December 15, 2008

गजल - नझारनु यी कहिल्यै तिमी आँशुहरु

बसन्त मोहन अधिकारी

नझारनु यी कहिल्यै तिमी आँशुहरु ।
देउ मलाई आँशु म झारी दिन्छु बरु ।

नदुखाउँनु त्यो तिर्मो टाँउको कहिल्यै
देउ तिर्मा पिडाहरु रोई दिन्छु अरु ।

यी फूलै फूलले ढाकुन् तिर्मा बाटोहरु
यो काँडा बिज्ने बाटो भरी मै यात्रा गरु ।

देखेर मिठो सपना कल्पनामा डुब्नु
यो जिउँदै जल्ने चितामा म मात्र परु ।

जन्म जन्म सम्म तिमी हाँस्दै बाँचि राख
बरु सधै भरी रोई म बसन्त मरु ।


बिजुलीले झट्का

Kiran Paudyal, Kuwait.

१९ नोभेम्वर २००८


८३ हजार मेगावाट, रहेछ क्षमता भारी
०३ हजार निक्लँदैन, डिजेल समेत गरी

४८ घण्टा प्रतिहप्ता, लोडसेडिङ्ग साह्रो
१३ प्रतिशत आयातले, पनि भ्याउन गाह्रो

अँध्यारोमा बच्चा बिग्रे, भविष्य अन्धकार
कर्णधारै तहस-नहस, देशलाई पर्‍यो  मार

कल कारखाना ठप्प भए, उद्योग भए बन्द
बेरोजगारी उर्लेर आयो, दाजुभाई मै द्वन्द

हात्ती भयो आयात त, कमिला सरी निर्यात
व्यापार भयो डामाडोल, अर्थतन्त्रमा आघात

जलश्रोतको धनी देश, डांडा पारीको जुन
बचाउन आउनु पर्छ, दैविक शक्ति पुनः

कस्लाई कोस्ने कस्लाई भन्ने, केही फाईदा छैन
नेपालीको भाग्यै क्यार, यस्तै होला चैन



गित - बिश्वमा नेपाल

राकेश कार्की
लस् एन्जेलस्
मानचित्रमा हेर्दा लाग्छ नेपाल धेरै सानो छ
तर विश्वलाई ढाक्ने सगरमाथाको छानो छ
हामी नेपाली पौरखी र स्वाभिमानी सधैं छौं
हराउंदैनौं अब कहिल्यै मुलधारको बाटो लाग्छौं
सहयोग भलाई सद्विचार अगाडी बढ्ने मुलमंत्र
गर्दैनौं भुल अब है सिर्जन्छौं खुशीको लोकतंत्र
सत्य अहिंसा शान्तिको हाम्रै भुमी हो मुहान
अपार शक्ति हामीमा बनाउंछौं विश्व नै महान

December 14, 2008

नेपाली समाज यूएईको अध्यक्षमा यमप्रसाद तमू

दुवईको एभरेष्ट ईन्टरनेश्नल होटलमा १२ डिसेम्बर २००८ मा भएको नेपाली समाजको चुनावमा सर्वसम्मतीबाट यमप्रसाद तमू अध्यक्ष पदमा चुनिएका छन् । नेपाली दूतावास यूएईका तृतिय सचिव जितेन्द्र लाभको प्रमुख आतिथ्यमा सम्पन्न उक्त निर्वाचनमा विभिन्न संघ संस्थाका प्रतिनिधी बुद्धिजिवी तथा प्रत्रकारहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष पदमा नेपाली समाजका फर्व अध्यक्ष कृष्ण ढकाल, जनजाती महासँघका अध्यक्ष यमप्रसाद तमू र नेपाली समाजका उपाध्यक्ष राजेन्द्र देवकोटाको उम्मेदवारी परेको थियो । कृष्ण ढकाल तथा राजेन्द्र देवकोटाले अन्तिम चरणमा यमप्रसाद तमूलाई समर्थन गर्दै आफ्नो उम्मेवारी फिर्ता लिएका थिए भने उपाध्यक्ष पदमा लक्ष्मण सापकोटा, आसिफ अलि सिद्धिकी र मानबहादुर थापाले उम्मेदवारी दिएका थिए । २ जना उपाध्यक्षको मात्र निर्वाचन हुँने हुँदा मानबहादुर थापाले लक्ष्मण सापकोटा र आसिफ अलि सिद्धिकीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

महासचिव पदमा धर्मेन्द्र यादव, उत्तम अधिकारी र नारायण अधिकारी तीन जनाको उम्मेदवारी परेको थियो । महासचिव पदमा अन्तिम समयसम्म पनि समझदारीमा आउन ढिलाई भएको थियो । निर्वाचन समन्वय समितिले महासचिव पदमा निर्वाचन गराउनको लागि तमतयार भईरहेको अवस्थामा विभिन्न सामाजिक तथा बुद्धिजिवी बर्गको अनुरोधमा तीन जनाको समझदारीमा नारायण अधिकारीलाई महासचिवमा, उत्तम अधिकारी सचिव पदमा र धर्मेन्द्र यादवलाई नेपाली समाजको प्रवक्तामा समर्थन गर्ने गरी समझदारी भई नारायण अधिकारी महासचिव उत्तम अधिकारी सचिव र धर्मेन्द्र यादव प्रवक्तामा चयन भएका थिए भने कोषाध्यक्ष पदमा रविन्द्र पौडेल निर्विरोध निर्वाचित भएका थिए ।

बाँकी रहेका कार्यसमितिको चयन अध्यक्षको रोहवरमा विभिन्न संघसस्थाहरुको प्रतिनिधित्व हुने गरी पहिलो बैठकले गरिने निर्वाचन समन्वय समितिले जानकारी दिएको थियो । विभिन्न संघसस्थाहरु, नेपाली समाजका सस्थापक सदस्य, आजीवन सदस्यको तर्फबाट करिव १५४ पार्षदहरु उम्मेदवारहरुलाई मतदान गर्नकोलागि हलमा उपस्थित भएका थिए । नव निर्वाचिन अध्यक्ष यमप्रसाद तमूले पार्षदहरुको अध्यक्षतामा राजेन्द्र देवकोटालाई चयन गरेका थिए । नयाँ कार्यसमितिले आउँदो १ जनवरी २००९ देखि आफ्नो कार्य सम्हाल्ने छ ।

विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी नेपाली समाजका सस्थापक सदस्य, पूर्व अध्यक्ष, पत्रकार तथा अन्य ब्यक्तिहरुले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए । निर्वाचन समन्वय समितिले विभिन्न संघसंस्थाले चुनेर पठाएका पार्षदहरु, नेपाली समाजका सस्थापक सदस्यहरु, पूर्व अध्यक्ष तथा पत्रकारहरुलाई मात्र हलमा प्रवेश गराएको थियो ।

निर्वाचन समवन्वय समितिका सँयोजक यमलाल शर्मा पगेनीले निर्वाचन सम्पन्न भईसकेपछि निर्वाचित भएका पदाधिकारीहरुको निर्वाचित भएको घोषणा गरेका थिए भने प्रमुख अतिथि नेपाली राजदूतावास यूएईका तृतिय सचिव जितेन्द्र लाभले निर्वाचित पदाधिकारीहरुलाई अवीर लगाईदिएका थिए ।

निर्वाचन समवन्वय समितिमा यमलाल शर्मा पगेनीको सँयोजकत्वमा शंकर ज्ञवाली, जनकराज शर्मा, ई. मोहम्मद अयुब, डि.आर. गुरुङ्ग तथा भुवन राई रहेका थिए ।



अतीतको पानाबाट (तेस्रो भाग)

(अतीतको पानाको पहिलो भाग र यांहा छ। अतीतको पानाको दोस्रो भाग यांहा छ।)

प्रत्यूत्तर आउन त आयो तर कुनै उत्साह लिएर आएन। पत्र संक्षिप्त थियो। सबै कुरा त मलाई याद छैन तर पत्र को मजबुन के थियो भने हाम्रो प्रेम सुहाउदैन। कारण तिनी सानो कक्षामा पढ्ने र मचाहि माथिल्लो कक्षामा पढ्ने, पढाइमा पनि राम्रो र म फेरि अर्कै टाइपको मान्छे रे! यो के भनेको मैले राम्ररी बुझ्नै सकिन तर मेरो दिमाग चांहि "हाम्रो प्रेम सुहाउदैन" भनेको कुरामा मात्र ठोक्कियो। घुमाएर मेरो प्रेम प्रस्ताव अस्विक्रीत भएको भन्ने अर्थमा मैले बुझें। केही दिन खूब रन्को चल्यो।

त्यसबेला सम्म सेन्ट अप टेस्ट सकिएर परिक्षाफल निस्कि सकेको थियो। जिल्ला भरिमा दोस्रो भएछु। गुरुहरुले पहिलो नै हुन्छु कि भन्ने आशा गर्नु भएको थियो, तर हुन सकिन। दोस्रो भएपनि सबै साथीहरु, चिने जानेका हरुले बधाइ दिए। तर मेरो प्रेम निवेदनको असफलताले प्रबेशिका परिक्षाको सफलतालाई खल्लो पारिरहेको थियो।तर म चलचित्रका कथाहरुमा जस्तो प्रेममा पागल् भइन। केही नरमाईलो, केही खल्लो, केही अपुर्ण जस्तो महसुस् अवश्य भयो। फेरि कहिले सोच्थें, तिनी बारम्बार् मेरो कक्षा कोठाको ढोका अगाडी आएर नजर जुधाउनका कारण के थियो त, त्यो संयोग मात्र त थिएन र एउटा नियमितता जस्तै बनेको थियो। के त्यो हेराइ प्रेमको निमन्त्रणा थिएन त? के मैले उसलाई गलत बुझेको रहेछु त? आदि प्रश्नहरुले मलाई केही दिन सम्म निकै रुमल्यायो।

सायद समय जुनसुकै घाउको पनि मलम हो। मैले बिस्तारै उनको बिषयमा सोच्न छोडें। लाग्यो, यो प्रेम् भन्ने चिज मेरो कपको चिया होइन र त्यतिखेर मेरो प्राथमिकता एस् एल् सी परीक्षा पनि थियो। स्कूल जान नपर्ने भएपछि उनीसंग भेट हुने कुरै भएन र काम् नपरी उनको घरको बाटो पनि हिंड्न छोडिदिएं। बिस्तारै म पढाइमा अभ्यस्त हुन थालें।मेरा केही साथीहरु मसंग सहयोगको लागि आँउथे, बिशेषगरी गणित र, अंग्रेजी को समस्या लिएर हरेक दुइ-तीन दिनमा कोही न कोही मसंग हुन्थे। एस् एल् सी परीक्षाको तयारी त्यो समय जीवनको एउटा रोमान्चपुर्ण क्षण नै हो। केही कुतुहलता, केही डर, केही त्रास, उत्तीर्ण भएपछि को उच्च शिक्षा र भविष्यको सपना र अनुत्तीर्ण हुंदा हुने पिडा, लाजको डर सबैले भरिएको हुन्छ, त्यो क्षण। कुरालाई अन्यत्र धेरै के घुमाउनू, एउटा अचम्म भयो। हिउंदको पारिलो घाम भएको ले बाहिर आंगनमा गुन्द्री ओछ्याएर पढिरहेको थिएं। मेरो बुवा बाहिर कतै गांउतिर घुमेर फर्कनु भएको थियो। वहांले एउटा चिट्ठी मेरो अगाडी फ्यात्त फ्याँकिदिनु भयो, "रमेशले, यो चिट्ठी खड्ग बहादुर लप्टनको छोरीहरुको हात तलाई दिनु भनेर छोडेको रहेछ।" यति भनेर वहा भित्र लाग्नु भयो। यसो खाममा हेरें, पठाउनेको नाम रमेश राई लेखेको थियो, तर अक्षर् उस्को थिएन। रमेश् मेरो कक्षामा सबै भन्दा मिल्ने साथी थियो र अर्को ताज्जुबको कुरा, उ हिजो मात्र मलाई भेट्न आएको थियो। फेरि उसले चिट्ठी पठाउने नै भए किन ती लप्टन खड्ग बहादुरको छोरीहरु मार्फत् पठाउछ?यो प्रश्नले मेरो दिमाग फनफनी घुमायो।

ती लप्टन् साहेब मेरो बुवाको दौंतरी समुहका थिए र मेर बुवा तिनको घर बेला बेला पस्नु हुन्थ्यो तर उनका छोरीहरुसंग न मेरो न रमेशको कुनै हेलमेल थियो र रमेशले मलाइ चिट्ठी तिनीहरु मार्फत् पठाउने कुनै सम्भावना थिएन। एउटा बिष्मय अनि कुतुहलता बिच् पत्र खोलें, खाम् भित्र अर्को खाम पो निस्कियो र सक्कली पत्र प्रेषकको नाम् त त्यहा पो थियो। मैले अक्षर् पनि चिनि हालें। मेर मुटूको धडकन् तीब्र भयो, उच्चस्वास भयो र गर्मी बढ्यो। हिउंदको त्यो जाडोमा पनि पसिना आउला जस्तो भयो।
क्रमश:



तस्बिरमा जीवन

Deepak Jaditनेपाली ब्लगहरू बामे सर्दैछन। केही ताते ताते गर्दैछन। एक आपसमा बाटो हेर्ने देखाउने गरे पक्कै पनि नेपाली ब्लग समाजलाइ ठुलो सहारा हुनेछ। त्यसैले प्रत्यक हप्ता एकजना नेपाली ब्लगरको आफ्नो ब्लग समबन्धी कुरा राख्ने प्लान बनाएका थियौं। यस्ले प्रस्तुतीमा नयापन ल्याउने मात्र होइन कि ब्लगरले ब्लगलाइ कसरी हेरीराखेका छन, त्यो पनि पाठक सम्म पुर्याउंछ। ब्लग भित्र ब्लगको फर्मयाट कस्तो बनाउने त्यो सप्षट थिएन। यस पटक दिपक जडितलाइ खेस्रा प्रश्न राखेको थिएं। उहांबाट खेस्रै इमेल प्राप्त भयो। यो एक प्रकारको इमेल संबादनै भन्दा हुन्छ। दिपक जी को इमेल संबाद जस्ताको तस्तै।
दिपक जडित
सबभन्दा पहिलोकुरा त म अस्पस्ट भएँ यो फर्म्याट कस्तो रहने हो भनेर -जे होस् शिर्षक तस्विरमा जीवन राख्छु भन्नुभएको छ । त्यो तपाईंले गर्नुहुने हुँदा जसरी गर्नुहोस् तर मेरो फोटो ब्लगकै कुरा गर्दाभने मैले अगस्ट १९ मा पछिल्लो अपडेट गरेको रहेछु । पछिल्ला दिनहरुमा फोटो ब्लग चलाएकै रहेनछु अब अगाडी चलाउने त छु नै त्यसैले यतिखेर म तस्विरमा जीवन भन्दा पनि अक्षरमा जीवन र जगत नियाँलिरहेको छु ।

अब तपाईंको प्रश्न अनुशार जाउँ -मैले २००६ जुलाई ३ देखि मेरो साहित्य संसार र विविध नामको ब्लग शुरु गरेको थिएँ । ब्लगको बारेमा त्यसबेला खासै जानकारी नभएपनि ब्लग भनेको आफ्नो भावनाहरु बाँड्ने वेब डायरी हो जस्तै लागेको हो । हुनत अझै पनि ब्लगको सर्वमान्य परिभाषा लेख्न म सक्दिन होला किनभने यस्लाई कसैले कसरी कसैले कसरी प्रयोग गर्लान तथा हेर्लान । मैले ब्लग शुरु गर्नुभन्दा अगाडी आफ्ना रचनाहरु नेपाली फण्टमा टाईप गरेर कम्प्युटरमै यौटा फोल्डर बनाउंदै राख्ने गर्थें । यो ब्लग चलाउने आ ईडिया फुरेपछि भने ब्लगमै आफ्ना रचनाहरु पनि संकलन हुन सक्ने गतिलो उपाय देखेर सुरु गरेको हुँ । पहिलो पटक खोलेको ब्लग मेरो साहित्य सँसार र विविधलाई म मेरो मूल ब्लग मान्छु भने त्यसपछि मैले ब्लगमै एक अञ्जुली माया भन्ने अनलाईन गिती संग्रह बनाएको छु १११ वटा आफ्ना गीतहरु राखेर । त्यस्तै मेरो कविता यात्रा भन्ने कविता संग्रह पनि बनाएको छु भलै त्यसलाई पुरा गरिसकेको छैन । त्यस्तै खोलेरै मात्रै छोडेको छु अर्को ब्लग गजल गुँड भनेर त्यसमा आफ्ना गजलहरु संकलन गर्ने विचारमा छु । अर्को मैले खिचेका तथा संकलन गरेका तस्विरहरु राख्नलाई तस्विरमा जीवन र जगत भन्ने फोटो ब्लग पनि चलाउँछु ।फोटोग्राफीमा ज्ञान नभएपनि आफुसँग भएका फोटोहरु पनि संकलित रहने ठानेर चलाएको हुँ फोटो ब्लग चैं । ति बाहेक हाम्रो गौरादह भन्ने ब्लग पनि दर्ता गरेर संचालन समेत गरेको थिएँ । गौरादह क्षेत्रकै केहि साथीहरु मिलेर त्यसलाई अघि बढाउने ईच्छा थियो मेरो तर आवश्यक सहयोग कसैबाट नपाएर त्यसलाई बन्द गरिदिएँ ।

आजभोली म के गर्दैछु भन्ने प्रश्नमा पनि मलाई कहिल्यै केहि गर्न सकेको जस्तो या गर्दैछु जस्तो लाग्दैन सँधै केहि गर्न खोजीमात्रै रहेको हुन्छुआजभोली पनि केहि गर्न खोजीरहेको छु । बसाई अलास्काको एँकरेजमा छ अहिले । गत जुलाई ६ देखि म यहाँ छु । अन्यत्र बसेर सुन्दा अलास्का अहो ! त्यो त हिममय ठाउँ - बाह्रै महिना हिउँ नै हिउँले पुरिने । सँधै जाडो मात्र हुने भन्ने जस्तो लाग्थ्यो तर त्यस्तो होईनरहेछ । त्यस्तो ठाउँमा त मान्छेको बस्ती नै छैन अथवा भएपनि मुश्किलले यहाँका आदीवासीहरुको एकाध रहेछ । पहिले कोलोराडोमा म चारवर्ष भन्दा धेरै बसेको हुँदा मलाई यो ठाउँ कोलोराडो भन्दा त्यती फरक लागेन । समुद्र छेउमा भएर होला सिरेटो चल्दा चिसो अलि ज्यादा हुने चैं पक्का हो । के गर्नुहुँदैछ भन्ने प्रश्न दैनिकी चलाउने सवालमा हो भने चैं सामान्य काम गर्छु । स्कुल कलेज गईएन ।म ब्लगमा धेरै जस्तो आफ्ना कथा , कविता , गीत , गजल ईत्यादी मात्र लेख्ने गर्छु । केहि होलान ति बाहेकका कुराहरु लेखेको त्यस्ता मध्येमा म हाँसेको कुरा भनेर मैले ३ भाग लेखिसकेको छु त्यो लेख्दा आनन्द लाग्छ भने पहिले नै श्रद्धाञ्जली सम्झनाको भन्ने टाँसो आफुले लेखे मध्येमा राम्रो लाग्छ ।

नेपाली ब्लगहरु कस्तो हुनुपर्छ ? यस्मा पनि ठ्याक्कै यस्तै हुनुपर्छ भन्ने के छ र ? जस्तो भएपनि हुन्छ तर जे पायो त्यहि पनि हुन्छ भन्ने हैन । ब्लग चलाउन सक्ने ब्याक्ती भनेको जहाँ बसेको होस् नेपाली समाजको यौटा शिक्षित ब्याक्ती नै हुन्छ उसले ब्लग जस्तो स्वरुपको चलाएपनि पहिलो प्राथमिकतामा समाजलाई सहि बाटोमा लैजाने सामाग्रीहरु राख्नुपर्छ । समाचार मुलक ब्लग नै छ भनेपनि यो समाचार साईट हैन ब्लग त हो भन्दै हुँदै नभएका र मनगढन्ते समाचार बनाएर ब्लगमा ठेल्नु हुँदैन । साहित्य कला सम्बन्धि ब्लग छ भने पनि समाजमा सकारात्मक संदेश जाने सामाग्री हुनुपर्यो । यस्तै मान्यता राख्छु म चैं ।

दौंतरीमा पहिले पस्दा कस्ले चलाउंछ केहि नदेखेर के हो यो अत्तो न पत्तो जस्तो लागेको थियो तर दौंतरीको बारेमा पढेपछि थाहा पाएँ । दौंतरीमा तपाईंहरुको प्रयास प्रसंसनिय छ । दौंतरीहरु धेरै धेरै बढ्दै जाउन । दौंतरीलाई शुभकामना !मैले त यति नै भन्न सकें । ब्लगभित्र ब्लग स्तम्भमा अन्य ब्लगरहरु सँग के सोध्ने र कसरी प्रस्तुत गर्ने भन्नेमा तपाईंहरु अझ स्पस्ट हुनुभयो भने सजिलो हुन्छ है ।

दिपकजी का ब्लगहरु:
तस्विरमा जीवन र जगत
एक अञ्जुली माया / गिती संग्रह
गजल गुँड
मेरो कविता यात्रा
मेरो साहित्य सँसार र विविध