March 30, 2010

एक मान्छेको खोजीमा

कहिले मन्दिरको ढोकाबाट हेर्छु
कहिले टुँडालबाट नियाल्छु
कहिले निष्पट्ट अँध्यारोमा भौंतारिन्छु
कहिले जुनेली रातमा टहलिन्छु
कहिले फाँटफाँटै दौडिन्छु
कहिले अनकन्टार जंगलको बिचमा कुरिरहन्छु
कहिले ढोका ढक्ढक्याउँदै हिंडछु
कहिले अखवारका पाना सर्सर्ती पल्टाउँछु
कहिले भीडमा एकटंकार हेर्छु
कहिले दोबाटोमा पागलसरि एक्लै भुत्भुताई रहन्छु
केबल
एक मान्छेको खोजीमा ।

-दिनेश चन्द्र पन्थी “दीप”

March 29, 2010

धूर्तको विनय, गोहीको आँशु र लासमाथीको राजनीति

“अति विनयम् धूर्त लक्षणम्”- संस्कृतको यो भनाई यसो त मैले सधैं नै एकदम सत्य पाएको छु । तर यस पटक भने यो चार शब्दले चार दिनमा  मेरो देशका नेताहरुको चरित्र पुरै दर्शायो ।

प्रंसग गिरिजा कोईरलाको निधन र त्यसपछि विकसीत घटनाक्रमको हो । अघिल्लो हप्ता गिरिजाप्रसाद कोइरालाको राजनैतिक यात्रा र दीर्घ जीवनको पट्टाक्षेप पछि नेपालको राजनितीमा एकचोटी गज्जबको सहिष्णुता, सम-आदर र पर-सम्मानको नाटक देखियो।

उनका आफ्ना दल वा गुटका त कुरै छौडौं, विगतमा उनका कट्टर विरोधी रहेका समेत उनका दूरदर्शी निती, उनको कार्यकुशलता र उनका सोचको प्रशंसा र स्तुतीगानमा व्यस्त रहे । कुरोको चुरोसम्मै सिधै पुग्ने हो भने “नयाँ जोगीका खस्रा छाला” भनेजस्तै गरी उनका नितीसंग सधैं पैठोजोरी गर्दै आफ्नै दबदबा कायम गर्न अग्रसर हुनेहरु नै सबैभन्दा ‘दु:खी’ देखीए ।

उनको सोच र मार्गचित्र अनुसार चलेर देशमा अमन चैन कायम गर्ने र शान्तिस्थापनाको कार्यलाई यथार्थतामा बदल्ने भनेर हरेकले मसाने वैरागका साथ अभिव्यक्ति दिए । मानौं अब सबैजनाको आखाँ खुलेको छ र अब सबै दल र गुटका नेताहरु एक भएर देशको लागि अघि बढनेछन् ।

तर त्यो मसाने वैराग्य र गोहीका आँशु ३ दिन पनि टिक्न सकेनन् । अनि सुरु भयो शक्तिको लागि आ-आफ्नो हकदाबी गर्ने र हैकम देखाउने खेल । उनको अवसानमा जसरी दल र दल बाहिरका सबैले औपचारिकता प्रदर्शन गरेका थीए, त्यसरी नै उनको निधन भएको ७ दिन पनि नपुग्दै आठ थरिका दाबी र हकका हैकमहरु पार्टी भित्र र बाहिरबाट पनि निक्लन थाले ।

दलमा उनको मृत्युको तेस्रो दिनदेखि नै “अब को?” वा “मै हुँ अब” भन्ने शीतयुध्द चर्कीन थाल्यो भने दल बाहिर पनि एकातर्फ उच्चस्तरीय राजनैतिक संयन्त्रको नेतृत्व आफैंले गर्न पाउनु पर्ने मागका साथ प्रचण्ड देखा परे भने अर्कोतर्फ उच्चस्तरीय राजनैतिक संयन्त्रले सरकार ढाल्ने तयारी भैरहेको थीयो भन्ने ‘ग्य्राण्ड डिजाईन’ को खुलासा गर्दै बाबुराम भट्टराई निस्केका छन । फेरि प्रधानमन्त्री रहेका माधव कुमार नेपाले पनि यहि बेलामा ‘गिरिजा कोईरालासंग ३ हजार मात्रै सैनिक समायोजन’ गर्ने सल्लाह भएको उजागर गरेका छन ।

यही रीतमा जाने हो भने नेपालको राजनीतिमा आउँदा दिनमा यस्ता धेरै ‘सल्लाह’ र ‘निर्णय’ हरुका ठेली नै लाग्नेमा कुनै शंका नलिए हुन्छ ।

उदेक लाग्ने कुरा त के भने, यो सबै ‘गोप्यता’ र ‘ग्य्राण्ड डिजाईन’ को खुलासा गरिरहँदा न त कुनै नेतालाई  धक वा लज्जाको महशुस भएको छ न त कसैलाई जनताका पिठ्युँ पछाडि बसेर यस्ता नानाथरी गोप्य सम्झ्यौता र समझदारी गरेको भन्दै हिँडदा एकजना दिवंगत आत्माको सम्मानको ख्याल नै आएको छ ।

कोईराला अब हाम्रो सामुमा छैनन् र अबका दिनमा कुनैपनि अलीखित मुद्दा वा विषयका वारेमा उनका धारणा वा सोच के कस्ता थिए भन्ने वारेमा जसले जे सुकै भनेपनि उनी त्यसको समर्थन वा प्रतिवाद गर्न हाम्रो सामुन्ने आउने छैनन् । यस्तो अबस्थामा, यसलाई मौकाको रुपमा लिँदै आफूलाई जहाँ जे कुरामा फाईदा हुन्छ त्यहाँ ‘कोइरालाले यस्तो भनेका थिए’ वा ‘उनीसंग यस्तो तय भएको थियो’ भन्दै हिँडनु कतिसम्म तर्कसंगत र मानवताका कुरा हुन ।

हुन त लासमाथी राजनिती गर्ने वा लासमाथी चढेर सत्तामा जाने मार्ग नेपाली राजनितीमा कुनै नौलो कुरा भने होईन, तर एकजना राजनितीज्ञ, जसले आफ्नो पुरै जीवन प्रजातन्त्रको लढाईमा खर्चे (उनका कमी –कमजोरीको कुरा यसपाला नगरौं) उनको मृत्युलाई समेत मौका बनाउन खोज्नु भने पक्कै पनि एकदमै अशोभनीय र घृणीत कार्य हो ।

हुनसक्छ, कतिपय राष्ट्रिय समस्या वा आगामी रणनितीका वारेमा उनीसंग अन्य दल वा आफ्नै दलका अन्य सदस्यहरुसंग केही बिचार विमर्श वा सर-सल्लाह भएका होलान । तर लीखित दस्तावेज नरहेका हदसम्ममा अब उनको नाम उचालेर आफ्नो स्वार्थ सिद्द गर्न खोज्नु कसैलाई पनि शोभा दिने कुरा हैनन् ।

म चाहन्छु, उनको निधनको लगत्तै दिएका वक्तव्य र समवेदनाका शब्दहरु हाम्रा सबै कमजोर स्मरणशक्ति भएका नेताहरुले एक पटक आफैं पढेर हेरुन अनि दिवंगत आत्माको बदनाम गर्न हैन, सम्मान पूर्वक राष्ट्रीय समस्या र मुद्दामा सहमतिको मिलन बिन्दुमा पुगुन । राजनीति फोहरी खेल नै होला तर यसलाई यत्ती फोहर पनि नबनाउँ कि यसले शारिरिक दायरा नाघरे कसैको आत्मालाई पनि विकृत बनाओस ।



यस्तो लाग्छ किन!?



सारंगीको धुन भै बजिरहने यो मन भित्र

मिर्मिरेको चिर्बिर झै झन्कार दिने तनभित्र

गुन्जी रहने आवाज मिठो पहरामै हरायो कि!

झ्याउकिरीको स्वर पनि चोरु चोरु लाग्छ किन?


पर्खाइ यो निमेषको पुरै युग बनाउ कि त

दोबाटोमा लुकेर आँखा भरी बिछ्याउ कि त

मनभित्रका खुलदुली पोको पारी पछ्यौरीमा

छटपटीका मीठापल रोजु रोजु लाग्छ किन?


तरंगमा झुम्दै बसे झनै झुमिरहु लाग्ने

भावनाको रंग कस्तो अझै रंगु जस्तो लाग्ने

रहर साँच्ने अधर, तृषित् ति नयन भित्र

रमाउदै जुनीभरी लुकु लुकु लाग्छ किन ?


March 28, 2010

गिरिजाबाबु

गिरिजाबाबु !!!

गिरिजा बाबुले सांसारिक देह त्याग गरेको एक हफ्ता भयो। अझै पनि गिरिजा बाबु लाई गाली गर्नेहरुको स्वर सुकेको छैन, अझ गाली दिनेहरुलाई ताली बजाउनेहरुको घुइंचो माइसंसार देखी साझा डट कम सम्म यथेष्टै भेटिन्छन्। मृत्‍यु भन्दा धेरै अगाडि मृत्‍युको कामना गर्नेहरु पनि त्यतिकै भेटिए। शत्रु मर्दा पनि मलामी जाने हाम्रो संस्कारलाई रिमिक्स गरेर गिरिजा मर्दा पार्टी गर्ने नयाँ नेपालका नयाँ सन्ततिहरु पनि देखिए।

निश्चय नै गिरिजा बाबु प्रसंशाका पात्र मात्र थिएन। अनेक गल्ती र कमजोरिहरु उहाँमा थिए र गरे पनि । तर देश र प्रजातन्त्र प्रतीको अडान र लगावमा शंका धेरै थोरैले गरे । देशको संक्रमण काल मा १०८ तिर फर्केका नेताहरुलाई एक ठाउमा ल्याउन सक्ने अदभूत गुण उहाँमा थियो र उहाँको आबश्यकता सबैले महशूश गर्दै छन अहिले। सबै भन्दा बढी मृत्‍युको कामना गर्ने जंगलिहरुलाई अहिले सबै भन्दा बढी याद आएको छ। बाबुराम भट्टराई को शब्द सापटी लिने हो भने उहाँले पनि अभिबावक गुमाउनु भयो ।

जिन्दगी मा एक पल्ट गिरिजा बाबु लाई भेट्ने मौका मिलेको थियो । २००१ तिरको कुरा हो । केही इन्जिनियर साथीहरु संग गिरिजा बाबु कहाँ डेलिगेशन गएका थियौं , महाराजगंज स्थित डा शशांक कोइरालाको घर मा। गिरिजा बाबुले दिएको समयमा घरमा हुनुथेन, हामी बाहिर चक्रपथको चिया पसलमा चिया खाँदै उहाँ आउने प्रतिक्षा गरी रहेका थियौं। एक से एक नेता भनौदा इन्जिनियर साहेबहरुले म गिरिजा लाई यो भन्छु, उ भन्छु । यस्तो गर्नु हुँदैन , यहाँ यस्तो अन्याय भएको छ आदी इत्यादी फलाक्दै थिए। कारीब आधा घण्टा पछी गिरिजा बाबु को गाडी आएको देखे पछी सबै गिरिजा बाबु को निवास तिर लाग्यौं ।

केही समय पछी नै गिरिजा बाबु बैठक कोठा आउनु भयो र उहाँ बस्ने निर्धारित कुर्सीमा बस्दै पहिला ढिला भएको मा क्षमा माग्नु भयो र भन्नु भयो " भाईहरु को गुनासो भनाइ के के छ, एक एक गर्दै भन्नु होला "। यती के भन्नु भाथ्यो, सब को बोली बन्द। कसैको मुखबाट एक शब्द निस्केन । अघी मै हुँं भन्ने नेता महोदयको त झन अनुहार हेर्न लायक को थियो । साच्चै उहाँको मुहार मा गज्जबको कान्ती थियो। एउटा यस्तो ब्यक्तितित्व थियो, मै हुं भन्नेको पनि बोली अड्किन्थ्यो।

"केही छैन भने किन आउनु भएको तपाईंहरु ? म हिंडे । चिया खाएर जानु होला।" भन्दै गिरिजा बाबु कुर्सिबाट् उठ्नु भयो र यत्तिकैमा एकजना मित्र जो गिरिजा बाबुको मा आउने जाने गर्थ्यो ,ले बडा हिम्मतका साथ हाम्रो गुनासो एक सास भनी हाले।

गिरिजा बाबु ले यहाँ यो कुरा, म आजै फोन गरेर भन्दिन्छु, समाधान हुन्छ, ढुक्क भएर जानुस् भन्दै संगै उभिएका सहयोगी शायद गोकर्ण पौडेल हुनुहुन्थ्यो होला, लाई भरे मलाई सम्झाउनु भन्दै माथि कोठा तिर लाग्नु भयो ।

आज आएर मेरो मानसपलट मा गिरिजाको अगाडि प्रचन्ड पनि लुत्रुक्क भन्ने समाचार तैरिएको छ। अजब को ब्यक्तित्व नै सबै जना झुक्नु को कारण जस्तो लाग्छ। पार्टिको आनतरिक बादबिबाद पनि गिरिजाबाबु को अनुपास्थितिमा उहाँ माथि खनिनेहरु उहाँको अगाडि भिजेको मुसो बनेको धेरैले पढेको देखेको समाचार् हो ।

देशले एक योग्दा गुमाएको छ। उहाँ प्रती हार्दिक श्रद्धान्जली ।

March 27, 2010

कति पो याद गरिबसिन्छ र ?

evenlope-blank-address

साहित्य रचना गर्दा आफ्नै अचम्मको आनीबानीदेखि जिल्ल परिन्छ कहिले त !  

परीक्षाकै मस्त धपेडीका बीचमा पनि जगमगाउँदा लाइनहरू आएर बिथोलिएको छु म पटक-पटक । तैपनि आफूप्रति कुनै गुनासो लाग्दैन । रमाइरहेकै हुन्छ मन परीक्षामा तयारी नपुग्दा पनि । हैरान मुटुको धड्कन मानौँ तिनै भर्खरै कोरलिएका लाइनहरूमा थामिएर बसेको हुन्छ । ;)

(यस्तो भोगाइ हामीमध्ये कतिपयको साझा हुँदो हो ।)

  यसपालि पनि त्यस्तै भयो । बिरामी परेँ । मुख नमीठो । मन भने उडेर कहाँ पुग्ने ! केही कुराको सकसक । शरीरले साथ नदिएको यस्तै बेलामा दही, अमिलो-पिरोको सम्झना आउने । आफ्नो सक्रियता कतै लिसोजालमा छटपटाएको पन्छी जस्तै अल्झिरहे जस्तो बेचैनी । ठीक मात्र भए त के-के मात्र गरिसक्थेँ अहिलेसम्म भन्ने जोस मनमा ठिङ्गिने । यता शरीरको ताल हेर्दा अनि त त्यो जोसको धरहरा गर्ल्यामगुर्लुम ढल्ने !

र पनि यसपालि बिरामी भइरहँदा अपूरो एउटा गजललाई पार लगाएँ । ताजा रूपमा यही ‘बिरामी-सौगात’ दौँतरीमा बाँडिहाल्न हतार लाग्यो ।

---------------------------------------------------------------

कुरा पुराना कति पो याद गरिबसिन्छ र
मेट्ने ठेगाना कति पो याद गरिबसिन्छ र ?

दिनेले महान् इतिहासको संज्ञा दिए पनि,
गुप्‍त खजाना कति पो याद गरिबसिन्छ र ?

उस्ताउस्तै मुखुण्डो लिएर आउने र जाने,
क्या-क्या जमाना कति पो याद गरिबसिन्छ र ?

उमेरमा त के-के गरियो कतिलाई रिझाउन,
नाना बहाना कति पो याद गरिबसिन्छ र ?

मुस्कानको पनि मिति पुग्दोरैछ, बग्दोरैछ,
ती मोतीदाना कति पो याद गरिबसिन्छ र ?



March 26, 2010

माईसंसारकी सुमिना बुझाइ ठाउंमा ल्याउने हो की?

सर्बप्रथम त कुकुरले आची खानु भन्दा पहिले डिस्को गएर समाचारमा छाएको मा बधाइ। सानै उमेरमा सेलीब्रिटी भएछौं,पत्रपत्रीकमा फोटो छापियो,११,१२ गन्दै गरे,अहिलेलाइ पत्रिकाकै थोपडामै गर्ब गरे। सरकाले अनुमती दिएको डिस्कोमा सबेरै पूगेकोमा स्विकार गर्यो। आखिर मान्छे नै उपस्थित भएपछी स्कुले ड्रेसको के कुरा भो र? बंक पार्टीमा
भेला भएकोमा गर्भ या हिनताबोध लिनु महत्ब होइन,खाने बेलामा हग्ने हग्ने बेलामा खाने त्यसमै कुरो टुंगियो,सायद त्यसैले लाज लाग्यो होला।

म त भन्छु एक दुइ जना बंक गरेर कुनै झुण्डमा नझ्याम्मिय कमसल नागरिक कसरी जन्मिन्छ। सबै असल नागरिक भए त जेलका कर्मचारीको भोली नै जागिर चट। यो हिनमय नौटंकी बर्तमान समयको नया आयाम हो भनेर सोच्नु बेकार हो। पौराणीक कालमा पनि दैत्य भएको कस्लाइ थाहा छैन? तिम्रा जेल नेलका टाइटुइ माइसंसारमा देखेको थिए। संसारै सांगुरो भएको अबस्थामा हलिउड स्टाइलका कथा दिनानु दिन पत्रपत्रिकमा आइरहन्छन। अमेरिकमा ११ बर्षको बच्चाले रक्सी पियो, नेपालमा ११ कक्षामा पढ्नेले बोतल समाते,यसमा संसारले नौलो मान्दैन। तिम्रो आपत्ती जनक अबस्थाको माने नबुझेकोमा ११-१० मा पुग्नु पर्ने भो। मान्छेको उमेर फरक हुन्छ त्यसै अनुसार उसको दिमागको बिकास हुन्छ। ११-१०मा पढ्नेले कती पय बयस्कका कुरा बुझाइको दायरा भन्दा पर हुन्छन। बिकसित देशमा ११-१०का लागी ब्यसकका संसारबाट कानुनले नै नजिक आउन अनुमती दिंदैन। तर १०+१मा पूगेकाले आफूले बयस्क ठान्दा ठान्दै बुझाइ बयस्कमा नआउनुमा मलाइ छक्क परू परू लाग्यो।

प्रहरी नायब उपरीक्षक राधिका खड्का को हुन परिचय चाहिएन,सरकारी बर्दीमा उनी आउछिन त उनको बोलीनै कानुन हो। कानुनको खिलाफमा जानु म उचित ठान्दीन। उनी कसरी जन्मिन?उनका बुवाले हलो जोतेर पक्कै उनलाइ भेटाएका होइनन,नत न‍-सुमिनालाइ? सुमिना तिम्रो बुझाइ सोझाउन माथीका पाठ उपपाठ बाचन गरेको होइन। तर सार्बजनिक अबस्थामा योनजन्य क्रियक्रलापमा प्रहरीले हात किन लगायो भनेर प्रश्न सोध्यौ। यसमै हांसो उठ्यो। हास्न पनि ठिक होइन कि, म पाइला पछाडी हटाउंदै छु। प्रहरीले बटौलीको डांका समात्ने मात्र होइन समाजमा असान्धर्भिक हर कुरा प्रहरीको चासोको बिषय हुन्छ। आफ्नो अधिकारमा जे गर्न पनि सकिन्छ तर समाजमा कानुन छ,त्यसको हेक्का प्रशासनले गर्छ। बाटोमा नांगै हिन्नु आफ्नो अधिकार होला तर त्यसमा अरुलाइ असर पर्छ कि पर्दैन त्यो प्रहरीले बिचार गर्छ,अरुलाइ असर पारे पुलिस हत्कडी लिएर जाइ लागे कामी गाली नबर्साउनु,बरु आफ्नो बुझाइ ठाउंमा ल्याउनु।

(यो ब्लग सुमिनाको ब्लगमा आधारित)

March 25, 2010

कहिले बाढी कहिले खाली

कहिले बाढी कहिले खाली। जिमेल,फेसबुक च्याटमा भेटींदा प्राय साथीहरुले भन्ने कुरा हो यो। हुन पनि कहिले कांही दौंतरीमा यस्तै हुन पूग्छ। कहिले एकै दिनमा ३-४ वटा लेख आउंछन कहिले भने ३-४ दिनसम्म एउटा ब्लग पनि आउंदैनन। हुन त साथीहरुले ठिकै भन्नुभएको हो,एकैनासमा लेख आए पो मज्जा आउंछ। कहिले पढ्न नै नभ्याइने गरी आउने कहिले पढ्न खोज्दा पनि नपाइने,उहांहरुको गुनासो एक मानेमा ठिक पनि हो।

दौंतरी पाठक माझ आएको करिब साढे दुई बर्ष भयो। नामै दौंतरी कामै दौंतरी भने जस्तो साथी भाइहरु जस्जस्लाइ फूर्सत या लेख्न समय हुन्छ उहांहुरले नै यो ब्लग ओगट्दै आउनुभएको छ। दौंतरीकै लेखक बाहेक अन्य मित्रहरुले पनि फाट्टफुट्ट दौंतरीमा लेख्ने गर्नुहुन्छ। पाहुना लेखकका लेख कतिपय डुब्लीकेट त्रिप्लीकेट आदी हुने तथा केहीमा क्वालीटीमा कमी हुने गर्दा पाहुनाका लेख बिगतमा ह्वात्तै घटेको छ। असल र राम्रा लेख आए पाहुनाका लेखले दौंतरीमा पक्कै पनि स्थान पाउनेछन।

दौंतरी लेखकहरु भने केहीलाइ ब्यस्तता लागेको छ केही लेख्नै अस्ताउनु भएको छ। केही भने फाट्ट फुट्ट लेखीरहुनु भएको छ। खासमा पाना भर्नकै लागी लेख्न भन्दा पढ्ने खाले लेख आउनु नै राम्रो हुन्छ्। फेरी कतिलाइ त लेख्न मुढ या समय चाहिन्छ। मलाइ लेख्न भने कुनै मनमा खाएको बिषय आयो भने मात्र ब्लगका लागी सामाग्री टाइप गर्छु। हुन त केही बिषयमा ब्लग लेख्ने भनेर सामाग्री पनि तयार पारेको छु। कतीपय केही समय पछी असान्धर्भिक हुने र कतीपय आफूलाइ यस्तोमा पनि के लेख्ने भन्ने महशुस हुनेहुनाले डिलीट गरेको छु। कहिले भने लौ अब लेख भएन केही त लेख्नु पर्यो भनेर लेख्दा लेख्दा फुत्त अर्कै साथीको लेख आइसकेको हुन्छ। अनी १-२ दिन लेखलाइ यता उता मिलाउंदै पर्खन्छु।

लेख्दै जांदा अचम्मको बानी पर्दोरहेछ। कुन राख्दा लेखमा बेमेल खाने हो कुन लेख्दा क्रम मिल्ने या नमिल्ने हो आदी हेक्का राख्ने थालिंदो रहेछ। समग्रमा के लाग्यो भने ब्लग लेख्दा आफ्नो प्रस्तुती कलामा निकै सुधार आउंदो रहेछ। ब्लग लेखनीले ब्लगमा मात्रै होइन आफ्नो अन्य फांटमा पनि सहि तरिकाले प्रश्तुत गर्न सहयोग गर्दो रहेछ। तसर्थ नया,पूराना तथा पाहुना लेखकहरु लेखन जारी राख्नुहोस। लेखाइका राम्रा आयाम अनगिन्ती छन। पाठकहरुले पनि आफ्ना चोटीला तथा गहकिला बहस कायम नै राख्नुहोला। ब्लग लेखाइ र पढाइको मज्जा नै यसैमा छ।

March 22, 2010

अलबिदा गिरिजाबाबु !!!













के तपाईं को जस्तै निडर, आँटी र साहसिक पन अब दोस्रो पुस्तामा सर्ला त ?!!!
काम गर्दा गल्ति कमजोरी हुन्छ। समग्रमा हेर्नु पर्छ जीबन। नेपालमा तपाईकै कारणले यति छिटो गणतन्त्र र संबिधान सभाको निर्बाचन भएको हो । बाहिर जति गाली गरेपनि तपाईको ब्यक्तित्व मन पराऊने नेपाली धेरै रहेछन्।

तपाईको आत्माले चिर शान्ती पाओस, बैकुण्ठ बास पाओस!!!
तपाईको लामो चोर औंलाको हतियारले हामीलाई जहिले पनि शतर्क पारोस!!!

दिनेश चन्द्र पन्थी
काठमाण्डौ।

March 20, 2010

अन्तत खरानी भयो कोइरालाको शरिर

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । यसअघि पूर्व राजाहरुलाई मात्र दिने गरिएको राजकीय सम्मान राजनेताहरुलाई दिइएको यो पहिलो पटक हो । कोइरालाको पार्थिव शरीरमा बेलुका ७ बजेर ५० मिनेटमा छोरी सुजाता कोइरालाले दागबत्ति दिनु भएको हो । कोइरालाको अन्त्येष्टीमा नेपाली सेनाले १५ तोपको सलामी र सेनानीको कमाण्डमा खटिएको १ गण अर्थात १ सय ३९ जनाको समुहले शोक धुन बजाएर श्रद्धाञ्जली व्यक्त गरेको छ । यस अघि कोइरालाको सव श्रद्धाञ्जलीको लागि दशरथ रड्डशालाको मध्यभागमा राखिएको थियो । कार्यालयमा राख्दा भीड नियन्त्रण गर्न कठिन हुने भएकाले सबैलाई श्रद्धान्जली दिने व्यवस्था अनुसार काठमाण्डुको दशरथ रंगशालामा राखिएको हो । कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न दशरथ रड्डशालामा बिभिन्न दलका नेता, तथा सर्बसाधारणको घुइंचो लागेको थियो । २ बजेपछि रंगशालाबाट सुरु भएको शवयात्रा सुन्धारा, रत्नपार्क, बागबजार, मैतिदेवी, पुरानो बानेश्वर र बत्तीसपुतली हुँदै पशुपति आर्यघाटमा पुगेको थियो शवयात्रामा ३ लाख बढी सर्वसाधारणाको सहभागीता भएको याहाका सञ्चार माध्यमले अनुमान गरेका छन ।

याद

आयुष चौधरी
रझेना ५ कृष्णनग् बाँके
हाल : रेडियो जन आवाज नेपालगंज


यादले तिम्रो सानु हर रातले सताउछ
रत्ति भरको चैन छैन बातले सताउछ ।

सम्झनामा रोई रहन्छु आशु सुक्यो आखाँमा
किन कुन्नि आजभोली मातले सताउछ ।

इश्वरको दुनियामा जो कोही नि मान्छे मात्र
कुरितीले जन्माएको जातपातले सताउछ ।

सजिएको सिन्दुरमा चुरापोते सहित
माया गर्ने कोमल ति हातले सताउछ ।

तड्पिएका दुइ आत्माको खेति गर्नेहरु
मुटु भित्र रोपिएको घातले सताउछ ।

अस्तायो एउटा राजनीतिक ध्रुव

नेपाली राजनीतिका शिखर पुरुष काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको चैत ७ गते शनिबार मध्यान्न निधन भएको छ । उहाको निधन १२ बजेर ११ मिनेट जाँदा भएको हो । लामो समयदेखी छातीको रोगबाट ग्रसित कोइरालाको छोरी सुजाता कोइरालाको घरमा राखेर उपचार गर्दा गर्दै निधन भएको हो । कोइरालाको निधनले मुलुक स्तब्ध भएको छ । नेपाली राजनीतिमा शिखर पुरुषका रुपमा परिचित कोइराला पाँच पटक नेपालको प्रधानमन्त्रि हुनुभएको थियो । अहिले सम्म नेपाली राजनीतिमा निर्णायक मुभिकामा रहनु भएका कोइरालाको निधनले नेपाली राजनीतिको मोडमा पनि परिवर्तन ल्याउने पक्का छ । सबै जनाको मुखमा अव मुलुकको राजनीतिक कसरी अघि बढ्छ भन्ने प्रश्न छाएको देखिन्छ । कोइराला कसरी नेपाली राजनीतिमा महानायक हुनुभयो त ? उहाको संक्षिप्त जीवनी

नाम : गिरिजाप्रसाद कोइराला
जन्ममिति: १९८१ साल असार
जन्मस्थान : बिहार, सहरसा, टेडी, भारत
पिता : कृष्णप्रसाद कोइराला
माता : दिव्या कोइराला
शिक्षा : आइ ए
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्घा लगाइ सर्वस्वहरण सहित देश निकाला गरेपछि ४५ जनाको परिवार सहित भारतको वनारस निर्वासनमा पुगेको कोइराला परिवार बिक्रम सम्बत् १९७५ मा भारत बिहार राज्यको सहर्षा जिल्लाको टेडीमा पुग्यो । त्यही जन्मभयो, गिरिजाप्रसाद कोइरालाको । उहाँं गर्भमा रहेका बेला मातापिता गिरिजादेबिको मन्दिरमा जाने गर्नुहुन्थ्यो र उहाहरुको सन्तान जे जन्मे पनि गिरिजाप्रसाद या गिरिजा देवि राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको बताइन्छ । कोइराला परिवारको आय स्रोत खेतिपाती थियो । चन्द्र शम्शेरको मृत्यु पछि पिता कृष्णप्रसाद कोइराला बिक्रम सम्बत १९८६ मा विराटनगर फर्कनुभयो । त्यतीबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो । पछि बि सं १९०३ साल असोज २ मा पिताजी कृष्णप्रसाद कोइरालाले राणाशासन बिरुद्घ बिराटनगरबाट जनताका थोत्रा कपडा हुलाक मार्फत पठाएपछि राजद्रोहको मुद्दा लगाइ सर्वस्वहरण सहित पुन देश निकाला गरेको थियो । पीताकै प्रेरणाबाट राणाशासन विरोधी भावना जन्मिएको थियो, गिरिजाप्रसाद कोइरालामा । त्यसैले उहा २३ वर्षको उमेरेदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो । उहाले २३ वर्षको उमेरमा नै बिराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सन् १९४८ मा त उहा नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्नुभयो । सन् १९५२ देखि १९६० सम्म कांग्रेसको मोरङ जिल्ला सभापति बन्नुभएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी सात वर्षसम्म जेल हालियो । उहाले त्यतिबेला जेलमा नै २१ दिने भोकहडताल समेत गर्नुभयो । जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि बीपीसंगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो । सन् १९७५देखि ९१ सम्म पार्टीका महामन्त्री बन्नुभएको थियो, गिरिजाप्रसाद कोइराला । २०३९ साल साउन ६ गते बीपी कोइरालाको निधन पछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढेको थियो । २०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो । त्यसपछि २०५३ साल बैसाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको नवौं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो । २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो । यो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुन पार्टी सभापतिमा निर्वाचित हुनुभयो । २०६२ साल भदौ १४ गतेदेखि १७ गतेसम्म ललितपूरमा सम्पन्न एघारौं अधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुन निर्वाचित हुनुभयो । जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहा १३ वर्षदेखि नै कांग्रेसको सभापतिमा हुनुहुन्छ । दिल्लीमा भएको १२ बुदे समझदारीदेखि शान्ति सम्झौताहुदै नेपालको शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका रहेको छ, ८७ बर्षीय कोइरालाको । नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा पहिलो बिराटनगर मजदुर आन्दोलनका नेता कोइरालाले निरंकुश राणा शासनबिरुद्ध जनक्रान्ति, पञ्चायती व्यवस्थाबिरुद्धको संयुक्त आन्दोलन र २०६२÷ ६३ को लोकतान्त्रीक आन्दोलनमा अग्रणी भूमिका पूरा गर्नुभयो, कोइरालाले । लोकतन्त्र प्राप्तिपछि भारतिय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० बर्ष लामो युद्ध गरेको माओबादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो । संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच पनि कोइरालाले शशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन सफल हुनुभएकाले पनि उहाको नाम विश्वमा चर्चित छ । ०४६ को जन आन्दोलनपछि नेपालका कम्युनिष्ट प्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवी कम्युनिष्ट विरोधीका रुपमा समेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछिको दशकमा उहाको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो । माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहा त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रण हुनुभयो । तर २०६२ सालमा भने उहा युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसंग समेत हातेमालो गर्न पुग्नुभयो । युद्धकालमै माओवादीसंग राजतन्त्रबिरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो । तर कोइरालाको ब्यक्तित्वका अगाडी त्यो बिरोध गौण बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढसय वर्ष पूरानो राजतन्त्रका बिरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमा नै रहदै आउनु भयो । ८६ बर्षिया कोइराला बिगत लामो समय देखि अस्वस्थ्य हुनुभएपनि नेपालको राजनीतिमा उहाको भूमिकालाई अहिलेसम्म पनि निर्णायक रुपमा हेर्ने गरिन्थ्यो ।


March 17, 2010

पेट कतै साटिन्‍न



हामीसँगै छ घाउ पैँचो चाहिन्‍न हजुर
खोटो यो भोको पेट कतै साटिन्‍न हजुर ।

सपना त सुर्कानो गाँठो रै'छ हाम्रा लागि,
पिर्छ तर यही हो साथी अभिन्‍न हजुर ।

छैन आदत राशिफलमा भविष्य खोज्ने,
थाहा छ गरिबको खुसी छापिन्‍न हजुर ।

बालापनमा हुने हाँसो बैँसको यो तातो,
आउँछ र जान्छ खोइ त भोगिन्‍न हजुर ।

हिँड्न त मुटु खियाउँदै हिँडिएको हो,
धन्न पैँताला चिरिन्छ मुटु चिरिन्‍न हजुर ।


March 14, 2010

बाबुरामद्वारा संविधानसभामा गयल दिनको भत्ता फिर्ता

यो खबर केही पहिल्यै थाहा भए पनि आज मात्र पत्र पत्रिकामा पढ्न पाइयो। जम्मा २० दिन गयल भए बापत ४ हजार रुपयां फिर्ता गरेछन। यो पैसाले आउन त केही आउदैन। मन्त्रीहरु चाहेको गाडीमा चढ्न तछाड मछाड गरिरहेको बेलामा यि माओबादी नेताले चालेको पाइला राम्रो नै मान्नुपर्दछ। हुन त यो ४ हजारले ४ लाखको बिज्ञापन गरेको जस्तो पनि लाग्दछ। आखिर नेता न परे। बिज्ञापनै सही तर पैसाको लालचमा मन्त्री देखी पिउन सम्म फसेको समयमा यो एउटा नैतिक शिक्षा हुन सक्छ। सायद यस्ता नैतिक शिक्षाले बुज्रुकहरुको दिमाग त के खुल्ला,कानुनकै सुर्काना चाहिने हो। तर कानुनका मतियार नै पैसाको थैलीमा भुलेको समयमा ४ हजार रुपायाले ४ लाखको नैतिकता सिकाएको छ।

एक हप्ता अघी आएका मेरा साथिले भन्दै थिए नेपालमा खसीको मासु ५०० रुपया किलो छ रे। बाबुरामले फिर्ता गरेको पैसा त ८ किलो मासु बराबर भयो। बुझ्नेलाइ श्रिखण्ड नबुझ्नेलाइ खुर्पाको बिंड भन्छन नि, हो त्यस्तै । घुस्यालाइ यो ८ किलो मासु हो,नैतिकवानलाइ एउटा ठुलो शिक्षा।

पैसा फिर्ता गर्ने बेलामा उनले भनेछन"आगामी दिनमा पनि उपस्थित नभएको दिनको संविधानसभाको बैठकभत्ता सचिवालयलेनै कट्टागरी उपलब्ध गरिदिनुभएमा म जस्ता सभासद्माथि नैतिक प्रश्न उठ्ने थिएन"। यस्ले भने अरु गयालवाला सभासदला धर्मसंकटनै पार्यो है। को भन्दा को कम भनेर तमासामा उत्रने हाम्रा सभासदले अब भट्टराइको ४ हजारको प्रतिप्रस्धासंग कसरी उत्रने हुन कुन्नी?

March 13, 2010

आज मैले रक्सी पिएको छु


दु:ख पीर को त के कुरा
संसारकै पीडा लिएको छु
आशुं नाप्दै नपाऔं
पूरा का पूरा निलेको छु
र पनि रक्सीले गर्दा
म खुशी भएको छु
हो कुरा बूझ्नु भयो हजुर
आज मैले रक्सी पिएको छु

सादा जिबनमा त सधै
डर र त्रास लिएको छु
सत्य तथ्य बोल्दा पनि
भय लिएको छु
भलो गर्दा गर्दै
धोका खाएको छु
भेउ पाउनु भयोहोला हजुर
आज मैले रक्सी पिएको छु

कस्ले बनायो यो रष
रात दिन खोज्या खोज्यै छु
नाम नै किन चाहियो र
आखिर यस्लै दु:ख बिर्सया छु
पिडा जस्तो गार्है होस
हल्कै रुपमा लिएको छु
शंका ठिक गर्नुभयो हजुर
आज मैले रक्सी पिएको छु

दिमगाको के कुरा भयो र
खुट्टा सहि नै टेक्या छु
जिब्रोको पदचाप ननापौं
ठिक कुरा औकलेको छु
हाउ भाउ बेग्लै भयोहोला
तर सत्य तथ्य बोलेको छु
आखिर सबैले थाहा पाउनु भयो हजुर
आज मैले रक्सी पिएको छु


March 12, 2010

माओवादी हिंसादेखि जातिय भिडन्त तर्फ - त्रासदिको सम्भावना ।

माओवादी कम्युनिष्टहरूको हिंसात्मक युद्ध अब कम्युनिष्ट शैलिको जनवादी गणतन्त्रीय शासन पद्दतिको स्थापना हैन जातिवादी राज्य बिभाजनको नेपाली मुद्दामा गएर ठोकिएको छ । कम्युनिष्ट विचारमा निहित वर्ग संघर्षको मुद्दालाई जातिय जामा पहिराएर नेपालको कायापलट गर्ने माओवादी चाहनाको यो अतिवादले अर्को अतिवादलाई जन्म दिने सम्भवाना प्रबल हुँदै गएको छ । १०४ जातको मिश्रित बसोवास भएको नेपालमा केहीलाई रैथाने र केही अरूलाई पराइ बनाएर पस्किन खोजिएको जातिवादी संघियता भित्र लुकेको माओवादी अभीष्ट के हो बुझ्न सकिएको छैन तर यदि कुनै अर्को बीचको बाटो अपनाएर बहुजातिय मुद्दामा सबै जातिका लागि स्वीकार्य हुने बाटो नखोजेर कसैलाई वर र कसैलाई पर राख्ने नीति अपनाइने हो र अझ यस्तो नीतिले बहुमत जातिलाई नै आफ्नै मुलुक भित्र दोस्रो दर्जामा झार्न खोजेको हो भने , नेपालमा अर्को डरलाग्दो द्वन्द अवश्यम्भावी छ । तर अपशोस यस्तो जातिय द्व्न्द झनै भयानक हुन सक्छ किनभने यो संसारमा देखिइसकेको छ । हिंसावादीलाई हिंसा रमाईलो हुन सक्छ , तर हामी कतै अर्को भयानक भीडन्त तर्फ त जाँदै छैनौँ ?

प्रतेक १० वर्षको अन्तरालमा सम्पन्न गरिने नेपालको राष्ट्रिय जनगणनालाई आधार मान्दा नेपालको कूल जनसंख्याको १% भन्दा बढी हिस्सा ओगट्ने जाति समूहहरू जम्मा १८ वटा छन् । कूल १०४ विविध जातका मानव समूहहरू बसोवास गरिआएको नेपालमा कूल जनसंख्याको १% भन्दा बढी हिस्सा ओगट्ने जातहरूले देशको सम्पूर्ण जनसंख्याको ८०% भन्दा केही बढी हिस्सा ओगटेको कुरा माथिको तथ्यांकमा देख्न सकिन्छ , जुन पछिल्लो पल्ट गरिएको वि सं २०५८ सालको जनगणनामा देखाइएको थियो ।


जात
जनसंख्या
कूल जनसंख्यामा %
साक्षरता %
क्षत्री
३५९३४९६
१५ .८०%
६० .११
बाहुन
२८९६४७७
१२ . ७४%
७४ . ९०
मगर
१६२२४२१
. १४%
५५ . ९०
थारु
१५३३८७९
. ७५%
४७ . १२
तामाङ
१२८२३०४
. ६४%
४५ . ०४
नेवार
१२४५२३२
. ४८%
७१ . २२
मुसलमान
९७१०५६
. २७%
३४ . ७२
कामी
८९५९५४
. ९४%
४१ . २७
यादव
८९५४२३
. ९४%
४० . ८३
राई
६३५१५१
. ७९%
५८ . १९
गुरूङ्
५४३५७१
. ३९%
५९ . ७९
दमाई
३९०३०५
. ७२%
४३ . ५३
लिम्बू
३५९३७९
. ५८%
५८ . १२
ठकूरी
३३४१२०
.४७%
६३ . ३२
सार्की
३१८९८९
. ४०%
३८ . ३३
तेली
३०४५३६
. ३४%
५१ . ४२
चमार,हरिजन
२६९६६१
. १९%
१९ . २४
कोइरी
२५१२७४
. ११%
४३ . ८८
कूल ८०.६९%
राष्ट्रिय औषत ५३.७३%

मगर,गुरूङ, नेवार, तामाङ, राई , लिम्बु र + थारू = ३१.७७%
परिवर्तित नेपालमा जातिय संघियताको मुद्धालाई विशेषत: माओवादी , केही जातिवादी संगठन र पार्टीहरू तथा केही अन्य दलले चर्काइरहेको सन्दर्भमा , वर्तमान संविधानसभाको राज्य पुनर्संरचना सम्बन्धी समितिले पनि माओवादी पार्टीको खाका प्रस्ताव अनुरूप नै हुने गरी प्रस्ताव आफ्नो समिति मार्फत संविधानसभा अध्यक्षमा बुझाएको छ । यो प्रस्तावको विपक्षमा नेपाली कांग्रेस र केही मधेशवादी पार्टीहरू देखिए भने माओवादी र केही एमाले सभासदहरू र खास गरी माओवादीको बलमा यसले विवादास्पद रूपमा अगाडि बढ्ने मौका पायो । यदि यही प्रस्तावलाई आधिकारिक र अन्तिम मान्ने हो भने अबको नेपाल मुलुकलाई बिभिन्न १४ जातिय र केही भाषिक तथा गैर जातिय नाम दिइएर बाँडिएका प्रान्तहरू वा प्रदेशहरूमा रूपान्तरिक भएको हामीले पाउनेछौँ । यो प्रस्तावित नक्शाले मूलत नेपाल देशमा बसोवास गर्ने जनजाति नामधारी ७ वटा जाति समूहहरूलाई तिनका जातिका नामबाटै राज्यहरू दिने विष्मयकारी प्रस्ताव अघि सारेको छ । नेपालको पहाडी भेगमा विशेष रूपमा बसोवास गर्ने मंगोल परिवारका मानिने मगर,गुरूङ, नेवार, तामाङ, राई , लिम्बु र पश्चिम तराईको थारू जाति गरेर नेपालको कूल जनसंख्याको ३१.७७ % हिस्सा ओगट्ने निश्चित जातहरू अब उप्रान्त नेपालमा अग्राधिकारधारी राज्य प्राप्त विशेष जातिमा दरिने छन् भने बाहुन, क्षत्री , ठकुरी , यादव , दलित लगायतका ९७ जातका नेपालीहरू जसले जनसंख्याको ६८.३३ % भाग ओगटेका छन् तिनका लागि कुनै जातिय नक्शाका थातबास प्राप्त हुने छैनन् ।

जनसंख्यामा सबैभन्दा ठूलो जातिसमूह बाहुन–क्षत्री-ठकुरी-सन्यासी (३२%) लाई आजसम्मको शासनरत समूह ठानेर सबै अवसरबाट बिमुख बनाउने क्रान्तिकारिता देखाउन खोजिँदैछ एकातिर भने र पहाडी दलित कामी-दमाई-सार्की-गाइने (१२%) र अन्य तराईया दलितलाई (७%) लाई जातिय उत्पीडनको निराकरण गर्ने यो वैज्ञानिक क्रान्तिकारिताले कुनै भाग छुट्याउन सकेको छैन ।
उता कथित जनजातिहरूको समूहमा सबैभन्दा शिक्षित, हालसम्मका सबै व्यापरिक, औद्योगिक, आर्थिक, सरकारी अवसरहरूमा अगाडि रहेका नेवारहरूले राज्य प्राप्त गर्नेछन् । हासम्म पनि जनजाति कोटाका अधिकांश अवसरहारू नेवारहरूको कै पोल्टामा पर्दै आएको पनि हो । उता जनसंख्याको केवल १.५८% हिस्सा भएको लिम्बुहरू ९ वर्तमान नेपालका पूर्वी ९ जिल्ला सग्लै लिम्बुवानमा पर्नु पर्छ भनेर चर्को आवाज गर्दैछन् भने जातीय नक्शाको यो अंशवण्डामा परस्पर स्वयं एकार्काको नक्सा र हिस्सामाथि अर्को जातिको असन्तुष्टि पोखिने क्रम जारी छ । उता , सारा तराई मेचीदेखि महाकालीसम्म एउटै मधेश पर्देश हुनुपर्ने रडाको बोकेर मधिशे घटकहरूको आफ्नो विचित्र संघियताको राजनीतिमा रमिता गरेको गर्‍यै छन् । यो विडम्बनापूर्ण माग र अधिकारको कोलाहल भित्र बहुसंख्यक ७०% नेपालीहरूको परिचय भने हराउन पुगेको छ । आफ्नै मुलुभित्र अब अमुक अमुक जातिको भएका कारणले परगेलिनुपर्ने स्थतिको निर्माण जनतान्त्रिक साम्यवादका पक्षधरहरू गर्न गइरहेका छन् ।

यदो आगामी नेपालको नक्शा यस्तै रूपमा हुने भयो भने त्यति बेलाको नेपालमा जातिय दंगा वा युद्धका क्रिया-प्रतिकृयाहरू शुरू नहोलान् भन्ने सकिन्न। कुनै जाति विशेषले केही कुरा प्राप्त गर्दा अरू जातिले मौकाहरूबाट बञ्चित हुनु पर्ने कुरा संविधानत: वा कानूनत: लागू गर्न खोजियो भने राज्यको यो विभेदकारी नीति र योजना बिरूद्ध बिद्रोह त हुन्छ नै तर मेलमिलापको सम्बन्धमा आधारित मिश्रित बसोवासको हाम्रो समाजमा जातिय द्वेषको विषाक्त आगोले ल्याउने बिभिषिका डरलाग्दो हुन सक्नेछ ।

बीसौँ शताब्दिको उत्तरार्धमा विश्वमा मच्चिएका वा मच्चाइएका जातिय वैमनस्यताका युद्धहरू दोस्रो विश्व जत्तिकै विनाशकारी नभए पनि जनसांख्यिक प्रभाव , हत्या हिंसा र द्वन्दका कारण करोडौँको ज्यान जाने खालका रहेका थिए । रुवाण्डा र बुरुण्डी, पुर्व युगोस्लाभिया र पूर्व सोभियतसंघ र अहिलेको डार्फुर घटनाहरूले करोडौँ मान्छेको ज्यना लिने क्रम जारी राखेको छ - बिभिन्न खालका जातिय युद्धहरूको स्वरूपमा ।

एउटा जातिय अतिवादले अर्को अतिवादलाई जन्म दिन्छ । यो भन्नै पर्ने हुन्छ कि निस्चित जात समूहलाई राज्य बाँड्न हतारो गर्दा र अरू जातिको संवेदनशिलतालाई लत्याउन खोज्दा , यसका योजनाकारहरूले मुलुकको भविष्यलाई डरलाग्दो आगोको भुँवरीतर्फ हुत्याउन खोजिरहेका छन् ।

'जनताको आत्मनिर्णय र समान अधिकार' भन्ने संयुक्त राष्ट्रसंघको सिद्धान्त चीनको तिब्बत, भारतको कास्मिर वा संयुक्त राज्य अमेरिकाको कुनै पनि प्रान्तमा लागू हुन सक्ने प्रकृतिको छैन । हालको रसियाको चेचेन राज्य र बेलायतको उत्तरी आयरल्यान्डबारे पनि त्यो आत्मनिर्णयको अधिकार लागू हुने नहुने प्रस्ट छैन । यसलाई नेपालमा लागू गर्न न राष्ट्रसंघ चासो देखाउन बाध्य हुनर्ुपर्छ न त्यो नेपाली वस्तुस्थितिको विशिष्टतास“ग मेल खान्छ । त्यसो हुनाले आत्मनिर्णयको अधिकारले सूचीकृत उपनिवेश भूभागलाई आफूलाई उपनिवेश लाद्ने मुलुकभित्रै पूर्ण स्वशासन लिएर बस्ने कि छुट्टै स्वतन्त्र राज्यको हैसियतमा बस्ने भन्ने छनोटको अधिकारको प्रत्याभूति गरेको हो । श्रीलंकाको लिट्टे व्रि्रोहीहरूमा त्यो अधिकार प्रत्याभूति हुनुपर्छ भन्ने छैन । त्यसकारण यो अधिकार विशेष परिस्थितिमा विश्वयुद्धताका शक्ति दबदबा हुने राज्यहरूको कारण उपनिवेश बन्न पुगेका भूभागमा मात्र लागू हुने हो । लागू हुनुपर्ने भूभाग -हवाई, पुर्र्टो रिको, अलास्का, ग्रिनल्यान्ड इत्यादि) मा पनि यो लागू भएको छैन ।

जातीय द्वन्दको पछिल्लो परिणाम नाइजेरियामा अस्तिमात्र ३ घण्टाभित्र १००० जना मान्छेको हत्या भएको छ र यो श्रृंखला जारि छ ।यस्ता सम्भावना देखिँदै जाँदा नेपालका भावी सम्भावनाहरूमा प्रश्न उठ्नु स्वाभाविक भएको छ ।

के लोकतान्त्रिक युगमा प्रवेश गरेको भनिएको हाम्रो चेतना र कार्यशैलिले हिजोको आफ्नै र बाँकि विश्वको इतिहास अनि अनुभवबाट केही सिक्न पर्ने हैन ?

पैसा बोलता है: अझै पनि मेशिन रिडेबल पासपोर्ट भारतलाई छपाउन दिने ?

"मौका सबको मिलता है" भन्ने झण्डै एक दशक पहिले हेरेको सत्या भन्ने हिन्दी फिल्मको डायलग धेरै पटक सान्दर्भिक भएको देखेको छु । अहिले पनि एउटा दर्हो मौका आएको छ नेपाललाई सांकेतिक रुपमा भए पनि भारतलाई घच्घच्याउने मेशिन रिडेबल पासपोर्ट छपाउन नदिएर, र यसमा अहिलेसम्म उत्कृष्ट खेलेको छ लेखा समितिले । नेपालको राजनीतिमा गन्हाउन हतारिएकी र देशलाई बाबुको लाली पप ठान्ने महा महिम सुजाताको मुखलाई नसके पनि हातलाई सम्म अहिलेसम्म कन्ट्रोल गरेको छ लेखा ले ।

अहिलेको दुनियामा अधिकांश देशहरु बिचको सम्बन्ध, सामिप्यता या अन्तर्देशिय मित्रता आर्थिक कुटनीति र नाफा नोक्सानसंग जोडिएका हुन्छन । यसो भनेर सांस्कृतिक र अन्य किसमका सम्बन्धहरुको अर्थै छैन भन्न खोजेको हैन । अमेरिका र युरोप एकदम घनिष्ठ मित्रहरु भए पनि यिनिहरुको मित्रताको चुरो बेला बेलामा माइक्रोसफ्टलाई ठेगान लगाउने युरोपको कारवाही र एअरबसले पाएको अमेरिकी सेनाको इन्धन भर्ने ठेक्का खोसिदिने अमेरिकी चलाखी जस्ता कुराहरुले देखाइरहन्छन । यसको बदला केहि वर्ष भित्रै युरोपले चुकाउने छ किनकि "मौका सबको मिलता है"। अझ भाषा र भुगोल जोडिएको जर्मनीले स्विस ब्यांकमा रहेका आफ्ना नागरिकहरुको गोप्य खाता विवरण चोर्न एउटा इटालियन ह्याकरलाई मिलियन डलर दिन्छ , यतिबेला कानुन वा छिमेक भन्दा आफ्नो स्वार्थ हेरिन्छ । किनकी "पैसा बोलता है" !

हो अहिले नेपालले यदि भारतले आफुलाई थिचो मिचो गरेको छ र आंफुलाई समान व्यवहार गरेको छैन भन्ने लाग्छ भने मौका यहि हो । नेपाली जनताले भारतलाई हामीले विश्वास गर्दैनौं भन्ने संदेश दिन चाहन्छन भने हो, मौका यहि हो । भारतले जहिले पनि नेपालले जे भने पनि मान्छ भन्ने ठान्छ भने त्यसको जवाफ दिने मौका यहि हो, सांकेतिक रुपमा भए पनि । अझै पनि हैन टाइम छैन छिटो चाहियो, अब छिमेकि त हो उधारो भए पनि उसैले दिन्छ भनेर अर्को पटक पुन आंगनमा „सुसु“ गर्ने ठाउं दिने हो भने भन्नु केहि छैन नत्र अहिले नेपालले यो काम भारतलाई नदिएर अन्य प्रतिस्पर्धीलाई दिएको खण्डमा भारतले एक पटक पक्कै सोच्नेछ , किनकि "पैसा बोलता है" । र यो भन्दा अर्को दर्हो र सुरक्षित आर्थिक-कुटनितिक मौका झ्याप्प नआउन सक्छ । नबिर्सौं एउटा कोडाक जस्तो एउटा फोटो सम्बन्धी सामाग्री बनाउन नेपाल आएको कम्पनीलाई भारतले "भ्रुण" समेत नष्ट हुने गरी मिल्काइदिएको । जब भारतले हामीलाई उंभो लाग्न नदिन यस्ता तिकडम गर्छ भने हामीले मौकामा जवाफ दिन पर्दैन ?

तर अचम्म सिमानामा झण्डा गाड्ने र एस एस बीको सिपाहीको लाठि खाएर "राष्ट्रको इज्जत राख्ने" नेताहरु हुन वा खुकुरी नचाउंदै कालापानी पुग्नेहरु हुन यस विषयमा मौन छन । अरु त अरु भारतीयहरुको हुण्डी नखाने पत्रकारहरु पनि मौन छन । किन क्वारेन्टाइनमा थन्किनु परेका ट्रक, कोडाक आदिका आफ्नै हातले लेखेका कहानी पनि विर्सन्छन नेपालि पत्रकारहरु ? के नेपाली पत्रकारहरुको स्मरण शक्ति ९० वर्ष नाघेका गिरीजा प्रसादको भन्दा क्षीण छ ? सबैले बुझ्नु पर्ने हो कुरा हो एक पटक नेपालले भारतलाई जवाफ दिनै पर्छ । र जवाफ रेलिङ भांचेर, झण्डा गाडेर, खुकुरी हल्लाएर वा उपनामहरु दिएर हैन शिष्ट पाराले दिनु पर्छ किनकी "पैसा बोलता है" र सानो पैसाको ठुलो बोलीले पनि दर्हो संदेश दिन सक्छ । हैन भने यस्तो बेलामा पनि त्वं शरणं जाने हो भने त्वं शरणंबाट माथि आउन धेरै समय लाग्न सक्छ या असंभव पनि हुन सक्छ ।