लाग्छ माओवादीलाई मात्र जे केही भन्ने र लागेको गर्न पाउने छूट छ हाम्रो मुलुकमा । क्रान्तिकारी र आमूल परिवर्तनकामी हुँ भन्ने डाँको डरलाग्दो श्वरमा बोलेपछि , काम जत्रो तुच्छ र निकृष्ट गरेपनि , चल्दो रहेछ ! के गर्ने आफ्ना बलिष्ठ भुस्तिघ्रेले जे भन्दिए पनि पत्याउँछन् र बाँकि नपत्याउने बिरोधीलाई प्रतिगामी भनेर हिंसा र हतियारका मतियारहरूले दनादन दिए भैहाल्यो, कसको के खैरियत ? चमत्कारी गुणडाराजको यो गनतन्त्रमा । कसले रक्षा गर्छ ती असहमत विचारवाला सोझा हतियारबिहीन जनताको यो मुलुकमा ? पुलिस र प्रशासन काम नै गर्दैन , सेनालाई व्यारेक बाहिर निसक्नै अधिकारै छैन । त्यसैले त निर्धक्क छन् ती मत्त साँढे जस्ता जत्थाहरू !
कामरेड प्रचण्डले शक्तिखोर प्रशिक्षणमा राज्यसत्ता कब्जा गर्ने माओवादी राजनीतिको तिकडम कस्तो तरिकाको छ भन्ने पेटारो फोरे , तर त्यत्रो योजना त्यत्रो भीमकाय शरीरधारी जूंगे नेताले ‘भाले हुँदै’ छताछुल्ल पार्दा पनि हामीलाई माओवादीको कुत्सित नियतमाथि औँला ठड्याउन मन लागेन ! राजाको कथित निरंकूशता बिरुद्ध क्रान्ति गरेर , लोकतन्त्रको उदार राज्यनीतिका मातहतमा स्वतन्त्रता र निर्भिकताको जीवन बाँच्ने हाम्रो सन्तति दरसन्ततिको इच्छामाथि , कामरेड प्रचण्ड मार्काको अधिनायकवादी राजनीतिले डंका मार्न खोज्दा र यिनैका नेताले त्यो योजनाको साखुल्य प्रमाण पेश गर्दा पनि हामीले माओवादीको षडयन्त्रकारी राजनीतिक उद्देश्यमाथि पर्याप्त बिरोध गर्नु पर्ने दरकार नै ठानेनौँ । ज बोले पनि जे गरे पनि माओवादी क्रान्तिकारी नै रहिरह्यो , उसले उही ढर्राको सर्वऔषधीमय राजनीतिक नाच नाची रह्यो र आज पनि उसैको ठूलो डाँको बजेकै छ । उसले जे सोचेर जुन योजना हाकाहाकी सार्वजनिक गरे पनि , जुन नौटंकी नाचे पनि , जुन तानाशाही विचार बोके पनि ; मान्छेहरू यो नै चमत्कारिक राजनीतिको मसिहा नै हो भनेर ह्यामलिनको बाँसुरीवादकका पचाडि लागेका मुसाका झून्ड सरह , गल्छिमा खसेर अन्त्य हुन हतारिएर पछ्याइरहेका देखिन्छन् ।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest