देखिन्छ ।


(४) माओबादिको उपस्थितिले एमालेको भोटब्याङकमा दह्रो पहिरो जाने हुनाले माओबादि हावि हुँदै गए एमालेले पनि चुनावमा ब्यबधान खडा गर्नेछ भन्ने सोचाइ थियो । अनुमान मुताविक चुनाव प्रचारको क्रममा कतिपय ठाउँमा एमालेका प्रभावशाली नेताहरु समेत आफैले उम्मेदवारी दिएको चुनावि क्षेत्रमा भ्रमण गर्न नसकि पुलिस प्रशासनको सुरक्षाको सहारामा रहनु पर्ने स्थिति आयो, तर पनि चुनाव रोक्न एमाले इच्छुक देखिएको छैन ।

(५) चुनाव सम्पन्न हुनु अगाडि नै कुनै प्रभावशाली नेताको हत्या वा मृत्यु हुने आशंकाले दह्रै जरो गाडेको थियो । यस्तो कुरा सार्वजनिक रुपमा नभनेपनि सबैजसोको मनमा यस्तो त्रास थियो नै । तर शारीरिक रुपमा कमजोर भनिएका गिरीजा अहिले झन तगडा देखिएका छन, भने देशी बिदेशी प्रतिक्रियाबादीले ज्यान लिने खतरामा रहेका प्रचण्ड दिनपरदिन खतरामुक्त देखिदै छन ।

(६) षडयन्त्रकै भरमा पुस्तौपुस्ता शासन गर्न सफल दरवार चूप लागेर नबस्ने र कुनै न कुनै षडयन्त्र द्वारा सैनिक समेतको सहयोगमा अन्तरीम सरकारलाइ अपदस्थ गर्ने सम्भावना रहेको तर्कहरु पनि बेला बेला उठ्ने गर्थे । बंगलादेश मोडेलको सैनिक शासन लागू गर्ने तैयारी रहेको भन्ने सार्वजनिक आरोपहरु पनि चर्को सुनिए । तर दरबार अनपेक्षित रुपमा मौन बसेको तथा चुनाव भाँड्न खासै सक्रिय भएको देखिएन । यद्यपि आरोप लगाउनेहरुसित दरवारी चलखेलतर्फ औल्याउने तर्क र आशंकाहरु भने छन, जसलाइ पुष्टी गर्ने भरपर्दो आधार छैन ।

(७) बिदेशीहरुको अस्वाभाविक चलखेल र तिनीहरुको स्वार्थको टकराव उत्पन्न हुन जाने हुनाले त्यहि टकरावले चुनाव भाँडिने आशंका बलवान थियो । तर अहिले चुनाव गराइछाड्ने भारतीय बचनबद्धता बाहेक अरु शक्तिहरु खासै सक्रिय र प्रभावकारी देखिएन ।

जम्मा ९ दिन मात्रै बाँकि रहेता पनि यो चुनावको निश्चिततामा अझै थुप्रै शंकाउपशंकाहरु छन । विशेषत: ल्याण्डस्लाइड पराजय भोग्ने क्रममा रहेको माओबादीहरु वाइसियल मार्फत उद्दण्ड हर्कतहरु गरेर समस्या चर्काउने स्वभाव छोडेको छैन भने, तालमेलको अभावमा प्रचण्डले दुबै क्षेत्रबाट हार्ने निश्चित जस्तो छ । उता आफ्ना उम्मेदवार र प्रचार अभियानलाइ गाँउ पस्न नदिएको कारणले काँग्रेस एमाले तथा राप्रपा/राजपाले ठाउँ ठाउँमा चुनावि अभियान स्थगित गर्दै रहेका छन । यस्तो परिस्थितिले गर्दा कतै अन्तीम समयमा गएर चुनाव रोकिने पो हो कि भन्ने डर पूर्णत: निर्मुल भएको छैन । उता क्यान्टोनमेन्टका माओबादि सेना चुनाव प्रचारको निमित्त पछाडिको ढोकाबाट निस्कने क्रम जारी छ भन्ने समाचारहरु पनि आइरहेको छ । इयान मार्टिनले यस्तो अराजक गतिविधि भइरह्यो भने चुनावलाइ अन्तर्राष्ट्रीय मान्यता नदिने धम्कि दिएका छन । यदि यो ९ दिन भित्र चुनाव कुनै कारणवश चुनाव भाँडिए पहिले देखि नै चुनाव हुँदैन होला भन्ने अनुमानमा रहेकाहरु आफ्नो अनुमान सहि निक्लेको कारण भित्रभित्रै जीतको महशुस गर्ने अथवा चुनाव भैहाले त्यस्तो मनोभाव दमित राखेर टिकाटिप्पणी गर्ने होला कि भन्ने मेरो अनुमान छ ।

पूर्वनिर्धारित मितिमा चुनाव भैहालर पनि भोट हाल्ने मामिलामा हामी दौंतरीमध्येका शायद एक दुइजना बाहेक सपैजसो सहभागि हुन नसकिने स्थिति छ । हाम्रो लागि यो चुनाव दूरदर्शन गर्ने भाग्य मात्रै जुरेको छ । लौ चुनाव भएछ, फलाना जितेछ, फलाना हारेछ भनेर गन्थन गर्नेमै सिमित हुने छ, किन कि हामी भोटर भएता पनि भोट हाल्न असक्षम हुने जमात हौ । त्यसैले हामी न यसलाइ जितायौ भनेर खुशी हुन सक्छौ न यसलाइ जिताउन सकेनौ भनेर दु:खि हुन सक्छौ । बचेखुचेका थोरै समयमा हेर्दा सुन्दाखेरी बौद्धिकजस्ता लाग्ने शब्दछन्दहरु ओकलेर थोरै बिश्लेषण, थोरै मनोवाद र थोरै आकांक्षा मिश्रण गर्दै ब्लगहरुमा शब्दमैथुन गर्नुभन्दा पर हामी केहि गर्न नसक्ने अवस्थामा छौ । एकातिर दु:ख लाग्छ, देशमा "एक जुगमा एक दिन एक पल्ट आउने - उलटपुलट ल्याउने" महायज्ञमा सहभागि हुन नपाएकोमा , भने अर्कोतिर निराशा लाग्छ - देशको मुहार फेर्ने मसिहा बन्न उद्यत उम्मेदवारहरुको कुरुप बिगत दानवि स्वभावहरु देख्ता ।

तर पनि चुनावको रन्कोले हामीलाइ छोडेको छैन । भोट हाल्न नपाए नि यसले जिते हुन्थ्यो यसले नजिते हुन्थ्यो भन्ने आग्रह हामीमा पनि पक्कै छ । काठमाडौ उपत्यकाबासि भएको नाताले मेरो पनि आग्रह पक्कै छ । हुन त यस्तो आग्रह त्यो पनि भोटको मामिलामा आफ्नो रोजाइ को हुने हो त्यो सार्वजनिक गरिन्न तर म यो ब्लगमा मेरो रोजाइका उम्मेदवारहरु सार्वजनिक गर्दै छु । साथीहरु पनि इच्छा भए सार्वजनिक गरौ, हेरौ दौतरीका रोजाइमा कुन कुन उम्मेदवार अब्बल निस्कनेछन ।

काठमाँडौ
१ - प्रकाशमान सिंह (काँ)
२ - माधव नेपाल (ए)
३ - मनु हुमागाइ (मा)
४ - सुप्रभा घिमिरे (काँ)
५ - नरहरी आचार्य (काँ)
६ - हितमान शाक्य (मा)
७ - राजेन्द्र श्रेष्ठ (ए)
८ - नविन्द्रराज जोशी (काँ)
९ - कृष्णगोपाल श्रेष्ठ (ए)
१० - सानु श्रेष्ठ (ए)

ललितपुर
१ - उदय शमशेर राणा (काँ)
२ - सिद्दिलाल सिंह (ए)
३ - रघु पन्त (ए)

भक्तपुर
१ - नारायणमान बिजुक्छे (रो)
२ - गणेशबहादुर खत्री (ए)

(नोट: छनोट केको आधारमा गरेको भनेर नसोध्नु होला )