March 4, 2011

कृपया, शिक्षा क्षेत्रलाई राजनीति मुक्त पारौँ

हुनत विश्वविद्यालयलाई व्यारेक बनाउनुपर्छ भन्नेहरू संग यस्तो प्रस्ताव गर्नु , मूर्खता हुन सक्छ । तर पनि यो भन्नै पर्छ , अब हाम्रो मुलुकमा राजनीति गर्न विद्यार्थीको प्रयोग नगरे पनि चल्ने भैसकेको छ । निर्दलीय पञ्चायती कलामा , राजनैतिक पार्टीहरू प्रतिबन्धित थिए , पञ्चायती पक्षधरहरूका लागि मात्र मुलुकको राजनीति पेवा थियो । असहमत विचार वर्जित थियो । तर चेतनाको फराकिलो संसारलाई जान्न बुझ्न खोज्ने विद्यार्थी वर्गले स्वतन्त्र विद्यार्थी युनियनको नाममा फरक प्रतिपक्षीय राजनीतिको स-सानो प्रयोगका लागि स्थान बनाएका थिए, महाविद्यालय र विश्वविद्यालयहरूमा । विद्यार्थीहरूले आफ्नो संघर्षका कारण विश्वविद्यालय र कलेजलाई बाह्य राजनीतिको ठाडो हस्तक्षेपबाट स्वायत्त राख्न सकेका थिए । फलस्वरूप विद्यार्थी युनियनको रूपमा बहुदलियताको स-सानो अभ्यास सीमित ठाउँमा भएपनि सम्भव भएको थियो । विद्यार्थी युनियनको चुनाबमा भाग लिने बिभिन्न प्रतिबन्धित पार्टीप्रति वफादार विद्यार्थी संगठनहरू थिए र स्वतन्त्र विद्यार्थी युनियनको चुनाबकालागि ती विद्यार्थी संगठनहरूका बीच हुने भिडन्तले बहुदलीय राजनीतिक चुनाबको स-सानो झझल्को गराउँथ्यो । तर पनि सबै कुरा राम्रो भने थिएन । कतिपय कलेजमा विद्यार्थी युनियनको नाममा हुने राजनीतिले, पठनपाठन गतिविधिको सम्पूर्ण रूपमा धज्जी उडाउने गरेकोहुन्थ्यो भने कहीँ राजनीतिको नाममा बिभिन्न समूहबीच गुण्डागर्दीका वारदातहरू महिनौसम्म चलिरहेका हुन्थे । यिनै विद्यार्थी राजनीतिका तनाबहरूले कतिपय स्थानमा हुने भिडन्तहरूमा मृत्यू र अङ्गभङ्ग बिच्छिन्न हुने घटनाहरू नभएका पनि हैनन् । थुप्रै व्यवधान, हिंसा र अप्ठ्याराहरूबीच पनि विद्यार्थी राजनीतिले , मुलुकमा रहेको एकदलीयताको राजनीतिक तानाशाहीभित्र, फरक विचार अभिव्यक्ति र क्रियाशिलताको एउटा स-सानो वैकल्पिक प्रयोग स्थल छुट्याइदिएको थियो र विविध विद्यार्थी संगठन र युनियनको चुनाब यसैका लागि थियो भनेर मान्नु पर्छ , त्यतिबेलाको परस्थितिमा विद्यार्थी राजनीति उचित थियो भन्ने मान्ने हो भने पनि ।
तर आज परिस्थिति पूर्ण फरक छ । अहिले खुला राजनीतिमा कसैलाई दल खोल्न र विचार राख्न कसैले प्रतिवन्ध गरेको छैन । हाम्रो मुलुकमा असंख्य राजनीतिक र व्यक्तिगत विचार बोकेका दलहरू अस्तित्वमा आएका छन् र ति कृयाशिल नै छन् ।यहाँसम्म कि अहिले शान्त रूपमा राजनीतिक विचार र दर्शन बोकेका दलहरू बाहेक , फरक विचार बोक्नेहरूलाई मार्नै खोज्ने वा सफाया गर्नु पर्छ भन्ने व्यवहारिक फर्मान जारि गर्ने दलहरू पनि वैध अवैध रूपमा कार्यरत छन् मुलुकभरि । राजनीतिको अखाडा सबैका लागि खुला छ र मन लागे भिड्न सजिलो छ अहिले ।
राजनैतिक दलहरू बाहेक हरेक वर्गीय , पेशागत , तह र तप्काका नेपालीहरू कुनै न कुनै दलको समर्थक युनियन वा भ्रातृसंगठनमा लागेर राजनीतिमा होमिएका छन् वा त्यो अवसर पाएकै छन् । वास्तवमा भन्ने हो भने अहिलेको नेपालमा यस्तो कुनै कुनो छैन, जहाँ राजनीतिको सुगन्ध वा दूर्गन्धले नाकै थुन्न पर्ने परिस्थिति नआओस् । भन्नुको तात्पर्य , राम्रो -नराम्रो दुवै गन्ध अति भए पछि नाक थुन्नै पर्छ , सहन गाह्रो पर्छ ।
मुलुकको अति राजनीतिकरणले हरेक क्षेत्र , पेशा र वर्गमा ठाडो र तेर्सो बिभाजनहरूको अनुभव हामीले गर्नुपरेको छ । राजनीतिको प्रयोग मुलुकका लागि एउटा निश्चित सीमासम्म उचित र आवश्यक भए पनि , हरेक पक्ष र क्षेत्र यसैको चपेटामा परी मुलुकलाई नै गतिहीन अवस्थामा ल्याइपुर्‍याउने कारक बन्न पुग्छ भने , यसका बारेमा हामीले सोच्नै पर्ने हुन्छ । नेपालको कुरा गर्दा , नेपाली जनजीवनको अति राजनीतिकरण र बिभाजनलाई अलिक खुकुलो र सजिलो बनाएर मुलुकवासीका लागि सहजता प्रदान गर्नु पर्ने समय आइसकेको छ भन्नै पर्ने हुन्छ । यसमा पनि उचित पठन –पाठनका लागि पर्याप्त ध्यान र प्रयास जुटाएर भोलिका लागि असल र सफल नागरिक बन्ने प्रयासमा जुटेका कलेज र विश्वविद्यालयका विद्यार्थीहरूले आ-आफ्नो प्राथामिक महत्वको कुरामा बढी जोड लगाउने परिस्थिति प्रदान गर्न शिक्षा आर्जनका यी पवित्रस्थलहरूलाई राजनीति निरपेक्ष राख्नै पर्ने भएको छ ।
विद्यार्थी चेतनाका पुञ्ज हुन् र उनीहरूले मानव जीवनका हरेक विषय र पक्षका बारेमा ज्ञान राख्नु आवश्यक छ । मुलक भित्रै कलेज वा विश्वविद्यालय परिवेशभन्दा बाहिर भैराखेका वा हुने राजनैतिक घटनाक्रमको बुझाइ र संलग्नताबाट विद्यार्थी बिमुख रहेका हुँदैनन् र हुन पनि हुँदैन । प्रत्यक्ष राजनीतिको प्रभावबाट बाहिर राखेर पनि , विद्यार्थीले राजनीति बुझ्दै नबुझ्ने कुरा हैन , चाहेर वा नचाहेर यो बुझिन्छ नै । यो विधिले गरिने बुझाइ अझ , निष्पक्ष र वस्तुगत हुन सक्छ । तर यो खालको ज्ञान र अनुसन्धानको प्रयास स्वतन्त्र र निरपेक्ष भयो भने बढी वस्तुगत पनि हुनसक्छ । विद्यार्थीलाई कलेजदेखि झण्डा र नाराको कढी पिलाएर दिक्षित गरिरहनु पर्ने जरुरत कत्ति पनि छैन । सकृय राजनीतिको नशा भएकाहरूलाई , खुला राजनीतिको पर्याप्त अवसर उपलब्ध छँदैछ । शिक्षालयलाई राजनीतिको प्रयोगस्थल बनाएर , अधिकांश विद्यार्थीको भावना र आवश्यकतासंग खेलबाड गर्नु पर्ने कुनै जरूरत र अधिकार कसैलाई पनि नहुन पर्ने हो ।
पढाइ , अनुसन्धान र अध्ययनका समयमा विद्यार्थीले तिनै कुरालाई उच्च महत्वकासाथ अपनाएर निस्कन सके भने , हाम्रा बीचमा सक्षम जनशक्तिको पहुँच सुलभ हुन्छ । मुलुकलाई वा हामीलाई विश्वविद्यालय र कलेजले अध्ययन, अनुसन्धान, खोज र सामर्थ्यले सुसज्जित असल नागरिकहरू उत्पादन गरी सुम्पन्नु पर्छ , त्यो तिनको पहिलो र एक्लो कर्तव्य हो । विचार र व्यवहारले संकीर्ण , क्षमताका हिसाबले शुन्य र अध्ययन-अनुसन्धानबाट भागेर , बिभिन्न राजनैतिक नेताहरूका वरपर घुम्ने बानी परेक क्षमता बिहीन विद्यार्थी नेताहरूलाई आफ्नो , भावी राजनितिको लञ्चिङ प्याडको रूपमा कलेज र विश्वविद्यालय को राजनीति जरूरत परे पनि , ९९% विद्यार्थी शिक्षा क्षेत्र राजनीतिमुक्त होस् भन्ने चाहन्छन् । के नेपालमा यस्तो हुन सम्भव होला ?
-कृष्ण पौडेल


5 Comments:

Anonymous said...

प्रस्ताव त सही हो , तर यो मुलुकाँ राजनीति नगरी कसैको भात पच्छ र ? अनि कसले मान्छ यस्तो कुरो ? नचाहिँदो कुरो भयो यो ।


हरिशरण

Luna said...

तपाइको प्रस्ताब सहि हो . शिक्षा छेत्रलाइ राजनीति मुक्त पार्नु जरुरि छ . यसको लागि अब बन्ने संबिधानमा कडा कानून बनाउनु पर्छ हाम्रा नेताहरु बिधालय - कलेजमा पुगेर भासन गर्न नपाउने नियम बनाउनु पर्छ . चुनाबको बेला बिधालय - कलेजको भित्ता पोतेर कयौ बिधार्थीको दिमाग पखालिरहेको हुन्छ त्यो राजनीतिक माहौलले ! अनि यो नेता मेरो त्यो नेता तेरो यो पार्टी मेरो त्यो पार्टी तेरो भन्दै
आपसमा झगडा गर्छन हाम्रा युबा कर्णधारहरु !
पढ्ने बेलाको कत्ति महत्वपूर्ण समय यसरि बिग्रिन्छ कि अधिकांश तिनै राजनीति गर्दा पढाई बिग्रिएकाहरु नै पछी फेरी त्यस्तै बिग्रिएको नेता पो बन्छ ! अनि यस्ता
नेताले हल्लाको मुलुक कैल्यै स्थिर हुन्छ ???

deepak said...

tyo nepalko sobiyu nai kharej garnu parcha. balla campus ma politics hudaina. netaharule bharstachar garna sobiyu bata nai practice garchan.

Nepalean said...

कृष्ण सर असम्भ भन्ने त कुरै छैन। बिदेश तिर स्कुल कलेजमा राजनिती हुन्छ,राष्टपती,सिनेटर केलज तिर आउंछन तर भाषण दिन्छन अनी जान्छन। ति बिचार बिधार्थीले एनालाइसिस गर्छन तर स्कुल तालै लगाउने या क्यामपस प्रमूखलाई ताला लगाएर थुन्ने काम भने गर्दैनन। बिधार्थी भबिष्यका नेता या मन्त्री हुन तर हरेक बिधार्थी मन्त्री बन्दैनन त्यसैले हरेक बिधार्थी उतारेर आफ्नो शक्ती देखाउने प्रयास नेताहरुले नगरे ९९% शिक्षा क्षेत्र राजनीतिमुक्त पक्कै पनि रहला।

Nepalean said...

यो ब्लग पढेर कमेन्ट के राखेको थिएं,बसन्तजीको ब्लगमा(http://www.basantagautam.com/ क्यामपस नै थप्प भनेर लेख राख्नुभएको रहेछ। अब भयो त? जती कराए पनि चैत ताल हाम्रा स्कुल क्याम्पसमा छ्याछस्ती देख्न पाइन्छ। अनी देश कताबाट माथी लागोस त।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !