भाराभुरी उमेरको कुरा हो--एक चोटी म घर छिमेकको ठुलो रुख पछाडी कौडा खेल्दै गर्या ठाममा पुग्या थें। त्यता बेला बेला जाने मेरो बानी बढ्दो थ्यो। त्यो कौडाको खेल प्रति मेरो आकर्षण थिएन बरु पैसा प्रति थ्यो। कौडा भल्ने खेलाडीको हातबाट भुईँमा पछारिनु अघि खेलाडीहरु तिया चौका छक्का यस्तै के के भन्दै कराउँथे अनि कौडा पछारिएर लडीबुडी गर्दा नगर्दै कैले मार्आ शब्दले कैले तिर तिर तिर शब्दले बाताबरण गुन्ज्यायमान हुन्थ्यो।
झिमिक्क गर्दा पैसाको कारोबार भैसक्या हुने। के भए मार्ने हो के भए तिर्ने मलाई केही थाह थिएन तर जित्ने सँग नोटको खात देखेर म दङ्ग पर्थे। एक दिन के चाड थ्यो कुन्नी मामाघर गाको थिएँ । टिका लाएर अलिकति पैसा देका थिए। त्यो पैसा लिएर त्यो कौडाको खालमा कैले पुगुँ जस्तो भाथ्यो आफुलाई।
घर आउना साथ पुगें त्यो रुख पछाडी। खेल चलेकै थ्यो। आफुलाई पैसा बढाउनु थ्यो तर के गरी थाह थिएन। टोलका कहलिएका बदमासदाईहरुको खेल थ्यो त्यो। बोलीको मात्रा नपुगे ज्यानले दु:ख पाउँथ्यो। हेर्दै थिएँ त्यो कौडा भल्नेले "के हेरीरा ए फुच्चे...च्याँखे राख्ने हो? भनेर सोध्यो। त्यो सोध्ने भक्तेदाई भनेको खुँखार थ्यो। उस्ले गस्तिमा आएका पुलिस कुटेर ढुट्टो पारेको धेरै भा थेन। त्यस्तो डेडली भक्तेदाईले सोधे पछि हैन भन्ने कुरा भएन। च्याँखे भन्या के हो त्यो पनि थाह थिएन। उनले "राख" भने पछि अघिको टिकाको रंग लाग्या दुई तिनटा नोट थिए सबै झिकें। शिबदाईले खोस्या झैं गरी "तियामा हो?" भने मैले "हो" भन्दें यत्तिकै। भक्तेदाईले भले कौडा। मार्आले खाल थर्कियो। झिमिक्क गर्दा अघि सम्म मेरो खल्तिमा सुरक्षित भाको पैसा त भक्तेदाईको हाताँ। दिक्क लाग्यो। "के भएर खायो दाई?" मैले आफ्नो पैसा गा भएर सोधें। खेलमा एक छिन सुनसान भो। पछि सबै हाँसे अनि भक्तेदाईले जित्या भएर होला अलि नरम सँगै भनें "त्यो तैले अहिले बुझ्दैनस।"
नेपालको लोकतन्त्र र गणतन्त्र अचेल त्यस्तै लाग्छ मलाई।