August 27, 2009

नेपाल एकदिन फर्कन्छु

बिदेशिनु कतै आकांक्षा त कतै बाध्यतामा समेटीने गर्छ। बिदेशिने पनि कता? कती बिदेशिनेहरु त आफन्त र आफ्नो देशको लागी सधैको लागी पराय बन्न पुग्छन। ठाउं,ब्यक्ती,समस्या,अबस्था आदी आदी कारण धेरै हुनसक्छन, बिदेशिनुको पिडा भने एउटै हुन्छ बिर्खेमाइलाको जस्तै।

बिदेशिनुको यथार्थ, संघर्षको उतार-चढाव र सल्बलाउँदा मनका तर्कनाहरुले कहिलेकाहिँ तितो यथार्थ पोख्न बाध्य बनाइदिँदो रहेछ। कुरा २००६ तिरको हो, अमेरिका बसाईँका केहि वर्ष बित्दै जाँदा एकजना भारतियले लेखेको एक लेखमा मेरो आँखा परेको थियो। त्यस लेखमा लेखकले आफूले अमेरिकामा बिताएका चार दशक, र ती चार दशक उनले पल् पल् घर फर्कने प्रयत्नमा बिताएको कुरा उल्लेख गरेका थिए। अन्त्यमा उनि घर फर्कन्छन् तर उनले चाहेको घर र देश उनले भेट्दैनन्। बिदेशिनुपूर्वको देश र घरको एउटा तस्विर मनमा गाडिएको हुने रहेछ, र बिदेशिएकाहरुको लागि समय थामिँदो रहेछ। कयौँ वर्षपछि फर्कँदा पनि आफूले छोडेको समय, परिवेष र नाप-नक्शा जहिँको तहिँ होला भन्ने लाग्दोरहेछ तर समयसंगै प्रत्येककुरा परीवर्तन हुने रहेछ। त्यस लेखमा लेखकले यस्तै कुरा गरेका थिए।

उनकै कुराले घच्घच्याउँदा र आफूले आफ्नो स्थिती नियाल्दा यो कविता बनेको हो। कविता धेरैलाई चित्त बुझेछ र म जस्तै बिदेशिने साथिहरुले आ-आफ्नो देशको नाम राख्दै कविता बाँडेको देखेर धेरै नै खुसि लागेको छ। मेरा छरिएका कविताहरु र अरु लेखहरुलाई यो ब्लगमा एकै ठाउँमा राख्ने प्रयत्नमा यहि कविता--

नेपाल एकदिन फर्कन्छु (?!)

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!

नेपाल एकदिन साँच्चै फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!

नेपाल एकदिन फर्कन्छु!
अमेरिकामा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!

नेपाल एकदिन फर्कन्थेँ
अमेरिकामा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!
( बिर्खेमाइला)
केही पहिला दौंतरीमा प्रकाशीत बिर्खेकै जस्तो अकरमानसको काहानी "आफ्नै कुरा - बसाइ सराईं" पनि उत्तिकै मार्मिक छ ।


August 26, 2009

गाउँखाने कथा - २७ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २७ को सहि उत्तर हो ओदान। उत्तर मिलाउने सुजन जी लगाय सबैलालाइ बधाइ।
अब गाउं माग्ने पालो पनि सुजनजी को।
------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

इल्सिङ मिल्सिङ, काली गाईका तीन सिगं, के हो?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोला। उत्तर जान्न गार्हो परे अनुमान लगाएर भए पनि रमाइलो लिनुहोला। नेपाली मौलकिपन झल्काउने अन्य रमाइला सामाग्री भए प्रश्तुत गर्नुहोला।


August 25, 2009

बन्धुहरु लाज लाग्यो !

आज नागरिक न्युजमा छापिएको एउटा बिचित्रको समाचार देखेर अचम्म लाग्यो । अचम्म यस अर्थमा कि नेपाललाई “समृध्द” बनाउन एअरपोर्टमा १-२ सय ट्रली र देवघाटमा वृध्दाश्रम बनाएर नेपाललाई सहयोग गर्ने नेपालबाट बिदेशिएका Non Returning Nepali (एन आर एन) हरुले आफ्नो सम्मेलन गर्न नेपाल सरकारसंग चन्दा मागेको भनेर समाचार लेखिएको थियो र त्यति मात्र हैन त्यस संस्थाले त्यस्तै सम्मेलनको लागि भनेर नेपालीहरुले तिरेको करबाट पहिले पनि रु ४५ लाख सम्मेलनका लागि मात्र लिइसकेको रहेछ ।

समाचारको अंश:
“अर्बौ लगानी भित्राउँछौँ भनेर दोहोरो नागरिकतालगायत सुविधा खोज्दै आएका गैरआवासीय नेपालीको संगठन (एनआरएन) आफ्नो महाधिवेशन गर्नसमेत नेपाल सरकारसँग आर्थिक रूपमा निर्भर रहने गरेको छ। आगामी असोज २७ देखि २९ सम्म काठमाडौंमा हुने चौथो अन्र्तराष्ट्रिय महाधिवेशनका लागि एनआरएनले सरकारसँग २५ लाख रूपैयाँ उपलब्ध गराउन माग गरेको छ। यसअघि २००३, २००५ र २००७ मा तीनैवटा अन्तर्राष्ट्रिय सम्मेलन र महाधिवेशन गर्दा सरकारसँग क्रमशः १०, १५ र २० लाख रूपैयाँ लिएको थियो। एनआरएनले प्रत्येक दुई-दुई वर्षमा गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ।“

आफ्नो भलाईको लागि विदेशिने अनि उतैको नागरिकता लिने र कुनै पहिचान नभएपछि इज्जतको भोक मेटाउन नेपाल र नेपालीकै भर्याङ रोज्ने अनि पैसाको लागि पनि विश्वकै एउटा दरिद्र मुलुकको भर पर्नु पर्ने ? नेपालीमूलका नेपालीलाई नेपालको माया छ भने जहिले पनि जहां पनि जसरी पनि आफ्नो देशको लागि सहयोग गर्न सक्छन । टाइ र कोट लगाएर „आप्रवासीहरुको“ भेला गर्दैमा देशको काचुली फेरिने भए नेपाल मात्र हैन अमेरिका, बेलायत र जापानीहरुले पनि गैर आवासियहरुको संस्था खोल्थे होलान ।

धेरैलाई चेतना भएकै कुरो हो एन आर एन चलाउने एउटा बलियो हिस्सा नेपालको खुकुलो कानुन र देशका स्रोतहरुमाथि आफ्नो पकड जमाउन चाहन्छ । त्यसरी नेपाल बन्दैन “आप्रवासी बन्धुहरु” ! बरु सक्नुहुन्छ भने आ-आफ्नो स्तरबाट सा सानो सहयोग आफ्नो गाउं ठाउंलाई दिए हुन्छ । देशमा शान्ति र स्थायित्व हुन्छ भने “कोडाक” मात्रै हैन „बिलगेट्स“ पनि लगानी गर्न नेपाल आउन सक्छन । नत्र नोक्सानको लागि एन आर एनका नाइकेहरु पनि नेपालमा लगानी गर्न जादैनन । विदेशमा समेत यस्ता कार्यक्रमहरुलाई सरकारले पैसा दिन्छ भनेर एकजना बुज्रुकले भन्नु भएछ । कहि पनि शुध्द बिचार लिएर समाज सेवा गर्न तम्सेका व्यक्तिहरुले चिया देखि गाडि भाडासम्मको पैसा आंफै ब्यहोर्छन ।

६०० जना सहभागीलाई १ करोड चाहिन्छ रे ! ए बाबा , ३०० रु प्रति व्यक्ति भन्दा सस्तोमा लन्च सहित पांच तारे होटलहरुले हल उपलब्ध गराउंछन भने वर्षौंमा एक पटक नेपाल जानेहरुले ४ दिनको लागि १००० रु खर्च गर्न सक्दैनन ? दशैंको मौका पारेर फ्रिमा देश दर्शन गर्ने र एउटा गरिब देशको सरकारको पैसामा “छुट्टी मनाउने” आप्रवासीहरुको देशप्रतिको माया बुझिनसक्नुको छैन र !

यहि नेर एउटा प्रसंग निकालीहालौं सन २००७ को यस्तै सम्मेलनमा रुसबाट सयौंको संख्यामा नेपालिहरु वा नेपालीमूलकाहरुले निशुल्क नेपाल दर्शन गर्न पाएका थिए , आखिरमा अहिले थाहा भो पैसा राष्ट्रकै ढुकुटीबाट जांदोरैछ ।

धन्य छ बन्धुहरु तपाईहरुको नेपाल प्रेम !

समाचार लिंक :
http://www.nagariknews.com/news-highlights/139-highlights/4321-2009-08-25-02-52-02.html


August 23, 2009

तिमीलाई मनका कुरा भन्न मन लग्यो

तिमीलाई मनका कुरा, भन्न मन लग्यो
आऊ प्रिये समिपैमा ,बस्न मन लग्यो

चुलबुले जोबन तिम्रो, कैले सम्म साच्छौ
इसाराले बोलाउछौ ,आउन मन लग्यो

लजाएर रंग चढाई,नसालु भै हेर्छौ
त्येहीबेला तिम्रो रुप,चोर्न मन लग्यो

फर्की फर्की हेर्छौ आफै,नजर झुकाउछौ
त्येसैले त दोबाटोमा, कुर्न मन लग्यो

बतासले केस उडे,ओठ टोकी हिड्छौ
अंगालोमा बाधिएर,चुम्न मन लग्यो

यसरीनै कैलेसम्म,लुकिछिपी गर्छौ
आऊ प्रिये आज प्रिती,साट्न मन लग्यो


August 22, 2009

कहिले यस्तो पनि हुन्छ।

काठमाण्डौमै बसोबास गर्ने एउटा बेलायती साथीको बुवा आएको थिए काठमाण्डौको हायात रिजेन्सी होटलमा राखेका थियौं। साथीको बुवा जाने अघिल्लो दिन उनको कोठामा नै खानपानको लागि हामीहरुलाइ बोलाइएको थियो र म र मेरो पार्टनर गयौं। कोठाको नम्वर तीन बाट शुरु भएकोले कोठा तेस्रो तल्लामा नै हुनुपर्छ भनेर हामी लिफ्ट भित्र पस्यौं। अर्को एकजना मानिस पनि लिफ्टमा पसे। मैले तीन नम्बरको बटन थिचें। त्यो अर्को मान्छेले कति नम्वर थिचे कुनि, वास्ता गरिएन। लिफ्ट तल गयो कि माथि गयो पनि हेक्का भएन।

म र मेरो पार्टनर आफ्नै गफमा ब्यस्त थियौं। अर्को मान्छे कति नम्वरको तलामा ओर्लिए कुनि, याद गरिएन। तीन नम्बरको बत्ती बले पछि ढोका खुल्यो। हामी निस्कियौं र साथीको बुवाको कोठामा गयौं। होटलका कर्मचारीहरुले रुम सर्भिस गरे। खानपिनपछि साथी हामीलाई होटलको लबी सम्म छोड्न जान्छु भनेर अघि लागे, हामी उस्को पछि लाग्यौं। एकछिन फ्याङ फ्याङ करिडरमा हिंडेपछि हामी सिधै लबीमा पो पुग्यौं। ए बास्सै। अघि लिफ्ट चढेर आएको, अहिले कसरी एक्कैचोटी लबीमा पुगियो, हामी चकित भयौं। भरेङबाट ओर्लिएको पनि होईन। अलि अलि दारु पनि लागेको थियो। सबै दारु एकै चोटी उत्रियो।

यसो बुझेको त हामी होटल प्रबेश गर्दा सिधै तेस्रो तलामा रहेको लबीमा पुगिने रहेछ। लिफ्टमा हामीसंग रहेको मानिसले अर्को बटन थिचेकोले पहिला लिफ्ट उसको फ्लोरमा पुग्यो। हामीले तीन नम्बरको बटन थिचेकोले लिफ्ट त्यसपछि फर्किएर लबी भएको तेस्रो तलामा आयो। अर्को मान्छे लिफ्टमा नआएको भए, हामीले तीन नं को बटन थिचेकोले लिफ्ट पक्कै चल्ने थिएन र लिफ्ट चलेन भनेर भरेङ खोजिन्थ्यो होला। हामी मरीमरी हाँस्दै फर्कियौं।

तपाँईहरुसंग पनि यस्तो अनुभव छ भने बाँड्नु होला।


तीजको मंगलमय शुभकामना !

आदरणीय विश्‍वभर छरिएर रहनुभएका नेपाली दिदीबहिनी, आमा तथा चेलीबेटीहरू,
नेपाली महिलाहरूको महान चाड: आज दरखाने दिन, भोलि तीज पर्सी ऋषिपञ्चमीको
उपलक्ष्यमा तपाईँहरूको सुख, समृद्दि, आरोग्यता एवं दीर्घ जीवनका लागि भगवान
पशुपतीनाथले सहस्र आशीर्वाद अनवरत कृपादृष्टि प्रदान गरिरहून् भन्ने हार्दिक मंगलमय शुभकामना !