मैले विद्यार्थी छँदा भूपीलाई भेटेको हुँ । जसरी उनका कविता चटक्क कोरीबाटी गरी मिलाएको गुच्छादार कपाल जस्तै मिलेको हुन्थ्यो, उनी आफू पनि लवाइ र बोलीचालीमा त्यस्तै सफा र सरल थिए । मान्छेहरूले उनलाई कम्युनिस्ट भने । हुन त प्रारम्भिक कालमा मार्क्सवादी प्रभावबाट प्रेरित भएर उनले सर्वहाराको लागि लेख्नुपर्छ भन्ने सोची आफ्नो नाममा सर्वहारा उपनाम नै गाँसेर पनि कविता लेखे । वादको रूपमा कुनैलाई एक अँगालेर लेख्नु व्यक्तिको स्वेच्छा र कुनै समयविशेषमा प्रभावकारिताको कुरा पनि हुन्छ । तर भूपी आफूलाई न त कम्युनिस्ट न त कांग्रेस नै भन्न रुचाउँथे । नेपालमा कांग्रेस होइन 'काम गरेस्' र कम्युनिस्ट होइन, 'कर्तव्यनिष्ठ' भावनाको मान्छे चाहिन्छ, अनि मात्र मुलुक बन्छ भन्ने सोच राख्थे उनी । नेपाल बन्नुपर्छ, गरिबी हट्नुपर्छ भन्नेमा चिन्तनमग्न रहन्थे ।
पञ्चायत कालमा प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका भूपीलाई धेरैजनाले त्यतिबेला शङ्कालु नजरले हेरे । तर उनी पञ्च र पञ्चायत व्यवस्था दुवै मान्दैनथे । राजालाई भने बडो आदरभाव राख्दथे । आफूले त्यस्तो मान्ने राजाकै आग्रह टार्न नसकेर आफ्नो स्वतन्त्र कविको छविमाथि प्रश्नचिह्न उठ्ने खतरा मोलेरै पनि उनी एकेडेमीको सदस्य भएको हुनुपर्छ । उसै पनि तत्कालीन राजा वीरेन्द्रको शालीन र सरल व्यवहारका कारण त्यतिबेला र प्रजातन्त्र पुनःस्थापनापछि पनि धेरैले आसपासमा रहेर काम गरे । तर अपजस एक्लो भूपीमाथि खनियो । जीवनको अन्त्यतिर उनी