May 27, 2011

बन्दूकको ब्रम्हनालमा सुतेको संविधानसभा

आज मे २८ २०११, तदनुसार जेठ १४ २०६८ को दिन नेपालको इतिहासमा पहिलो पटक गठित संविधानसभाको आयू सकिने दिन हो । शुरूमा २ वर्षे कार्यावधि र पछि थप गरिएको १ वर्षे कार्याकाल सकेर तीन वर्षे आयू पूरा गर्दै , कुनै सिन्को नभाँची यसले स्व-मृत्यूवरण गर्ने सक्ने परिस्थिति आइपुगेको हो । अन्तिम घडीमा कुनै चमत्कार नभएमा , यो सभा आज मध्यरात पछि इतिहास बन्न सक्छ ।
माओवादी पार्टीले शुरू गरेको जनयुद्ध नामको हिंसात्मक युद्धका हिंसात्मक र आपराधिक आतंकका १३ वर्ष, संसदीय कालका भ्रष्टाचार, अकर्मण्य र अस्थिरतायुक्त अन्तरसंघर्षका तिनै १३-१५ वर्ष, अनि बहुदलीय राजनीतिक व्यवस्थाका कारण आफ्नो विशेष अधिकार गुमाएको राजदरबारले आफ्ना विशिष्टता पुन: प्राप्त गर्न भरमग्दूर प्रयास गरेका षडयन्त्रमूलक तिनै १५ वर्ष र तिनको उत्कर्ष राजदरबार हत्याकाण्ड र राजा वीरेन्द्रको वंश बिनाश सम्म पुग्दा नेपालको आधुनिक इतिहास सबै बिडम्बनाहरूको सांक्षी बनिसकेको थियो । दरबार काण्डको पृष्ठभूमिमा राजा ज्ञानेन्द्रको अकण्टक राजा बन्ने महत्वाकांक्षाले माओवादीको अपेक्षा अनुरूप संकेत नमिल्दा, बहुदलीय राजनैतिक पद्दति बिरूद्ध थालिएको माओवादीलाई तिनै संसदीय बहुदलियताको पक्षमा उभिएर सहकार्य दियो । महत्वाकांक्षी राजा बिरुद्ध , संसदवादी दलहरू र माओवादीको गठबन्धन बनाउन भूमिका खेल्ने भारतिय राजनैतिक संस्थापनको चाहनाले मूर्त रूप लिँदा , १२ बूँदे सम्झौता र संविधानसभाको बाटो खोलिएको हो ।
शान्ति प्रकृयामा बहुदलियतालाई स्वीकार गरेर प्रवेश गरेको माओवादीले हिंसा र हिंसात्मक जत्थालाई त्याग नगरी संविधानसभाको निर्वाचनमा भाग लिन पाउने जुन विशेष अधिकार प्राप्त गरी , चुनाब लड्यो त्यसले उसलाई सबैभन्दा ठूलो दल मात्र बनाएन , उसका हिजोका हिंसात्मक र आपराधिक गतिविधिलाई क्षमादान दियो र अझै त्यही बाटोबाट अगाडि बढे बलीयो बनिने हौसला समेत थप्यो । फलत: शान्ति प्रकृया भनिएको कथित शान्ति सम्झौतामा कतै पनि हिंसा र अपराधलाई अनुचित सम्म मानिएन । अर्थात , हामी एउटा यस्तो लँगडो शान्ति प्रकृयामा सामेल भएर अगाडि बढ्यौँ जसले हिजोको हिंसाजनित , अशान्ति र हिंसालाई कत्तिपनि आलोचना नगरी विरोचित बनाउने काम गर्‍यो । यसको परिणाम , आज संविधानसभा गठन भएर ३ वर्ष बितिसक्दा र संविधानसभा अवसानको घडीमा उभिँदा पनि , माओवादीले संविधानसभा जोगाउन भन्दा आफ्ना हतियारहरूलाई अँगालो हालेर प्रेम दर्शाउन उचित ठानिरहेको देखिन्छ । माओवादी हतियारबाट अलग्गिन पटक्कै चाहन्न भन्ने कुरा हिजो उसका नेता प्रचण्डले ‘ रगतसंग साटेका बन्दूक , बुझाइन्न’ भन्ने भनाइले पनि पुष्टि गरेका छन् । हिजो सम्म भएका वार्ताहरूलाई सहमतिको विन्दूमा पुर्‍याएर , सत्ता नेतृत्व लिन भन्दा कामरेड प्रचण्ड हतियार नत्याग्ने हठमा पुग्नुले उनीहरूलाई आफ्नो सत्ता कब्जाको नियत भन्दा अरू कुनै कुरो बढी महत्वको छैन भन्ने लाग्छ भन्ने नै हो ।
हतियार र हिंसालाई जनमतको छापले सफाइ दिन सकिन्छ भनेर बनाइएको संविधानसभा अहिले बन्दूकलाई प्रिय ठान्नेहरूबाट बन्दूक कै ब्रम्हनालमा पुर्‍याइएको छ । ख्याल-ख्याल गर्दा यसको अन्त्य पनि हुन सक्छ । हिंसात्मक युद्ध, जनआन्दोलन र युग अनुसारको चेतनाले लक्ष्य गरेको लोकतन्त्र र शान्तिपूर्ण नेपालको तस्वीरलाई हतियार र हिंसाको बलमा आफ्नो अधिनायकीय बाटोमा बलजफ्ति हाइज्याक गर्न खोज्नेहरूका कारण फेरि पनि देश दुर्घटनाको मोडमा खडा हुन पुगेको छ ।


4 Comments:

Anonymous said...

sahi kura garnu bhayo. Yo sambidhan banduk kai naal ma adkeko chha. tara bolne ko? yestai chha dunia.

sanu jange said...

jati kosis gare pani sala banduke haru le harne chan ani loktantra le jitne cha ....

Biplabb said...

sambhidan ta baneko banaye ho.

Nepalean said...

Khasma desh lai dine k ho, garne k ho, sispasta hunu parcha. Yeha ta euta le yeso bhanyo ani arko ho na ho lagayera hidchan, bujekko kasaile hoina. Sambidhan sabha pani tehi ho. Desh lai kaya palat garne bani ka saath suru bhayeko sambidhan sabha ahile mirtyu saya ma pugekko chha. afnai ayu ko thegan chhaina aba yesle jana talai k garla?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !