नेपालको इतिहासमा सदैव देखिएको सत्य कुरा के हो भने, हामी राजनीतिको पछाडि सधै दगुरिरह्यौँ । राजनीतिको भीड बनाएर सदैव जिन्दावाद मूर्दावादका लयमा हिंसा, आतंक, भ्रष्टाचारको इन्धनले सडक तताइरहँदा, टायर बालिरहँदा र अरूकै थाप्लोमा आरोप थोपरिरहँदा हामी आफ्नै कर्तव्यबाट सँधै टाढिइरह्यौँ । कर्तव्य, प्रवृत्ति र पद्धतिलाई सुधार्न व्यक्तिले पनि गर्नु पर्ने वा गर्न सक्ने शुरूवातलाई बिर्सेर , आफैलाई राजनीतिक चेतनाको महानायक ठान्ने भ्रममा हामीले संसार कता जाँदैछ र हामी कता रुमल्लिएका छौँ भन्ने कुरालाई कहिल्यै हेक्का राख्नु पर्ने रूपमा सोच्नै सकेनौँ ।
देशमा महँगी, लूट, फरेब, कालाबजारी, हत्या, आतंक र हिंसाको राज चलेको छ । सर्वसाधारण नागरिक नेपाल भित्रै शरणार्थी बन्नुपरेको जगजाहेर हुँदा, कुनै राजनीतिक दल वा शक्तिको माग र बिरोध कार्यको मुद्दा नागरिकको बाँच्न पाउने अधिकार र जीउन चाहिने आधारभूत आवश्यकताका कुराहरू को उपलव्धता हुन सकेको छैन । सबैलाई सत्ता चाहिएको छ, सत्तामा पुग्दा आफ्नाहरूलाई मिल्ने मुलुकको अवसर र ढुकुटीको रजाइँ मात्र राजनीतिक सफलताको उद्देश्य हुने गरेको छ ।
अझै पनि, हाम्रो दशा र दिशा प्रष्टिएको छैन । हाम्रो लक्ष्य, गन्तव्य र मुलुकले लिन पर्ने बाटोका बारेमा कुनै राजनीतिक शक्तिहरूबीचमा मिल्नसक्ने आधारहरू देखापरेका छैनन् । यस्तोमा दलका समर्थक, जातीय समूह र क्षेत्रवादको आगो भर्खरै झोसेर मुलुक सल्काइएको छ र यसको दूरगामी प्रभाव भोलिका दिनमा कुन रूपमा हामीले अपनाउनपर्ने होला केवल अनुमान गर्न सकिन्छ । मध्य अफ्रिकाका मुलुकहरू कलह, हिंसा, भोक, अनिकाल, र खडेरीका पीडाबाट माथि उठ्न उपायको छटपटीमा छन् र युरोप र अमेरिकाको सहयोगी ध्यान पनि अब अफ्रिकालाई माथि उठाउन एकोहोरिएको छ, बिगत केही वर्षयता । तर हाम्रो मुलक नेपाल भने, आर्थिक विकासको चमत्कारिक दौडमा विश्वलाई नै अचम्म पार्दै अगाडि बढिरहेका दुई छिमेकीहरूको बीचमा बसेर पनि, ओरालोतिरको सजिलो दौडको बाटो झर्दै गरेको देखिन्छ ! कहिले होला यो दिशातर्फको यात्रा छोडेर हामी उँभो लाग्ने ?