March 25, 2009
त्यस्तो नठान
नंखेल ६ भक्तपुर
कहिले ठानिनॅ त्यस्तो मेरो कारण तिमीलाइ रुनु परोस
त्यों सोचाइ आएन कहिले तिम्रो बाटोमा काँडा बन्नु परोस
अरु रोएको बेला नहांस तिमी धेरै नै ख़ुशी भएर
आफ्नै शब्दले तीर मार नआउ अरुको साथ लागेर
खुल्ला आकाश हुं म लुकाउने केही छैन यहाँ मैले
आशाहरु सबै मरिसके कुनै साथ चाहेको छैन मैले
शायद तिमी भ्रममा छौ कि मलाई चिन्न सकिनौ भैगो
शालीन अनुहारभित्रको आगोले मलाई नै जलाइरहोस भैगो
म आगोमा बल्न सकुंला बरु झूठो भई बांच्नँ चाहिनॅ
आँखाको पानीले आफैं भीजें बरु अरुलाई रुझाउन चाहिनॅ
गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ९
प्रभा आचार्य
समयले हामीलाई पछी पार्दै गैरह्यो । पछी फेरी आनन्द र मेरो भेट लगातार हुन थाल्यो । म पहिला झै आर्मी हेड्क्वाटर् जान थाले । त्यहाबाट सैनिक पत्रीका निस्कन्थयो त्यस्मा पनि म रचनाहरु लेख्ने गर्दथे । तर त्यो समय नेपालको स्थिती एकदम नै चिन्ता जनक थियो । आर्मी, पुलिस हरुमाथि धेरै जिम्मेवारि र कर्तब्यहरु थपिएका थिए । उनिहरु जहिल्यै सतर्कता अपनाएर बस्नु पर्दथ्यो । तापनि आनन्दले कहिल्यै मसँग अन्य कुराहरु गर्नु भएन । शायद वहाँको आफ्नो कर्तब्य र काम आँफैभित्र सिमित थियो तर पनि हाम्रो भने सधैंको झै आफ्नै क्षेत्रका कुराहरुबाट सुरुवात र बिसर्जन हुने गर्दथ्यो । मैले अरुले झैं आनन्दले यताउतिको कुरा, संघर्षका कुरा, लडाईं-झगडा र भिडन्तका कुराहरु गरेको कहिल्यै सुनिन । वहाँको आफ्नो कर्तब्य छुट्टै थियो र मलाई भन्नु पर्ने आवश्यकता पनि नभएर होला वहाँको मुखबाट त्यस्तो केही सुन्ने अवसर पाइन तापनि देशको परिस्थितीले भने त आनन्दको मनमा अवश्य पिरोलेको हुनु पर्छ किन कि एउटा होनहार र कर्तब्य परायण अफिसरलाई कर्तब्य र देशको चिन्ताजनक अवस्थाले किन नछुवोस त?।
यसरी नै सधैं झै म आर्मी हेड्क्वाटर जाने क्रममा एकदिन अचानक फेरी म कुनै काम बिशेषले गएँ । दिनको यस्तै ४ बजेको हुँदो हो । म सिधै आनन्दको अफिसकोठामा छिरे । आनन्दलाई देख्न साथ म झस्किए । आनन्द त शिर निहुराएर एउटा पेस्तोलमा गोलिहरु लोड गरी रहनु भएको रहेछ । एकक्षण त म किङ्कर्तब्यबिमूढ भए । म आश्चर्यचकित भए किन कि सधैं ती हातहरुमा मैले कलम देख्ने गरेकिमा त्यो दिन अचानक वहाँको हातमा कुनै हतियार देख्दा मलाई अनौठो लाग्यो । मलाई विश्वाश पनि लागेन कि वहाँ आनन्द नै हो भनेर । म अचम्भित हुँदै आनन्दको नजिक गएर ''भाइ आज मैले यो के देखी रहेछु ?तपाइको हातमा पेस्तोल ?'' भन्दै प्रश्न राख्दा आनन्दबाट यस्तो जवाफ आयो कि म अझै पनि त्यो मुहार र मलिन बोली सम्झिन्छु । ''दिदी यो मेरो रहर होइन बाध्यता हो, मलाई कहाँ यस्तो कुराहरु सँग नजिक हुन मन लाग्छ र ?, तर जागिर पनि त्यस्तै छ कलम मात्र चलाऊने जागिर हैन कहिले कही त यो पनि समाउनु त पर्यो नि आफ्नो ड्युटिमा । आज मेरो नाइट ड्युटी छ त्यसैले यो तयार गर्दै गरेको नि । यो मैले कसैलाई निशाना बनाउन हैन आफ्नो रक्षाकोलागी मात्र तयार गरेको हो ।'' भनेर हत्तपत्त तयार गरेर भित्र कही राख्न जानु भयो । म भने अनौठो मानि रहेकी थिए तर मैले अनौठो मान्नु पर्ने त केही थिएन किन कि वहाँको काम कर्तब्य नै त्यस्तै थियो र अझै छ, तापनि पहिलो पल्ट देखेकिले मलाई आश्चर्य लाग्नु स्वाभाविक नै थियो । यसरी त्यो दिन मात्र मलाई आनन्द एउटा कर्तब्यपरायण सैनिक पनि हो भन्ने महसुश भयो । फेरी सधैं झै हाम्रा कुराहरु अर्कै शिर्षकमा भए । मैले फेरी आनन्दलाई गीतकार कै रुपमा देख्न थालें । अनी हामी ५ बजे तिर छुट्टीयौ सधैं झै आनन्दले मलाई आर्मी गेटसम्म छाड्न आउनु भयो …
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 24, 2009
प्रमुख अतिथी
शेखर ढुङेल
०३-१८-२००९
नयाँ दलका नेता बर्सौ देखीको आफ्नो बिदेस भ्रमणको सपना पुरा हुन लागेकोमा मख्ख परि खुशी सुनाउदै थिए श्रीमती लाई । एउटा भब्य सम्मेलनको प्रमुख अतिथी बन्न बोलाउने बचन पाएका थिए उन्ले । श्रीमतीको ब्यस्तता पनि त्यस्तै छ । सचिब बनी संगै जानेहरुको सुची बन्दै बिग्रने क्रमले तिब्रता पएको छ । भ्रमण टोलीमा सम्मिलित हुन चाहनेहरु आफ्नो खुल्ला टेन्डर नेताको कानमा झोस्दै थिए । खाली खाली हुने नेताको भन्छा, कोठामा मानिसहरुको भिड छ । भान्छामा समानहरु छताछुल्ल देखिन्छ । आखिर यस्तो मौकामा खाली हात को पो आउदो होर ?, नेता श्रीमती फोनमा आफु बिदेस जान लागेको कुरो इस्टमित्र लाई सुनाउदै ब्यस्त ।
उता पुरानो दलका नेताको पनि तयारी कम छैन । १५ बर्ष पहिले आफुले राजदुत हुँदा भान्छे बनाएर लगेको चेलो, जो आयोजक समितीको प्रमुख नै बनेको छ । नेता श्रीमती आफन्त लाई सुनाउदै थिन ‘हेर डाँडा घरे काइला बाजेको छोरो को भाग्य ?, त्यत्रो सम्मेलनको आयोजक भएको छ रे!, सुनिस बास्सै इङ्लिस पनि कस्तो राम्रो बोल्छ रे उस्ले हामीले लगाएको गुन बिर्सेंनछ । त्यही राम्रो भयो सत्ता बाट फुस्किए पछी कसैले वास्ता गरेको होइन । लामो समय पछी बिदेस जान पाइने भैइयो बुझिस ?, मैले नेताजी लाई सम्झाइ सके त्यस्तै राम्रो दुई चार जना मान्छे खोज्नोस यस पटक पनि जस्ले गुन पनि नबिर्सियोस पैसा पनि देओस कि कसो माहिली ? भन्दै थिन उनी । त्यही कुरो उन्ले नेता लाई पनि सुनाइन नेता ले उ उ मात्र भने
अर्को सत्तारुढ दलको नेताको चुरिफुरीको त के कुरा ? यो कार्यक्रमको प्रमुख अतिथी बन्न ब्यबस्था मिलाउन आँफैले नियुक्ती गरी पठाएका राजदुत लाई भनी सकेका छन ‘म आउनु पर्छ त्यहा’ । अरु दलका आउँलान जसरी हुन्छ रोक्नोस । यसै बिषयमा आयोजक पक्ष र राजदुत बिच पानी बाराबर भैसकेको कुरा बाट नेता अनभिज्ञ नै थिए । उन्को अर्को पनि योजना छ यही मौका मा अबैध तरिकाले कमाएको सम्पत्ति बिदेस पुर्याएर त्यही पढ्दै गरेको छोराको नाम मा ब्यवसाय खोली दिने । भोली के हो कसो हो के थाहा भन्थे उनी । आफ्नो भाई अनी बहिनीको श्रीमान लाई कुनै हालत मा छुटाउन नहुने सुझाब थियो नेता श्रीमतीको । किन्नु पर्ने सामान को लिस्ट पनि तयार पारीन उन्ले .
सम्मेलन को मिती नजिकिदै जादा आयोजक समिती का बिभिन्न सदस्य हरु कार्यक्रम को फेरिस्त तयार गर्दै थिए । आफ्नो आफ्नो खुबी र छ्यमता क बारेमा घम्सा घम्सी बिबाद थियो उ भन्दा म योग्य भएको मैले यो ठाउँ पाउनु पर्छ नत्र कार्यक्रम हुनै नसक्ने जिकिर गर्दै थिए सबै । धेरै पटक मिटिङ बस्यो प्रमुख अतिथी कस्लाई बनाउने भनेर ? आयोजक प्रमुख एउटा को प्रस्तव लान्थे बाँकी सदस्य बाट घोर आपत्ति हुन्थ्यो । अर्को ले आफ्नो नेता को नाम प्रस्ताब गर्दथे झन घोर आपत्ति हुन्थ्यो । प्रत्यक सदस्य का आ - आफ्नै नेता को लागि प्रस्ताब् लाने र कसैले पनि अरु को प्रस्ताब स्विकार गर्ने सोचेका पनि छैनन ।
आयोजक समितीका प्रत्येक सदस्यले आफ्न नेतालाई प्रमुख अतिथी बन्न आउने भनी आश्वासत पार्न छोडेका छैनन । त्यसैले नेता र नेता श्रीमती अनी सहायक बनी आउनेहरुको देस बाँकी कार्यक्रम ओझेलमा परि सकेको थियो । बिहानै नेताहरुका पुग्ने कागज आयो ? मेरो नाम छकी छैन ? कहिले सम्म आऊद छ ? म त गाँउ बाट बिदा भएर आइसके, नाम आएन भनेत राम्रो हुन्न है नेता ज्यु भनी धम्काउन समेत थालि सके ।
आज फेरी बैठक बस्यो आयोजक समितीको सबै सदस्यहरुको हातमा प्रमुख अतिथी र सहायक्हरुको सुची छ । आफ्नो सुची को समर्थन जुटाउन मरिहत्ते गरी राखेका छन । आयोजक मध्यका एकले प्रस्तावित नेताको बारेमा चर्चा गरे, देशमा वहाँको यस्तो देन छ उस्तो त्याग छ उहा लाई नै प्रमुख अतिथी बनाउनु पर्दछ । अर्को सदस्यले प्रतिबाद गर्दै भने उन्ले यस्ता भ्रष्टाचार गरेका छन यस्तो दुराचारी छन तीनलाई त कुनै हालतमा बोलाउनु हुन्न भन्दै आफ्नो नेताको बखान र प्रस्ताब गरे । दोस्रोको प्रस्ताब सुन्ने बित्तिकै तेस्रो कमिजको बाउला सार्दै टाइको सुर्केनो फुस्काउदै बुद्रुक्क उफ्रे र चोर औंला ठाडो पार्दै प्रस्तावित नेताको अबगुन, चरित्र, नैतिकता को प्रश्न उठाउदै कुनै हालतमा हुँदैन भने । चौथोले बिनम्रता पूर्वक भने ‘हेर मैले प्रस्ताब गरेका नेता नयाँ हुनुहुन्छ वहाँले भ्रष्टाचार गर्नु भएको छैन वहाँ को बारेमा बिबाद नगरौ’। अर्कोले अस्विकार गर्दै भने ‘के भन्दै हुनुहुन्छ मित्र, वहाँ जस्तै नेताले गर्दा देसमा साम्प्रदायिक, जातियदंगा भई राखेको छ, वहाँ त हुँदै हुन्न’ भन्दै आफ्नो नेताको प्रस्ताब राख्यो बाँकी अरु गलल हासे । अर्कोको पालो उन्ले पनि आफ्नो नेताको बयान गरे अर्कोले त्यस्तालाई बोलाए त कार्यक्रम कै बेइज्जत हुन्छ भने । एक्ले अर्काको प्रस्तावित नेतालाई भए नभएका आरोपले नङ्याउन कोइ पनि पछी हटेनन ।
प्रमुख अतिथीको टूङो आज लाग्ने र ढुक्क भै तयारी गर्न सबैले आ आफ्ना नेतालाई बैठकमा आउनु भन्दा पहिले फोनबाट खबर गरी आएका थिए । बाद बिबाद, भना भनका बिच निर्णय हुन सकेन । एकले प्रस्ताब् राखे भोट गर्ने। सबैको सहमति भयो । सबले आ आफ्ना नेतालाई भोट हाले सबको एक एक भोट आइ सबैको बराबर कस्तो बिचित्र!, अब के गर्ने ?, कस्तो समस्या ? कुनामा बसेका पर्यवेक्षक उठेर भने ‘नेता बोलाउने काम बन्द गर्ने’ । ‘हो !हो! कोइ पनि नबोलाउने’ सबै को एकै स्वर भयो । हो हो एस्लाई पनि नबोलाउने उस्लाई पनि नबोलाउने नेता बोलाउने कार्यक्रम बन्द । सबैले अमिलो मनले ‘हो, हो’ भनी हात मीलाए । घर पुगेर सबैले फोन गरे आफ्ना नेताहरुलाई नेता ज्यु कार्यक्रम रद्ध भयो।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 23, 2009
बेपत्ता भएका मान्छेहरु
बेपत्ता भएका मेरा मान्छेहरु कहां छन
कि लाश देउ कि शास देउ जहा छन।
भक्षक भएर गिरफतार गरी कहा फाल्यौ
जिउदै जलाउदै ति निर्दोषीहरु कहा हाल्यौ
घर फर्कन्छु भन्दै निस्केको कैलै फर्केनन्
कहा गयो तिम्रो मान्छे कसैले सोधेनन्
बिपत्ता भएका ………………………………॥
आफनो निहित स्वार्थका लागी बलि चढायौ।
शक्तीको आडमा आपसमा हामीलाइ लडायौ।
एउटाको स्वार्थकोलागी हजारौ बेपत्ता पारयौ।
आखिर दोष के थियो र किन त्यसरी मार्यौ
बेपत्ता भएका………………………………
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
जिन्दगीका केहि अविश्मरणीय पलहरु
हुन त मेरो व्यक्तिगत भोगाइ सबैका लागि उत्तिकै रोचक नहुन सक्छन, तर पनि मान्छेको जिन्दगीमा अनुभव वा भोगाई भन्ने चिज कुनै पनि व्यक्तिका लागि अमुल्य नीधि हुन जुन समयको कडीसंगै आउंछन, अप्रिय पनि हुन सक्छन तर कालान्तरमा तिनै एउटा संस्मरण बनेर बसिरहन्छन ।
अविश्मरणीय क्षणहरुको बारेमा कुरा गर्दा “प्यार” वा “इश्क”को मामलामा म मास्टर्स लेभलसम्म पुग्दा पनि खरो उत्रिन । त्यसको मतलव म “नालायक” वा “नन रोमान्टिक” थिएँ होला जस्तो पनि लाग्दैन तर पनि प्यारको केमिष्ट्रीले नतीजा देखाउन “क्याटालिष्ट” हरु देखि लिएर “रियाक्टिङ कम्पोनेन्ट्स”हरुको पनि उत्तिकै भुमिका हुने भएर होला मेरो “प्यारको केमिष्ट्री” जिन्दगीको उर्वर समयमा खासै फिट हुन सकेन । सिधा अर्थमा भन्दा म जति “सक्षम” थिएँ मेरो परिवेश र आर्थिक अवस्था त्यति “सक्षम” थिएनन (हुन त कति हुनु पर्छ भन्ने नियम छैन होला त्यहि पनि यसले कतिपय अवस्थामा भुमिका खेल्दोरैछ) र त्यसै कारणले मैले धेरै इच्छा आकांक्षाहरुलाई शहिद बनाउंदै लगें । आउने केहि दिनहरुमा टिनएजर समयका अझै पनि मानसपटलमा घुमिरहने केहि सम्झनाहरुको बारेमा एक दुई हरफ बाड्ने कोशिस गर्नेछु ।
क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बसन्त गौतमको कही नजाने बाटो सबै ठाउमा जान्छ
कुराकानीको यो मौकाको लागि सर्वप्रथम 'दौंतरी'लाई हार्दिक धन्यबाद!
-यो ब्लग मैले विशेष गरी नेपाली राजनीति र नेपालमा घटेका घटनाहरुमाथि आफ्नो विचार राख्न र जापान बसाईका अनुभवलाई बाँड्न भनेर शुरु गरेको हुँ। अहिलेसम्म आईपुग्दा लेखिएका विषयवस्तुहरु सबै त्यहि सीमाभित्रै भने छैनन्, तैपनि मूल स्वरुप भने यहि हो अझै। कहिलेकाहीँ छेउ-कुना कतै केहि लिपपोत गरेपनि खासै परीवर्तन भएको छैन।
२) The road to nowhere goes everywhere भन्नुभएको रहेछ the road to nowhere goes to dead end होइन र?
- हा हा हा! धेरैले यस्तै भन्छन्, कतिले त The road to nowhere goes everywhere भन्दा The road to everywhere goes nowhere बरु ठीक होला पनि भन्छन्। ब्लगको शिर्षकले अलिक रहस्य र आध्यात्मिकता देखाओस् भनेर यो राखेको हुँ। यो फुर्दा केहि जेन कथाहरु थिए दिमागमा, तिनैको प्रभाव हुनसक्छ यो जन्मिनुमा। यसैमा चित्त बुझेको भने छैन, अझै खोज्दै छु। यो शिर्षककै बारेमा ब्लगमा एउटा टाँसो (posting) लेख्ने सूरमा छु।
३) तपाइको ब्लग बढी रचनामुलक छ भन्ने कि बिचारमुलाक ?
- दुबै भन्नुपर्ला, नयाँ कुरा लेख्न नभ्याएको/नसेकेको बेला आफ्नो 'इतिहासको ब्याज' (पूराना रचनाहरु) ले धेरै पटक काम चलाएको छु। उसो त रचना र विचारको सीमा छुट्याउनु पनि त्यति सजिलो छैन। कुनै कुरामा विचार राख्नु भनेको पनि रचनानै हो, अर्कोतिर कथा-कविता जस्ता 'विशुद्ध' रचनाले पनि रचनाकारका विचार बोकेकै हुन्छन्।
४) ब्लगमा कसरी रस बस्यो ?
-ब्लगतिर म मोडिनुमा सबैभन्दा ठूलो हात साझा को छ, मेरो ब्लगलाई साझाको spin-off भन्दिएपनि हुन्छ। म एकताका साझामा खुब हल्लिन्थें। त्यहाँ लेख्दा-लेख्दै अब अलिक नीजि ठाऊँ पनि बनाउनुप-यो भनेर यता लागेको हुँ।
५) ब्लग लेखनमा सबभन्दा आनन्द आउने कुरा के हो?
- धेरै कुरा भन्न सकिन्छ यसमा। मेरो लागि सबैभन्दा मुख्यचाहिँ कुनैपनि कुरामा आफ्नो विचार आफूले चाहेजसरी ब्यक्त गर्न पाऊँदाको आत्मसन्तुष्टि हो। कुनै पत्रिकाको लागि लेख्दा यो सामान्यतया असम्भव हुन्छ किनभने त्यहाँ प्रकाशकीय/सम्पादकीय बन्देजहरु, सीमाहरु हुन्छन्।
६) तपाइको ब्लग मध्य सबैभन्दा मन पराइएको कुन हो?
- शुरुदेखि अहिलेसम्मका सबैमध्ये कुन भनेर हेर्न त एक राउण्ड Google Analytics पस्नुपर्ला। Live Traffic Feed मा सर्सर्ती हेर्दा अचेल ऋषि धमला काण्डको बारेमा लेखिएको टाँसो बढी पढिएको देखिएको छ। पोहरताका एनआरएन-जापानको गाईजात्रा बढी चम्केको थियो। मान्छेहरुले अलि सनसनीखेज कुरा खोज्छन् जस्तो छ:)
७) ब्यस्त जिबनले ब्लगमा बिचार पोखाउन कतिको अप्ठ्यारो पार्छ?
- सोचेभन्दा बढी अप्ठ्यारो पार्दो रहेछ। हप्तामा एक-दुई टाँसो राखिने एउटा ब्लगकै लागि पनि आफ्ना केहि सौखहरुलाई पूरै बिर्सिनुपर्ने रहेछ।
८) नेपाली ब्लग जगतमा जथाभावी लेखन र प्रतीक्रियाले हाम्रो आनीबानी सुधार्ला कि झन बिगार्ला?
- जथाभावी लेखन र प्रतिकृया नेपाली मात्र होईन सबै ब्लग जगतको समस्या हो। एउटा प्रसिद्ध कार्टून छ; 'On the Internet, nobody knows you're a dog' भन्ने। यस्तोमा सबैथरी मान्छेहरुले आफ्नो बानी/चिन्तनलाई मनलागी पोख्नु स्वाभाविक हो। तथ्यगत कुरामा हुने जथाभावी लेखनको प्रतिवाद/प्रतिकार जरुरी छ तर ब्यक्तिगत गालीगलौज जस्ता कुरालाइ तिरष्कार गर्नु बाहेक अरु कुनै उपाय छैन। समयक्रममा यस्ता कुराहरु आफैं हराएर जान्छन्।
९) ब्यक्तीगत कुरा है, गरिब देशको इन्जिनियर धनी देशमा किल्ला जमाउदा फरिया दौरा लगाउनेको भाग्य फोडियो की?
- म नेपालमै किलो-दाम्लो भएर मात्रै यता पसेकोले त्यस्तो हुन पाएन:)
१०)अहिलेको लोडसेडिगं कस्को अकर्मण्यताले गर्दा होला? आउदा साल कस्तो हुनेछ,अनुमान लगाइदिनुहोस न।
- आजसम्म हामीमाथि शाशन गर्नेहरुको अकर्मण्यता र लघु-चिन्तनको ऊपज हो यो। अलिकति हिस्सा माओवादीले विगतमा गरेको विध्वंशलाई पनि जान्छ तर माओवादीको उदय हिजोका शाशकहरुको कुबुद्धि र अदूरदर्शीताकै कारण भएकोले सारमा सबै जिम्मेवारी विगतका सरकारहरुलेनै लिनुपर्छ। आफ्नो 'शुभलाभ' मात्रै खोज्ने, आफ्नो 'शुभलाभ'का लागि योजनाहरुलाई सकेसम्म महंगा बनाईदिने र आफूलाई 'शुभलाभ' नहुने देखे योजनानै तुहाईदिने राजनीतिज्ञ-प्रशाशक-प्राविधि कहरुको सिण्डिकेटले जरा गाडेको छ मथिदेखि तलसम्म। यो स्थितिको अन्त्य नभईकन र एउटा समग्र राष्ट्रिय उर्जा/जलस्रोत नीति नबनुञ्जेल केहि पनि आशा गर्न सकिन्न। कुनै 'चमत्कार' भएन भने अर्को वर्ष पनि यस्तै हो। सरकारले चाहने हो भने यो वर्षभन्दा कम हुनेगरी केहि कदम चाल्न सक्छ तर सरकार र पूरै देश अरु-अरु कुरामा अल्मलिईरहेको बेलामा थोरैमात्रै पनि काम होला जस्तो लाग्दैन।
११) नेपालमा इन्जिनियर नेता जस्तै कुहिएका होलान त?
कुनै पेशामा सज्जनै-सज्जन, कुनै पेशामा दुर्जनै-दुर्जनै हुन्छन् भन्ने सोचाई गलत हो। समाजको आम-चरित्र जस्तो छ, त्यसैको छाया देखिने हो हरेक पेशामा। चरित्रगत हिसाबले हाम्रो समाज एउटा भ्रष्ट समाज हो। हाम्रो समाजमा भ्रष्टाचार निन्दनीय हैन बहादुरी मानिन्छ। त्यसकारण 'कुहिएका' इञ्जिनीयर जति भनेपनि छन्, नेताहरुभन्दा बढीनै होलान् बरु! हामीमा नेताहरुमात्रै खराब हुन्छन् भन्ने चिन्तन बसेको छ तर राजनीतिमा पनि असल मान्छेहरु छन्। यो कुरा बेग्लै हो कि ती अझै प्रभावशाली हुन सकेका छैनन्।
१२) नेपाली ब्लग दुनियामा तपाइको मिठो र तितो अनुभव बताइदिनुहोस न?
- दुई वर्षजतिको यो ब्लगयात्रा पूरै मिठो अनुभव हो मेरो लागि। त्यस्तो तितो अनुभव अहिलेसम्म खासै छैन।
१३) पत्रकारले सहि लेख्ला कि ब्लगरले?
- ठ्याक्कै यसै भन्न गाह्रो छ। पत्रकार भएपनि ब्लगर भएपनि मान्छेको इमान्दारिता र नैतिकतामा भरपर्छ यो।
- परिवारसंग।
१५) तपाइको मन पर्ने ब्लग कुन हो?
- धेरै छन्, एउटामात्रैको नाम लिँदा आफैंलाई र धेरै ब्लगर साथीहरुलाई अन्याय गरेको ठहर्नेछ।
१६) तपाइले दौंतरीलाइ के सुझाब दिनुहुन्छ?
- 'दौंतरी' मा त्यस्तो ठूलो खोट केहि पनि देख्दिँन म। एउटा सानो अनूरोध भने छ, 'दौंतरी' का केहि लेखकहरुले भाषिक शुद्धताको ख्याल गर्नुपर्ने आवश्यकता अझै देखिन्छ।
१७) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?
- पाचौं प्रश्नको पूरक भनेपनि हुन्छ। ब्लग लेखनमा सबभन्दा नरमाईलो लाग्नेचाहिँ धेरै दिनसम्म केहि लेख्न नपाउँदा/नसक्दाको अवस्था हो। ब्लगले आफूमा पाठकहरुप्रतिको धेरै गहिरो र आत्मीय दायित्वबोध उब्जाउँदो रहेछ र धेरै दिनसम्म केहि लेख्न नसक्दा आफनो दयित्वबाट विमुख भएको भावनाले घर बनाउँदो रहेछ।
-वसन्त
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest