March 10, 2012

खै के भा के भा?

धेरै दिन पछि दौँतरीका ठरकी दादासंग जिमेलमा गफ गर्न मेसो मिल्यो। केही समय भयो दौँतरीको इमेल हेर्ने मेसो मिलेको थिएन। जिमेलले इमेल मात्र होइन, ब्लगर र पाठकसँग गफ गर्ने मेसो पनि जुराउँछ। आज त्यस्तै समय जुर्यो।

कुनै बेला हरेक दिन जसो ठरकी दादाका लेख दौँतरीमा हेर्न पाइन्थ्यो। हेरक दिन जसो सरदर ३ लेख प्रकाशित हुन्थे। ठरकी,एकलव्य,बिर्खे,मिसमी,दिप,कृष्णपक्ष,ह्याप्पी डेज,गोकुल,चना,राहुल,दिनेश,पिजी,पोष्टक,म्याभरीख,यात्री शेखर लिस्ट अझै लामो छ। अहिले लेखहरू निकै पातलो मात्र भएका होइनन्, नयाँ लेख पढ्न हम्मे हम्मे नै हुन्छ। केही छिनको सन्चो बिसन्चो पाछि ठरकी दादासंग पनि यही कुरो चल्यो। उहाँले झट्ट भन्नुभयो, खै के भा के भा। हुन पनि हो, दिनै दिनै नयाँ लेख नभइ पनि हप्तामा एउटा लेख त हुनु पर्ने हो। खै के भएर हो, महिनामा नै एउटा लेख पढ्न पाउन मुस्किल भएको छ।
समयसँगै हरेको कुरा परिवर्तन हुन्छ। ५ बर्ष पहिले फेसबुक बिरलै सुनिन्थ्यो।अहिले फसबुकमा गाउँका हजुरबुबा पनि लोडसेडिगंको बाबजुत स्टेटस अपटडेट गर्न भ्याउनुहुन्छ। फेसबुक तथा अन्य इन्टरनेट संजालले निकै ठाउं ओगटेको छ तर ब्लगको महत्व पक्कै पनि घटेको छैन।

समयले कोल्टो पक्कै फेर्ने छ तर समयसँगै दौँतरीलाई अनुकूल पक्कै बनाउने बाचा गर्दै केही समय पहिले सपना संसारमा प्रकाशित राजु लामिछानेको रमाइलो कार्टून प्रस्तुत गर्दै दौँतरीमा पुन झुल्किने बाचा गर्दछु।



February 13, 2012

बदला मायाको

यात्री शेखर 
‘अंकल तपाई मलाई किन यति धेरै माया गर्नुहुन्छ’, अचानक आज उस्ले गरेको प्रश्नले मलाई दिनभर असजिलो बनाइरह्यो । अघिल्ला भेटहरुमा कहिले पनि उसले यस्तो प्रश्न गरेको थिएन ।
उसंगको पहिलो भेट सम्झन्छु ‘नाइ म त नचिनेका मानिससंग बोल्दीन,’ उस्ले भनि नसक्दै सोधेको थिए ‘किन कस्ले भन्यो, म त चिनेकै मान्छे हुँ नी नचिनेको भए तिम्रो नाम मलाई कसरी थाहा हुन्छ?’ अलि अलि डराए जस्तो अलि अलि हासे जस्तो गर्दै उस्ले भन्यो ‘मामुले भन्नुभा’को नचिनेका मान्छेहरुले हामी बच्चाहरुलाई फकाएर टाढा लग्छन रे, बेच्छन् रे जे पनि गर्न सक्छन् रे, हो अंकल ? अनि तपाइले मेरो नाम कसरी थाहा पाउनु भयो त? तपाइ को हो नी ?’
‘म रोशु अंकल हो नानी, ममिले भने जस्तो सबै मानिस खराब हुदैनन् त्यसरी लगेर बेचिहाल्ने मानिस हाम्रो वरपर त्यति सजिलै आउदैनन् । यता तिर त असल असल मानिसहरु हिड्छन्’, मैले उस्लाई सम्झाए । ‘संसारमा कसैले कसैलाई चिनेको हुदैन । नचिनाउने हो भने बाबु आमा पनि त चिनिदैन नी त्यसैले संसारमा कोही अपरिचित हुदैन सबैसंग परिचय बनाउने हो ।’
मेरा कुरा सकिन नपाउँदै उस्ले सोध्यो ‘कसरी बनाउने परिचय ?’ मैले उसलाई भने परिचय आफै बन्दै जान्छ । तिमी जति ठुलो हुदैजान्छौ त्यति परिचयहरु थपिदै जान्छन् । मेरा कुरा सुनेर उ बुझे जस्तै गरी चुप लाग्यो ।
म एयरपोर्ट जादाँ बाटामा पटक–पटक म उस्लाई देख्थे । उस्को नाम पनि फेसबुकमा आज भन्दा सात बर्ष अगाडी नै थाहा पाएको हुँ । तर उसंग बोल्ने र उस्लाई बोलाउने रहर कहिले आएन । त्यसदिन म एयरर्पोट जादै थिए उ स्कुल जादै रहेछ बाटामा अचानक भेट भयो । मैले नै उस्लाई बोलाएं । आफ्नै नाम लिएर बोलाएपछि उ आफ्नो गति रोक्न बाध्य भयो । मैले उस्लाइ ‘सन्चै छौ’ भनेको थिए । उस्ले जवाफमा त्यहि भनेको थियो, ‘नाइ म त नचिनेका मानिससंग बोल्दीन ।’
यसरी उसंग भेटघाट हुन थालेको छ महिना बितिसकेछ । सात बर्षको अत्ति नै जिज्ञासु बच्चा पहिलो भेटमै उस्लाई प्रतिबद्धता जनाउन लगाए । मलाई भेटेको नभन्न भने उस्ले पनि मलाई विस्वास गर्यो र भन्यो, ‘ममीलाई हजुरसंग भेट भएको भन्दिन ल ?’ मैले पनि उस्लाई विश्वस्त पारे, म चिने कै मान्छे हुँ भन्नेमा । उस्को सहित उस्को ममी बाबुको नाम र अफिसको नाम समेत भने पछि उ ढुक्क भयो । मैले उस्लाई तिम्रो ममी बाबालाई आफै भेटेर भन्छु भनेको छु, उस्ले आजसम्म पनि उस्का ममी बुवालाई मसंगको सम्बन्धका बारेमा भनेको छैन् ।
उ मेरो असल मित्र भएको छ यतिवेला । यो छ महिनाको अवधिमा उ मसंग दुइपटक सिनेमा हेर्न गएको छ ।  हरेक भेटमा मैले उस्का साथै उस्का आमा बाबुको खबर सोध्ने गरेको छु । धेरै पटक बाटोबाट टिपेर उस्को स्कुल गेटमा छाडिदिएको छु । मैले स्कुलसम्म छाड्दा उस्ले मेरो कारको स्टेरिङ समाउँछ, कहिलेकाही त ‘रोशु अंकल मैले यो घुमाउँदा हुदैन’ भन्छ । म उस्लाई तिम्रो अहिले यो घुमाउँने बेला भएको छैन भन्छु । उ वेला वेला जिद्धी पनि गर्छ, तर उ एकदमै समझदार बच्चा छ । यस्ता बच्चा सायदै होलान् ।
उ मसंग निकै नजिक पनि भएको छु, उपनि मसंग उत्तिकै छ । मसंग चल्न घुक्र्याउन र चकलेट किन्न लगाउन सक्ने भएको छ । एक दिन उस्ले मलाई घुमाउन लैजानु भन्यो । मैले तिम्रा बाबा ममिले तिमीलाई घुम्न जान दिदैनन् भने तर उ मानेन् । जसरी भएपनि घुमाउन लैजानु भन्यो उस्को जिद्धिसामु मेरो केहि लागेन । मैले उस्का बाबुआमालाई भेटेर भन्न सक्ने अवस्था छैन अझै । त्यतिकै उस्लाई लिएर हिड्दा पनि देख्लान अरु कसैले । अहिले जताततै अपहरणका घटनाहरु भैरहेका छन् । उस्लाइ लादाँ यस्तै अपहरणकारी बनाए भने मैले भन्ने ठाउँ पनि कमै छ । उस्लाई साथीको घरमा बेलुकासम्म खेल्न जान्छु भन्न लगाँए । नजिकै रहेको साथी सदिक्षाको घर जान्छु भनेर आयो उ । त्यसदिन मैले उस्लाई भेडेटार लगे । चाल्स प्वाइन्टमा पु¥याए । उ एकदमै रमायो । खुसिले उर्फियो । उस्का आखाँमा यस्तो खुसी कहिले देखेको थिइन् मैले । उ चिच्यायो, मलाइ अंगालो हाल्यो र गालाको दुवै तिर म्वाइ खायो । म पनि उ भन्दा धेरै खुसि भएँ, उस्को खुसी देखेर । धेरै पटक चाल्र्स प्वाइन्ट पुगेको मलाई पहिलो पटक जादाँ पनि त्यति धेरै रमाइलो लागेको थिएन । म पनि साच्चै जीवनमा पहिलो पटक त्यति खुसी भएको थिएं, अरु कसैको खुसीमा पहिलो पटक त्यति धेरै रमाएको थिए । मलाई पनि नाच्न मन थियो मयुर जस्तै उसंग मिलेर विचमा मेरो नैतिकता अगाडी उभियो ।
उ बारम्बार मलाई सताउँछ । कहिले खुट्टा दुख्यो भन्छ, म उसका दुवै खुट्टा समाइदिन पर्छ मैले, कहिले औषधी दिनुपर्छ  त कहिले चकलेट । कहिले होमवर्क बाटैमा गरिदिन लगाउँछ । कार भित्र बसेर होमवर्क सकेर उ घर तिर लाग्छ मलाई हात हल्लाउँदै । म पनि उसलाई खुसी पार्न पाउँदा एकदमै खुसी हुन्छु । खै किन हो उ मेरो आफ्नै बच्चा जस्तो लागिरहेछ ।
दुइ तीन महिना यता त हाम्रो भेट बाक्लै हुन थालेको थियो । मलाई पनि उस्लाई भेटन पर्ने उ पनि म धेरै दिन पछि जादाँ रिसाए झै गथ्र्यो ‘किन यति धेरै दिन  वेपत्ता’ भन्न थालेको छ । आजकालका केटाकेटीसंग बोलेर कहाँ सकिन्छ र ?
आज उस्ले गरेको प्रश्नले मलाई दिनभर असजिलो मात्र बनाएन, विगतका धेरै तीता मीठा क्षणहरु सम्झन बाध्य पार्यो । आज भन्दा १० बर्ष अगाडी मंसिर २० गतेको त्यो दिनको याद आयो । जुन दिन मेरी उनिसंग अन्तिम भेट भएको थियो । ट्राफिक चौकको भेनिषा पिज्जा हाउसमा । त्यसदिन खाएको चाउमिन जीवनमै नमिठो चाउमिन थियो । त्यसको स्वाद पनि थाहा पाइन मैले । त्यसको तीनदिन पछि उनको विवाह भयो । उनले त्यहिवेला त्यस्तो निर्णय गरिन् । धन सम्पत्तिको स्वार्थमा मेरो चोखो मायालाई लत्याएर गइन । तर पनि अहिलेसम्म म उसैलाई माया गरिहेको छु । चाउमिन खाए ठाउमा उनले भुक्किएर छाडेको त्यो रातो गुलावको फर्कन नपाएको कोपिला अझैपनि मेरो डायरीमा सुरक्षीत छ । उनि नीलो स्कुटी चढेर गएदेखि फर्केर हेरिनन् । त्यसै दिन देखि हाम्रो सम्बन्ध सकियो । उनको कमजोरी या मेरो, मैले अहिलेसम्म बुझ्न सकेको छैन् । हामीले करिव दुइबर्ष संगसगै बितायौ, शरिर टाढा भएपनि मन संगसगै हुन्थ्यो । उनलाई दुख्दा मलाई दुख्थ्यो उन्लाई त्यस्तो हुन्थेन क्यारे सायद । सुन्दर सपना सजाएका थियौं । एउटा छुट्टै संसारको कल्पना थियो  हरेक प्रेम जोडीको जस्तै । पहिलो र अन्तिम प्रेम हो जीवनको । त्यसैले पनि त्यतिधेरै झुकाव र लगाव थियो । एकदिन मोवाइल बन्द हुदा पनि दुवैलाई छटपटि उत्तीकै हुन्थ्यो ।  तर उनी कठोर बनिन् । मन ढुगों बनाइन् । मानिसहरु स्वार्थका लगि यत्ति धेरै गिर्न सक्छन् जस्तो लागेको थिएन् । असल प्रेममा धन सम्पत्ति तगारो होला भन्ने कल्पना भन्दा टाढा थियो । रोमियो जुलियट मुनामदनको प्रेमलाई आर्दश मानेर लगाएको माया उनले लत्याएदेखि हरेक पल यादमा मुटु जलिरहेछ ।
थाहा छैन किन बच्चाले आज त्यो प्रश्न गर्यो । उस्को प्रश्नको मैले तत्काल जवाफ दिन सकिन । साच्चै मैले उस्लाई त्यति धेरै माया गर्न थाले त ? म सोच्छु, उस्लाई किन त्यस्तो लाग्यो ? उस्लाई माया किन गरेको म भन्न सक्दिन । मायाको बद्ला माया भन्दा अरु छैन रहेछ । त्यसैले मायाको बद्लामा धोका दिने पनि म माया नै गरिरहेछु, उस्लाई र उस्का सन्तती सम्मलाई ।
जिज्ञासु बच्चाले भोली त्यो प्रश्न अवश्य दोहोर्याउने छ । के भनौ उस्लाई ‘तिमी धोकेबाज जोडीको बच्चा हौ’, भन्न पनि सक्दिन ‘तिम्री आमाले मलाई र बाबाले रश्मिनालाई धोका दिए ।’ उ न उस्लाई थाहा छ न त समाजालाई मात्र थाहा छ जल्नेहरुलाई । चोखो माया गर्नेहरुले धोकेबाजसंग बदला लिन पनि सकिन्न रहेछ । फेरी भोली त भ्यालेन्टाइन डे खै भनौ या नभनौ त्यो प्रेम कहानी बच्चालाई दोधारमा छु ।
२०६८ माघ २८ 


February 2, 2012

खुसुर - फुसुर सम्बाद

लुना

' कस्तरी सुकुला हुन सक्या हजुर ! उठ्स्यो न भन्या ! ह्या आफूलाई कस्तो मज्जा आईरा' बेलाँ '
उसले लोग्नेलाई घच्घच्याई तारम्तार ।

' ओ !!!!! यस्तरी डिस्टर्ब नगर न ! निदाउ तिमी पनि !!!!! पार्टी / पेगले टाउको उठाउन नसकी रा' बेलाँ --- '
उसले तकियाले अनुहार ढाकेर निदाउने चेस्टा गर्यो ।

' म कसरी निदाउ हजुर ! यस्तो रमाईलो लाई'रा बेलाँ !
हिजो तेल्ले हाम्लाई कम्ता गिराएन ! हाम्रो निद चैन कम् खोस्या थ्यो तेल्ले अनि तिनीहरुले !!!
आहा ! यी हेरीबक्स्योस त हजुर ! भंगेरे अछरमा कस्तरी लेख्या छन् मिडियाले तेल्लाई अनि तिनीहरुको कामलाई !!! मलाई त यो अखबार
च्यापेरै निदाउन मन लाग्या हो ! बरु निद नै आएन र पो हजुरलाई उठाई रा' नि !
हेरीबक्स्योस् न भन्या मिडियाले कस्तरी लेख्या छ तेस्को अनि तिनीहरुको बारेमा !


January 18, 2012

गोरु जुधाई - एक संसमरण (Bullfighting Nepalese style)


समाचार हेर्दै जाँदा एएफपीले नेपालमा गोरु जुधाइ निकै चर्चित रहेको भनेर एउटा भिडियो राखेको रहेछ। भिडियो हेर्दा त्यो जुधाई निकै प्रचार प्रसार र तयारीका साथ गरेको देखिन्थ्यो। नेपालमा यसरी तयार गरेर गरिने जुधाई पनि होलान् तर मैले देखेका गोरु जुधाई भने आकस्मिक हुने गरेका थिए।

१) एक पटक पोखराको लेखसाइमा घुम्दै जाँदा अचानक २ गोरु देखापरे। हेर्दा हेर्दै त्याहां बिसाल गोरुको लडाई सुरु भयो। गोरु लडाइले बाटो त रोकियो नै,छेउको साइकल पसलका सबै साइकल गर्लायम गुर्लुम ढले। हामी त रमाइलो मानेर हेरिरहेका थियौँ, विदेशी भने बुल फाइट भन्दै क्यामेरा तेर्स्याउन थाले। केही साइकल,एउटा पसलको बेन्च आदि केही नोक्सानी भएपछि गोरुको लडाइ समाप्त भयो।

२) मेरा एक जना छिमेकी काका हुनुहुन्थ्यो। उनि गोरु भने पछि हुरुक्कै। संधै आफ्नो घरमा निकै बलियो गोरु पाल्ने गर्नुहुन्थ्यो। जब हिउँद सुरु हुन्थ्यो,अरूका गोरु ल्याएर आफ्नो गोरुसंग लडाउनु हुन्थ्यो। एक पटक विशाल गेरु जुधाइ भएछ। जित्ने गोरुले हार्ने गोरुलाई पेल्दै पेल्दै तिनै काका छेउ ल्याएछ र हार्ने गोरु तिनै काकाको खुट्टामा सुत्न पुग्यो। हार्ने गोरुको एउटा सिंग त फुक्लियो तर ती काकाका दुवै खुट्टा भाँचिए र सधैं भर लौरोको सहारामा हिँड्नुपर्ने भयो।

३) मेरा एक जना साथी थिए। एक पटक उनले निकै ठूलो गोरु किनेका थिए। आफ्नो गोरु गाउँकै शक्तिशाली भनेर गफ लगाउँदै हिँड्थे। एक पटक त्यही गोरु अर्को गोरुसँग लडाउँदा उनको गोरुले त जित्यो तर एउटा सिंग भने गुमाउन पुग्यो। त्यो लडाइले गोरुको प्रतिष्ठामा त आँच आएन तर एउटा सिंग फुक्लेको हुँदा गोरुको मूल्य भने तल खस्कियो।



January 11, 2012

नेपाल पिँडालु पार्टीको आयव्यय

नेपालको निर्वाचन आयोगले पार्टीको आयव्ययको हिसाब बुझाउन पुस मसान्तको अल्टिमेटम दिएकोमा नेपाल पिँडालु पार्टीले सबैभन्दा पहिला पार्टीको हिसाब किताब बूझाएर नेपालको नं १ पार्टी भएको प्रमाणित गरेको छ। नेपाल पिँडालु पार्टीको आय व्यय यस प्रकार छः

आयः
चंदा सङ्कलन ९० करोड
ठेक्का पट्टाः ३० करोड
कर्मचारी सरुवा बढुवाः १० करोड
मन्त्री भर्नाः ५ करोड
बिदेशी प्रभूको दक्षिणाः ५ करोड
जम्मा आयः १४० करोड
खर्चः
पार्टी कार्यालय खर्चः१ करोड
बिदेश भ्रमणः २५ करोड
सांसद किनबेच १२ करोड
पार्टी भोजः १५ करोड
नेताका छोराछोरीको पकटे मनीः ५ करोड
पार्टी भित्र हिनामिनाः २० करोड
क्याल्कुलेटर मिस्टेकः ६२ करोड
जम्मा खर्चः १४० करोड







January 8, 2012

तपाई आफै अनुमान गर्नुस् त्यो घाउ

लुना

बेल्जियम नागरिक तिबों नेपाल घुम्न आएको छ  । यो उसको पहिलो नेपाल भ्रमण हो ।  यहाँ आउनु अघि उसले उतै बेल्जियममा सक्दो जानकारी लिएको थियो नेपाल सम्बन्धी । यहाँ को अनुपम प्राकृतिक सौन्दर्य , फरक किसिमका आ- आफ्नै सांस्कृतिक गरिमा आदिको बारेमा जे जति उसले सुनेको थियो त्यसलाई प्रतक्ष्य अनुभव गर्न पाउँदा उसको खुशीले हिमाल छोइरहेको थियो  । 'क्लिक ! क्लिक !क्लिक ! क्लिक ! ' देखे जति दृश्यलाई  उ क्यामेरामा कैद गरिरहन्थ्यो । काठमाण्डौं हुँदै गणेश हिमाल छेत्रमा आईपुगेको ७-८ दिन भएको छ । यही क्रममा आज उ तिप्लिंग आइपुगेको छ  ।  उ जसै तिप्लिंग  आइपुग्यो त्यहाँ एउटै गाउँमा  ५-६ बटा क्रस  ठड्याइएको चर्च देख्दा उ आश्चर्य चकित बन्न पुगेको थियो । मन भरी प्रश्नहरू उमार्दै केही बेर  हिँड्दा ताल्चा लगाइएको पुरानो गुम्बाको ढोकामा पर्यो उसको आँखा । 
बेलुकी पख हुन लागेको ले सायद गाउँका मान्छेहरू आ- आफ्ना घर  काममा व्यस्त थिए । उसले गुम्बाको वरि परी कोही भेटेन । केही मिनेट सुस्ताउने बिचार  गरि ब्याग गुम्बाको छेउमा  राख्दै बन्द ढोकाको गुम्बालाई हेर्यो अनि केही सोच्दै गुम्बाको वरि परी घुमिरह्यो केही बेर, जसरी उसले काण्माडौँमा रहँदा स्वयम्भू   घुमेको थियो  घडीको सुई झैँ  । 
केही बेर घुमे पछि फेरी गुम्बाको बन्द ढोका अगाडि टक्क अडियो अनि ढोकामा छिद्र छ कि नियाल्न खोजी उ ढोकाको समिप ( नजिक )पुग्यो  । जसै उ ढोकाको एकदम नजिक भएको थियो भित्रबाट एक किसिमको गन्ध आएको  महसुस गर्यो उसले । गुम्बाबाट आएको त्यो गन्ध धुप या तेल-घिउ बत्तीको सुगन्ध थिएन । स्वयम्भू , बौद्दनाथ घुमी हिँड्दा धुप बत्तीको सुगन्ध चिनिसकेको थियो उसले । तर यो अहिले गुम्बा बाट आएको गन्ध ? उसलाई कता कता यो गन्धसँग धेरै पटक परिचित भए झैँ लाग्यो तर ठ्याक्कै ठ्म्यौना भने सकेन ।  उसको
मनमा खुल्दुली मच्चियो 'के छ होला यो गुम्बा भित्र '?