March 28, 2013

प्रेम पाएमात्र पढाइ सप्रन्छ

‘मान्छेलाई बाँच्नका लागि एकचिम्टी बल, एकचिम्टी आधार र एकचिम्टी प्रेम चाहिन्छ,’ आदिकवि भानुभक्तको यो भनाइजस्तै मानिसमा उर्जा सञ्चारको काम प्रेमलेमात्र सम्भव छ ।
उर्जा मानिसमा लागि नभइ नहुने चिज हो । आफैँभित्र रहेको शक्ति प्रयोग गर्न पनि हामीलाई विशेष प्रकारको उर्जाले काम गर्नुपर्छ नत्र हामी आफैँमा रहेको शक्ति र आफैँलाई चिन्न सक्दैनौँ । हामी आफूमा भएको क्षमता आफैँ पत्ता लगाउने अवस्थामा नपुगुन्जेल हाम्रो क्षमताको मुल्याङ्कन अरूले गरिदिनुपर्छ । हामीभित्रको उर्जा अरूले देखाइदिनुपर्छ । कवि भूपी शेरचनले भनेजस्तो भएका छौ हामी ।
....हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने 
कसैले छुटाइदिनुपर्ने...

उर्जाका साथै मानिसलाई मनोरञ्जन चाहिन्छ । माया, प्रेम, स्नेह र उल्लासको आवश्यकता पर्छ । अझ पढ्ने विद्यार्थीका लागि त माया र उत्साह बढी महत्वपूर्ण हुन्छ । पढ्ने विद्यार्थीलाई घरबाट मात्र नभएर विद्यालय र छरछिमेकबाट पनि माया पाए भने उनीहरूमा उत्साह थपिन्छ । डर, त्रास र धम्कीपूर्ण भाषामा भनेको भन्दा मायालु भाकामा भनेका कुरा केटाकेटीले सहज र उत्साहका साथ मान्छन् । तल्लो कक्षामा पढ्ने विद्यार्थीलाई जति माया गरिन्छ माथिल्लो कक्षामा पढ्ने विद्यार्थीले पनि त्यही अनुभव गर्न पायो भने उसको पढाइ राम्रो हुन्छ । कक्षा आठमा अध्ययनरत विराटनगरकी समिता भन्छिन् ‘सरले हामीलाई गर्ने व्यवहारले पनि पढ्न मन लाग्दो रहेछ । सरले पढाउँदा चाखलाग्दो र मायालु पाराले पढाउनुभयो भने त्यो कुरा चाँडै जानिँदो रहेछ ।’
शिशुले जन्मनु अघिदेखि आमाबुबाको माया पाएको हुन्छ । जब ऊ जन्मन्छ र हुर्कदै जान्छ, माया गर्नेहरू पनि थपिँदै जान्छन् । उसले माया गर्नेको सङ्ख्या पनि दिनानुदिन बढ्दै जान्छ । समयको चक्रसँगै ऊ स्कुल पढ्ने हुन्छ । उसलाई माया गर्ने मनहरू झन्–झन् झाङ्गिँदै जान्छन् । उसले माया गर्नेहरू पनि मनको पाखाभरि ढाकिँदै जान्छन् ।
प्रेम प्रकृति हो । यो गरेर गरिने हैन । चाहेर लगाइने हैन । नचाहेर नलगाइने पनि हैन । यो स्वस्फूर्त हुन्छ । आफैँ जोडिँदै, गासिँदै जान्छ । जीवनको एक आधारभूत आवश्यकता प्रेम र शिक्षा लिन पनि नभइहुँदैन् ।
भनिन्छ, प्रेमले पापीलाई पनि धर्मात्मा बनाउँछ । नराम्रो कार्यमा लागेका मानिसलाई पनि ठिक बाटोमा ल्यााउँछ । मानिसमा सकारात्मक परिवर्तन गर्ने हो भने प्रेम नै त्यसको लागि सबैभन्दा राम्रो उपाय हो । प्रसिद्ध विचार थोरोका अनुसार थप प्रेमबाहेक प्रेमको कुनै उपचार हुँदैन ।
हालै अमेरिकाको एम्सटर्डम विश्वविद्यालयले गरेको एक अध्ययनले प्रेम पाएकाहरू र प्रेम गर्नेहरू नै बढी रचनात्मक र क्षमतावान भएको देखाएको छ । हाम्रै परिवेशमा हेर्ने हो भने होस्टलमा बसेका विद्यार्थीभन्दा घरमा आमा–बाबुसँग बसेका विद्यार्थीहरू बढी चनाखो हुन्छन् । घरमा झगडा भैरहने परिवारका नानीहरूभन्दा राम्रो परिवारका नानीहरू बढी अव्वल हुन्छन् । राम्रो परिवारका नानीहरूले माया पनि राम्रो पाएका हुन्छन् । त्यसकारण उनीहरूको आत्मबल पनि बढी हुने मनोविज्ञहरूको भनाइ छ ।
नानीहरूलाई माया दिएर मात्र हुँदैन । उनीहरूलाई माया गर्न सिकाउनु पनि उत्तिकै आवश्यक छ । पहिले आफूलाई र त्यसपछि सबैलाई माया गर्ने संवेदना उनीहरूको मनमा भर्न सक्नुपर्छ । आफू र अरूलाई माया गर्ने मानिसले जीवनमा कहिले पनि नराम्रो काम नगर्ने मनोविज्ञहरूको भनाइ छ ।

साइटेफिक अमेरिकन नामक सोधग्रन्थले पनि यो कुरालाई पुष्टि गरेको छ कि प्रेमले मानिसलाई सकारात्मक बाटोमा त हिँडाउँछ नै उसलाई फरक तरिकाले सोच्न समेत सक्षम बनाउँछ ।
सूचना प्रविधिको तीव्र विकाससँगै हाम्रो समाज मौलिक रीतिरिवाज र चालचलनमा पश्चिमीपन घोल्दै अघि बढिरहेको छ । यसको परिणामले हाम्रो समाजसँगै शिक्षा क्षेत्रमा ठूलो असर पारिरहेको छ । एकातर्फ हाम्रो शिक्षाप्रणाली व्यावाहारिक र उत्पादनमुखी कम छ, अर्कोतर्फ सांस्कृतिक र सामाजिक रूपमा भैरहेको परिवर्तनले समेत प्रभाव पारेको छ । यस्तोमा सन्ततिको खुसीका लागि भन्दै अभिभावकले आँखा चिम्लिँदा अधिकतर किशोर–किशोरीले अवश्यकताभन्दा बढी स्वतन्त्रता पाएका छन् । यसलाई कसैले सदुपयोग गरेका छन् भने कसैले दुरुपयोग गरेर जीवनलाई बबार्दीको खाडलमा धकेलेका छन् ।
सही र गलत छुट्याउन गाह्रो हुने उमेरमा सङ्गतले  र हुर्किएको परिवेशले पनि कतिपय किशोरकिशोरी मानसिक तनावको  शिकार बनेका छन् । उनीहरूलाई त्यबाट मुक्त बनाउन प्रेमको कुनै विकल्प छैन । प्रेमका माध्यमबाट मात्रै उनीहरूलाई सही बाटोमा ल्याउन सकिन्छ ।
प्रायः युवा–युवतीहरू आफ्नै अडान (इगो)मा रहने हुन्छन् । केही अवस्थामा उनीहरूको अडानले उनीहरूलाई नै हानी पु¥याउने हुन्छ । त्यस्तामध्ये केही आमा–बुबा, छरछिमेक र गुरुहरूले भनेको पनि नमान्ने ‘जण्ड’ स्वभावका हुन्छन् । त्यो बेला प्रेमी–प्रेमिकालाई नै प्रयोग गरेर समस्या समाधान गरेका थुप्रै उदाहरण हामी माझ छन् ।
युवा–युवतीहरू गहिरो प्रेममा छन् भने आफ्ना प्रेमी–प्रेमिकाले भनेको जुनसुकै कुरा पनि मान्न तयार हुन्छन् । यसबेला दुवैले सकारात्मक भूमिका खेल्न सके दुवैको पढाइ पनि राम्रो हुन्छ । दुवै जीवन सफल बनाउने बाटोमा अगाडि हुन्छन् । यसर्थ पढ्ने विद्यार्थीका लागि प्रेममय वातावरण हुनुपर्छ । युवा उमेरमा आवश्यक माया पाउनुपर्छ, माया गर्नुपर्छ, प्रेमी–प्रेमिका बनाउनु पनि पर्छ तर त्यसलाई सदुपयोग गर्न जान्नुपर्छ ।

2 Comments:

Anonymous said...

मान्छेलाई बाँच्नका लागि एकचिम्टी बल, एकचिम्टी आधार र एकचिम्टी प्रेम चाहिन्छ. sadharan wakya chha tara adikavi le tesai bhanekai ta hoina. kuro ma churo chha.

Yumesh Pulami said...

कति जाति र यथार्थ कुरा !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !