शिर्षक देखेर तपाई यदि यो नेतानै नभएको देश संसारको कुन कुनामा रहेछ भनेर सोच्दै हुनुहुन्छ भने शुरुमै खुलस्त गरौं, त्यो हाम्रै मातृभूमी नेपाल हो ।
हैन, नेपालमा त चाहिने भन्दा बढी नेताहरु छन र यो कसरी नेता बिहिन देश हुन्छ भने सोच्नुहुन्छ भने त्यो हामी सबै नेपालीहरुको सामुहिक सोच हो र केहि समय पहिलासम्म म पनि त्यस्तै सोच्थेँ ।
देशलाई अग्रगमनतर्फ डोर्याउन तँछाड-मछाँड गरेर लाग्ने यत्रा बिध्न वुद्धिमान, राष्ट्रभक्त र दिग्गज नेताहरु अग्रसर भएको देश झन झन डावाडोल, अस्तव्यस्त र अक्रान्त हुँदै गएपछि त्यसले यहि कुरा प्रमाणित गर्छ। हाम्रो देश नेता नेताबिहिन छ।
कुरालाई अझ प्रष्ट पार्दा हामिकहा केवल ‘लाउके’ हरु मात्र छन, स्वघोषित, विद्वान, स्वसिद्द परिवर्तनकारी र स्वनिर्मित अग्रगामीहरु । अनी सबैजना आफुलाई यत्ती महान र दिग्गज सम्झन्छन कि आर्को कुनै व्यक्तिको कुरा मात्रै सु्न्दा पनि तिनको ईज्जत घट्छ । गिरिजा-देउवा कांग्रेसका नेता, झलनाथ-माकुने एमालेका पथ प्रदर्शक, बाबुराम-प्रचण्ड माओबादका (ओहो! आजकल अगाडी एकिकृत पनि राख्नु पर्छ क्यार!)अनुयायी अनी खै त, पुरै देश नेपालको नेता ?
राजतन्त्रको समाप्ती र देशमा जनताको राज बहाली भएको कथन पछि पनि देश झन् झन् जटिल भुमरिमा फस्नुले यहि कुरा टडकारो रुपमा प्रमाणित गरिरहेको छ, कि हाम्रो देशमा कुनै नेता छैनन् । देशकै सार्बभौमिकतामा समेत संकट छाउन लाग्दा समेत अझै तेरो- मेरोमा लड्नु र सत्ता संघर्षमा जुधनु र आरोप-प्रत्यारोपमा व्यस्तहुनुले यि लाउकेहरु देशका नेता हुँदै होईनन र यिनिहरुलाई देशको कुनै माया छैन भन्ने कुरा पटक पटक प्रमाणीत भैसकेको छ ।
यो कुनै दल विशेष वा व्यक्ति विशेषमाथिको मेरो आरोप होईन, समष्टिमा हामीकहाका कुनै पनि ‘लाउके’ (नेता शब्द यिनिहरुको नाम अगाडी पटक्कै सुहाउँदैन) लाई देशको चिन्ता छँदै छैन । गिरिजालाई जिवनको उत्तरार्धको पनि अन्तिम घडिमा पुग्दा पनि रा्ष्ट्रपति वा प्रधानमन्त्री बन्ने लहड छ, माकुने र उनका एमाले अहिलेसम्म यौटा स्पष्ट नीति लिएर बढन सक्दैनन् । मुतको न्यानोको रुपमा सत्ता पनि नछाडने र त्यहि सरकारमा रहेर त्यहि सरकारको बिरोध पनि गर्ने गरेर सधै चमेरो नीतिमा मस्त छन। माओबादिको त के कुरा गर्ने ?, न त हत्या-हिंसा छाडेकाछन, न सरकारनै, अझ आफ्नै सरकार भएको देशमा बुझीनसक्नुको ‘सत्ता कब्जा’ गर्ने समेत उदघोष गरेर गजबको जनबादी डोरको व्याख्या गर्दैछन ।
समष्टिमा हामीकहाँ देश भन्दा माथि दल र दल भन्दा माथि त्यो दलका नेता रहेका छन । अनी देशको समस्या भन्दा यहा सधैं दलको प्रभूत्व महत्वपूर्ण हुन्छ र दलको नीतिमा सधैं त्यसका नेताको हुकुम बढि हावी हुन्छन् । आखीर कहिले सम्म चल्ने यस्तो लोकतन्त्र ? कहिलेसम्म नसुध्रने यी राष्ट्रघाती नेता? कहिले सम्म मान्ने हामीले यी लाउकेहरुलाई नेता?।
देश समस्याग्रस्त हुँदा समेत पद लोलुपताले नछाड्ने नेताबाट के आश गर्ने?, सार्बभौमतामा संकट मडारिँदा समेत मिल्न नसक्नेलाई कसरी मार्ग दर्शक ठान्ने?, देशको लागी दलीय स्वार्थ र व्यक्तिगत अंहकार समेत छाड्न नसक्नेलाई कसरी महान मान्ने?।
कसैलाई सहि लागे लागोस नलागे नलागोस, मेरो व्यक्तिगत विचारमा व्यक्ति भन्दा माथी दल र दलभन्दा माथी देश नराख्ने कुनै पनि लाउके देशका नेता हुनै सक्दैनन्। अहिलेकै स्थितिमा देशमाथी दृष्टि गोचर गर्ने हो भने “देशभन्दा ठुलो दल र दलभन्दा माथी ‘म’” भन्ने बाहेकका कोहि व्यक्ति नेपालको राजनीतिमा छँदा पनि छैनन् । त्यसैले मलाई यो भन्दा चित्त दुख्छ र ग्लानी पनि हुन्छ तर यथार्थ यहि हो, हाम्रो देश नेता विहिन छ (कुनै दल वा गुटका प्रमुख जो आफुलाई सो दल र देश भन्दै पनि महत्वपुर्ण र महान ठान्छन त्यसलाई नेता मान्न मेरो नैतिकताले दिदैँन ) ।