December 10, 2008

एक छिन हासौंन - २

IMG_0268[2]आचार्य प्रभा, अमेरीका
श्रीङार भनेको स्त्रीजातिको लागि प्राकृतिक बरदान हो, यस्को सही सदुपयोग भने हुनैपर्छ। तर यस्लाई नचाहिदो उपयोग गरेर अरुलाई आकर्षण गर्छु भन्ने हेतुले मात्र यस्लाई प्रयोग गर्नु हुन्न। यहाँ त्यस्तो चाँही मलाई लागेन। भनौ त ४० कटेकाहरु को आशय चाँही म अझै पनि सक्षम छु भन्न खोजेको भान भयो मलाई।यो मेरो मात्र सोच पनि हुन सक्छ।अनी अर्को हामीलाई अलिक नपच्ने र हास उठ्ने कुरा चाँही के लाग्यो भने यहाँका महिलाहरुले ४० कटेपछी नै टीन एजको जस्तो हाउभाव गरेको जस्तो लाग्यो। जस्तै कसैको जन्म दिन छ भने रेस्टुराँ जाने, गिफ्ट दिने, त्यो गिफ्ट पाएर टिन एजकाले झै उत्साहित हुने।खुशी हुने के- के नै पाए जस्तो!। साथी-साथी भेट्ने मनाउ हामी त स्कुले जीवनमा मात्र त्यसो गर्थ्यौ वा गर्छौ। अनी रेस्टुराँमा पनि आईमाई मान्छे नै खाना खाने बडी आउछन। हाम्रो भन्दा ठीक उल्टो। हाम्रो रेस्टुराँ मा म बिचार गर्छु बिहान बिहानै लन्च खान आईमाई मान्छेको ओइरो लाग्छ । मलाइ कता कता हाँस पनि उठ्छ अनी म मन मनै ''हेर छाडा आइमाइहरु लोग्ने कता छोरा छोरी कता आफुहरु भने साथी बटुल्यो रेस्टुराँ धायो ''भन्दै आँफै हाँस्छु। के यो हाम्रो रीती थिती अनुसार हास्यस्पद नै छैन त ? हामीलाई भने रेस्टुराँ जान साइत कुर्न पर्छ त्यो पनि औशी,पूर्णेमा मन लागेको खाने कुरा खान। लन्च वा डिनर खान त परै जावोस। हुन त यो सँस्कार अनुसारको हाम्रो देशको परिस्थिती पनि त छैन। एक्जनाको कमाइले त्यो सबै परिपूर्ति हुने।

क्रमश:



कथा - पहिचान

सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )
त्यो दिन हरीतालीका तिजको दिन थियो । म आफुलाई फुर्सतको समय परिक्षा तयारीको निम्ति सदुपयोग गर्न हल्का भएपनि मौका मिलेको थियो । जागिर गर्नुपनि वाध्यता नै भर्खर गाउबाट शहर छिरेको म एउटा साधरण परिवारको व्याक्तिलाइ र कामको पनि अनुभव हुने भएकोले मलाइ जागिर प्रतिपनि मोह बढेको थियो ।
 
नेपाल विभिन्न जाती धर्म भाषा कला सस्कृतिले भरीपुर्ण धनी देश हो । नेपालमा बसन्त ऋतुको आगमन सँगै विभिन्न चाडपर्वले आफनो स्थान जगाउदै आएका हुन्छन । हामी आ-आफ्नो रिति संस्कृतिलाइ जर्गेना गर्दै आफ्नो क्षमताले भ्याएसम्म सबै चाडपर्व खुशीसाथ मनाएका नै हुन्छौ । यस्तै एक पछि अर्को गर्दै चाडपर्वहरु आउने क्रममा तिज पनि एक हिन्दु महिलाहरुको लागी विशेष पर्वको रुपमा मनाइन्छ । देशको कुनैपनि कुना होस या देश छोडी प्रदेशीयका महिला दिदिबहिनीहरुले हरीतालीका तिजलाइ आफ्नो क्षमता र समयले भ्याएसम्म मनाउदै आएका छन् । यो देख्दा लाग्छ आजको यूगमा आएर पनि हाम्रा चेलीहरुले आफ्नो कला सँस्कृतिलाइ अझै सम्मपनि उचीत सम्मान सहित ग्रहण गरीरहेका छन् ।

हुन सक्छ कतिलाइ आ-आफ्नो वाध्यताले गर्दा कति चाडपर्वहरुले खिन्नपनि बनाएको हुन्छ, इच्छा आकाक्षा हुदा हुदैपनि बिवस भइ आखा चिम्लिएर भएपनि त्यो क्षण गुर्जानै पर्छ । यसको जलन्त उदाहरण हो तिजको दिन एभरेष्ट क्यासीनोमा भइ गरेका घटनाले र्छलङ्ग बनाउछ भने सोही दिन चितवनमा घटेको बलात्कारी घटनाबाट पनि कयौ नरपिचास पुरुषले नारीलाइ मनोरन्जनको रुपमा मात्र प्रयोगमा ल्याएको अरु यस्ता धेरै घटनाहरुपनि छन् । नारी जन्मजात कोमल स्वभावका हून्छन त्यति माथीपनि तिजकै दिनमा आफनो लागी नभइ आफ्नो श्रीमानको लागी अथवा अविबाहीत नारीले योग्य वर मिल्ला कि भन्ने पौराणिक तथ्यलाइ सत्यमानी निरआहार भइ वर्त बसेका हुन्छन । झन त्यस्तो बेलामा उनीहरुलाइ नै क्षणिक मनोराजनको रुपमा लिन खोज्नु यो सरासर अपराध मानीन्छ भने हाम्रो यो हिन्दु समाजमा सहन योग्य हुदैन ।यसले यो देखाउछ की नेपालमा नारी प्रतिको कानुन आजको युग सम्मपनि मुक रहेछ भन्ने कुरा प्रष्ट पार्छ ।

तिजको दिन भएकाले मसँगै पढने अविबाहीत नारी साथीहरुपनि परिक्षालाई सहज बनाउदै भएपनि वर्त बसेका थिए । गाउको घरमा दिदि आउनु भएको थियो होला गाउको रमझम सम्झी म मेरो भाडाको कोठाको बार्दलीमा आइ एक तमासले म मन अमिलो पार्दै टोलाइरहेको थिए एक्कासी मेरा आखा पर अगाडी बढीरहेकी एक अधवैश्य नारीमा पर्‍यो । नारी जिन्स पाइन्ट र कालो टि-शर्ट, हिल जुत्ता, टाउकोमा कालो चस्मा कपाल हल्का रङगाएका हातमा मोबाइलबाट कोसैसँग कुरा गर्दै र एक हातमा अन्दाजी ५/६ बर्षकी छोरी डोराउदै मेरै घर तिर लम्कीरहनु भएको थियो । हेर्दा हेर्दै उहा सरासर मेरै घरको तल्लो फ्ल्याटमा छिर्नु भयो ।

तल्तो फ्ल्याटको कुरा गर्नु पर्दा त्यहा एक दम्पत्ति बस्दछन् । उनीहरुको एक ५/६ बर्षिया छोरा छ । श्रीमान कलेज पढाउनु हून्छ भने श्रीमति प्राइबेट संस्थामा कार्यरत हुनुहुन्छ र छोरा नजिकैको बोडिङ्गमा एल केजीमा पढदै छ । श्रीमति र छोरा दुइदिन पहिला नै माइत गइसक्नु भएको छ । मैले त्यति वास्था नराखी आफनो अध्यायनको कार्य सरुवात गरे । लगभग २० मिनेटपछि को कुरा हो । उहि नानी फुरुर्क हुदै हातमा चिजबल देखाउदै मेरो कोठामा प्रवेश गरीन र भन्दै थिइन अंकल मपनि ए बि सि डी पढछु ल । बाल बच्चा त कसलाइ पो मन र्पदैन होला र मैले उनीको बोलीलाइ सहर्ष स्वकारीदिए र म सँगै लेख्न पढन थाली हसिली सुकीलो मुहार त्यसमा पनि हल्का तोतोबोली मिसीदा ज्यादै माया लाग्दी थिइन ति बालिका ।

मैले उनीलाइ केहि प्रश्न गरे उनी उत्तर दिदै गइन, नाम स्कुल उनीको रोजाइ देखि लिएर उनीको परिवारका सदस्य सबैको बारेमा सोधेँ नानीको बाबा अफगानिस्थानमा कार्यरत हुनुहुदोरहेछ अफगानिस्थान इराक भनेको सुन्ने वित्तिकै हामी नेपालीलाइ मनमा हल्का भएपनि डरले डेरा जमाउछ । लगभग आधिघण्टा जति भएको थियो होला अचानक मेरो कोठामा स्टाइपलरको पिनले नानीको पैतलाका घोपिन पुगेछ र रुन थाली मलाइ डर महसुस भयो उनी भन्दैथिइ मम्मी सम्म जान्छु अनी मैले बोकेर उनीहरु सामु पुराइदिए र सबै घटना जस्ताको तस्तै भनी दिए। त्यति ठुलो घटना नभएको हुनाले त्यति मनन गरेरन म फर्किए आफनै कोठामा । जब म नानीलाइ बोकेर उनीहरुको कोठामा प्रवेश गरेको थिए त्यस बेलाको अवश्थाले निकै चाखलाग्दो सनसनीपुर्ण थियो। दुवैको सामु एक एक गिलासमा हुस्की दुइ तिन प्याक टेबुलमा लडेका बोतल । पेल्टमा नाना थरीका सलाद मासु आदि एक अर्काले गला जोडाउदै खादै थिए ।रङ्गी चङ्गी कपाल यसै पसारीएका थिए गालामा चुम्वनले पुछिएका पाउडरका डोराहरु देखिन्थे लगाइएका कपडापनि आफनो स्थान छोडेर अली खस्कीएका जस्तो देखिन्थ्यो र मेरो ढोकाको ढकढकाइले दुइ त्रसित भनु या सम्मालीन खोजेका थिए तर अपसोच नशामा डुबेकाले त्यो भएन ।
यो अवस्थाले मलाइ सोच्नै पर्ने बनायो फेरी एक पल्ट लावरिस बन्यो मेरो यो मन अनी आफुले आफैलाइ सोध्न थालेँ । यसमा कस्को गल्ती छ यि पुरुष एक दूइ दिन श्रीमति घरमा नहुदै मा परस्त्री सँग सम्बन्ध राखिहाल्नु पर्छ तिज नारीहरुको मात्रै हो र नारीहरुले गरेको अघोर तपश्यामा पुरुषलेपनि साथ दिनु पर्छ नी होइन र यिनी त झन शिक्षा बाढने गुरु थिए गुरु भइ कन पनि यस्तो व्यवाहार के यहि हो त यिनीको गूरुशिक्षा पुरुषहरु आफनो श्रीमति अरु कसैसँग बोले त आखा लागाउछन भने भने आफु चाहि किन अरुको श्रीमति सँग हुक्की तालमा रङ्गमाच बनाउने त यो कस्तो चरित्र !।

यिनी महिला महिलाको परिभाषा त मैले माथीका पक्तिहरुमा नै दिइ सकेको छु। के यि महिला त्यसमा मेल खाने खालकी छिन त, लाखौ महिलाहरु निराहार भइ आफनो ज्यान नै जिवन र मृत्यूको धारमा राखेर श्रीमानको आयुको लागी तपस्या गरेका दिनमा यिनीलाइ चाहि त्यहि दिन जुर्यो हुस्की कुखुराको सपेटा ताल्न र आफनो श्रीमान नभएको बेला परपुरुषसँग व्याकुल यौन प्यास मेटाउन । परदेशीयको श्रीमानले पनि बम गोला बारुद सँगै आत्मासाथ गरेरै भएपनि आफनो परीवारकॊ लागी केहि त सोचेकै होलान । यीनको पनि माइतीहरु बाटो कुरेका थिए होलान तिज तिहारमा चेली बेटीको पाइला नपर्दा माइतीघर नै सून्य हुन्छ सानी नानी नया पोशाकमा सजिएर मामलीको आगनीमा उर्फिन्थीन् होली बिबाह पुर्वका साथीहरुले बेदना र खुशी पोख्ने साथीको पर्खाइमा होलान । यि सबै सपना बनाएकी दिएकी छिन यि नारीले ।

मलाइ लाग्यो गल्ती त त्यसले गर्यो जसले कसैको इच्छालाइ नबुझी पैसाको लोभमा सबै सन्तान छोडेर पराइ भुमिमा पसीना बगाइरहेको छ । जब आफ्नो भन्नु नै कोहि नभएपछि पैसाको के अर्थ हुन्छ र । कसैको छोरीलाइ दुइ पैसाको सिन्दुरले सजाइदिएर श्रीमति भन्न मात्र त्यस्तो नामर्दाले किन कसैको चेलीको स्वतन्त्रमा भाजो हाल्नु । श्रीमति बनाइ सकेपछि उसको हरेक इच्छाहरु पुरा गर्न सक्नुपर्छ । आधुनिक जमनाका नारीहरुलाइ र्पैसाले मात्र खुशीदिन सक्छु भन्ने कुरा कथीत मात्र हुन्छ । के आफ्नै देशमा बसेका दाजुभाइले जहान परिवारलाइ पलेका छैन र?, बिदेशमा दिनरात एक तमासले पसिना बगाएर मातृभुमि फर्किदा एक दिन त समाजलेपनि विचरा धन्न फर्किएछ भनेर खुशि मनाउलान त्यैपनि तिम्रो पसिनाको केहि हिस्सा पायो भनी यानकी उसले एक खिल्ली चुरोट एक गिलास पदार्थ वा वालबच्चाले एक मिठाइ, नत्र त्यहिपनि तिमीलाइ बिचरा भन्ने कोहि हुदैन किनकी तिमीले हरेकको इच्छा आकांक्षालाइ कुल्चेर आफु जन्मेको भुमिलाइ दुइ पैसाको लोभमा लात हानेर परदेशीएका छौ । तिमीले कहिलै महसुस गर्‍यौ तिम्रो अनुस्पस्थितिमा कयौ दिन यि वनका न्याउनी चरी रोए होलान, डाडा पाखा छहराले तिमीलाइ कत्ति बोलाइरहे होलान, बर्खा लाग्दा मेलापातमा कति साथीहरुले तिम्रो सम्झनामा मन अमिलो बनाउदै कार्य गरे होलान। आफनो कोखको घाउ पराइ हुदा कुन आमालाइ सन्तोष हुन्छ वर्षै्रपिच्छे लाग्ने मेलामा तिम्रो सुरीलो स्वरमा जुन्गीन्थे होलान ति भाका यसपालीको मेलामा पक्कै गुन्जएनन् । तिम्रो अनुपस्थितिमा कति खाल्लो हुदो हो चाडपर्व पनि । केहि गर्लाकी भनेर दश दश महिनासम्म गर्वमा बोकेर यो धर्तिमा जन्माइन यहि धर्तीमा जन्मी यहा कै माटो सँगै मेलमिलापमा हुर्कीयौ बढ्यौ, दुइ चार अक्षर के चिन्न सकेका थियौ हात लाग्ने भएपछि चटक्कै माया मारेर यहि धर्ती बोध हुने बेलामा आफनो बल अनी जवानी पराइलाइ दाइजो दिएर तिमी रित्तो फर्कि आउछौ धर्ति माताले तिमीलाइ जन्माएर के पाइन त?। बुढा मातापिताले तिम्रो पसिनाबाट कमाएका केहि पैसा देखेपनि सन्तोष भने पक्कै लिन सकेका छैनन् तिमीले जिवनभर साथ दिउला जुनी जुनी भर जुनतारा भइ सँगै जिवन बिताउला भनी यग्ज्ञाको धुवा लगाएर सिउदोकमा सौभाग्य छर्कि दिएकी तिम्रो जिन्दगी तिम्रो अभावमा वाध्य भएर परपुरुषसँग सम्वन्ध राख्नपनि पछि परेकी छैनन् । अव भन तिमीले के पायौ र के दिन सक्छौ तिमीसँग के नै बाकी छ र दिनको लागी पनि ।

हुन त कुनैपनि व्याक्ति आफनो घर परिवार समाज आफनो जन्मभुमि त्यागेर अन्य देशमा रहरले जान चाहादैन। विशेष गरी खाडी मुलुक सबैलाइ आ आफनो वाध्यताले र सानो सपना बुनेर परदेशीएका हुन्छन। नजिकको तिर्थ हेला भने झै जन्मभुमिमा हुदा त्यति ख्याल नर्गनेहरु आफुले वाध्य भएर परदेशीनु पर्दा बल्ल जन्मभुमिको महत्वको बुझेका हुन्छन । प्रदेशमा जतिपनि गगनचुमी भवन प्राकृतिकलाइ पछि पार्नभनी बनाइएका जतिपनि बनाओटि साधनहरु भन्दा आफनै देशको गगनचुमी ढपक्क हिउले ढाकेका सेता हिमालहरु काखैमा राताम्मै फुलेका लाली गुरुसले भरिपुर्ण पाखा पखेराहरु नागबेली झै बगेका हिमश्रृखला खोलानालाहरु स्वर्गभन्दापनि प्यारो लाग्छ अर्ध नग्न भइ नाना धरीले सिङ्गारीएका चकलेटि पोशाक भन्दा गुन्यूचोली ले सजिएकी आफनै चेलीबेटि सँग आत्मासाथ हुन्छ। पियानो र हारमोनियमजस्ता आधुनीक बाजा भन्दा रोधीका बजेका मादल वनपाखामा गुन्जीने वासुरीको धु्न नै ह्दयस्पर्सी हुन्छन । पुर्खाले जोगाइ राखेको एक जन्मजात स्वतन्त्र मुलक कला सँस्कृतिले भरिपुर्णा प्रकृतिक छटाहरुले गर्दा नै आफु नेपाली भएकोमा गर्व गर्ने ठाउ बनेको छ । अरुको खटनमा बसेर काम गर्नुपर्दा कलिकति फुस्रत भए कि त घरपरिवार गाउ समाज प्यारो मातृभुमिसँग गुनासो पोखेर अनायसै आशुका ढिका खसाली र पछिको पैसाले किन्ने उज्वल भविष्यको कल्पनामा डुव्दा डुब्दै फेरी कुनै सन्देशले कामप्रति जागारुक बनाइदिन्छ । मनको लड्डु ध्यूसँगै खादै निर्जल मरुभुमिमा अफिसको कुर्चीमा बसेर कम्पुटर चलाउने होस या सडकमा गैटिबेल्चा खेलाउने साथी होस या कुनै चौकिदारी गर्ने चौकीदार किन नहोस सबै परदेशीको व्याथा कथा एउटै हुन्छ ।

समय निरन्तर बगीरहन्छ आफनो पराइ नभनी आफै गतिमा एक तमासले अगी बढिरहेको हुन्छ । हामी मानव भइकन समयलाइ आफनो नियन्त्रणमा लिइ सँगै पाइला बढाउन सकियो भने अवश्य एक दिन लक्ष्यमा पुग्न सकिन्छ । परदेशियका कर्मठ हातहरु बिदेश मरुभुमिमा जोत्नु भन्दा आफनै मातृभुमिमा कुटो कोदालोसँगै लडेर आफनो पसिनाले मातृभुमिलाइ भिजाएर सुन फलाउन सकिन्छ सुन्दर हरावरा प्रकृतिक छटासँगै आत्मासाथ गरेरपनि आफनो नाम उच्च राख्न सकिन्छ नेपाली मातृभुमिमा जन्मेर पनि कतिले आफनो नाम सर्वच्वमा लेखाउन सफल भएका नै छन् । त्यसैले रुपयालाइ सर्वस्व ठानेर परदेशीने मित्रहरु आफनो भविष्यलाइ पनि सोच्नुस परदेशी भुमिमा सधै दाशी भएतापनि अधिपत्य भने जमाउन सकिदैन । अधिपत्य त्यहा हुन्छ जहा तपाइको पहिचान हुन्छ । विदेशमा पनि पैसाको वोट हुदैन पसिना त वगाउनैपर्छ ति कर्मठ हातहरु आफनै जन्मभुमिको माटो मिलाउनुस । कसैको करकापमा दबेर काम गर्नु भन्दा छाति फुलाएर आफै देशको चटटान फोनुस्र आफनै प्यारी अनी आफनै कला सँस्कृति आफन्त गाउ समाज वन पाखासँगै मितेरी लगाएर जिउन सिक्नुस यहि नै स्वर्गको अनुभुति मिल्छ ।

सिन्दुर पोते किन्नमा सस्तो छ तर त्यसको मह्त्वमा धेरै अन्तर छ । नारीहरु त्यहि एक चिम्टी सिन्दुरले सिउदो रङ्गगाउन नपाएर बुढि कन्या नै बसेका छन् । कयौ नारीले सिन्दुरको रक्षा गर्न खोज्दा आफनो ज्यान नै गुमाएका छन । त्यहि सिन्दुर र पोते बिना पतिव्रत नारीहरु जिन्दगीभर उजाडिनपनि वाध्य भएका छन । भने आफनो सौभाग्यमा सजिएर बस्ता तिनै नारी कुनै अप्सरा भन्दा कमीको महसुस हुदैन पुरुषको लागी । र पनि कत्ति नालायक पुरुषले त्यहि सिन्दुर र पोतेलाइ हतियार बनाएर श्वार्थपनि लुटन पछि परेका छैनन् । सँसारलाइ निरन्तरता दिनका लागी सन्तति पैदा गर्ने भाडो क्षणिक मनोराजन र दुइ चार पचासको लेाभमा दिन डाहाडै लम्पसारीने जवानीको फुलहरु एक चोटि पछाडी र्फकेर हेर आफनो जवानीलाइ मात्र सम्झेर यहि जवानीले सधै लम्पसार पारीरहन साथ देला त क्षणिक मनोराजनकोलागी दुरुपयोग गर्ने वैश्य नारीहरुले गर्दा नै कर्मठ नारीहरुको समेत आवाज पूरुष प्रदान देशले दवाएर राखेको छ नरपिचास पुरुषहरु यस्तै नारीको कमजोरीको फाइदा उठाइ दिन डाहाडै नाङगै नचाउन सफल भएका छन् ।

त्यसैले मिठो फलको आशा गर्नेले कर्म पनि त्यत्तिकै गर्नुपर्छ । दुनिया स्वार्थी छ कोहि कसैको लागी केहि गर्ने छैनन र गरेर साध्यपनि हुदैन आफनो स्थान आफैले बनाउनुपर्छ । अरुको मुख ताक्ने बानीले गर्दा हामी हाम्रो समाज हाम्रो देश धेरैपछाडी धकेलीसकेको छ आकाशमा चन्द्र सुर्य पहुचमा नेपाली रगतले भ्याएसम्म सबैले आ आफनो स्थानबाट सक्दो सहयोग र साहेता गरियो भने कुनैपनि नेपाली आमाको सन्ततीले पराइ भुमिमा पसिना र रगत बगाउनु पर्दैन नेपाली चेलिले बन्द कोठीमा या कुनैपनि वाश्यालयमा नग्न नाच देखाइ जिवकोपार्जन गरी जिवन बिताउन वाध्य हुने छैनन र नेपालले सगरमाथा झै गर्वले उठेको शिर झुकाउनु पर्ने अवश्था आउदैन कि जय नेपाल जय भुमि प्यारो नेपाल ।

मेरो मोबाइलको घण्टीले मलाइ झस्कायो नम्बर हेरेको उही दाजु भन्दै हुनुहुन्थ्यो ‘सुमन भाइ म बाइक र्दुघटनामा परेँ’, 'हतार हतार वि एण्ड वि हस्पीटल पुगेँ दुइ जनाको अवस्था निकै चिन्ताजनक देखिए भने सानी नानीले सँसार छोडी सकेकी रहेछिन । त्यही रमीता हेर्न सबैको घुइचो देखिन्थ्यो ।


December 9, 2008

मेरा असली कमरेड

कुरो राजनितीको,बिषय समाजीक परिस्थीतीको। बुझी नबुझी प्रजातन्त्र भनेर लागियो। त्यही भूमरीमा कम्युनिष्ट प्रजातन्त्रको अर्को ध्रुबमा छ भनेर चिनाइए। तर खोइ पुरानो कम्युनिष्टको त के कुरो जंगलको खाटी कम्नियुष्ट पनि बहुदल तिर तेर्सियो। अब क्यारेमबोर्डका गोटीको निसाना दुइ ध्रुब रहेनन, सहस्र गोटी छरपस्ट जुन प्वाल नजीक उतै तेसारीने भए।

केही पहिले एउटा कमरेडको कथा पढेको थिए। सारै घतपरेको थियो। लेखकका साथीका जस्तै मेरा साथीका बुवा पनि नेपालकै नं १ बामपन्थी लेखक हुन। भनौं न कुनै पार्टी तिर नलागेका असली कमरेड । देशै हल्लाएर लेख्ने। तिनैको गाला तासिएको अनुहार सम्झेर कथा सकाएको थिए। केही समय पछि अर्का परिचित मित्रलाइ कमरेडको बखान दिन मन लाग्यो। हुन पनि नेपालमा यस्तै यस्तै कमरेड छन बजारभरी। मरिगए भेटीएन त्यो कथा। कथा यसरी भिजेको थियो मनमा, आफै पुन लेखौं कि जस्तो लागेको थियो। लेख्ने लेखक साझाको चौतारीमा आउने गालब हुन कि जस्तो लागेको थियो, तर सोध्दा हैन रहेछन। कस्तो रसिलो लेख जहिले सम्झदा पनि मानसपटलमा ताजै रहने। न त मैले पुनर लेखन नै गर्न सकें नत गुगलमाताले नै साथ दिइन। ति लेख र त्यो कथा धमिलो बनि हरायो आकाशमा। आज “दौतरी Followers” क्लिक गरेको त, "लौ कथाको रसवरी त त्यही पो रहेछ"। अब मेरो खस्रा शब्दको गाठो पारेर त्यही रसिलो रसबरीको पोको खोल्दै छु। उनै पुरान मित्र गोतामेको बाम नेता...

"पुराना वाम नेताको एक दिन"

'पुराना वाम नेता' बिहान साढे आठ बजे उठ्छन् र चूरोट च्यापेर शौचालयतिरको यात्रामा निस्कन्छन्। एकछिनपछि प्रतिकृयावादीहरुलाई बगाएर (फ्लश गरेर) आऊँछन्, दाँत मल्छन्, मुख धुन्छन् र अचानक चाल पाऊँछन् धङ्धङे छ र टाउको दुखिरहेछ । बगैँचाको कुर्सीमा बसेर कालो कफीको चुस्की लिँदै अखवारहरु पढ्छन। सबैको पहिलो पाना ध्यान दिएर हेर्छन्, केहि नपाएर रिसाएजस्तो देखिन्छन् र मुर्मुरिन्छन् । अनि फेरि भित्री पानाहरु हेर्न थाल्छन्। एउटा पत्रिकाको एउटा कुनामा देख्छन् "--------'पुराना वाम नेता' श्री रुसभक्त-चीनमित्र दिल्लीमा उपचार गराई फर्कनुभएको छ।----" भन्ने चार लाइनको समाचार छ। फर्केको एक हप्ता भइसक्यो, बल्ल पत्रिकाले लेख्यो, फेरि त्यो पनि भित्री पानामा यति थोरै छुस्स! कालो निलो हुन्छन् 'पुराना वाम नेता', आफूलाई आजभोलिका "गुलेली बोकेर चरा मार्न हिँड्ने जस्ता" (उहाँलेनै आविष्कार गर्नु भएको विशेषण) पत्रकारले भुत्ला समान पनि नगनेको देखेर ।

पुराना वाम नेता पत्रिकाहरु एकातिर हुर्र्याऊँछन् र एकछिन त्यत्तिकै टोलाऊँछन्। 'श्रीमती पुराना वाम नेता' मन्दिरबाट आईपुग्छिन्, श्रीमानलाई टिका लगाईदिन्छिन्,टाउकोमा फूल राखिदिन्छन्।

एघारबजे 'पुराना वाम नेता' "भूजा" ज्यूनार गर्छन्; कान्छाले किनेर ल्याएको, बाहुनी बज्यैले पकाएको र बुहारीले पस्केको भूजा। उनी अघाऊँछन्, डकार्छन्, चूठ्छन् र सुत्न जान्छन्। 'श्रीमती पुराना वाम नेता' उनको पुरासंग खान थाल्छिन्। सुत्नै आँटेका थिए 'पुराना वाम नेता', फोन आऊँछ एक जना साथीको। उनकी कान्छी छोरी माग्दैछ साथीले आफ्नो भाञ्जाको लागि। "छोरी नआइ के कुरा गर्नु र खै! आजभोलिका पढेलेखेका छोरीहरु-----" आदि अण्टसण्ट बोलेर अल्मल्याऊँछन् साथीलाई र फोन राखिदिन्छन्।

जबकि केहि दिन अघिमात्रै छोरीले चीनबाट फोन गरेकी थिई उतै संगै पढ्ने एउटा नेपाली केटासंग बिहे गरें र दुबै जागिर खाँदैछौँ कुनै बिदेशी कम्पनीमा भनेर। जर्मनीमा पढ्दै गरेकी जेठी छोरी कुइरेसंग बिहे गरेर अमेरिका पसेकी उताको उतै छे। तै यल्ले त नेपालीसंगै गरिछे, ठिकै भो। बरु बेलाबेलामा आफ्नी बूढीलाई सम्झाउन भने उनलाई साह्रै गाह्रो हुन्छ। जोरिपारीको अगाडि टन्न दाइजो दिएर छोरीहरुको बिहे गर्दिन नपाएको पीरले सुकेकी छिन् "श्रीमती पुराना वाम नेता" ।

कल्चर सीटमा पढाए उनले छोरीहरुलाई र कान्छो छोरोलाई भने आफ्नै खर्च भरेर अमेरिका पढ्न पठाएका हुन तर छोराले पढ्छ कि काम गर्छ उनलाई थाहा छैन। जेठो छोरो एउटा ठूलै एनजीओ चलाऊँछ र पजेरो चढेर हिँड्छ। बच्चैदेखिको एक नम्बरको स्वाँठले यति गर्नसक्यो, दंग छन् उनि।

नेपालमा क्रान्ति भएको र आफूलाई गद्दार भनेर चौबाटोमा झुण्डाएको सपना देखेपछि आत्तिएर ब्युँझन्छन् "पुराना वाम नेता" । जीऊ पसिना-पसिना भएको रहेछ। आधा घण्टा लगाएर नुहाऊँछन् गीतविनाको धून सुसेल्दै र सपना बिर्सन्छन्।

साढे तीन बज्छ। पेण्ट, शर्ट, स्पोर्टस् जुत्ता र कालो चश्माले सजिएर उनी निस्कन्छन्। घुम्दै-घुम्दै नया सडक पुग्छन्,एक ठाऊँमा पान खान्छन् र विस्तारै रत्नपार्कतिर लाग्छन् 'पुराना वाम नेता'। सोह्रहाते गणेशको मन्दिरनेर एउटा अर्को पुरानो वाम नेता भेट हुन्छ, पहिले उनको विरोधी खेमाको, अहिले उनकै खेमाको (याने 'पुराना' खेमाको!) दुई जनाको गफ शुरु हुन्छ । दलको स्थापनादेखि आजसम्मको र मार्क्सदेखि किम जोङ इल सम्मको। कहिले चश्मा मिलाऊँदै र कहिले एक हात पेण्टको खल्तीमा राखेर, दाहिने हातको चोर औँलो ठड्याई, उभिई उभिइ पालै पालो ठूलो ठूलो स्वरमा गफ गरेको देखेर टाढाबाट देख्ने कसैले ठान्दो हो, घोर घमासान वाक्युध्द भइरहेछ।
एकछिन पछि दुबै थाक्छन् र भोटाहिटीभित्रको एउटा नेवारी रेष्टूरां पुग्छन्। 'पुराना वाम नेता' र 'साथी पुराना वाम नेता' आजभोलि बियर मात्र पिऊँछन्। बियर र छोइला-सेकुवा आदिका साथ गाली रामायण शुरु हुन्छ।

"फलानो, फलानो, फलानो जाँठाहरु सब दरबारका हुन्!" जबकि दुबैलाई भित्री मनमा विश्वाश छ, आऊँदो राष्ट्रिय सभामा आफू दरबारबाटै छानिने। "फलानोले फलानो किताब चोरेर लेखेको हो, त्यल्ले लेख्नै जान्दैन।" जबकि किताब प्रकाशन गर्न त उनीहरुलाई पनि मन छ (काश लेख्न सकेको भए!) यसैगरी रातको एघार बज्छ, 'पुराना वाम नेता'को छोरो आइपुग्छ गाडी लिएर। 'साथी पुराना वाम नेता'लाई डिल्लीबजार छोडेर गाडी टंगालतिर लाग्छ।

घर पुगेर सुत्दा 'पुराना वाम नेता'को मन खुशीले फूलिरहेको हुन्छ। आफ्नो जीवनको बारेमा सोच्छन् उनी। धन-सम्पत्ति जोडिएछ र छोराछोरीलाई मान्छे बनाइएछ; जीवन खेर गएनछ। आफू युवा हुँदा गरेको प्रण, विद्यार्थी जीवनको जोश र आकांक्षा आदि पनि उनको दिमागमा अष्पष्ट रुपले आउन थाल्छन्। तर त्यतिखेरसम्म 'पुराना वाम नेता' निदाइसक्छन्।

(सक्कली कथा http://gautambasanta.blogspot.com/ मा छ)



बदमाशलाइ सजाय

कुरो ठिकै हो, बदमाशले सजाय नपाए के पुरस्कार पाउने त? । कति आनन्द आउछ हैन त बदमाशलाइ हतकडी लगाएर न्यायको कठघरामा उभिएको हेर्न? अमेरीकाको इलोनोइ(Illinois ) गणराज्यका गभर्नर Rod Blagojevich अब ३० बर्ष जती जेलमा बास बस्ने पक्का छ। उनले राज्यको सहयोगबाट चल्ने पत्रिकालाइ धम्काएर आफ्नो बिरोधमा लेख्ने पत्रकारलाइ ननिकाले रकम नै निकासा नदिने धम्की भरिएको टेप संघिय पुलिसले अदालत समक्ष प्रस्तुत गर्‍यो। आफ्नी श्रीमतीलाइ उच्च तहको जागिर दिलाउन खोजेको देखी राष्ट्रपतीका लागी हालै मात्र बिजय भएका बराक ओबामाको सिनेट पद ब्यक्तीगत फाइदाको लागी लिलाम बढाबढ गरेको उनी माथी थप आरोप छन। बिकसित देशमा घुस्यालाइ यसरी घोक्रेठ्याक लगाएर जेल कोचेका प्रस्तश्त उधारण छन।




तर यस्तो आनन्द लाग्ने समाचार आज सम्म नेपालमा देखेको छैन। साधरण चोर्ने,फोड्ने,पाकेट मार्ने आदीलाइ दोषि ठराएर जेल चलान भए होलान तर देशको सरकारी पदमा बसेर शक्तीको दुरुपयोग गर्दै अकुत सम्पती कुम्लाउनेलाइ औलो ठडाउने बाहेक केही कारबाही भएको छैन। के यस्ता घुस्याहालाइ कारबाही गर्ने देश नै धनी हुनुपर्दछ त? कि नेपालमा घुस्याहा नै छैनन्? किन नहुनु नि, नेपालमा त जती पद ठुलो भयो उती निसफिक्री घुस खान पाइन्छ। यस्तो हालत देख्दा त नेपाल तेस्रो होइन चौथौ मुलुक जस्तो लाग्दछ जहां अनिमियता देखी कानुनी संचरना बेखबर छ। अथवा पत्रिकामा खबर छापिएको भरमा वाध्य भएर केही गरे जस्तो गर्दछ जुन खबर जस्तै भोलीपल्ट अस्ताउन हुनपुग्दछ।

साच्चै भन्नु पर्दा घुस्याहालाइ कारबाही गर्न पैसा होइन एउटा लठ्ठी काफी छ। सकिन्छ भने घुस्याहालाइ जेलमै कौचौं होइन भने लठ्ठले सोरेर भए पनि कारबाही त गरौं। यांहा त घुस्या हतकडी लगाएर जेलदरबार होइन सलामी खाएर सिहंदरबार पुग्दछन। अहिले हेरौं न जेपी गुप्तालाइ? जेलमा थलापरी रामायण पढ्ने बेलामा नया नेपाल बनाउन संबिधान लेख्दैछन। के लेख्लान यस्ताले संबिधान? दुधको सांची बिरालो। यस्ता डाकाले लेखेको संबिधानले के नया नेपाल बन्ला? संबिधान सभाको बठैक दिन दिनै बस्दैछ। सभासदहरु जसरी भए पनि दैनीक पेश्की असुलीरहेका छन। संबिधान त बन्ला। संबिधानको किताबले देश त पक्कै चलाउदैन। आखिर देशमा नियम कै खिल्ली उठाए जस्तै स्वर्गको जस्तै संबिधान बनाए पनि जनतालाइ के फरक पर्दछ र? जब सम्म बदमासहरु खुलेआम घुमफिर गर्दछन देशले कहिले सहि बाटो समात्दैन। हामीलाइ बिकास होइन दु:ख गरेर कमाएको निबेकले निर्धक्कसंग हातमुख जोर्न पाए पुग्दछ।



एक छिन हासौंन

आचार्य प्रभा, अमेरीका

IMG_0268[2]हाँस्नै त हो हाँस्नलाई कुनै बिषयबस्तु त चाहिदैन वा रोजिरहनु पर्दैन। जुन जुन कुराले घत् पुर्याएर हँसाउछ त्यही कुराहरु म यहाँ  प्रस्तुत गर्ने प्रयास गर्छु । अर्थात जुन कुराहरुले मलाई हाँस्न वाध्य तुल्याएको थियो वा अहिले पनि हाँसी रहेकी छु। खास म हाँस्यब्यङ्यकार पनि त होइन।मैले यो बिधामा कलम चलाएकी पनि छैन।यो त केवल मलाई घत् पुगेर हाँस उठेको कुरा मात्र यहाँहरुलाई बाँड्न खोजिरहेकी छु ।

अब मेरो आफ्नै वास्ताविक्ता सुन्नु होस् न !जब म नेपालमा थिए एउटी गिनिचुनेको गीतकार अर्थात लेखिका थिए भनु । बरिष्ठ् नभए पनि महिला ''राइटर'' भनौ अङ्रेजिको 'डब्ल्यु' अक्षरबाट शुरु हुने शब्द ''राइटर''। आहा कत्ती अभिमान थियो त्यो वाक्यमा। कस्तो स्वाभिमान थियो? साहित्यिक जमघट,कार्यक्रमहरुमा कस्तो सम्मान थियो। भनौ गोजी रित्तो भए पनि 'राइटर' हुनुको अभिमान थियो । घरमा चुल्हो बल्न धौ-धौ परेपनी ''राइटर'' हुनुको इज्जत थियो। अर्थात संसारभरी नै ''राइटर''को स्थान अलग्ग हुन्छ। त्यही मध्ये म पनि आफ्नो देशको लागि एक लेखिका अर्थात ''राइटर''नै थिए भन्नु पर्ला। होइन भनु भने पनि रेडियो, एफ एम हरु लगायत पत्रपत्रीका सबैमा लेख्न नभियाएको होइन। नेपाली सैनिक कार्यक्रमको त स्थाइ नाटक,गीति कथाकार नै भएर काम गरेकी हुँ । मेरा प्रशङ्सकहरुका पत्रहरुमात्र दिनको २५/ २६ वटा पढ्न पाउदथे। कसरी लेख्ने मान्छे होइन भनेर पनि भनु म आफुलाई? अर्थात जे भएपनी कलमले चीनाएको थियो मलाई। तर ---बिडम्बना !भाग्य चम्काउने प्रयासमा म जब अमेरिका आइपुगेँ तब मेरो जीवनको काँया पलट भो। हुनत यहाँ आउने सबैले नै त्यही भोग्छन जुन मैले भोगी रहेकी छु वा भोगेँ। यहाँ आउने सबैको नै पासा पल्टिन्छ जस्तै नेपालमा मै हुँ भन्ने,ठुलो रवाफमा बाँच्नेले पनि बिदेशमा भिजेको मुसो हुनु पर्छ त्यस्तै मलाई नेपालका साथी भाईहरुले सोध्ने गर्छन् । त्यहा के गर्दैछौ? भनेर। बिचरा!ती साथी,आफन्तहरुलाई के थाहा?यहा मान्छेको दिनचर्या,जीवनभोगाइ नै ठीक उल्टो हुन्छ भनेर।

उनिहरुको प्रश्नलाई म ठट्यौलिमा उडाउदै जवाफ दिन्छु। नेपालमा हुँदा पनि म अङ्रेजी शब्दको 'डब्ल्यु' बाट शुरु हुने 'राइटर' थिए अहिले पनि त्त्यही 'डब्ल्यु' बाट आउने शब्दकै काम गरिरहेकी छु। उनिहरु एकक्षण रणभुल्लमा पर्छन र मौन हुन्छन अनी फेरी म हठातको साथ उनिहरुको मौनतालाई भङ गर्दै जवाफ दिन्छु। ''वेटरेस्''क्या त ? 'राइटर' र 'वेटरेस' एउटै अक्षर 'डब्ल्यु ' बाट शुरु हुने शब्द होइन त ? । अनी फोनमा शब्द्को सट्टा हासोको हल्ला मात्र गुन्जिन्छ। त्यस्तै बिगत सात,आठ बर्ष अघी मात्रै मेरो एक मित्र जो नेपालमा हुँदा 'अफिसर' थियो कुनै एउटा अफिसको। ऊ अमेरिका भित्रियो। कहिले कहिले मलाई नेपालमा हुँदा फोन गर्थ्यो अनी म सोध्ने गर्थे। ''तिमी अमेरिकामा के गर्दैछौ'' भनेर ? उस्ले हाँस्दै जवाफ दिन्थ्यो नेपालमा हुँदा पनि अन्त्यमा 'सर' शब्द आउने नै थिए।अब यहाँ पनि त्यही अन्त्यमा 'सर' शब्द आउने काम नै छ। म खुशी र अचम्भित हुँदै भन्थे। ए ---त्यसो भए तिमी त 'लक्की'रहेछौ त्यहा पनि त तिम्रो स्किल र क्वालिफिकेसन अनुसारको जागिर पाएछौ राम्रो भएछ त ! अनी उस्ले हाँस्दै जवाफ दिन्थ्यो अँ ---हो नि मेरो स्किल र क्वालिफिकेसन अनुसारकै 'जब' हो अन्त्यमा 'सर' नै आउने 'डिशवासर' अन्त्यमा यस्को पनि त शब्द 'सर' नै आएन त ? अनी म तीन छक्क पर्थे।

पत्यारो लाग्दैनथ्यो किन जिस्किएको नि ? भनेर रिसाऊथे पनि। तर ---यथार्थमा त्यस्तै पनि हुदो रहेछ। आफ्नो देशमा हुँदाको सबै कुरा नै बिर्सनु पर्दो रहेछ। तर साचै भन्ने हो भने आफ्नो देशमा पलापिएर खाएकाहरुलाई भने सार्है तह लागाउने देश रहेछ यो अमेरिका। काम गर खा, नत्र भोकै बस यही सिद्दान्त छ यहाँ। वास्तवमा यो एकप्रकारले राम्रो पनि हो। मै हुँ भन्ने र भेदभाव गर्नेहरुको लागि त यो देश शत्रु नै हो।

अब अरुतिर पनि लागौ न ---नेपालमा हुँदा घरमा पानी पनि श्रीमतिले दिएको मात्र खानु पर्ने, आफुले सारेर खान सम्म नसक्ने श्रीमान हरुको पनि हालत पत्ला छ यहाँ। आँफै पका, भाडा मोल,रूचे खा, नरूचे भोकै बस किन कि नेपालमा पो जतिसुकै अभाव भएपनी श्रीमानलाई मात्र कर थियो कमाउने र श्रीमतिले काम गरेर पैसा कमाउनै पर्छ भन्ने थिएन। श्रीमती केवल भान्से अर्थात सेविका मात्र तर यहाँ त दुवैले कमाउने अवसर पनि छ र जरुरी पनि छ। यौटाले कमाएको 'डलर' ले त बिल तिर्दा नै ठीक्क ---। 'डलर' कमाएर नेपाली रु खर्च हुने भए पो श्रीमानको सेविका भएर बस्ने कि कसो ? यहाँ त श्रीमती हजम पनि हुनु पर्छ किन भने श्रीमानको कपाल पट्कै पछी काट्दा बिसडलरको हिसाब ले पैसा जान्छ।मरी मरी कमाएको पैसा नाथे कपाल काट्दा नै जान्छ भने त्यो पैसालाई सबै श्रीमान हरुले नेपालीमा 'कनभर्ट'गर्दा ठ्याक्कै लग्भग पन्द्र्हसय जान्छ अनी जिब्रो निकालेर श्रीमान हरुले ल बुढी मेरो कपाल तिमीले नै काटिदेउ जस्तै भए पनि कस्लाई पो देखाउनु छ र ?

भनेर श्रीमतीद्वारा कपाल पनि कटाउन वाध्य छन उनिहरु । यस्तै सत्य तथ्य र हास्यस्पद जीवन भोगाइ छ।हामी सबै बिदेशमा बस्नेहरुको ।

क्रमश



कबिता - म र मेरो !!!


गोकुल बिबश ढकालgokul_bivas
बोस्टन, अमेरिका
डिसेम्बर ०९, ००८

झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती
प्वाल परेको मोजा, भिजेको जुत्ता, पसिना मेरो सारथी,
निब भाच्चिएको कलम, मिती सकिएको मलम, मेरो ओखती
चोइटिएको मन, नकमिने धन, सम्झाउ आँफैलाई कती ?
पुरानो थाल, घुन लागेको दाल, मधेसी चामल
गाई काट्ने ठाउँ को खसी, परदेशको दशी, खोइ को मलामाल ?
माड् हाल्नै पर्ने मुख, नदेखिने सुख, कुन् जुनिको यो कर्म ?
बनको भाखा, हिमालि काख, खोइ मेरो धर्म,
सारा चिज बिरानो, म आफै बिरानो, मेरै देश बिरानो
यो मेरो जुनि दुखमै बित्यो, स्रिस्टि नै बिरानो,
झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती !