August 9, 2011

बाह्रआना घडेरी, शिरिषको बोट र आमाको सपना

-लुना

"हाम्रो बुटोल (बुटवल) भन्दा त यताको (काठमाडौंको) हावापानी ठण्डा नि बाबु !" - बर्मेली लवजमा बोल्ने केशवकी आमाले 'नि' मा जोड दिएर बोलिन् र हातमा रहेको पिउरी कात्न व्यस्त भइन् ।

त्यसैबेला केही परको गणेशथान मन्दिरमा घन्टी बजेको सुनियो "टंग ! टंग !! टंग !!!" उनीहरू काठमाडौं गणेशथान नजिकै साइँला मामाको घरमा २-४ दिनको लागि पाहुना हुनआएका थिए , खासगरी केशबकी आमा पशुपतिमा बत्ती बाल्न आएकी थिइन् ।

मन्दिरबाट आइरहेको आवाजतिर ध्यान दिँदै केशब बोल्यो, "हजुर ! चिसै हो चैततिर पनि यत्तिको ठण्डा ! उतातिर (बुटवलमा) यतिबेला त छतमा बस्न कहाँ सक्नु !" यति भन्दै ऊ छतको डिलमा उभियो अनि आफ्नो परिबारले किनिराखेको घडेरीमा हर्लक्क बढिरहेका हरिया सागसब्जी र घडेरीको पश्चिम कुनाको छेउमा बतास सँगै फुर्र-फुर्र नाचिरहेका शिरिषका पातहरु हेरिरह्यो । उसका नजर छिमेकीको बगैंचातिर पनि दौडियो । त्यहाँ पनि भोगटे, अम्बा, शिरिषका पातहरु उस्तैगरी बताससँग जिस्केर चल्दै थिए - फुर्र-फुर्र । बताससँगै रमाइरहेका पातहरुलाई हेर्दै उस्को मन पनि उसैगरी रमाइरहेको थियो । केशवकी आमा पनि उसको छेवैमा आइन् र शिषिरको बोटतिर
 हेर्दै बोलिन्, "बाबु ! ह्याँ (घडेरी देखाउँदै) घर बनाउँदा यो बुट ( शिरिषको बोट ) जोगाएस् है !" उसले समर्थनमा "हजुर" भन्यो । "आमा ! रमाइलो छैन त काठमाडौं ?" पर देखिएको रानीवनतिर मोहितनजर दौडाउँदै बोल्यो केशव ।

हरिताम्य पछ्यौरीमा सजिएकी नवदुलहीझैँ सुन्दर रानीवनलाई आमा छोरा दुबैले मन्त्रमुग्ध भई हेरिरहे । रानीवन हुँदै केही तल आफूहरू उभिएको छतदेखि केही वर विष्णुमति खोला छर्लंगै देखिएको थियो । चैते न्यानो घाममा केही आइमाई केटाकेटीहरू लुगा धुँदै थिए ।
 बेला बेलामा ढुंगामा लुगा पछारिएको आवाज पनि सुनिन्थ्यो । तिनका स-साना भुराभुरीहरू केहि खोजेझैँ खोलाको किनारमा उफ्रिरहेका थिए । उसले सोच्यो, 'माछा छोप्न खोज्दा हुन् भुराभुरी' । लगत्तै वर गह्रागह्रा छुट्याइएको खेतमा ठड्याइएको पराले मचानमुनि केही किसान परिवारहरू एकै ठाउँमा गुजुमुजु परेर बसेका देखिन्थे ।" सायद थकाइ मार्दै चिया खाजा खाँदै होलान", उसको मनले सोच्यो । आफू छेवैको शिरिषको बोटमा अहिले थुप्रै भँगेराको चिरबिर स्वरसँगै कागको काँ-काँ स्वर पनि लगातार सुनिन थाल्यो । 'तिमीहरु काममा जाउला अनि म भुइँमा खसेका खानेकुराका टुक्राहरू खाउँला', सायद यहि भन्दो हो बाठो काग ! उस्ले मनमनै सोच्यो । भँगेराहरु चैं कहिले भोगटे, अम्बाको रुखमा त कहिले शिरिषको बोटमा फुर्र-फुर्र गर्दै थिए । 'यिनलाई बसन्त वैंश आयो', ऊ मुसुक्क हाँस्यो । तिनको फुर्र-फुर्रसँगै शिषिरका फूलहरू बुर्रबुर्र भुइँमा झर्दा उत्तरबाट आइरहेको हल्का बताससँगै तिनको मन्द-मन्द सुगन्धले बाताबरण शिरिषमय बनाईरहेको थियो । शिरिष सुगन्धबाट मोहित आमाले अनुरोध गर्दै भनेकी थिइन् "बाबु ! घर बनाउँदा यो बुट जोगाएस् है" ।

केहीबेरको आनन्दीपनपछि उसले आमातिर हेर्दै बोल्यो, "आमा ! हजुर ह्यैं बस्नोस् है, म झट्टै आउँछु"। यसो भन्दा उसका दुवै हात फ्रेम आकारमा माथि उठेका थिए, अनि पाइला लम्काउँदै तल झर्यो । आमाले उसको कुरा बुझ्न बेर लगाइनन् र एक्लै बोलिन्, 'अब यसले कतिन्जेल उभ्याउने हो मलाई !'
केशव ब्याग भिरेर माथि आइपुग्यो र हतार-हतार क्यानभास मिलाउन थाल्यो ।

'बाबु ! धेरै बेर नला' है, म त सक्तिन उभिन !'
'हैन हजुर बस्नु भए हुन्छ' भन्दै उसले छेवैको कुर्सीतिर इशारा गर्यो ।

आमा मुसुमुसु हाँस्दै कूर्सीमा बसेर कपास कात्न थालिन् । करिब २ घण्टा लगाएर स्केच तयार गरिसकेपछि आमातिर सधन्याबादको दृष्टि बिछ्याउँदै हाँस्यो ।

'बाबु ! म एकछिन उठे हुन्छ ?'
'हजुर ! अब उठ्नुभए हुन्छ', ऊ कुची चलाउनमै व्यस्त भइरह्यो ।

आमा उसको छेवैमा आइपुगिन् ।
'आमा ! यो माथिको निलो आकाश , मुनि रानीवन, त्यसपछि यो वरको (विष्णुमति खोला हेर्दै) खोला । सबै सबै अघि आफूहरुले हेरिरहेको दृश्यलाई स्केचमार्फत् क्यानभासमा उतारिसकेको थियो ।
उसले क्रमश: वर्णन गर्दै भन्यो, 'अब रंग थप्न मात्रै बाँकी छ'

'काँ-काँ (कहाँ-कहाँ) कुन-कुन रंग ला'उने तैंले कसरी सम्झन्छस् बाबु ?'
'यी हेर्नुस ! जुन-जुन ठाउँमा जस्तो रंग लगाउनुपर्ने हो, त्यै रंगको थोप्लो दिएको छु, यी हेर्नुस ! यो आकाशे निलो रंगको थोप्लो, यो मेहेदी हरियो र गाढा हरियोको मिश्रण रानीवनको लागि ।'
उस्ले रंगहरुको वृतान्त पनि बताउँदै बोल्यो, 'हजुरलाई मन पर्ने शिरिषको बोटलाई केन्द्रमा राखेर अरुलाई कर्नर मा राखेको छु, त्यसैले हजुर यो छेउमा' उस्ले अझै अर्थ्यायो ।

साँझ ६ बज्नै लाग्दा सकिनै लागेको उसको चित्रमा आमाको नाकको ढिके फुलीलाई सुनौलो रङ दिएर टल्काएको थियो । पछि उक्त चित्र त्यही साँझ मामा-माइजूको अनुरोधमा उनीहरूलाई
उपहारस्वरुप दिएको थियो ।
'केशब'
हस्ताक्षर सहित, '२०५०-११-२'।

***

१७-१८ वर्षअघिको सजिव जीवन्त चित्र हेर्दै इजाबेल बोली, "केल् क्याथ्रोस्तोप ! पुर ले मोम् काथ्मोन्दू ! ओ ! मो दियू ! भ्रे मो भ्रे मो थ्रिस्त । Que।।e catastrophe pour ।e moment Katmandou!
Oh! mon dieu! vraiment vraiment triste, ( वर्तमान काठमाडौंको बातावरण कति भयावह ! हे भगवान ! यो साह्रै नै दु :खलाग्दो कुरा हो ।)

आफू फ्रान्समै छदा नेपालमा २ बर्षअघि दिवंगत भएकी आमाको मुहार हेरिरहेको केशव हक्कानिएर बोल्यो, 'यूई से थ्रिस्त' Oui! c'est triste. -( हो दु:ख को कुरा)" ।

हक्कानिएको स्वर सुनी इजाबेलले केशवको मुहार हेर्दै बोलि , - 'केसाब ' !!!

भित्तामा झुण्डिएको चित्र हेर्दै ऊ १७-१८ बर्षअघिको अतीतमा डुब्दा उसका आँखा डबडब भरिएका थिए । अनि आमाको नाकको फूली धमिलिँदै गएपछि उसले बुढी औंलाले आँखाको आँशु झार्यो ।

ओह ! मो स्सेरी ! : Oh! mon cherie! - ( ओह ! मेरो प्रिय !) इजाबेलले मायालु हातले सहानुभूतिस्वरुप केशवको छाती थम्थम्याई ।

"पापा ! मो काथ्मोन्दू पात्युर गर्छ (Papa mo Katmandou peinture garchha - बाबा म काठमाडौंको चित्र कोर्छु)" भन्दै रङ समान बोकेर माथि गयो लव । कुश र लीलाचाहिँ "पजल"खेल्ने भन्दै पजल बोकी माथि गए । जेठो छोरा लवले सानैदेखि बाबुको कुचिकार कलालाई पछ्याएको थियो । उसो त कुश र लीला पनि पेन्टिङमा सौख राख्थे, तर लवझैं अब्बल थिएनन् ।
"इजा ! जि भे आभेक अँफ "(Isa! je vais avec ।es enfants. - इजा ! म बच्चाबच्ची सँग माथि जान्छु ।) "भन्दै केशव माथि गयो । इजाबेल किचनतिर लागिन् ।

केही बेरमै चिया लिएर इजाबेल र माइजू पनि छतमा आइपुगे ।
'मरिचा ते (मरिच चिया) !' भन्दै केशवलाई चिया दिँदै बोलिन् इजाबेल, 'Cherie ! j'ai pris de fair du मरिचा ते avec माइजू (प्रिय ! मैले माइजूसँग मरिच चिया बनाउन सिके) '
'Et j'ai deja prepare de cuisiner ce soir (साँझको लागि पकाउन पनि तयार गरेँ) , and I ।earn how to make chutney in Si ।auta. (अनि सिलौटामा चटनी बनान पनि जानेँ)'।
Bravo! ( गज्जब र बधाई भन्ने भावमा) केशब हाँस्यो ।

त्यसपछि इजाबेल आफ्नै सुरले छतको कुनातिर पुगिन् । केहीबेर अघि तल बैठकमा झुण्ड्याइएको जीवन्त चित्रका मनोरम दृश्य टाँसिएका इजाबेलका आँखा केही खोजीरहे झैँ
परपर पुगिरहेथ्यो ।

माइजू र केशबचाहिँ केटाकेटीहरूलाई हेर्दै चिया पिउन लागे । टेबलमाथि छरिएका रंग, पेन्सिलहरु समात्दै काठमाडौंको वर्तमान चित्र कोर्दै थियो लव । भुईमा ओछ्याइएको सुकुलमाथि बसेर
कुश र लिला आफ्नै सुरमा पजल खेल्दै थिए ।

चिया पिइरहेको केशवतिर हेर्दै माइजू बोलिन्, 'लफ्फे (चिया) बनाउन पनि सिक्नु भो मरिच मिसा'र ! भरे थम्मिन (खाना) पनि आफैं बनाउँछु भन्नु भा'छ भान्जी ब्वारी (बुहारी) ले । दाल भिजा'र आयौं हामी माथि ।'

'हजुरलाई मद्दत हुने भो माइजू !' केशब हाँस्यो ।
'बरा ! रर् (रहर) ला 'र त होला नि ! माइजूले 'नि'मा जोड दिएर बोलिन् ।

बर्मेली परिवारकी माइजूले बर्मेली भाषा मिसाउँदै बोल्थिन् । उसो त केशवकी आमा पनि बर्मा मै जन्मिएकी थिइन् । उनी नेपाल आउँदा १३-१४ बर्षकी थिइन् । २०२१ सालमा स्वर्गीय राजा महेन्द्रले
सबै प्रदेशी नेपालीलाई स्वदेश फर्कन आह्वान गर्दै "नेपाल फर्क अभियान"अन्तर्गत अनुरोध गर्दा बिदेशमा रहेका धेरै प्रवासी नेपालीहरु झैं केशवका हजुरबुवा पनि सबै परिवार लिएर नेपाल आएका
थिए । त्यो बेला राजा महेन्द्रले विदेशबाट फर्की आउने नेपालीहरुलाई नेपालको विभिन्न ठाउँमा जग्गा वितरण गरेका थिए । केशवका हजुरबुवाले नवलपरासीको प्रगतिनगरमा ८-१० बिघा जग्गा प्राप्त गरेका थिए, जहाँ थुप्रै थुप्रै प्रवासी बर्मेली नेपालीहरूले खोरिया फाडेर बस्ती बसालेका थिए । समयक्रमसँगै व्यापारको सिलसिलामा उनीहरू बुटबल बसाईं सर्न पुगेका थिए ।

'भान्जा बाबु ! लफ्फे (चिया) चिसो भो नि ! पिउनुस् !' चित्र कोर्न व्यस्त रहेको लवतिर हेर्दै सोच्मग्न रहेको केशवतिर हेर्दै माइजू बोलिन् ।
'हजुर' भन्दै बाँकी चिया एकै घुट्कोमा सिध्यायो केशवले ।
'दिनुस् भन्जा बाबु !' भन्दै रित्तो कपको चिया केशवको हातबाट लिँदै माइजू बोलिन्, 'भान्जी ब्वारीले अत्ता सारे गर्नुहुन्न ( मासु खानु हुन्न) भरे आँफै पकाउँछु भन्नु भा'छ । चेउ (च्याउ) लेराम भन्जा बाबु ?'
"हुन्छ नि माइजू, उसलाई मशरूप करी बनाउन राम्रै आउँछ ।' केशब इजाबेलतिर हेर्दै बोल्यो ।
'म आइहालेँ है भन्जा बाबु' भन्दै माइजू तल गइन् ।

केशव लवले बनाइरहेको चित्रमा घोत्लिदै बोल्यो , ' पापालाई भन त के बनाउदै छौ तिमी ? '
"यो तो मेजो ( घर) -- यो तो -- यो तो -- भन्दै उस्ले च्याउ सरि उम्रेका कन्क्रित का जङ्गललाई देखाउने कोशिस गर्‍यो । लवले बनाउँदै गरेको चित्र उराठलाग्दो देखिन्थ्यो । घरै-घरको थुप्रो बनाउँदा भित्तेपहरोझैं देखिन पुगेको थियो चित्र । यो चित्रमा लवले पनि शिरिषको बोट लाई नै केन्द्र बनाएर कोर्दै थियो । "बाबु ! ह्याँ घर बनाउँदा यो बुट जोगाएस् है !" उसको आँखा शिरिषको पातहरुमा
टाँसिन पुग्यो । आज भन्दा १७-१८ बर्षअघि यही शिषिरका पातहरू बताससँगै फुर्रफुर्र गर्दा सोडसीहरू बताससँग झिस्किँदै नाचिरहेको भान भएको थियो उसलाई । अहिले यी धुलाम्मे भएर फुस्रिएका पातहरू देख्दा रोग थकानले ओइलाएका वयोबृद्धझैं लाग्यो उसलाई ।

दयाभावले एकनाश टोलाएर हेरिरहेको पापाको ध्यानलाई भङ्ग गर्दै बोल्यो लव, 'पापा ! यो लुख !' (रुख - शिरिषको बोट )
केशवले चित्र हेर्दै बोल्यो, "अब यसमा (हाँगालाई देखाउँदै) चरी पनि बनाउ ।"
इजाबेल पनि केशवको छेउमा आइपुगिन् । यसैबीच माइजू पनि माथि आइपुगिन् ।

लवले बनाइरहेको चित्र दङ्ग परेर हेर्दै माइजू बोलिन्, "दुरुस्तै बनाएछन् भन्जा नातिले शिरिषको बुट ! कत्ती काउदे ! (काउदे - राम्रो) ।
अनि उनले लवले बनाउदै गरेको बोट र केशवको घडेरीको शिरिषको बोट देखाइन् इजाबेललाई । सबैको आँखा फेरि शिरिषको बोटमा पुग्यो । त्यही एउटा शिरिषको बोट बाहेक वरिपरी हरियो
केही बाँकी थिएन । बोट मुनि फोहोरका थुप्रा थुप्रिएका थिए ।
घडेरी अगाडि खुलेका बाटोमा बेला-बेलामा हुइँकिने मोटरसाइकलको आवाजले घडेरीमा थुप्राएका फोहरमा रमाइरहेका कागहरू भुर्र उड्दै पारिजातको हाँगामा बसेर ' काँ-काँ"गरिरहेका थिए ।
थुप्राइएको फोहोरतिर हेर्दै बोलीन् माइजू : 'भान्जा बाबु ! अब हजुरहरुले झट्टै घर बनाउनु परो । नत्र ह्याँ फोर ( फोहोर ) को पहाड बनाई छाड्छन् ! यतिका घनाबस्तीमा कसले कति बेला
फोर (फोहर) ल्या 'र फाल्छन् कसरी पत्तो पाउनु !'
अनि निधारमा गाठो पारिन् दिक्क लाग्दो भावमा । कुरा नबुझे पनि एक टकले माइजूको अनुहार हेरिरहेकी इजाबेलले ' के भन्नु भो माइजूले ' भन्ने भावमा आँखाको इशाराले प्रश्न गरिन् केशबलाई ।
केशवले माइजूको गुनासोलाई उल्था गरेर सुनायो इजाबेललाई ।
' क्याथ्रोस्तोप ! ' उस्ले खुईय सास फेरी ।
डेढ महिनाको छुट्टीमा नेपाल घुम्न आए पनि अबको १-२ बर्षभित्रैमा सधैंको लागि नेपालमै बसोबास गर्न कहाँ कसरी व्यवस्थित हुने भन्नेबारे योजना बनाउन आएका थिए केशब - इजाबेल ।
फ्रान्समा भएको घर सधैंको लागि बेचिदिने या बहालमा दिने सबै यही योजनामा भर पर्थ्यो ।

"माइजू ! काठमाडौंको जग्गा त सुनको टुक्रा जस्तो पो भएछ ! कहीँ खाली छैन !"
"हजुर ! १२ आनालाई त ३-४ भागमा टुक्राएर बेच्छन् यतातिर । उ ! त्यो परको चार तले कफी रंगको घर अम्रिकामा ८-१० बर्ष काम गरेर फर्केका प्रगतिनगरका
भुजेल दाईले बना' घर हो । जम्मा साढे २ आनामा ठड्या छ त्यो घर ! ऐले यता त आनाको २५-२६ लाख नाघिसक्यो !"

केशवले सबै उल्था गरेर इजाबेललाई सुनायो । इजाबेल छक्क पर्दै आँखी भौंमाथि उचाल्दै बोली , "क्यातोस्थ्रोप !" उसले मनमनै हिसाब गरी, फ्रान्समा गार्डेनसहितको उनीहरुको तीनतले घर र यो
१२ आना टुक्रा जग्गाको मूल्य उस्तै देख्दा ऊ जिल्ल परी । उसका आँखामा अतित दौडियो - २६-२७ बर्षअघि हनिमून मनाउन नेपाल आएका इजाबेलका पापा-ममले यहाँको प्राकृतिक सौन्दर्य, नेपालीहरुको आतिथ्यसत्कार, विविध संस्कृति आदिदेखि मोहित भई त्यो बेलाको नेपाललाई तस्वीरमार्फत खिँच्दै अनि डायरीमा वृत्तान्त लेख्दै इजाबेललाई पेटमा लिएर फ्रान्स फर्किएका थिए ।

१२-१३ बर्ष पछी इजाबेलालई लिएर उसका पापा-मम पुन: नेपाल घुम्न आएका थिए । घरमा आउने पाहुनालाई नेपालको तस्वीर देखाउँदै नेपालको बर्णन गर्नमा गर्व गर्थे उसका परिवार ।
इजाबेल १९ बर्षकी हुँदा स्टुडेण्ड भिसामा नेपाल आएकी थिइन् । त्यो बेला करीब ६ महिनाको नेपाल बसाइमा उनी पनि आफ्ना पापा-ममझैं नेपालसँग मोहित भएकी थिइन् । तत्कालीन नेपालसँग
धेरै-थोरै परिचित इजाबेलको मानसपटलमा केही दृश्य ताजै बनेर बसिरहेका छन्, जुन आज कथा झैं बनेको छ ।

ग्रामीण भेकमा जाँदा ५० पैसामा चिया पिएको, ५-१० रुपैयाँमा दाल, भात, तरकारी र अचार, अनि दैनिकरूपमा अड्कलले लिएको ५०-६० रुपैयाँको पूरै खर्च नहुँदा बचेको पैसामध्ये ६ महिनाको नेपाल बसाइपछि उनी फ्रान्स फर्किंदा स्वम्‌सेवक भएको विद्यालयका पियनलाई सहयोगुस्वरुप दिँदा तिनको परिवारले साँखुमा सानो टुक्रा जग्गा किन्न सकेको, ती परिवारको आँखामा देखिएको खुशी, यी
सब चलचित्रको छायाँझैं इजाबेलको आँखामा दौडिरहेको थियो ।

'भान्जी ! म तल जान्छु है किचनमा' । माइजू तल हिँड्ने तरखरमा लागिन् ।
'मो तिम्लाई हेल्प गर्छा माइजू , मो पनि जान्छा' भन्दै केशवको कुममा हातले थम्थम्याइन् र लामो स्वास फेर्दै माइजूसँगै तल गइन् । केही बेर इजाबेललाई पछ्याएको उसको नजर पुन :
शिरिषको बोटमा अडियो ।
आमाले "बाबु ! ह्याँ घर बनाउँदा यो बुट जोगाएस् है !" भन्नु भएको सम्झिँदै केशव एक्लै बर्बरायो 'आमा ! मलाई माफ गर्नुस् ! म यहाँ घर बनाउँदिन ! म यो घडेरी बेचिदिन्छु, अनि यो बोट -- '
उस्ले शिरिषको बोटमा नजर अड्याउन नसकी ' हे भगवान !' भन्दै आँखा चिम्म गर्यो ----


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !