-लुना
"हाम्रो बुटोल (बुटवल) भन्दा त यताको (काठमाडौंको) हावापानी ठण्डा नि बाबु !" - बर्मेली लवजमा बोल्ने केशवकी आमाले 'नि' मा जोड दिएर बोलिन् र हातमा रहेको पिउरी कात्न व्यस्त भइन् ।
त्यसैबेला केही परको गणेशथान मन्दिरमा घन्टी बजेको सुनियो "टंग ! टंग !! टंग !!!" उनीहरू काठमाडौं गणेशथान नजिकै साइँला मामाको घरमा २-४ दिनको लागि पाहुना हुनआएका थिए , खासगरी केशबकी आमा पशुपतिमा बत्ती बाल्न आएकी थिइन् ।
मन्दिरबाट आइरहेको आवाजतिर ध्यान दिँदै केशब बोल्यो, "हजुर ! चिसै हो चैततिर पनि यत्तिको ठण्डा ! उतातिर (बुटवलमा) यतिबेला त छतमा बस्न कहाँ सक्नु !" यति भन्दै ऊ छतको डिलमा उभियो अनि आफ्नो परिबारले किनिराखेको घडेरीमा हर्लक्क बढिरहेका हरिया सागसब्जी र घडेरीको पश्चिम कुनाको छेउमा बतास सँगै फुर्र-फुर्र नाचिरहेका शिरिषका पातहरु हेरिरह्यो । उसका नजर छिमेकीको बगैंचातिर पनि दौडियो । त्यहाँ पनि भोगटे, अम्बा, शिरिषका पातहरु उस्तैगरी बताससँग जिस्केर चल्दै थिए - फुर्र-फुर्र । बताससँगै रमाइरहेका पातहरुलाई हेर्दै उस्को मन पनि उसैगरी रमाइरहेको थियो । केशवकी आमा पनि उसको छेवैमा आइन् र शिषिरको बोटतिर
हेर्दै बोलिन्, "बाबु ! ह्याँ (घडेरी देखाउँदै) घर बनाउँदा यो बुट ( शिरिषको बोट ) जोगाएस् है !" उसले समर्थनमा "हजुर" भन्यो । "आमा ! रमाइलो छैन त काठमाडौं ?" पर देखिएको रानीवनतिर मोहितनजर दौडाउँदै बोल्यो केशव ।
हरिताम्य पछ्यौरीमा सजिएकी नवदुलहीझैँ सुन्दर रानीवनलाई आमा छोरा दुबैले मन्त्रमुग्ध भई हेरिरहे । रानीवन हुँदै केही तल आफूहरू उभिएको छतदेखि केही वर विष्णुमति खोला छर्लंगै देखिएको थियो । चैते न्यानो घाममा केही आइमाई केटाकेटीहरू लुगा धुँदै थिए ।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest