मैले केही समय अघि गुगल अर्थले सगरमाथाको शीखर चीनमा परेको देखायो भनी आपत्ति जनाएको थिएँ । त्यस्तै खालको लेख हिजोको टाइम्स अफ इण्डियाको वेब संस्करणमा पनि छापिएको थियो । यसका अनुसार , गुगुल अर्थको पछिल्लो भर्सनमा , भारतको सुदूर उत्तर पूर्वी अरूणाचल प्रदेशका भारत शाषित धेरै भूभागलाई चीनिया भूभागको रूपमा देखाइएको रहेछ । बुझ्न सकिन्छ, यो समाचार पढेपछि कति भारतिय जनता र सरकारका प्रतिनिधिहरू समेतले सो कुराको बिरोध गरे होलान् गूगल समक्ष । त्यसैको परिणाम गूगलले आँफूबाट गल्ति भएको र सो गल्तिलाई सच्चाउने आश्वासन भारतीयहरु सामु प्रकट गरेछ ।
स्मरणीय छ,भारत र चीन बीच प्रशस्त सीमा विवादहरू छन् । यी मध्ये भारतले आफ्नो भूभाग हो भनी दावा गरेको पश्चिमोत्तर राज्य जम्मू काश्मीर प्रदेशको अक्साइ चीन भनिने भूभाग र पूर्वोत्तरको अरूणाचल प्रदेशको उत्तरी भूखण्ड समेत नब्बे हजार वर्गकिलोमिटर क्षेत्रफल भएको विशाल भूभाग अझै चीनीया नियन्त्रणमा नै छ । भारत चीन बीच सीमा विवादले गर्दा पछिल्लो समय १९६१-६२मा यी दुई मुलुकबीच घमासान युद्ध पनि भयो र आजपर्यन्त सीमा विवाद समधानका प्रशस्त प्रयासहरू भए पनि यी दुई मुलुक बीच समस्या यथावत् छन् । रोचक कुरा त के छ भने , त्यति बेलाको भारत माथिको चीनीया आक्रमणलाई भारतको मार्क्सवादी कम्युनिष्ट पार्टीले सही ठहराएको थियो । कम्युनिष्ट राष्ट्रले आफ्नो मुलुकमाथि गरेको आक्रमणलाई सही ठहर्याउने कम्युनिष्ट पार्टीभित्र यो कुराले ठूलो विवाद जन्मायो र यो पार्टी भारतीय कम्युनिष्ट पार्टी ( चीनिया आक्रमण बिरोधी ),मार्क्सवादी कम्युनिष्ट पार्टी ( चिनीया आक्रमणको शुरूमा भोकल र पछि मौन समर्थक ) मा विभक्त भयो । यो विवादास्पद,राष्ट्रविरोधी तथा कम्युनिष्ट अन्तर्राष्ट्रवाद पक्षीय अडानले गर्दा , आज पर्यन्त भारतीय राष्ट्रवादमा माकपाका बारेमा धेरै नै प्रश्न उठ्ने गर्छन् ।
आफ्नो सीमामा गूगलले अन्यथा देखायो भनेर गल्ति सच्चाउन घच्घचाउने भारतीयहरू , अरू साना छिमेकी मुलुकका सीमाहरूमा उनीहरूका कारण देखिएको मलमिचाइँमा भने चूँ सम्म बोल्न उचित ठान्दैनन् । यसको उदाहरण नेपालले भोगेको भोग्यै छ । उता नेपालको उत्तरी सीमामा भएको चीनिया अर्घेल्याईँ भने नेपाली मिडिया र जनताको मनमाथिंगलमा कहिल्यै देखा नै पर्दैन किनभने उत्तरी सीमा त धेरै नेपालीलाई थाहै छैन।
गूगलले गल्ति सच्चाउने कुराको समाचार यो लिंकमा छ :
अनि हाम्रा नेतालाई पनि कस्तो टेन्सन् भएको होला ! आफ्नो राष्ट्र रसातल तिरको यात्रामा झरेको झर्यै छ त्यसको बारेमा चासो छैन । मुलुकलाई सँधैको हिंसा , अराजकता र रडाकोको क्रान्तिमा हुलेर बडा बडा गुड्डी हाँक्दै , हाम्रा कामरेड प्रचन्ड भने अमेरिका र भारत मिलेर चीनलाई खान लागे भनेर सुर्तामा दुब्लाएका पो देखा परे , हेर्नूस त , तलको लिंकमा :
अनि यसको खण्डन यो लिंकमा:
http://www.indianexpress.com/news/India-rubbishes-Prachanda--s-claim/499165
हरे, हाम्रो गति र मति !
(सगरमाथा हाम्रै भएको जानकारी गुगलाई दिन कृपया यो पेज मा गएर “Please select the problem you're experiencing” भन्ने Dropdown menu मा “Wrong location” को विकल्प चुनेर सबैले २-३ लाईन नै भएपनि लेखौं ।)