December 24, 2007

गणतन्त्र नेपालका प्रथम राजा ज्ञानेन्द्र

डा प्रकाश चन्द्र लोहनी अक्सर भन्ने गर्छन नेपालमा यति बेला सात दलीय सिण्डिकेट सरकार छ । सिण्डिकेटको फैसला लोकतान्त्रिक, जनतान्त्रिक र जनवादी सबै मान्ने गरिएको पाइन्छ । यहाँ संसद छ जहाँ चुनावै कहिलै नलडेकाहरू पदासीन छन् । त्यहाँ बन्दूक बोकेर पनि जान पाइन्छ र मन लागेको कुरा वान्ता गर्न पाइन्छ , मन लागे आमा चकारेर गाली गरे पनि हुन्छ , खर्राटा मारेर सुते पनि हुन्छ , गाउँघरको तिर्सना मेटाउन बाघचाल खेले पनि हुन्छ, दोहोरी गाएर रमाईलो गरे पनि हुन्छ । सरकार सञ्चालन विधि पनि रकम कै छ । चाहे संसदमा जानुस् मन नलागे नजानुस् भत्ता आउने हो आइहाल्छ । सरकारमा भएका मन्त्रीले बेला बेलामा राजिनामा दिन्छन र घर बिदामा बस्छ्न र अलि पछि फर्किन्छन घरको काम सकिए पछि ( सायद धान काट्ने बिदामा बसेका पनि हुनसक्छन् ) । सिण्डिकेट भित्रका पार्टीहरूले गएको डेढ वर्षमा धेरै नै फैसला गरे तर तिनको पालना गरे पनि हुन्छ नगरे पनि हुन्छ ।

सरकारमा बस्नेले प्राइभेट आर्मी पनि राख्न पाइन्छ , नसक्नेले नराख्न पनि स्वतन्त्र छन् । सराकरमा बसेर सरकारको ढुकुटी रित्ताएर पनि ढ्याउ आउञ्जेल अघाइएन भने , जनताले स्वेच्छिक रूपमा चन्दा कसलाई दिऊँ भनेर व्यग्र प्रतिक्षा गरिरहेको हुनाले तिनकहाँ गएर अनुरोधको भाषामा “ दिने भए दे , नत्र सफाया गर्दिन्छौँ” भनेर भैलो खेल्दा पनि हुन्छ । जनता थरथरी काँप्दै तँछाड मछाड गरी स्वे्च्छिक चन्दाको बाकस लिएर आइपुगिहाल्छन् ।मुलुकमा स्वतन्त्रता अहिले यति बिघ्न प्राप्त छ कि जस्ले जे मन लाग्यो त्यही गर्न पाइन्छ । संगठित रूपमा मिलेर कसैलाई ( विशेष गरी गाँठवालाहरूलाई ) अपहरण गर्न र लुट्न पर्‍यो भने , यसलाई राजनीतिक रंग दिनुस् या निधारमा रातो टालो बाँध्नुस या टाटेपाङ्ग्रे कपडा लाउनुस् निर्धक्क भएर मन लागेको गर्न पाइन्छ, कुनै कानूनले छुँदैन।

अनि हाम्रो मुलुकमा रहेको संसारकै विचित्र सांसदले पनि बेला बेलामा विचित्र विचित्रका फैसला गरिरहन्छ । सिण्डिकेटका ठेट्ना भेट्ना भेला भएर संविधान भन्ने किताब लेखे तर त्यो पढेर जनताले सक्न नपाउँदै त्यही किताबलाई ठाउँठाउँमा केरमेट गरिसके । आँफै जनताको मतले चुनिन सकेका छैनन् तर हरेक शव्दमा त्यो तीर्सना मेट्न ‘जनता’ नभनी बोल्नै जान्दैनन् यी विदुषकहरू। अनि यिनले जे गर्छन, जनताको अधिकारलाई खोस्ने काम मात्र गर्छन् । केही समय अघिसम्म दरबारका कर्मचारी कटौतिको नाटक गरे अनि दरबारको सम्पत्ति राष्ट्रियकरण गर्ने आदि पनि । आखिर नरहे बाँस , नबसे बाँसुरी हुने भए पछि अनि राजा नै नरहने पक्का हो भने यो पो किन गर्न पर्‍याथियो होला र राजा नै नरहे उनका कर्माचारी त्यसै कटौति हुन्थे अनि उनको सम्पत्ति राष्ट्रको भैहाल्थेन र गाँठे ? कस्तो मूर्ख बनाको जनतालाई ?

भर्खरैको फैसला हेर्नुस् त सिण्डिकेट सरकारको संविधानबाट राजा शव्द हटाउने भनेर हटाए । कति विचित्र ? संविधानमा राजा छैनन , तर दरबारमा राजा ज्यूँका त्यूँ छन् । गणतन्त्र नेपाल पनि छ , अनि घोषणासंग आएको २२ बुँदे सम्झौता हेर्‍यो भने भोलि चुनाबको बेला राजाले गडबड गरे २ तिहाइ सांसदले राजा हटाउन सक्ने भनि लेकैको पनि छ । कति बिजोग ! एकातिर गणतन्त्र लेखेको संविधान अर्को तिर राजा पनि मुलुकमा जहाँको त्यहीँ । हामी पनि कति भग्यमानी गणतन्त्र र राजतन्त्रका दुवै लड्डु दुईटा हातमा ! हे नेताहरू तिम्रो बुद्दि र कर्म कति महान !!!

हे ज्ञानेन्द्र , तिमी त झन कति हो कति कीर्तिमानधारी रूपमा महान छौ । हेर त कति कीर्तिमान राख्ने भयौ ? बाबु भन्दा पहिले राजा भयौ ४ वर्षमा , (दाइको) छोरा मरेपछि फेरि राजा भयौ त्यतिले नभएर गणतन्त्र नेपालको पहिलो राजा बन्ने विचित्र इतिहास पनि तिमीले नै रच्यौ !!!


December 23, 2007

लौ आयो मासु भएको भेज खाना !

मांसाहारी भन्दा साहाकारी को औशत आयु लामो हु्न्छ रे। त्यसैले होला जापानीजहरुको औसत आयु निकै लामो छ। माछा मासुबाट बढि रोगहरु लाग्ने हुदा धेरै मान्छेहरु साहाकारी हुन हौसीएका छन। धेरै बाच्नु राम्रो हो त्यसैले शाहाकारी हुनु झनै राम्रो। ल भन्नुस त मासु भएको भेज खाना भयो भने त्यसलाइ के भन्ने? उत्तर सजिलो छ,नेपालको लोकतन्त्र। साच्चै नेपाली १० बर्ष पढियो,कक्षा १२मा नि नेपाली पढियो,त्यो लोकतन्त्र भन्ने शब्द सुनेको भए मार्दिनु। नेपालमा हुदा गिरिजा देखी मदन भण्डारीको भाषण नि सुनेकै हो,त्यती बेलासम्म यो लोकतन्त्र आबिस्कार भइसेकेको थिएन। जंगलबाट आयो कि शहरबाट आयो,अहिले लोकतन्त्र नभनी भाषणनै सुरु हुदैन। लोक भनेको जनता,लौ जनताकै शासन रैछ,भोट दिन नपाए नि हाम्रै शासन चल्यारैछ ठिकै छ। आखिर भोट दिए नि हाम्रै मान्छे, नदिए नि हाम्रै मान्छे। के को भोट दिन दु:ख गरिराख्नु पर्यो चर्को घाममा लाइनमा बसेर? फेरी आफु त अमेरिका बसियाछ,त्यसै भोट दिन पाइन्न,ह्यइ बसी बसी आफ्नै शासन हेर्न पाइने,गज्जब भएन त ?लोकतन्त्र राम्रो संग नबुझे पनि यसो खबर खाबरबाट अर्थाउने प्रयास गर्दैछु।आज बिहानै हेरेको त नेपालमा राजा सहितको गणतन्त्र रे,भो कि अब !एइ हो कि क्या हो राष्ट्रबादीलाइ समेट्ने भनेको।
एक जना नानी आफ्नो कोठामा भुतले तर्सायो भनेर सधै आमासंगै सुत्ने। यसो गर्दा आमा चाहींलाइ दिक्क लागेछ,त्यस पछि एउटा बासना आउने स्प्रेमा "Ghost Repellent" लेखेर त्यो नानीको कोठामा चारैतिर छरीछन। त्यस पछि त के को आउनु नि भुत, भुत सधैलाइ गायब।नेताहरुले जनतालाइ गणतन्त्र ल्याउने त भनिहाले,अब संबिधानमा गणतन्त्र लेखेर राजा सहितको गणतन्त्र ल्याउन लाएको त होइन ? ल भएन त अब मासु सहितको भेज खाना?


December 22, 2007

शिवपुरीको चिहान

पटक पटक खबर पत्रिकामा निस्किने शिबपुरी फेरी यस पटक तातेको छ। १५ कि.मी परबाट राजधानी हेर्दै ४९ जनाको चिहान बोकेर बसेको आशंका गरिएएको छ । सैनीकबाट सुरक्षा दिइएको शिबपुरीको जंगलमा आधा जलेका कपडा,पलाष्टिकका झोला,जलेका मुढा आदी भेटीनु त्यसै नै आशंकाको बिषय हो। त्यस माथी द्वन्दताका सैनीक क्याम्पबाटै हराएका मान्छे अहिले सम्म नभेटिनु र सैनिक हिरासतमा बिताएका ब्यक्तीबाट शिबपुरीमा लगेर यातना दिने गरिएको खुलासा हुनु,यो घटनाको लागी प्रमाण जस्तै भएका छन। तर परिक्षण गर्न पठाइएका जेलेका बस्तुले त्यसको तथ्य खोल्ने छन।
द्वन्दकालमा आखामा पट्टी बाधिएका ब्यक्ति सैनिकको गाडीमा यता उता लगेको त राजधानीबासीले देखेकै हुन।यसै क्रममा केहीलाई शिबपुरी लगियो र कहिलै फर्काइएन भन्नेहरु पनि छन। यसरी द्वन्दमा १५,००० जती हराए,अब उनिहरु कहिले फर्किने छैनन। यो दुखद घटनाले तिनका बाल बच्चा,आफन्त गरी १ लाख भन्दा बढिलाइ प्रत्यक्ष असर पार्दछ। अप्रत्क्ष रुपमा त संपुर्ण नेपाली नै मर्महाहित छन। बिस्तापित भएका लाखौं अझै घर फर्किन सकेका छैनन।
यस्तो जघन्य अपराधको त जती नै सजाय दिए पनि कम हुन्छ तर पनि नेपाली सेनाले आफ्ना १०० जना जती सैनिकलाइ कार्बाही गरिसकेको छ। यस्तो अमानीविय कार्य गर्ने १०० जना मात्र त नहोलान तर पनि अपराध गर्नेलाइ कानुनको दायरामा ल्याउनु संतोष जनक मान्नुपर्छ। अहिले शिबपुरी ठडियो तर यसरी चिहान बोक्ने शिबपुरी मात्रै पक्कै छैन। धेरै पाखा पखेरा होलान चित्कार र रोदन थामेर बसेका। टांढीमा त दिन दाहाडै चिहानमा परे। टांढी घटना त आखैले देख्ने मान्छेहरु छन,प्रमाण जुटाउन कतै पठाउनु पर्दैन। यस्ता मानव चिहान त नेपालै भरी छन। दुधे बालक देखी कपाल फुलेका जंगलमा न्याय कुर्दै कती बसेका होलान,के तिनीहरुलाइ समाप्त पार्ने कानुनको सांग्लोमा पर्लान ?


December 21, 2007

सवारी दूर्घटना पछि हुने तोडफोड र चक्काजाम कसरी कम होला?

राजनैतीक कारणले हुने बन्ध र चक्का जाम त छदै छ।त्यो बाहेक आजकल समाचारमा आँखा घुमाउदा सवारी साधनले मानिसलाई ठक्कर् दिएर ज्यान लिएको र पिडित पक्षले क्षतीपूर्तीको लागि चक्का जाम गरेको र, सवारी साधन नै तोडफोड गरेको र क्षतीपूर्ती रकममा डील भएपछि मात्र जाम खुलेको पढन पाइन्छ। एक् पटक ठक्कर् दिईसकेपछि ड्राइभरले गाडी ब्याक गरेर कुल्ची मारेको पनि बारम्बार सुनिन्छ। आखिर किन यस्तो भैरहेको छ त? दूर्घटनामा पर्ने, गराउनेको त क्षती भयो भयो तर चक्का जाम गरेर अनाहकमा अरुलाई पनि सास्ती दिने काम् हुन्छ।सडक दूर्घटना हुनु अवश्य पनि राम्रो होइन तर जतिसुकै ब्यबस्थित, बिकसित देशमा पनि दूर्घटना भएकै हुन्छ, तर त्यहाँ हाम्रो देशमा जस्तो चालकलाई हातपात गर्ने, गाडी तोडफोड गर्ने, जलाउने काम् हुंदैन। किन भने त्यहां सबै कुरा नियम कानून् अनुसार हुन्छ। प्रत्येक सवारी साधनको अनिवार्य बीमा गरिएको हुन्छ र दूर्घटनाद्वारा भएको क्षती बीमा कम्पनीले ब्यहोर्दछ। हाम्रो देशमा प्रत्येक सवारी साधन लाई अनिवार्य बीमा गर्नु पर्ने भन्ने कानून् किन नबनेको होला?
सरकार, सवारी धनी र बीमा कम्पनीहरु कसैले यस बिषयमा कुनै सोच् राखेको छ जस्तो लाग्दैन। हाम्रा नेताहरु, उच्च ओहदाका ब्यक्तिहरु बिदेश् सयर त खुब् गर्छन, तर त्यहा के कस्तो पद्धती रहेछ भनेर सिक्ने कुनै कोशीस गर्दैनन्। एक पटक प्रदीप नेपालले अमेरीका घुमेर गए पछि, यहाका मानिसहरुको ब्यस्तता बारे, वहांको भतिजी पर्नेले एक् छाक खान खुवाउन नसकेको बारे यस्ता फजूल बिषयमा लेख छपाए। कम्तीमा यहांको ट्राफिक ब्यबस्थापन बारे लेखेको भए त हुन्थ्यो नि।
त्यहाँ नेपालका बीमा कम्पनीहरुमा पनि बीमा सम्बन्धी सोच नै गलत छ जस्तो लाग्छ। म नेपालमा हुंदा ट्राभल ब्यबसायमा प्रयोग गर्न एउटा सेकेन्ड ह्यान्ड गाडी किनेको थिएं र त्यसको बीमाको लागि मैले एभरेस्ट इन्स्योरेन्स कम्पनीमा सम्पर्क गरें। त्यंहाको बीमा एजेन्टले बडो गजक्क परेर भन्यो, "हामी पुरानो गाडीको इन्स्योरेन्स गर्दैनौं"। त्यसपछि मैले अर्को कम्पनीलाई सम्पर्क गरिन। सायद बीमा कम्पनीहरु के सोच्छन् भने पुराना गाडीहरुले बढी दूर्घटना गराउंछन् र बीमामा उनीहरुले धेरै पैसा तिर्नु पर्ने हुनसक्छ।
संसद काम् नपाएर बसिरहेको छ र देश भने कानूनको अभावमा अस्तब्यस्त छ। यदि संपुर्ण सवारी साधनहरु अनिवार्यरुपमा बिमीत हुन पर्ने भन्ने कानून् बनेमा, बीमा कम्पनीहरुको ब्यबसाय पनि राम्रो हुन्थ्यो, दूर्घटनाको क्षतीपूर्ती बीमा कम्पनीले दिने भएपछि चक्काजाम् पनि गर्नु पर्ने थिएन र सवारी धनीको पनि एक्कै चोटी २-३ लाख चुना लाग्ने थिएन।कि कसो हो?


December 19, 2007

चिनी र मट्टीतेल शहिदको बाटो

दशैं तिहार हुँदी हाम्रा गाममा चिनी र मट्टीतेल हजुरामाका कथामा देउता जस्ता हुन्थें -- झिमिक्क गर्दा अन्तर्ध्यान। साथि साथि भेटदा अभिबादन नै "ए चिनी ल्यायो त्यो पसलाँ" हुन्थ्यो। अचेल चिनी र मट्टीतेल गणतन्त्र र लोकतन्त्र नामले बिख्यात छन हाम्रो सुन्दर शान्त र बिशालमा। सुन्दर शान्त र बिशाल भन्न पनि अलि बिस्तारै -- सके सम्म मनमनै भन्नु पर्ला जस्तो लाग्न थाल्यो। खोला नदीमा बाढी आउँछ पानी आउँदैन। डाँडा पाखाका रुखहरुलाई बिदाई समारोहमा बन्चराले हाने देखी रित्ता डाँडा पैरोले घाईते छन। भाँडन र बेच्न अहिले सम्म नभ्याएका र नसकेका सुन्दरहरु बाँकि छन तर तिनको पनि बन्दोबस्तको तयारीमा जुटेकै होलान देशका स्वघोषित ठेकेदारहरु। शान्त त अब धुन धान नै छ --यो भन्दा शान्त त उही मशानमा मात्रै होला। त्यो पनि रहँदा बस्दा बनाउलान। आशा गर्ने ठाम प्रशस्तै छ। बिशाल चै झन फेरी कुन गँजडीले के सनकमा जोडदेको हो थाह छैन। एका तिर चिन अनि अर्को तिर भारत अनि हामी बिचाँ बिशाल रे --- भो की अब? हाम्रो सुन्दर शान्त बिशाल नेपालको न्वारन सप्तदले पण्डीतले अब लोकतान्त्रिक संघिय गणतन्त्र नेपाल नामले गरीदिने हल्ला चलेको पनि निक्कै भयो। त्यो हल्ला उही फुल देखार यहाँ भित्र छ चल्ला भनेको मात्रै हो कि त्यो देखाको फुल ओथारै नबस्या खाले हो बुझ्नु पर्यो भनेर साथिलाई फोन गर्दें हालसालै

"गणतन्त्र-लोकतन्त्र-संघिय शासन अरु के के हो आयो? कि साँढे र स्यालको कथा जस्तै हुँदैछ?"
उस्ले भन्यो "एउटा मन्चमा साँढे र स्यालको कथा पनि मन्चन हुँदैछ अरु मन्चहरुमा पनि बिभिन्न खाले नाटकहरु मन्चन हुन्छन सधैं जस्तो। पिडादायक मनोरन्जनको चलन छ अचेल तर पनि बुझिस गणतन्त्र त अब रणतन्त्र भयो नी" उस्ले भन्यो।

"के रणतन्त्र?" मैले सोधें।

के हुनु नी -- खाली बाझेर मर्छन। एका तिर निरिह तर हुकीमी लालमोहरिया संसद छ, अर्को तिर बोली सक्दा नसक्दै के बोल्या हो बिर्सिने कामरेडासनमा बिभुसित छन। अझ अर्को तिर एउटा खुट्टो आर्जेघाटाँ अर्को सिंहदरबाराँ तेर्साएर एउटा गुरुजी इन्तु न चिन्तु अब निकास खुल्दै छ भन्दै बर्बराउँछन। उनलाई त बरु इँजार खोल्दे देखुन निकासमा सजिलो हुन्थ्यो कि -- तर बिचरा गुरुजीलाई पनि मुस्किल छ। नचढ्नु बौलाहा हात्ति चढीहाले -- अब ओर्ल्यो की सिताराम भन्ने बुझ्या छन त्यसैले जे गरेर टिकिन्छ हौदामा त्यस्मै लाग्या छन। एक थरी कामरेडाधिसलाई पनि अस्ति "हात्ति चढ्ने हो कामरेड?" भनेर सोध्देछन कस्ले हो --ए! भैंमा न भाँडा भएर त्यो ढुङ्गेधारा छेउको भट्टीमा सिलाबरे कचौरा रित्याएसी हुन्थेनम हामी? हो त्यस्तै भएर दुई चार दिन तमास गरे कामरेडाधिसले।

मधेस परदेश जस्तै भएछ भन्थ्यो सोल्टी अस्ति जनकपुर गएर आए पछि।

अनि गणतन्त्र कैले आउला जस्तो छ त? मैले कुरा छोट्याउदै सोधें।

जम्मै बाझेर गणतन्त्र रणतन्त्र भै रछ अचेल। गणतन्त्र आए पनि नआएपनि रणतन्त्र त आयो आयो अब। अरु कसैले सकेनन बरु यही रणतन्त्र एउटा आएर जे भा पनि जनआन्दोलन को धर्म थाम्ने भो।

"त्यस्तो दंगा भै रन्छ त्यता जिबन बिमा गराई राख" मैले साथिलाई सल्लाह दिएँ पछि घर परिबारलाई मुस्किल नपरोस भनेर।

उस्ले भन्यो "आ-- के को जिबन बिमा? -- त्यस्तै पर्यो भने एउटा संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद -- प्रचन्डेस्वर जिन्दाबाद -- राजालाई फाँसी दे --मधेसको समस्या हल गर -- बाम एकता अमर रहोस -- भन्दै नारा लाउँदै ढुँगा मुढा गर्दिन्छु -- गोली हानी हाल्छ -- अनि त १० लाख त आयो आयो शहिद पनि हुन पाईन्छ। के को बिमा र सिमा? जिउँदो शहिदले निर्धक्क सुनायो।


December 18, 2007

कौडातन्त्र

हाम्रो गाम तिर अचेल दुइटा शब्दहरुको जगजगी छ। एउटा लोकतन्त्र अर्को गणतन्त्र। दुईटै शब्दका ठेक्का सातदलले लिएका छन।

भाराभुरी उमेरको कुरा हो--एक चोटी म घर छिमेकको ठुलो रुख पछाडी कौडा खेल्दै गर्या ठाममा पुग्या थें। त्यता बेला बेला जाने मेरो बानी बढ्दो थ्यो। त्यो कौडाको खेल प्रति मेरो आकर्षण थिएन बरु पैसा प्रति थ्यो। कौडा भल्ने खेलाडीको हातबाट भुईँमा पछारिनु अघि खेलाडीहरु तिया चौका छक्का यस्तै के के भन्दै कराउँथे अनि कौडा पछारिएर लडीबुडी गर्दा नगर्दै कैले मार्आ शब्दले कैले तिर तिर तिर शब्दले बाताबरण गुन्ज्यायमान हुन्थ्यो।

झिमिक्क गर्दा पैसाको कारोबार भैसक्या हुने। के भए मार्ने हो के भए तिर्ने मलाई केही थाह थिएन तर जित्ने सँग नोटको खात देखेर म दङ्ग पर्थे। एक दिन के चाड थ्यो कुन्नी मामाघर गाको थिएँ । टिका लाएर अलिकति पैसा देका थिए। त्यो पैसा लिएर त्यो कौडाको खालमा कैले पुगुँ जस्तो भाथ्यो आफुलाई।

घर आउना साथ पुगें त्यो रुख पछाडी। खेल चलेकै थ्यो। आफुलाई पैसा बढाउनु थ्यो तर के गरी थाह थिएन। टोलका कहलिएका बदमासदाईहरुको खेल थ्यो त्यो। बोलीको मात्रा नपुगे ज्यानले दु:ख पाउँथ्यो। हेर्दै थिएँ त्यो कौडा भल्नेले "के हेरीरा ए फुच्चे...च्याँखे राख्ने हो? भनेर सोध्यो। त्यो सोध्ने भक्तेदाई भनेको खुँखार थ्यो। उस्ले गस्तिमा आएका पुलिस कुटेर ढुट्टो पारेको धेरै भा थेन। त्यस्तो डेडली भक्तेदाईले सोधे पछि हैन भन्ने कुरा भएन। च्याँखे भन्या के हो त्यो पनि थाह थिएन। उनले "राख" भने पछि अघिको टिकाको रंग लाग्या दुई तिनटा नोट थिए सबै झिकें। शिबदाईले खोस्या झैं गरी "तियामा हो?" भने मैले "हो" भन्दें यत्तिकै। भक्तेदाईले भले कौडा। मार्आले खाल थर्कियो। झिमिक्क गर्दा अघि सम्म मेरो खल्तिमा सुरक्षित भाको पैसा त भक्तेदाईको हाताँ। दिक्क लाग्यो। "के भएर खायो दाई?" मैले आफ्नो पैसा गा भएर सोधें। खेलमा एक छिन सुनसान भो। पछि सबै हाँसे अनि भक्तेदाईले जित्या भएर होला अलि नरम सँगै भनें "त्यो तैले अहिले बुझ्दैनस।"

नेपालको लोकतन्त्र र गणतन्त्र अचेल त्यस्तै लाग्छ मलाई।