January 14, 2009

लुना द न्यु ब्लगरको - मथिङ्गल खलबल

- लुना

प्रकाश एअरपोर्टमा (काठमान्डौ एअरपोर्ट) ओर्ल्यो। उस्लाई एक धड्कन सासले पनि आज मुटुमा भयन्करसँग छोए झै महशुस भएको छ । यस्तो छुवाइले यती पीडा देला भन्ने उस्ले महशुस गरेको थिएन । जब " पृथ्वी " ब्लगमा उस्को एक पाठक (मायालु साथी नै भनु) बहुलाएकी खबर पढ्यो तब उस्को आत्माले निर्क्योल गर्‍यो उ नेपाल जानेछ र चन्द्रालाई भेट्नेछ । यसै पनि उसलाई अक्टोबरमा पारिवारिक भेटघाटकोलागि नेपाल जानु थियो । जसो तसो उ जुलाईमा मिलाएर गयो । आज जुलाई ९ तारिखको दिन उ काठमान्डौ एअरपोर्टमा पाइला राख्दै चन्द्राको ठेगानामा पुर्याइदिन ट्याक्सी ड्राइभरलाई अनुरोध गर्छ ।

ट्याक्सी एअरपोर्टबाट हिंड्यो । गेट बाहिर पुगेपछिको भिषण ट्राफिक जामले उसलाई गोगबु प्रहरी चोकसम्म पछ्याइरह्यो । यसै त चिसो मुलुकबाट फर्किएको उ झन काठमान्डौको जुलाइको गर्मीले असिन पसिन भयो । झन चन्द्राको अत्यासले उ निस्सासियो । ट्राफिक जाममा परेका सवारी साधनका धुँवाले उसको नाकलाई पोल्दै फोक्सो र मुटुसम्म पुगेर कुस्ती खेलिरहेको थियो । उ ती कुस्ती खेली रहेको धुबालाई बेवास्ता गर्दै आफ्नै मथिङ्गलसँग कुस्ती खेलिरहेको थियो त्यो ट्राफिक जामको पट्यार लाग्दो पर्खाइ भित्र ।

उस्ले चन्द्रालाई कम्प्युटरमा "ज्ञ" टाइप गर्न सिकाएको थियो । कस्तो क्षण थियो त्यो ! "प्रकाश सर ! ज्ञ लेख्न आएन मलाई !" चन्द्रा भन्थि, अनि प्रकाशले यसो गर उसो गर भन्दा चन्द्रा यताउता टाइप हान्दै दिक्क भएकी थिई । त्यही बेला प्रकाशले चन्द्राको औंला समातेर "यि यसरी टाइप गर" भन्दा कस्तरी दुबैको जिउ सिरिङ्गग भएको थियो ! प्रकाशको छातीले चन्द्रालाई घप्लक्कै छोपेर टाइप सिकाउदा चन्द्रा फत्रक्कै गलेकी थिई । एक छिन् त तातै भएर संसार नै आगो बले जस्तो देखेकी थिई , त्यस्तै महशुस प्रकाशले पनि गरेको थियो । त्यसपश्चात दुबै झस्किएर अलग भएका थिए । यिनै मिल्तीका दिनहरुमा चन्द्रा र प्रकाशको बिचमा देशको परिस्थितीको बारेमा गम्भिर छलफल हुन्थ्यो । दुबै अत्यन्तै चिन्तीत थिए आफ्नो मुलुकको लागि । दुबै बिदेशमा तर आत्मा दुबैको नेपालमा थियो । अन्य कुरामा छेड् छाड् भएर झगडा परे जस्तो भए पनि जब नेपालको विषयमा कुरा निस्कन्थ्यो तब दुबै एकै भावले गम्भिर हुन्थे । कुरा गर्दै जादा दुबैको आँखामा आशु भरिन्थ्यो । कहिले काही प्रकाशले भन्ने गर्थ्यो "चन्द्रा ! तिमी सार्है भाबुक छ्यौ , पागल हुन्छ्यौ है यसरी सोच्न थाल्यौ भने !" चन्द्राले जिस्किएर भन्थी - "पागल भए तिमीले सम्हाली देउला नि त मलाई ! बरु त्यो दिन छिट्टै आओस ! म तिमीलाई यही बहानामा निस्फिक्रीसँग अगालोमा बाध्ने थिए ।" चन्दाले यसोभन्दा प्रकाश बेसरी तर्सिएको थियो ! साच्चैको कल्पना गरेर ! त्यो देखेर चन्द्रालाई दया माया लाग्यो । उसले त्यतिबेला "धत ! जोक पो गरेको त !" भनेर प्रकाशलाई फुल्याएकी थिइ ।

प्रकाशको जिन्दगी नै साहित्यक क्षेत्र थियो । यसैमा उ आफूलाई जिउदो पाउथ्यो । त्यो चन्दाले पनि बुझेकी थिइ । उ जतीखेर प्रकाशको लेख प्रकाशित हुन्थ्यो उत्ती नै बेला पढेर त्यसमा प्रतिकृया जनाइहाल्थी । खान-निदाउन यतीसम्म कि ट्वाइलेट जाँदा पनि प्रकाशको लेख पढेर उ सोच्थी कहाँ के प्रतिकृया दिनु पर्छ भनेर । चन्द्राको यो झक्झक्याउने उर्जाले प्रकाशलाई सधैं लेख्न प्रेरित गरिरहन्थ्यो । यस्तै यस्तै नाताबाट आज चन्द्रा प्रकाशको हृदयमा बसेकी थिइ । जब प्रकाशले उसको प्रिय मित्र बहुलाएको खबर "पृथ्वी" ब्लगमा पढेको थियो तब देखि प्रकाशको शान्ति हराएको थियो ।

उ यस्तैकुराहरु सोच्दै थियो, परबाट एक हुल आन्दोलनकारी 'जिन्दाबाद ' ! 'मुर्दाबाद ' ! नारा लगाउंदै अगाडि बढिरहेका थिए , उ अतितबाट झस्कियो । "ओहो......!" पर मान्छेको हुल देखेर उ दौडिएरै चन्द्राको घरसम्म पुग्ने बिचार गर्‍यो । उस्ले ट्याक्सी ड्राइभरलाई भन्यो, "दाई ! पैसा लिनुस् ! म दौडिएर जान्छु ।" ड्राइभरले भने, "भो, ओहो ! हजुर ! कसरी त्यति टाढा पुग्नसक्नु हुन्छ ! एकछिन् पर्खनुस् !" प्रकाशले भन्यो, "दाई ! सक्तिन म पर्खन ! यहाँ एक छिन् पनि पर्खिन सक्तिन म ! मेरो यो छ्ट्पटिएको मनले बरु दौडिएर नै शान्ती प्राप्त गर्ला ! म एक मिनेट पनि यो समयसँग रोकिन सक्तिन !" उ आँफै नै बहुला झै दौडियो ! करीब साँझतिर उ चन्द्राको बासस्थान भएको गाउमा पुग्यो । चन्द्राको तस्बिर देखाउंदै घर सोध्यो । अलि पर पुगे पछि चन्द्राको घर आयो । जसै जसै चन्द्राको घर नजिक आएको थियो उसको मुटुको धडकन निस्सासिएर बढी रहेको थियो .......... उसले गेटको प्वालबाट चियाएर हेर्यो ! चन्द्रा बरन्डामा बसेर एक्लै फत्फताइ रहेकी थिइ .... "प्रकाश ! प्रकाश ! उमालाई बचाउ ! !! प्रकाश त्यो मलाई पनि मार्न आउँदै छ !" अनी एकै छिनमा उ फेरी हास्न थाली !

"मथिङ्गल खलबल "


सरकार, कलम र दुई थोपा आशु

gokul_bivas
गोकुल बिबश ढकाल
ईतिहासको यो कालखन्ड सम्म शायद नेपाली जनताले हजारौ शासकहरु देखे र भोगे, चाहे ति शासक पृथ्वीनारायणको रुपमा हुन वा बहादुर शाहको भेशमा । जङ्बहादुर वा चन्द्रशमसेरको रुपमा होउन वा मनमोहन, गिरिजा वा नयाँ नेपालका नयाँ शासक प्रचन्ड कै घमन्डताको स्वरुपतामा नै किन नहोउन । ति सबैका रुप र भेशमा तातो खरानी भन्दा केही देखिएन । भनिन्छ नि, जुन जोगी आए पनि कानै चिरेका । शाहहरुले कान चिरेर दासता, सामन्ती सोच र पाखन्डिपनाको गहना लगाएका थिए भने ०४६ साल पछी आएका प्रजातन्त्रका हिमायाती भनाउदा हरुले भ्रस्टाचार, परिवारबाद र नोकारीपनाको मुन्द्रा लगाए - कानमा भने, पन्ध्र हजार नेपालीको ज्यान जाने गरी थालिएको "प्रजातान्त्रिक र गणतान्त्रिक अभ्यास" बाट आएका शासकहरुले आज महङ्गी, हत्या र आतंकका गहना लगाएका छन ।
हिजो यिनिहरु सबै काशिका जोगीले जसरी पहेलो बस्त्र पहिरिएर जनता सँग भिख माग्थे, आज जनतालाई नाङै बनाएर लुट्न सिकाएका छन । सिंह दरवार अगाडि महिलाले नाङै बिकासको भिख माग्दा पनि यिनका घैटामा घाम लागेनन । आज जनता सबै जोगी भएका छन । सबै जोगी भएपछी भिख दिने को ? को सँग माग्ने भिख ? त्यसैले परिवार पाल्न नसकेर राम कृष्णहरु बिख पीइ आत्महत्या गर्न वाध्य भएका छन । हामी जनता चाँही लाटो कोसेरो जसरी राम कृष्णको परिवार बिचल्ली भए जसरी भोको पेट र बढेका नङ्रा देखाएर बस्न वाध्य भएका छौ । अब यहाँ सम्झन मन लाग्छ, हाम्रा पुर्खाले स्वतन्त्रताको लागि लडेका लडाईंका के अर्थ ? सुक्रराजहरु फासिमा झुन्डिएर छातीमा गोली थापेको के अर्थ ? जीवनहरु लोकतन्त्रको लागि लडेर अपाङ्ग भएको के अर्थ ? पुर्खाको बलिदानिको नाममा बनेको ट्रस्ट पञ्चेहरुको मागी खाने भाडो भएको छ, सुक्रराजहरुका नाममा बनेका स्कुलहरुमा केबल समानती र शोषक-शासक हरुका बचेँरा खेल्ने पाठशाला भएको छ भने जीवनभर अपाङ्ग बनेका जीवनहरुको नाममा ति शासकका भाई भतिजाहरुले मोटरसाईकल र महङा मोबाईल सेटहरु बोक्ने माध्यम बनएका छन । अतएब: हामीले के पायौ त आखिर ? जनताको सहि बिचार छापिने कुनै पत्रीका छैन देशमा । सबैका आवाजहरु धम्किले पेलिएका छन, निमिट्यान्न भएका छन । स्वतन्त्रताको कसम खाइ खुलेका संचार माध्यामहरु कि त कांग्रेसी मुखपत्र भएका छन, कि त तिनिहरु एमालेको महाधिबेशनको घोषणापत्र बनेर बासिरहेका छन कि त भने वाइ. सि. एल . का आतंकको गुणगान गाउँ मै ब्यस्त छन । १३० सालको राणा शासनले नदेखाएको बर्बर आतंक आज हामी खेप्न वाध्य छौ । कोही बोल्यो कि भोलिपल्टै अपहरण अनी सदा भरी बनमारा घारिको बास - खुकुरिको छप्काइले । बल्ल बुझियो, यही रहेछ, प्रजातन्त्र । यती दिन आएको रहेछ लोकतन्त्र । धन्य शाहहरु, कोइराला र अधिकारीहरु अनी बर्तमान दाहालहरु ।
पञ्चायत बखत लेखिने कलमहरु मात्र भाचिदिन्थे रे - शासकहरु । तर आज यहाँ पत्रकारको कार्यालयसङै उनैको घाटी भाचिएका खबरहरु सेलाउन नपाउदै उमा सिंहहरु गिडिन पुग्छन । शासकहरुका गलामा पाच तोलाको सुनको सिक्री हुन्छ, दाईजो प्रथाको बिरोध गर्दा अनी सत्यतामा पत्रकारिताको आफ्नो जीवन देख्ने उमाहरुको घाटिमा पाच जना होइन पन्ध्र जना लफुङाहरु पाच किलोको खुकुरीले टाउको रगेट्छन । आतंकको यो भन्दा बढी सिमा अरु के हुन्छ ? हिजो खुकुरी र बन्दुकहरु प्रधान भए, आतंकको साधन । लोकतन्त्रको बहाली पश्चात कलमहरु टुक्राउने गतिलो सहारा भएर मौलाएको छ फेरी बन्दुकतन्त्र । कृष्ण सेनहरुका जीवन समाप्ती कसरी भए भन्ने कुरो पनि यहाँ उठ्नु स्वाभाबिक छ तर समाज कता गयो ? हामी कता जादैछौ अनी हाम्रा यि शासकहरुले हामीलाई सस्तो डलरको भाउमा कतै बेचिरहेका त छैनन, मोरियार्ती त पावेलहरुलाई ? बिजुली नभएको अन्धकारमा महाकालीको कसम सम्झेर यिनिहरुले मौका छोपी भारतीय मुद्रामा त बेचबिखन गरिरहेका छैनन भन्ने प्रसँग अब अनौठो नलाग्दो भएको जस्तो छ । मुलायम सिंहहरु आउनु अनी उमा सिंहहरु काटिनु, शिवशंकरहरु आउनु अनी नारायण वाग्लेहरु थुनिनु अनी मोरियार्टिहरु फर्कनु, "जनसेनाका" कमाण्डरहरु गर्जिनु के नेपालमा कलम बलियो भएरै हो त ? या त बिचार र कलमका प्रतिमुर्तिहरु तिनै उमाहरुले सत्यताको बखानमा पत्रकारिताको मान्यता निभाएर हो ?
धेरै दियोहरु निभिसके । त्यसै त अन्धकार देश दैनिक सोर्ह घण्टा सुत्छ । महाकालीहरु बगेको बेगले भारतीय दलालहरु ब्युझन्छन तर गण्डकीको आशु सुकेर सगरमाथाको न्याउरो अनुहारमा हाम्रो देश दिनदहाडै निदमा मस्त छ । यही अन्धकारको मौका छोपी दलालहरु चन्दन ओसार्न ब्यस्त छन भने बामदेवले सुकाएका बारहरु झनै मज्जाले नग्नतामा नाच्न मस्त छन । तर उता मैनबत्तिको सहारामा जनकपुर थर्काउने उमाहरु अन्धकारैमा निर्दोश जिन्दगी खुकुरी र भालाले गिडाउन तयार छन । सतिले सरापेर कहिल्यै आमाहरुको आँखा ओभानो न्भएको यो मुलुकमा हाम्री र उमाकी आमाहरु फेरी एकचोटी चिच्याउदै रोइरहेका छन नै अनकन्टारमा बिलौना गरिरहका छन, फर्कन्छन कि फेरी उमाहरु भनेर । सुन्देलान कि हाम्री र उमाकी आमाका चित्कारहरु भनेर । तर रगतको खोली बगेको मुलुकमा आमाहरुका दुई थोपा आशुको के महत्व ? कसले सुनुदिने बिलौना ? देख्ने, सुन्ने र भोग्ने हरुका आँखाबाट मात्रै चुहिदारहेछन, आमाहरुका आशु जस्तै दुई थोपा आशु त केबल दुई थोपा आशु हजुर ।


राष्ट्रिय गीत - नेपाल नेपाल

शेखर ढुंगेल -१-१०-०९
नेपाल नेपाल नेपाल
यो मेरो नेपाल हाम्रो नेपाल
हिम्चुली को आँगन मा
मादल को ताल मा
नाच्दै हिंड्ने फुल्बारी
हो यो मेरो नेपाल हाम्रो नेपाल

---------------
कस्ट जस्तै पाए पनि
दुस्मन सीत् डटी लड्ने
हाम्रो ऊच्च वीर गाथा
राखी छाती मा चन्द्र सुर्य
गर्छौ गर्ब आफ्नै ईतिहास मा
हो यो मेरो नेपाल हाम्रो नेपाल
-------------------
हामी कहिल्यै झुकेनौ
अब पनि झुक्दैनौ
हामी फस्दैनौ दुस्मन को जालमा
हिमाल पहाड तराइ गाउँछ
एकै सुर र तालमा
हो यो मेरो नेपाल hamro Nepal



January 13, 2009

आफ्नै भावना दौतरी प्रती

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

आफ्नो यात्राको झन्डै दुई दसक बित्न लाग्दा पनि यो यात्राको तीर्खा मेट्न सकिन। हुन पनि हो। जो कोहिमा प्रतिभा छ, प्रष्फूटन गर्ने ठाउँ छैन। कला छ, स्थान छैन, भावना र चाहना छ, हौशला छैन भने त्यस्ता प्रतिभाहरु त्यसै सेलाएर, मरेर जान्छन। तर अहिले हामीले त्यस्तो ब्यथा झेल्नु परेको छैन। यस्तै आफ्नो प्रतिभा पोख्ने बिसौनी पाएकाछौँ। हामीले सबै अनलाइन पत्रीकाहरु प्रती अनुग्रहित हुनै पर्छ। एक जमाना त्यस्तो पनि थियो। जतिबेला आफ्ना रचना हरु झोलामा बोकेर छपाइ माग्ने अनुनय बिनय गर्दै हिंड्नु पर्दथ्यो तर अहिले हामीलाई त्यस्तो परिस्थितीसँग सामना गर्नु परेको छैन। त्यो आफ्नो रचना छापिए वापत रु‍ एकसय पाउदा पनि हामी कत्ती हर्षित हुन्थ्यौ। महिनामा यौटा रचना छापिए भने हामीमा खुशीको सिमाना रहदैनथ्यो। त्यही एकपटक छापिएको रचना पढेर नै मलाई त दिनको पच्चिस-तीस वटा मेरा शुभ चिन्तकहरुका पत्रहरु आउँदथे। हो त्यही पत्रहरु नै मेरा लेखनयात्राका प्रेरणाहरु हुन। म ती पाठक र मेरा प्रेरकहरुलाई कहिल्यै भूल्न सक्दिन। वहाँहरुका प्रेरणाले नै मलाइ यहाँ सम्म आज ल्याइपुर्याएको छ। म सबैप्रती हार्दिकता प्रकट गर्दछु। आज म बिदेशमा छु ता पनि आफ्ना मनका भावनाहरु बिसाउने चौतारी पाएर म आफ्नो भावनाहरुलाई सबै सामु पोख्न सक्षम भैरहेकिछु जसरी आज दौतरिको छात्तिमा मेरा भावना र चाहनाहरुलाई सबै सामु छरी रहेकी छु। आशा छ म आफ्नो देशमा नभए पनि मेरा श्रीजनाहरु मेरो देशमा जीवन्त हुनेछन। जसरी मैले ''परदेशबाट''भन्ने कबिता सङ्रह आफ्नो देशको सम्झनामा समर्पण गरें जस्लाई अलिक ढिलै भए पनि दौतरिले सार्वजनिक गरिदियो। दौतरी म तपाईं प्रती आभार प्रकट गर्दै त्यही सङ्रहभित्रका एउटा कबिता सुम्पदै छु। आज्ञा अवश्य दिनेछौ दौतरी जुन कबिता ले २०५४ मा राष्ट्रिय पुरस्कार ग्रहण गरेको थियो। म मेरा पूराना शुभचिन्तक हरुमा फेरी यो कबिता मार्फत झुल्किन चाहन्छु दौतरिको सहारा लिएर ।

''नासो''


जिजीबिषाको खोजिमा उस्ले
कयौ पटक सर्टिफिकेट्लाई
फोटो कपी गर्दा गर्दै
अब त ---उस्को प्रमाणपत्रको
असली रूप नै मेटिसकेको छ ।
अनी--- असंख्य पाषाण मुर्तिहरुसँग
बिन्ती चडाउदा चडाउदै
उस्को अभिष्ट माथि
बज्रपात हुँदै गैरहेछ।
नौलो,नौलो भलाद्मिका अनुहारहरु
पढ्दा पढ्दै अब त ---,
ऊभित्रका आकाक्षाका अक्षरहरु
क्रमश:मेटिदै गैरहेछन।
आज एउटालाई भेट्ने
भोली अर्कोलाई सिफारिस
चडाउने क्रममा
उस्को आयु पनि छोटिदै गैरहेछ।
दिनानुदिनको दौडाइमा
ऊ त्यही रह्यो,त्यस्तै रह्यो ,
बरु ---सर्टिफिकेटले बुढ्यौलिको रूप फेर्यो
उस्को टाउकोमा सेत्ताम्मे कपास फूले
त र ---उस्ले जिजीबिषाको
अडान पाउन नसकी
लाछी मन लिएर म्रीत्यु पर्खिन
वाध्य हुनु पर्‍यो,
प्रमाण पत्रलाई केवल
''नासो''सम्झेर
बाँच्न मन्जुर हुनु पर्‍यो ।

(२०५४ साल मा नव कविता राष्ट्रिय पुरस्कार प्राप्त भएको कबिता )



के भनु र खै?

आज नेपाली खबरमा त्यही छायो जस्ले सबैलाइ नरमाइलो बनायो। एउटा अबला नारी,वरीपरी दर्जनौं गुण्डा। कलम बोक्ने ती साहासी महिलाको खुकुरी बोकेका कायरहरुले जिबन खोसे। नेपालमा आजकाल मानब अधिकार त हराइसक्यो। आमाका कोख रित्तीने,पत्निका सिन्दुर पुछिने, दुधे बालक टुहुरिने दिनानु दिन भइरहन्छन, तर उमा सिंहको हत्याले हामीहरु पशु भन्दा पनि तल गयौं कि झस्काइरहेको छ। अब त शान्ती भयो कि भनेको हामी झुक्किएछौं। भोली कसैले अपराध गरेको आरोप लगाउला, कसैले कारबाही गर्ने बचन देला तर मर्ने मार्ने काम भुतपूर्व शान्ती क्षेत्र नेपालमा रोकिने भएन।

भोलीको नेपालका बाटा धेरै छन, सबैले भन्छन हामी झन अग्रगमन तिर लम्किदै छौं। कतै हामीले एकै फड्कोमा मानबताकै छलागं त पार गरेनौं? । देश बिकासको नाममा, नया नेपालको नाममा आज हामीलाइ बाच्न पनि मुश्किल भएको छ। घरबाट निस्के भरे फर्किने हो कि होइन पत्तो छैन,आज थाकेर सुतेको ज्यान भोली उठ्ने हो कि होइन ग्यारेन्टी छैन। हामी अनिस्चित नेपाल तिर लम्किदै छौं। जत्था जत्था झुन्ड झुन्डमा बाडिएको बर्तमान नेपाले त्यसै त हामीहरुलाइ हिनताबोध गराइरहेको छ, उमा सिहंको घटनाले त मुख नै बन्द गरायो। अनुहार नै कालो बनायो। के भनु र खै?



माघी, कमैया र कम्लरी

बसन्त-

प्रत्यक बर्ष माघे संक्रान्ती लाई नेपालका आदिबासी थारु समुदायले माघी पर्बको रुपमा मनाउछन। घर्-घरमा जाड-रक्सी बनाईन्छ। सुङुर काटिंछ र ढिक्री पकाईन्छ अनि नांच गान गर्दै रमाइलो हुन्छ।आफ्नै परम्परागत किसिमका बिशेष खानेकुरा पाक्छन। अनि कोसेली बोकेर नातेदारको घरमा गै शुभ-कामना आदान प्रदान गर्ने चलन छ। केहि बर्ष पहिले सम्म जाडले मात्तीएका र अतिहुदा बाटोमा लडीराखेका हुन्थे। र यो क्रम आजकल कम भएको हुनुपर्छ। यो महत्वपुर्ण सास्कृतिक पाटो सङै अरु दुईवटा पक्षहरु माघी सङ जोडीएर आउने गर्छन। पहिलो हो कमैया र कम्लरी प्रथा अनि दोश्रो हो अधीया प्रथा। माघी यो समुदायको नंया बर्ष पनि हो। धेरै बाचा-बन्धन र ब्यवहारीक कुराहरुको सुरुवात र अन्त्य यसै समयमा हुने गर्दछ। अन्य जात जातीले यो पर्ब आफ्नै तरिकाले मनाउछन्। थारु बस्तीमा हुर्केको, बढेको नाताले आफुले देखेका कुराहरुमात्रै यहा राख्ने जमर्को गरेको हुँ।


कमैया प्रथा अहिले त उन्मुलन् भैसकेको छ। उनिहरुको बिभिन्न मागहरु पुरा गराउन भलै अझै आन्दोलन् गर्न किन नपरोस। दश बर्ष अघि सम्म पनि यो नराम्रो प्रथा हो भनेर सायदै कमै मान्छेले लिन्थे होला। अझै पनि स्कुल जाने उमेरका केटीहरु कम्लरी बसेकै होलान-ठुला नेता देखी सहरियाहरुको मा। तर यो निकै कम् भैसकेको छ। मेरो बिचारमा कमैया र कम्लरी प्रथा दास प्रथाकै आधुनिक र अर्को रुप हो। श्रम शोषण त छदै छ। यो सङ सङै मानसिक, सामाजिक, कम्लरीहरुको यौन शोषण हुन्छ। न्युन पारिश्रमिकमा काम गर्ने, काम गर्ने समय निस्चीत नहुने-उठे देखी नसुते सम्म काम गर्नु पर्ने। बिरामी भयो भने उपचारको कुनै ब्यवस्था नहुने। लाउने खाने को त कुनै कुरै नहुने। कमैयाले बाहिरको काम गर्ने-खास गरि खेतिपाती सम्बन्धी काम। कम्लरीले घर भित्रको सबै काम-नानी बाबु हेर्ने देखी लिएर भान्साको काम गर्नु पर्ने।


मैले त्यति बेला देखे अनुसार हाम्रो गाउ तिरका थारुहरु तिन खालका थिए आर्थिक अनि सामाजिक हिसाबले पनि। सबै भन्दा तल त कमैयाहरु हुने नै भए । अनि त्यसपछि अरुको जग्गा अधिया जोत्ने र नम्बर एक आफ्नै जग्गा भएका अलि सम्पन्न। आफ्नै सम्पत्तीले खान लाउन पुग्ने। नम्बर एक समुहका अलि पढे लेखेका पनि। अनि केहि हल गोरु वा राङा भएकाहरुले अरुको जग्गा अधीया जोत्न पाउछन। गोरु भन्दा राङा नै जोत्ने। त्यसको फाईदा भनेको जोत्ने बेला सम्म जोत्यो अनि बुढो भयो भने मो:मो जिन्दाबाद। गोरुलाई त्यसो गर्न मिलेन। बिचरा एक हल राङा पनि नहुनेहरु कमैया बस्नु पर्ने। परिवार नै अरुको घरमा। बाउ कमैया, आमा ओर्गीनि, छोराहरु गोठालो, छोरिहरु कम्लरी। प्राय जसो लोग्ने मान्छे जुन घरमा कमैया बस्यो त्यही घरमा आइमाई ओर्गीनि हुने। छोरिहरु पोखरा, काठमान्डौ तिर। कतिपय त्यतै हराएर गए। मेरै छिमेकी परिवार आफ्नी हराएकी छोरि खोज्दै हिडेको देखेको छु। ओर्गेनी र कम्लरीको यौन शोषण पनि हुन्छ। त्यसको कुनै सुनुवाई नै नहुने। एकजना जमिन्दारको बिग्रेको छोराले बाबु आमाकै अगाडी छोरिलाई जबर्जस्ती बलात्कार गर्थे। त्यसको कसैले प्रतिकार गरेको मैले थाहा पाइन।


खुशीको खबर के छ भने यी प्रथा र बिकृतीहरू बिस्तारै कम हुदै छन। आशा गरौ यो माघीमा गत साल कमैया, कम्लरी र ओर्गिनि बसेकाहरुले पुन नयां सालमा नबिकरण गर्न नपरोस। बास्तवमा यो एककिसिमले दशकौ देखी चलि आएको हुदा जिबन पद्धति बनिसकेको थियो। अनि सामाजिक संरचनामा घुसेको थियो। अब आफ्नो काम आफैले गर्ने बानि बसाल्ने र आफ्नो जग्गा आफुले जोत्न सके मात्र राख्ने गर्‍यो भने यो प्रथा कम होला। अर्को तिर ति गरिबहरुको जीबन यापनको बैकल्पिक ब्यवस्था गर्नु पर्छ।

एकपटक फेरि: सखिए हो माघकी गुरि गुरि जांड