March 3, 2009

रुनु न हास्नु भयो

शेखर ढुङेल
०३-०१-२००९


रुनु न हास्नु भयो जीवन
माझदार मा अल्झेर
न अघी न पछी जान सके
नियती मा फसेर
रुनु न हास्नु ---
चियायो बिहानी ले सधैं मलाई
नयाँ भाग्य ल्याएन
गिज्याइ रह्यो चाद मलाई
यो मन मा सित्तल छरेन
रात भर सित्तल छरेन
रुनु न हास्नु ----
वारी पारी डुल्छन आँखा
कीनार मा देखिन्न आशा
निरास , हतास भयो मन
मरु कि बाचु उपाय सुझेन
मेरो मनमा उपाय सुझेन
रुनु कि हासु भयो जीवन
मझदार मा अल्झेर -----


सम्हालिन सकिन

प्रबिण थापा

सम्हालिन सकिन मनको बाध फुट्यो हजुर
उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर

चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो
नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर
जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ
बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर

रमाइलो संसार थियो कालो वादल छाइ आयो
अनायसै आजफेरी असिनाले चुट्यो हजुर

अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे
मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर


एकदलीय जनतन्त्रका लागि माओवादी संवैधानिक प्रस्ताव:

हिजो Dainikee.com को वेबसाइटमा ब्राउज गर्दै जाँदा बलराम बानियाको एउटा लेखमा आँखा पर्‍यो । बानीयाको सो लेख माओवादीहरूको आगामी संविधानबारेको अवधारणापत्र बारेमा थियो । माओवादीका भाष्यकार मानिने अव्यवहारिक एवं कर्कश व्यवहार र विचारधारी विद्वान डाक्टर बाबुराम भट्टराईको व्यक्तिगत वेबसाइट www.baburambhattarai.com मार्फत नेकपा एकीकृत माओवादीको संवैधानिक अवधारणापत्रलाई सार्वजनिक गरिएको रहेछ । अहिले बिभिन्न राजनैतिक दलका सभासद र नेताहरू सँविधान निर्माणका लागि सुझाव र जनचासो संकलन गर्न भनी गाऊँ र जिल्लातिर पठाइरहिएका बेला, आफ्ना दलका सभासदहरूलाई आगामी संविधनमा राखिने मूख्य वस्तुका बारेमा जाग्रत पार्न र सो अनुरूप हुने खालको सुझावहरू नै संकलन गरी ल्याउन भनी पार्टीले अवधारणापत्र सार्वजनिक गरेको रहेछ ।

अवधारणापत्र सार्वजनिक हुनु आँफैमा कुरा ठिकै हो जस्तो देखिन्छ तर जब हामी माओवादीको आगामी संविधानको अन्तर्वस्तु कस्तो हुने रहेछ त भन्ने कुरा बुझ्ने चासो तर्फ लाग्छौँ , कुनै उदारवादी लोकतन्त्रका पक्षधरका लागि सबैभन्दा अत्यास त्यतिबेला लाग्न पुग्छ जतिबेला यो कथित जनवादी लोकतन्त्र पक्षधर भनाउँदो दलको ‘नियन्त्रित लोकतन्त्र’ र ‘कम्युनिष्ट जनवाद’ प्रतिको अनुरक्ति छताछुल्ल हुन पुग्छ । यस्तो लाग्छ, माओवादीको अभिष्ट र एजेण्डा उनिहरूले विस्तारै उजागर गर्दै छन् र उनीहरूले व्याख्या गरिरहेको कथित जनगणतन्त्र अरू केही नभएर उही पुराना निरंकूस कम्युनिष्ट राष्ट्रहरूको मृत लाशमाथि कृत्रिम श्वास-प्रश्वास भरेर खडा गरिएको नौलो स्वरूप मात्र हुनेछ । अवधारणापत्रको सबैभन्दा निरंकूस व्यवस्था हुनेछ, ‘आवश्यकता अनुसार दलमाथि प्रतिवन्ध’ को प्रवाधान । यो व्यवस्था अनुसार केन्द्रीय सत्ताको नियन्त्रण कम्युनिष्ट पार्टीको अधिनस्त हुनेछ र सो पार्टीले इच्छाएका राजनैतिक दलहरू र वर्गीय वा जातीय दलहरू मात्र निर्वाचनमा खडा हुन सक्नेछन् । अन्य उदारवादी एवं विश्वमान्य लोकतन्त्रका हिमायती दलहरू भने साम्राज्यवादी र सामन्वादी पक्षधर मानिएर , प्रतिवन्धित पनि हुन सक्नेछन् । यो कुराको तजबीज कम्युनिष्ट दल माओवादीले तोकिदिए हनुसार हुनेछ ।

माओवादी अवधारणापत्रमा अन्तर्निहित माथि उल्लिखित व्यवस्था प्रचण्डपथ वा नेपाली माओवादीहरूले स्वतन्त्र रूपइमा विकास गरेको नया र वैज्ञानिक सोच हो भन्ने हावा पिटाइ केवल एउटा झूटो प्रपञ्च हो । यसरी कम्युनिष्ट पार्टी संग अनुरूप हुने सोच र विचार भएका राजनैतिक समूह र वर्गीय वा जातीय संगठनलाई मात्र झूटो र देखावटी राजनैतिक पर्तिष्पर्धामा भाग लिन लगाएर , राज्य र राज्यसत्ताको पूर्ण नियन्त्रण एउटा कम्युनिष्ट पार्टीको कब्जामा लिने शैलिको जनवाद नै आज क्यूवा, उत्तर कोरिया र चीनीया मोडेलका कथित‘ पिपल्स डेमोक्रेसी’ हरू हुन् । यस्तो डेमोक्रेसीहरूको अजीबोगरीब गणतन्त्रमा शासनको एकाधिकार कम्युनिष्ट पार्टीको हुने नै भयो , त्यसपछि अदालत, सेना , प्रहरी , प्रशासन , शिक्षा र समग्र प्रणाली नै बिभिन्न कम्युनिष्ट नेताहरूको प्रभारीत्व मातहतमा नियन्त्रित हुन्छ । पार्टीका नेताहरूको मातहतमा बिभाग, आयोग र प्रभाग अनि प्रकोष्ठ निर्माण गरी तिनले दिएको निर्देशनमा मुलुकको सबै कानून, राजनीति र प्रशासन चल्नु पर्ने व्यवस्था , यस्तो जनवादी डेमोक्रसिका खास खास विशेषता हुन् । केवल कम्युनिष्ट पार्टीले चाहना राखेको शैलिको राजनैतिक व्यवस्था र त्यसलाई स्वीकारेर नियन्त्रित जनतन्त्रमा रमाउन मान्ने दलहरू मात्रको राजनैतिक सहभागिता रहने यो नौटंकी प्रणालीलाई नै माओवादीले भन्ने गरेको ‘ जनताको जनवादी गणतन्त्र’ को रूपमा बुझ्नु पर्ने कुरा अवधारणापत्रको पेटबोलीमा छर्लङ्ग देखिएको छ । आजसम्म उनीहरूले भन्ने गर्थे ‘ हामीले परम्परागत लोकतन्त्र चाहेको हैन’ तर छर्लङ्गिएको छ , उनीहरूले चाहेको त ‘ रूढीवादी जनतन्त्र’ पो रहेछ जहाँ राज्ययन्त्रका सबै अंग अवयबहरू कम्युनिष्ट दलको निर्णय र नियन्त्रणमा मात्र कार्यरत रहन सकून । यस्तो जनवादमा देशमा त्यस्ता विचित्र नामका दलहरू हुनेछन् जसको थर गोत्र संसारको उत्कृष्ट दावा गरिने पञ्चायती तन्त्रमा युवक, मजदूर, किसान, भुतपुर्व संगठनको रूपमा अस्तित्वरत थिए र अब तिनको नव-जनवादी अवतारलाई हामीले भोग्नु पर्ने हुनेछ, यदी माओवादीले भने अनुसार नै हुने हो भने । एउटा दलको निर्दलीय तानाशाही तन्त्र भित्र उसैका भातृ र छौँडा संगठनका विद्रुप विद्रुप नामाकरण गरेर तिनलाई टुप्पीमा पकडेर एकदलीय निर्देशित कथित जनतन्त्रको परिहासमय शासन कायम गर्न पो जनताको रगतको मुलुकमा यत्रो खोलो बगाइएको रहेछ , अहिले आएर प्रष्ट हुँदैछ ।

आगामी नेपालमा तमुवान दल होला अमूक देव गुरुङले नेतृत्व गरेको , मगराँत दल होला कुनै रामबहादुर थापाको नेतृत्वमा, अनि कुनै खुम्बुवान दल होला गोपाल खुम्बु वा त्यस्तै पात्रको नेता गिरीमा अनि यिनै दलहरूको बहुदलीय लोकतन्त्रमा प्रचण्डको महान लोकतन्त्रले संसारलाई चमत्कार देखाएर आश्चर्य पारिरहेको हुनेछ वा गोत्र हँसाइरहेको हुनेछ । त्यहाँ न त अहिलेको कांग्रेस वा अरू कुनै अन्य उदारवादी दलहरूको राजनितिले ठाउँ पाउनेछ न त विश्वमान्य लोकतन्त्रका स्वरूप र विशेषता देख्न वा भोग्न पाइनेछ किनभने यस्ता दलहरू त साम्राज्यवाद अनि सामन्तवादका मतियार ठहराइएर प्रतिबन्धित बनाइनेछन् ‘ जनताको जनतन्त्रमा’ ।

राजनैतिक प्रयोग र देशमा स्थापित हुनपुगेको यो नया तन्त्र केवल एउटा विचारमा ब्रेनवास्ड बनेको सैन्यबल र पार्टी कार्यकर्ताको नियन्त्रणमा जकडिएको हुनेछ । यो, १९१७ मा कुनै मुलुकमा जगाइएको र ९० को दशकमा श्मसानमा पुर्‍याइएको मृतात्मा , फेरि विद्वान बाबुराम भट्टराईको पुनर्सम्पादनमा वेबसाइट मार्फत नेपालमा प्रवेश गर्ने जमर्कोमा छ । लाग्छ, इतिहासका सबै घटना ,प्रवृत्ति र कुराले आफ्नो चक्र पुरा गर्छन् र नेपालमा राजा महेन्द्रको एकदलीय प्रयोगको प्रेतात्मा अर्को नाम र काया लिएर नेपाल भूमि प्रवेशको जोखाना हेर्दै छ, भीषण क्रान्तिकारिताको बहुरूपिया जामा लगाएर । यस्तै जनतन्त्रको आवश्यकता हो भने आउनुस् खुलेर यस्को स्वागत गरौँ , किनभने यो नै सबैभन्दा अकाट्य वैज्ञानिक राजनैतिक पद्दति हो रे !

-एकलव्य



March 2, 2009

नया संबिधान को धारा १०१

नया संबिधान बन्छ कि बन्दैन भन्ने अन्यौलमा संबिधानको धारा १०१ भने तयार भएको छ। चुनाव भएको १ बर्षमा एउटा धारा त तयार भयो, त्यसलाइ उपलब्धी नै मान्नुपर्छ। खानेपानीको धारा त सधै सुक्का हुन्छ अब यो संबिधानको एउटा धाराले लाज चाही जोगाएको छ। के हो त यो लाज जोगाउने धारा १०१?

धारा १०१ हो, नया बन्ने संबिधानमा संबिधान बनाउने सबै सांसद संबिधान माथी रहने छन। यसै अनुरुप गत शुक्रबार कोठीबाट यौनसम्पर्क गर्दागर्दै पक्राउ परेका सभासद् कृष्णप्रसाद यादव यही आइतबार थुनामुक्त भएका छन। प्रहरी भन्छ यिनी सांसद रंगेहात पक्राउ परेका थिए।संगै पक्राउ परेका यौन कर्मीलाइ थुनामा राख्न म्याद थपे पनि यिनी सांसद मुक्त भएका छन।

पंचायतको पालामा राजा र उनका परिवार संबिधान माथि रहेन्थे। लोकतन्त्र आए पछि भने जनताका छोरा पनि संबिधान माथी रहेन ब्यस्था हुने भएको छ। तर दु:ख ज्यालो गरेर खाने सुनिता खड्का जस्ता ब्यक्तीहरुलाइ भने गेह्र कानुनी काम गरेमा लोकतान्त्रीक सरकाले छोड्ने छैन। त्यही कुरा प्रमाणित गर्न सभासद् कृष्णप्रसाद यादवसित पक्राउ परेका चार जना यौन कर्मीलाइ सार्वजनिक अपराध अन्तर्गत अनुसन्धानका लागि थुनामा राखिएको छ। हामी नेपालीको भाग्य लेख्नका निम्ती यादव भने संबिधानको सुझाव संकलन गर्न रौतहट तिर लागेका छन।



गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ६

प्रभा आचार्य
हुन त सबैले सबैको गुण,बैगुणको चर्चा गरेर साध्य हुँदैन तर ती कुराहरु पनि मन भित्र गाडीएको हुनु पर्दछ, चाहे बिझाएर होस् वा त्यस्ले शान्त्वानाको रूप लिएर होस् । हुन त बाचुन्जेल हजारौसँग मिलन हुन्छ, बिछोड हुन्छ सबैलाई सम्झेर साध्य पनि त हुन्न । तर सम्झिन लायक र बिर्सिन लायकलाई भने मान्छेले अवश्य मनमा राखेको हुन सक्छ ।यस्तै आनन्दसङको क्षण पनि मेरोलागी सम्झिन लायक भएर मैले यसरी संस्मरण बनाइ पोख्ने अभिप्शा गरिरहेकी छु ।

आनन्दसङको भेट प्राय: दिनानुदिन हुन थाल्यो किनकी मैले उसबेलाको (शाही सैनिक रेडियो कार्यक्रम मा नाटक ,गीतिकथा लेख्न शुरु गरेकी थिए )। हामी प्राय रेडियो, एफ. एमव जहाँ जाँदा पनि संगै जान्थ्यौ । आनन्दको गीत रेकोर्डिङ जहाँ हुन्छ त्यहा मलाई बोलाउनु हुन्थ्यो ।मैले पनि आफ्नो हुँदा बोलाउँथे । प्राय: मेरो चाँही नयाँ गायक, गायिका, सङीतकारहरुसँग सामिप्यता भएकोले उनिहरुसँग भेटाउन म आनन्दलाई कुनै ठाउँमा बोलाउने गर्दथे । आनन्द पनि कुनै हिच्किचाहट बिना जहाँ भन्यो त्यही आउनु हुन्थ्यो । त्यस्को अर्थ मैले आनन्दको बारेमा पहिला नै भनी सकेकी छु कि वहाँमा आडम्बर, अभिमान थिएन । को नयाँ को पूरानो ? कुनै बिभेद थिएन झन वहाँले त नयाँ र संघर्षशिल हरुलाई त प्रोत्साहन दिनुपर्छ भन्ने भावना राख्नु हुन्थ्यो । मेरो पनि धारणा त्यस्तै थियो त्यसैले त हामी झन बिचार र भावनाले नजिकियौ शायद । यसरी आनन्द र मेरो साङितिक,साहित्यिक भावनामा अझ प्रगाड सम्बन्ध बनेर अघी बड्दै गयो । हाम्रा गीत हरु दुइजनाका सल्लाहा र सुझाउमा अझ परिमार्जित हुँदै गए । म भने सधैं हत्तारिएर लेख्ने जे लेखे पनि १० मिनट मा सक्नु पर्ने त र आनन्दको भने ठीक मेरो बिपरित थियो एउटा गीत लेखेर सक्न झण्डै महिनाभन्दा बढी लाग्ने । एक लाइन आज लेख्यो अनी त्यो कागजको खेस्रा गोजिमा हाल्यो अनी अर्को लाइन फेरी लेख्यो त्यस्लाई पुरा गर्न समय लाग्ने । आनन्दको गोजिमा प्राय: गीतका लाइन का टुक्राहरु भेटिन्थे । अनी आनन्दले भन्नु हुन्थ्यो दिदी तपाईं कसरी तुरुन्त लेख्नु हुन्छ?, म त त्यसरी सक्दिन । तर हाम्रो बिछोड भएको पनि लगभग अब त ८ बर्ष जत्ती भयो अब भने आनन्दको लेखन शैली कस्तो छ म भन्न सक्दिन, मेरो भने उही हो । यसरी आनन्द र मेरा दिनचर्याहरु साङितिक् फांटको ब्यस्तता मा नै बित्यो । त्यो समय मेरा पनि गीतहरु धेरै रेकोर्डिङ भए, अहिले म सम्झिन्छु एक दिन त म कस्तो बेफुर्सदी भए भने दुई चार वटा स्टुडियो मा मेरै गीतहरु मात्र रेकोर्डिङ भै रहेका थिए । मलाई धौ-धौ पर्‍यो ती स्टुडियोहरुमा कुद्न, किन कि म रेकोर्डिङको समयमा आँफै बस्ने गर्दथे शब्दहरुमा हेरफेर र अशुद्दता नहोस् भनेर । अनी आनन्दले पनि मलाई बोलाउने गर्नु हुन्थ्यो । यस्ता संस्मरणका क्षणहरु अझै छन । आनन्दले म प्रती गर्नु भएका कृतज्ञताका पलहरु प्रशस्त छन जुन म क्रमश:पोख्दै जानेछु । शायद आनन्दलाई लाग्ला कि यो संस्मरणमा साचै म त्यही आनन्द नै हुँ भनेर ?, मैले आनन्दलाई सर्प्राइज दिए झै हुनेछ । कसैले गरेको ब्यवहार, गुण उस्लाई भनिरहनु पर्दैन । मनमा राखेर उसप्रती अनुग्रहित हुन भने पर्दछ अगाडिको झुठो प्रशङ्शा भन्दा मनमा रहेको क्रितग्यपन नै सदा सर्वदा अंमिट रहन्छ /
क्रमश :



हिजो र आज


शेखर ढुँगेल

प्रसङ्ग १

समय जो निरन्तर बगिरहन्छ कुनै बहानामा यसको गति रोकिएको छैन । आज प्रासङ्गिक अनिवार्य विषय पनि बेप्रासाङ्गिक बनेको हुन्छ, कारक तत्व समयको गति नै हो । हिजो नवजात भोलिको बृद्धताको छाया तर्फ उन्मुख गराइ राखेको हुन्छ । यो प्राकृतिक नियमको पूर्णता समयले नै पुर्‍याई राखेको छ ।

यसै सन्दर्भमा आज अचानक एउटा गीत कानमा गुन्ज्यो, दोहोर्‍याई-तेहर्‍याई सुनें, समयको अन्तराल भौतिकता आधुनिकता विकासको क्रमिकता र आजको युवा समाज यो मेरो देश र आजको सन्दर्भमा एक छिन गम्भीर बन्दा कति प्रासाङ्गिक होला सानो ठूलो गरिब धनी नेता अभिनेता सवै विदेशिने संस्कार बसेको देशको यो पंक्तिकार स्वयं विदेशी भूमिमा छ र यो गीत गम्भीरता पूर्वक सुनिराखेको छ । स्व। स्वर सम्राट नारायण गोपाको मधुर आवाजमा-
अरुको भरमा पर्नु हुँदैन

आफ्नै भरमा जिउनु……॥
तान चलाउनु
चर्खा काट्नु
रुई उमारी
कपडा बुन्नु
आफ्नै नाच र गानमा रम्नु
स्वाभिमानी भै िहंड्नु
हेर फिरङ्गी विदेशी पस्लान घुम्लान
सबले रक्ष गर्नु………॥>

एक विभूतिको २ सय बर्ष अगाडिको यो उद्गार हामीले कम मूल्यांकन गरेको मेरो ठहर छ । अरुको भरमा पर्दा देशको आथिक्र राजनीतिक र सामाजिक संरचना विकृत एवं तहस नहस भैसक्यो आफ्नो देशको राजनीतिक भविष्य हामीले होइन विदेशी राजदूतहरुले तय गर्न दौडिराखेका समाचार सुनिरहँदा फिरिङ्गीदेखि होसियार बन्नु भन्ने उद्गार अप्रासाङ्गिक कसरी भनुँ ।

गान्धीको चर्खाको सम्मान गर् र्यौं तर रुइ उमार्न सकेनौं । तेल पछि मुख्य आवस्यक वस्तु खाद्यान्न झैं कपडा पनि हो । कपास उत्पादनमा आत्मनिर्भर बन्न सकेको भए तेलसित साट्न सक्थ्यौं । विदेशीको चलखेल एनजीओ र आइएनजीओ हुँदै कुटनीतिक नियोग मार्फत यसरी बढ्यो कि देश देश रहेन चार सिमानामा रेखाङ्कित भूभागलाई मात्र देश भने पुग्दछ भनी सन्तोष लिने हो भने अर्कै कुरा अन्यथा सामाजिक मौलिकता धर्म संस्कृति परम्परामा आएको बिचलन रोक्नु पर्दछ । नेपालीले नेपाली प्रति अविस्वास र विदेशी प्रति सम्मान गर्ने कुसंस्कार बढायो । जसको परिणाम हामी विखण्डित भैराखेका छौं नेपाली बन्नुको गर्व त्यागी जातियता दलियता र क्षेत्रियताको सकुंचनमा भौतारिन ती विदेशीले अधिकारको नाममा उकास्दै छन् । हामी बेलुन बनी उड्दै छौं जुन दिन होस् खुल्छ अस्तित्व समाप्त भैसकेको पाउने छौं ।

आफ्नो मौलिक धार्मिक सांस्कृतिक सामाजिक परिवेशको संगसंगै आधुनिकता अंगाल्न
सकिन्छ । सम्पन्न मुलुक जापान होस् कि दक्षिण एशियाकै राष्ट्र पाकिस्तान यसका उदाहरण
हुन । राष्ट्रको धर्म संस्कृति सामाजिक विशिष्टता विस्थापित हुनु राष्ट्र हितमा हुने छैन भन्ने त्यसबेलाको उद्गारलाई मनन गर्न हामी चुक्दैगैराखेका छौं ।

प्रसङ्ग दुई

विदेश भ्रमण सवैको सोख हुन सक्दछ तर विदेशमै भास्सिनु त वाध्यता वा कमजोरी नै हो भन्नेमा विवाद नहोला । स्वदेशको कल्पना र विदेशको यर्थाथता आकास पातालको फरक छ तर व्यवधान र समस्यालाई सहजै लिनुपर्ने अनिवार्यता आफ्नै ठाउँमा फरक-फरक अनुभव छ । दुःखलाई लुकाउने र सुखलाई वास्तविकताभन्दा बढाउने हाम्रो बानीले पछाडिका लाई प्रोत्साहित गरिराखेको देखिन्छ ।

महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको महाकाव्यका महापात्र मुनामदनु को नियति र आजको शिक्षित अशिक्षित धनी गरिब प्रत्यक युवाको नियति बदलिएको छैन । मुनामदन को पीडामा आँशु झार्नेहरु स्वयं भने त्यहीं पीडामा रमाउन खोज्नु आफैंमा विडम्वना हो । समाज परिवार बालबच्चा श्रीमान् श्रीमतीको विछोडको पीडा भोग्न प्रोत्साहित भएको छौं, किन मुना मदनु स्रष्टाको देशमा मानिस निर्यात गर्ने व्यवसाय फष्टाएको छ । रोजगारीको अवसर दिने उद्योग धन्दा सुक्दै जाने स्वदेशी नागरिकता त्यागी विदेशी बन्न पीडा खोज्दै छौं

आज ।
शताब्दी अघिको स्व। देवकोटाको मुना मदन को केही हरफ र म अनि हामी ।
कलिला तिमी रहेछौं छोरा
कहाँसम्म जाँदैछौं
हे आमा जागिर खाउँ कि भनी
विदेश लाग्दैछु…………।
तिमी झैं नानी मेरो पिन
एउटा छोरा थियो
विदेश गएको दश बर्ष भयो
फर्केन अझै त्यो
मर् यो कि बाँच्यो कै छैन खबर
सम्झि म रुदै छु
आउछ कि भनी यो पिढी कुरी
बसेकि बस्यै छु
त्यसैले भन्छु ए नानी छोरा
विदेश नजाउ
मिठोर पिठो जे भए पिन
घरमा जुटाउ
म धेरै दिन बस्दिन विदेशमा
केही दिन बसि सकेको कमाइ
ल्याउछु देशैमा ।
सक्दिन बाँच्न बिसे्रर ती प्राणी
आउँछु चाँडै मन खु्शी पार्नेलाई………।

मदन जस्तो पात्र आज प्रत्यक घरमा जन्मिराखेको छ । हिजोदेखि आजसम्म हाम्रो कथा एउटै छ । ब्यथा एउटै छ खोइ कहाँ फडको मार् यौ खोइ हो भौतिकतामा परिवर्तन गर् र्यौं सुविधामा आँखा गाड्यौं तर नियति जिउ का तिउ मदनको युग र आज पनि हाम्रो सपना र आकांक्षा जस्ताको तस्तै छ । विदेशिनुको बहाना ब्यक्तिपिच्छे विविधता लिएर आए पनि यथार्थ त्यति हो कि सपना देख्ने जीवनलाई अधुरो पार्ने र आडम्बरी सुखमा रमाउने ।

प्रस्तुत दुई विभूतिका उल्लेखित उद्गार पछि स्वयं विदेशी भूमिमा कुनै बहानाको बैशाखी बोकी टाँसिई बसेको यो पंक्तिकारको निचोड यस्तो छ ।
आज
राष्ट्रवाद रोएको छ
बेसहरा बनी
स्वाभिमान गिरेको छ
धम्कीनै धम्की बनी
अपनत्व भागेको छ
अविश्वास बनी
विश्वास हराएको छ
शंकाको बादल बनी
शान्ति हराएको छ
बारुदको धुवाँ बनी
आँशु सुकेको छ
बैंस मै पीडा बनी
धैयर्ता टुटेको छ
दैनिक निरीह बनी
गन्तव्य छुटेको छ हाम्रो
अरुको भरमा परी ।