दशकौं पछी नया स्थानीय चुनाब हुंदैछ तर पार्टी पूरानै छन र तिनका ब्यबहार पनि पूरानै छन। फरक यती हो तिनका तौर तरीका अलिक नया छन। यसै सन्धर्वमा ब्लगर दिलीप आचार्याको गोरखापत्रमा प्रकाशीत पूरानो कथा।
पहिलो पटक चुनावमा उसले जोडदार भाषण दियो " मैले जितेँ भने बाटो बनाईदिन्छु, ढल खनाईदिन्छु… … । काम नहुनेहरुलाई जागिर हालिदिन्छु, बिजुली नपुगेको ठाँउमा बत्ती बालिदिन्छु… …" । उसले जनतालाई लोभ्यायो, सबैले उसलाई भोट हाले। उसले चुनाव जित्यो तर केहि काम भएन ।
दोस्रो पटक चुनावमा उसले वक्तव्य फेर्यो " …अघिल्लो पटक योजना बनाउँदा र आर्थीक स्रोत जुटाउँदैमा समय बित्यो,… … काम गर्नै भ्याईएन… तर यसपालि जरुर केहि गरेर देखाउनेछु । यौटा मौका फेरि दिनुहोस… …" उसले मतदातालाई फकायो, सबैले उसलाई भोट हाले । उसले फेरी चुनाव जित्यो र फेरी केहि पनि काम गरेन ।
तेस्रो पटक चुनवमा आदर्श छाँट्यो " यहाँ काम गर्छु भन्नेलाई काम गर्ने वातावरण नै छैन, विपक्षीको चाल र पार्टी भित्रको अन्तर्द्वन्द मिलाउदैमा समय बित्छ के गर्ने ? … …अब स्थीती अलि ठिक भएको छ । अब त काम गरेरै छाडछु, केवल एक मौका दिनुहोस… …" उसले भिडलाई झुक्यायो, सबैले उसलाई भोट हाले । उसले पूर्ववत् चुनाव जित्यो अनि पूर्ववत् नै केहि काम पनि गरेन ।
यसपालि चुनावमा उसले के बारेमा भाषण गर्यो कसैले बुझेनन्, के कस्तो आश्वासन दियो कसैले सुनेनन्, तर पटक पटक उसलाई भोट दिँदादिँदा बानी परिसकेका मतदाताहरु यसपालि पनि धमाधम उसैको चुनाव चिन्हमा छाप लगाउँदै थीए ।
Source: http://dacharya.blogspot.com/