यतिका महिना बल्छि थापेर पनि आफ्नो ढडियामा माछा नपर्ने निश्चित भए पछि रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिए । यसो गर्न , उनको ढडियामा माछा भर्न सकिन्छ भनेर खोला किनारमा बसेर उनलाई साथ दिने माधव नेपाल र केपी ओली नामका दुई माझीले हार खाएर लत्तो छोडेपछि मात्र सम्भव भएको हो । सुर्याउनेहरूले गति छाडेर एक्लै छाडी गए पछि, आफ्नै हूतिले माछा पक्रिने सामर्थ्य नभएकाले रामचन्द्रलाई नदी किनारमा बाँकि जीवन बिताउन सम्भव थिएन ।
आफ्नै पार्टीका वैकल्पिक नेता डाक्टर बाबुरामलाई प्रधानमन्त्रीमा मौका दिनु भन्दा एमाले नामको चमेरे पार्टीका अर्का लुब्ध कामरेड झलनाथलाई कामरेड प्रचण्डले उचालेका हुनाले, रामचन्द्रको उमेदवारी फीर्तिलाई उनले आफ्नो विजय ठानेको कुरा आजको कान्तिपुरमा पढ्न पाइयो । यो देखेर हाँसो मात्र उठेन ‘उचालेको कुकुरले मृग मार्दैन’ भन्ने उखान सप्रसंग याद आयो । हाम्रा उखानहरू बेजोड् छन् ।
रामचन्द्र प्रधानमन्त्री बन्ने कुरा जतिको अरुको निगाहमा भर पर्थ्यो , निवर्तमान प्रम माधव नेपालको नियति पनि त्यही थियो । माओवादीले सत्ता छोड्नु पर्ने परिस्थति आएपछि , कुटिल नेता गिरिजाले कम्युनिष्ट नामका दुईटा अवसरवादी पार्टीलाई लडाउने मौका स्वरूप माधव नेपाललाई प्रम हुन दिने प्रस्ताव अघि सारे । यो प्रचण्डको अवसरवादीता र उपयोगवादी व्यवहार माथिको प्रहार थियो भने , आफ्ना समकालीन राजनीतिका फट्के सांक्षी र मतियार माकुनेप्रति गरिदिएको ससानो उपकार पनि थियो । तर माधव कामरेडको सत्तारोहण र सत्ता बसाइको काकतालीले , एमाले नामको दहीच्यूरे पार्टीभित्र भने यदुवंशी गृहयुद्ध मच्चाएर छोड्यो । झलनाथ-वामदेव खेमाको वर्तमान संस्थापन पक्ष र माधव नेपाल-ओली खेमाको पूर्व संस्थापन समानान्तर शक्तिशाली पक्ष अहिले परस्पर बिरोधी शक्तिको शत्रूता बोकेर एकार्कालाई पल्टाउन उद्यत देखिएका छन् । यिनको मति र गति देख्दा , यिनले गरी खालान् वा गरी खान देलान् भनेर पत्याउन सकिने संकेत सुदूर क्षितिजसम्म देखा परेको छैन ।