November 5, 2010

केही सकारात्मक प्रयासको खाँचो

स्वदेशदेखि परदेशसम्म अक्सर भेटहरूमा सदाशयी नेपालीहरूको चर्चाको विषय नेपाली राजनीतिको दिशाहीन बन्दै गरेको तस्वीर नै हुने गर्छ । सबैले आफ्नो ज्ञान र बुझाइको आयतनलाई तन्काएर सजिलै गर्ने टिप्पणी हुने गर्छ ‘ नेताहरूले बर्बाद पारे देश, यिनलाई झुण्ड्याउन पर्ने’ आदि आदि । मुलुकलाई कागज र वेबपेजका समाचारमा चित्रित अतिरञ्जनामा मात्र बुझ्ने र सोझै नेताहरू बिरूद्ध मृत्यूदण्डको फतवा जारि गर्दै मिनट भरमा सकिने देश भक्तिको चिन्ता कुनै समाधान हो कि हैन सबैले सजिलै बुझ्ने कुरा हो । तर मुलुकमा सकारात्मक प्रयास हुँदै नभएको भने हैन । त्यसको सबैभन्दा ठूलो उदाहरण हो बिगत डेढ दशकदेखि लम्बिएर रहेको हिंसात्मक युद्ध एउटा टुङ्गोमा पुग्न लागेको कुरा । भलै खुद्रा हिंसाले देश झन खतरनाक बनेको छ , तर पनि तुलनात्मक रूपमा थोक मृत्यूको भयावह स्थतिबाट भने हामी बाहिर निस्केका छौँ । हुनत यो निमिट्यान्न हुन बाँकि नै छ , आशाका संकेतहरू पनि देखिएकै छन् ।
हामीले नबुझेको एउटा मुख्य कुरा के हो भने संसारका जुन जुन मुलुकमा हिंसात्मक युद्धहरू लडिए , तिनको अन्त्यका लागि गरिएका प्रयासहरू त्यति छिटो फलदायी हुन सकेका छैनन् र थिएनन् । त्यस मानेमा नेपाली शान्ति प्रयास वा प्रकृया वास्तवमा नै अति छिटो गतिमा नै अघि बढेको थियो, एउटा निश्चित बिन्दुसम्म । तर , यो शान्ति प्रकृयालाई एउटा निश्चित प्रणालीका रूपमा
 नियम, सम्झौता र तिनको इमान्दारितापूर्ण पालना मार्फत अगाडि बढाउनुको साटो , शीर्ष्स्थ दुई नेता गिरिजा कोईराला-प्रचण्ड सहमतिको परियोजनाको रूपमा मात्र अघि बढाउने काम हुँदै जाँदा कालान्तरमा हिजो थाति राखेर पञ्छाइएका मुद्दाहरू वल्झिएर आजको असहमति उजागर भएको हो भन्नु अत्युक्ति हुँदैन । हिजो नै गरिनु पर्ने कतिपय मुद्दाहरूको निर्क्योल र समाधानको समय र स्थान फेरिएको आजको सन्दर्भमा पक्ष विपक्ष भएर विषयहरू लाई केलाउँदा, आ-आफ्ना पक्षमा फाइदाको हिसाबकिताब मिलान गराउन खोज्नु राजनीतिमा उचित नै मानिन सक्छ , तर यसो गर्दा अन्तरिम संक्रमणकाल लम्बिएर जाने खतरा उत्पन्न हुन सक्थ्यो र त्यो नै आज भैरहेको छ । वास्तवमा भन्नुपर्दा , संविधानसभाको निर्वाचनपूर्व नै , माओवादी पार्टीका छापामारहरूको टुङगो लगाउने काम , शान्तिप्रकृयाको टुङ्गो र भावी संविधानको मुख्य अन्तर्वस्तुको रूपमा रहने राज्यको शाषकीय स्वरुपका बारेमा एउटा बृहद् सहमति बनिसकेको हुनुपर्थ्यो । शान्तिप्रतिको प्रतिवद्धता नभई संविधानसभाको निर्वाचनले नै सबै रोग र व्यथाहरूको औषधीको काम गर्छ भन्दै , तत्कालीन अप्ठ्याराहरू र भोलि उठ्न सक्ने कचिंगललाई कार्पेट मुनि लुकाएर कृत्रिम सफाइ देखाउने कार्यले आज समस्या फर्केका छन् । कथित शान्ति प्रकृयालाई उत्साहले अपनाउने तर विचारले विश्लेषणात्मक रुपमा चिरफार गर्ने कार्य हिजो हुन सकेन र आज आएर यो पीलोको रूपमा टन्किएर दु:ख दिँदैछ ।
अहिलेको समस्या माओवादीले आफ्ना संगठनात्मक मेरूदण्डका रूपमा रहेका छापामार सेनाहरूलाई छोड्न नचाहनुमा वा यी छापामारको अधिक संख्यालाई समूहगत राष्ट्रिय सेना प्रवेश गराउने उद्देश्यमा निहित छ । माओवादी छापामारहरू माओवादी पार्टीको बार्गेनिङ चिप्स हुन र पार्टी मिलिसियाको यो शक्ति पार्टीबाट खोसिएमा माओवादीको प्रभुत्व कमजोड हुन सक्छ भन्ने कुरामा उसको डर हुनु स्वाभाविक हो । यस भएमा , माओवादीले उठाएका कतिपय राजनीतिक मुद्धाहरूमा , ऊसंग असहमत पक्षहरू संग समर्पण गर्नु पर्ने परिस्थति पैदा हुन सक्छ । यो कुरा यति लामो हिंसात्मक युद्ध लडेको माओवादी पार्टीलाई स्वीकार्य हुन नसक्ला । अर्कोतिर , उदार लोकतन्त्र पक्षधर गैरमाओवादी पार्टिहरूको डर छ यदि माओवादीले आफ्ना लडाकूहरूलाई राष्ट्रिय सेनामा गाभ्ने मौका पायो भने आफ्नो एकतन्त्रिय राजनैतिक उद्धेश्यका लागि यसको प्रयोग गर्न खोज्नेछ वा अर्को आमचुनाबसम्म आफ्ना लडाकूहरूको डर अरुको मनमा यथावत राखेर , त्यही प्रभावले सत्ता कब्जाको माहौल बनाउन माओवादी लागिरहेछ । यी दुवै पक्षका एकार्का प्रतिका सोचहरू नाजायज र काल्पनिक हैनन् , बरू यो मुद्दा नै वर्तमान गतिरोधको ‘बोन अफ कण्टेन्सन’ हो । तर पनि पछिल्ला समयमा राजनैतिक पार्टीले गरेका केही प्रयासहरू सकारात्मक र सह्रानीय मान्नै पर्छ ।
संविधान लेखनका लागि परिस्थिति सजिलो पार्न माओवादी अध्यक्ष प्रचण्डका अध्यक्षतामा उच्चस्तरीय संयन्त्र निर्माण गरी सहमतिको जुन प्रयास गरिएको छ , यो प्रशंसनीय काम हो । यो धेरै अगाडि गर्न सकिन्थ्यो र पर्थ्यो , तर धेरै हण्डर खाएर सिकेको कुरा झनै दीगो र जाति हुन्छन् भनेर मान्न पनि सकिन्छ । अर्को कुरा हिजो मात्र पत्रिका मार्फत सुन्नमा आएको छ कि नेपाली नेताहरूले सहमतिको बृहद् प्रयास गर्न कुनै एकान्तवास रोजेका छन् र दक्षिणकालीको वनमा रहेको हात्तीवन रिजोर्टमा जुटेका छन् । यो राम्रो प्रयास हो , काठमाण्डुको कोलाहल र ६०१ जना सभासदको कल्याङबल्याड भन्दा भलै यो कामले संविधानसभाको उद्देश्यलाई कमजोड बनाएर नेताहरुको हैकमतन्त्र स्थापित किन नगरोस् । तर नेता सहमत , भए सभासद विचरा के नै हुन् र ! ह्विप लगाउन मिल्छ ।, हात्तीवनको एकान्तताले निकास दिन्छ भने एकछिन आँफैले चुनेको संविधानसभालाई तिहारको बिदामा रमाईलो गर्न छुट्टि दिन सकिन्छ ।
लौ , दक्षिणकालीमाता ! हात्तीवनमा जम्मा भएका हाम्रा नेपाली नेताहरूको मन - माथिंगलमा पारस्परिक विश्वासको एउटा अंकूरण पैदा गरिदिनूस् !


2 Comments:

Anonymous said...

Lets hope so.

Nepalean said...

नेपालको अहिलेको स्थीती हेर्दा वाक्कै लाग्ने भएता पनि कृष्ण जी ले भने जस्तो त्यांहा प्रशस्त राम्रा कुराहरु पनि छन।
जांहा जे गरेर भए पनि गरिएको संझौताले नेपालमा शान्ती छाएको छ। १० बर्ष अघी मानिसहरु आफ्नो गाउंमा दशैंमा टिका लगाउन जान डराउंथे। अहिले त्योस्तो स्थीती छैन। एकाध मान्छे मारिएका छन। तर दर्जनको हिसाबले मान्छे मारिने काम रोकिएको छ। हिंसा रोकिने बितिकै शान्ती सुरु हुन्छ र त्यसमै हुन्छ बिकास। बिकास नै हो नेपाललाई चाहिएको।

अर्को कुनाबाट हेर्ने हो भने माओबादी आफ्ना छापामार प्रतीको मोह त्याग्नु पर्दछ। त्यसो गर्दा अन्य पार्टीको डर पनि हटाएर जान्छ। हतियार भएको जत्थासंग डराउनु स्वाभिबिकै पनि हो। तथा कुन उपायबाट हुन्छ पर्खाल भित्र राखिएका छापामारलाई कुनै तरिकाबाट पूनरस्थापन गर्नू नै पर्छ। आज नगरे भोली भोली नगरे पर्सी तर तिनीहरु प्रती कुनै न कुनै योजना आबश्यक छ।

अन्तीम कुरा संबिधान सभा। नया नेपालसंगै नया नया कुरा उठेका छन। देशलाई प्रान्त र उप-प्रान्तमा बांड्ने आदी कुरा सुनिएका छन। नेपाल जस्तो गरिब देशमा अर्थतन्त्र सुन्य छ। यदी अमेरीका जस्तै स्टेक र फेड्रल गभर्नमन्ट गरी बिभाजन गरे बिकास र अर्थतन्त्र नभएका गरिब जिल्ला त खुत्रुक्कै मर्दछन। तसर्थ देशलाई बाड्ने फटाउन काम उपयुक्त लाग्दैन। तर काम बांडफाड गर्दा जिल्ला तथा गाउंलाई आफ्नो निती नियम बनाउन अधिकार दिए केन्द्रित राज्य ब्याबस्थाको शक्तीमा कमि आउंछ तथा स्थानीय तहमा के कस्तो कुरा आब्श्यक छ त्यसै अनुसार अगाडी बढिन्छ।

नत्र भने यो पून्टे र बयर जस्तै हुन्छ। पून्टे भोकै छ, ठेकी भरी बयर। तर एकै चोटी निकाल्दा हात अडकिन्छ,पून्टे थोरै बयरमा सन्तोष गर्ने वाला छैन। सबै नेता र पार्टीहरु पून्टे नबिनिदिए हुन्थ्यो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !