शर्मिला खड्का (दाहाल)
जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौं, हजारौं, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर । नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर ‘पत्रकार’ लेखिएको टिसर्ट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको ब्यानरमुनि स्वयंसेवकहरू सेवा गर्न तल्लीन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आँखाहरूले पछ्याएझैँ लाग्छ । ती आँखाहरू कालो चस्माभित्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझैँ लाग्छ । म यथावत् रूपमा ठेलामा अडेस लगाएर उभिरहेकी छु अनि हेरिरहेकी छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यक्रम सञ्चालक शान्तिपूर्ण सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवयित्री कविता पाठ गर्छिन् ।
राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझिदनँ । म केही सतर्क हुँदै चारैतिर आँखा दौडाउँछु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सेर भागदौड हुनसक्छ । फेरि पनि ती जोर आँखाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यक्रमतिर ध्यान बटुल्छु ।
एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारी हरू उत्तेजित हुँदै नाच्न थाल्छन् । म आफ्नै ठाउँबाट मौन समर्थन जनाउँछु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म सतर्कता अपनाउने क्रममा फेरि आँखा दौडाउँछु । फेरि उही आँखाले पछ्याएको
पाउँछु । म आफूलाई लुकाउछु र चोर नजरले हेर्छु । फेरि पनि ममाथि आँखाहरू बिछ्याएको नै पाउँछु । कतै चिरपरिचित हो कि म ध्यान बङ्ग्याउँछु । होइन, कतै भेट भएको छैन । ऊ त पत्रकारजस्तो पनि लाग्दैन । पत्रकार भए टिसर्ट लगाउनुपर्ने, म एक्लिँदै कार्यक्रमतिर ध्यान बटार्छु । ठेलामा काँक्रा र खरबुजा बेच्न राखिएका छन् । केही मानिस त्यतैतिर आउँछन् । खरबुजा खान । मेरो ध्यान मोडिन्छ । त्यतैतिर त्यस हुलमा उक्त कालो चस्मा लगाउने मान्छेलाई देख्छु । पुरुषहरू नारीलाई किन यति बिध्न चासो दिएर हेर्छन् ? हुन त पुरुषलाई हेर्ने नारीको सङ्ख्या पनि समाजमा कम नहोला । तर म त्यति बिध्न सुन्दरी पनि छैन कसैको नजरलाई यति बढी आकर्षित गर्न सकूँ ऊ मेरो छेउमा आउँछ ।
“मलाई चिन्नुभएन ?” अप्रत्याशित शब्दहरूले मलाई आक्रमण गर्छन् । म झस्कन्छु ।
“अह”
“ल, अब भन्नोस् ” उसले चस्मा फुकाल्छ ।
“तपाइर्“ श्रीकान्त नेपाल †” मेरो मुखबाट अनायास निस्कन्छ ।
“हो ।” बल्ल हेराइको रहस्य खुल्यो । म छक्क परेँ ।
“तपाईँ किन त्यस झुन्डमा ?”
“म पत्रकार हुँ।”
श्रीकान्तले ‘कार’ उपाधि पाइसकेछ । हामी कुनै समय एउटै कक्षाका सहपाठी थियौँ । ऊ पत्रकारिता पढ्न गएछ, मलाई थाहा थिएन । अहिले ऊ चिनी नसक्नु भएछ । भौतिक बनोट पनि असाध्यै आकर्षक देखिन्छ । म पत्रकारहरूलाई सम्मानजनक नजरले हेर्छु । किनभने जनआन्दोलनमा उनीहरूको भूमिका सराहनीय छ । जुलसमा मध्यस्थताको भूमिका उनीहरूले निभाएका हुनाले रगतको खोलो बग्न कम भएको छ । तेह्रौं दिनदेखि को जनआन्दोलन चरम उत्कर्षमा पुगेको छ । कति चोटि कतिपय ठाउँमा पत्रकारहरू स्वयंले पनि रगतको खोला बगाउनुपरेको थियो अनि निरङ्कुशताको वज्रपात पनि सहनुपरेको थियो । कतिपय जनताले त राजतन्त्र प्रतिको आस्था मरेर तेहौँ दिनको काम कपाल समेत खौरने गरेका थिए ।
‘‘म पत्रकारलाई इज्जत गर्छु ।’’ मैले छोटकरीमा भनेँ।
करिब दश वर्षपछि हाम्रो भेट भएको थियो । मेरो निधारको टीका र घाँटीको मालाले विवाहिताको परिचय दिएको थियो । मलाई पनि ऊसम्बन्धी व्यक्तिगत खुल्दुली जाग्यो तर अवस्था अनुकूल थिएन । कुनै पनि समयमा भागदौड हुनसक्थ्यो । मैले आफ्नो बचाउका लागि भाग्नुपर्थ्यो भने ऊ अरूको बचाउका लागि दौडनुपर्ने अवस्था थियो । त्यसैले परिवेश प्रतिको संवेदनशीलताले हाम्रो संवादलाई बाधा दिइरहेको थियो । धेरै दिनको बन्दले आमजनताले पालेको तनावले म पनि ग्रस्त थिएँ भने ऊ पत्रकारहरूलाई गरेको कुटपिटले आक्रोशित थियो ।
ऊ कसरी, किन यो शहरमा देखा पर्यो, कौतुहलको आँधीले घेर्यो मलाई ।
“तपाईँ पत्रकार, तर तपाईँको नाम कतै पत्रिकामा देख्दिनँ नि ?” हुर्रिँदो मानसिकताले उत्सुकता मेटाउने प्रयास गरेँ ।
“म छद्मनामले लेखहरू लेख्छु ।”
म असामज्स्यको लिङ्गे पिङमा मच्किन्छु । एउटा पत्रकार छ जसको नाम सन्देश हो । उसका रचनाहरू म असाध्यै मन पराउँछु । उसलाई म मेलमार्फत धन्यवाद र बधाई पनि दिइरहन्छु । म अनिश्चितताको कालो बादलमा मडारिन्छु कुहिरोको काग भएर, परिवेशजस्तै । म अत्यन्त प्रभावित छु उक्त पत्रकारका लेखहरूबाट । त्यसैले उसलाई मेलमार्फत आफ्ना मनका धेरै कुराहरू गर्छु । । म आन्तरिक पीडा पोखिरहेको छु मेलमा–
‘जीवन गहिरो छ, जति बहँदै गयो उति नै गहिरिँदै जाँदो रहेछ । किन हो तपाईँको लेखहरूले मलाई नयाँ ऊर्जा दिन्छ । नयाँ शक्ति दिन्छ । त्यो शक्तिले मलाई सधैं तानेजस्तो लाग्छ । अनि ती हातहरू हेरूँ–हेरूँ र चुमूँ–चुमूँ जस्तो लाग्छ जसले यति सुन्दर शब्द, भाषा र शैलीहरू पोख्छन् । कहिले म पागल भएर तपाईँ का शब्दहरूसँग उडिरहूँ कल्पनाको आकाशमा अनि कहिले यथार्थमा नफर्कु जस्तो लाग्छ तर यो असम्भव छ । मलाई थाहा छ । तर म त्यही असम्भावनामा रमाउन चाहन्छु ।’
मलाई आफ्नो मेल सम्झेर लाज लागेर आउँछ । म धकाउँछु । श्रीकान्तलाई उसको छद्मनाम सोध्ने आँट आउँदैन कतै श्रीकान्त नै होइन उक्त पत्रकार भए के भो त आखिर मैले पनि त छद्मनाम नै प्रयोग गरेकी छु उसले कसरी थाहा पाउँछ र ?
एउटा चर्को भाषण सुरु हुन्छ । हाम्रो ध्यान भाषणले तान्छ । म उसलाई त्यति चासो नदिएको नाटक गर्छु । म नाटकमा सफल हुने प्रयास गरिरहेको हुन्छु । घरीघरी म मेलका वाक्यहरूमा अल्झन्छु –
“प्रत्येक दिन म तपाईँको रचनाको प्रतीक्षामा हुन्छु । रचना आउन केही दिन ढिला भयो भने मलाई छटपटी बढ्छ । त्यस छटपटीलाई म शब्दमा बदल्न सक्तिनँ ।”
ऊ प्रायजसो छोटा मेल पठाउने गर्छ ।
‘तपाईँहरू जस्ता पाठकले नै मेरो लेखनशक्तिलाई बढाइदिएको छ ।’
“तपाईँ अहिले के गर्दै हुनुहुन्छ ?” उसको वाक्यले म यथार्थमा पछारिन्छु ।
“तपाईँसँग गफ गर्दै छु ।” म हल्का जबाफ दिन्छु । कतै मेरो मुखबाट पत्रकारलाई मेल गरेको कुरा फुस्कन्छ कि ? म अझ सतर्क हुन्छु ।
भाषण अझ जोसिलो बन्दै जान्छ । आन्दोलनकारीहरू बुरुकबुरुक उफ्रँदै ताली मार्छन् । भाषणले भन्दै छ –
‘राजाले गोलीगट्ठा तयार गरेको छ तर हामी जनताको गोली बोली हो । हामीले चार दिनका लागि भनेर मात्र तयार गरेका थियौँ । तर तेह्रौं दिन बित्दा पनि हाम्रो बोली कसरी जीवित भइरहेछ भन्ने कुरा निरङ्कुश राजाले बुझ्दैनन् । ऊ शक्तिको भरमा टिकिरहन चाहन्छ । ऊ दमनको सास फेर्छ र अत्याचारको भात खाइरहेको छ ।’
भाषणले सबैलाई तताउँछ । हामी पनि उत्तेजित हुँदै ताली बजाउँछौँ ।
“तपाईँ कतिको लेखहरू पढ्नुहुन्छ ?” उसले मेरो ध्यान मोड्दै सोध्छ ।
“पढ्छु राम्रा लेखहरू, पत्रकारमध्ये सन्देशका लेखहरू खूब चाख दिएर पढ्छु ।” उसको छद्मनाम सोध्ने अझै पनि ममा साहस छैन । त्यसैले चोरसंवाद गर्दै छु ।
“म भोलि नै काठमाडौँ फर्कँदै छु ।” ऊ सानो जानकारी दिन्छ ।
“ए किन यति चाँडै ?”
“हिजो यहाँ पत्रकारमाथि भएको दमन र कुटपिटका लागि काठमाडौँबाट मानवअधिकार अनुगमनटोलीमा आएको थिएँ । त्यसैले रिपोर्ट लिएर फर्किहाल्नुपर्छ । म आफू विगत र वर्तमानको अनुगमनमा तल्लिन छु । ऊ हाई स्कुल पढ्दा कत्ति नपत्याउँदो केटो थियो । अहिले ऊ राष्ट्रिय स्तरको लेखक, पत्रकार, र मानवअधिकार वादी भइसकेको छ । जे भए पनि आफूसँगै पढेको साथीलाई राष्ट्रिय स्तरको व्यक्तित्वको रूपमा चिन्न पाउँदा म पुलकित हुन्छु । अर्को एउटा साथीले उसलाई ‘सन्देशजी’ भनेर बोलाएर लिएर जान्छ ।
सम्भावित शब्द सत्यमा प्रमाणित भएको सुनेर म रोमाञ्चित र लज्जित हुन पुग्छु । ऊ गएको विवश आँखाले हेर्छु । वातावरण रमाइलो लाग्छ । सूर्यका किरणहरूलाई लुकाउँदै बादल पानी झार्न तयार देख्छु । गर्मीको महिना तराईको परिवेश भए पनि मौसम रमणीय लाग्छ । अब मेरा आँखाको पालो आउँछ उसलाई पछ्याउने । यो समय नबिते हुन्थ्यो, नहराए हुन्थ्यो जस्तोलाग्छ । ऊ केही पर साथीहरूसँग गफ गर्दै छ । आफूलाई मनपर्ने लेखकलाई यति नजिकबाट फेरि साथीको रूपमा चिन्न पाउँदा म हर्षित हुन्छु । फेरि नजिकिने लालसाले म एकोहोरिन्छु । उसलाई बोलाउन चाहन्छु तर मेलका वाक्यहरूमा अल्झिन्छु– ‘कतै हाम्रो भेट भयो भने हामी अपरिचित हुन्छौँ होला हैन ? सायद तपाइँको वास्तविक नाम मलाई थाहा नहुन सक्छ र मेरो वास्तविक नाम तपाईँलाई थाहा नहुन सक्छ । तर त्यो अनिश्चितताले एउटा नौलो अनुभूति दिन्छ । किनभने म त्यही अपरिचिततामा बाँच्न चाहन्छु । हामी आँखामा मात्र विश्वास गर्छौँ त्यसैले हामी दोष र गुण छुट्ट्याउन विवश हुन्छौँ । जसले हाम्रो सम्बन्धलाई टुक्र्याइदिन्छ । अनि म मीठो अनुभूतिबाट सधैं टाढा हुन विवश हुन्छु ।’
एक्कासि पुलिसको लाठी मेरो टाउकामा बजारिँदा म ब्युझन्छु। म भाग्न असफल प्रयासमा छु । पुलिसको लाठी मेरो टाउकोमा बज्रन खोज्दै छ । अचानक कसैले लाठी समात्छ । म बेहोस हुन्छु ।
होस आउँदा म नर्सिङ होममा हुन्छु । आफन्तहरू छेउमा बसेका छन् । उनीहरू कुनै पत्रकारले फोन गरेर जानकारी दिएका कुरा गर्दै छन् । अनि पर्स र डायरी पनि उही पत्रकारले जिम्मा लगाएको कुरा बताउँछन् । पत्रकार भन्नेबित्तिकै श्रीकान्तको खोजीमा आँखा दौडाउँछु । निराश हुन्छु ।
म केही दिनपछि डिस्चार्ज हुन्छु । समय बिताउन मेल हेर्छु – ‘कुमुदिनी, स्वास्थ्य कस्तो छ ? भगवान्का कृपाले अब हामीलाई कहिल्यै भेट नगराइदिऊन् ।’
मेलका शब्दले म सन्तुष्ट हुन्छु । झ्यालबाट बाहिर हेर्छु लोकतन्त्र आइसकेको छ । कुहिरो फाटेर आकाश सफा र स्वच्छ भएझैँ लाग्छ । कागहरू निर्दिष्ट बाटो हिँडिरहेका छन् ।
sakhada4@yahoo.com
December 29, 2010
Subscribe to:
Post Comments (Atom)
3 Comments:
its not lok tantra. its jhok tantra. neta lai jasto jhok chalcha ustai gardachhan. buy the way its a nice story.
कथा सामन्य तर सरस छ । एकटा मान्छेभित्र अचानक गुज्रेको परिस्थितिमा कस्तो अनुभूतिको वरण गर्छ मान्छेले भन्ने मेरो बुझाइ भयो यो कथामा । समकालीन कथा लेखनमा ज्यादै सक्रिय र अग्रणी कथाकारका रूपमा रहनु भएकी शर्मिलाजीका अन्य कथाहरू पनि पढ्न पाउने विश्वाससाथ ........ ।
"अनि ती हातहरू हेरूँ–हेरूँ र चुमूँ–चुमूँ जस्तो लाग्छ जसले यति सुन्दर शब्द, भाषा र शैलीहरू पोख्छन् । कहिले म पागल भएर तपाईँ का शब्दहरूसँग उडिरहूँ कल्पनाको आकाशमा अनि कहिले यथार्थमा नफर्कु जस्तो लाग्छ तर यो असम्भव छ । मलाई थाहा छ । तर म त्यही असम्भावनामा रमाउन चाहन्छु ।"
i love dautari.org its really nepali bloggers home
so i want in this blog
my new blog about nepal tourism want Reviews by here fans pls Reviews my this blog all of DAUTARI.ORG FANS MY BLOG IS THIS BELOW
http://itsnepal.blogspot.com
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !