January 13, 2011

उचालेका कुकुरले मृग मार्दैनन् ।

यतिका महिना बल्छि थापेर पनि आफ्नो ढडियामा माछा नपर्ने निश्चित भए पछि रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिए । यसो गर्न , उनको ढडियामा माछा भर्न सकिन्छ भनेर खोला किनारमा बसेर उनलाई साथ दिने माधव नेपाल र केपी ओली नामका दुई माझीले हार खाएर लत्तो छोडेपछि मात्र सम्भव भएको हो । सुर्‍याउनेहरूले गति छाडेर एक्लै छाडी गए पछि, आफ्नै हूतिले माछा पक्रिने सामर्थ्य नभएकाले रामचन्द्रलाई नदी किनारमा बाँकि जीवन बिताउन सम्भव थिएन ।
आफ्नै पार्टीका वैकल्पिक नेता डाक्टर बाबुरामलाई प्रधानमन्त्रीमा मौका दिनु भन्दा एमाले नामको चमेरे पार्टीका अर्का लुब्ध कामरेड झलनाथलाई कामरेड प्रचण्डले उचालेका हुनाले, रामचन्द्रको उमेदवारी फीर्तिलाई उनले आफ्नो विजय ठानेको कुरा आजको कान्तिपुरमा पढ्न पाइयो । यो देखेर हाँसो मात्र उठेन ‘उचालेको कुकुरले मृग मार्दैन’ भन्ने उखान सप्रसंग याद आयो । हाम्रा उखानहरू बेजोड् छन् ।

रामचन्द्र प्रधानमन्त्री बन्ने कुरा जतिको अरुको निगाहमा भर पर्थ्यो , निवर्तमान प्रम माधव नेपालको नियति पनि त्यही थियो । माओवादीले सत्ता छोड्नु पर्ने परिस्थति आएपछि , कुटिल नेता गिरिजाले कम्युनिष्ट नामका दुईटा अवसरवादी पार्टीलाई लडाउने मौका स्वरूप माधव नेपाललाई प्रम हुन दिने प्रस्ताव अघि सारे । यो प्रचण्डको अवसरवादीता र उपयोगवादी व्यवहार माथिको प्रहार थियो भने , आफ्ना समकालीन राजनीतिका फट्के सांक्षी र मतियार माकुनेप्रति गरिदिएको ससानो उपकार पनि थियो । तर माधव कामरेडको सत्तारोहण र सत्ता बसाइको काकतालीले , एमाले नामको दहीच्यूरे पार्टीभित्र भने यदुवंशी गृहयुद्ध मच्चाएर छोड्यो । झलनाथ-वामदेव खेमाको वर्तमान संस्थापन पक्ष र माधव नेपाल-ओली खेमाको पूर्व संस्थापन समानान्तर शक्तिशाली पक्ष अहिले परस्पर बिरोधी शक्तिको शत्रूता बोकेर एकार्कालाई पल्टाउन उद्यत देखिएका छन् । यिनको मति र गति देख्दा , यिनले गरी खालान् वा गरी खान देलान् भनेर पत्याउन सकिने संकेत सुदूर क्षितिजसम्म देखा परेको छैन ।

संविधानसभा र संसदको सबैभन्दा ठूलो पार्टी भएका कारणले सरकारको गठन माओवादी नेतृत्वमा नै बन्नु पर्ने हो । तर ऊ समानान्तर सेना र सत्ता कब्जाको रोमाञ्चकारी योजना बोकेको शक्ति पनि भएकाले उसका भावी राजनीतिक उद्देश्यहरुप्रति उसले अरू शक्ति र पक्षहरूलाई विश्वासमा लिनु पर्ने हुन्थ्यो , तर उसले त्यो गर्न नचाहेको देखियो । यस्तोमा मनोमालिन्य र अविश्वास बढ्ने नै भयो । सबै राजनैतिक दलहरूमा कुनै न कुनै खाले बिभाजनका धाँजा कोरिँदै जाँदा , एकार्कालाई भीडाएर लाभ लिन खोज्ने प्रवृत्तिबाट ठिमाहा रूपमा जन्मिने सरकारहरूको गठनले सत्ताको मोजमज्जा क्षणिक रूपमा लिन सक्ने बाहेक मुलुकको स्थायी राजनैतिक निकासका लागि केहि गर्न सक्ने देखिन्न। यो लोभी र पापीको भिडन्तमा मौकामा चौका खोज्ने लुच्चाहरूको क्षणिक खुशीले मुलुकलाई दीर्घकालीन रसातलतर्फ धेकल्छ।

तसर्थ उचालेका कुकुरहरू द्वारा मृगको शिकार गर्न खोज्नु भन्दा, शिकारी कुकुरलाई नै अगाडि बढाउन उचित हुन्छ। तर शिकारी कुकुर पनि इमान्दार भएन र शिकार वास्तविक मालिक ( जनता) लाई नदिएर आँफै लुँड्याउने खालको भएपछि चौतर्फी बित्यास हुन्छ । तर पनि उचालेको कुकुर त झनै अकर्मण्य हुन्छ ।


7 Comments:

itsNepal said...

its really great point,,,uchaleko kukurle mriga mardaina,,,, yes ,,,,,,,
i love dautari all post its really true or good point
itsNepal blogspot .com love dautari
pls all fans of dautari Review my blog http://itsnepal.blogspot.com

Nepalean said...

माधब कुमार नेपाल र रामचन्द्र पौडेल सायद उचालेकै कुकुर होलान,त्यसैले लुते कुकुर झै माखा टोक्दै बसेका छन। तर मलाई सबभन्दा अचम्म लागेको कुरा के भने आफ्नै पार्टीको सरकार हुंदा आफ्नै पार्टीका मान्छेले ढालेर पून आफ्नै पार्टीबाट प्रधान मन्त्री बन्न खोज्नु एमालेको काम कती लाजमर्दो छ? यस्ले एमालेलाई कती फाइदा भयो कती हानी भयो भन्ने त भबिष्यमै थाहा होला तर ६ बर्षे बालक चकलेटको भरमा लठ्ठिए जस्तै एमालेका केही नेता प्रलोभनमा लठ्ठीनू उदेकलाग्दो नै छ।

खनालको उमेदबारी फिर्ता पछी पौडेलको उमेबारी फिर्ता आयो। अहिलेको परिपक्ष हेर्दा शिकारी कुकुर होइन फेरी पनि उचालीएकै कुकुर प्रधानमन्त्री बन्ने छ। बाघहरू कोठा कोठामा भेला गर्दै एक अर्काको खुट्टा तान्दा स्यालाई चाखे दाउ पर्ने पक्का छ।

Dipak said...

Lutekukur-Ramchandra ra jala nath khanal
Shikhari kukur-Girija koirala
Bhukne kukur-Prachanda
Bhusya kukur-Paras
Bauola kukur-YCL
Hawadari kukur-KP Oli
Bhote kukur-Bam dev Sharma

yi sabai neta kukur nai hun. tara kam nalagane kukur.

Luna said...

यर्थात लेख्नु भो एक्लब्य जि ।

Ramesh said...

ko hola ta pradhan mantri? kun party le banaula sarkar? lau bhanau..

Nepalean said...

फेरी पनि प्रधान मन्त्री हुने पालो एमालेकै हुनसक्छ। भन्छन नि सौताको रिषले पोइको काख फोहोर गर्ने,बस माओबादी र कांग्रेस बिचको युद्दले एमालेलाई फेरी चिठ्ठा पर्ला जस्तो छ। अन्य साथीहरुको बिचार के छ कुन्नी?

PD said...

I have heards Baburam Bhattrai is ahead of the game. His name was there for a long time but it was not an appropriate time for him. Now the time has finally come. Good luck baburam.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !