शेखर ढुंगेल
अमेरीका
आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ । कता हुन् परिवार, कता छन् आफन्त साथी, ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे ।
उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ जान्थे । सम्पुर्ण जवानी घृणा, डर, त्रास, शोषणको बिंडो थाम्दैमा बित्यो । त्यस्तो कुनै पनि दिन भएन- आराम र शान्तिसित वितेको होस् । कताकता भट्किएका आत्माहरु उसमा समाहित हुन आउँथे र सम्पुर्ण समय खोसेर लान्थे । रात मात्र होइन, बिहान अनि मध्यान्हसमेत उसको भएन । नचाहेको पाहुना, नचाहेको खाना, नचाहेको काम उसको लागि अनिवार्य दैनिकी भएर बित्यो । प्रत्येक रात झपक्कै भएपछि मात्र उसले अपवित्र विछ्यौना पुग्ने मौका पाउँथी । कहिले काहीं बेहुली भएको सपना देख्थी अनि विउँझिदै बलिन्द्रधारा आँशु पोख्दथी । उसको दुलही बन्ने रहर कलिलैमा बन्धकमा परेको थियो- यो समाजको बन्द कोठामा चल्ने अवैध व्यवसायको लागि ।
बच्चामै आमा-बाबु गुमाएकी रोजी -रुक्मिणी) १३ बर्षै उमेरमा र्स्वर्गको भ्रमण गराउने, सुखको महासागरमा डुवुल्की मार्ने सपना देखेर शहर पसेकी थिइन् । रोजीको भाग्यमा त्यसै दिनदेखि विषाक्त खिया लाग्न थाल्यो जुन दिन उनकी घरबेटी आमाले उनलाई नारकीय बाटोमा धकेलिन विवश बनाइदिइन् ।
ठूलो घर, मोटर, नेता, व्यापारीसितको उठबस के के सपना देखाइनन् उनकी घरबेटी आमाले रोजीको जीवनमा । सहारा विहीन अनि अभावमा पिल्सिएकी रोजीको लागि घरबेटी आमाले कोरिदिको सपना, भाग्यरेखा साँच्चिकै र्स्वर्गमै प्रवेश गर्ने मार्ग हो कि भन्ने भान परेको थियो । त्यसैले अँगालिन् घरबेटी आमाबाट प्रशिक्षित धन्दाको बाटो ।
आज, भोलि, पर्सि गर्दै उनी बेचिंदै गइन्, लुटिंदै गइन् । मायाको नाटक गर्ने ब्वाँसाहरु उनलाई चुस्दै, थुक्दै गर्ने क्रम निरन्तर भै नै रह्यो । न त एक दिन कोही सपनाको राजकुमार आयो सिन्दुर बोकेर, डोली चर्ढाई लैजान, न त बन्यो सपनाको महल । आमा बन्ने उनको रहर बिनाविवाह कैयौं भ्रुणहत्यामा पिल्सिन पुग्यो । प्रत्येक आगन्तुक उनको शुन्दरताको बर्णन गर्दै कुनै न कुनै कसम खान चुक्दैनथ्यो, तर दोहोर्याएर ऊ फेरि आउँदैनथ्यो ।
समयको गतिले उनलाई शहरको प्रचलित नगरबधू बनाइसकेको थियो । प्रहरीको चिसो कुना उनको लागि सामान्य भैसकेको थियो । सडकमा उनी स्वतन्त्र हिंड्न सक्दैनथिन् । नाम-उपनामले चिन्नेहरु खिज्याउने, जिस्काउने गर्थे । त्यसले गर्दा उनको मौजुदा मूल्य पनि घट्न पुग्थ्यो । एकदिन घरबेटी आमासित उनले हिसाब मागिन्, परिणाममा मनमुटाब हातलाग्यो । उनी छुट्टै कोठा लिएर बस्न थालिन् । आफूजस्तै नगरबधुसित सर्म्पर्क बर्ढाई उनीस्वयं धन्धा चलाउन थालिन् । नाम चलेका पत्रकार, नेता, समाजका ठेकेदार भनाउँदाहरु मुख कालो गर्न आउने गर्दथे । अँध्यारो कोठाभित्र नाङ्गिएका कैयौं नकाबहरु उनको आँखामा छन् । गोप्य राख्नुपर्ने सामाजिक नियम उनले इमान्दारीसाथ निभाएकी थिइन् । त्यतिमात्र नभै सत्य सेवा सुरक्षणमका ठेकेदारहरुको लागि निःशुल्क सेवा गर्दागर्दै एकदिन अपरिचित 'सत्य सेवा' को चङ्गुलमा फस्न पुगिन् । निशुल्क सेवाको बावजुद अतिरिक्त नजरानाको आपुर्तिमा कमी भएकोमा सदरखोर पुगिन् रोजी । उनले सैयौं आश्वासन दिने र महारानी भन्नेहरु कसैको पनि सहयोग पाइनन् । रोजीलाई यस पटक जिउ बेच्ने, मास्ने मुद्दामा सात बर्षको लागि सदरखोरमा राख्ने निर्णय दियो अदालतले ।
रोजीको जीवन 'दो दिनकी चाँदनी फिर उही अँधेरी रात' को नियतिमा परिणत भैसकेको छ । उनको जीवनमा न त कुनै दिन माइतिघर अनि तीज आयो न त भाइटीका । घरबेटी आमासँगै मनाएको दशैंको उनलाई याद छ । घरबेटी आमाको जेलभन्दा कडा नियमभित्र बाँधिएकी थिइन् उनी, कसैसित मनको बह, व्यथा पोख्ने मौकासमेत मिल्दैनथ्यो उसलाई ।
सदरखोरमै थाहा भयो उनलाई असाध्य रोगले गाँजिसकेछ । उनले बुझिन्, उनको जीवन नर्कमय भैसक्यो । उनी जिउँदै मरिसकि छन् । उनका सपना सिसाझैं टुक्राटुक्रा भैसके छन् । सदरखोरबाट निस्किएर सीधै गाउँ जाने योजना बनाएकी रोजीको इच्छा पनि पूरा भएन । उनले सम्झना भएसम्मका आफन्तको पत्ता लगाउन नखोजेकी होइन्- कोही मुगलान पसेका, कोहीले चिन्नसमेत अस्वीकार गरेका खबर उनले पाइन् ।
अब केही समयमात्र बाँकी छ उनको सदर खोरभित्र बस्न पाउने अधिकार । कहाँ जाने, कसरी बाँच्ने- त्यही कुरा मात्र आइराखेको छ रोजीको मनमा । खोरबाट निस्कने दिन नजिकिंदै गर्दा खुशी हुनेहरुलाई देखेर आफूले आफैंलाई टोक्दछिन् रोजी- थुक्क जिन्दगी ! उनलाई थाहा छ- न कोही लिन आउँछन् सदर खोरको ढोकामा न त कोही खुशी हुन्छन् उनको रिहाइमा ।
त्यही चिसो कुना, त्यही सुरक्षा गार्डको खरो आवाज प्यारो भैसकेको छ उनलाई । त्यहाँ कोही छैन तैपनि त्यै ठाउँमा जीवन विर्सजन गर्न पाए आनन्द मान्ने मानसिकतामा पुगेकी छन् रोजी । त्यस्तै सोच्दासोच्दै आँखाबाट तुरुक्क आँशु झर्यो । उनलाई पुछ्न पनि मन लागेको छैन । बगोस् सबै बगोस्, फेरि फेरि रुनु त पर्नेछैन । रोए पनि कसैले बुझ्ने छैन आँशु विनाको रुवाइ..........। यस्तो उनको दैनिकी नै हो । एकान्त कोठामा एउटै साथी आँशु मात्रै त छ । अशक्त शरीर विरक्तिएको मनले चाहोस् पनि के - गम्छाले ओठको कलेटी मेट्न खोज्दछिन्, त्यहाँ त धेरै छ्रि्रहरु बनिसकेका छन्.......खटखट.......टिङटिङ...ढोका खुल्दछ .........सदरखोरको सिपाहीले 'पोको-पन्तरो बोकर घर जान निस्क' भन्ने आदेश दिन्छ । रोजी आदेश सुनेको नसुन्यै गरी घोप्टो परेर धेरै बेर रोइ रहन्छिन् । सिपाहीले तानेर उनलाई ढोकाबाहिर पुर्याउँछ ।
भोलिपल्ट सबै समाचारपत्रमा फोटो छापिन्छ रोजीको । लाशको फोटो । शीर्षक प्रायः एकै खालको हुन्छ- बेवारिसे लास पशुपति जङ्गल छेउमा ।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest