यो समाचार अलि पुरानो भैसक्यो, अनि अत्यन्त संवेदनशील हुदां हुदैं पनि केही कारणले ओझेलमा पर्यो ।
प्रसंग हाम्रा देशका राष्ट्र प्रमुख समेत रहेका प्रधानमन्त्रीको यौटा वक्तव्यको हो । त्यसो त हाम्रा नेताहरुको वक्तव्य र भाषणको जिम्मा उनिहरु स्वयंले पनि कहिल्यै लिदैनन् र आज बोलेको कुराको भोलिपल्ट ठाडो खण्डन वा बिरोध गर्न कहिल्यै पछि पर्दैनन् ।
हाम्रा नैतीकताहिन नेताकोलागी यो कुनै नौलो कुरा हुदैंन, अझ हामिकहाँ त बोली सकेको कुरा “फिर्ता लिने” सुबिधा पनि उपलब्ध छ, त्यसैले न त नेताहरु सोच बिचार गरी बोल्छन न त जनताहरुनै त्यसलाई मनन गरेर सुन्छन् ।
तर केहि समय अघी प्रधानमन्त्रीबाट अभिव्यक्त केहि वाक्याशहरुले भने कुनै पनि स्वतन्त्र नेपालीको स्वाभिमानमा पक्कै धक्का लाग्छ ।
बालुवाटारमा आफ्ना निजी सचिवहरु, डाक्टरहरु र अरु पारिवारिक सदस्यहरुसमेत रहेको जमघटमा कोइरालाले भारतले आफूलाई विश्वास गर्न छाडी एमाले महासचिव माधवकुमार नेपाललाई विश्वास गर्न थालेको बताउनुभएछ ।
साथै उहाले अझ प्रष्ट पार्दै “मलाई अब भारतले उसले भनेको नमान्ने लिष्टमा राखिसक्यो” अनि अन्तमा “सक्यो भने भारतले मलाई हटाउँछ” समेत भन्नुभएछ
यसो त नेपालको राजनीतिमा भारतको प्रतक्ष हस्तक्षप र दबदबा रहेको कुरा कसेमा छिपेको छैन र यसै ब्लगमा समेत यो ब्लगरले यसबारेमा यौटा सानो ब्लग लेखीसकेको छ ।
सायद प्रधानमन्त्रीले आफूलाई एकदम हक्की वा खुला छु भन्ने देखाउन सो कुरा बताउनु भयो होला तर यो बक्तव्यले हाम्रा प्रधानमन्त्री खुला हैन हालसम्म भारतकै ईशारामा नाचीरहेको प्रष्ट पारेको छ।
कुरा एकदमै सरल छ उहाँकै शब्दमा भन्ने हो भने पनि : “मलाई अब भारतले उसले भनेको नमान्ने लिष्टमा राखिसक्यो”, मतलब यसभन्दा अघी सम्म वहाँ पनि “भारतले भनेको मान्ने हरुको लिष्टमा हुनुहुन्थ्यो” ।
यौटा स्वतन्त्र देशका प्रधानमन्त्री अर्को यौटा “धम्मरधुस” देशले भनेको मान्ने लिष्टमा हुनुले के देखाउँछ त ? । भन्नै लाज लाग्ने र सोच्दै ग्लानि हुने । देशको प्रधानमन्त्रीको त यो हविगत छ भने हामीले कसरी आफूलाई स्वतन्त्र राष्ट्रको सार्बभौमसम्पन्न नागरीक भन्ने ।
“सक्यो भने भारतले मलाई हटाउँछ” भन्ने अन्तिम वाक्य पढदा कुनै पनि स्वाभिमानी नेपालीको शिर निहुरिएको हुनुपर्छ ।
वालीग मताधिकारको आधारमा देशको नेता र राष्ट्र प्रमुख समेत चुन्न पाउने नेपालीको जनताको सार्बभौमीक अधिकारको ठाडो खील्ली उडाउने यो वाक्यले हाम्रो नागरीक अधीकार के छ हैन हाम्रो अस्तित्वनै के छ भन्ने प्रश्न चिन्ह खडा गरेको छ ।
नेपालको प्रधानमन्त्री भारतले हटाउने वा थमाउने गर्छ भने हामि को त? प्रधानमन्त्री स्वयं कठपुतली भए जनता झन के त?
“सक्यो भने भारतले मलाई हटाउँछ” भन्ने प्रधानमन्त्रीको अभिव्यक्ती पक्कै पनि त्यसै आएको छैन, पक्कै पनि यस भन्दा पहिले त्यस्तो खेल धेरै चोटि भैसकेको होला र हाम्रा प्रधानमन्त्री पनि कैयौ पटक त्यसमा खेलाडिको रुपमा सामेल भैसक्नु भएको होला। भनिन्छ नि सर्पले मात्रै सर्पका खुट्टा देख्छन, यो खेलमा धेरे पारगंत भएकाले मात्रै प्रधानमन्त्रीले त्यस्तो सम्भाब्य “भविश्यवाणी” गर्नु भएको होला ।
जे होस सम्पूर्ण नेपालीले थाहा पाएर पनि थाहा नपाएझै गरि बसेको यौटा कटू यथार्थको प्रधानमन्त्री स्वयंले पुष्टी गरीदिनु भएको छ । यसकालागी वहालाई “धन्यवाद्” दिनै पर्छ । अबका दिनमा कसैले हाम्रो सरकार भारतले बनाउँछ र बिघटन गर्छ भन्नेमा कुनै भ्रम नपाले हुन्छ ।
अन्तमा प्रधानमन्त्रीलाई यौटा आग्रह पनि । उमेरको उत्तरार्धमा पुगी यो अबस्थामा आउँदा तपाई के कति कारणले “भारतले भनेको नमान्ने लिष्टमा” पर्नु भयो त्यो त मलाई थाहा छैन तर तपाई आफ्नो स्वार्थको त्याग गरेर साँच्चै र सधैकालागी “भारतले भनेको नमान्ने लिष्टमा ” बस्न सक्नु भयो भने जिवनको उत्तरार्धमा यो पक्कै पनि यौटा सम्मानजनक र आदर योग्य काम हुनेछ ।