नालायक छ सय एकले अरु काम केही नगरे पनि आफ्नो आयु बढाउने र भत्ता पचाउने काम भने आधारातसम्म कसरत गरेर पनि फत्ते गरेर छाडे। संविधान पनि नबनेको र नयाँ चुनाव पनि नभएको यस अबस्थामा हाम्रा नेताहरुलाई अझ नजिकबाट चिन्न र हाम्रा सबै नेताहरुको विवरण अद्यावधिक गर्न अति आवश्यक देखिएकोले सो प्रयोजनको निमित्त हालै एउटा नयाँ वैयक्तिक विवरणपत्र तयार गरिएको छ । आ-आफ्ना क्षेत्रका विजयी नेताहरुलाई यो विवरणपत्र भर्न लगाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ :
नेपाली नेताको वैयक्तिक विवरणपत्र
१) नाम:
क) नागरिकताको नाम: ख) पार्टिभित्रको नाम: ग) असली नाम:
२) उमेर:
क) प्रमाणपत्रमा रहेको उमेर: ख) अरुलाई बताउने उमेर: ग) साँच्चीकै उमेर:
(महानुभावहरुको व्यस्तता र समयाभावलाई दृष्टिगत गर्दै यसभन्दा तलका सूचाङ्कहरुमा केवल एउटा सही उत्तरमा “√” (ठीक) चिन्ह लगाए हुने व्यबस्था गरिएको छ।)
३) लिङ्ग: क) उभय लिङ्गी ख) नपुंसक लिङ्गी ग) तेस्रो लिङ्गी
४) बाबुको नाम: क) पक्का एकिन नभएको ख) थाहै नभएको ग) खुलाउन नचाहेको
५) जेलमा बिताएको समय: क) ६ महिनाभन्दा बढी ख) १ वर्षभन्दा बढी ग) २ वर्षभन्दा बढी
६) जेल पर्नुको कारण: क) मारपीट ख) चन्दा असुली र धम्की ग) चोरी-डकैती
७) राजनीतिमा आउनुको कारण:
क) पैसा कमाउन ख) आपराधिक मुद्दाबाट बच्न ग) सरकारी खर्चमा मोज गर्न
८) शैक्षिक योग्यता: (नोट: बिहारी प्रमाणपत्र धारकले भर्नु नपर्ने)
क) पाँचकक्षा उतिर्ण ख) एस. एल. सी. फेल ग) स्नातक
९) वास्तविक योग्यता: ख) लेखपढ गर्न जान्ने ख) लेखपढ गर्नेलाई हान्ने ग) औंठा छाप
१०) अतिरिक्त योग्यता:
क) मारपिटमा निपूर्ण ख) चन्दा असुलीमा माहिर ग) विदेश भक्तिमा अडिग घ) माथिका सबै
११) चुनाव अगाडिको आर्थिक स्थिति:
क) साहुको ऋण, बन्धकीको खेत र छिनेको चप्पल ।
ख) भाडाको कोठा, उधारोको राशन र फाटेको शर्ट ।
ग) कब्जाको घर, चन्दाको लुगा र खोसेको गाडी ।
११) हालको आर्थिक स्थिति:
क) काठमाण्डौमा घर, तराईमा विर्ता र बैकंमा पैसा ।
ख) श्वदेशी बैंकमा शेयर, विदेशी बैंकमा नगद र उद्योगमा लगानी ।
ग) सहयोगबाट निर्मीत बंगला, दाताबाट प्राप्त सम्पती र उपहारमा मिलेका गाडीहरु ।
१२) अघिल्लो पटक सभामा निदाएको दिन संख्या
क) कम्तीमा १०० दिन ख) १०० दिनभन्दा बढी ग) २०० दिन भन्दा बढी
१३) अघिल्लो पटक भत्ता खाएको दिन संख्या:
क) कम्तीमा २०१ दिन ख) ३०० दिनभन्दा बढी ग) ४०० दिनभन्दा बढी
१४) यस पटकको समयावधि सक्कीदाँसम्म के होला?
क) अरु १०-२० लाख जोड्छु ख) २-४ पटक विदेश भ्रमण गर्छु ग) एक पटक मन्त्री बन्छू ग) माथिका सबै
१५) अनि संविधान नि ?
क) बनेछ भने बन्ला नि त! ख) हेर्दै जाउँ के हुन्छ! ग) आ, केको टण्टा ! घ) संविधान भनेको के हो ?
१६) नेपालको क्षेत्रफल कति छ ? क) थाहा छैन ख) बिर्सै ग) दिनदिनै घट्दो छ
१७) गाह्रो साँगुरो पर्दा कसको भर पर्नुहुन्छ?
क) विदेशी प्रभू ख) ‘नागरिक समाज’का खेताला ग) गोला बारुद घ) माथिका सबै
१७) जनता भनेको के होला ?
क) हामीलाई भोट हाल्ने मानिस ख) हाम्ले भनेको मान्ने मानिस ग) जे गरेपनि चुपचाप बस्ने मानिस
१७) देशको उन्नती गर्न के गर्नु पर्छ ?
क) थाहा छैन् ख) थाहा छैन् ग) थाहा छैन् घ) थाहा छैन् ।
11 Comments:
ramailo faram rayecha.kasari bharne ho you faram jankari garai dinu hola.
हैन म्याद थपे पछी के हुंदै छ? संबिधान लेख्ने सुरु गरेकी त्यही पर्दान मुन्तरीकै कुर्चीमा जोहोरी खेल्दैछन? सांच्चै नालायक रहेछन यिनीहरु त!
खुरुक्क लैनचौर दरबारतिर भर्न पठाए भैगो नि । ६०१ जना सबैलाई किन सराप्नु बेफ्वाँकमा !
लैनचौरनै किन पठाउनुपर्यो र बानेश्वरमै दरबार बनाए पछी?पहिला पहिला त संबिधान माथी २,४ जना मात्रै हुन्थे अब देशमै संबिधान छैन सबै संबिधान माथी!
मेरो विचार प्रष्ट छ:
कोही मान्छे आफैं जानीबुझी कुनै मादरीकहाँ गएर बाँदर बनेर नाच्न जान्छ भने त्यो गल्ती उसैको हो, मदारीको हैन ।
लैनचौरको मदारीलाई दोष लगाएर आफ्ना निकम्मा र लालची बाँदको तारिफ गर्न म सक्दीन । लैनचौरका मदारी हामीले तिरेको करको रकम पनि खाँदैनन् र "आफूखुशी बाँदर हुन राजी हुने" बाहेककालाई नचाउने सामर्थ्य पनि राख्दैनन् ।
हुन त सजिलोको हिसाबले ६०१ का लाउके सबै एकै ठाउँमा भेट हुने भएकोले 'हस्ते' गर्न भने मिल्छ है !:)
नेपालियनजी, संक्रमणकालमा जसको शक्ति उसको भक्ति हुन्छ; यो स्वभाविक अवस्था हो । झन् संविधान नै थला परेपछि कसको के लाग्छ र ?
ठरकीजी, कसैले तपाईंको घरमा बाघ ल्याएर छोड्छ भने तपाईंलाई डरले थुरथुर हुने तपाईंलाई निकम्मा भन्ने कि त्यो बाघ छोड्नेलाई ? अनि त्यो बाघलाई दानापानी खुवाउने र पूजा गर्नेलाई चाहिँ के भन्ने हो कुन्नि ?
यहाँनेर पुष्पजी र मेरो विचारको भेद अलि प्रष्ट भएको छ ।
म, माथि भनेजस्तै तपाइले बाघ देख्नु भएका खलपात्र लाई 'मदारी' भन्दा बढ्ता हैसियतको मान्दै मान्दीन र मदारी देख्दा हाँस उठ्ला तर डर लाग्दैन ।
समस्या अझै हाम्रै नालायकहरुमै छ, आ-आफूमै मिल्न नसकेर कहीले मदारी त कहीले चटकीको पछि लाग्ने गलत प्रबृत्तीले नै यिनलाई कमजोर बनाएको हो । मदारीले पनि एउटा दुईटा बाँदरलाई नचाउन सक्छ। ६०१ बाँदर एकजुट भए भने मदारी वा चटकेको त के कुरा बाघ नै पनि भाग्नु पर्ने हुन्छ ।
कुनै एउटा दल वा नेता विशेषलाई भन्न खोजेको हैन, तर समष्टिमा आफ्नै दाजुभाइसंग मिल्न नसकी नीतिकथामा रोटी भाग लगाइदिने तेस्रो पात्र खोज्दै हिँड्नेजस्तो मनोबृत्ती भएसम्म त्यसको दोष अरु कसैलाई दिन मिल्दैन ।
आफ्नोघर भित्र छिरेको भेदीलाई तह लगाउनुको सट्टा हाम्रा लाउकेहरु दाजु-भाइके हानथापमा व्यस्त छन । जुन दिन यिनीहरु आफैंमा मिल्नेछन, खलपात्रको हैसियत "comedy character" भन्दा बढी रहने छैन ।
हो मदारीको पक्षपोषण गरेर केही मिल्ने आश गरेर बस्नेहरु पनि छन, तर मदारी आफैं पुच्छर लुकाएर हिँडने बेलामा तिनको गति झन के होला ?
साह्रै राम्रो विवरण फाराम बनेछ । यसमा पेरिस डाँडाको एउटा कब्जा गरेको घरमा बस्ने लूटेरा जल्लादहरूका नाइकेहरूको मात्र हैन बल्खू र टेकूतिरका भ्रष्टहरूको चरित्र पनि खुलाएर भर्न मिल्छ ।
ठरकीजी,
तपाईंले ६०१ लाई रावणका भाइ विभीषणको संज्ञा दिनुभएछ । लंकावासीहरूका लागि उनी 'भेदी' वा गद्दार भएपनि समष्टिमा भन्ने हो भने उनले राम्रो काम गरेको मान्नुपर्छ । अब उनै विभीषणसँग हाम्रा ६०१ लाई तुलना गरेर नराम्रो देखाउन खोज्नु अलि मिलेको जस्तो लागेन । जे होस्, ६०१ मा सबै नराम्रा पक्कै छैनन्, झन् 'ह्विप'को राजनीतिले गर्दा स्वतन्त्र विचारको कुनै अर्थ नै रहेन । आफ्ना लाउके-टाउकेले जे भन्छन्, मुनिकाले तिनीहरूले त्यही नै गर्ने हो ।
जहाँसम्म तपाईंले देख्नु-बुझ्नुभएको चटकेको कुरा छ, मैले त उसलाई एउटा बाघ नै देखेको । हुन त बाघलाई अनेक किसिमले हेरिन्छ । तर यहाँ मैले गलत प्रवृत्तितर्फ इंगित गर्न खोजेको हुँ; राम्रो प्रवृत्तितर्फ पनि बाघलाई लिन सकिन्छ । नीति कथाहरूमा उल्ले भएजस्तो केही क्षुद्र जनावहरूले अन्य सोझा जनावरहरुलाई फँसाएर बाघको आहारा बाघको आहारा बनाउँछन्; त्यसरी नै हाम्रो देशमा पठाइएको उक्त बाघले आफ्नो भोक नमेटुञ्जेल अनेकथरि शिकार गर्दै आइरहेको हामीले देखेका/बुझेका नै छौं । त्यसैले यो बाघलाई पृष्ठपोषण गर्नेहरूलाई वा प्रतिकार गर्न नसक्नेहरूलाई गाली गर्नुको कुनै तुक छैन । किनकि प्रतिकार गरियो भने भोलिको शिकार उनीहरू पनि हुने पक्का छ । तर यसो भन्दैमा हामीले उनीहरूको यस्तो प्रवृत्तिमाथि आँखा चिम्लनुहुन्न । उनीहरूलाई पनि हामीले केही गरी साहसिलो बनाउनेतर्फ लाग्नुपर्छ, यसका लागि गाली गर्नुपरे पनि गर्नैपर्छ; तर बाघको बलमिच्याइँलाई उनीहरूको अधिकारजस्तो विश्लेषण गर्नु हाम्रो मूर्खता र लाक्षीपना नै हो । एउटा बाघलाई लखाटे अर्को बाघ आउला, त्यसैले बाघहरूलाई छाडा छोड्नेहरूप्रति पनि हाम्रो ध्यान जानुपर्छ ।
६०१ मा कति त भेडा बाख्रा पनि छन् तिनिहरुलाई लाउके भन्न पनि टिठ लाग्छ। धुमाउने त उनै २-४ जना आत्माविश्वास नभएका लाउकेहरु नै हुन। गिरिजाबाबुले पनि काग्रेंसमा दोस्रो पुस्ताको नेतृत्व हडपे, सबलाई आत्माविश्वास नभएका लाउके बनाए, माओवादीमा प्रचण्ड महासयले त्येसै गर्दैछन्, एमालेको हालत पनि त्यस्तै छ।
नेपालमा ब्यबसायिक राजनिती गरिंदैछ। कसरी हुन्छ आफू सत्तामा पूग्ने र अरुको हुर्मतलिने,प्राय सबैले यही लाईनमा लाग्दैछन। सत्ताको खिचातानीमा देशी बिदेशी केही भनिदैन,बस आफूलाई सहयोग भए पूग्छ। जनताको नाम सबैले लिए पनि जनताको अबस्थाबारे सबै बेखबर छन। उनीहरुलाई आफूहरु र आफ्ना कार्यकर्ताहरुको मात्र ख्याल गरे पूग्छ। बहुदल देखी अहिलेको लोकतन्त्रसम्म आउंदा अझै राजनैतिक संस्कार परिमार्जन भइसकेको छैन। राजनिती केबल राजनितीको लागी गरिन्छ,कोही कसै कुनै पार्टीको पूच्छर नसमाए त उसको मानव अस्तित्वनै समाप्तहुन बेर लाग्दैन। समग्र देशलाइ कसरी अघी लाने कसैसंग ठोस बिचार छैन।
संबिधान सभाको म्याद सकिएपछी रातारात म्याद थपियो। कति संबिधान बनाएर सकियो कति बनाउन बांकी छ त्यो त अनुत्तरित नै छ। ३ बुंदे सहमती भयो तर कुखुरा पहिला कि अण्डा पहिला जस्तो त्यो ३ बुंदे सहमती अहिले नपूंशक बनेको छ। थपिएको म्यादमा संबिधान बनाउन माओबादी लचक बन्नुनै पर्छ तथा अहिलेको बेकम्मा सरकारमा हेरफेर हुनुपर्दछ। संबिधान नबन्नुमा सबैले दोषादोष त गरे तर संबिधान बनाउने मुख्य भुमिका कस्को कोही मुख खोल्दैनन। ६०१ जना संबिधान बनाउने सभमा बसे पनि यस्लाइ सरकारले परिचालित गर्नुपर्दछ। नत्र यो सभा लगाम बिनाको घोडा जस्तै यत्र तत्र दौडिन थाल्छ। संबिधान बनाउन बाताबरण नबनाएको कारण अहिलेको सरकार पूर्ण दोषी हुनुपर्दछ। जती सुकै पार्टी मिलुन तर दोष लिन्न भनेर पन्छिन पाइदैन। अब यो समस्यालाई कसरी निकास दिने त्यो तर्फ लाग्नु पर्दछ। तर अझै पनि पार्टीहरु कस्ले कस्लाइ माइनस गर्ने त्यही ध्यानमा छन।
संबिधान नबन्नुमा अर्को कारण हो - संबिधान सभाको औचित्य। तिर्खाएको मान्छेलाई पानी दिंदा उस्ले पानी घोप्टाउंछ कि खुरुखुरु पिउंछ? हामीलाइ संबिधान सभा चाहिएको भए किन २ बर्षसम्म निदाएर बस्यौं। धेरै पहिले संबिधान सभा चाहिन्छ भनेर माओबादीले एजेण्डा उठायो। अन्य पार्टीहरु आफूमा नयापन देखाउन संबिधान सभा कै पछाडी लागे। अंग्रेजीमा भनिन्छ नि "without understanding,everbody joined the wagon" , हो संबिधान सभा नि त्यही भएको हो। चुनाव भयो, ६०१ मान्छे एउटै सभामा जम्मा भए तर गर्ने के हो कसैलाई थाहा छैन किन कि संबिधान सभाको गौण कसैले बुझेकै छैन।
आशा गरौं देशले छिट्टै निकास पाओस।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !